सँगै ह्याप्पी वर्थ डे, श्रद्धाञ्जली र बधाई
मोबाइल तथा कम्प्युटरमा इन्टरनेटको माध्यमबाट आफूले प्राप्त गरेका सूचना, आफ्नो विचार, फोटो, भिडियो लगायतका सामाग्रीहरु आफन्त, साथीभाई र शुभेच्छुहरु माझ आदानप्रदानको लागि प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । वेबसाइट एवं इन्टरनेट माध्यमद्वारा प्रत्यक्ष संवाद, कुराकानी, आफ्ना रुची, विचार र अभिब्यक्ति व्यक्त गर्न, जुनसुकै स्थान, समयमा पनि प्रयोग गर्न सक्नु नै सामाजिक सञ्जालको बिशेषता हो । समुदायमा आधारित सामग्रीहरु आदानप्रदान गर्ने एक प्रकारको सञ्चार माध्यम भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । युट्युव, फेसबुक, भाइबर, ट्वीटर, इन्स्टाग्राम, टिकटक, थम्ब्लर, वीच्याट, स्क्याईप आदि सामाजिक सञ्जालका उदाहरणहरु हुन् । ग्रामिण भेगमा समेत इन्टरनेटको पहुँच विस्तार भएसँगै सामाजिक सञ्जाल प्रयोगको दायरा धेरै फराकिलो भएको छ । सूचना र प्रविधिको विकाससँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पनि बृद्धि भईरहेका छन् । युवाहरुको त कुरै छोडिदिऊँ, बालबालिकादेखि जेष्ठ नागरिकहरुको हातहातमा मोबाईल मात्र हैन सामाजिक सञ्जालबाट कोही पनि अछुतो छैनन् । सरल प्रविधिबाट प्रयोग गर्न सकिने भएकाले पनि बालबालिकाहरुदेखि बृद्धबृद्धाहरुमा समेत सामाजिक सञ्जालप्रति आकर्षण बढ्दै गएको हो । सामाजिक सञ्जाल मानिसहरुलाई जोड्ने एक माध्यम हो । यो अधिकांश मानिसहरुका लागि टाईमपासको साथी पनि हो । मानिसहरुले सामाजिक सञ्जालबाट नै धेरै सूचनाहरु लिने गरेका छन् । प्राय: मानिसहरुले सञ्चारमाध्यमबाट भन्दा पनि फेसबुक, ट्वीटरमा समाचारहरु हेर्ने गर्दछन् । पछिल्लो समय फेसबुक सूचनाको स्रोत नै बनेको छ । सामाजिक सञ्जाल प्रयोगको रफ्तारसँगै यसले सामाजिक चेतनाको स्तर बृद्धिमा सहयोग पुर्याएको छ । महामारीको समयमा सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले एकातर्फ हाम्रा दैनिकीलाई केही सरल बनाईदिएको छ भने अर्कातर्फ संवेदनशील घडीमा मानशिक त्रास र जोखिम समेत थपिदिएको छ । लेखक आफ्नो अभिव्यक्तिहरु सामाजिक सञ्जालमा पोख्दैमा कतिपय व्यक्तिहरु आफूलाई पत्रकार हुँ भन्ने सम्झिन्छन् । एउटा कुशल पत्रकारले कुनै पनि घटना, परिवेश र वस्तुस्थितिलाई मनन र विश्लेषण गरी स्रोत र साधनको प्रयोग गरी संयमतापूर्वक आम नागरीकहरुलाई सुसूचित गर्दछ । कतिपय ब्यक्तिहरुले फेसबुक, टिकटक, ट्वीटरहरुमा सचेतनामूलक, सन्देशमुलक, ज्ञानबर्धक भिडियो, पोस्टरहरु बनाएर नागरिकहरुलाई सुसूचित बनाईरहेका छन् भने कतिपयले अड्कलबाजी, सम्भावना र महामारीले निम्त्याएको केही घटनाहरुलाई बङ्ग्याएर अफवाह फैलाउने काम गरेका छन् । महामारी हामीले चाहेर निम्तिएको संकट होईन । यो एउटा प्राकृतिक विपत्ती हो । राष्ट्रिय विपदमा पत्रकार तथा सञ्चारमाध्यमले प्राकृतिक विपद्, विशेष संवेदनशील अवस्था वा घटनाका सम्बन्धमा समाचार सामग्री सङ्कलन र सम्प्रेषण गर्दा संयमित भई व्यक्तिको जीवनमाथिको खतरा, मानवीय संवेदना, सार्वजनिक सुरक्षा, जनस्वास्थ्य, सामाजिक सद्भावजस्ता विषयमा विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्दछ । पत्रकार आचार संहिता अनुसार पत्रकार तथा सञ्चारमाध्यमले जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्य, महामारी लगायत जनस्वास्थ्यसँग सरोकार भएका विषयसम्बन्धी सामग्री पाठक, श्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुनेगरी अतिरञ्जित तवरमा सम्प्रेषण गर्नुहुँदैन भनिएको छ । स्वास्थ्य संवेदनशिलतालाई प्रतिकुल हुनेगरी फैलिएको महामारीको समयमा सत्य र तथ्य सूचना संप्रेषण गर्दागर्दै पनि आम मानसमा त्यसको नकारात्मक असर पर्न सक्छ । सिङ्गो विश्व नै कोभिड–१९ को महामारी विरुद्ध युद्ध मैदानमा होमिइरहेको बेला हामी सामान्य नागरिकहरुको फेसबुकमा स्ट्याटसमा राख्न आतुर हुन शोभनीय नहोला । फेसबुकको वालमा एउटा २५ बर्षिय युवकको कोरोनाकै कारण मृत्यु भएको खबर देख्दा आइसोलेसनमा कोभिडसँग लडिरेका ५० बर्षका मानिसलाई अवश्य पनि जीवनप्रति मनोवल उच्च रहन सक्दैन । वर्तमान अवस्थामा कसैलाई पनि मृत्युको समाचार हेर्ने रहर छैन । हरेक व्यक्तिले आफ्नो मनोबल उच्च राख्ने सामाग्रीहरुको खोजी गरिरहेका छन् । ‘अचानोको पीडा खुकुरीलाई के थाहा ?’ भनेजस्तै भोग्नेहरुका लागि महामारी भयङ्कर छ, भुक्नेहरुका लागि सामान्य छ । यो बेला मानव जीवन अत्तालिएको बेला, कति मानिस पीडामा छट्पटाईरहेको बेला, सबैले सजगता अपनाउनुपर्ने बेला, आत्मविश्वास र धैर्यतामा अडिग रहनुपर्ने बेला हो । पछिल्लो समयमा मानिसहरु यति त्रसित भएका छन् की कसैको फोटो फेसबुकमा अपडेट गरेर बर्थडे विस गर्यो वा बधाई दियो भने पनि त्यो तस्वीरमा नजर पर्नासाथ मुटु कमाएर, छातिमा हात राखेर स्ट्याटस तिर नजर लगाउँछन् र लामो श्वास फेर्छन् । कोभिडका कारण मृतक ब्यक्तिको तस्वीर राखेर श्रद्धाञ्जली व्यक्त गर्दा मृतकका परिवार र आफन्तजन प्रति समवेदना हैन पीडा थपिएको छ । एकै ठाउँमा छिनमा नै ह्याप्पी वर्थ डे, छिनमा नै श्रद्धाञ्जली र छिनमा नै बधाई । फेसबुक प्रयोगकर्ता तपाईंहामीले गरेका यस्ता पोष्टले सूचना संप्रेषण भन्दा पनि समुदायमै मानसिक सन्त्रास फैलाएको छ । सामान्य अवस्थामा फेसबुकमा राखिएका यस्ता पोष्टहरुले सूचना सम्प्रेषण गर्ला तर यो बिषम परिस्थितीमा यस्ता खालका पोष्टहरु नराख्दा नै बुद्धिमानि होला । हामी सबै कोरोना भाईरसको रोकथाम, नियन्त्रण र निराकरणको मार्गमा छौं । उच्च मनोबल, ढृढ संकल्प, धैर्यता र सकारात्मक सोचबाट नै आफु, आफ्नो परिवार र समाजलाई जोगाउन सक्छौं । अब डराएर होइन मनोबल बढाएर कोभिडसँग युद्ध लड्न तयार हौं । (लेखकः काभ्रे सन्देश साप्ताहिकका सह–सम्पादक हुन् ।)
लगानीको ४० प्रतिशतसम्म दैनिक कारोबार गरौं, आईपीओ भर्न नछोडौं- लगानीकर्ता रौनियारको टिप्स्
काठमाडौं । दोश्रो बजारमा लगानी गर्दै हुुनुुहुन्छ भने राम्रो कम्पनी छानेर कारोबार गर्नुस् । तपाईंले बजारमा जति लगानी गर्नुभएको छ वा गर्दै हुनुहुन्छ, त्यसको अधिकतम ४० प्रतिशतसम्म कारोबार गर्ने गर्नुहोस् । र, बाँकी रहेको ६० प्रतिशत रकम राम्रो कम्पनीमा दीर्घकालिन लगानी गर्नुहोस् । जस्तै मानौं, तपाईले दोश्रो बजारमा एक करोड लगानी गर्नुभएको छ भने त्यसको ३० देखि ४० प्रतिशत रकम दैनिक कारोबार गर्नुस् । ५ दिन सेयर किन्नुस् बेच्नुस् । यसले के हुन्छ भने पकेट खर्च, घर खर्च, बाइक खर्च जस्ता दैनिक खर्चहरु सबै निस्किन्छ । यदी, लोन लिएर लगानी गर्नु भएको छ भने पनि त्यसको व्याज निस्किन्छ । त्यसकारणले ४० प्रतिशत जति कारोबार गर्दा राम्रो हुन्छ । र, बाँकी रहेको ६० प्रतिशत ‘मेडियम लङ्ग ट्रम भ्यालु इन्भेष्टमेन्ट विथ कम्पाउन्डिङ्ग रिटर्नस्’ पत्ता लगाएर कुन बैंकको फन्डामेन्टल राम्रो छ । कुन बैंक फन्डामेन्ट्ल्ली स्ट्रङ्ग छ । यसरी लगानी गर्दा कम्पनीको चुक्तापुँजी, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, एनपीएल हेरेर राम्रो छ छैन विष्लेशण गरेर मात्रै लगानी गर्नुपर्छ । साथै, यी सबै हेरेपछि कम्पनीको ग्रोथ कस्तो छ । गत वर्ष कस्तो थियो, अहिले कस्तो छ । यदी ग्रोथ राम्रो छ भने २/४ प्रतिशत पीई रेसियो फरक परे पनि केही फरक पर्दैन । त्यस्तो कम्पनीको सेयरमा लगानी गरेर ‘मेडियम लङ्ग ट्रम भ्यालु इन्भेष्टमेन्ट विथ कम्पाउन्डिङ्ग रिटर्नस्’ गर्यौं भने हामीले तिनीहरुको बोनस आएर हाम्रो सेयर क्युमुलिटिभ तरिकाले बढ्दै जान्छ । यसो गर्यो भने, यताबाट सेयर बढ्छ र उता (४० प्रतिशत कारोबार) बाट दैनिक खर्च उठ्छ । यो प्राय मैले सबैलाई भन्ने गर्छु । र, म आफै पनि यहि अभ्यास गरिरहेको छु । त्यसैले, अहिलेको समय पुँजीबजारमा लगानी गर्ने समय हो । विभिन्न कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण हेर्दा आउने एक/डेढ वर्ष पुँजीबजारमा त्यस्तो आत्तिनु/डराउनु पर्ने केही छैन । राम्रो ग्रोथ भएको कम्पनीमा लगानी गरे केही पनि फरक पर्दैन । जस्तै, उदाहारणको लागि हिमालयन डिष्टिलरीलाई हेरौं, नेप्से १८८१ बिन्दुमा हुँदा ४/५ सयमा बिक्री हुने सेयर अहिले करिब ४५०० रुपैयाँ पुगेको छ । गएको दुई वर्षदेखि उसले ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद दिइरहेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको प्रतिसेयर आम्दानी १०३ रुपैयाँ आयो । यो भन्दैमा सँधै एउटै कम्पनीमा लगानी गर्नु उचित हुन्छ भन्दिन म । समय अनुसार मुभ गर्नुपर्छ । अन्तिममा, लगानीकर्तालाई के भन्छु भने कुनै पनि कम्पनीमा लगानी गर्नु अघि उसको फन्डामेन्टल स्ट्रङ्ग छ छैन, त्यो हेरेर मात्रै निर्णय लिनुहोला । र, जहिल्यै पनि कम्पनीले पछिल्लो वर्षमा वितरण गरेको बोनसको इतिहास, व्यवस्थापक टीम र उसको व्यापार व्यसाय विस्तार हेर्नुपर्छ । त्यस्तै, यति हेरर लगानी गरेपछि अब त मूल्य घट्दैन, सँधै बढ्छ भन्ने चाहिँ हुँदैन । किनभने बजार घट्छ बढ्नको लागि, बजार बढ्छ घट्नको लागि । बजार घटेबढेन भने त हामीले केमा कमाउने र ? बजार घट्नु बढ्नु भनेकै बजारको सुन्दरता हो । यो प्राकृतिक प्रक्रिया हो । यसमा कसैले अत्यथा लिनु पर्दैन । पुँजीबजारमा हामीले मनि म्यानेजमेन्ट गर्ने हो । यो भनेको कस्तो भने, तपाईंसँग १०/२० हजार रुपैयाँ मात्रै छ भने पनि १०/२० हजारदेखि नै शुरु गर्नुस्, आईपीओ भर्न कसैले पनि नछोड्नुस् । सबै परिवारको नाममा भर्नुस् । र, सेभिङ्ग गर्दै जानुस् । यसो गर्यौं भने पछि केही वर्षमा आफ्नो पोर्टफोलियो हेर्दा आफै सर्प्राइज हुन्छौं । (लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले दिएका टिप्सको सम्पादित अंश)
बैंकका कर्मचारीको बेथाः जति चोटी मर्ज, उति चोटी नोकरी चट्
आज विहान कार्यालय जाने क्रममा धेरै दिन पछि मेरे एकजना बैंकमा काम गर्ने पुरानो साथी भेट् भयो । धेरै दिनपछि भेट भएकोले म खुशीले गद्गद् हुदै उसको हालखवर सोध्न थाले । के छ यार ? धेरै दिन पछि भेट् भयो… के छ तिम्रो खवर ? के छ परिवारको खवर…? सोधेको मात्र थिएँ– उसले ठिक छैन् यार भन्दै निदाउरो अनुहार लगायो । मैले फेरि सोधेँ– किन र के भयो ? पुनः प्रश्न गरें । जवाफमा उसले हाम्रो बैंक मर्जरमा जाने भयो नि ! उसले भन्यो । अनि मैले फेरि भनेँ– यो त खुशीको कुरा होइन र ? मेरो सहानुभूतिका शब्दप्रति उसको कुनै चासो देखिएन । काम गरिरहेको विकास बैंक मर्जरमा जाने र मर्जरमा गएपछि आफूले काम गरिरहेको सानो संस्थाका कर्मचारी राख्न पनि सक्ने वा नराख्न पनि सक्ने कुरा सुनायो । राखिहाले पनि परीक्षा दिनु पर्ने र पास भएपछि मात्र राख्नको लगि सिफरिस हुने कुरा सुनायो । उसको त्यस्तो कुरा सुनेर मेरो मन खिन्न भयो । यो त एउटा उदाहरण मात्र हो । नेपाल रास्ट्र बैंकको विगतको अदुरदर्शी निर्णयले ५० र ६० को दशकमा देशमा इजाजतपत्र प्राप्त गर्दै धमाधम बैंक, विकास वंैक , माइक्रोफाइनान्स, बीमा लगायत आर्थिक कारोबार गर्ने संस्थाहरु खुले । त्यस लगतै शहर केन्द्रित र मुनाफमुमी भएको भन्दै फेरि रास्ट्र बैंकले नाफामुखी संस्थालाई वाध्यात्मक परिस्थितिको सिर्जना गराई गाउँ गाउँमा शाखा विस्तार गनुपर्ने नभए शहरमा शाखा विस्तार गर्न नपाउने कुराले अकुंश लगायो । फलस्वरुप धमाधम शाखाहरु गाउँ गाउँमा खुले । शाखा खुलेपछि कर्मचारी आवश्यक भयो । र, एउटा युवा जमात जो अमेरिका, अस्ट्रेलिया वा कुनै युरोपियन देश जाने र आफनो भविश्य सुरक्षित गर्ने सपना देखिरहेको थियो उसले आफ्नै देशमा धमाधम बैंक र वित्तीय संस्थाको शाखाहरु आफ्नै गाउँ गाउँमा खुलेको देख्दा राजगारी देख्यो । सुन्दर भविष्यको सपना देख्यो । विगतमा नेपालमा कसैले पनि सायद सोचेको थिएन् होला, नेपालको वित्तीय क्षेत्र यति ठुलो बन्छ र करिब एक लाखलाई रोजगारी दिन सक्छ भनेर । तर, आज पनि बैंकिङ क्षेत्रमा रोजगारी र भविश्य देखिरहेको अर्को नयाँ पुस्ता वित्तीय क्ष्ोत्रमा रोजगारीको पर्खाइमा भइरहेको वेला, आर्थिक वर्ष २०७२/७३ को मौदिक नीतिमार्फत नेपाल रास्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चुक्ता पुँजी दुई अर्ब रुपैयाँबाट आठ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गर्यो । साविकको चुक्ता पुँजीबाट चार गुणा पुँजी वढाउनुपर्ने कुरा सवै बैंकहरुलाई टाउको दुखाइको विषय र काम भयो । बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जानुको विकल्प रहेन । यसले नयाँ पुस्ता प्रवेशको वाटो मात्र असहज वनाएन कि मर्जरले दोहोरिएको शाखाहरु धमाधम बन्द भए, ठूला भनिएका संस्थाहरुले प्राप्ति भई आएका संस्थाका कर्मचारी राख्ने कि नराख्ने भन्नेसम्मका निर्णय गर्ने भए । पहिला जागिर गरिरहेको संस्था मर्जर एक्वीजीसनपछि भएको नयाँ संस्थामा काम गर्नको फेरि परीक्षा दिनु पर्ने वाध्यात्मक पस्थितिको सिर्जना भयो । जसले खाइरहेको पदभन्दा घटुवामा नोकरी गर्नुपर्न वाध्यता सिर्जना भयो । सम्मानमा ठेस पुगेको भन्दै कयौंले नोकरी छोडे । एउटा संस्थाले अर्को संस्थालाइ मर्ज गर्छ वा प्राप्ती गर्छ भने उसले त्यो संस्थाको पुँजी तथा दायित्व सवै स्वीकारेको हुन्छ । राम्रो नराम्रो सवै स्वीकारेको हुन्छ संस्था स्वीकारेपछि । त्यही संस्थालाई विगतदेखि यहाँसम्म ल्याइपुर्याउने र रातदिन नभनी काम गर्ने कर्मचारीलाई समान पदमा स्वीकार्न किन हिचकिच ? परीक्षा भनेको त प्रमोशनको लागि पो लिने कुरा हो नि, हैन ? समान पदमा बस्नको लागि पनि परीक्षा दिनु पर्ने ? झन् ठूला संस्थाहरुले सानो संस्थाहरुका कर्मचारीलाई कसरी सहज वातावरणमा काम गर्न सकिन्छ भन्दै सोच्नु पर्ने होइन ? संम्बन्धित बैंक तथा वित्तीय संस्थाका व्यवस्थापकले र नेपाल रास्ट्र बैंकले पनि मर्जपछि कर्मचारीको हक हितको कुरालाई लिएर स्पस्ट नीति बनाउनु पर्ने देखिन्छ । अन्यथा संस्था मर्ज हुने तर कर्मचारी मर्ज नहुने हो भने कर्मचारीका लागि मर्ज भन्ने कुर जति चोटी मर्ज उति चोटी नोकरी चट नहोला भन्न सकिदैन ।