नेपाल इन्स्योरेन्सको सेयर आजदेखि बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज भदौ २७ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १० बराबर ३.४७ अनुपातमा जारी गरेको हकप्रदमा आवेदन नपरेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरेको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँको ३४.७८ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ३.४७ कित्ता सेयर अनुपातमा ६५ करोड ७६ लाख ९६ हजार ७६६ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त समयमा कम्पनीको संस्थापक सेयरधनी समूहतर्फ ४ हजार ४६८ कित्ता सेयर र सर्वसाधारण सेयरधनी समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता गरी कुल १ लाख ९७ हजार ४२ कित्ता सेयरमा भने आवेदन परेको थिएन । उक्त सेयर लिलाम बढाबढमा बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त सेयर खरिदका लागि असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता सेयर लागि आवेदन दिनु पर्नेछ । इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय लाजिम्पाट तथा चिप्लेढुङ्ग (पोखरा), ट्राफिकचोक (बुटवल), आदर्शनगर (वीरगंज) र गोल्छाचोक (विराटनगर) शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ ।

बीमा दाबीलाई सहज बनाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सृजना भएको बीमा दाबीलाई छिटो र सहज ढङ्गले फर्च्छ्यौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति पुगेको र बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै बीमा दाबीलाई सहज बनाउन प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई आग्रह गरेको निर्देशक कुन्दन सापकोटाले जानकारी दिए ।   असहज अवस्थाका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीका विवरण साप्ताहिक रूपमा उपलब्ध गराउन समेत प्राधिकरणले आग्रह गरेको छ । यही भदौ २३ र २४ गतेको प्रदर्शन तथा तोडफोडका कारण ठूलो जनधनको क्षति भएको छ ।

क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न बीमक संघको आग्रह

काठमाडौं । नेपाल बीमक संघले हाल देशभर उत्पन्न प्रतिकूल परिस्थितिका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले विज्ञप्ति जारी गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको छ । संघले क्षति बेहोरेका बीमित तथा ग्राहकलाई सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गरी सहयोग लिन आग्रह गरेको छ । केही सञ्चारमाध्यममा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बीमा कम्पनीहरू दाबी व्यवस्थापन गर्न सक्षम र प्रतिबद्ध रहेको पनि संघले स्पष्ट पारेको छ ।