प्राज्ञिकद्वारा प्रधानमन्त्री दाहाललाई धन्यवाद : ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’

काठमाडौं । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गरे । भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताए । प्रधानमन्त्री दाहालले भने, ‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन, यसबारे गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने भन्ने थियो । मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा खुला प्रतिस्पर्धाको घोषणा गरेको थिएँ । त्यसपछि यसको पक्षमा वातावरण बनाउन म लगातार लागिरहेँ र सफल पनि भयौँ । यसले प्राज्ञिक क्षेत्रलाई सकारात्मक दिशा दिएको छ ।’ देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले भने, ‘पार्टीमा आबद्ध हुने स्वतन्त्रता सबैलाई छ । तर, अब कुन पार्टी भनेर नहेरौँ । जो सक्षम छ, इमान्दार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो । राम्रो हेरौँ, मेरिट हेरौँ । यसले मात्रै देशमा नयाँ परिस्थिति बन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु ।’ भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्री दाहालको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ । यो आफैँमा राम्रो नजिर हो । यसले नयाँ लिगेसीको प्रारम्भ हुन्छ । यसले उच्च शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउने हाम्रो विश्वास छ । यसका सकारात्मक परिणाम आउँदै जानेछन् । हामी खुसी छौँ । तपाईलाई हार्दिक धन्यवाद छ ।’ छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए । सार्वजनिक रूपमा हस्तक्षेप नगर्ने सङ्कल्प घोषणा गर्न दलहरूलाई अनुरोध गर्दै उनले शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने बताए । प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेमा डा गौरीशङ्करलाल दास, डा गोविन्द पोखरेल, डा सन्दुक रूइत, डा अर्जुन कार्की, डा जेपी अग्रवाल, डा नरेशमान बज्राचार्य, डा असीम ढकाल, डा भगवान कोइराला, डा विष्णु उप्रेती, डा धर्मकान्त बास्कोटा, डा देवेन्द्रराज पाण्डे, डा लवदेव अवस्थी, डा मदन उपाध्याय, डा महेश मास्के, केदारभक्त माथेमालगायत ६६ प्राज्ञिक छन् ।

बढ्दो प्रविधिमैत्री शिक्षा, शिक्षकलाई चुनौती

काठमाडौं । एक समय थियो विद्यालयमा शिक्षक लठ्ठी बोकेर आउने र कालोपाटीमा चक डस्टरको प्रयोग गर्दै पढाउने । अनि, विद्यार्थीले त्यही अनुसार घोक्नु पर्ने । तर, अहिले समय फेरिएको छ । चक डस्टर प्रयोग घट्दै गएको छ । कतिपय विद्यालयमा विद्यार्थी किताब बोकेर विद्यालय जानुको सट्टा अहिले ल्यापटप बोकेर जाने गरेका छन् । यतिसम्म कि अब किताबमा लेखिएका कुरा घोकेर पढ्नुपर्ने अवस्था पनि रहेन । किन कि भिडिओ, अडियो मार्फत विद्यार्थी आफै हेर्दै सुन्दै मनोरञ्जनात्मक तरिकाले अध्ययन गर्न थालेका छन् । यसकारण अब शिक्षामा प्रविधि नौलो कुरा रहेन । अहिले विश्व प्रविधिमै रमाइरहेको बेला नेपाली शिक्षामा पनि प्रविधिको प्रयोग भइरहेको पाइन्छ । सामुदायिक विद्यालयदेखि निजी विद्यालय कलेजहरूमा प्रविधिको प्रयोग बढ्दो छ । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेटाभर्स जस्ता प्रविधिले पनि शिक्षामा चर्चा बटुलिरहेका छन् । नेपालमा पनि ‘माइ सेकेण्ड टिचर’, ‘निमा एकेडेमी’, ‘एम्बिसन गुरु’ लगायतका विभिन्न संस्थाले प्रविधिबाटै शिक्षामा जोड दिइरहेका छन् । शिक्षालाई प्रविधिमा जोडिरहेका ‘निमा एकेडेमी’ नेपाली शिक्षामा प्रविधिको प्रयोग गरिरहेको संस्था मध्येको एक हो ‘निमा एकेडेमी’ । यो डिजिटल लर्निङ प्लेटफर्म हो । परम्परागत शिक्षा प्रर्णाली डिजिटलाइज गर्ने उद्देश्यले सन् २०१८ मा स्थापना भएकोे निमा एकेडेमीले इन्टरनेट मार्फत विद्यार्थी र शिक्षकलाई पठनपाठनमा सहयोग गरिरहेको छ । यसले विद्यार्थीले सहज तरिकाले बुझ्ने गरी शिक्षण सामाग्री प्रदान गर्नेे काम गरिरहेको छ । यो एकेडेमीमा अहिले करिब २ सय विद्यालयहरू जोडिएका छन् । एकेडेमीले पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि १० सम्मका शिक्षण सामाग्री उपलब्ध गराइरहेको छ । त्यस्तै, कक्षा ११ र १२ सँगै त्योभन्दा माथिका कोर्सलाई पनि समावेश गर्ने तयारी उक्त एकेडेमीको छ । एकेडेमीले विस्टिम र लेट्स रिड एशियाका शैक्षिक सामाग्री, कोर्स लगायतका विभिन्न सामाग्रीहरु आफ्नो वेवसाइट र एपमा निःशुल्क उपलब्ध गराएको छ । यसका कोर्समा गेम, क्वीज, टेस्ट आर्टिकल समावेश गरिएका छन् । यो एकेडेमीले पठनपाठनलाई रमाइलो र अन्तर्क्रियात्मक तरिकाले विद्यार्थीलाई सिकाउने काम गर्दै आएको छ । डिजिटल शैक्षिक प्लेटफर्म ‘एम्बिसन गुरु’ एम्बिसन गुरु एउटा डिजिटल शैक्षिक प्लेटफर्म हो । यसले आर्टिफिसियल इन्टेलिजन्स (एआई) मार्फत विद्यार्थीलाई अध्यापन गराइरहेको छ । विद्यार्थीले यसलाई पढ्ने र सिक्ने माध्यमको रूपमा उपयोग गर्न सक्छन् । एम्बिसन गुरुले छोटो समयमै विद्यार्थीको मन जितेको छ । यो प्लेटफर्ममा अहिले मासिक एक लाख २० हजार विद्यार्थी अध्ययन गर्छन् । यसले विद्यार्थीको प्रोफाइल तयारदेखि लिएर क्रियाकलापका आधारमा रिपोर्ट तयार पार्छ । त्यही रिपोर्टले विद्यार्थीलाई कसरी अध्यापन गराउने भन्ने विषय निर्धारण गरेर सिकाइन्छ । परम्परागत तरिकाको पढाइलाई परिवर्तन गर्न नयाँ प्रविधिको प्रयोग गर्न यो प्लेटफर्म तयार पारेको एम्बिसन गुरुको दाबी छ । यो प्लेटफर्ममा चिकित्सा शिक्षा आयोग र इन्जिनियरिङ अध्ययन संस्थानले प्रवेश परीक्षा सम्बन्धी प्याकेज छ । यस्तै, राष्ट्रिय परीक्षा बोर्डले तयार पार्ने पाठ्यक्रममा आधारित सामाग्री पनि यो प्लेटफर्ममा पाइन्छ । यसमा प्रयोग गरिएको एआईले पढाइको गुणस्तर सुधार्ने काम गर्छ । यसका लागि एआईले विद्यार्थीलाई पाठबाट प्रश्न सोध्छ । यसरी विद्यार्थीको क्षमता रुची पत्ता लगाएर कुन कुरामा बढी जोड दिने भन्ने सल्लाह पनि यो प्लेटफर्मले दिँदै आएको छ । माइसेकेण्ड टिचर नेपालको शिक्षामा परिवर्तन ल्याउने उद्देश्य सहित ई–लर्निङ प्लेटफर्म ‘माइसेकेण्ड टिचर’ सञ्चालनमा आएको छ । शिक्षामा आधुनिक प्रविधि प्रयोग आवश्यक रहेको भन्दै यसले नेपाली शिक्षामा काम गरिरहेको छ । विभिन्न विषयमा समसामयिक अवधारणा, पाठ्क्रम विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई दैनिक पद्धतीसँग जोड्न यसले काम गरिरहेको छ । क्याम्ब्रीज स्कुल सिंगापुरले तयार पारेको यो प्लेटफर्म अहिले नेपालका विभिन्न विद्यालय र विद्यार्थीले प्रयोगमा ल्याएका छन् । ‘माइ सेकेण्ड टिचर’ ले उत्पादन गरेका कोर्षहरू धेरै विद्यालयले पढाइरहेका छन् । यसमा शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्तरक्रियात्मक भिडियो सामग्रीहरू राखिएका हुन्छन् । नबुझेका विषय शिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने, सजिलै उपलब्ध अनलाइन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मू्ल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, कुनै पनि समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपरलगायतका थुप्रै विशेषताहरू माइ सेकेण्ड टिचरमा रहेको छ । यसरी भिडियो र अडियोबाट शिक्षा ग्रहण गर्न पाउँदा विद्यार्थीलाई पनि सहज भएको छ । काठ्माडौंमा रहेको काव्य स्कुलले माइ सेकेण्ड टिचरसँग साझेदारी गर्दै उसले उत्पादन गरेका कोर्स पनि पढाइरहेको छ । कक्षा ११ र १२ मा माइ सेकेण्ड टिचरका कोर्सहरू पढाइरहेको विद्यालयको मिडिया विभागका रिजन खड्काले बताए । इन्टरनेटमार्फत मोबाइल कम्प्युटरबाट पढ्न पाउँदा विद्यार्थीलाई पनि सजिलो हुने गरेको उनी बताउँछन् । दाङको राप्ती गाउँपालिकामा रहेको आदर्श माविमा यो वर्षदेखि माइसेकेण्ड टिचरका कोर्सहरू पढाइ हुन थालेको छ । साइन्स, अंग्रेजी, गणित लगायतका कोर्सहरू भिडिओमा पढ्न पाइन्छ । सधै पाठ्क्रममा भएका विषयहरू पढिरहेका विद्यार्थीलाई भिडियो, अडियो मार्फत पढाइ हुँदा सजिलो भएको छ । भिडियो हेरेर सिक्न मिल्ने हुँदा विद्यार्थीलाई सहज भएको विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले बताए । पढाइमा सहज भए पनि सबै विषय यसमा समावेश नहुँदा भने समस्या भएको उनको भनाइ छ । उनी भन्छन्, ‘सम्झौता गर्दा सबै विषयवस्तु उपलब्ध गराउने कुरा थियो तर अहिलेसम्म पुरा कोर्स पाउन सकेका छैनौं, अहिले आधा प्रोजेक्ट र आधा पाठ्यक्रमको विषयहरू पढाइ रहेका छौं । उसो त विद्यालयले विगत दुई वर्षदेखि आफै प्रोजेक्टमार्फत विद्यार्थीलाई सिकाउँदै आएको थियो । यो वर्षदेखि माइ सेकेण्ड टिचरलाई ५० हजार रुपैयाँ तिरेर उसको कोर्स सुरु गरेको विद्यालयले जनाएको छ । आदर्श मावि जस्तै पालिकामा रहेका कक्षा १२ सम्म पढाइ हुने सबै माध्यामिक विद्यालयमा माइ सेकेण्ड टिचर कार्यक्रम सुरू भएको पालिकाका शिक्षा विभाग प्रमुख विश्वास विकले बताए । उनी यो कार्यक्रम लागु गरे यता विद्यार्थी र शिक्षकलाई समेत प्रविधिको विषयमा थप ज्ञान प्राप्त गर्न सहज भएको बताउँछन् । अहिले देशभरका विभिन्न विद्यालय कलेजहरूले कुनै न कुनै रुपमा शिक्षालाई प्रविधिसँग जोडेका छन् । काठमाडौंको ज्ञानेश्वरमा रहेको आइएसटी कलेजले पनि प्रोजेक्टमार्फत विद्यार्थीलाई सिकाउने गरेको छ । कलेजका प्रधानाध्यापक सम्झना बस्न्यातका अनुसार कलेजले भेडा एपमार्फत विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको छ । भेडा एक सफ्टवेर हो । यसले नेपालको शिक्षा क्षेत्रमा प्रविधिसहित विद्यार्थी र शिक्षकलाई पठनपाठन गर्न सहज बनाइरहेको छ । अहिले यसमा एक हजार बढी विद्यालयले यो सफ्टवेर प्रयोग गरिरहेका छन् । शिक्षालाई डिजिटलाईज गर्न शिक्षक विद्यार्थीहरूबीच ज्ञान बाँडफाँडमा यसले सुधार गर्ने प्रयास गर्छ । यही एपको प्रयोग मार्फत आइएसटी कलेजले अध्यापन गराइरहेको बस्नायतले बताइन् । उसो त अहिले सबै जसो कलेजले यस्ता विभिन्न प्रविधिको प्रयोग गरिरहेका छन् । नेपाली विद्यार्थी आफै पनि अहिले थेसिस् लेख्नदेखि अरु विषयहरु सिक्न च्याट जीपीटी र एआईको प्रयोग गर्ने गरेका छन् । प्रविधिमैत्री अबको शिक्षा काठमाडौंको मदन भण्डारी कलेजमा एआईको विषयमा अध्यापन गराउँदै आएका रविराज बराल प्रविधि विद्यार्थीहरूका लागि अहिलेको सबैभन्दा अति महत्वपूर्ण हुने बताउँछन् । किताबी ज्ञान जति विद्यार्थीका लागि आवश्यक हो त्योभन्दा बढी अब प्रविधि सम्बन्धीको ज्ञान हुनु आवश्यक रहेको उनको भनाइ छ । अहिले नेपालका सरकारी तथा निजी कलेजमा प्रविधिबाट पढाइ हुने क्रम बढेको बताउँदै उनले यस्तो शिक्षाले नेपाली विद्यार्थीलाई विश्वका जुनसुकै क्षेत्रमा गएर काम गर्न सहज हुने दावी गरे । शिक्षाका जानकारहरू पनि अहिलेको युगमा विद्यार्थीका लागि प्रविधि निकै आवश्यक रहेको बताउँछन् । शिक्षाविद् विद्यानाथ कोइराला अब प्रविधिसँग जोडिन नसकेका विद्यार्थीको काम नभएको बताउँछन् । अहिले विश्व प्रविधिमा च्याट जीपीटी, एआई लगायतका प्रविधि आइसकेको बताउँदै उनले यस्तो बताए । प्रविधिको प्रयोगविना बजारमा प्रतिस्पर्धा गर्न विद्यार्थी र शिक्षक दुवैलाई उत्तिकै चुनौती छ । साथै, अहिलेको युगका विद्यार्थीलाई पढाउन सक्नु शिक्षक सामु पनि ठूलो चुनौति देखिएको उनको भनाइ छ । विद्यालयमा ल्यापटप विद्यार्थीहरूलाई आधुनिक शिक्षामा जोड्न एक ताका ल्यापटप वितरणको लहर नै चल्यो । कतिपय स्थानीय सरकार अहिले पनि ल्यापटम वितरणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । कतिपयले शिक्षकलाई ल्यापटप दिएका छन् भने कतिपय पालिकाले विद्यार्थीहरूको लागि नै प्रविधि हस्तान्तरण गरेका छन् । सानै उमेरदेखि विद्यार्थीलाई कम्प्युटर चलाउन सिकाउने, लेख्न सिकाउने काम विद्यालयमा भइरहेका छन् । २०७८ सालमा कर्णाली प्रदेशको सुर्खेतमा रहेको विरेन्द्रनगर नगरपालिकाले पालिकाभित्र रहेका ६४ वटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको थियो । विद्यालयको पठनपाठनलाई प्रविधिसँग जोड्दै कागजबिहीन शिक्षापद्धतीको विकासलाई टेवा पुर्याउन भन्दै ७ सय ५३ वटै स्थानीय सरकारले आ–आफ्नो पालिकाका सामूदायिक विद्यालयलाई ल्यापटप वितरण गरेका थिए । तर, समस्या प्राय शिक्षकहरू अहिले पनि ल्यापटप चलाउन जान्ने अवस्थामा छैनन् । शिक्षाविद् कोइराला त्यस्ता पुराना शिक्षकले पनि अहिलेको प्रविधि सिक्न आवश्यक रहेको बताए । शैक्षिक गुणस्तर र शिक्षण सिकाइ फलदायी बनाउन शिक्षामा प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने उनी बताउँछन् । प्राथमिक वा आधारभुत तहबाटै प्रविधिमा आधारित शिक्षा प्रदान गर्न सुरू गर्ने हो भने शिक्षाको गुणस्तरमै सहयोग पुग्ने विज्ञहरू बताउँछन् । शिक्षकलाई नै चुनौती अहिले च्याट जीपीटी आक्रामक रूपमा विश्व बजारमा छाइरहेको छ । विद्यार्थीले पढ्नै नपर्ने गरी सबै उत्तर त्यही भेटिन्छ । यस्तो अवस्थामा कतिपय शिक्षकहरूलाई नै पढाउन हम्मे पर्ने गरेको छ । पढाउन नसक्ने शिक्षकसामु पनि प्रविधिले उत्तिकै चुनौती थपेको छ । कि विद्यार्थीबाट आफुले सिक्नुपर्ने, कि जागिर छोड्ने पर्ने अवस्था नेपालका सामुदायिक विद्यालयमा आएको जानकारहरू बताउँछन् ।

पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।  ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गरे। शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गरे। ‘गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ ।  सरकारले बर्सेनि विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदार, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ’, प्रधानमन्त्रीको आह्वानमा भनिएको छ, ‘हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।’ सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएका बताए। विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका बताउँदै प्रधानमन्त्री दाहालले पाठ्यपुस्तकको वितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आमनागरिकमा हार्दिक अनुरोध गरे । यो वर्षको प्रारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने पूर्ण विश्वासका साथ सबै नेपालीमा प्रधानमन्त्रीले नयाँवर्षको शुभकामना पनि व्यक्त गरेका छन्।