९ महिनामा जीवन बीमा कम्पनीहरूको व्यवसाय १ खर्ब ४० अर्बमाथि, कुनको कति ?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ९ महिना (चैत महिना) सम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्बमाथि कुल बीमाशुल्क संकलन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले बिहीबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख ७१ हजार २० वटा बीमा पोलिसी बिक्री गरी कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँको बीमाशुल्क संकलन गरेका हुन् । बीमा कम्पनीहरूले चैत्र महिनामा मात्रै ३ लाख ५५ हजार ४४६ बीमालेख जारी गरेर १५ अर्ब ७३ करोड ११ लाख रुपैयाँ आर्जन गरेका छन् । ९ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  दोस्रो धेरै व्यवसाय गर्ने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्सले १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल) ले १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  त्यस्तै, हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ, एशियन लाइफले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  त्यस्तै, सिटिजन लाइफले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जीवन बीमकको व्यवसाय (रकम रु. लाखमा)

९ महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय साढे ३६ अर्बमाथि

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ९ महिना (चैत महिना) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल साढे ३६ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ बीमा कम्पनीहरुले २२ लाख ९ हजार ९८६ वटा बीमा पोलिसी बिक्री गरी कुल ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । बीमा कम्पनीहरूले चैत्र महिनामा मात्रै ३ लाख ४७ हजार ८७२ बीमालेख जारी गरेर ५ अर्ब ४ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । ९ महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । शिखर इन्स्योरेन्सले चैत्र मसान्तसम्ममा २ लाख ३८ हजार ६६७ बीमालेख जारी गरेर ४ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । दोस्रो धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले गरेको छ । उक्त कम्पनीले २ लाख १ हजार ८३८ बीमा लेख जारी गरेर ३ अर्ब ८३ करोड २३ लाख रुपैयाँ बीमाशुलक संकलन गरेको छ । तेस्रो धेरै व्यवसाय आर्जन गर्ने कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ९ महिनामा ३ अर्ब १२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थपछि आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ, एनएलजी इनस्योरेन्स कम्पनीले ३ अर्ब १ करोड रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ७२ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेका छन् । त्यस्तै, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले २ अर्ब ८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ प्रभु इन्स्योेरेन्स कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 

नेशनल लाईफ र ग्राण्डी अस्पतालबीच सम्झौता, बीमा प्रस्तावकलाई छिटो मेडिकल सेवा

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा प्रस्तावक तथा कर्मचारीका लागि सहुलियत र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्राण्डी इन्टरनेशनल हस्पिटल सँग मेडिकल सेवा सम्बन्धी सम्झौता गरेको छ । मिति २०८३ वैशाख ९ गते कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी अस्पतालका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवश्यक पर्ने मेडिकल परीक्षण सहुलियत दरमा छिटो र सहज रूपमा उपलब्ध गराइनेछ भने परीक्षणपछि आवश्यक मेडिकल रिपोर्ट पनि शीघ्र प्रदान गरिनेछ । साथै कम्पनीमा कार्यरत कर्मचारीहरूले अस्पतालबाट १० प्रतिशत छुटसहित सहुलियत दरमा स्वास्थ्योपचार सेवा पाउने व्यवस्था गरिएको छ । यस सम्झौताबाट कम्पनीसँग आबद्ध ग्राहक तथा कर्मचारीहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।