लगानीकर्ताको धैर्यताको बाँध टुटे कसले जिम्मा लिन्छ ? तारा फुल्लेलको विचार

लगानीकर्ताहरुले ब्रोकर कमिशन कम हुनुपर्छ भनेर पटक-पटक भन्दै आएका छौं । नेपाल धितोपत्र बोर्डलाई यस भन्दा अगाडि पनि लिखित तथा मौखिक रुपमा पनि ब्रोकर कमिशन घट्नु पर्छ भनेर अनुरोध गर्दै आएका छौं । धेरै पटक आग्रह तथा अनुरोध गर्दा गर्दै पनि अब हाम्रो धैर्यताको बाँध टुटिसकेको छ । सोही अनुरोध अनुरुप आज हामीले नेपाल धितोपत्र बोर्डमा दवाव स्वरुप कार्यक्रम गर्यौं । नेपालको पुँजी बजार संचालन गर्नको लागि आवश्यक पर्ने नीति नियम तर्जुमा गरी लगानीकर्ताहरुको हित र लगानीको संरक्षण गर्दै देशको आर्थिक विकासमा छरिएर रहेका पुँजीहरुलाई एकतृत गर्दै सो पूँजीलाई राष्ट्र निर्माणमा परिचालन गर्ने मुल उद्देश्यबाट नेपाल धितोपत्र बोर्ड स्थापना भएको व्यहोरा सबैलाई अवगत नै छ । यसले हामी लगानीकर्ताका पिर मर्का र समस्याहरु बुझ्न पनि आवश्यक छ । लगानीकर्ताहरुको हित संरक्षण र उनीहरुको लगानीको लागत कम गरी पुँजी बजारमा लागेको लगानीको सुनिश्चितता र प्रतिफलको सम्भावना देखाई दिनु पर्ने पनि बोर्डको कार्य क्षेत्र पर्छ । सोही उद्देश्य प्राप्तीका लागि हालै बोर्डले अन्तर्राष्ट्रिय लगानीकर्ता सप्ताह पनि मनाएको छ । लगानीकर्ताहरुले आफ्नो लगानीको लगानी लागत कम गरी बढी भन्दा बढी प्रतिफल चाहना राख्नु हाम्रो नैसर्गिक अधिकार हो र हरेक लगानीकर्ताहरुको मुख्य उद्देश्य पनि त्यही हो । देशको पुँजी बजारको विकास र विस्तारका लागि गरिएका विगतका विभिन्न आन्दोलनहरु मध्ये नेपाल सरकार र लगानीकर्ता संघ संगठनहरु बिच भएको ५८ बुँदे सम्झौतामा उल्लेख भएको दलाल कमिशन पुनरावलोकन गर्ने भन्ने बुँदा नम्बर ३४ को बुँदालाई कार्यान्वयनम ल्याउन नेपाल सरकार अर्थ मन्त्रालयबाट धितोपत्र बोेर्डमा प्रेशित भई सो बाेर्डबाट कमिशन पुनरावलोकनको लागि अध्ययन समिति समेत गठन भइ समितिबाट प्रतिवेदन समेत बोर्डमा पेश भइसकेको छ । ब्रोकर कमिशन सम्बन्धि एउटा अध्ययन समिति पनि गठन भएको छ । सो अध्ययन समितिले समेत प्रतिवेदन तयार गरेर धितोपत्र बोर्डका अध्यक्षकोमा पुगि सकेको धेरै महिना भइसक्यो । सो प्रतिवेदनको रिपोर्ट पनि आइसक्यो भन्ने हामीले सुनेका छौँ । त्यति हुँदा पनि आजसम्म त्यसको कुनै वास्ता छैन । हिजो दैनिक १०/२० करोडको कारोबार हुने ठाउँमा अहिले ९/१० अर्बको कारोबार हुने स्थिति आइसकेको छ । अझै पनि त्यही पूरानै कमिशन हुनु विडम्बना हो । यो अवस्थामा हामीलाई कुनै राहत महशुस भएको छैन । अहिलेको ०.६ प्रतिशत कमिशन धेरै हो । ०.४ देखि ०.६ प्रतिशत धेरै भयो । अब बजार सुहाउँदो बनाउन ०.२५ प्रतिशत बनाउन आवश्यक छ । यसमा नै लगानीकर्ताहरुको हित छ । ब्रोकर कमिशन घटाउँदा लगानीकर्ताहरुले राहत प्राप्त गर्न सक्छन् । यही लगानीकर्ताहरुलाई राहत दिलाउनु नै हाम्रो कार्यक्रमको मुख्य उद्देश्य हो । उक्त लगानीकर्तालाई राहत मिलाउने हिसाबले नै हामीले ज्ञापन पत्रपनि तयार पार्यौं । अहिले धितोपत्र बोर्डको अध्यक्ष विदेश जानु भएको बेला परेकाले बोर्डको कार्यकारी निर्देशकलाई ज्ञापन पत्र बुझाउने योजना हामीले बनायौं ।  लगानीकर्ताहरुले लिखित, मौखिक तथा नियमित भेटघाटमा दलाल कमिशन घटाएर लगानीकर्ताहरुको लागत कम गरी लगानीकर्ताहरुलाई पुँजी बजारमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्य पूर्तिकाललागि कार्य गर्न अनुरोध गर्दै आएका छौं । लगानीकर्ताहरुले सेयर बजारमा लगानी गर्दा प्राप्त हुने प्रतिफलमा तेहोरो कर लाग्ने गरेको र सो सम्बन्धमा हामी लगानीकर्ताहरुको अनुरोधलाई मनन् गर्दै ५ प्रतिशत लाभकरलाई अन्तिम करको विषयमा स्वीकार गर्ने विषयलाई कार्यान्वयनमा ल्याउन, पुँजी बजारलाई पुनरुत्थान गर्न सेयर कर्जाको मार्जिन ७० प्रतिशत सम्म दिन पाउने व्यवस्था गर्न माग गरेका छौं । चर्को कमिशनले लगानीकर्ताहरुको नोक्सानी दिनानुदिन बढ्दै गएको अवस्थामा लगानीकर्ताहरुको लागानीको धैर्यताको बाँध टुट्न गई सो कार्यले निम्त्याउने अप्रिय परिणामको भागिदारी हामी लगानीकर्ताहरु हुन सक्दैनौं । आज बजारले नयाँ उचाई र विभिन्न रेकर्ड कायम गर्दै अगाडि बढ्दै गएको छ । ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गरी हामी लगानीकर्ताहरुको लगानीको लागत कम गराउदै नेपालको पूँजी बजारमा भित्रिने नयाँ युवा पुस्तालाई यस क्षेत्रमा आउन प्रेरित गर्दै, छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सो पूँजीलाई राष्ट्र निर्माणमा आवश्यक पूँजीको जोहो गर्दै, पुँजी बजार चलायमान बनाउँदै, नेप्से धितोपत्र बोर्ड, सिडीएससी र ब्राकरको पनि आयमा गुणात्मक वृद्धि हुनेछ । राष्ट्रलाई पनि पूँजीगत लाभकर अझ बढी प्राप्त भई हामी लागानीकर्ताहरुले सरकारलाई कर तिरेर गौरवान्वित हुने वातावरणको सिर्जना गरिनु पर्छ । (सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष फुल्लेलसँग गरिएको कुराकानीमा आधारित)

कोरोना बीमाले ल्याएको संकट र पशुपतिनाथको पुकार

चीनको बुहानबाट शुरु भएको कोरोनाभाइरसले विश्वव्यापी आकार ग्रहण गरेपछि नेपालमा पनि त्यसको प्रभाव शुरु भयो । यो त्रासदीपूर्ण महामारीमा विश्वका धेरै देशहरुले लकडाउन, सटडाउन, पूर्वाधार विकास, जाँच र उपचार पद्धतिमा आफूलाई केन्द्रित गरे । नेपालमा पनि खासै संक्रमितहरु उल्लेख्य रुपमा नभेटिंदै लकडाउनको प्रकृया अपनाइयो र एकहदसम्म त्यसले रोग संप्रेषणलाई नियन्त्रण गर्न प्रभावकारी देखियो । जब संक्रमणले धपक्कै बलेको भारतीय भूमिबाट लाखौं नेपालीहरु भित्रिन थाले, त्यसपछि नेपालमा पनि कोरोनाले बिस्तारै आकार लिन थाल्यो । यहाँ उठान गर्न खोजिएको विषय अहिलेको जल्दोबल्दो कोरोना बीमाको हो । नेपालमा कोरोना संक्रमण फैलन थालेपछि सञ्चालनमा रहेको २० वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाबाट संक्रमण हुनेहरुका लागि एउटा बम्पर चिट्ठा खोले । कोरोना संक्रमण भएको प्रमाणपत्र ल्याउ, हातहातै १ लाख लैजाउ । यस्तो चिट्ठा किन्न मान्छेहरुको दौडधुप शुरु भयो । मान्छेहरुमा कोरोनाको डर कम र चिट्ठाको लोभले धेरैलाई गाँज्यो । पहिला बिभिन्न मान्छेहरुका नागरिकताका फोटोकपीहरु लिएर शेयर भर्ने शैलीमा आफ्ना शाखा सन्तान, साथीभाई, इष्टमित्र सबैका नाममा कोरोना बीमालेख लिनेहरुको लाइन हरेक कम्पनीहरुमा देखिन थाल्यो । बिजनेस खोज्न ग्राहकका अफिस कोठाहरुमा चाहार्नुपर्नेमा ग्राहक स्वयं आफ्नो आगनमा आउनु बीमा कम्पनीका प्रमुखहरुको लागि कम उपलव्धीमूलक थिएन । यस्तो बिजनेस सधैं गर्न पाए आफ्नो पर्फमेन्स देखाउन पाउने भए । पर्फमेन्स राम्रो भएपछि इन्सेन्टिभ पाउने देखि कार्यकाल थपिने सुनौलो अवसर पनि बीमा कम्पनीका कार्यकारी प्रमुखहरुका अगाडि देखियो । कम्पनी संचालन गर्ने कुनै पनि संस्थाको योग्य प्रमुखले सधैं भविश्यको आंकलन गरेर निर्णय गर्ने गर्दछ । त्यसमाथि बीमा कम्पनी भनेका जोखिमको बिजनेस हो । जोखिमको आंकलन गर्दा सबैभन्दा पहिला ग्राहकको जोखिमलाई होइन, कम्पनीको जोखिमलाई आंकलन गर्ने गरिन्छ । आफू जोखिममा रहेर गरिने निर्णयले अरु दोश्रो वा तेश्रो पक्षको जोखिम बहन गर्न सक्दैन । जोखिमको आर्थिक पक्ष मात्र होइन, यसको सामाजिक जोखिम र विश्वासको जोखिम पनि उत्तिकै विचार गर्नुपर्ने हुन्छ । तर नेपालका बीमा कम्पनीका प्रमुखहरुले कोरोना बीमा गर्दा कुनै पनि जोखिमको रत्तिभर विश्लेषण गरेनन् । किन गरेनन् भन्ने पक्षको अनुमान गर्दा कि त उनीहरु कम्पनी र यो बीमा क्षेत्रप्रति व्यवसायिक र इमान्दार छैनन वा उनीहरु जोखिमको बिश्लेषण गर्ने क्षमता नै राख्दैनन् भन्ने हुन्छ । कि नियामकले जे भने पनि सहि वा गलत नभनी बीमा कम्पनीहरु एसम्यानको भूमिकामा छन् भन्ने हुन्छ । सबैलाई थाहा छ, विश्वभर कहिं पनि महामारीको बीमा गरिदैन । बीमा गरिएका पोलिसीहरुमा पनि महामारीलाई अपवादमा राखेर त्यसको बीमा दावी भुक्तानी नगर्ने शर्त राखिएको हुन्छ । अर्को पक्ष, यस्ता महामारीहरुको रिइन्सुरेन्स व्याकअप हुदैन, जुन नेपालमा लागु गरिएको कोरोना बीमामा समेत छैन । यो विषयमा इन्सुरेन्स कम्पनीका प्रमुखहरु मात्र होइन, सामान्य चिठीपत्र बोकर हिड्ने इन्सुरेन्सका पियनहरु समेत अनविज्ञ छैनन् । यति सामान्य चेतनाको सामान्य आंकलन गर्न वा उपयोग गर्न नसक्ने बीमाबिज्ञहरुको नियतको कारणबाट आज पूरै बीमा क्षेत्र संकटमा छ । संकट पनि एउटा होइन, बहुसंकट आइपरेको छ । पहिलो, बीमा कम्पनीले बुझेको प्रिमियमभन्दा कैयौं गुणा बढि दावी परिसकेको छ र पर्ने क्रम जारी छ । यसले बीमा कम्पनीहरुको दायित्व अनुमान नै गर्न नसकिने तरिकाले बढेको छ । दोश्रो, दावी भुक्तानी ढिलो भएको छ । यसले बीमा कम्पनीहरु पैसा लिन्छन्, क्लेम तिर्दैनन् भन्ने विश्वासको संकट यसअघि जुन व्याप्त थियो, अहिले प्रमाणित नै हुन थालेको छ । तेश्रो, अत्याधिक बीमाको बाढीले क्यापिटल वा इक्विटी लस हुने अबस्था आउने सम्भावना उत्तिकै छ र यो नयाँ बीमा कम्पनीहरुको लागि झन् भयावह हुने देखिन्छ । बीमा भुक्तानीमा एउटा मापदण्ड बनाइएको दावी कम्पनीहरुले गरेका छन् । पहिलो १ अर्बको दायित्व बीमा कम्पनीको, त्यसपछिको १ अर्बको दायित्व पुनर्बीमा कम्पनीको, त्यसपछिको ५० करोड बीमा कम्पनीहरुकै महाविपत्ति कोषको, त्यसपछिको १ अर्ब बीमा समितिको, त्यसपछिको बाँकी सबै नेपाल सरकारको रहेको भनाई छ । माथिको भनाईलाई आधार मान्दा हालसम्म करिब ५० करोड दावी भुक्तानी गरिएको छ । तिर्न बाँकी करिब ३ अर्ब पुगेको छ । उल्लेखित हिसावमा कम्पनीहरुको दायित्व, पुनर्बीमा कम्पनीको दायित्व, महाबिपत्ति कोषको दायित्व र बीमा समितिको दायित्व भित्रको दावी लगभग आइसकेको छ । अब आउन बाँकी दायित्वको अबस्था के होला ? बीमाको प्रिमियम समेत नतिरी बसेको नेपाल सरकारले बाँकी दायित्व बहन गर्ला ? यो नै सबैको चासोको बिषय हो । यस विषयमा सरकारी अधिकारीहरुको धारणा पनि बाँझिएका छन् । अर्थसचिवले बीमा व्यवसायमा हुने नाफा नोक्सानको दायित्व बीमा कम्पनीहरुकै हुने बताएका छन् । भलै कोरोना बीमा सम्बन्धि निर्देशिकामा ३ अर्ब ५० करोड भन्दा बढीको दावी नेपाल सरकारले बोहोर्ने उल्लेख गरिएको छ । अहिले कोरोना संक्रमणको दर उच्च रहेको, नेपालमा मृत्युदर बढिरहेको र विश्वमा कोरोनाको दोश्रो लहर चलिरहेको अबस्थामा नेपाल सरकारले बीमाको दायित्व व्यहोर्ने विषयमा विश्वस्त हुन कठिन छ । शुरुमा कोरोना जाँच र उपचारको सबै दाहित्व नेपाल सरकारले लिने बताएको थियो । तर बीचमा सरकार आफ्नै निर्णयबाट पछि हट्यो सर्वोच्च अदालतको परमादेश दुई पटक आएपछि सरकारी अस्पतालहरुले कनिकुथी कोभिड विरामीको उपचार गर्न थालेका छन् । तर विरामी हुँदा उपचारको योजना बनाउने र केही खर्च गर्न सक्ने वर्ग सरकारी सेवाप्रति विरक्त भएर निजी अस्पतालमा उपचार गराईरहेका छन् । मौकाको फाइदा लिदै निजी अस्पताल तथा ल्यावहरु कोभिड टेष्टको व्यापारमा लाभ लिन जुर्मुराएका छन् । कोरोना पोजेटिभ देखाइदिनेहरुको धन्धा पनि उत्तिकै चलेको छ । जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर अस्पतालहरु निर्माण गर्ने, उपकरणहरु खरिद गर्ने र स्वास्थ्य सेवालाई सामान्य जनताको पहुंचमा पु¥याएर उनीहरुको जीउज्यानको रक्षा गर्नु सरकारको दायित्व हो । सरकारको काम र यसको बजेट भनेको कुनै चिट्ठा परेका मान्छेलाई पुरस्कार दिने होइन । केवल पोजेटिभ रिपोर्ट आएर, घरमा मासुभात खाएर बसेकालाई चिट्ठाको रकम बाड्न न त सरकारसंग पर्याप्त बजेट छ, न उसको काम हो । बरु संक्रमित व्यक्तिको उपचार गर्नु उसको दायित्व हो, न कि पोजेटिभ देखिएकाहरुलाई पैसा बांड्दै हिड्नु । अब प्रश्न उठ्छ, सरकारले नतिरे कसले तिर्छ ? कुनै कम्पनीले आफ्नो नाममा जारी गरेको बीमालेख अकाट्य करार हो । बीमाका पक्षहरुले गरेको करारको लागि बीमा कम्पनी जवाफदेहि हुन्छ । जस्तो कुनै कम्पनीले आफ्नो नाममा प्रिमियम बुझेको रसिद काटेर, बीमालेखमा रु. १ लाख भुक्तानी दिन्छु भनेर कबुल गरेर, लेखेर, उसको पदाधिकारीले हस्ताक्षर गरेर, कम्पनीको छाप लगाएर बीमितलाई दिएको बीमालेखको दावी भुक्तानीको दायित्व कसको हुन्छ ? यो कुरा बुझ्न कुनै इन्सुरेन्स कम्पनीको सिईओ भइरहनु पर्दैन । भोली पीडित पक्ष अदालतमा गयो भने के हुन्छ र अदालतले बीमालेख हेरेर शुरुमै के निर्णय गर्छ ? यो जान्नको लागि कोही पनि वकिल हुनु पर्दैन । यसरी आफूले बीमालेख जारी गर्ने, प्रिमियम बुझेर दायित्व स्वीकार गर्ने अनि यो दायित्व मेरो होइन, सरकारको हो भनेर बीमा कम्पनीहरुलाई पञ्छिन कठिन छ । यस्तो अवस्थामा के कम्पनीहरुको मौजुदा व्यवसाय वा कोष वा पुँजीले धान्न सक्छ ? यो अबस्था आयो भने यसको जिम्मेवार को हुने ? नेपाल सरकार, बीमा समिति वा कम्पनीका सिईओेहरु ? भोली लगानीकर्ताको लगानीको जवाफदेहिता कसले बहन गर्ने र सिंगो बीमाको भविश्य के हुने भन्ने प्रश्न अनुत्तरित भएपनि यसको नियति अत्यन्तै दर्दनाक हुने निश्चित छ । त्यस्तो अबस्थामा नेपालका बीमा कम्पनीहरु आफैले जारी गरेको बीमा लेखबाट सृजना भएको दायित्वको भुक्तानी गर्न नसकेर भाग्दै हिड्नु पर्ने अबस्था पो आउला कि ? यो अबस्था आउन नदिनको लागि भगवान पशुपतिनाथसंग कामना गरौं, कोरोना बीमा गरेकाहरुको रिपोर्ट अब सधैं नेगेटिभ आओस् र कम्पनीका प्रमुखहरुको यो कर्मको फल समग्र बीमा क्षेत्रले व्यहोर्नु नपरोस् । श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् । कोरोना चिट्ठा किनौं, १ लाख पुरस्कार जिताैं

मुखको साटो हात चलाऔं, दिमागभन्दा बढी दिल

कति दिन गाली गर्नु ? कसलाई कसलाई मात्र गाली गरिरहनु ? एकथरि यति मूर्ख छन् कि उस्तै कमजोरी पटकपटक दोहो¥याउँछन् र कमजोरीका खात लगाउँदै जान्छन् । अर्काथरि छन् जो उनीहरूका कमजोरीका खात खोतल्छन् र एक एक पत्र पल्टाउँदै जान्छन् । उछितो काढ्दै जान्छन् । सार्वजनिक सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालका निजी भित्ताहरूमा विष वमन गरिरहन्छन् । एकोहोरो धारे हात लगाइरहन्छन् । एकथरि गल्ती दोहो¥याउन अभ्यस्त, अर्कोथरि गाली बर्षाउन । एउटा झुण्ड हिजोका वाचा भुल्नमा काबिल अर्को झुण्ड धोकाका शृङ्खला सम्झँदै त्यसको पर्दाफास गर्नमा । राजनीतिक एवम् सामाजिक जीवनका सिद्धान्तहरू पल्टाउँदा पूर्वीयदेखि पाश्चात्य महान् विद्वान् एवम् दार्शनिकका खारिएका सिद्धान्त र दर्शन एउटै देशमा एकै शताब्दीभित्र सम्पूर्णका सम्पूर्ण असफल तुल्याइदिन सक्ने कस्तो राजनीतिक पुस्ता जन्मियो नेपालमा ? के नेपाली जनतालाई प्रजातन्त्रको बाटो हिँडाउन २००७ सालदेखि आजसम्म अनेक किसिमका आन्दोलनहरू गर्ने नेतृत्वको सत्तरी वर्षको राजनीतिक इतिहास विश्वका दर्शनलाई माझीऔँला देखाउनका लागि गरिएको कसरत मात्र थियो ? राणा शासनदेखि राजतन्त्रविरुद्ध चालेका एकसेएक साहसिक कदम के बच्चाका खेल थिए ? हजारौँको बलिदानी के दिवास्वप्न मात्रै थियो त ? यस्ता अनुत्तरित प्रश्न थुप्रै छन् । प्रश्न राजनीति गर्नेहरूतिर मात्रै तेर्स्याएर हुँदैन । प्रत्येक आन्दोलनमा ज्यानको बाजी थापेर नेतृत्वलाई कदमकदममा दह्रो साथ दिने परिवर्तनका खम्बारूपी जनताहरूतिर पनि उत्तिकै तेर्स्याउन जरुरी छ । के यतिका सिद्धान्त असफल पार्ने दुस्साहसमा जनताको त्यो जमात जिम्मेवार छैन ? के जनता भनेको आफूले लगाएको फाटेको चप्पल चुँडिँदा पनि नेतालाई सुकिलो बनाइराख्न काँध खियाउने दस्ता मात्रै हो ? हिमाली काखमा हुर्केको शीतल छातीमा तातो गोली थाप्ने साहसी योद्धा मात्रै हो ? या हर दशकमा प्रजातन्त्र नामको सुनचरी पाउने चाहनामा रगतको नहर बगाएर नेपाली माटो सिँचाई गरिरहने रक्तकुण्ड हो ? कि निश्चित सङ्ख्याका नेताहरूको सुखका लागि आफ्ना निधारबाट सधैँ सधैँ पसिनाका रुप्से छहरा झारिरहने रसिलो पहाड ? कुन रूपमा व्याख्या गर्दा नेपाली जनतामाथि खासमा न्याय हुन्छ ? जनताले बाँचेको यो पौने शताब्दीको सही व्याख्या कुनचाहिँ उदाहरण वा बिम्बले गर्न सकिन्छ ? यो बहस एकपटक थाल्न जरुरी छ । एकपटक थाल्ने र पटकपटक विमर्श गर्ने गरी यो बहसको जबरदस्त थालनी हुनु आवश्यक छ । सुन्दै आएकै हो, पढ्दै आएकै हो, “इतिहासमा जनताले कहिल्यै हारेको छैन ।” के नेपालमा प्रजातन्त्र प्राप्तिको लडाइँको यो सत्तरी वर्षमा जनताले जितेको कुनै मोड छ ? जनताको खल्तीले कहिल्यै न्यानो महसुस गरेको छ ? जनताको तिर्खाएको घाँटीले कहिल्यै चिसो पानी पाएको छ ? लर्खराएका जनताका गोडाले कहिल्यै प्रजातन्त्र नामको अमूर्त वस्तुलाई मूर्त रूपमा वैशाखीका रूपमा प्राप्त गरे ? उखुबारीमा तातो रगत बगाएर चिसो मुर्दा लडेका नानीहरूको आत्माले कहिल्यै न्यायको स्वास फेर्न पाएको छ ? बारीमा पसिना बगाउने किसानले पसिनाको न्युनतम मूल्य कहिले पाए ? किसानको पसिनाले थकाइ मारेर चौतारीमा सुस्ताउँदै सन्तोषको सास फेर्न नपाएको प्रजातन्त्रले अरू कसमाथि कुन बखत न्याय गर्ला भनेर आश गर्नु ? पसिनाको तातो बाफमा पिल्सिएको बाजेको पुस्ताले बाबुको पुस्तालाई गाउँबाट पर कतै सहरतिर पठायो । सहरमा अडिन नसक्नेहरू हावामा बाँकटे हान्दै सात समुद्र पारि पुगे । सहरका गल्लीमा फोहोरसँग मोहोर साटेका र सात समुद्रपारि विषम हावापानी झेल्दै गाँस कटाएर छोराछोरीको पुस्ताका लागि सुन्दर सपनाको खेती गरेर पठाएको पसिनाको कमाइमाथि महङ्गीको तातो पन्युँ बजारेपछि र दलालतन्त्रको ‘रेम्बो नाइफ’ धसेपछि आज नातिपुस्ताले समेत आफ्नो कालो भविष्यमा चाँदीको घेरा देख्न सक्ने स्थिति छैन । यस्तो अवस्थामा गिद्धले लुछिसकेपछिको अस्थिपञ्जरमा मासुको अंश खोजेझैँ कहाँनिर खोज्नु जनताको जित ? जनताले जितका लागि लडाइँ लड्दै आए तर लडाइँकै नाइकेद्वारा सधैँ धोका पाउँदै आए । प्रजातन्त्रको पूर्ण उपभोग गरेर समृद्ध जीवन जिउने जनताको सपना तुहाएर जनतालाई हारको हार (माला) पहिर्याउने काम प्रजातन्त्रको ठेक्का लिएको मानिएका नेताहरूले अनवरत गर्दै आए । जनताले नेताका हरेक अभियानमा उत्तिकै साथ दिँदै आएका छन् । जनताको निसर्त साथ र निःस्वार्थ सहयोगको बदलामा नेताले दिँदै आएको धोकाले सिङ्गो देश नै असफल बन्ने सङ्केत यतिबेला ठूलो पर्दामा देखा परिरहेको छ । यही अवस्था निरन्तर रहनु भनेको जनतामा राजनीतिक व्यवस्थाप्रति नै चरम अविश्वास बढ्दै जानु हो । अविश्वासको यो मनोविज्ञान तयार हुन नदिन नेपालको वर्तमान राजनीतिक नेतृत्वले कुनै पनि परिवर्तनका सङ्केत देखाएको छैन । तसर्थ जनस्तरबाटै राजनीतिलाई सम्मानित क्षेत्रका रूपमा स्थापित गर्न एउटा फरक पहल थाल्नुपर्ने बेला आएको छ । नेपालको शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान दिएर अघिल्लो पुस्तालाई बोल्न सक्ने बनायो तर काम गर्न सक्ने बनाएन । सैद्धान्तिक ज्ञानलाई प्राधान्य दिएका कारण पनि उक्त पुस्तामा ज्ञान भएका तर सिप नभएका व्यक्तिको सङ्ख्या अधिक छ । सिपविना परिवर्तनको आश गर्नु मुर्खतासिवाय केही होइन । प्रजातान्त्रिक आन्दोलनको सुरुआती चरणमा जस्तो वर्तमानमा जनताको चेतनास्तर न्युन छैन । तसर्थ पनि इतिहासका कालखण्डमा प्रजातन्त्रका लागि योगदान दिएको वर्तमान शीर्ष नेतृत्व आफैँ परिवर्तन हुन तयार नभएमा जनताले समय कुरिरहनु जरुरी छैन । जनता व्यावहारिक रूपमा यसरी तात्नुपर्यो कि त्यसले नेतृत्वलाई स्वतः परिवर्तनका लागि झकझक्याउनका सकोस् । नेपालको शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान दिएर अघिल्लो पुस्तालाई बोल्न सक्ने बनायो तर काम गर्न सक्ने बनाएन । सैद्धान्तिक ज्ञानलाई प्राधान्य दिएका कारण पनि उक्त पुस्तामा ज्ञान भएका तर सिप नभएका व्यक्तिको सङ्ख्या अधिक छ । सिपविना परिवर्तनको आश गर्नु मुर्खतासिवाय केही होइन । पछिल्लो समयमा प्रविधिको विकासले मानिसलाई गर्न सक्ने पनि बनाएको छ । वर्तमान पुस्तामा गर्न सक्ने सिप र क्षमता दुवै भएकाको सङ्ख्या उल्लेख्य छ तर इच्छाशक्तिको भने चरम अभाव छ । अघिल्लो पुस्ताले दिएको राजनीतिक, सामाजिक र आर्थिक संस्कारमा वर्तमान पुस्ता ढुक्क हुन सकेको छैन । त्यसैले पनि आफ्नो सिपलाई व्यावसायिकतामा परिणत गर्ने साहस देखाउन वर्तमान पुस्ता आनाकानी गरिरहेको छ । यो स्थिति सिर्जना हुनु परिवर्तनका लागि निकै ठूलो दुर्भाग्य हो । देशमा गर्नुपर्ने काम एउटा छ, देशको शीर्ष नेतृत्व अर्कैतिर रुमल्लिइरहेको छ । ‘टाउको दुख्या औषधी नाइटोमा लाई’ भन्ने कुरालाई चरितार्थ गर्दै आएको वर्तमान नेतृत्वलाई सबक सिकाउनका लागि जनस्तरमा चेतना र व्यावहारिक परिवर्तनको ठुलै आँधी जरुरी छ । त्यसैले त्यो आँधीयुक्त पहल यथाशीघ्र थालिनु पर्दछ । चेतनशील बन्नु भनेको भन्न सक्ने बन्नु मात्रै होइन । आलोचना गर्न सक्ने बन्नु मात्रै त झनै होइन । बुझेको कुरा व्यवहारमा लागु गर्दै जीवनका अनेक सम्भावनाको स्पष्ट रेखा कोर्न सक्ने बन्नु बल्ल चेतनशील हुनु हो । जति कुरा हामी जान्दछौँ त्यति सबै कुरा गर्न सक्दैनौँ । व्यावहारिक ज्ञान र सिपको प्रयोग गरेर आफ्ना वरिपरिका सम्भावनालाई यथार्थमा परिणत गर्न भने अवश्य सक्छौँ । आजसम्म प्रजातन्त्र प्राप्तिका नाममा आन्दोलनरत पुस्ताले राजनीतिक परिवर्तनबाहेक अर्को सम्भावना नै देखेन । अधिकार प्राप्त हुनु भनेको जनताको जीवनस्तर आफसेआफ उकासिनु किञ्चित होइन, जीवनस्तर परिवर्तनका लागि आधार तयार हुनु हो । राजनीतिक अधिकारको प्राप्तिले सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिकलगायत अन्य अधिकार प्राप्त गर्न पृष्ठभूमि तयार पार्ने हो । नेपालको नेतृत्वले राजनीतिक परिवर्तन नै साध्य हो भनेर बुझ्यो र बुझायो । सिङ्गो जनमानस त्यसैका पछिपछि लाग्यो । यसको परिणाम राजनीतिक परिवर्तनको उच्चतम बिन्दु (सङ्घीय गणतन्त्र)मा आइपुग्दा पनि सर्वसाधारण जनता सामान्य सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको उपभोगसम्म गर्न सक्ने अवस्थामा पुगेका छैनन् । राजनीतिक परिवर्तनलाई साधन/माध्यमका रूपमा ग्रहण गरी जनताको जीवनस्तरमा आएको परिवर्तनलाई साध्य मान्न सकेका भए आज यो मुलुक परिवर्तनको उदाहरण पस्कँदै विश्व रङ्गमञ्चमा शानका साथ उभिएको भेटिन्थ्यो । तर बिडम्बना, त्यो अवसर यो मुलुकले प्राप्त गरेन । तसर्थ पनि समाजको चेतनशील वर्गको प्रतिनिधित्व गर्ने वर्तमान पुस्ताले यो समय ठुलो बलिदानी दिनुपर्ने समय आएको छ । युग परिवर्तनको एउटा स्पष्ट खाका कोरेर भावी पुस्तालाई त्यसमा सहजै दौडने प्रेरणा र ऊर्जा थप्नका लागि बौद्धिक, सचेत र व्यावहारिक बलिदानी दिनुपर्ने दायित्व यो पुस्तामा छ । ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ…’ भनेर गायक रामेशले भनेझैँ एकपटक फेरि सिङ्गै देश उठ्नुपर्ने बेला आएको छ । आवाज मात्रै लिएर उठ्ने बेला घर्किसकेको छ । ज्ञान मात्रै बोकेर हिँड्ने समय सिद्धिसकेको छ । यो समय त सिप रोपेर सिर्जना फुलाउनुपर्ने समय हो । देशको उत्पादनले दशकौँसम्म शिशिरको तुसारो भोगिसक्यो, वर्तमान पुस्ताले वासन्ती यामलाई बोकेर हिँड्नुपर्ने छ । स्वदेशी जनशक्तिले, स्वदेशी सिप र प्रविधि विकास गरी त्यसलाई उत्पादनमा लगाउँदै बस्ती बस्ती सिँगार्नु छ । यो देशका सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्नु छ । यसो गर्न सकियो भने परनिर्भर बन्दै गएको नेपाली समाज आत्मनिर्भरताको मोड समात्न सक्षम हुनेछ । सारा जनतालाई परनिर्भर बन्न बाध्य बनाएको नेपालको नेतृत्वले आफू वर्तमानबाट इतिहास नबन्दै देश यसरी परिवर्तन गर्न पनि सकिने रहेछ भन्ने पाठ सिकेर आकाशमार्गको बाटो तताउलान् । तिनलाई सबक सिकाउनु युवाको दायित्व हो । तिनलाई पश्चात्तापको अग्निमा भकभकी उम्लिने बनाउन सकियो भने भावी पुस्तालाई त्यो अमूल्य ज्ञान पस्कन पनि वर्तमान पुस्ता सक्षम हुने निश्चित छ । उत्पादनमुखी जीवनशैली अपनाउन सकेमा सम्पूर्ण नेपालीमा एउटा दिव्यज्ञान प्राप्त हुनेछ । दिव्यऊर्जा प्राप्त हुनेछ । त्यसैले अबको पुस्ताले सिर्जनात्मक विरोध गर्ने हो । घोषणापत्रमा कुनै काम गर्नेछु भनेर पाँच वर्षका लागि जनमत पाएर निर्वाचित जनप्रतिनिधिले चार वर्षभरिमा उक्त योजना थालनी नै गरेन भने उक्त नेताको पुत्ला नजलाइयोस् । उसका विरुद्ध विषवमन गरी सहस्र गाली नगरियोस् । के गरियोस् त ? गरियोस् के त भन्दा उक्त व्यक्तिलाई नेतृत्वबाट सर्वसाधारण व्यक्तिमा झार्ने सामूहिक सङ्कल्प गरियोस् र आगामी निर्वाचनमा उम्मेदवार बन्ने र निर्वाचित हुने सम्भावना सबै क्षीण पारियोस् । तर त्यो कसरी ? जनताले आफ्नै पहलमा सिङ्गो समाज मिलेर उक्त परियोजना बाँकी रहेको एक वर्षमा निर्माण थालोस् र यथाशीघ्र सम्पन्न गरोस् । वर्तमान पुस्ताले रचनात्मक कार्य गर्न जरुरी छ न कि फेरि रत्नपार्क र माइतीघरमा धर्ना र नाराबाजी । चर्का नारा र लोभलाग्दा सपनाले मात्रै परिवर्तन सम्भव छैन, परिवर्तनका लागि त इच्छाशक्तिसहितको काम चाहिन्छ । लामो समयको शान्ति र विकासको अभाव पूरा गर्नका लागि योजनाको द्रुततर विकास र तीव्र कार्यान्वयन आवश्यक छ । वर्तमान सचेत पुस्ताले त्यो गति पक्रन आवश्यक छ । साथै सञ्चारमाध्यममा नेतृत्वले जिम्मेवारी पूरा नगरेको झोँक मात्रै पोखिएका सामग्रीलाई प्राधान्य दिन छाड्नुपर्छ । नेतृत्वले पूरा गर्न नसकेका वाचा जनता आफैँ विकास निर्माणमा जुटेर पूरा गरेका समाचारलाई अबको समयमा मिडियाले व्यापक बनाओस् । यस्ता सिर्जनात्मक कार्यबाट उक्त नेतृत्वलाई आफूले जिम्मेवारी निभाउन नसकेको पराजित मानसिकतामा पुर्याउन सकेमा टपर्टुइयाँ नेताहरूमा नेतृत्वमा रहने भोक हराउने सम्भावना प्रबल हुन्छ । यसले क्षमतावान् र जुझारु व्यक्ति मात्रै नेतृत्वका लागि तयार रहने संस्कारको थालनी हुन्छ । यसले राजनीतिलाई सङ्लो बनाएर लैजान्छ । वर्तमान पुस्ताले यस प्रकारका रचनात्मक कार्य गर्न जरुरी छ न कि फेरि रत्नपार्क र माइतीघरमा धर्ना र नाराबाजी । चर्का नारा र लोभलाग्दा सपनाले मात्रै परिवर्तन सम्भव छैन, परिवर्तनका लागि त इच्छाशक्तिसहितको काम चाहिन्छ । लामो समयको शान्ति र विकासको अभाव पूरा गर्नका लागि योजनाको द्रुततर विकास र तीव्र कार्यान्वयन आवश्यक छ । वर्तमान सचेत पुस्ताले त्यो गति पक्रन आवश्यक छ । हालसम्म नेतृत्वले दोहोर्याउँदै आएका कमजोरीको एकोहोरो बद्ख्वाइँ गरेर देश बन्दैन भन्ने कुरामा वर्तमान पुस्ता प्रष्ट हुन जरुरी छ । आजसम्म अघिल्लो पुस्ताले गरेका कमजोरीबाट पाठ सिकेर त्रुटि सच्याउँदै भोलिको सुन्दर खाका तयार गर्ने जिम्मेवारी वर्तमान पुस्ताको हो । अरूलाई काम गर्न नसकेको आरोप लगाउन पानी पिएजत्तिकै सहज छ तर त्यही काम आफूले गरेर देखाउन पर्यो भने दाँतबाट पसिना निस्कन्छ । तसर्थ अबको पुस्ताले अरूका कमजोरीमाथि आलोचनात्मक दृष्टि राखेर मात्रै पुग्दैन, समाधान पस्कन सक्नुपर्छ । तिमीहरूले यस्तो यस्तो गल्ती गर्यौ, खासमा त्यो काम यसरी प्रभावकारी गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गर्ने जिम्मेवारी हो वर्तमान पुस्ताको । त्यसैले प्रविधिको समुचित प्रयोग गरी समयसापेक्ष परिवर्तन पस्कनका लागि वर्तमान पुस्ता तम्तयार भएर लाग्नुपर्ने समय आइसक्यो । त्यसको घन्टी बजिसक्यो । राजमार्गका घुम्तीमा अर्काले अनुदानमा राखिदिएका ऐनाहरू झर्यामझुरुम फुटाउनेहरू पनि वर्तमान पुस्ताकै पात्रहरू हुन् । आफैँ केही नगर्ने तर अर्काले गरेकोलाई पनि जस नदिने अपजसे संस्कृति विकास हुँदै गएको छ । यो देशको सर्वाङ्गीण विकासका लागि एउटा दीर्घरोगका रूपमा स्थापित हुने सम्भावना प्रबल बन्दो छ । वैयक्तिक जीवनलाई प्राथमिकता दिएर आफ्ना लागि बाँच्ने व्यक्तिको सङ्ख्या बढ्दो छ । तसर्थ पनि जिम्मेवारीपूर्वक सामाजिक स्वार्थ र राष्ट्रहितमा लाग्ने नयाँ सोच भएको र दृढ इच्छाशक्ति भएको बलियो दस्ता देशव्यापी रूपमा तयार हुनु अत्यावश्यक छ । अन्यथा इन्जिन सिज भएको अवस्थामा रोकिएको सवारी झैँ देशको विकासको गति ठप्प हुनेछ । देशहितमा काम नगरेर देशका लागि बैगुनी बन्दै आएको वर्तमान बैगुनी नेतृत्वलाई गुनले मार्ने शक्ति र साहस दुवै आवश्यक छ । वैकल्पिक शक्ति भन्दै अर्कालाई गाली मात्रै थोपर्ने तर समाज सुधारका क्षेत्रमा माखो नमार्ने समूहको बिगबिगी बढ्ने अर्को कालो सम्भावना उदाउँदो छ । अतिवादलाई पृष्ठपोषण गर्ने यस्ता समूहसँग वर्तमानमा रहेको सिर्जनशील र सिपयुक्त जनशक्ति कडा टक्कर दिने गरी जुध्न तयार हुनुपर्छ । बल्ल अरूको ईशारामा अराजकता मच्चाउनेहरू ठेगान लाग्छन् । मुखको साटो हात चल्ने, दिमागभन्दा बढी दिल चल्ने समूहको खाँचो छ देशलाई अहिले । यस्तो नवीन प्रयोग एकपटक युवाजमातले नगर्ने हो भने असीम सम्भावना हुँदाहुँदै पनि देश असफल बन्ने निश्चितप्रायः छ । अब एउटा कर्मशील प्रयोग सिङ्गो देशको युवाशक्तिले गर्न जरुरी छ । राजनीतिक दलका दलालजस्ता विवेकहीन कार्यकर्ता बन्न छोडेर सिङ्गो देशको असल नागरिक बन्ने सङ्कल्प गर्न जरुरी छ आजका नेपाली जनताले । एकपटक कार्यकर्ता बन्न छोडेर जनता बन्ने पहल थालौँ । एकपटक आलोचना गर्न छोडेर सिर्जनामार्फत् जवाफ दिने दृढतासहितको परिवर्तन प्रारम्भ गरौँ । नबोली गर्ने र अरूलाई सिको गर्न बाध्य पार्ने गरी मौलिक सम्भावनाको पहिचान गरी परिवर्तनको फरक शैली विकास गरौँ । आउनुहोस्, एउटा फरक पहल थालौँ र परिवर्तनको सम्वाहकका रूपमा वर्तमान पुस्तालाई भोलिको इतिहासमा अङ्कित गरौँ ।