ललितपुरको कुमारीपाटीमा राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने

काठमाडौं । राइटपाथ करियर काउन्सिलिङले ललितपुरको कुमारीपाटीमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ गर्ने भएको छ । देशका विभिन्न स्थानहरूमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ सम्पन्न गरिसकेको शैक्षिक परामर्शदाता संस्था राइटपाथले मंगलवार कुमारीपाटी स्थित आफ्नै कार्यालयमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्न लागेको हो । उक्त कन्क्लेभमा विद्यार्थीले २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर आफ्ना जिज्ञासाहरू मेटाउन सक्नेछन् । युनिभर्सिटीका प्रतिनिधिबाटै विश्वविद्यालयका बारेमा सत्य तथ्य जानकारी पाउने राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले बताए । यस्ता एजुकेसन कन्क्लेभहरूले विद्यार्थीहरूको हौसला बढ्ने उनको भनाई छ । राइटपाथले उक्त कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ । सीईओ डिसीका अनुसार कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर राखिएको छ भने फ्री मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ । उनले यूएस लक्षित अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपियाँमै गर्ने अफर ल्याएको पनि बताए । ग्राण्ड एजुकेसन कन्क्लेभमा वरिष्ठ गायिका अन्जु पन्त र मिस नेपाल २०१६ की विजेता तथा राइटपाथकी ब्राण्ड एम्बेस्टर अस्मी श्रेष्ठ पनि सहभागी हुनेछन् । गायिका पन्त र श्रेष्ठ यसअघिका कन्लेभमा सहभागी भई प्रत्यक्षरुपमा विद्यार्थीहरूलाई हौसला समेत प्रदान गरेका थिए । यसअघि काठमाडौं, धनकुटा, हेटौँडा, चितवन, बुटवल र दाङमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भइसकेको छ । वैशाख २९ गते काठमाडौंबाट सुरु भएको ग्रान्ड एजुकेसन कन्क्लेभमा करिब ६ हजारभन्दा बढी अभिभावक तथा विद्यार्थीहरूले सहभागी जनाइसकेका समेत डिसीले जानकारी दिए । राइटपाथले वैशाख २९ गते पुतलीसडक स्थित मुख्य कार्यालयमा सहभागी हुन नसकेका अभिभावक तथा विद्यार्थीहरूका लागि कुमारीपाटीमा उक्त एजुकेसन कन्क्लेभ गर्न लागेको हो । विद्यार्थीहरूले भोली हुन गइरहेको एजुकेसन कन्क्लेभमा सहभागी भई वैदेशिक शिक्षाको लागि परामर्श लिन सक्नेछन् ।

अल्फाबिटाको ‘फास्टट्रयाक ब्रिज कोर्स’ सुरु

काठमाडौं । अल्फाबिटाले अल्फाबिटा ‘फास्टट्रयाक ब्रिज कोर्स’ सुरु गरेको छ । साढे २ महिना सम्म पढाइ हुने कोर्स अब ४ हप्तामा पढाइ हुने भएको छ । एक्स्ट्रा कलास सञ्चालन गरेर साढे २ महिनाको कोर्सलाई ४ हप्तामा सक्ने तयारी गरेको अल्फाबिटाले जनाएको छ । आफुले इच्छाएको कलेजमा भर्ना हुन चाहाने विद्यार्थीलाई ‘फास्टट्रयाक ब्रिज कोर्स’ सुनौलो अवसर हुने अल्फाबिटाले जनाएको छ । इच्छुक विद्यार्थीलाई भर्ना भएर मौकामा फाइदा उठाउन अनुरोध गरिएको छ ।

अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक छ : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बताएकी छन् । आइतबार माइतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य नेत्र चापागाईंंको मागलाई ऐक्यबद्धता जनाउँदै यस्तो बताएकी हुन् । उनले अटिजम काउन्सिलरहरूको लागि इजाजतपत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको बताइन् । अनुमतिपत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको पनि जानकारी दिइन् । उनले भनिन्, ‘अटिजम भएकोमा हामी क्लियर के हुनुपर्छ भने नेपालमा न काउन्सिलरहरूको लागि लाइसेन्सिङ छ, न अटिजम अकुपेसन थेरापी गर्नेको लाइसेन्स छ । जबसम्म लाइसेन्सिङ प्रभिजन आउँदैन, स्कुल खोलेर मात्रै कसले काम गर्छ ? लाइसेन्सिङ हुनुपर्छ भनेर म गम्भीरतापूर्वक लागिसकेको छु ।’ आन्दोलनरत नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्यका चापागाईंले आधारभुत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन माग गरे । विद्यार्थीको खाजा खर्च १५ रहेकोमा ५० बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलव अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने मागसहित विगत पाँच दिनदेखि उभिएर विरोध जनाइरहेको बताए । ‘विगत पाँच दिनदेखि आधारभुत तहको शिक्षा जुन छ, बालबालिकाको त्यो सरकारी तह र निजीको असमानता छ, त्यसलाई एउटै नीतिगतअन्तर्गत समेट्नुपर्ने, विद्यार्थीको खाजा खर्च १५ रहेकोमा ५० बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलव अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्छ । कुन सरकारले आधारभुत तहको शिक्षा हेर्ने भन्ने कुरामा राज्य बोल्नुपर्छ’, उनले भने । उनले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र कर्मचारीलाई तालिम दिनुपर्ने, विद्यार्थीको सिकाइ सामग्री जुन विद्यालयमा बजेटमार्फत सिकाई सामग्रीको ग्यारेन्टी गर्नुपर्ने र कुन सरकारले आधारभुत तहको शिक्षा हेर्ने भन्नेमा स्पष्ट हुनुपर्ने माग गरे ।