युवराज खतिवडाको त्यो अभिव्यक्ति र वर्तमान अर्थतन्त्रको तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७४ फागुल्न ३ गते प्रधानमन्त्री हुँदा अर्थमन्त्री डा.युवराज खतिवडा भए । त्योभन्दा अघि खतिवडा राष्ट्र बैंकको गर्भनर पनि थिए । गर्भनर हुँदा उनले घरजग्गा, गाडी र सेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको भन्दै कर्जा प्रवाहमा कडाइ गरे । अर्थमन्त्री बनेपछि उनले खुलेर भनेका थिए, ‘घरजग्गा, गाडी र सेयरमा लगानी गर्नु भनेको जुवा खेल्नु हो ।’ जसरी जुवाले मानिसको सबै सम्पत्ति सकाउँछ त्यसरी नै घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा पनि यही हालत हुन्छ भन्ने उनको भनाइ थियो । तत्कालीन अर्थमन्त्री खतिवडाले यस्तो भनेपछि घरजग्गा, गाडी र सेयर लगानीकर्ताले उनको चर्को विरोध गरे । यतिसम्म कि उनको राजीनामा समेत मागियो । घरजग्गा, गाडी र सेयर लगानीकर्ताले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर खतिवडालाई अर्थमन्त्री पदबाट बर्खास्त गर्न माग समेत गरे । खतिवडाले महँगोमा घरजग्गा, गाडी र सेयर किन्दा यसको मूल्यमा गिरावट आएमा धेरै मानिस डुब्न सक्ने र अर्थतन्त्रमै एक किसिमको मन्दी आउन सक्ने चिन्ता व्यक्त गरेका थिए । बैंक तथा वित्तिय संस्थालाई समेत आँखा चिम्लेर यो क्षेत्रमा लगानी नगर्न उनले सचेत गराएका थिए । खतिवडाले त्यो बेला भनेको ती कुरा न सर्वसाधारणले पत्याए न बैंक तथा वित्तिय संस्थाले नै टेरे । त्यतिखेर बैंक र सहकारीले घरजग्गाको लालपूर्जा, नक्सा, नागरिकता र फोटो लिएर जानेबित्तिकै जति भन्यो त्यति नै तुरुन्तै ऋण दिने अभ्यास थियो । बजारमा एक करोडमा बिक्री हुने घरजग्गालाई ७० लाखसम्म कर्जादिन बैंकले डराउँदैनथे । चार हजार मूल्य बराबरको एक कित्ता सेयरलाई ३५ सयसम्म कर्जा दिइन्थ्यो । त्यस्तै, २० लाखमा बिक्री हुने सवारीसाधनलाई १५ लाखसम्म कर्जा दिइन्थ्यो । वि.स २०७४÷०७५ मा एक महिनाअघि आनाको १५ लाखमा किनिएको जग्गा एक महिनापछि ४० लाखमा बिक्री हुन्थ्यो । सेयरको मूल्य पनि बढेको बढ्यै । एक महिनाअघि कित्ताको दुई हजारमा किनेको सेयर एक महिनापछि तीन हजार पुग्थ्यो । अटो सोरूमहरूले पनि ग्राहकको लर्को लागेपछि गाडीको मूल्य बढाएको बढ्यै गर्थे । घरजग्गा, गाडी र सेयर लगानीकर्ताको बैंक तथा वित्तिय संस्थासँग राम्रो सम्बन्ध हुन्थ्यो । उनीहरूकै मिलेमत्तोमा सर्वसाधारण मर्कामा पर्थे । सर्वसाधारण र बैंक तथा वित्तिय संस्थाले मूल्य बढिरहन्छ भनेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । आमनागरिकले आफुसँग भएको रकम खर्च गरेर र आधा रकम बैंकबाट ऋण लिएर यो क्षेत्रमा लगानी गरे । बैंक तथा वित्तिय संस्थाले पनि घरजग्गा, गाडी र सेयर भन्नेबित्तिकै जतिपनि कर्जा प्रवाह गरे । डा.खतिवडाले भनेको कुरालाई हचुवाको भरमा लिएर सर्वसाधारण र बैंक तथा वित्तिय संस्थाले यी क्षेत्रमा लगानी गरे । ०४५÷०४६ सालमा आनाको एक हजारमा बिक्री नहुने जग्गा ०७५÷०७६ सालमा ८० लाख रूपैयाँसम्म पुग्यो । दुई रूपैयाँ किलोमा बिक्री नहुने फलाम र प्लास्टिकले गाडी बनाएर भारतले नेपाललाई लाखौं रुपैयाँमा बेच्यो । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर १८ सयदेखि ५ हजारसम्ममा बेचियो । घरजग्गा, गाडी र सेयर दलालीहरुको ठगीधन्दा हवात्तै मौलाएको थियो । तर, यो कतिन्जेल टिक्छ भन्ने पनि अधिंकाशमा थियो । सेयर दलालीहरुले २५ सय कित्तामा सेयर खरिदबिक्री गर्दा सरकारले सय रुपैयाँ मात्र राजस्व लिन्छ । सरकारले ठाउँअनुसार जग्गाको मूल्य आनाको एक हजारदेखि साढे ६६ लाखसम्म तोकेको छ । काठमाडौंको न्यूरोड, इन्द्रचोक, भोटाहिटीमा सरकारी मूल्यअनुसार जग्गा आनाको साढे ६६ लाख पर्छ । तर, त्यहाँ जग्गा आनाको १३ करोडदेखि १४ करोडसम्ममा खरिदबिक्री हुन्छ । यति धेरै मूल्यमा जग्गा किनबेच भएपनि नामसारी गर्ने समयमा सरकारले साढे ६६ लाख मात्रको राजस्व लिन्छ वा पाउँछ । काठमाडौं उपत्यकाभित्र जग्गाको सरकारी मूल्य लाखमै कायम छ । तर, किनबेच भने करोडमा हुन्छ । यता, सरकारले भने तोकिएको मूल्यको मात्र राजस्व उठाउँछ । उदाहरणका लागि यातायात कार्यालय एकान्तकुनामा एउटा ट्याक्सी २५ लाखदेखि ४५ लाखसम्ममा खरिदबिक्री भएको पाइन्छ । तर, त्यही ट्याक्सी नामसारी गर्दा राज्यको ढुकुटीमा भने ८ सय मात्र राजस्व जान्छ । यसरी राज्य राजस्वविहीन भएको छ । बिचौलिया, दलालीहरु भने सर्वसाधारण ठगिरहेका छन् । अहिले सर्वसाधारणको आँखा खुल्यो । उनीहरुले घरजग्गा, गाडी र सेयर किन्न छोडेका छन् । योसँगै दलालीहरुको भागाभाग चलेको छ । बैंक तथा वित्तिय संस्थाको लगानी डुबिसकेको संकटमा छ । घरजग्गा, गाडी र सेयर चार दशकअघिकै मूल्यमा फर्किएको छ । बजारमा एक जना पनि यो क्षेत्रमा लगानी गर्न चाँहिरहेको भेटिदैंन । समस्या परेर वा पैसाको खाँचो परेर घरजग्गा, गाडी र सेयर आफुले किनेको आधा मूल्य बिक्री गर्छु भन्दा समेत बिक्दैंन । बजारमा मन्दी आइसकेको छ । सटर, कोठा र फ्रल्याटहरु धमाधम खाली हुन थालेका छन् । व्यापारीहरु पलायन हुदैँ गएका छन् । सहकारी त करोडौं बचतकर्ताको अर्बौं रकम लिएर भाग्न थालेका छन् । त्यतिखेर खतिवडाले भनेको कुराको विरोध गर्ने घरजग्गा, गाडी र सेयर लगानीकर्ता अहिले पश्चातापमा छन् । बजारमा पैसाको अभाव छ । बेरोजगारी ह्वात्तै बढेको छ । एकातिर काम पाइन्न, अर्कोतिर काम गरेको ठाउँबाट तलब पाइँदैन । अधिंकाश व्यवसायी समस्यामा छन् । उनीहरुले बैंकको ऋण, घर भाडा तिर्न सकेका छैनन्, श्रमिकलाई महिनौंदेखि तलब दिएका छैनन् । वर्तमान सरकारले जग्गाको कित्ताकाट त फुकुवा गर्यो । तर, यसको मूल्य र कारोबार दुवै बढेन । राष्ट्र बैंकले सेयरमा १२ करोडको सीमा हटाएपनि यसको पनि मूल्य र कारोबार दुवै बढेन । दशैं, तिहारमा समेत बजारमा चहलपहल देखिएन । व्यापारीहरु निराश भए । सर्वसाधारण मुलुकको अर्थतन्त्र डुबिसकेको बताउँछन् । श्रींलकाको भन्दा नाजुक अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको विश्लेषण धेरैको छ । विदेशी ऋण २७ खर्ब पुगिसक्यो । सरकारमाथि ऋणको भार बढ्दै छ । जनताले पनि सरकारलाई कर तिर्न छोडिसके । राज्यको ढुकुटीमा राजस्व संकलन शून्यझैं भइसकेको छ । सरकार न खर्च कटौती गर्छ न कर उठाउन सक्छ । विदेशीसँग ऋण लिन्छ अनि तलबभत्ता र पेन्सन बाँड्छ । हुन त यहाँ अर्थविद्, विज्ञहरु पार्टीगत छन् । तर, तत्कालीन अर्थमन्त्री खतिवडाले भनेको विषय अहिले सही प्रमाणित भएको छ । अहिले सर्वसाधारण महँगी र बेरोजगारीका करण बाँच्न नसक्ने अवस्था आएको बताउँछन् ।

टिकटकमाथि प्रतिबन्ध : भ्रम र यथार्थ

नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वभाविक मात्र नभएर स्वागतयोग्य पनि छन् । लोकतन्त्रको सुदृढीकरण र विकासका निम्ति यस्ता बहसहरू भइरहनेछन् र राज्यले खुल्ला हृदयले स्वागत गरिरहनुपर्दछ । यो आलेख टिकटक प्रतिबन्ध गर्नुपर्नाको कारण एवं प्रतिबन्धपछि देशव्यापी रूपमा उठेका प्रश्न र जिज्ञासाहरूमा केन्द्रित रहनेछ, जसले हरेक लोकतान्त्रिक राज्य कसरी राज्य, राज्यका नागरिक र समाजप्रति उत्तरदायी रहन्छ भन्ने कुराको बोध गर्न सजिलो हुनेछ । विश्व सन् १९८० पछि सूचना-प्रविधिमा अभ्यस्त हुन थालेको भए पनि नेपालले आधुनिक प्रविधिको प्रयोग गर्न थालेको लामो इतिहास छैन । २०६२/६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले सूचना-प्रविधिमा विशेष चासोका साथ पहल लिएको थियो, जुन मन्त्रिपरिषद्मा सूचना तथा सञ्चारमन्त्री थिए माओवादी नेता कृष्णबहादुर महरा । अर्थात् सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा प्रवेश गरेको माओवादीका निम्ति विशेष रूचि र चासोको विषय थियो–सूचना प्रविधि । किनकी, १० वर्षे जनयुद्धमा माओवादी स्वयंले नवीनतम् प्रविधिहरूको विकास र उपयोगमा जोड मात्र दिएन, पार्टी अध्यक्ष प्रचण्डले आफ्नो हरेक दस्तावेजमा सूचना–प्रविधिमा आएको अभूतपूर्व क्रान्तिको आत्मसाथ गर्दै नयाँ जनवाद हुँदै समाजवादको आधार तयार पार्नुपर्नेमा जोड दिनुहुन्थ्योे । यसको अर्थ हो-प्रारम्भदेखि नै माओवादी प्रविधिमैत्री थियो । पछिल्ला १५ वर्षमा नेपालले सूचना–प्रविधिको क्षेत्रमा महत्वपूर्ण फड्को मारेको छ । यस अवधिमा छापा तथा विद्युतीय सञ्चारमाध्यममा गुणात्मक विकास भएको छ । आमसञ्चार यति शक्तिशाली क्षेत्र भएको छ, जो आफैँले आफ्ना लागि समाचार उत्पादन, प्रसारण र वितरण गर्दछ । सामाजिक सञ्जालका धेरै प्लेटफर्ममा नेपालीहरू अभ्यस्त छन् । यस्ता सञ्जालहरूले पहुँचको अभावमा लुकेका प्रतिभाहरूको प्रष्फुटन गराएका छन्, अन्यायमा परेका नागरिकहरूका आवाजले राष्ट्रिय महत्व पाएका छन् । उपचार नपाएका कैयौं नेपालीहरूलाई सहयोगको राम्रो आधार तयार भएको छ । मानिसहरूले कम खर्चमा आफूले पढ्न/सुन्न/हेर्न चाहेको सामग्री सुलभ रूपमा प्राप्त गरेका छन् । बलियो सामाजिक सञ्जाल स्थापित गर्न सहयोग पुगेको छ । देश/विदेशमा रहेका आफन्त र साथीहरूबाट सघन सम्बन्ध र अन्तरक्रिया कायम भएको छ । विभिन्न शिक्षाप्रद सामग्रीको उपलब्धताले मानिसले बहुआयमिक ज्ञान हासिल गर्ने अवसर प्राप्त गरेको छ । नीति निर्माता र राज्य सञ्चालकहरूलाई नागरिक तहबाट खवरदारी गर्ने राम्रो माध्यम बनेको छ, आदि-आदि । सूचना–प्रविधि र सामाजिक सञ्जालका बहुआयाम छन्, जसले व्यक्ति, समाज, राष्ट्र र सिङ्गो विश्वलाई अगाडि बढ्न उत्प्रेरित गरिरहेको छ । तर, यति धेरै सवल पक्ष हुँदाहुँदै पनि पछिल्लो समय नेपाली समाजमा सामाजिक सञ्जालको दुरूपयोग बढ्दो छ । साइबर अपराधका नयाँ–नयाँ आयाम र तरिकाहरू सतहमा आएका छन् । नेपाल प्रहरीमा दर्ता भएका उजुरीहरू र तिनीहरूको प्रकृति हेर्दा राज्यले जिम्मेवारीपूर्वक नियमन नगर्ने हो भने हाम्रो भविष्यमाथि खतराको बादल मडारिँदैछ । यसतर्फ हामी सबै चनाखो र गम्भीर बन्नैपर्छ ।नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाल र एपहरूका गुणदोष दुबै छन् । युट्युब, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा पनि पारिवारिक र सामाजिक मर्यादाविपरितका धेरै सामग्रीहरू छन् । तिनीहरूमाथि समेत नियमन जरूरी छ । तर, आजको सन्दर्भमा सबैभन्दा धेरै दुरूपयोग टिकटकको देखिएको छ । त्यसको नियमनका लागि राज्यको तर्फबाट पर्याप्त गृहकार्य र तयारी गरिएको देखिन्छ, यद्यपि नियमन सम्भव भएन । त्यसैले सरकार तत्कालका लागि टिकटक बन्द गर्ने र अरू सामाजिक सञ्जालहरू मर्यादित बनाउन नियमन गर्ने निष्कर्षमा पुग्यो। आजको यथार्थ यही हो । टिकटकमा प्रसारित सबै सामग्रीहरू खराब छैनन् । त्यो कुरा प्रयोगकर्ताको ज्ञान, विवेक र सभ्यतामा समेत निर्भर रहन्छ । टिकटकका माध्यमबाट नयाँ प्रतिभाहरू सतहमा आएका छन्, उनीहरूले सामाजिक जीवनमा राम्रो प्रगति गर्ने आधार पनि खडा भएको छ । विभिन्न ज्ञानवर्धक सामग्री बनाउने बौद्धिक जमात पनि यहाँ क्रियाशील छ । उनीहरूले टिकटकलाई कसरी प्रगतिका निम्ति उपयोग गर्ने भन्नेखालका शिक्षा र सन्देश प्रसारण गरिरहेका छन् । यो सकारात्मक पक्ष हो । तर, टिकटकबाट चर्चा कमाउने र आयआर्जन गर्ने नाममा जे–जस्ता सामग्रीहरू प्रसारित हुने गरेका छन्, ती गम्भीर प्रकृतिका छन् । श्रम, उत्पादन, रोजगारी र सेवा क्षेत्रमा हुनुपर्ने युवा जनशक्तिको सम्पूर्ण ध्यान टिकटकमा देखिएको छ, उनीहरू टिकटकबाट आम्दानी गर्न जे-जे गर्दा ‘भ्यूज’ बढ्छ, त्यस्तै कर्म गर्न अभ्यस्त देखिन्छन् । लाइभका नाममा जे–जति विकृति देखिएका छन्, त्यसको जति नै निन्दा गरे पनि कमै हुन्छ । यस्ता सामग्रीहरूको प्रसारणले सबैजसो परिवारमा तनाव र बेचैनी हुने गरेको छ । अत्यन्तै उत्तेजक, कृतिम, अश्लिल सामग्री प्रस्तुत हुँदै जाँदा शिक्षित र बौद्धिकहरूसमेत ‘भ्यूज’ बढाउन अश्लिलताको प्रतिस्पर्धातर्फ धकेलिँदैछन् । उनीहरूसमेत उट्पट्याङमा लालयित हुने र गहन बौद्धिक एवं शैक्षिक सामग्री, चिन्तन/मन्थन शून्यप्रायः देखिँदैछ । प्रयोगको एकाध वर्षमा नै नेपालमा यस्तो विकृति देखिएको छ, जसमाथि लगाम नलगाउने हो भने भोलिको परिस्थिति राज्य, समाज र परिवारको नियन्त्रणबाहिर जानसक्छ । टिकटकमा प्रसारित भएका कतिपय सामग्रीहरू परिवार सँगै बसेर हेर्नै नसकिने खालका छन् । पूरै नग्नताका साथ प्रस्तुत हुने, सीमाबाहिरको गालीगलौज गर्ने, आफूले ढलेको सिन्को नउठाउने, केही गरिरहेका वा गर्न खोजिरहेका माथि तथानाम गाली गर्ने, आवाज, तस्बिर, भिडियो ‘इडिट’ गर्ने र तथ्यलाई बङ्गाएर प्रस्तुत गर्ने, श्रम संस्कृतिलाई तिरस्कार गर्ने, पारिवारिक उत्तरदायित्वबाट बिमुख हुने, घर–घरमा मनोरोगको भ्रूण रोप्ने, सभ्यता, संस्कृति र ज्ञानविज्ञानमाथि प्रहार गर्ने, पारिवारिक कलह, झै–झगडा, व्यक्तिको गोपनीयताको हकमाथि आक्रमण, बालबच्चा र जेष्ठ नागरिकको विकास र हेरचाहमा लापर्वाहीजस्ता सयौं अश्लिलता र विकृतिका कारण टिकटकमाथि नियमन अनिवार्य थियो ।सामाजिक सञ्जालको दुरूपयोगले सञ्चारमाध्यम पनि दिक्क भएका छन् । हप्तौं लगाएर अनुसन्धान गरिएका सामग्री ओझेलमा पर्ने र कुनै लगानी, परिश्रम र गुणस्तर नभएका सामग्री भाइरल हुने परिस्थितिले हरेक क्षेत्रको व्यवसायिकतामाथि नयाँ चुनौती थपिएको छ । कर्मठहरू गुमनाम छन्, अघिपछि युट्युबरहरू बोकेर हिड्ने ‘स्टन्डबाज’हरू चर्चामा छन् । अस्पतालमा १८ घण्टा बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीको कुनै चर्चा छैन, एक कार्टुन चाउचाउ बाँड्न १२/१५ जना युट्युबर बोकेर हिड्ने अभियान्ताको चर्चा छ । उही दानी, उही ज्ञानी, उही त्यागीको भ्रमले समाज आक्रान्त छ । नयाँ-नयाँ रङ्गका जोगीको उदयले नागरिक रनभुल्लमा छन् । एउटा स्रष्टाले अहोरात्र मेहेनतका साथ गीत, कथा, कविता लेख्छ । एउटा कलाकारले वर्षौं लगाएर उक्त सिर्जनामा सङ्गीत र स्वर भर्छ । एउटा उत्पादकले लाखौं खर्च गरेर उक्त सिर्जना बजारमा ल्याउँछ । तर, एउटा बेतुकको टिकटकरले त्यसलाई पूरै बिगार्छ, सामाजिक सञ्जाल दुर्गन्धित तुल्याउँछ । बिडम्वना, त्यही युट्युबर र टिकटकर हिट हुन्छ। “लाइक”, ‘फलो’, ‘भ्यूज’ उसैको बढ्छ । जसको सिर्जना हो, ऊ गुमनाम छ । जसले सिर्जनामाथि अपराधपूर्ण धावा बोल्छ, सामाजिक सञ्जाल दुर्गन्धित बनाउँछ, ऊ हिरो छ । यो ज्यादती सभ्य समाजले सहन सक्ने कुरा होइन ।टिकटकका सन्दर्भमा यति कुरा भनिसकेपछि अब चाहिँ नागरिक तहबाट उठेका केही जिज्ञासा, आलोचना र टिप्पणीहरूमाथि ध्यान दिन उपर्युक्त ठान्दछु । ती तर्क एवं टिप्पणी र सच्चाइबारे हामी सबै प्रष्ट हुन आवश्यक छ । पहिलो : टिकटक बन्द गर्नु अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नु हो, वाक् तथा प्रेस स्वतन्त्रतामाथि धावा बोल्नु हो । यो कुतर्क र आग्रहपूर्ण राजनीतिक आक्षेप हो । यिनै राजनीतिक दलहरू हुन्, जो निरङ्कुशताका विरूद्ध देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति लडे। लोकतन्त्रका निम्ति, अभिव्यक्ति स्वतन्त्रताका निम्ति भूमिगत जीवन, जेलनेल र बलिदानको कीर्तिमान कायम गरे । त्यसैले यी दल र शक्तिहरूको नशानशामा लोकतन्त्रप्रति आस्था र विश्वास छ । हामी स्पष्ट हुनुपर्छ–अभिव्यक्ति स्वतन्त्रताको अर्थ अराजकता होइन, स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन, वाक् स्वतन्त्रताको अर्थ मनलाग्दी लागीगलौज र मानमर्दन होइन । हाम्रो संविधान र कानुनहरूले जुन व्यवस्था गरेका छन्, त्यसको मर्म र भावनाको सम्मान गर्नु नै वास्तविक अर्थमा लोकतन्त्र हो । दोस्रो : टिकटक नेपालमा मात्र बन्द गरिएको होइन, विश्वका कैयौं मुलुकहरूले यसको औचित्यमाथि प्रश्न उठाउँदै बन्द गरिसकेका छन् । अश्लिलता, मानव बेचविखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्यलगायतका कारण देखाउँदै टिकटक प्रतिवन्ध लगाउने देशको सङ्ख्या २७ पुगेको छ । बेलायत ९२०२३०, अमेरिका ९२०२००, न्युजिल्याण्ड ९२०२३०, क्यानडा ९२०२३०, ताइवान ९२०२२०, बेल्जियम ९२०२३०, डेनमार्क ९२०२३०, पाकिस्तान ९२०२००, अफगानिस्तान ९२०२२०, भारत ९२०२००, सोमालिया ९२०२३०, अर्मेनिया ९२०२००, अजरवैजान ९२०२००, बङ्गलादेश ९२०१८०, इन्डोनेसिया ९२०१८० इरान ९२०२३०, जोर्डन ९२०२२०, अष्ट्रिया ९२०२३०, इस्टोनिया ९२०२३०, फ्रान्स ९२०२३०, आयरल्याण्ड ९२०२३०, लाट्भिया ९२०२३०, माल्टा ९२०२३०, नेदरल्याण्ड ९२०२२०, नर्वे ९२०२३० र अष्ट्रेलिया ९२०२३० ले टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन् । आफ्नै देशभित्र उत्पादन भएको एपलाई चीनले समेत कडा नियमन गरिरहेको छ, जहाँ चीनबाहिरका नागरिकले उही एपबाट टिकटक चलाउन सक्दैनन् । यसले प्रष्टाउँछ– कुन सोसल मिडिया वा एप प्रयोग गर्ने वा नगर्ने, गर्न दिने वा नदिने भन्ने कुरा सम्बन्धित मुलुकको राष्ट्रिय हित र चासोमा निर्भर रहन्छ । तेस्रो : टिकटक नियमन गर्न सकिन्थ्यो, नियन्त्रण गर्नु गलत हो । जुन कुरा सतही विश्लेषण हो । एक हप्ताअघि गृह मन्त्रालयले टिकटकका प्रतिनिधि बोलाएर एपलाई नियमन गर्नेबारे छलफल गरेको थियो । तर, उक्त छलफलमा टिकटकका प्रतिनिधिहरूले टिकटक नियमन गर्न नसकिने, अवान्छित सामग्रीहरू हटाउन नसकिने, फेक आइडीलाई नियमन गर्न नसकिने बताएपछि सरकारले बन्दको बिकल्प रोज्नुपरेको हो । चौंथो : सामाजिक सञ्जालका रूपमा आउने नयाँ-नयाँ प्रविधिका मुख्यतः दुई स्वार्थ छन् : प्रविधिको माध्यमबाट प्रभाव विस्तार र व्यापारिक स्वार्थ । त्यस्ता सञ्जालहरू सञ्चालनमा आउँदा नेपालभित्र अनिवार्य दर्ता हुनुपर्छ । दर्ता नहुँदा त्यस्ता सञ्जालहरूको अनुगमन, नियमन र करको दायरामा ल्याउने विषय कठिन हुन जान्छ । तसर्थ, भविष्यमा सामाजिक सञ्जालका सबै प्लेटफर्महरूलाई देशभित्र दर्ता अनिवार्य गर्नेगरि जानैपर्छ । पाँचौं : पारिवारिक र सामाजिक सद्भाव भड्काउने अरू पनि सोसल मिडिया छन्, टिकटक बन्द गरेर समस्या समाधान हुँदैन भन्ने तर्क पनि छ । यथार्थ हो– अरू सोसल मिडियामा पनि अवान्छित सामग्री छन्, तिनीहरूको पनि नियमन जरूरी छ । तर, सबैभन्दा बढी अवान्छित गतिविधि टिकटकमा हुनु र स्वयं टिकटकका प्रतिनिधिले नै नियमन गर्न सकिँदैन भन्नु नै टिकटक बन्द गर्नुपर्नाको प्रमुख कारण हो । छैटौं : टिकटक बन्द गरे पनि ‘भिपिएन’बाट टिकटक चलाउन सकिन्छ भन्ने तर्क पनि छ । हो– भिपिएनबाट पनि टिकटक चलाउन सकिन्छ तर राज्यले नै गैरकानुनी ठहर गरिसकेको एप चलाउने काम पनि गैरकानुनी हुन जान्छ । त्यस्ता प्रयोगकर्ताहरू स्वतः कानुनको दायरामा आउनेछन् । सातौं : सर्वोच्च अदालतले सरकारको निर्णय उल्टाउनेछ । यो पनि सतही तर्क नै हो । नेपालको संविधानले देशको राष्ट्रिय हित, प्रतिष्ठा, स्वतन्त्रता, सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा कानुन बनाएर नियन्त्रण गर्ने अधिकार प्रदान गरेको छ । टिकटक प्रतिबन्ध सामाजिक सञ्जाल नियमन निर्देशिका जारी गरेपछि मात्रै गरिएको छ । तसर्थ, यो संवैधानिक र कानुनसम्मत छ । आठौं : चीनको एप्लिकेशन भएकाले बन्द गरियो, भूराजनीतिक दबाबको प्रभाव हो भन्ने गरिएको छ । जुन सर्बथा गलत र पूर्वाग्रहपूर्ण विश्लेषण हो । नेपाल सरकार पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीतिका साथै दुबै छिमेकीलगायत विश्वभरिका मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्दछ । यो तथ्य प्रचण्ड सरकारका १० महिनाले प्रमाणित गरिसकेको छ । नवौं : सरकार मिसन २०८४ बाट त्रसित भएको प्रोपोगाण्डा गर्ने कोशिस हुँदैछ, जुन भ्रामक कुरा हो । २०८४ को निर्वाचनमा कुन शक्ति र दलको हैसियत के हुन्छ भन्ने कुरा हाम्रो बाँकी ४ वर्षले निर्धारण गर्नेछ, कुनै पूर्वप्रायोजित प्रोपोगाण्डाले निर्धारण गर्दैन । आज जुन दल र नेताहरू गालीगलौजको सहाराले जनमत आफूतिर तान्ने कोशिस गर्दैछन्, निर्वाचित भएपश्चात तिनीहरू पनि परीक्षाको कसीमा जाँचिनैपर्छ । त्यतिबेला थप प्रष्ट हुनेछ–आवेग, घृणा, उत्तेजना, गालीगलौजले राज्य चल्दैन । राज्यका कुशल सञ्चालक ती हुन्, जोसँग ज्ञान, विवेक, निर्णय क्षमता, राजनीतिक योगदान, त्याग बलिदान, सिद्धान्त, राजनीतिक समर्पण चाहिन्छ । यो तथ्य स्थापित गर्न लोकतान्त्रिक शक्तिहरूले धैर्यतापूर्वक सङ्घर्ष गर्नेछन् । दशौं : प्रविधि नवीनतम् चेतनाको उपज हो, यसलाई नियन्त्रण गर्न खोज्नु पछौटेपन हो भन्ने कूतर्क पनि देखिन्छ । यो सबैभन्दा भयानक र घातक छ । प्रविधि मुलतः विकसित चेतना र विज्ञानको उपज हो । तर, प्रविधिका सबै प्लेटफर्मले नवीनतम् युग र चेतनाको प्रतिनिधित्व गर्छन् भन्ने निश्चित हुँदैन । ‘पोर्न साइड’ पनि प्रविधि नै हो तर त्यसले नवीनतम् चेतनाको प्रतिनिधित्व गर्दैन । क्रिप्टोकरेन्सी पनि प्रविधि नै हो तर त्यसमाथि लगभग सिंगो विश्वले नै प्रतिबन्ध लगाएको छ । त्यसैले सभ्यता र समुन्नतिको आकांक्षा राख्ने मुलुकहरूले त्यसमाथि प्रतिबन्ध लगाएका छन् । गुण र दोषका आधारमा समर्थन र विरोध नगरी प्रविधिका खराब पक्षहरूलाई पनि नवीनतम् चेतनाको उपज ठान्नु बौद्धिक टाटपल्टाइ मात्रै हो । त्यसैले तत्कालका निम्ति सरकारले जुन कदम चालेको छ, त्यसले राष्ट्रको बृहत्तर हित, सामाजिक सद्भाव र पारिवारिक एकताको लक्ष्य राखेको छ । हामीसँग सामाजिक सञ्जालका धेरै प्लेटफर्महरू छन्, तिनीहरूको रचनात्मक, सकारात्मक, आलोचनात्मक र प्रतिफलमुखी ढङ्गले उपयोग गरौं । रासस (लेखक प्रधानमन्त्रीका प्रेस विज्ञ हुनुहुन्छ)

विचार : तिहारमा खर्चको व्यवस्थापन

यतिबेला नेपाली दोस्रो महान चाड तिहारको हर्षोल्लासमा रमाइरहेका छन् । चाडपर्व भन्नेबित्तिकै हर्षोल्लास, भेटघाट, मीठो खानपानसँगै आर्थिक पक्ष पनि जोडएर आउने गर्दछ । हाम्रा चाडपर्व विस्तारै खर्चिला र भड्किला बन्दै जाँदा धेरैलाई खर्चको व्यवस्थापन गर्नु त्यति सजिलो पनि हुँदैन । भर्खरै सकिएको दसैँ पर्वले पनि निकै नै खर्च गराएको छ । तिहारमा पनि कसरी खर्चको व्यवस्थापन गर्ने भन्ने धेरैको चासोको विषय हुन सक्दछ । यसका केही विकल्पका बारेमा यहाँ उल्लेख गर्न खोजिएको छ । तिहारको दक्षिणा तिहारमा आफ्ना दिदीबहिनीलाई दक्षिणामा केही दिनुपर्छ । यसमा दिदीबहिनीले गरेको खर्चमा कमी हुन नदिने सोच एकप्रकारले उत्तम मानिन्छ । तथापि, आफ्नो हैसियतभन्दा ठूलो रकम दक्षिणास्वरुप दिने चलनमा सुधार गर्नुपर्छ । दिदीबहिनीभन्दा दाजुभाइको आर्थिक हैसियत उच्च भएमा मनकारी भएर दक्षिण दिन सकिन्छ । तर, दिदीबहिनीको तुलनामा दाजुभाइको आर्थिक हैसियत कमजोर भएमा अरुलाई देखाउने प्रयोजनका लागि बढी दक्षिणा दिनु हुँदैन । दिदीबहिनी र दाजुभाइ सबै उमेरले पाका छन् र ती सबै छोराबुहारी वा छोरीज्वाइँमा आश्रित छन् भने ती पाका उमेरका मानिसलाई नै सोधेर दक्षिणाको रकम निर्धारण गर्नुपर्छ । तिनको चित्त दुखाउनु हुँदैन। दिदीबहिनी र दाजुभाइ साना उमेरका छन् र सबै व्यवस्थापन अभिभावकले गरिदिनुपर्ने भए दक्षिणामा सय/पचास रुपैयाँको व्यवस्था गर्नुपर्छ । यसबाट बालमनोविज्ञानमा चाडपर्वमा नचाहिँदो तडकभडक गर्नुहुँदैन र फजुल खर्च हुनुहुँदैन भन्ने ज्ञान जागृत हुनेछ । नगदको सट्टा वस्तु वा सामग्री दक्षिणाका रुपमा दिने भए दिदीबहिनीलाई सोधेर खरिद गर्नु राम्रो हुन्छ । दाजुभाइलाई पनि टीकामा अनावश्यक खाद्यवस्तु दिनुको सट्टा उनीहरुको आवश्यकता बुझेर कुनै मालवस्तु उपहारमा दिनु राम्रो हुन्छ । दक्षिणालाई नभई दिदीबहिनी तथा दाजुभाइबीचको सम्बन्धलाई महत्व दिनुपर्छ । एअर्कामा दीर्घायु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना नै सबैभन्दा ठूलो दक्षिणा वा उपहार हुन सक्दछ । अनपेक्षित उपहार यथार्थमा तिहारको टीकासँगै आफ्ना दाजुभाइलाई आफैँले मिहेनत गरी पकाएर आफैँले पस्किएर खाना खुवाउनुपर्छ । यदि आफ्नो खेती किसानी छ वा करेसाबारी छ वा कौसीखेती छ भने सोही उत्पादन खुवाउनुपर्छ । बारीमा काँक्रो फलेको छ भने बजारको स्याउभन्दा काँक्रो दामी उपहार मानिन्छ । आफैँले खाँदेको गुन्द्रुक, आफैँले काटेको चाना वा आफैँले बनाएको मस्यौरा घरमा छ भने सो तरकारी किनेको परवर वा भण्टाभन्दा उत्तम मानिन्छ । घरमा गाईभैँसी छन् भने दाजुभाइलाई दूध, दही, घ्यू, मोही खुवाउँदा बजारमा किनेको मासुलेभन्दा बढी सन्तुष्टि दिनेछ । यसरी आफ्नो घरको, नेपालकै उत्पादन, अर्गानिक तरकारी, नेपाली खाना खुवाएर यसपटकको तिहारमा दाजुभाइलाई अनपेक्षित उपहार दिन दिदीबहिनीलाई आह्वान गर्दछु । दिदीबहिनीलाई उपहार तिहारमा हात खाली गरेर टीका लगाउन सकिन्न । यसर्थ, दिदीबहिनीलाई यसपटक साविकको भन्दा फरक उपहार दिन दाजुभाइहरुलाई पनि आग्रह गर्दछु । यसर्थ, यसपटकको तिहारमा आफूलाई मनपरेको किताब उपहारमा दिन विशेष आग्रह छ । दिदीबहिनीलाई दक्षिणारुवरुप नेपालका उत्कृष्ट स्थानको भ्रमणमा लैजान सकिन्छ । दिदीबहिनीले कुनै सीप सिक्न चाहेको भए सोको प्रशिक्षण शुल्क तिरी दिन सकिन्छ वा त्यससँग सम्बन्धित उपकरण दक्षिणामा दिन सकिन्छ । दिदी, भिनाजु वा बहिनीज्वाइँको ठूलो फोटो बनाएर फ्रेमिङ गरी घरमा सजाई दिन सकिन्छ । यसैगरी, नेपाली कलाकृति झल्किने थाङ्का, पत्थर वा काठका कलात्मक वस्तु उपहारमा दिन सकिन्छ । दिदीबहिनीको घरमा खाली जमिन छ भने बुद्धचित्र वा रुद्राक्षलगायतको बिरुवा उपहारमा दिन सकिन्छ । जे होस्, पोहोरपरार झैँ यस वर्षको तिहारमा पनि दिदीबहिनीलाई महिलाले प्रयोग गर्ने भोला, कुर्ता सुरुवाल, साडी चोलो वा पछ्यौरी दिनुको सट्टा नेपाली उत्पादनको सिर्जनशील उपहार दिन आमदाजुभाइलाई उत्पेरित गर्दछु । मदिरा र पटकारहित तिहार तिहारलाई मदिरारहित मनाउन विशेष आग्रह गर्दछु । सामान्यतः दाजुभाइले रक्सी पिएकामा खुसी मान्ने दिदीबहिनी बिरलै होलान् । यसर्थ, आफ्नी प्रिय दिदीबहिनीका लागि दक्षिणास्वरुप यसपटक ‘ड्राई’ अर्थात् मदिरारहित तिहार मनाउन सल्लाह दिन्छु । तिहारको मासु पचाउन मूला खाऔँ, रक्सी नपिऔँ । भाइ मसला पचाउन हिँडडुल, घुमफिर गरौँ । दिदीबहिनीले प्रेमपूर्वक दिएको खानेकुरा मज्जाले खाऔँ र पचाउन उनै दिदी बहिनीसँग जमेर सुख दुःखका कुरा गरौँ । यसपटकको तिहारलाई पटकारहित बनाऔँ । पटका बिक्री गर्ने पसलेलाई चेतावनी दिऔँ । आफ्नो घरका केटाकेटीलाई पटका पड्काउन नहुने सन्देश जारी गरौं । टोल छरछिमेकमा पनि यस्तो हर्कत हुन लागे हस्तक्षेप गरौँ र शान्तिपूर्ण र सभ्य समाज निर्माणका लागि सबैले प्रहरीको भूमिका निर्वाह गरौँ । तिहारमा के गर्ने त ? सम्भव भए तिहारमा शाकाहारी हुने कोसिस गरौँ । मासुलाई रक्सीले पचाउने होइन, खाएपछि घुमफिर गर्न घरबाट बाहिर निस्किऔँ वा आपसमा बसेर रमाइला कुरा गरेर समय बिताउन सकिन्छ । तास खेलेर समय बर्बाद गर्नुभन्दा पिङ खेलेर रमाउन सकिन्छ, केटाकेटीसँंग क्यारेमबोर्ड खेल्न सकिन्छ । केटाकेटीहरुसँग बसेर चेस खेल्ने, लूडो खेल्ने गर्दा उनीहरुको वौद्धिकता पनि बढ्छ तर बिर्सिएर पनि लंगरबूर्जा नखेलौं । कौंडा नहानौं । तिहारका सबै दिन फरक फरक ढङ्गले परिवारसहित खुसी हुने योजना बनाऔं । तिहारमा कुनै पनि प्रकारको खराव कामलाई प्रश्रय नदिऔा । तिहारको खानपिन तिहारमा खानपीनमा पनि ख्याल गर्नुपर्ने हुन्छ । तिहारमा अत्याधिक मासु खाने प्रचलनलाई निषेध गर्नै पर्ने भएको छ । दाजुभाइलाई खुवाउन भनेर मासुमा बेस्सरी चिल्लो र पिरो नहालेर पनि स्वादिष्ट बनाउन सकिन्छ । मिठाई दही, अचारलगायतका वस्तु पनि रुची नहुँदा पनि कोची कोची खाने गर्नु हुन्न । बासी खानेकुरा पटक्कै नखाऔं । सामान्यतः खाना तयार गरेको चार घण्टापछि वासी हुन्छ । यस कुरालाई विचार गरी ठिक्क पकाउने र समयमै खाने गर्दा स्वास्थ्यलाई फाइदा गर्दछ । बिहानको खाना बेस्सरी खाइएको छ भने साँझको खाना हल्का गरी खाएमा पाचन प्रणालीलाई सजिलो हुन्छ । विश्वमा अस्वभाविकरुपमा खाना खाएरै वर्षेनी करोडौ मानिस विरामी हुने गरेका छन् । यसर्थ, एक पटक पकाउन प्रयोग भएको तेलको पुर्नप्रयोग गर्नु हुँदैन । मासु खानेले छाला र बोसोरहित मासु मात्रै खाएमा त्यसले शरिलाई बिकार गर्दैन । भाइ मसलामा पर्ने काजु, किसमिस, हाडेबदाम, छोकडालगायतका वस्तुमा फोहोर हुन सक्छ, राम्ररी पखालेर, सुकाएर खाने गर्नुपर्छ । मिठाई बनाउँदा अखाद्य रङको प्रयोग गर्नु हुँदैन । त्यस्तो रङ्मा विभिन्न रासायतिनक तत्वहरु मिसाइएको हुन्छ । खाना खानुपूर्व भोक जगाउने र खाना खाएपछि पचाउने बस्तुको चक्र मिलाएर खाने गरेमा राम्ररी पच्ने र शरिरलाई फाइदा पुग्दछ । भ्रम हटाऔँ तिहारै सबैको हो । यसर्थ, सबैले आ-आफ्नै ढङ्गले यस वर्षको तिहार मनाऔँ । यो पटक जत्ति खुसी कहिल्यै भइएन भन्ने वातावरण तयार गरौं । दिदीबहिनी र दाजुभाइबीचको आत्मियता वृद्धि हुने काम मात्रै गरौं । यस्मा कटुता प्रकट हुने वा सम्बन्ध चिस्सिने कुनै पनि हकर्त नगरौं । तिहारमा नयाँ लुगा लगाउनै पर्ने, मासु खानै पर्ने, तास जुवा खेल्नै पर्ने, मदिरा सेबन गर्ने पर्ने जस्ता कुरालाई दिमागबाट हटाऔं । शान्तपूर्वक, शिष्टतापूर्वक तिहार मनाउन सकिन्छ । दक्षिणा लिँदा वा दिँदा नोटलाई जथाभावी फोहोर नगरौं । देखासिकी गरेर फजुल खर्च नगरौं । सबैले आफ्नो सोचमा रुपान्तरणको प्रयास गर्न सकिएमा चाडपर्व रमाइलो र सद्भावपूर्ण हुनुको साथै कसैलाई खर्चको बोझ पनि हुँदैन । तिहारको शुभकामना तिहारमा सबैले सबैलाई शुभकामना आदनप्रदान गरौ । यसले आपसी समझदारी, सम्बन्ध र सद्भाव बढाउन मद्दत पुग्दछ । तिहारपछि नयाँ उत्साह र उमङ्गका साथ काम गर्ने वातावरण निर्माण हुन सक्दछ । मानिसमा कुनै ध्रमपान, मद्यपान, लागूऔषध सेवन वा अन्य खराव बानी भए यस वर्षको तिहारपछि त्यस्तो बानी त्यागी आफ्नो जीवनलाई नै नयाँ बाटोतिर लैजाने अवसर हुन सक्दछ । कुनै नयाँ काम गर्ने सोच छ भने यस वर्षको तिहारदेखि सो पुनित कार्यको आरम्भ गर्न सकिन्छ । (लेखक नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त हुन् ।)