अनुगमन सकारात्मक भए पनि सबै कन्सल्टेन्सीलाई एउटै दृष्टिले नहेरियोस् : फेकन
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको प्रहरी अनुगमन तथा अनुसन्धान प्रक्रियालाई सकारात्मक रूपमा लिँदै सबै कन्सल्टेन्सीलाई एउटै दृष्टिकोणबाट नहेर्न आग्रह गरेको छ । फेकनले विज्ञप्ति जारी गर्दै शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, मर्यादित र विद्यार्थीमैत्री बनाउन प्रभावकारी अनुगमन आवश्यक रहेको जनाएको हो । संघका अनुसार केही विकृति र अस्वस्थ अभ्यास देखिए पनि सम्पूर्ण क्षेत्रलाई अपराधीकरण गर्ने प्रवृत्तिले इमानदार व्यवसायी र विद्यार्थी दुवैमा नकारात्मक असर पार्न सक्छ । विज्ञप्तिमा विदेश अध्ययनका क्रममा विद्यार्थीले बुझाउने शुल्कहरू नेपाल सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरी बैंकिङ प्रणालीमार्फत सम्बन्धित शैक्षिक संस्थामा पठाइने भएकाले धरौटी वा अतिरिक्त शुल्कका विषयमा भ्रम सिर्जना गर्नु उपयुक्त नहुने उल्लेख गरिएको छ । यद्यपि, कतिपय संस्थाले अनुचित गतिविधि गरेको गुनासो आएकाले आफ्ना सदस्य संस्थालाई निरन्तर सचेत गराउँदै सुधारका पहल गरिरहेको फेकनले जनाएको छ । संघले हाल भइरहेको अनुगमनका क्रममा कतिपय शैक्षिक परामर्श संस्थाले सबै कानुनी प्रक्रिया पूरा गरिसकेको भए पनि सम्बन्धित निकायबाट समयमै नवीकरण वा स्वीकृति नपाउँदा समस्या भोग्नुपरेको दाबी गरेको छ । यस्तो अवस्थामा आवश्यक अध्ययन र समन्वयबिनै कडाइका साथ कारबाही गर्दा व्यवसायीहरू अन्यायमा पर्ने खतरा रहेको फेकनको भनाइ छ । फेकनले अनुसन्धान तथा सोधपुछको प्रक्रियामा रहेका व्यवसायीहरूको व्यक्तिगत विवरण, तस्बिर र संस्थागत पहिचान सार्वजनिक गर्दा गोपनीयता, प्रतिष्ठा र मनोबलमा गम्भीर असर पर्ने भएकाले यस्ता विषयमा संवेदनशील बन्न प्रशासन र सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ । संघले शैक्षिक परामर्श क्षेत्रलाई अझ जिम्मेवार, व्यवस्थित, पारदर्शी तथा विद्यार्थीमैत्री बनाउन सरकार, सरोकारवाला निकाय र व्यवसायीसँग सहकार्य गर्न आफू प्रतिबद्ध रहेको समेत जनाएको छ ।
नेक्साले भन्यो– दर्ता नभएका कन्सल्टेन्सीलाई कारवाही हुनैपर्छ
काठमाडौं । नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको धरपकड तथा अनुसन्धान प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ । संघले दर्ताविहीन रूपमा सञ्चालन भएका संस्थामाथि कारबाही हुनु स्वाभाविक भए पनि सामान्य प्रशासनिक त्रुटिलाई समेत अपराधको रूपमा व्याख्या गर्दै सञ्चालक तथा प्रतिनिधिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिनु न्यायोचित नभएको जनाएको हो । संघले सोमबार विज्ञप्ति जारी गर्दै शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक निर्देशन दिई सुधारको अवसर प्रदान गर्नुपर्ने उल्लेख गरेको छ । हरेक सानो त्रुटिमा समेत नियन्त्रणात्मक कारबाही अघि बढाउँदा व्यवसायीमा निराशा बढेको र यसले शैक्षिक परामर्श व्यवसाय नै धराशायी हुने अवस्था सिर्जना हुन सक्ने नेक्साको भनाइ छ । विज्ञप्तिमा शिक्षा मन्त्रालयलाई कन्सलटेन्सी दर्ता प्रक्रिया सरल, सहज र व्यवहारिक बनाउन आग्रह गरिएको छ । दर्ताबिना सञ्चालन हुने कार्यलाई निरुत्साहित गर्न स्पष्ट र प्रभावकारी मापदण्ड आवश्यक रहेको संघले जनाएको छ । नेक्साले अनुसन्धान प्रक्रिया अघि बढाउँदा निष्पक्षता अपनाउन पनि सरकारसँग माग गरेको छ । अनुसन्धानपछि सबुत प्रमाणका आधारमा दोषी देखिएकामाथि मात्रै पारदर्शी ढंगले कारबाही गर्नुपर्ने संघको भनाइ छ । संघले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित तथा उत्तरदायी बनाउन शैक्षिक परामर्श सेवा संस्था सञ्चालन सम्बन्धी नियमावली निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गरेको छ ।
धमाधम पक्राउ हुँदै कन्सल्टेन्सी सञ्चालक, विकासन्युजको समाचारपछि भएको थियो अनुसन्धान
काठमाडौं । अहिले प्रहरीको मुख्य अनुसन्धानको विषय कन्सल्टेन्सीमाथिको अनुसन्धान बनेको छ । कन्सल्टेन्सी सञ्चालकहरूले विद्यार्थीबाट ठूलो शुल्क लिने, दर्ताबिनै सञ्चालन गर्ने तथा विद्यार्थीलाई अनेकन प्रभाव देखाएर रकम असुल गर्ने विषय विकासन्युजले प्रकाशन गरेपछि प्रहरीले त्यसतर्फ अनुसन्धान अगाडि बढाएको थियो । विकासन्युले सुरुमा विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार र दोस्राे पटक कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? शीर्षकमा समाचार सम्प्रेषण गरेकाे थियाे । तिनै समाचारकाे आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । अनुसन्धान गर्दा प्रहरीले ६९ सञ्चालकलाई नियन्त्रणमा लिएको थियो। अहिले उनीहरूविरुद्ध मुद्दा पनि चलेकाे छ । कन्सल्टेन्सीविरुद्ध मुद्दा चलेपछि दैनिक सञ्चालकहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्न थालेका छन् । केही दिनअघिमात्र काठमाडौं उपत्यकाका ९५ वटा कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा नमारेका कन्सल्टेन्सी सञ्चालक समूह बनाएर कार्यालयमा पुग्ने गरेका छन् । कार्यालयका प्रमुख सन्तोष खड्काले प्रक्रिया नपुर्याएर सञ्चालनमा आएका कन्सल्टेन्सीलाई मात्र कानुनी कारबाहीमा ल्याइएको बताए । उनका अनुसार कन्सल्टेन्सी सञ्चालक पक्राउ परेपछि कार्यालयमा सञ्चालकको भीड हुने गरेको छ । आइतबार २०-२५ जना सञ्चालकहरू आएका र आज मात्रै ५ जना भेटवार्ता गरेर गएको उनले बताए । प्रहरीको त्रास बढेकाले सञ्चालकहरू कन्सल्टेन्सी बन्द गर्नु परेको गुनासो बोकेर आउने गरेको खड्काले बताए । प्रहरीले कुनै सञ्चालक तथा व्यवसायीलाई नियतवश कारबाही नगरेको उनले बताए । कुनै पनि व्यवसायीलाई दुःख दिने नियत नभएको उनले प्रस्ट पारे । ‘कार्यालयले अहिलेसम्मकै ठूलो संख्यामा कन्सल्टेन्सीमा छापा मारेको छ,’ उनले भने, 'केही सञ्चालकहरू भने बन्द गरेर अन्तै गइसकेको भन्दै यहाँ आउने गरेका छन् ।‘विधि प्रक्रिया पुर्याएर व्यवसाय गर्नेहरूलाई कोही पनि डराएर नभाग्नुपर्ने भनेर सम्झाउने गरेको खड्काले बताए । दर्ता नभएका कन्सल्टेन्सीहरूले प्रहरीले नियतवश कन्सल्टेन्सीलाई दुःख दिन थालेको भन्दै प्रचार गर्न थालेको उनले बताए । राज्यको कानुन मानेर व्यवसाय गरेकालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको उनले उल्लेख गरे । ३१ वटा कन्सल्टेन्सी सञ्चालकविरुद्ध मुद्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लिखतसम्बन्धी कसुर, ठगी र शिक्षा ऐन, २०२८ अनुसार तीनवटा कसुरमा ३१ जनाविरुद्ध मुद्दा चलाएको छ । केही दिनअघि मात्र कार्यालयले गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ९५ वटा कन्सल्टेन्सीमा छापा मारी ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो । उनका अनुसार कन्सल्टेन्सी दर्ता नभएका, ठगी र सरकारी छाप किर्ते गरेर चलाएकाहरू कारबाहीमा परेका हुन्। कार्यालयले मुद्दा चलाएका सबैलाई ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको खड्काले बताए । अनुमति बिना चलाएका धेरै कन्सल्टेन्सी पाइएको उनले जानकारी दिए । उपत्यकाका तीनवटा जिल्लामा लामाे समय लगाएर अनुसन्धान गरिएको उनले जानकारी दिए। अधिकांश कन्सल्टेन्सीहरू बिना दर्ता चलेको पाइएको उनले उल्लेख गरे । सम्बन्धित सामग्री : कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ? विदेश जाने विद्यार्थीबाट दोब्बर शुल्क असुल्छन् कन्सल्टेन्सी, कारवाहीबाट बच्न नगदमा कारोबार विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा १ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै विकासन्युजको समाचारका नेक्साको खण्डन