नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ रिमाल धरौटीमा रिहा

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल धरौटीमा रिहा भएका छन् । विशेष अदालतमा मंगलबार भएको थुनछेकको बहस पछि न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले धरौटीमा छोड्ने आदेश जारी गरेको हो । रिमाल २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।  सम्पत्ति शुद्धिकरण मुद्दामा गत साउन ७ गते पक्राउ परेका रिमाललाई मंगलबार थुनछेक बहसका लागि उपस्थित गराइएको थियो । 

४ लघु बीमाको व्यापार १ अर्बमाथि, सबैभन्दा धेरै प्रोटेक्टिभको

काठमाडौं । लघु निर्जीवन बीमकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ३१ करोड रुपैयाँ बढीको व्यापार भित्र्याउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा ४ वटा लघु निर्जीवन बीमकले ५ लाख ९७२ बीमालेख जारी गरेर १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । एक वर्षको अवधिमा सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले एक वर्षमा १ लाख ४३ हजार ६८१ वटा बीमालेख जारी ३७ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  अघिल्लो आवमा  कम्पनीले २४ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ५०.४६ प्रतिशतले वृद्धि भएको छ । एक वर्षको अवधिमा दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ ।  कम्पनीले १ लाख २० हजार २१३ वटा बीमालेख जारी गर्दै ३२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  अघिल्लो आवमा कम्पनीले २६ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ३९.९० प्रतिशतले बढेको छ । यसैगरी, स्टार माइक्रो इन्स्योरेन्सले एक वर्षमा १ लाख ३९ हजार ७१ वटा बीमालेख जारी गर्दै ३१ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो आवमा २२ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ४०.३४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९८ हजार ७ वटा बीमालेख जारी गर्दै ३० करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  अघिल्लो आवमा सो कम्पनीले २१ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको व्यापार ४०.३४ प्रतिशतले वृद्धि भएको छ । 

'शिखर'मा शिखर, पछ्याउँदै सलिको

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमकहरूले ५० अर्ब ६० करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन् ।  नेपाल बीमा प्राधिकरणले बुधबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमकले २९ लाख ६६ हजार १९५ वटा बीमालेख जारी गरेर ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । अघिल्लो आव २०८१/८२ को तुलनामा कम्पनीहरूको व्यापार १५.१२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा बीमा कम्पनीहरूले  २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गरी ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । १ वर्षमा सबैभन्दा धेरै व्यापार भित्र्याउने बीमा कम्पनीमा शिखर इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीले १ वर्षमा ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार १२.३८ प्रतिशतले बढेको छ । १ वर्षको अवधिमा दोस्रो धेरै व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) अगाडि रहेको छ । गत आवमा कम्पनीले ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ अर्ब २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ८.४० प्रतिशतले बढेको छ । तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालय एभरेष्ट इन्स्योरेन्स रहेको छ । एक वर्षमा कम्पनीले ५ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।  अघिल्लो आवमा कम्पनीले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार ३१.०६ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, गत आवमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ५५५ करोड ११ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ४ अर्ब २० करोड ७९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ५० लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सको ३ अर्ब ११ करोड ६२ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको व्यापार १७.१३ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.१७ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३७.३० प्रतिशत, नेको इन्स्योरेन्सको ११.३७ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको २०.२४ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको ११.९५ प्रतिशतले बढेको छ । त्यस्तै सानिमा जीआईजी इन्स्योरेन्सले ३ अर्ब ८ करोड २० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब २१ करोड ६२ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २ अर्ब २ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ३७ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले १ अर्ब २९ करोड ७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा सानिमा जीआईसी इन्स्योरेन्सको व्यापार  प्रतिशत १४.०१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८.७७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ८.२१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १४.८३ प्रतिशत र नेसनल इन्स्योरेन्सको २१.५८ प्रतिशतले बढेको छ ।