एक बैंकरको घरः कोरोना कालको व्यवहार, दशैं तिहार र नयाँ नोट

दशैं भर्खर सकिएको छ । दशैं नेपालीको महान र सबैभन्दा ठूलो चाड पर्व हो । त्यसमा पनि हामी बैंकरहरुलाई बैंकमा अरु वेला हत्तपत छुट्टी नपाउने अत्यावयक पेसा भएकोले दशैं र तिहार जस्तो चाडपर्वमा छुट्टी पाउँदा खुब रमाउछौं । मिठो मिठो खान र नयाँ नयाँ लुगा लगाउनभन्दा पनि यो कोरोनाको बेलामा पाइरहेको फोर्स लिभ विदा पनि काटिएकोले र भनेको बेला बिदा नपाइने हुनाले दशैं र तिहारको पाँच छ दिनको विदामा म र मजस्तै समस्त बैंकरहरु साच्चै मख्ख पर्दछन् । सधैंको कामको तनाव, हैं, हैं गर्दै बैंकिङ पेशाको भागदौडको जिन्दगी, बिहान नौ नबज्दै अफिस जानुपर्ने । बेलुका सात आठ वजेसम्म काम गरेर अबेर घर आउनु पर्दा र टार्गेटको प्रेसर वास्तवै यो चार पाँच दिनको दशैं छुट्टी मलाई असाध्यै मिठो लाग्छ । अरुवेला यो त बैंकमा काम गर्दछ, यसलाई त फुर्सदखनै हुदैन, योसँग भेट नै हुदैन, के यसको घर जानु ? अत्यावश्यक क्षेत्रमा काम गर्छु भन्छ, व्यस्तताको वहाना बनाउँदछ । टोलको सामाजिक काममा पनि भ्याइन है, अफिस जानुछ भन्दै गाउँ टोल आफन्त कोही मर्दा पनि मलामी समेत जादैन । कोरोनाको बेला पनि मेरो बैंक खुल्या छ, मलाई जानु छ भन्दै लखर लखर हिड्छ । यसैले कोरोना सार्ने भयो भन्दै मलाई तिरस्कार र हेयको नजरले हेर्ने मेरा आफन्त, छिमेकी र साथीभाइहरु घटस्थापनादेखि तिहारसम्म दशैमा कहाँ लाइनमा घन्टौं उभिनु, नयाँ नोट तिम्रो बैंकबाट मलाई ल्याइदेउ ल, भन्दै एकविहानै आफन्तजन छरछिमेक घरमै आई नयाँ नोटको डिनेमेशन सहित पैसा मलाई र म नभए मेरो श्रीमतीलाई दिँदा हासो पनि उठ्दछ । झन यो पल्ट त दशैंमै क्वाटर्ली क्लोजिङ परेर दशैंको मात्र विदा पाइयो । दुई तीन दिन थप विदा लिएर सपरिवार कही घुम्न जाम भनेको, त्यो पनि पाइएन । होइन, पण्डितहरुले पनि हामी बैंकरको मर्म वुझेर बैंकको क्लोजिङमा दशैंको साइत नपार्नु नि, जस्तो पनि लाग्यो यो पल्ट । यो पल्ट दशैको छुट्टीमा पनि बसेँ भनेर के भन्नु ? विदामा मोज गरेँ भनेर के भन्नु ? क्लोजिङ परेर टिका थाप्दै गर्दा पनि दिमागमा भने फलानोले लोनको किस्ता हाल्छ कि हाल्दैन, फलानोले गत महिना पनि व्याज हालेन यो पल्ट के गर्छ भनेर बैंकिङ काम मेरो मानसपटलमा घुमिरहयो । आखिर हुनपनि भोलि दशैं विदा सकिएपछि उठाउने त किस्तै हो, गर्ने त बैकिङ काम नै हो । धन्न, तिहार चाहीँ बैकिङ क्लोजिङमा परेको छैन र दिमागी प्रेशर तिहारमा हुदैन कि । आज पनि घर आइपुग्दा अवेर भयो । राति आठ बज्यो । घर छिर्दै गर्दा श्रीमती फतफताउदै थिइन् । मैले बुझिहालें, आज श्रीमतीजीको मुड खराव छ । जिस्कनु ठिक हुदैन । म चुपचाप हात खुट्टा धोइ भान्सामा सघाउन छिरे । तर, उ एक्लै फतपताएको देखेर भान्सामा सघाउन आँट आएन । र, चुपचाप डाइनिङ कुर्सीमा बसेँ । एकछिनपछि उनले मेरो मौनता तोडदै आफै भनिन्, हजुरलाई जसको पनि काम गर्नु पर्ने ? सबैसँग राम्रो हनु पर्ने ? त्यत्रो कोरोनाको बेला सवै जना कोरोना लाग्छ कि भनेर डरले सुरक्षित घरमा बस्दा हजुर चाहीँ बैंकिङ भनेको अत्यावश्यक क्षेत्र हो र यसमा काम गरेपछि डराउनु हुँदैन भन्दै बैंक गइरहनु भयो । हजुरलाई र मलाई यी टोलका र आफन्त जनले केसम्म भनेनन् ? के मैले विर्सिएकी छु र ? लखर लखल हिडछ, कोरोना यसैले सार्दछ भने । किराना पसलमा पनि यो बैंकमा काम गर्दछ, यसलाई सामान नदिनु, यो दोकानमा आयो भने हामी आउदैनौंसम्म भने । तपाइलाई थाहाँ छ ? हामीलाई मात्र होइन, हाम्री छोरी आभ्यालाई पनि उनीहरुको केटाकेटीसँग खेल्न दिएनन् । यसको बाबु बैंकमा काम गर्दछन्, यसको बाबुको बैकमा नानाथरिका ग्राहक आउँछन्, त्यही भएर यसको छोरीसँग नखेल्नुसम्म भने । हजुरले विर्सेपनि मैलै कहाँ बिर्सेको छु र ? कोरोनाको समयमा यो समाजका मान्छेहरुले वोलेको हामीमा तिखो बचन । मैले हास्दै भने, के भयो ? सबै मान्छे एकै थरिका हुदैनन् नि, मान्छेले विस्तारै बुझ्दछ नि, नरिसाउन । उनले जवाफमा मलाई कर्के आँखाले खाउला झै गरेर हेर्दै भनिन्, त्यो छिमेकी रत्न दाइ भन्ने छन् नि, कोरोना सर्दछ भन्दै हाम्रो छोरीसँग उसको छोरी खेल्न दनिने, हेर्नु न आज दिउँसो आएर मलाई तिहारको लागि नयाँ नोट चाहियो भन्दै पो घर आएका । दशैमा यत्रो दुनियाको नयाँ नोट साटियो । अव तिहारमा पनि पो चाहिने रे नयाँ नोट । मलाई त उसले नयाँ नोट चाहियो भन्दा झनक्क रिस उठेको थियो । मेरो बुढा सामाजिक छैन, समाजको काम गर्दैन भनेको होइन ? मेरो बुढाले कोरोना सार्दछ भनेको होइन ? अनि के जम्मैको दशैंमा र तिहारमा नयाँ नोट साट्ने र घरसम्म पुर्याउने मेरो बुढा भरिया हो ? भनिदिउँ कि जस्तो पनि लाग्यो । हजुरको अनुहार हेरेर चुप्प लागेँ । साटनु पर्दैन है त्यो रत्न दाइको नयाँ नोटसोट भन्दै उनले मलाई रिसाउदै आदेश दिइन् । र, फेरि फतफताउँदै खाना पकाउन लागिन् । उसले फतफताउदै गर्दा मैले भने विर्षिसकेको थिएँ । कोरोनाको वेला हामी बैंकरलाई छर छिमेकी र आफन्तजनले गरेको र वोलेको दुव्र्यवहारको भाषा । विर्सिसकेको थिएँ, उनीहरुको तिखो वचन । सवै मानिस एकैथरिका हुदैनन् । यो समाजको बैंकरलाई हेर्ने नजर विस्तारै सकारात्मक अवश्य हुनेछ । फेरि हामी बैंकर सहनशील हुनु पर्दछ । स–साना कुरामा हामी बैकरले इख गर्नु हुदैन । अवगुणलाई गुणले जित्नु पर्दछ । मैले यी कुरा सोच्दै गर्दा मेरी श्रीमतीले एक्कासी फेरि भनिन्, मैले भनिदिएको छु है, अरुको लागि नयाँ नोट साटे पनि हाम्रो छोरी आभ्यासँग खेल्दा कोरोना सर्दछ भनेर खेल्न नदिने उसको छोरी त्यो रत्नदाइको चाहि मरे पनि नयाँ नोट नसाट्नु है । आफै दुई तीन घन्टा बैंकमा वसेर लाइन लागेर साट्छन् । खवरदार है भन्दै श्रीमती फतफताउदै थिइन् । यता म भने उसले अवोध वालकले झै जिद्दी गरेको देखेर मुसुमुसु हास्दै, हुन्छ, साट्दिनँ भन्दै उत्तर दिदै थिएँ । तर, मनमा भने त्यसो गर्नु हुँदैन, पैसाको वदला पैसा नै त मागेको हो नि, नयाँ नोट त मागेको हो नि । दशैं तिरहारमा ऊ जस्तै सेवाग्राहीले पुरानो नोट दिई नयाँ नोट लिई उसको दशैं नयाँ र राम्रो हुन्छ भने के फरक पर्दछ ? हामी बैंकरले नयाँ नोट साटिदिन । के फरक पर्दछ नयाँ नोटको भरिया हुन ? मनमनै कुरा खेलाउदै थिए । यता श्रीमतीले खवरदार नसाट्नु भन्दै गर्दा म भने मेरी श्रीमतीले पनि थाहा नपाउने गरि रत्न दाइलाई सुटुक्क नयाँ नोट साटिदिने निधोमा पुगिसेको थिएँ ।

सधैं यस्तो भाग्यमानी भइदैन, आईपीओ भर्नुअघि जान्नै पर्छ यी तथ्य

पछिल्लो समयमा सेयर बजारमा जति पनि नयाँ लगानीकर्ताको प्रवेश भएको छ, त्यसको प्रमुख कारण प्रविधि नै हो । प्रविधिले गर्दा लगानीकर्ताहरु सजिलो तरिकाले बजारमा छिर्न सक्ने पहुँचको विकास भयो । विशेष गरी गाउँ गाउँमा बैंक पुग्ने र उनीहरुले बैंक तथा डिम्याट खाता खोलिदिनाले नयाँ लगानीकर्तालाई सजिलै बजारमा प्रवेश गर्ने एउटा माध्यम बनायो । नयाँ लगानीकर्ताहरु प्राथमिक बजारमा आएको त थाहा हुन्छ, कुनै कम्पनीको आईपीओमा परेको आवेदन मार्फत । त्यसमध्ये कति वास्तविक हुन्, कति होइनन् भन्ने हुन्छ । जस्तै, एउटा परिवारमा ५ जना छन् । एउटा व्यक्तिले सबैको खाता म्यानेज गर्यो भने त्यहाँ त्यो एक व्यक्ति मात्रै प्रमुख पात्र तथा बजारको लगानीकर्ता अथवा चासो दिने व्यक्तिको रुपमा पर्छ । बाँकी ४ जना पर्दैनन् । औषतमा त्यस्ता लगानीकर्ता कति छन् त ? हामीलाई थाहाँ हुँदैन । ती व्यक्ति कति दोश्रो बजारमा छिर्छन्, कति प्राथमिक बजारमै अड्केर बसिरहेका हुन्छन् भन्ने अर्काे प्रश्न पनि आउँछ । लगाकर्ता जुनसुकै हिसाबले प्राथमिक बजारमा आउन् या दोश्रो बजारमा छिरुन्, उनीहरुले बजारको बारेमा न्यूनतम आधारभूत ज्ञान लिन आवश्यक पर्छ । जस्तो, हामी जुन सेयर भन्छौं, त्यो सेयरबाट कति फाइदा छ र त्यो सेयरसँग सम्बन्धित कम्पनीले भोलिका दिनमा कसरी फाइदा दिन सक्छ र, त्यो मैले कसरी प्राप्त गर्छु भन्ने विषयको ज्ञान नयाँ लगानीकर्तामा हुन आवश्यक छ । यदि प्राथमिक बजारमा मात्रै जाने हो भने पनि । अब प्राथमिक बजारबाट दोश्रो बजारमा पनि छिर्ने अथवा सिँधै दोश्रो बजारमा प्रवेश गर्ने लगानीकर्ताहरुले अझ बढी ज्ञान लिन आवश्यक हुन्छ । त्यो भनेको बजारको मुभमेन्ट कसरी हुन्छ बुझ्न जरुरी छ । र, के कारणले आफूले किन्न खोजेको कम्पनीलाई असर गर्छ भन्ने अर्को महत्वपूर्ण हो । किनभने प्राथमिक बजारमा मात्रै लगानी गर्नेलाई दोश्रो बजारमा त्यति अनुभव पनि हुँदैन । र, दोश्रो बजारको मुभमेन्टको मनोवैज्ञानिक असर पनि उसलाई पर्न सक्छ । दोश्रो बजारमा छिरेर सेयर किनबेच गर्दा बजारमा हुने अप एण्ड डाउनले लगानीकर्तालाई मनोवैज्ञानिक असर परिरहेको हुन्छ । उसको नाफाले भन्दा पनि सेयर किनेर घटेपछि उसले बढी फिल गर्छ । त्यो फिल गर्दा उसले के कारणले मार्केटमा अप एण्ड डाउन आइरहन्छ र त्यो अवस्थामा आफूले कसरी लगानी व्यवस्थापन गर्दै जाने भन्ने बुझ्नु पर्ने हुन्छ । त्यो बुझ्न सक्यो भने भोलि नाफा लिने र घाटालाई व्यवस्थित गर्न सकिन्छ । यसको लागि अध्ययन निकै महत्वपूर्ण हुन्छ । सबैभन्दा पहिला म कहाँ, किन र कसरी लगानी गर्दैछु भन्ने आफ्नो उद्देश्य कसरी तय गर्ने भन्ने हो । त्यसपछि मैले यो कम्पनीमा, यति पैसा, यति समयको लागि लगानी गर्छु भनेर रणनीति तय गर्ने । अथवा कारोबार नै गर्ने हो भने पनि यस्तो कम्पनीमा यति नाफा लिएर निस्किने गरी लगानी गर्ने । घाटा नै भएछ भने पनि यतिसम्म मैले घाटा व्यहोर्न सक्छु भन्ने भएपछि निस्किने । यति विषयलाई ध्यान दिएर लगानी गरियो भने बजारमा उसको लगानी सबैभन्दा व्यवस्थित र तनाव कम हुन्छ । यहाँ सबैभन्दा ठूलो कुरा नाफाभन्दा घाटाको तनाव र त्यसको असर सबैभन्दा डरलाग्दो हुन्छ । नाफा त नाफा भैहाल्यो, त्यसले एक किसिमको उत्साह दिन्छ । तर, त्यो उत्साहभन्दा घाटाको पीडा सबैभन्दा बढी हुन्छ । त्यसैले नाफाभन्दा पहिला घाटालाई व्यवस्थित गर्ने तरिका सिक्नुपर्ने हुन्छ । त्यसलाई हामी लगानीको बीमा पनि भन्छौं । जसरी हामीले हरेक ठाउँमा एक किसिमको सुरक्षा अपनाइरहेका हुन्छौं, त्यसैगरी लगानीमा पनि जोखिमलाई कम गर्नको लागि बजारमा भोलि आइपर्ने जोखिमको सुरक्षा आफैले अपनाउनु पर्ने हुन्छ । अर्को, कम्पनीलाई बुझ्न लगानीकर्ताले कम्पनी विशेषका कुराहरु बुझ्न जरुरी छ । जस्तो, कम्पनीको परफरमेन्स, नाफा नोक्सान, कम्पनीको व्यवस्थापन तथा सुशासन लगायतका कुराले प्रभाव पारिरहेका हुन्छ । यसलाई कसरी अध्ययन गर्ने, कहाँबाट हेर्ने, सूचनाका श्रोतहरु के के हो भन्ने जस्ता विषयमा आफू सचेत र जानकार हुनुपर्छ । श्रोत त अहिले जति पनि छन् । तर, ती श्रोतमध्ये पनि भरपर्दो श्रोत चाहिँ कुन हो ? भन्ने बुझ्नु पर्छ । किनभने एउटै कम्पनीको विवरण तथा प्रतिवेदनलाई १० वटा मिडियाले १० थरि विश्लेषण गरेका हुन्छन् । कसैले सही तरिकाले गरेका होलान्, कसैले बुझेर गरेका होलान् या कसैले नबुझी अनुमानको आधारमा पनि गरेका होलान् । कसैले केही विषयको मात्रै विश्लेषण गरेका हुन्छन्, जसले हामीलाई पर्याप्त जानकारी नदिन पनि सक्छ । कम्पनी स्थापना भएको ३ महिना, ६ महिना मै आगामी १० वर्षको एउटा प्रोजेक्सन गरेर हामीले यो बिजनेश गर्छौं भनेर आउने स्थिति बन्यो र त्यो किसिमले पैसा उठाएर बिजनेस गर्ने अवस्था आएर सेयरमा लाउनु पर्यो भने हामीले अहिलेको मात्रै ज्ञान र यति मात्रैको अध्ययनले यति सजिलै प्राथमिक बजारमा आवेदन दिएर हामी नाफा कमाउने स्थितिमा पुग्दैनौं । लगानीकर्ताले पर्याप्त सूचना लिनको लागि विश्वसनीय श्रोत के हो ? उनीहरुले कम्पनीकै वेवसाइटमा गएर वार्षिक प्रतिवेदनहरु हेरेर त्यसलाई बुझ्ने कोशिस गर्यो भने त्यो रिलायबल हुन सक्छ । हाम्रोमा रिलायबल श्रोतको विकास भएको छैन । जति पनि अनलाइन मिडियाहरु छन्, ती मिडियाहरुमा जसले लेखेपनि यो रिलायबल हो भन्ने आधार छैन । किनभने फरक व्यक्तिको विश्लेषण फरक फरक हुन्छ । हामीले कम्पनीबाट जे आउँछ, त्यहि नै पायो भने त्यो रिलायबल हो । व्याख्या गरेका कुराहरु सबै रिलायबल नहुन सक्छन् । कतिपय जानकारी तथा सुचनाहरु यस्ता हुन्छन् कि कम्पनीहरुले पनि पर्याप्त रुपमा दिन सकेका हुँदैनन् । हामी कम्पनीले दिएको प्रेस विज्ञप्ति आधिकारिक भन्छौं, तर त्यो आधिकारिकतामा नै कमजोरी भैदिन्छ । त्यहाँ पनि उसले पर्याप्त जानकारी दिन जान्दैन । अहिले लघुवित्तहरु जति छन्, त्यसमध्ये कुनै एउटाको सर्भे गरियो भने तिनका सबैको आफ्नो आधिकारिक वेवसाइट छैनन् । वेवसाइट भएकामध्ये सबैकोमा आफ्नो वार्षिक वित्तीय विवरण पनि छैन । प्राथमिक बजारमा प्रवेश गर्न पनि कम्पनीको बारेमा बझ्नु पर्छ । प्राथमिक बजारमा पनि जुनसुकै कम्पनीको सेयर किन्न हुँदैन । जुनसुकै कम्पनीको सेयर किनेर हामीले चाहे अनुसारको नाफा प्राप्त गर्न सक्दैनौं । मार्केट सधैँ यहि किसिमले अर्थात १०० रुपैयाँ लगानी गर्दा एकैपटक ५/६ सय रुपैयाँसम्म पुग्ने हुँदैन । सधैँ निरन्तर उकालो लागिरहन्छ भन्ने अवस्था आउँदैन । अहिले पो बढी वित्तीय संस्थाहरु आइरहेका छन् । र, यिनीहरुले हामीलाई एउटा कन्फिडेन्ट के दिएका छन् भने, यिनीहरु वेल रेगुलेटेड संस्था हुन्, यिनीहरुको नियामक तुलानात्मक रुपमा अन्यको भन्दा राम्रो छ भन्ने छ । भोलि योभन्दा बाहिर क्षेत्रका जस्तै, कुनै उत्पादनमूलक, कुनै सेवामूलक, जस्ता अन्य क्षेत्रका कम्पनीहरु आउन थाले र, ती कम्पनीहरुको पनि मार्केटमा सेयर जारी गर्न सक्ने कुनै कानुनहरु बन्यो, जसले ५/१० वर्षको इतिहास हुनै पर्छ भन्ने छैन । ६ महिनाको इतिहास बोकेर पनि मार्केटमा आउन सक्छौं भन्ने किसिमका कानुनी कुराहरु आए भने जुनसुकै कम्पनीहरु मार्केटमा आउन चाहन्छन् । त्यो बेला त सर्वसाधारणले मूल्यांकन गर्नुपर्ने हुन्छ । लगानीकर्ताले उसको सम्भावना, उसको व्यवसाय, नाफा गर्न सक्ने आधार, सुशासन, समूह, जस्ता उसको भावी योजनाहरु सबै बुझ्नु पर्ने हुन्छ । जस्तो अहिले सिमेन्ट कम्पनीको आउन खोजिरहेको छ । भोलि कुनै सर्भिस तथा हेल्थ सेक्टर अथवा जुनसुकै क्षेत्रका कम्पनीहरु मार्केटमा आउन सक्नछन् । जस्तै, अन्तर्राष्ट्रिय बजारमा ६ महिना एक वर्ष नभई मार्केटमा आइदिन्छ । उनीहरु रुपैयाँमा भन्दा पनि पैसामा सेयर जारी गर्ने हिसावले आउँछन् । कुनै बेला यस्तो कम्पनी आउँछ कि जुन एउटा कोठामा मात्रै सीमित हुन्छ । उसले भोलि म यो बिजनेस गर्छु भनेर एउटा सम्भावना देखाएर मात्रै पनि आज सेयर खुलाउन सक्छ । उसको बिजनेस अहिले शुरु नै भएको छैन, बिजनेस त अझ २/४ वर्षपछि शुरु हुन्छ । त्यस्तै, नेपालमा पनि भोलि ओटीसी मार्केटलाई व्यवस्थित गरेर त्यो किसिमले आउने वातावरण बन्यो भने हामीले थप बढी अध्ययन गर्नुपर्ने हुन्छ । जस्तो, ओटीसीमा एउटा निश्चित क्राइटेरिया पुगेपछि मात्रै स्टक एक्स्चेञ्जमा लिस्टिङ्ग हुने भन्ने हिसाबले हामी गयौं भने हामीले त्योभन्दा बढी अध्ययन गर्नुपर्ने हुन्छ । अहिले त हामीसँग यस्तो छ कि कम्पनीले कम्तिमा एक वर्ष पुरा गरेकै हुनुपर्छ, यो अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हुनै पर्छ भन्ने किसिमका एउटा जुन मापदण्डहरु छन्, यो त हाम्रो भाग्य हो । यो किसिमले सेयर बजारमा आउने वातावरण, कानुन बन्नु भनेको हामीले लगानी गर्नको लागि भाग्यमानी नै मान्नुपर्छ । तर, कम्पनी स्थापना भएको ३ महिना, ६ महिना मै आगामी १० वर्षको एउटा प्रोजेक्सन गरेर हामीले यो बिजनेश गर्छौं भनेर आउने स्थिति बन्यो र त्यो किसिमले पैसा उठाएर बिजनेस गर्ने अवस्था आएर सेयरमा लाउनु पर्यो भने हामीले अहिलेको मात्रै ज्ञान र यति मात्रैको अध्ययनले यति सजिलै प्राथमिक बजारमा आवेदन दिएर हामी नाफा कमाउने स्थितिमा पुग्दैनौं । (सेयर विश्लेषक रविन्द्र भट्टराईसँग गरिएको कुराकानीमा आधारित)

बीमाका कर्मचारी टार्गेटको पछि कुदे, कम्पनीहरु बसका टिकट काउन्टर जस्ता भए

हामीले हाइड्रो इन्स्योरेन्स भन्दा प्रत्येक्ष रुपमा धेरै कुरा देख्दैनौं होला । त्यसभित्र धेरै कुराहरु हुन्छन् । पहिला त हामीले हाइड्रो इन्स्योरेन्स अन्तर्गत के के पर्छन्, हाइड्रोलाई कसरी बीमाको दायराभित्र ल्याउने भन्ने बुझ्नु पर्छ । वास्तवमा इन्स्योरेन्स गर्दा खोला हेरेर गर्नुपर्छ । बीमा गर्ने अन्डरराइटरलाई के ज्ञान हुनुपर्यो भने यो खोला कस्तो नेचरको हो, रन अफ रिभर नेचरको हो कि के हो, त्यसमा पनि हिमालयमा मुहान भएको खोला या नदी हो वा होइन । खोलामा कति पानी बग्छ ? कस्तो क्षेत्र हो ? यी सबै हेरेर मात्रै बीमा गर्नुपर्छ । उदाहरणको रुपमा हेरौं, पोखरामा बग्ने सेती र काली गण्डकी नदीको जल प्रवाह हिमालय नेचरको छ । तर, बागमती नदी त्यो नेचरको होइन । बागमतीमा हिउँ पग्लेर आउने ठाउँ छैन । यही अनुसार त्यो क्षेत्रको जोखिमहरु निर्धारण गर्न सकिन्छ । कस्तो क्षेत्रमा छ ? त्यहाँको माटो कस्तो छ ? रक स्ट्रक्चर कस्तो छ ? त्यसमा भर पर्छ । त्यसको बनाउने प्रविधि के हो भन्ने कुराले पनि अर्थ राख्छ । जस्तो कि अन्डरग्राउण्ड अर्थात जमिन मुनि बनाउने हो कि, जमिन माथि बनाउने हो ? यसले पनि जोखिम निर्धारण गरेको हुन्छ । विभिन्न प्रोमोटरहरु बने, आए, कम्पनी दर्ता भयो, हाइड्रोको लाइसेन्स लियो, अब हाइड्रो बन्न पर्यो । अब यसलाई के अन्तर्गत राख्ने भन्दा प्रोजेक्ट इन्स्योरेन्स अन्तर्गत राख्नुपर्छ । भन्न त नेपालमा इन्जिनियरिङ्ग बीमा भन्ने चलन छ । तर, मेरो भाषामा त्यो प्रोजेक्ट इन्स्योरेन्स हो । हाइड्रो भनेकै एउटा प्रोजेक्ट हो, त्यसलाई कसरी सञ्चालन गर्ने भनेर विभिन्न प्रकारका पक्ष वा बस्तुहरुको बीमा गराउनुपर्छ । हाइड्रोमा सिभिलको पनि बीमा गराउनु पर्छ, काम गर्ने कामदारको पनि, मेकानिकल टुल्सहरु, कन्स्ट्रक्सन इक्यिुप्मेन्ट प्लान्टहरुको पनि बीमा गराउनुपर्छ । त्यसपछि सामान राख्ने हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल लगायतका विभिन्न खण्डको बीमा गर्नुपर्छ । अब ट्रान्समिसन लाइन आयो, त्यसको पनि बीमा हुन्छ । सामान्यतः हाइड्रोमा सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकल गरी तीन प्रकारका बीमा गराउनुपर्छ । जस्तै, हालै मेलम्ची, मादी र मर्स्याङ्दी नदीमा ठूलो बाढी आयो । ठूलो बेल्टहरु हानेको छ, जुन सबै एउटै पेरिफेरीमा हानेको छ । मेलम्ची र मादीको रेञ्ज हेर्ने हो भने एउटै छ । पानी पर्ने पनि एउटा लेभल मेन्टेन भएको रहेछ । मेकानिकल इन्जिनियरका अनुसार हिमालमा स्नो लेभल बढ्यो । हिउँ पर्दा सबै एकै लेभलमा परेको हुन्छ । तल माथि तल माथि गर्दै पर्दैन । एउटै लाइन देखिन्छ । स्नो लेभल अलि माथि जाँदा पानीको लेभल पनि बढ्यो । जहाँसम्म जान्छ, त्यहाँ हिउँ पर्छ, त्यो भन्दा तलको भागमा पानी हुनु पर्यो । हिउँ र जमिनको इन्टरर्याक्सन हुन्छ, वर्षौसम्म इन्टरर्याक्सन भएर कुनै प्वालभित्र पानी गएर हिउँ बन्यो भने त्यो ठूलो एक्स्पान्सन हुन्छ भनिन्छ । यसले जमिनलाई विस्तारै फुकाउँछ । हिउँसँगसँगै पानीको लेभल पनि धेरै माथि पुगेकोले पानी धेरै पर्दा पहिलेदेखि बनेका प्वालहरु भत्काएर ल्यायो, त्यसैले सबै नदीमा लेदोसहितको बाँढी आयो भन्ने कुराहरु आजको दिनमा गरिएको छ । समग्रमा हिमालबाटै त्यस्ता लेदोहरु बगेर आए, जुन हजारौं वर्षौदेखि खिइएर बसेका थिए भन्ने बुझिन्छ । हाइड्रो इन्स्योरेन्सको अन्डरराइटरलाई म केको जोखिम ग्रहण गर्दैछु भन्ने ज्ञान हुनु पर्यो । नेपालमा बीमा कम्पनीहरुमा काम गर्ने प्रुडेन्ट अन्डरराइटरहरु छन् त भन्ने प्रश्न पनि उब्जने गरेको छ । तिनीहरुले बीमा गर्नुभन्दा अगाडि बीमा गर्ने सम्पत्ति, प्लान्ट एण्ड मेसिनरीको कुरालाई हेरेर के के समस्या आउँन सक्छ भनेर त बीमा गरेका छैनन् । किन गरेका छैनन् भने सबै टार्गेट बेसका कम्पनीहरु छन् । सबै प्रिमियम, नाफा र बोनसमै केन्द्रित छन् । कम्पनी राम्रो हुनको लागि कसले कति प्रिमियम कमायो, कसले कति नाफा कमायो, कसले कति बोनस दियो भन्ने हुन्छ कि कसले समयमै प्रिमियम तिर्यो भन्ने हुन्छ । बीमा कम्पनीको मापक प्रिमियम धेरै कमाउने होइन, जनतालाई परेको बेला डेलिभर गर्न सक्नु पर्यो । समयमै क्लेम तिरेर त्यसको डेलिभर गर्न सक्नु पर्यो । हाल जति पनि बीमा कम्पनीहरु छन्, तिनीहरुले समयै दावी भुक्तानी गरेका छैनन् । हामी जसले बढी प्रिमियम संकलन गरेका छन् त्यहि कम्पनीको बढी वाइवाइ गर्दै हिड्छौं । वास्तवमा त्यो होइन । हामीले जसले समयमै बिमितलाई दावी भुक्तानी गर्छ, उसकै वाइवाई गर्ने हो, उही नै राम्रो कम्पनी हो । नेपालमा बीमा कम्पनीलाई मुल्याङ्कन गर्ने इन्डेक्स रेटिङ्गहरु छैनन् । अब रेटिङ्गहरु बनाऔं । कम्पनी कम्पनी गएर उनीहरुको बोलीचालीदेखि कम्पनीको पर्फर्मेन्ससम्ममा रेटिङ्ग गर्दै एउटा इन्डेक्स बनाईयो भने बल्ल त्यो कम्पनीको वास्तविक क्षमता कति हो थाहा हुन्छ । यसले भोलि सेयर बजारमा पनि असर पार्छ । त्यसैले बीमा कम्पनीलाई स्वस्थ र स्फूर्त बनाउन पहिले रेटिङ्ग जरुरी छ । बीमा कम्पनीमा विश्वास भएन । उनीहरु बसका टिकटका काउन्टरजस्ता भए । अझ बस टिकटका काउन्टरहरु राम्रा होलान् । बीमा कम्पनीका कर्मचारीहरुले बोलीचालीमा शिष्टता सिक्न धेरै बाँकी छ । अब हाइड्रो इन्स्योरेन्समै हेर्दा, हाइड्रो सामान्यतः पानी भन्छौं, त्यो पानी बगेर आएर फ्याक्ट्रीमा ठूलो मेसिन घुमाएको छ । एकैछिन बत्ती आएन भने अफिसको काम ठप्पै हुन्छ । यतातिर हामीले हेरेका छैनौं, खाली प्रिमियम कति आउँछ, क्लेम नपर्दे हुन्थ्यो, परेपछि कसरी नदिने जस्ता षड्यन्त्रहरु भइरहेका छन् । आजको बजार के छ भने कसले सस्तो दिने भन्ने छ । इप्पानलाई पनि यसमा खासै मतलब भए जस्तो देखिएन । किनभने उसले पनि समस्या समाधानको लागि पहल गर्ने तत्परता देखाएको छैन । इप्पानलाई आफूहरुको आवश्यकता के हो भन्ने नै थाहा छैन । उनीहरुलाई प्रिमियम सस्तो भइदिए हुन्थ्यो भन्ने एउटा मात्रै ध्याउन्न छ । सबैले बुझ्नु पर्ने कुरा के हो भने प्रिमियम सस्तो हुनु भनेको कुनै न कुनै जोखिम रक्षावरणबाट बाहिरै रहनु हो । जोखिमको रक्षावरण हुँदैन भने त्यस्तो बीमाको अर्थ के हुन्छ र । यता बीमा कम्पनीहरुले त आफ्नो व्यापार गर्छन् । उनीहरु टिक्नलाई जस्तै काम पनि गर्छन् । बीमा भनेको आधारभूत आवश्यकता हो । अहिले बैंक नभएपनि चल्छ, साथीभाइसँग सरसापटी मागेर सानो घर बनाउनदेखि कम्पनी खोल्नसम्म सकिन्छ । तर, त्यो कम्पनीको जोखिम साथीभाइले ग्रहण गरिदिँदैनन् । त्यसैले, बीमा त बैंकभन्दा ठूलो हो । र, पनि बीमामा जनताको आकर्षण छैन । बैंकहरुमा जस्तो करोडौं रुपैयाँ सीईओले खाने भएको भए यता आकर्षण बढ्थ्यो । मेरो अनुभवमा बीमामा आकर्षण नबढ्नुको कारण मैले कसैको बीमा गरिदिएँ भने उसले कम्पनी चिन्दैन, मैले फलानाको छोरा, फलानाको छोरीसँग बीमा गराएँ भन्दै हिड्छ । त्यसैले, पहिला आकर्षण बढाएपछि मात्रै नागरिकले कम्पनी चिन्छन् । हाइड्रोको बीमा गर्दा पहिला हामी सिभिलको बीमा गर्छौं । दोश्रो, हाइड्रो मेकानिकलको गर्छौं । तेश्रो, इलेक्ट्रोमेकानिकलका गर्छौं । चौंथो, इक्युप्मेन्ट (उपकरण) हरुका बीमा गर्छौं । अनि पाँचौंमा काम गर्ने कामदारका पनि गर्छौं । मानौं, तपाईंको हाइड्रो काठमाडौंबाट १२५ किलोमिटर टाढा दोलखामा छ । त्यहाँ सिमेन्ट, छड लगायतका सामाग्रीहरु दिनदिनै किनिदैन । निश्चित समयको लागि स्टक राख्नुपर्छ । त्यो स्टक पनि बाढी आएर बगाएर लान सक्छ । त्यसको पनि बीमा गर्नुपर्यो । आजको दिनमा अधिकांश हाइड्रोवालाहरुले प्रोजेक्ट इन्स्योरेन्स अन्तर्गत स्टकको बीमा गरेका छैनन् । अब यो गर्नुपर्यो । हाइड्रो बन्ने नै खोलाको किनारमा हो । त्यहाँ माथिबाट डेब्रिज आउन सक्ने सम्भावना बढी हुन्छ । जसले फोहोर मैला, ठूला ठूला ढुङ्गामुढा ल्याउँछ । तपाईंको पावर हाउस लगायत ड्याम बन्दै गरेको ठाउँमा ठूला ठूला ढुङ्गामुढा आएर बसे भने त्यसलाई हटाउनै पर्यो, एउटा ढुङ्गा फुटाउँदा लाखौं रुपैयाँ लाग्ने पनि देखिए । त्यो ढुङ्गा फुटाएर अन्त सार्न पनि पैसा चाहिन्छ । यस्तो पैसा दिने भनेकै बीमाले हो । त्यसैले बिमितले यो सुविधा पाउने कि नपाउने ? जसलाई हामी डेब्रिज रिमुभेबल भन्छौं । अहिले बीमा कम्पनीहरुमा डेब्रिज रिमुभेबललाई लोकल र फरेन भनेर बनाएका छन् । फरेन डेब्रिज भनेको बाहिरबाट आएको र लोकल भनेको त्यहि बन्दा बन्दै भत्किएर भग्नावशेष भएको । त्यस्तै, तेस्रो पक्ष बीमामा पनि प्रपर्टी र लाइफको पनि कभरेज हुनुपर्यो । जुन अहिले साह्रै न्यून छ । अब यो रिक्स बहन गर्न किन आवश्यकता छ भने हाइड्रो भन्ने बित्तिकै सुरुङ् पनि सँगै आउँछ । सुरुङ् कसरी बनाउने, माटोको प्रकृति कस्तो छ, त्यहाँभित्र ब्लास्ट गर्दा माथि पहाडका घरहरु ध्वस्त हुन सक्छन् कि सक्दैनन् । यो सबै विषयमा अन्डरराइटरले हेर्नुपर्यो । हामी साइडमा नगई बीमा गर्छौं भने कसरी थाहा पाउँछौं, त्यहाँको स्ट्रक्चरहरु । त्यसले हामी साइडमै जान आवश्यक छ । अहिले सुरुङ खन्नलाई टनेल बोरिङ्ग मेसिन भन्ने हुन्छ । जसलाई हामी छोटकरीमा टीबीएम भन्छौं । यसको बीमा गराउँदा नेचर के हो, यसको जोखिम के के हो, कस्तो बेलामा बिग्रिन सक्छ लगायतका विषयमा अन्डरराइटरले बुझ्नु पर्छ । बीचमा सुरुङ खन्दा खन्दै मेसिन बिग्रियो भने यसलाई निकाल्न साइडबाट पुनः अर्को सुरुङ खनेर मान्छे पसेर बनाउनु पर्छ । यसो गर्दा धेरै नै खर्च लाग्छ । यस्तो खर्च दिने कि नदिने भन्ने पनि पोलिसी हुन्छ । यहाँ कम्पनीहरु हावाको भरमा चलिरहेका छन् । कतिपय अवस्थामा कम्पनीहरुले लस मिनिमाइजेसन क्लज नराखी क्लेम दिइरहेका छन् । दिनुपर्छ भन्ने ज्ञानले भन्दा पनि सोर्सफोर्सले काम गरिरहेको हुन्छ । एउटा अब हाइड्रोको अन्डराइटरले सिक्छु भन्ने चाहना हुनुपर्यो, तपाईं काम गर्नु भएको छ की जागिर खानु भएको छ भन्नेमा भर पर्छ । यदि, काम गर्ने मान्छेसँग गएर तपाईंले बीमा गराउनु भयो भने उसले सहि पोलिसी बेच्छ । तपाईंको आवश्यकता पहिचान गर्न उसले सहयोग गर्छ । तर, जागिर खाने मान्छेसँग जानुभएको छ भने उसले ठगठाग पार्छ, यताउती गर्छ, साहूँ रिझाउँछ, तलब लिन्छ, आफ्नो बाटो लाग्छ । बनिसकेको प्रोजेक्टलाई बीमा गर्दा आजको दिनमा नेपालको सम्पत्ति निर्देशिकाले काम गर्छ । सम्पत्ति निर्देशिकामा बनिसकेको प्रोजेक्टलाई बनाउन मिल्छ भनिएको छ । हालै उक्त निर्देशिकामा केही हेरफेर भएको छ । यता सम्पत्ति बीमामा कहाँनेर हाइड्रो कम्पनीहरु चुकिरहेका छन् भने तपाईंको हाइड्रो ४ वर्षमा बन्छ भनेर काम लगाईयो, ठेक्का दिईयो । तर, यस्तै कोभिड, राजनितिक जस्ता विभिन्न समस्याका कारण ४ वर्षमै त बन्दैन । बाँकी सबै काम बनिसक्यो, तर टेस्टिङ्गको काम बाँकी छ, जसको लागि ईएम सप्लाई गर्ने र विद्युत प्राधिकरणबीचको कामले केही समय धकेलियो भने यो अवस्थामा बीमा कम्पनीहरुले पहिलाकै प्रोजेक्ट बीमालाई थप समयको लागि म्याद बढाउनु पर्ने हुन्छ । तर, यहाँ हाइड्रोहरु बनिहाल्छ भनेर सम्पत्ति बीमामा गइदिन्छन् । यसले गर्दा बीमा कम्पनीले क्लज लाईदिन्छ, कमा, फुलस्टपका खेलहरु खेल्छ । अनि कमर्शियल उत्पादन नभई माथि जे भनिए तापनि दावी भुक्तानी दिन कम्पनी बाध्य हुने छैन भनेर तल पुच्छर झुण्डाई दिन्छन् । अब रेगुलेटरलाई हामीले प्रत्यक्ष भन्न नमिल्ला तर उहाँहरु पनि सचेत हुनुपर्छ । (बीमा विज्ञ पराजुलीसँग गरिएको कुराकानीमा आधारित)