बीमा गरिएको सम्पत्ति नोक्सानी भए कति पाइन्छ क्षतिपूर्ति ? यस्ता छन् दावी दिँदा चाहिने कागजातहरु
अचानक भवितव्यबाट हुने कुनैपनि क्षतिलाई आर्थिक सुरक्षाको माध्यमबाट उक्त हानी नोक्सानीको पूर्ति गर्दै सामान्य जिवनयापन गर्ने पारस्परिक सहयोग एवं समझदारीबाट अघि बढ्ने कानुनी प्रक्रिया नै बीमा हो । यसलाई जोखिम हस्तान्तरण गरिने माध्यम पनि भनिन्छ । लण्डनको लियोड्स कफी हाउसबाट जोखिम परेकाहरु एकजुट भई आफ्नो सदस्यहरुको पानी जहाजबाट आउने जाने सामानको दुर्घटनाबाट हुने हानी नोक्सानीको क्षतिपूर्ति स्वरुप भएको सामुन्द्रिक बीमा आजको आधुनिक समाजमा दिनानुदिन लोकप्रिय बन्दै मानिसको जीवनको आर्थिक सुरक्षाको अभिन्न अंग बन्दै गइरहेको छ । आज निर्जीवन बीमामा दुर्घटना, औषधो उपचार, अग्नि, भूकम्प, प्राकृतिक प्रकोप, हुलदंगा हडताल, आतंकवाद, मोटरसाइकल, हवाइजहाज, कृषि पैदावार, पशुधन, निक्षेप तथा ऋण सुरक्षण आदीको बीमालेखले जोखिम बहन गर्दै आएको छ । बीमा कम्पनीको दुई प्रमुख कार्य हुन्छन् । पहिलो कार्य : सम्भावित जोखिम विभिन्न शर्त पालन गर्ने गरि बीमालेख जारी गर्नु । दोस्रो कार्य : बीमालेख जारी गरे पश्चात सम्भावीत दुर्घटना क्षति भए पछि दावी भुत्तानी फर्छ्यौट गर्नु । जब कुनै पनि दावी सम्बन्धी घटना घट्न जान्छ तबमात्र बीमितको लागी बीमालेख अर्थपूर्ण हुन्छ । निर्जीवन बीमाको मुख्य उद्देश्य बीमितले बीमाशुल्क भुक्तानी गरिसकेपछि बीमा गरिएको सम्पत्ति हानी नोक्सानी भएमा सोको क्षतिपूर्ति गर्नु बीमा कम्पनीको दायित्व हो । बीमाशुल्क भनेको बीमा कम्पनीले बीमा प्राधिकरणबाट निर्दिष्ट गरेबमोजिम जोखिम ग्रहण गरेबापत लिने शुल्कलाई बुझिन्छ । जो सम्पत्तिको मूल्य बीमांक रकम (सम इन्स्योर्ड) को आधारमा बीमाशुल्क निर्धारण गरिन्छ । तर्सथ बीमितले बीमा सम्पत्तिको बजार मूल्यको आधारमा सहि मूल्य निर्धारण गरि बीमांक रकम तोक्नु पर्छ । त्यसैगरी बीमितले दावी परेको बखत दावीको उल्लेखित क्षतिपूर्ति पाउन पनि सहि बीमांक तोकिन आवश्यक हुन्छ । निर्जीवन बीमा नाफा नभई क्षतिपूर्तिको सिद्धान्तमा आधारित बीमा हो जस बमोजिम दावी परेको बखत बीमीतलाई दावी भुत्तानी गरि बीमितलाई सकभर दावी पर्नभन्दा अगाडिको यथास्थितिमा पुर्याई दिनु हो तर यदि पछि बीमितले बीमा गर्दा सम्पत्तिको बीमांक रकम मूल्यभन्दा कम तोकेको भएमा न्यून बीमा (अन्डर इन्स्योरेन्स) भएको मानिन्छ । बीमितले आफ्नो सम्पूर्ण सम्पत्तिको कम बीमांक तोकेर बीमाशुल्क पनि कम मात्र भुक्तानी गरेको हुन्छ । तसर्थ दावी पर्दा सम्पूर्ण नोक्सानीको क्षतिपूर्ति गरी दिनु बीमा कम्पनीको दायित्व हुँदैन । क्षतिपूर्तिको सिद्धान्त बमोजिम बीमांक रकम कम तोकिएको अवस्थामा जति प्रतिशतले न्यून बीमा हुन्छ सोही अनुपातमा क्षतिपूर्ति रकम पनि कम पाइन्छ । यसको सानो उदाहरण यस प्रकार छः बीमितको वास्तविक क्षति ५ लाख भएता पनि बीमितले क्षति भएको सम्पत्तिको बजार मूल्यभन्दा कम्तिमा बीमांक भएको हुँदा बीमकले २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गर्दछ । अर्थात् बीमकले समानुपातिक रुपमा क्षतिपूर्ति प्रदान गर्दछ । दावी परेको सम्पत्तिको मूल्य नाफा बाहेकको मूल्य भन्ने बुझ्नु पर्दछ । अतः आफ्नो सम्पत्तिको बीमा गर्दा सही बीमांक रकम तोकी बीमालेख खरिद गर्नुपर्छ । जसले गर्दा भविष्यमा हुने हानी नोक्सानीको वास्तविक क्षतिपूर्ति पाइन्छ । यदि बीमांक रकम वा दोहोरो बीमालेख जारी गरि बीमा भएको खण्डमा दावी पर्दा बढि क्षतिपूर्ति नदिई नोक्सानीको सहि मूल्याङ्कन गरेर मात्र भुक्तानी दिइने हुनाले बढि बीमांक वा दोहोरो बीमालेख जारी गर्दा बीमाशुल्क मात्र बढी तिर्नु पर्ने हुन्छ डबल फाइदा पाइँदैन । निर्जीवन बीमामा बीमालेखले क्षतिपूर्ति गर्ने अधिकतम सीमा बीमांक रकम नै हुन्छ, कुनै पनि बीमालेखले बीमांक रकमभन्दा बढी क्षतिपूर्ति प्रदान गर्ने छैन । सम्पत्तिको वास्तविक मूल्य निर्धारण गर्ने आधारहरु १) खरिद मूल्य- सुरुमा सामान खरिद गर्दा परेको वास्तविक मूल्य २) ह्रासकट्टी पछिको मूल्य- डिप्रिसिएटेड भ्याल्यु तोकिएको दरमा खरिद मूल्यमा नियम बमोजिम ह्रासकट्टी गरि कायम हुन आउने मूल्य ३) बजार मूल्य- दुई पक्ष समझदारीको आधारमा किनबेच हुने मूल्य ४) मूल्यांकित वस्तुहरु- बहुमूल्य धातु तथा कलात्मक वस्तुहरु तपाईंले आफ्नो भवन वा फ्याक्ट्रीको बीमा गर्नु पर्यो भने भवन वा फ्याक्ट्रीमा भएका मेसिन तथा उपकरणको बीमांक रकम तोक्दा नयाँ भवन तथा फ्याक्ट्रीमा भएका मेसिन तथा उपकरण नयाँ बनाउन लाग्ने खर्चमा भवन तथा मेसिन कति पुरानो छ त्यो बापत ह्रासकट्टी गर्दा आउने मूल्य बराबर बीमांक रकम राख्दा न्यून बीमा हुने सम्भावना कम हुन्छ । अन्य सम्पत्तिमा पनि यहि नियम लागू हुने गर्दछ । साथै, त्यसमा हालको बजार मूल्यको आधार मानेर पनि ह्रासकट्टी गरि बीमांक रकम तोक्न सकिन्छ । साधारणतया मोटर बीमा बाहेक ह्रासकट्टी पछिको मूल्यको आधारमा बीमांक निर्धारण गरि दावी पर्दा सोही आधारमानी क्षति मूल्याङ्कन गरि दावी भुक्तानी गरिन्छ । सवारी साधनको बीमा दावी गर्दा चाहिने आवश्यक कागजातहरु : – दुर्घटनाको लिखितम जानकारी – सवारी साधनको सम्पूर्ण प्रमाण पत्रहरु – चालक अनुमति पत्र – सवारी मर्मत गर्न लाग्ने अनुमानित खर्च – सवारी मर्मतको नगद बील – चालकको बयान – दावी फारम – प्रहरी प्रतिवेदन – बीमालेखको प्रतिलिपी – मिला पत्र – औषधि उपचारको बील तथा रिपोर्टहरू – अन्य कागजातहरु सम्पत्ति बीमा दावी गर्दा चाहिने आवश्यक कागजातहरू : – दुर्घटनाको लिखित जानकारी – बीमालेखको प्रतिलिपी – दावी फारम – अनुमानित खर्च – नगद बील – सरकारी निकायबाट दुर्घटना भएको प्रमाणपत्र – अन्य कागजातहरु कृषि, पशुपंक्षी, बाली तथा जडिबुटी दावी गर्दा चाहिने कागजातहरु : – दुर्घटनाको लिखित जानकारी – दावी फारम – बीमालेखको प्रतिलिपी – सरकारी निकायबाट दुर्घटना भएको प्रमाणपत्र – सर्जमिन मुचुल्का – अन्य कागजातहरु (लेखक खनाल हाल आईएमई जनरल इन्स्योरेन्समा कार्यरत छन् । उनी सो इन्स्यारेन्सको प्रवर्द्धक हुन् ।)
‘परिवारका मान्छे धनी भए, जनयुद्धका घाइते र शहिद सम्झनुभयो’
काठमाडौं । मैले एकाध पल्ट अभियान पनि चलाउन खोजे, अभियान पनि चलाउन खोजे तर धेरै मानिसहरु छेकिए, ब्लक गरिए । मैले घाइतेहरुलाई आउनुस सरकारले उपचार गराउँछु भनेर आह्वान पनि गरे, तर धेरै मानिसहरुलाई रोकियो । विभिन्न हिसाबले रोकियो । जे होस यस्ता रोक्ने किसिमका क्रियाकलापहरु विस्तारै अन्त्य हुँदै जानेछन् । स्वार्थकाे लागि काम गर्ने, देखावटी, बनावटी काम गर्ने, धोका र बेइमानिलाई आफ्नो चनाखो, कुसलता ठान्ने र जनता र देशलाई धोका दिने मानिसहरुलाई विस्तारै देश र दुनियाँले चिन्दै जान्छ । जसले, जसलाई धोका दियोस्, योद्धाहरुले देशका लागि लडेका थिए, शहिदहरुले देशका लागि लडेका थिए । कहिले कहिले लडाउनेहरुको नियम खराब हुनसक्छ, सपना देखाउनेहरुका सपनाको वितरण भ्रमपूर्ण हुनसक्छ, तर लड्नेहरुले साँचेको सुन्दर भविष्य आफ्नालागि भन्दा अरुहरुका लागि पो देखेका हुन्छन् । केही मान्छे आफ्नो सफलता, आफ्नो इगो र आफ्नो सफलताका निम्ती अरुहरुलाई भड्काइ रहेका हुन्छन् । त्यसले ठूलो क्षति ल्याएको हुन्छ । त्यहाँ त ठूलो षड्यन्त्र रहेछ, भनिएका कुराहरु साँचो होइन रहेछन् । ति कुराहरु पछि बुझिन्छ, तर बुज्दा थुप्रै मानिसको जिन्दगी गैसकेको हुन्छ । धेरैले सहादत प्राप्त गरेका हुन्छन भने धेरै बालबालिका टुहुँरा भैसकेका हुन्छन् । ति सडकमा पुगिसकेका हुन्छन् भने कुपोषणको सिकार भैसकेका हुन्छन् । सुन्दर जिवन तिनिहरुको सुन्दरता तर्फ जान रोकिसकेको हुन्छन् । यस्ता कुराहरु भैसकेपछि मात्र थाहा हुन्छ, त्यहाँ धोका भैसकेको हुन्छ । मैले लगभग ५८ वर्षको राजनीतिक जिवनमा अलिक सुरु देखिनै यस्ता कुराहरु सुन्दै देख्दै आउनुपर्याे । मसँगै काम गरिहरका साथीहरुलाई जेलबाट निकालेर, एकै ठाउँमा जेल सार्ने निर्णय गरेर एकै ठाउँमा गोलि हानेर मारिएको, हतगडी लगाएर जाने अनि गोली हान्ने र भाग्न खोजेभन्ने आरोप लगाउने, गाडीमा लगेर लगेको मान्छेलाई गाडी रोकेर, हिडाएर, निश्चित मार्ने ठाउँमा लगेर हत्या गरियो । जनयुद्धका नाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा नयाँ हिंसाको अभियान सुरु गर्नुभयो । त्यसपछि जनता तर्फबाट र राज्यतर्फबाट थुप्रै मानिसको हत्या भयो । अमानविय ढंगले हत्या भयो । मैना सुनुवार तथा यदु गौतमको उदाहरण दिनसक्छौँ हामी । गिरफ्तार गर्ने हत्या गर्ने, लमजुङका शिक्षक अथावा खोटाङका शिक्षक गुरु लुइटेलका कुरा होस् । महिनौसम्म अपहरण गरेर, अत्यन्त अमानविय निर्मम किसिमले हत्या गरे । यो कसैलाई दुख्ला कसैलाई नदुख्ला । तर नेपाललाई दुख्छ, नेपाली जनतालाई दुख्छ । र त्यसको घाउँ अहिलेसम्म छँदैछ । त्यसका सञ्चालक सासनको कार्यकारी प्रमुख ठाउँमा छ । लामो समयदेखि लगातार, संविधान निर्माण पहिलो त २०६२ सालको आन्दोलनदेखि नै सरकारमा छदै छन् । प्रधानमन्त्री भएको ३ पल्ट भयो, सरकारमा भएको कति वर्ष भयो कति । यति निरन्तर ढंगले सायद ६२/६३ को आन्दोलनपछि कोहि पनि त्यति लामो समय निरन्तर सत्ता पक्षमा भैराखेको छैन होला । जता जो सँग मिलेर भए पनि सत्तामा हुने । एउटा प्रवितृ के देखिन्छ भने, बिरालो किन्न पर्दैन्, दुध र भात कचौँरामा दियो भने छिमेकीको बिरालो आफ्नो भैहाल्छ । कसले कचौँरामा कति दुध भात दिन्छ फुतरुक्क छिमेकीको घरमा सर्ने । त्यस प्रवित्तिले सरकारमा हुनु र नेतृत्व गर्ने शिलसिला जारी छ । परिवारका मान्छे धनिनै भएका होलान । भान्जा, भान्जी पनि राम्रै ठाउँमा पुग्या होलान, भाइ भतिजा, छोरी ज्वाई राम्रै ठाउँमा पुगेका होलान, तर अहिले पनि प्रधानमन्त्री जि ले घाइते सम्झनु भएको छ कि छैन, शहिदका परिवार सम्झनु भएको छ कि छैन । आफ्नै परिवार मात्र सम्झनु भएको छ कि अरु पनि सम्झनु भएको छ । उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन । कसलाई किन उहाँले जनयुद्ध चलाउनु भएको थियो । यस बीचमा एउटा प्रयास गरिएको थियो । देशमा लोक्तान्त्रिक , देशभक्त सरकार बनाउँ । लोकतन्त्रका निम्ती काम गरौँ, स्वस्च्छताका साथ काम गरौँ, पारदर्शीताका साथ काम गरौँ, जनताका समस्या समाधान गर्ने गरी अगाडी बढाऔं, आफ्ना स्वार्थमा केन्द्रित नभएर जनताका समस्या समाधान गर्ने गरी अगाडी बढ्न केन्द्रीत गरियो । तर पुष्पकमल दाहाल जी को । बेग्लै छ, उहाँ बोल्नुहुन्छ, भाषा बेग्लै गर्नुहुन्छ काम अर्काे । हेर्नु देब्रो तिर हुन्छ, निशाना दाहिने तिर हुन्छ । अस्तिका दिनसम्म पनि मसँग छक्काउने भाषा यद्यपी मैले पुष्पकमल दाहाललाई नचिनेको हैन । तर मैले सुनिरहे उहाँको कुरा, उहाँले मलाई छक्काइरहनुभयो । उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो, तर मलाई भन्नुभयो, फूल लिएर बसेको छु, तपाईलाई भ्रम नपरोस । मैले फूल लिएको हातमा, तपाईले चक्कु जस्तो देख्नुभयो होला भन्नुभयो । मैले तपाईंले भनेपछि फुल नै हो नि भन्दै बसे म । तर मेरो आँखाले धोका खाएको थिएन । उहाँ ढाँट्न, छकाउन, अप्ठ्यारो मान्नुहुन्न । जनतालाई धोका दिनुभयो, आफूलाई यस ठाउँसम्म ल्याउने सहयोद्दाहरुलाई धोका दिनुभयो । आफूलाई त्यस ठाउँमा ल्याउन जिवन दिने सहिदहरुलाई धोका दिनुभयो भने मलाई धोका दिन कुन ठुलो कुरा हो र । हिजो उहाँले भन्नुभयो, २ महिना कस्तो गाह्रो भएको थियो, हरियो देख्नै नहुने, दाम्लाे छिनाएर जान खोज्ने, मैले रोक्दिने, गाह्रो परेको थियो उहाँलाई । दाम्लाे छिनाएर झाप्पै मुख लाउन खोज्ने, तान्दिए पछि गाह्रो भएको थियो । मलाई थाहा थियो, उहाँले टिक्क सक्नुहुन्न । उहाँका गतिविधि निर्वाध चल्न पाउने, त्यो त म सँग काम गर्दा काले काले मिलेर खाउँ भाले हुन सक्दैन । जहाँ हुनसक्छ, त्यही जानु, सायद उहाँका लागि अनिवार्य थियो । ( नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार शहिद तथा घाइते परिवारको सम्मानमा आयोजित कार्यक्रममा गरेको भाषण)
हिमालयनलाई सिभिलको ‘सिटिजन्स बैंक कार्ड’ र त्यो त्याग
२०६० को दशकमा वाणिज्य बैंक स्थापना गर्ने एक किसिमको लहर थियो । तत्कालीन समयमा सिभिल समूह जल्दोबल्दो अवस्थामा उदाएको थियो । सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङ, प्रकाश पायल, अम्बिर बोगटी (म) लगायत १४८ जनाको पहलमा सिभिल बैंक स्थापना भयो । स्थापना गर्दा बैंकको पुँजी १ अर्ब ६० करोड रुपैयाँ पुग्यो । कम्पनी रजिष्ट्रार कार्यालयमा वि.सं.२०६७ साउन १९ गते दर्ता भयो । वि.सं. २०६५ माघ ५ गतेदेखि नै तदर्थ सञ्चालक समिति गठन गरेको भएपनि वि.सं.२०६७ साउन २५ गतेदेखि कानुनी मान्यता पायो । तदर्थ सञ्चालक समिति दर्ता प्रक्रियामा सघाउनका लागि बनाइएको थियो ।नेपाल राष्ट्र बैंकले वि.सं.२०६७ मंसिर ३ गते ३० औं बैंकको रुपमा कारोबार गर्न सिभिल बैंकलाई इजाजतपत्र (लाइसेन्स) दियो । मंसिर १० गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । मंसिर २९ गते तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले बैंकको ग्राण्ड उद्घाटन गर्नुभयो । सञ्चालक समितिको अध्यक्ष इच्छाराज तामाङ बन्नुभयो । सञ्चालकहरुमा अम्बिर बोगटी (म), प्रकाश पायल, जुनी गुरुङ, त्रिमीर महर्जन थिए । बैंकको संस्थापक सीईओ किशोर महर्जन नियुक्त हुनु भयो । केन्द्रिय कार्यालयमा ९४ जना कर्मचारी कार्यरत थिए भने कुनै शाखा कार्यालय सञ्चालनमा आएका थिएनन् । २ वर्षभित्र आईपीओ जारी गरिसक्नु पर्ने थियो । २०६९ मा चुक्ता पुँजीको ४० प्रतिशत आईपीओ बिक्री गरेर २ अर्बको बैंक बन्यो । सिभिल बैंकले २०६८ असार २० गते बाह्रविशेमा पहिलो शाखा र असार २२ गते धादिङ बेशीमा दोस्रो शाखा विस्तार गर्याै । २ वटा विङ्स (शाखा) सञ्चालनमा ल्याएर विजनेश सुरु भयो । सोही वर्ष ५० वटा शाखा कार्यालय सञ्चालनमा ल्याउने लक्ष्य बैंकले राख्यो । राष्ट्र बैंकले वि.सं. २०६७ चैतमा सेञ्चुरी कमर्सियल बैंकलाई वाणिज्य बैंकको अन्तिम लाइसेन्स दियो । तर, २०६८ जेठदेखि मर्जरको अवधारणा ल्यायो । बैंक तथा वित्तीय संस्था धेरै भए । अब संख्या घटाउनु पर्याे भनेर मर्जर नीति ल्यायो । राष्ट्र बैंकले मर्जरका लागि गृहकार्य थाल्यो । केही बैंकहरुले ५ अर्ब पुँजी पुर्याएका थिए । मर्जरलाई सघाउन सिभिल बैंकले २०७१ सालमा २० करोड पुँजी भएको सिभिल मर्चेन्ट वित्तीय संस्था र ८८ करोड पुँजी भएको एक्सिस डेभलपमेन्ट बैंकलाई गाभ्यो । यी दुई बैंकलाई ७९ रुपैयाँमा गाभेको थियो । २ वटा संस्था गाभेर सिभिल बैंकको पुँजी ३ अर्ब १८ करोड मात्रै पुग्यो । मर्जर कमिटी संयोजक म आफै थिएँ । सिभिल बैंकले इन्टरनेसनल लिज फाइनान्स कर्पाेरेसन (आइएलएफसी)लाई मर्जर गर्न चाहेको थिएन । आइएलएफसी कम्पनीलाई २ पटक सञ्चालक समितिले मर्जरका लागि अस्वीकार गरेको थियो । तत्कालीन गभर्नर चिरञ्जिवी नेपालले २०७२ मा मौद्रिक नीतिमार्फत् बैंकहरुको पुँजी ८ अर्ब हुनुपर्ने व्यवस्था गर्नुभयो । आइएलएफसी कम्पनीको पुँजी २ अर्ब थियो । त्यहिबेला मर्जर नगर्ने भनेर राम्रा बैंकहरुलाई अस्वीकार गरिएको थियो । चुक्ता पुँजी वृद्धि गर्नका लागि आइएलएफसीलाई स्वाप रेसियो ७४ रुपैयाँमा मर्जर गर्नुपर्याे । त्यसको पनि मर्जर कमिटी संयोजक म आफै थिएँ । आइएलएफसीसँग सिभिल बैंकले २०७३ कात्तिक १ गतेदेखि एकीकृत कारोबार सुरु गर्याे । आइएलएफसीलाई गाभेपछि सिभिल बैंकको चुक्ता पुँजी ४ अर्ब ६६ करोड पुग्यो । इच्छाराज तामाङ जी सांसद भएपछि २०७४ बैशाखमा बैंकको अध्यक्षमा म नियुक्त भएँ । मेरो नेतृत्वमा हामा मर्चेन्ट र यूनिक फाइनान्सलाई प्राप्ति गर्यौं । त्यसबेला मर्जर कमिटि संयोजक प्रकाश पायल हुनुहुन्थ्यो । सबै संस्थाको पुँजी एकत्रित र बोनस सेयर वितरण गरेर २०७४ को असार मसान्तसम्म ५ अर्ब ७ करोड पुँजी पुग्यो । तर, २ वर्ष भित्र ८ अर्ब पुँजी पुर्याउनु पर्ने थियो । त्यसपछि बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्याे । कर्मचारी सञ्चय कोषलाई आग्रह गरेपछि ३० करोडको सेयर खरिद गर्याे । हकप्रद सेयर निष्काशन पश्चात् बैंकको पुँजी ८ अर्ब ५ करोड पुँजी पुग्यो । राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पुरा गर्न सफल भयौं । सिभिल बैंकले पुँजी क्षमता भएका कम्पनीलाई प्राप्ति गर्न सफल भयो तर, विजनेश क्षमता भएका कम्पनीलाई ल्याउन सकेन । जसको मार सिभिल बैंकको विजनेशमा पर्याे । विजनेश गर्न नसकेपछि उचित लाभांश दिन सकेन । अन्य सबै बैंकले मर्जर गरेर विजनेश क्षमताका संस्थालाई प्राप्ति गरे । सिभिल बैंकले अर्गानिक विजनेश गर्छ भन्दा ग्रोथ कम हुन पुग्यो । २०७६ सालमा विग मर्जरको अवधारणा आएपछि समान वर्गका संस्था मात्रै मर्ज हुनु पर्ने व्यवस्था गर्याे । ग्लोबल आइएमई र जनता बैंकको पहिलो विग मर्जर भयो । २०७७ असारमा गभर्नर चिरञ्जिवी नेपालले अध्यक्ष र सीईओलाई बोलाएर ७ दिनभित्र जोडी खोज्नुस भनेर निर्देशन दिनु भयो । आइएलएफसी गाभेपछि सञ्चालक समितिमा प्रतापजंग पाण्डे, युगेश बहादुर मल्ल, सम्भु पन्त, प्रकाश पायल, अम्बिर बोगटी, इच्छाराज तामाङ र भिमानन्द ढुंगाना गरी ७ जना थिए । २०७६ बैशाख २९ गते मेरो अध्यक्षतामा मर्जर कमिटि गठन भयो । जसमा प्रतापजंग पाण्डे र प्रकाश पायल सदस्य हुनुहुन्थ्यो । मर्जरका विषयमा जहिल्यै पनि सिभिल बैंक राष्ट्र बैंकभन्दा एक कदम अगाडि थियो । सिभिल बैंकको पोर्टफोलियो ५० अर्ब र पुँजी ८ अर्ब मात्रै थियो । सिभिल बैंकले ८८ अर्बसम्मको मात्रै विजनेश गर्न पाउँथ्यो । सिभिल बैंक सबैभन्दा कान्छो र विकास बैंकको हाराहारीमा देखिन थाल्यो । तत्कालीन सीईओ गोविन्द गुरुङले हिमालयन बैंकसँग मर्जर गरौं अशोक दाइसँग कुरा गर्छु भन्नुभयो । अध्यक्ष इच्छाराज तामाङले पनि सार्वजिक रुपमा पुँजी क्षमता अब्बल र लाभांश इतिहास राम्रो भएका बैंकसँग मर्जर गर्न सकिन्छ भनेर अभिव्यक्ति दिनुभयो । जसमा हिमालयन, नबिल जुनसुकै बैंक पनि हुन सक्छ भन्नुभयो । वि.स.२०७७ साउन ३२ गते सिभिल बैंकले हिमालयन बैंकलाई औपचारिक पत्र पठायो । हिमालयन बैंकसँग मर्जर गर्न सिभिल बैंक तयार छ । हिमालयन बैंकले सिभिल बैंकलाई मर्ज गरिदेउ भनेर चिठि पठाएका थियौं । हिमालयन बैंकसँग छलफल भयो । तर, सिभिल बैंकलाई साह्रै हेप्यो । हिमालयन बैंकले तिमिहरु मर्जर गर्न आयौ, तिमिहरुको भ्यालू छैन, विजनेश पनि छैन, ३०/३५ रुपैयाँ मात्रै दिन्छौं भन्ने कुरा गर्याे । सिभिल बैंकमा हाम्रो १ सय रुपैयाँ लगानी थियो । हामीले घटाएर अन्य कम्पनीलाई मर्जर गरेका थियौं । ७५ रुपैयाँमा सिभिल बैंकमा आएका सेयरधनीहरुको २१ रुपैयाँमा झर्ने देखिन थाल्यो । अर्गानिक ग्रोथ गरेर विजनेश बढाउनु पर्छ । हेपिएर मर्जर गर्नु हुँदैन । मर्जर गरेपनि समान हैसियतमा मात्रै गर्नुपर्छ भन्ने अडान राख्यौं । तत्कालीन समयमा सिटिजन्स बैंक, कुमारी बैंक, प्रभु बैंक, एनसीसी बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंकसँग मर्जरका लागि छलफल गर्दा ६०/७० रुपैयाँ मात्रै दिन्छौं भन्न थाले । हिमालय बैंक लगायत पहिलो पुस्ताका बैंकले ती बैंकलाई ६०/७० दिन्छु भनेका थिए । उनीहरुसँग ६०/७० मा जाने भएपछि सिभिल बैंक ४९ मात्रै हुन थाल्यो । अध्यक्षमा प्रताप पाण्डे आइसकेपछि बलियो मर्जर कमिटी बन्यो । सिभिल बैंक सरहका बैंकसँग स्वाप रेसियो १ः१ अुनपात, समान हैसियत, सभ्य सहभागीता हुनुपर्ने अडान राख्यौं । पहिलो पुस्ताका बैंकसँग भने कम्प्रमाइज गर्ने रणनीति भयो । पुराना बैंकसँग मर्ज हुँदा सञ्चालक समिति छाड्ने, ब्राण्ड छाड्ने योजना बनायो । तर, स्वाप रेसियो र कर्मचारीको मुद्धालाई पहिलो प्राथमिकतामा राख्ने योजना थियो । अहिले पनि कर्मचारी र स्वाप रेसियो बाहेक अन्य कुरामा पछि हटेको हो । कोरोना महामारी सुरु भयो । सबै चुप लागेर बसे । सिभिल बैंकले आएको सबै निक्षेप जम्मा गर्न थाल्यो । एक वर्षमा ६० अर्बको निक्षेप ९० अर्ब पुर्यायो । १० वर्षमा ६० अर्ब पुगेको निक्षेप ११ वर्षमा ९० अर्ब पुग्यो । कर्जा ५३ अर्ब थियो भने एक वर्षमा ८३ अर्ब पुग्यो । बैंकले एक वर्षमा ३० अर्ब निक्षेप र ३० अर्ब कर्जा बढायो । बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त हुनुभयो । डिजिटल बैंकिङ्गमा उहाँ एक्सपर्ट हुनुहुन्छ । उहाँले बैंकको क्षमतासँगै क्लाइन्ट, सेवामा गुणस्तरीयता कायम गर्नुभयो । कर्मचारी स्वाट्टै घटाएर १ हजार ५० जनाबाट ९२३ जनामा झार्नुभयो । बैंकले एक वर्षमा कर्मचारी घटाएर विजनेश ग्रोथ धेरै गर्न सफल भएको थियो । सीईओ सुनिल पोखरेलजीले ठूलो योगदान छ । हिमालयन बैंकसँग पहिलो मर्जर प्रयास २०७७ साउन ३२ मा भएको थियो । तर, सिभिल बैंकको मर्जरलाई अस्वीकार गरेर नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गर्याे । दुवै बैंक साँढे जस्तै भएर भाँडिन पुगे । नेपाल इन्भेष्टमेन्ट बैंकसँग भाँडिनु नै हाम्रो सौभाग्य थियो । सिभिल बैंकले दोस्रो प्रयास २०७८ पुस २५ गते गरेको थियो । सिभिल बैंकको फागुन १८ गते सिभिल बैंकको पहिलो मर्जर समितिको औपचारिक बैठक बस्यो । मर्जर कमिटिमा युगेस मल्ल पनि सदस्य हुनुहुन्थ्यो । त्यसपछि दोस्रो बैठक २०७९ जेठ ४ गते बस्यो । हिमालयन बैंकसँग मर्जरका लागि प्रि–डीडीए रिपोर्ट तयार गर्ने निर्णय गर्याै । डीडीए रिपोर्टले जे भन्छ त्यहि अनुसार हिमालयन बैंकसँग मर्जर गर्ने निर्णय भयो । सिभिल बैंकको मात्रै डीडीए गर्दा ६९/७० रुपैयाँ आएको थियो । १० प्रतिशत तलमाथि गर्न पाइने भएपछि ७७ रुपैयाँ पाउने अपेक्षा थियो । पहिला ३०/३५ रुपैयँ दिन्छु भन्ने हिमालयन बैंकसँग ७० भन्दा बढी आउने आशमा मर्जर अगाडि बढ्यो । २०७९ जेठ ५ गते हिमालयन बैंकको मर्जर कमिटी र सिभिल बैंकको मर्जर कमिटीको औपाचारिक वार्ता भयो । १००ः८१ स्वाप रेसियोमा मर्जर गर्ने प्रारम्भिक सम्झौता भयो । मर्जरको दोस्रो दिन हिमालयन बैंकसँग वार्ता भयो । हिमालयन बैंकले ८१ रुपैयाँमा बैंकलाई खरिद गरेको जस्तो व्यवहार देखाउन थाल्यो । वार्तामा सिभिल बैंकको सीईओ र कम्पनी सचिव हुनुहुन्थ्यो । मर्जर कमिटीका सदस्यलाई कोरोना लागेको हुँदा म एक्लै थिएँ । म एक्लै भएपनि पछि हटेन । हामीले बैंक तपाईंलाई बिक्री गरेको होइन । यदि बिक्री गरेको हो भने पैसा गनेर दिनुस हामी सबै छोड्छौं । तपाइहरुले सेयर नदिने भएपछि सिभिल बैंकको कर्मचारीलाई पनि खरिद गर्नुहोस् । कि सबैलाई ह्याण्डसम भीआरएस दिएर विदा गर्नुस् । होइन भने कर्मचारीको मामलामा कम्प्रमाइज हुँदैन भनेपछि तत्कालीन समयमा मर्जर प्रक्रिया ७ दिनसम्म टर्याे । त्यसपछि सिटिजन्स कार्ड पनि सुरु भयो । सिटिजन्स बैंकसँग हामीले मर्जरका लागि छलफल गर्याै । सिटिजन्स बैंकसँग १ः१ अनुपातमा ३ जना सञ्चालक दिने गरी छलफल भयो । असार २८ गते सिटिजन्ससँग अन्तिम छलफल गर्दा उहाँहरुले मर्जर चोहेको होकी एक्विजिशन भनेर प्रश्न गर्नुभयो । मैले एक्विजिशन गर्दिन मर्जर चाहेको हो भनेपछि सिटिजन्स बैंकसँग पनि वार्ता टुंगियो । हिमालयन बैंकले सबै शर्त मञ्जुर छ आउनुस् भनेर फेरी अनुरोध गर्याे । उहाँहरुले कार्यकारी तहमा अलिकति लचकता हुनुपर्ने भन्नु भयो । हामीले पनि स्वीकार गरेर हुन्छ भन्यौं । कार्यकारी तह बाहेक अन्य कर्मचारीको खाइपाइ आएको सेवा सुविधा, पद घटुवा हुँदैन भनेर सम्झौता भयो सिभिल र हिमालयन बैंकको मर्जरमा सबै काम सम्पन्न भएका छन् । सिभिल बैंकका कर्मचारी, सेयरधनीहरुले चित्त दुखाउने ठाउँ छैन । हामी सञ्चालकहरुको बहिर्गमन हुँदा सबै खुशी हुनुहुन्थ्यो । हामीले हाम्रो फाइदा राखेको भए अरुको चित्त दुख्थ्यो । तर, हामी उदार भयौं । सिभिल बैंकले अध्यक्ष, सञ्चालक र सीईओ पद छाडेपछि सफल भयो । एकीकृत कारोबारका दिनसम्म २१ वटा ज्वाइन्ट एक्विजिशन कमिटि (ज्याक) बैठक बसेका छन् । बिहीबार बसेको ज्याकको बैठकमा सौहार्दपूर्ण छलफल भयो । यसमा २ वटा बैंकको जस्तो कमिटी थिएन । एउटै बैंकको जस्तो बैठक बसेर विदा भयौं । हिमालयन र सिभिल बैंकको मर्जरमा कुनै समस्या देखिने छैन । यो समयले देखाउँछ । अन्य कर्मचारी सबै आआफ्नो कारणले विदा हुनु भएको हो । सिभिल बैंक स्थापना गर्दा इच्छाराज तामाङजीले १० वर्षमा टप टेन बैंक हुने भन्नु भएको थियो । हामीले १० वर्षमा टप टेन बैंक बनाउने लक्ष्य पनि राखेको हो । तर, हामी टप टेन बैंक बन्न सकेनौं । कहिलेकाँही लक्ष्यमा पुग्नका लागि क्रमभङ्ग गर्नुपर्ने भएकाले छैठौं बैंक बनेको छ । १० वर्षमा टपटेन बैंक बन्न नसकेपनि १२ वर्ष पछि छैठौं बैंकको सेयरधनी बन्यौं । हिमालयन बैंक प्रचण्ड बहादुर श्रेष्ठ र अशोक राणाको मात्रै नभएर हाम्रो पनि बैंक हो । आफ्नै नामबाट टपटेन बैंक बन्न नसकेपछि फ्युजन भएर छैठौं बैंक बनेका छौं । क्रमभङ्गता गरेर लक्ष्यमा पुग्न सफल भयौं । ३५ अर्ब बढीको ग्लोबल आइएमई बैंक आइसकेपछि ९ अर्बको सिभिल बैंकले केही गर्न सक्दैनथ्यो । विकास बैंकले टप्न थालेको थियो । सिभिल बैंकसँगको मर्जरले नेपालमा नेपाली मुद्रा सञ्चालन गर्ने पूर्व गभर्नर स्वर्गीय हिमालयन राणाको ब्राण्ड जोगिएको छ । सिभिल बैंकले सबै कुरा त्याग गरेको छ ।