तीन प्रतिष्ठानका उपकुलपतिका लागि ३० को दरखास्त, आवेदकको कार्ययोजना फाइल खोले स्वास्थ्यमन्त्री गगन थापाले

काठमाडौँ, २९ पुस । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा उपकुलपति बन्न पहिलो पटक आह्वान गरेको खुला विज्ञापनमा ३० जनाले निवेदन दिएका छन् । मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि एक साताअघि खुला दरखास्त आह्वान गरेको थियो । यसअघि उपकुलपतिमा राजनीतिक नियुक्ति हुँदै आएको थियो । आवेदन दिएका चार चिकित्सकले दुई प्रतिष्ठानमा र एक चिकित्सकले तीनै प्रतिष्ठानमा दरखास्त दिएको चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछाने बताए । सबैभन्दा बढी १५ जनाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सबैभन्दा कम पाँच जनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने १० जनाले दरखास्त दिएका छन् । प्र्रतिष्ठानका सहकुलपति तथा सर्च कमिटी संयोजक स्वास्थ्यमन्त्री गगनकुमार थापा, स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा गीताभक्त जोशी सदस्य रहेको कमिटीले सोमबारदेखि दरखास्त दिएकाहरुको कार्ययोजनाबारे छलफल थाल्ने उपसचिव लामिछानेले जानकारी दिए । समितिले दरखास्त दिने ३० जनाले पेस गरेको कार्ययोजनाका आधारमा उपयुक्त व्यक्तिलाई उपकुलपतिका लागि सिफारिस गरेपछि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीले उपकुलपतिको अन्तिम निर्णय गर्नुहुनेछ । रासस

पुस्तक छाप्न दाता गुहार्दै जनक शिक्षा, तीन शीर्षकमा ९१ करोड रुपैंया सहयोगको लागि अनुरोध

काठमाडौं २९, पुस । आर्थिक अभावका कारण लक्ष्यअनुसार पाठ्यपुस्तक छाप्न नसकेपछि जनक शिक्षा सामग्री केन्द्रले छपाइका लागि दाता गुहार्ने भएको छ । लामो समयदेखि आर्थिक अभाव झेलिरहेको केन्द्र आर्थिक स्रोतको विकल्पका रुपमा दाताको भर पर्न बाध्य भएको हो । लामो समयदेखि राजनीतिक पार्टीका कार्यकर्ता भर्तिकेन्द्रको रुपमा संचालन गर्दा टाट पल्टिने अवस्थामा पुगेको केन्द्रलाई सवल बनाउन शिक्षा मन्त्रालयको पहलमा दाताको सहयोग मागिएको हो । वैशाखमा सुरु हुने नयाँ शैक्षिक सत्रका लागि समेत पुस्तक छाप्न कठिन भएपछि एसियाली विकास बैंक (एडीबी) सँग आर्थिक सहयोग मागिएको छ । एडीबीले केन्द्रलाई आर्थिक सहयोग गर्न सार्वजनिक संस्थान बोर्डका पूर्वअध्यक्ष विमल वाग्लेको अध्यक्षता गठन गरिएको समितिले केन्द्रको वर्तमान अवस्थाको अडिट गरिरहेको छ । केन्द्रका प्रमुख बजार व्यवस्थापक सुजन नेपालले एडीबीसँग तीन शीर्षकमा ९१ करोड रुपैंया सहयोगको लागि अनुरोध गरिएको जानकारी दिए । कारोबार दैनिबाट ।

२३ औं क्यान ईन्फोटेक माघ १३ गतेदेखि, स्मार्ट नेपाल बनाउने अठोट

काठमाडौं, २७ पुस । २३ औं क्यान इन्फोटेक मेला माघ १३ गते देखि १८ गतेसम्म आयोजना हुने भएको छ । क्यान महासंघले आयोजना गर्ने मेलामा राजधानीस्थित भृकुटीमण्डमा आयोजना हुन लागेको हो । २३ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु रहेको छ भने एशोसिएट प्रायोजक सामसुङ रहेको छ । मेलाको नाम “सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” राखिएको छ । मेलाको मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् । मेलाको प्लाटिनम स्पोन्सरमा मर्कन्टाईल, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरुमा हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरुमा नेटिस, एसपावर, एमआई स्मार्ट फोन र लेनोभो रहेका छन् । यसपालीको मेलामा ४ लाख अवलोकन कर्ता आउने अपक्षा गरिएको क्यान महासंघका अध्यक्ष बिनोद ढकालले बताए । गत बर्षको क्यान इन्फोटेकको ३ लाख ६३ हजार ४ सय ५६ जनाले अवलोकन गरेका थिए । इन्फोटेकको प्रवेश शुल्क साधारण तर्फ एक सय र विद्यार्थीका लागि ५० रुपैंयाँ तोकिएको छ । अनलाईन टिकट खरिदमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । क्यान इन्फोटेक मार्फत स्मार्ट नेपाल निर्माणको अभियान अघि बढाउन चाहेको क्यान महासंघका अध्यक्ष बिनोद ढकालले बताए । आईसीटी कन्फेरेन्स २०१७ पनि सोही अवसरमा क्यानले आईसीटी कन्फेरेन्स पनि आयोजना गर्नेछ । सो कन्फेरेन्स माघ १६ र १७ गते सोल्टी होटलमा आयोजना हुनेछ ।