गल्ती नै गल्ती भएको पुस्तक पढाउन प्याब्सनको दबाब, पढ्ने पुस्तकै गलत भएपछि विद्यार्थीले के सिक्ने ?
पुस्तककाे फाइल फाेटाे काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले धेरै त्रुटि रहेको ‘प्याब्सन साइन्स बुक’ पढाउन सदस्य विद्यालयहरूलाई दबाब दिएको छ । प्याब्सनका पदाधिकारीहरूले एसएमएस, भेटघाटमा आफैँले प्रकाशन गरेको ‘प्याब्सन साइन्स बुक’ पढाउन दबाब दिएका हुन् । ‘प्याब्सन साइन्स बुक’ मा धेरै त्रुटि पाइएपछि उसकै सदस्य विद्यालयले समेत पुस्तक पढाउन नचाहेपछि विभिन्न तरिकाले दबाब दिन थालिएको हो । कतिपय जिल्लामा जिल्ला समितिको दबाबमा जिल्लाका सदस्य विद्यालयमा सो पुस्तक पढाउन सहमत गराइसकेका छन् । प्याब्सन सामाजिक संस्था भए पनि आर्थिक स्रोत जुटाउन उसले कक्षा १ देखि १० सम्मका लागि ‘प्याब्सन साइन्स बुक’ प्रकाशन गरेको छ । सो पुस्तक पी पब्लिकेसन्सको नाममा प्रकाशित छ । ‘म पनि प्याब्सनकै सदस्य हुँ, तर धेरै गल्ती भएकाले यो वर्ष प्याब्सन साइन्स बुक लगाउन सकिनँ,’ काठमाडौंका एक विद्यालय सञ्चालकले भने, ‘यो पुस्तकमा धेरै कमजोरी छन्, म्याच मिलाउन भनेको ठाउँमा म्याच हुने कुरै छैनन्, परिभाषालगायतका कुराहरू स्पष्ट छैनन् । यस्ता धेरै त्रुटि छन् ।’ कक्षा १ देखि नै बग्रेल्ती गल्ती कक्षा १ देखि नै ‘प्याब्सन साइन्स बुक’मा धेरै गल्ती रहेका छन् । उदाहरणका लागि कक्षा १ को पुस्तक पेज नं। ८३ मा ‘म्याच द फ्लोइङ’ भन्नेमा एकापट्टि शब्द दिएको छ, तर अर्कोतिर केसँग मिलाउने हो खाली छ । त्यसैगरी, पेज नं। ७५ मा ‘फिल इन द ग्याप’मा खाली ठाउँ नै छैन । पेज नं। ७७ मा व्याख्या गरिएको अनुच्छेद र तस्बिरहरूसमेत उल्टो छन् । प्याब्सनको भन्दा धेरै राम्रा पुस्तक अरू प्रकाशन गृहका रहे पनि रोजेर पढाउन नपाएको विद्यालय सञ्चालकहरूको भनाइ छ । आर्थिक चलखेलका लागि ‘प्याब्सन साइन्स बुक’ पढाउन दबाब दिने गरेको उनीहरूको भनाइ छ । सो पुस्तकको मूल्य दुई सय ५० देखि साढे चार सय रुपैयाँसम्म रहेको छ । पुस्तक पढाउन भन्दा केही फरक पर्दैनः प्याब्सन अध्यक्ष प्याब्सन अध्यक्ष विजय सम्बाहाम्फेले ‘प्याब्सन साइन्स बुक’ पढाउन विद्यालय सञ्चालकलाई भन्दा केही फरक नपर्ने बताए । प्याब्सनले अहिले वितरणको जिम्मेवारी बुद्ध पब्लिकेसनलाई दिएको छ । ‘हामी यही समाजमै बस्ने हो, कसैले भनिदिनुपर्यो भन्दा त्यो काम गर्नुपर्छ,’ उनले भने । सम्बाहाम्फेले आफू साइन्सको विशेषज्ञ नभएकाले गल्ती थाहा नभएको बताए । उनले गल्ती भएमा विशेषज्ञले सुधार गर्नुपर्ने तर्क गरे । सबैको पेलानमा अभिभावक कतिपय विद्यालयले राम्रो पब्लिकेसनका पुस्तक पढाउने गरे पनि धेरैले कमिसनका लागि कमजोर पुस्तकसमेत सिफारिस गर्ने गरेका छन् । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा निजी विद्यालयमा पढाउने अभिभावक तोकिएको पुस्तक र तोकिएकै पसलबाट किन्नुपर्ने बाध्यतामा छन् । दबाब दिन मिल्दैन पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भएका थप पाठ्यसामग्री विद्यालयले प्रयोगका लागि कसैलाई दबाब दिन नमिल्ने बताए । पुस्तक छान्न पाउने विद्यालयको अधिकार भएको उनले स्पष्ट पारे । राम्रा पुस्तक छानेर किन्ने विद्यालयको अधिकार भएको उनले बताए । कतिपय निजी विद्यालयले राम्रो पुस्तक छान्नेभन्दा आर्थिक कुरामा बढी ध्यान दिने गरेको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट ।
विश्व विद्यालय र पाटन कलेजबीच सम्झौता, सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नाकोत्तर स्तरको पढाई हुने
काठमाडौं । यसनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायत बाट सम्बन्धन प्राप्त पाटन कलेज फर प्रोफेसनल स्टडिजले स्नातक स्तरको बिएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन बिजनेश एडमिनिष्ट्रेसन कार्यक्रम शुरु गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलले एक समारोह बीच सो कलेजको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बेलायती राजदूत रिचर्ड मोरीस र विश्वविद्यालयका सहायक उपकुलपति अशरफ जावेदको समेत उपस्थिति थियो । सो कार्यक्रमको अध्यक्षता संस्थापक परमानन्द केजरीवालले गरेका थिए । सोही अवसरमा विश्व विद्यालय र पाटन कलेज बीच सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नाकोत्तर स्तरको कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा विश्वविद्यालयका तर्फबाट उपकुलपति अशरफ जावेद र पाटन कलेजको तर्फबाट अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । टाइम्स युकेको रैकिङ्ग अनुसार १३० वर्ष पुरानो युनिभर्सिसटि अफ बेडफोर्डसायर विश्वको उत्कृष्ट आठ सय विश्व विद्यालय मध्ये एक हो । यो विश्व विद्यालयमा १२० मुलुकको २२ हजार विद्यार्थी अध्ययनरत छन् । यो विश्वविद्यालयको कार्यक्रमहरु चिन र भियतनाम लगायत मध्य पूर्व, यूरोप, दक्षिण पूर्व एशिया लगायतका अन्य देशहरुमा संचालित छ । यो विश्व विद्यालयबाट अध्ययन गरेका ९२ प्रतिशत विद्यार्थीहरुले ६ महिनामै काम गर्न थाल्छन् वा उच्च शिक्षा अध्ययन तिर लाग्छन् । तिन वर्षको अध्ययन अवधि र ३६० क्रेडिट आवर भएको बिएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन बिजनेश एडमिनिष्ट्रेसन मात्र प्राज्ञिक डिग्री होइन, यसका स्नातकहरु विज्ञ जस्तै हुन्छन् । विद्यार्थीले चाहेमा यस पाटन कलेज फर प्राफेसनल स्टडिजमा प्रथम लगायतका अन्य वर्ष सकाएर बाँकी समयको अध्ययन युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायतको मुल क्याम्पसमा गर्न सक्छन् ।
यी हुन काठमाडौंका अब्बल ११ सरकारी स्कुल, जहाँ प्राइभेटमा भन्दा राम्रो पढाई हुन्छ
काठमाडौँ । निजी विद्यालयको हालिमुहाली रहेको काठमाडौँमा केही सामुदायिक विद्यालय पनि निजीकै हाराहारीमा उत्कृष्ट नतिजा दिन सफल रहेका छन्। सख्यात्मक हिसाबले एक हजार दुई सय निजी विद्यालय रहेको काठमाडौँमा दुई सय ८५ सामुदायिक विद्यालय रहेका छन्। दुई सय ८५ मा पनि केही विद्यालयमात्र निजीसँग प्रतिस्पर्धा गर्न सक्नेगरी उत्कृष्ठ कहलिएका छन्। प्रधानाध्याक, शिक्षक र अभिभावकको लगनशीलता एवं सक्रियताले केही विद्यालय अब्बल कहलिएका हुन्। रत्नराज्य मावि मध्यबानेश्वर, ज्ञानोदय मावि कलङ्की, निलवराही मावि कालिमाटी, विश्वनिकेतन मावि त्रिपुरेश्वर, गीतामाता मावि डल्लु, जनसेवा मावि, कीर्तिपुर, मङगलोदय मावि थानकोट, विजय स्मारक मावि, डिल्लीबजार, पद्मोदय मावि पुतलीसडक, तरुण मावि बालाजुलगायत विद्यालय सामुदायिकका राम्रा विद्यालयअन्र्तगत पर्दछन्। ती विद्यालयमा माध्यमिक शिक्षा परीक्षाको उत्रीर्ण प्रतिशत ९६ देखि १०० सम्म छ। वैशाखको पहिलो हप्ताबाट हुने विद्यार्थी भर्ना कार्यक्रममा अधिकांश विद्यालय विद्यार्थी भर्ना गर्न घरदैलो कार्यक्रम गरेपनि त्यस्ता अब्बल विद्यालयमा भर्ना अभियान नै नगरी पढ्नका लागि विद्यार्थीको भीड देखिएको छ। जसका कारण विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन थालेका छन्। विद्यालयमा विद्यार्थीको आकर्षण भएपछि विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता ती विद्यालयलाई छ। निजी जस्तै अङ्गेजी माध्यममा पढाउने हुने ती सामुदायिक विद्यालयमा विद्यार्थी प्रवेश परीक्षा उर्तिण गरेपछि मात्र भर्ना पाउँछन्। ‘धेरै विद्यार्थी आउन थालेपछि केही वर्षदेखि हामीले प्रवेश परीक्षा लिन थालेका छौँ’, रत्नराज्य माविका प्राधानाध्यापक डा. गीता खरेल भनिन, ‘प्रवेश परीक्षामा उत्तिण गर्नेलाई मात्र विद्यालयमा भर्ना गर्दछौँ।’ यो विद्यालयले कक्षा एकदेखि ७ सम्म तीनवटा र कक्षा ८ देखि १० सम्म चार अतरिक्त कक्षा सञ्चालन गर्दै आएको छ। करिब २१ सय विद्यार्थी रहेको उक्त विद्यालयमा सवैभन्दा बढी निजी विद्यालयबाट विद्यार्थी भर्ना गर्न आउने गरेको उनी उनको भनाईछ । सामुदायिक स्कुलमा राम्रो पहिचान बनाउन सफल रत्नराज्य निजी विद्यालयको जस्तै कक्षा ३ बाट नै कम्प्युटर शिक्षा, शान्त वातावरण, अनुशासन भएकोले धेरै अभिभावकको रोजाइ हुने गरेको छ। पूर्णतया निःशुल्क पढाइ हुने रत्नराज्यमा कम्प्युटर कक्षाको भने ५० देखि सय लिने गरिएको छ। कलङ्कीस्थित ज्ञानोदय माविमा पनि भर्ना अभियान सञ्चालन गरी नयाँ शैक्षिकसत्रमा विद्यार्थी पढ्नका लागि भीड हुने गरेको छ। विद्यार्थीको अत्यधिक चाप भएकाले विद्यालयले प्रवेश परीक्षा लिने गरेको विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जन बताउछन्। कक्षा १ देखि १० सम्म अङ्गे्रजी माध्यममा पढाइ हुने ज्ञानोदयको पढाइको गुणस्तर राम्रो भएकाले विद्यार्थीको चाप छ। ज्ञानोदयमा माथिल्लो कक्षामा बढी विद्यार्थीको चाप हुने गरेको छ। कक्षा ७ देखिमाथि निजी विद्यालयबाट विद्यार्थी आउने गरेको महर्जन बताउछन्। विद्यालयमा अघिल्लो वर्ष कक्षा ९ मा सिभिल इन्जिनियरिङ विषयको पढाइसमेत हुने गरेको छ। ‘सक्ने अभिभावकले मासिक तीन सय रुपैयाँ दिनुहुन्छ’, उनले भने, ‘तर नसक्ने जति विद्यार्थीलाई निःशुल्क भर्ना गर्छौं र उसलाई आवश्यक कापी, कलम, झोला किन्ने उल्टो पैसा दिन्छौँ।’ कालीमाटीस्थित नीलबराही माविले सोमबारबाट प्रवेश परीक्षाका लागि फारम वितरण गरेको र वैशाख ४ गते परीक्षा तोकेको छ। विद्यालयकी प्रधानाध्यापक जानुका नेपाल आफूहरु सरकारलाई विद्यालय भर्नामा सहयोग पु¥याउन अभियान सञ्चालन गर्ने बताउछिन। ‘हामीले हाम्रा विद्यालयका लागि भर्ना अभियान गरेर विद्यार्थी खोज्नु पर्दैन’, उनी भन्छिन्, ‘सरकारलाई सहयोग गर्न अन्य विद्यालयमा विद्यार्थी भर्ना गराउनका लागि अभियान सञ्चालन गर्दछौँ।’ कक्षा १ देखि कक्षा ८ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने नीलबराहीले आगामी वर्षमा कक्षा ९ मा पढाइ गर्ने उनले जानकारी गराए। ज्ञानोदय स्कुलका २० वर्षदेखि कार्यरत पूर्वप्रधानाध्यपक धनञ्जय शर्मा अभिभावकसँग बालबालिकाको पढाइका बारेमा छलफल गर्ने र ती छलफलबाट आएका सुझावका आधारमा प्रधानाध्यापक र शिक्षकले मिहेनत गरे सामुदायिकको पनि पढाइ गुणस्तर बनाउन सकिने बताउछन्। कीर्तिपुरको जनसेवा माविका शिक्षक चन्द्र बानियाँ प्रवेश परीक्षाले सामुदायिक विद्यालय सुधारमा सहयोग पुग्ने बताउँदै शिक्षक र अभिभावकको सक्रियता हुने हो भने यी विद्यालयमा विद्यार्थीको चाप अझ बढ्ने धारणा राख्छन्। रासस