सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई पाँच लाख सहयोग
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । उक्त सहयोग फउण्डेसनमा अध्यनरत विद्यार्थीहरुको शिक्षामा खर्च हुने जनाइएको छ । बुधबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तान्तरण गरेका छन् । सबैका लागि शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसनलाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ । कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ । सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बालकृष्ण फाउन्डेसन र इष्ट पोल माविको सहकार्यमा कविता प्रतियोगिता सम्पन्न
काठमाडौं । बालकृष्ण शिवाकोटी मेमाेरियल फाउन्डेसन र इष्ट पोल माद्यमिक विद्यालयको सहकार्य कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । यस फाउन्डेसन र इष्ट पोल माविको सहकार्यमा माघ २१ गते काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयका कूल २८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगिताको मूल्यांकन समितिमा डा.मधुसुदन लामिछाने, डा.रमेश लुइटेल र भावकेशर बराल रहेका थिए । प्रतियोगितामा उज्ज्वल तारा विद्यालयका विद्यार्थी प्राग्यिक खतिवडा प्रथम भएका छन् । उनले मेरो देश नामक कविता बाचन गरेका थिए । यस्तै, रिपुमर्दिनी सैनिक महाविद्यालयका संस्कृति पौडेल दोस्रो भएका छन् भने नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयका पंकज विनाडी तेस्रो भएका छन् । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार स्वरुप प्रमाणपत्र प्रदान गरिएको छ । प्रथमलाई २० हजार रुपैयाँ, दोस्रोलाई १५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो । साथै, सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीहरुलाई प्रमाणपत्र र १ हजार रुपैयाँ प्रदान गरिएको जनाएको छ । फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति वरिष्ठ कवि प्रभा भट्टराई रहेका थिए । कार्यक्रममा विशेष अतिथि अभिनभ साहित्य समाजका अध्यक्ष गोविन्द वेदमणी घिमिरे, रत्न राज्य माध्यमिक विद्यालयका पूर्वप्राचार्य डा गीता शिवाकोटी, पाटन उच्च अदालतका पूर्वन्यायाधिस शेषराज शिवाकोटी र पद्मकन्या माद्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक ईश्वर सापकोटा अतिथि रहेका थिए ।
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
फाइल फोटो सुर्खेत । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ शिक्षक रिक्त रहेको बताए । कर्णालीमा दुई हजार नौ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार आठ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् । हाल विद्यालयका आधारमा १७ हजार तीन सय ८४ हो । नौ सय २७ प्राविमा छ सय ४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी आठ हजार सात सय ९३ होभने अहिले आठ हजार एक सय ४९ जनामात्र छन् । यस्तै एक हजार १४० निम्नमाध्यमिक विद्यालयमा दुई हजार छ सय ९९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने चार हजार पाँच सय ६० शिक्षक हुन्भने अहिले एक हजार आठ सय ६१ जना कार्यरत छन् । यसैगरी, छ सय पाँच माविमा एक हजार सात सय ४९ शिक्षक अपुग छन् । यस तहमा हुनुपर्ने तीन हजार २५ शिक्षक हुन् भने अहिले एक हजार दुई सय ७६ जना शिक्षक मात्र छन् । दुई सय ५९ उच्च माविमा चार सय ५७ शिक्षक अपुग छन् । यस तहमा एक हजार ३६ शिक्षक हुनुपर्ने हो भने अहिले पाँच सय ७९ जना कार्यरत रहेको अधिकृत सुनारले जानकारी दिए । उनका अनुसार कर्णालीमा विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव छ । कानुनअनुसार न्यूनतम हुनुपर्ने शिक्षक दरबन्दीमा प्रावि तहमा तीन, निमावि तहमा चार, मावि तहमा पाँच र उच्च मावि तहमा चारजना हुनुपर्छ । शिक्षक अपुग भएपछि विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएका छन् । निजी स्रोतबाट, स्थानीय तह, प्रदेश तह र सङ्घीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको उनले बताए । बालविकासदेखि उच्च माविसम्म छ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने कर्णालीको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ ।