विद्युत् प्राधिकरणले झुटको खेती गर्‍यो

तत्कालीन समयमा २० घण्टाभन्दा बढी समय बिजुली उपलब्ध र आम नागरिकलाई नघटाई थप विद्युत् आयात गरेर उद्योगहरूलाई विद्युत् उपलब्ध गराएपछि मात्रै तोकिएको मूल्यभन्दा बढी महसुल लिने शर्त थियो । तर, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आम नागरिकलाई नदिई उद्योगीहरूलाई विद्युत् उपलब्ध गराएको भनेर झुट बोल्नु भएको छ । भारतको पावर ट्रेडिङ कर्पाेरेशनबाट बिड गरेर ल्याउँदा प्रतियुनिट १४/१५ रुपैयाँ पर्छ । भारतबाट आयात गरे उद्योगीहरूलाई प्रतियुनिट १७ रुपैयाँमा दिन्छौ भन्ने प्राधिकरणको आशय थियो । जबकी त्यो बेलामा डिजेलबाट उत्पादन हुने विद्युतको प्रतियुनिट २५ रुपैयाँसम्म लागत पर्थ्यो । तीनवटा शर्त तोकेर उहाँले उद्योगीहरूसँग सम्झौता गर्नु पर्ने थियो । किनभने बढी मूल्य लिएपछि अनिवार्य सम्झौता गर्नु पर्छ । तर, सम्झौता गर्नु भएन । साथै प्राधिकरणले शर्त अनुसार बिजुली दिन पनि सकेन । त्यतिबेला प्राधिकरणलाई सम्झौता तपशिलको विषय हो भन्ने लाग्यो । बिजुली १८/२० घण्टा दिनु भयो । तर, हामी उद्योगीहरूले पायनौं । अब सम्झौता नगरेको भएपनि टिओडी मिटरको प्रमाण दिनुहोस् हामी विद्युत् महसुल तिर्छाैं भन्दा उहाँले त्यो उपलब्ध गर्न सक्नु भएको छैन । अहिले आएर प्रबन्ध निर्देशक घिसिङले सर्वसाधारणलाई १२ घण्टा र उद्योगीहरूलाई १५ घण्टा विद्युत उपलब्ध गराएको भनेर उहाँले दावी गर्नु भयो । यदि सर्वसाधारणले पाउने भन्दा बढी समय बिजुली उद्योगहरूलाई हो भने प्रमाण दिनु पर्याे भनेर हामीले माग गर्दै आएका छौं । त्यो प्रमाण तोकिएको ढाँचाभित्र हुनु पर्छ । २/३ घण्टा बढी समय विद्युत दिएको भनेर दावी पनि गर्ने, अनि प्रमाण पनि देखाउन नसकेर घिसिङ आफैंले विवाद श्रृजना गर्नु भएको हो । जबकी उहाँले काट्दै नकाट्ने बिल काट्नु भयो । जस्तोः एउटा पत्रिकामा प्रतिदिन १ हजार रुपैयाँका दरले विज्ञापन प्रकाशन गर्छु भनेर प्रस्ताव आयो । एक महिनाका लागि मैले हुन्छ भने । एक महिनाको पैसा लगेर गयो । फेरी तीन वर्षपछि आएर ३६ महिनाको ९ लाख १० हजार दिनु पर्याे भनेर माग्न आयो । मैले त सम्झौता गरेको थिएन । त्यसपछि वादविवाद उत्पन्न भयो । सम्झौता नगरी प्रकाशन गर्नु भयो । विज्ञापन छापेको प्रमाण दिनुहोस् भन्दा त्यो पनि छैन । कम्तिमा प्रमाण त दिनु पर्याे नी । प्राधिकरणले पनि तथ्याङ्क बिना ब्याज लगाउँदै पैसा जोड्नु भयो । हामीले टिओडी मिटरको तथ्याङ्क दिनुहोस् भन्दा उहाँले दिन सक्नु भएन । भक्त बहादुरको संयोजकत्वमा समिति बन्यो । नियम आउनुभन्दा अगाडिको लिन नपाउने, लोडसेडिङ मुक्त भइसकेपछि पनि लिन नपाउने र बीचको अवधिको ४ अर्ब ९६ करोड रुपैयाँ मात्रै लिनु पर्ने भनेर प्राधिकरणलाई भनेको थियो । तर, कुलमानजीले त्यसलाई मान्नु भएन । र, अदालतमा कुनै पनि उद्योगले मुद्दा हारेको छैन । अदालतले वैकल्पिक उपाय हुँदा हुँदै अदालत आउनु पर्दैन भनेको मात्रै हो । जस्तोः १ लाख कर लाग्ने ठाउँमा १० लाख लगायो भने सबैभन्दा पहिला महानिर्देशकलाई भेटेर पुनरावलोकनका लागि माग गर्नु पर्छ । त्यो बेला सिधैं अदालत जान पाईदैन । किन १० लाख कर लगाउनु भयो भनेर कारण खुलाउनु पर्छ । तर, प्राधिकरणले उद्योगीहरूलाई कुनै कागज नै दिएको छैन । सिधैं तैले यति पैसा तिर्नु पर्छ मात्रै भनेर पत्र पठाएको छ । त्यसैले जसले अदालतमा मुद्दा दायर गरेका छन् उनीहरूलाई वैकल्पिक उपाय प्रबन्ध निर्देशकसँग पुनरावलोकन गर्नु भनेको हो । प्रबन्ध निर्देशकले प्रत्यक्ष सिधैं तिर्नु पर्छ भनेको विषय हो । कार्यालयले गरेको विवाद भए पुनरावलाकोन गर्न प्रबन्ध निर्देशकसँग जान सकिन्थ्यो । तैपनि पुनरावलोकन गर्न जाँदा शतप्रतिशत रकम बुझाएर मात्रै पुनरावलोकन गर्न आउ भनेर जवाफ दिनु भयो । जबकी हामीले तिर्नै नपर्ने पैसा किन शतप्रतिशत राख्ने ? अदालतले कुनै पनि मुद्दामा पैसा तिर्नु पर्छ भनेर निर्देशन दिएको छैन । तर, प्रबन्ध निर्देशक कुलमान घिसिङले ४५ वटा मुद्दा जितेको भनेर भ्रम फैलाउनु भयो । संसदीय समितिले पनि कुलमान घिसिङलाई नै दोष लगाएको छ । काट्नै नपर्ने बिल किन काटेको भनेर प्रश्न गरेको छ । जस्तो बैंकलाई राष्ट्र बैंकले नियमन गर्छ । बैंकले ४ प्रतिशतभन्दा बढी प्रिमियम लिन पाउँदैन । तर, ६ प्रतिशत प्रिमियम लियो भने राष्ट्र बैंकले कारवाही गर्छ ।कुलमानजी यति धेरै हावी हुनु भयो की, अन्य निकाय निर्णय गर्न हच्किन थाले । विद्युत् नियमन आयोग जाँदा पनि गलत भनिसकेको छ । विभिन्न चार किसिमका फिडर छन् । सबस्टेसनबाट सिधैं उद्योगमा जडान गरिने लाइनलाई डेडिकेडेट फिडर भनिन्छ । डेडिकेडेट फिडरमा २४ घण्टा बिजुली हुन्छ भन्ने हुँदैन । एउटा सबस्टेशनबाट थुप्रै उद्योगलाई दिने लाइनलाई औद्योगिक फिडर भनिन्छ । यो लाइन हाइ भोल्टेजमा उद्योगहरुका लागि मात्र राखेको हुन्छ । यस लाइनमा बढी लिने भन्ने हुँदैन भने लाइन काट्दा सबै उद्योगको काटिन्छ । एक सबस्टेशनबाट अर्काे सबस्टेशनमा प्रवाह हुने लाइनलाई ट्रंक लाइन भनिन्छ । ट्रंक लाइनमा २४ घण्टा बिजुली भएपनि कसैलाई पनि लाइन जोड्न दिने व्यवस्था छैन । यदि ट्रंक लाइनबाट बिजुली दिएको हो भने त्यो प्राधिकरणले एने विपरित कार्य गरेको ठहरिन्छ । भैरहवा बुटवलमा समस्या बढी भएको छ । किनभने त्यस क्षेत्रमा धेरै उद्योगीहरू छन् । बुटवलबाट भैरहवामा तीन वटा ट्रंक लाइन छन् । १८० उद्योगले महसुल तिरेको भनेर बताइएको छ । ती उद्योगले सम्झौता गरेको हुँदा महसुल तिरेका हुन् । तर हामीले कुनै सम्झौता गरेका छैनौं र बिजुली पनि पाएका छैनौं । साढे ३ वर्षपछि छुट बिल भनेर ७ रुपैयाँ प्रिमियम लिएको भनेर आयो । (डेडिकेडेट तथा ट्रंक लाइनको विद्युत् महसुल विवादबारे सर्वोत्तम सिमेन्टका अध्यक्ष न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंश)

हामी महसुल तिर्न तयार छौं तर‍…

प्रायः उद्योगहरूले २ प्रतिशत छुट (बिल जारी भएको एक सातामा महसुल बुझाउँदा नेपाल विद्युत प्राधिकरणले दिने सुविधा) लिँदै बिल अनुसार नियमित महसुल तिर्दै आएका छन् । विगतमा पनि नियमित महसुल तिरेका थिए । प्राधिकरणले २०८० मंसिरसम्म ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता पुगेको भनेको छ । त्यो प्रिमियम महसुल र त्यसको ब्याज तथा जरिवानाको विषय हो । लोडसेडिङको समयमा निरन्तर विद्युत् प्रयोग गर्न चाहने ग्राहकका लागि आयोगले प्रिमियम महसुल निर्धारण गरेको थियो । तर, आयोगले नियमित बिलबाहेक अतिरिक्त महसुल लिन सर्त राखेको थियो । आयोगले डेडिकेटेड लाइनबाट लोडसेडिङको समयमा निर्वाध र निरन्तर २४ घण्टा बिजुली प्रयोग गर्ने ग्राहकबाट थप प्रिमियम लिन २०७२ पुस २९ गते स्वीकृति दिएको थियो । यस्तै, ट्रंक लाइनबाट ६ घण्टा लोडसेडिङ भएको अवस्थामा २० घण्टा निरन्तर बिजुली प्रयोग गर्ने ग्राहकबाट थप प्रिमियम लिन आयोगले २०७३ असार १६ गते प्राधिकरणलाई स्वीकृति दिएको थियो । तर, प्राधिकरणले आयोगले ताकेको सर्त तथा स्वीकृति दिएको समय बेवास्ता गर्दै ट्रंक तथा डेडिकेडेट लाइनबाट बिजुली प्रयोग गरेका ग्राहकलाई प्रिमियम तिर्न २०७५ चैतमा मात्रै बिल पठायो । जसले गर्दा विवाद बढेको हो । उद्योगहरूले लोडसेडिङको समयमा तालिकाअनुसार मात्रै बिजुली प्रयोग गरेका थिए । त्यसैले प्रिमियम महसुल लाग्दैन भन्ने उद्योगीहरूको भनाइ हो । तर, यदि प्राधिकरणले आयोगले तोकेको सर्त अर्थात् डेडिकेटेडको हकमा २४ घण्टा निर्वाध र निरन्तर तथा ट्रंकको हकमा ६ घण्टा लोडसेडिङ भएको समयमा २० घण्टा निरन्तर बिजुली आपूर्ति गरेको प्रमाण दिएमा कानुनअनुसार प्रिमियम दरको छुट महसुल तिर्न हामी तयार छौं । प्राधिकरणमा निवेदन दिएर लोडसेडिङको समयमा डेडिकेटेडेड र ट्रंक लाइनबाट बिजुली लिएका ग्राहकबाट प्रिमियम शुल्क असुल गरिनपर्छ र अनुमति नलिई बिजुली प्रयोग गर्ने ग्राहकलाई विद्युत चोरी नियन्त्रण ऐनअनुसार कारबाही हुनुपर्छ । ट्रंक तथा डेडिकेटेड लाइन के हो ? बिजुलीको माग बढेको अनुपातमा आपूर्ति बढ्न नसक्दा २०६२ देखि नेपाल विद्युत प्राधिकरणले विद्युत् कटौती (लोडसेडिङ) गर्न सुरु गरेको थियो । सरकारले २०६९मा अत्यावश्यक सेवा सञ्चालकका लागि सुरक्षा निकाय, स्वास्थ्य संस्था, सिंहदरबार, सञ्चार तथा खानेपानी सेवा, विमानस्थललगायतका निकायमा डेडिकेटेड लाइनबाट नियमित बिजुली आपूर्ति दिनुपर्ने नीति लिएको थियो । प्राधिकरणको सब–स्टेसनबाट सिधै विद्युत् आपूर्ति लिएकालाई डेडिकेटेडलाइन भनिन्छ । २०७२ पुसमा आयोगले सेपरेट फिडरबाट २४ घण्टा निरन्तर तथा निर्वाध बिजुली लिएका ग्राहकबाट प्रिमियम थपेर महसुल लिने निर्णय गर्यो । जसलाई डेडिकेटेड लाइन भनियो । एक सब-स्टेशनबाट अर्को सब-स्टेशनसम्म जाने लाइनबाट विभिन्न ग्राहकलाई विद्युत आपूर्ति गर्ने लाइनलाई ट्रंक लाइन भनेर परिभाषित गरिएको छ । आर्थिक वर्ष २०६९/७० सालमा लोडसेडिङ १८ घण्टासम्म हुन थाल्यो । प्राधिकरणको डेडिकेटेड लाइनबाट लोडसेडिङको समयमा निरन्तर बिजुली लिने औद्योगिक, व्यापारिक तथा गैर–व्यापारिक वर्गका ग्राहकबाट नियमित महसुलमा थपेर अतिरिक्त महसुल अर्थात् प्रिमियम शुल्क लिने अवधारणा २०७० मा आएको हो । प्राधिकरणको २०७१ माघ २५ गते बसेको ६९९औं बैठकले प्राधिकरणको प्रणालीबाट निर्वाधरूपमा निरन्तर विद्युत् सेवा लिन चाहने ग्राहकलाई विद्युत् आपूर्ति गर्ने मापदण्ड बनाई रायसहितको प्रतिवेदन पेस गर्न प्राधिकरणका सञ्चालक समितिका सदस्य मनोज मिश्रको संयोजकत्वमा ३ सदस्यीय समिति बन्यो । उक्त समितिले डेडिकेटेड फिडरमार्फत् २४ घण्टा निर्वाध र निरन्तर विद्युत् आपूर्ति दिएमा अतिरिक्त शुल्क लिनुपर्ने सुझावसहित प्रतिवेदन सञ्चालक समितिमा पेस गरेको थियो । मिश्र नेतृत्वको समितिले प्रतिवेदन पेस गर्नुभन्दा अगाडि लोडसेडिङको समयमा निरन्तर बिजुली प्रयोग गर्ने ग्राहकबाट थप प्रिमियम लिने अवधारणा थिएन । उक्त समितिको प्रतिवेदनमा २४ घण्टा निरन्तर बिजुली आपूर्ति नहुने फिडरलाइन सेपरेटर फिडरूपमा कायम गरिएको छ । मिश्र नेतृत्वको समितिले दिएको सुझावअनुसार २०७२ असार १२ गते प्राधिकरण सञ्चालक समितिले डेडिकेडेड फिडरबाट निरन्तर २४ घण्टा विद्युत आपूर्ति सेवा लिने ग्राहकलाई साउन १ गतेबाट तर अतिरिक्त शुल्क (प्रिमियम महसुल) लगाउने निर्णय गरेको थियो । नेपाल विद्युत प्राधिकरण ऐन २०४१ अनुसार प्राधिकरणको अधिकार महसुल लिने हो, तोक्ने होइन भनेर उल्लेख गरिएको छ । आयोगको २०७२ पुस २९ र माघ १० गते बसेको बैठकले प्राधिकरण सञ्चालक समितिले २०७२ असार १२ गते मनोज मिश्रको प्रतिवेदनका आधारमा डेडिकेटेड लाइनबाट बिजुली लिने ग्राहकबाट प्रिमियम महसुल लिने गरी गरेको निर्णयलाई स्वीकृति दिएको थियो । डेडिकेटेड लाइनबाट बिजुली लिँदा अतिरिक्त शुल्क लिन आयोगले अनुमति दिएको डेढ महिना नपुग्दै २०७२ फागुन ११ गते प्राधिकरणले डेडिकेटेड फिडरबाट लोडसेडिङको समयमा उद्योगलाई बिजुली दिन नसक्ने र लोडसेडिङको तालिकाअनुसार विद्युत आपूर्ति गर्ने सूचना प्रकाशित गरेको थियो । हाम्रो प्रश्न साधारण छ : प्राधिकरण आफैंले लोडसेडिङको समयमा विद्युत आपूर्ति गर्न सक्दैन भनेर भनेर सार्वजनिक सूचना प्रकाशित गरेको अवस्थामा उद्योगहरूले लोडसेडिङको समयमा बिजुली पाएको प्रमाण माग्नु गलत हो ? विद्युत महसुल निर्धारण आयोगले अनुमति दिनुभन्दा अगाडि प्रिमियम शुल्क लगाउन मिल्दैन भनेर कसरी गलत भयो ? २०७३ असार १६ गते आयोगको १०८औं बैठकले ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको अवस्थामा २० घण्टाभन्दा बढी निरन्तर बिजुली प्रयोग गर्ने ग्राहकबाट २०७३ साउन १ गतेदेखि डेडिकेटेड सरह महसुल अर्थात् नियमित प्रिमियम शुल्क लगाउन ससर्त स्वीकृति दिएको थियो । प्राधिकरण सञ्चालक समितिले महसुल संकलन विद्युत विनियमावली २०७३ बनायो । विनियमावलीमा लोडसेडिङको समयमा ट्रंक र डेडिकेटेड लाइनबाट विद्युत् आपूर्ति सेवा लिन चाहने ग्राहकले निवेदन दिएमा सञ्चालक समितिले स्वीकृति दिन सक्ने व्यवस्था गरियो । तर, प्राधिकरणले लोडसेडिङको समयमा बिजुली प्रयोग गर्न अनुमति माग गर्दै निवेदन नै नदिएको ट्रंक लाइनका ग्राहकलाई २०७२ साउनदेखिको विद्युत महसुल तिर्न २०७५ चैतमा पत्राचार गरेको छ । प्राधिकरणबाट अनुमति नलिई विद्युत प्रयोग गर्नेलाई विद्युत चोरी नियन्त्रणअनसार कारबाही विनियमावलीमा व्यवस्था कार्यान्वयन नगरी प्राधिकरणले कुन कानुनमा टेकेर ग्राहकलाई प्रिमियम ट्रंक लाइनका महसुल तिर्नुपर्ने पत्र पठायो ? प्राधिकरणले जारी गरेको बिलअनुसार अधिकांश उद्योगहरूले नियमितरूपमा बिल भुक्तानी गर्दै २ प्रतिशत छुट सुविधा पनि लिइरहेका छन् । विद्युत महसुल निर्धारण आयोगले डेडिकेटेड लाइनबाट बिजुली लिने ग्राहकलाई २०७३ पुसबाटै र ट्रंक लाइनबाट विद्युत प्रयोग गर्नेलाई २०७३ साल साउन १ गतेबाटै ससर्त प्रिमियम दरमा महसुल लगाउन स्वीकृति दिएको थियो । प्राधिकरणले २०७५ चैतसम्म किन प्रिमियम दरमा बिल जारी गरेन ? अनुमति नलिई विद्युत प्रयोग गर्ने ग्राहकलाई विद्युत चोरी नियन्त्रण ऐनअनुसार कारबाही गर्नुपर्नेमा त्यसअनुसार नगरी किन प्रिमियम दरमा छुट बिलमात्रै जारी गरियो ? आयोगले ६ घण्टा लोडसेडिङ भएको अवस्थामा मात्रै प्रिमियम दरमा महसुल लिन स्वीकृति दिएकोमा २०७५ वैशाख ३१ बाट लोडसेडिङ अन्त्य भएपछि पनि कुन आधरमा प्रिमियम दरमा बिल जारी भयो ? डेडिकेडेटड लाइनको हकमा २४ घण्टा निरन्तर तथा ट्रंक लाइनको हकमा ६ घण्टा लोडसेडिङ भएको र २० घण्टा निरन्तर बिजुली प्रयोग गरेको प्रमाण नभई अतिरिक्त महसुल अर्थात् प्रिमियम शुल्क कुन कानुन अनुसार तिर्नुपर्छ ? नेपाल विद्युत प्राधिकरणले प्रमाण नदिई महसुल उठाउन सक्ने कुनै कानुनी व्यवस्था छ ? विधिको शासन र कानुनी राज्य भएको देशमा कानुनी आधार र प्रमाण माग्नु कसरी गलत भयो ? प्राधिकरणले आयोगको नियमन विद्युत अनुमति नलिई डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएकै आधारमा प्रिमियम शुल्क लिने गरी  कानुन संशोधन कसरी गर्न सक्छ ? अख्तियारले के भनेको छ ? डेडिकेटेड लाइनबाट सेवा लिएका ग्राहकको हकमा विदयत महसुल निर्धारण आयोगको २०७३ पुस २९ गते १०३औं बैठकबाट निर्णय भएबमोजिम र ट्रंक लाइनबाट सेवा लिएकाको हकमा आयोगको २०७३ असार १६ गतेको १०८औं बैठकबाट निर्णय भएबमोजिम लोडसेडिङ आधिकारिक उपयुक्त हुने र अन्त्य भएको घोषणा हुन अघिसम्मको महसुल लिन उपयुक्त हुने भनेको छ । हामी महसुल तिर्न तयार छौं त्यसका लागि आयोगले प्रिमियम महसुल लिन मिल्ने गरी तोकेको सर्त अर्थात् डेडिकेटेडको हकमा २४ घण्टा निर्वाध र निरन्तर बिजुली दिएको तथा ट्रंक लाइनको हकमा ६ घण्टा लोडसेडिङ भएको अवधिमा प्राधिकरणले २० घण्टा बिजुली दिएको प्रमाण अर्थात् टाइम अफ डे (टिओडी) मिटरको विवरण दिनुपर्छ । बिहीबार प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङले लगाएको आरोप कानुनले चिन्दैन । प्रबन्ध निर्देशक घिसिङले उद्योगले जनतालाई लोडसेडिङमा राखेर २०७० मा बिजुली प्रयोग गरेको बताएका थिए । तर, विद्युत चोरी गर्नेलाई उद्योगीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र कानुन विपरीत विद्युत प्रयोग गर्न दिने प्राधिकरणका कर्मचारी कारबाही गर्नुपर्ने कानुनी आधार छ । प्राधिकरणले २०७३ फागुनमा थप ग्राहकलाइ डेडिकेडेट लाइनबाट अनुमति दिन नसक्ने भन्दै सूचना प्रकाशित गरेको प्रबन्ध निर्देशकले बताएका थिए । तर, सूचनामा डेडिकेटेड र ट्रंक लाइनबाट लोडसेडिङको समयमा उद्योगलाई बिजुली आपूर्ति गर्न नसक्ने भनिएको थियो । प्राधिकरणले प्रिमियम महसुलसहित छुट बिल जारी गरेपछि कुनै पनि उद्योगले प्राधिकरणको पुनरावलोकन समितिमा निवेदन नदिएको कार्यकारी निर्देशक घिसिङले बताए । तर, अर्घाखाँची सिमेन्ट, डाबर नेपाललगायतका कम्पनीले १ सय प्रतिशत रकम धरौटी राख्दै पुनरावलोकन समितिमा निवेदन दिएका छन् ।

डिजिटल भुक्तानीमा बैंकहरू डिपोजिटमुखी भए

नेपालमा पछिल्लो समय अझ भनौँ कोरोना महामारीपछि सबैभन्दा बढी चलेका शब्दमध्ये प्रमुख विद्युतीय (डिजिटल) अर्थतन्त्र हो । नेपालमा यसलाई कम्प्युटर र इन्टरनेटमा आधारित अर्थतन्त्र भनेर बढी बुझियो । खासमा डिजिटल अर्थतन्त्रलाई मोबाइल र कम्प्युटरको प्रयोगभन्दा माथि भएर बुझ्नुपर्छ । यसमा सबैभन्दा मुख्य विषय भनेकै पारदर्शिता र समावेशिता हुन्छ । हामीले गर्ने भौतिक कारोबार या कुनै क्रियाकलाप शतप्रतिशत पारदर्शी छ भनेर ठोकुवा गर्न सकिने अवस्था रहँदैन । डिजिटल अर्थतन्त्रको अभावमा कुनै कम्पनी वा संघ संस्थाको वा देशकै अर्थतन्त्र कता जाँदैछ, केले अर्थतन्त्रलाई डोर्याउँदैछ, यसको निष्कर्ष के आउँछ लगायतका कुराको पनि भेउ पाइँदैन । हरेक क्षेत्र डिजिटाइज्ड हुँदा गरिने पारदर्शी कार्यले दिने नतिजा पनि पारदर्शी नै हुन्छ । अर्थात डिजिटल अर्थतन्त्र भनेकै न्यून पारदर्शिता र न्यून समावेशीकरणबाट उच्च पारदर्शिता र समावेशीकरणको माध्यम हो । नेपाल डिजिटल अर्थतन्त्रको मामिलामा नयाँ छ । धेरै कुरा बुझ्न बाँकी छ । हाल डिजिटल प्लेटफर्ममार्फत जम्मा दैनिक दुई अर्ब बराबरको मात्रै कारोबार देखिन्छ । खास कारोबार कति भन्ने कुरा नै यकिन छैन । त्यसैले पनि नेपाल अहिले यसमा बामे सार्दै गरेको छ भन्न मिल्छ । सन १९९८ देखि नेपाली बैंकबाट विद्युतीय भुक्तानीका लागि कार्ड जारी गर्न थालिएको थियो । तर, त्यतिबेला कार्ड प्रयोग गरेर वस्तु किनमेल गर्ने या पैसा निकाल्न कार्य अघि बढिसकेको थिएन । एटिएमबाट नगद निकाल्न मात्रै यसको प्रयोग धेरैजसो गरियो । त्यसबेला यो अलि झन्झटिलो र महँगो पनि भएकाले यसको प्रयोगमा आकर्षण बढेन । सन २००९ बाट भने ईसेवा आइसकेपछि नेपालमा डिजिटल वालेटको सुरुवात भयो । यसले त्यो समयमा विद्युत् महसुल, मोबाइलको टपअप, खानेपानीलगायतको अनलाइन भुक्तानीमा केहि सहजीकरण गरिदियो । तर त्यसबेलासम्म ईसेवामासमेत खुद्रा पसलमा भुक्तानीका लागि केही उपाय थिएन । त्यसको विकल्प खोज्दै जाँदा चीनमा क्युआरको प्रयोग भइरहेको जानकारी पाएपछि ईसेवाले २०१६ सालमा फोनपे सुविधा ल्यायो । यति भएपछि अब बैंकमा खाता मात्रै भए पुग्ने कार्ड पनि आवश्यक नपर्ने सुविधाले प्रयोगकर्ता यसमा आकर्षित भए । कार्डमार्फत हुने भुक्तानीका सम्पूर्ण झन्झटबाट मुक्ति पाइयो । आवश्यक भनेको एउटा स्ट्यान्ड थियो । त्यो पनि बैंकले उपलब्ध गराइहाल्थ्यो । यसबेलासम्म हरेक नेपालीको हातमा स्मार्टफोनको उपलब्धता राम्रै भएकाले फोनपेको व्यापकता बढ्यो । २०१८ पछि नेपालमा क्युआर कोर्डमार्फत हुने भुक्तानीको राम्रै सुरुवात भयो । विश्वभर फैलिएको कोरोना महामारीले यसलाई झनै गति दियो । त्यस बेलामा धेरैजसोले क्युआरमार्फत भुक्तानी गर्न सिके पनि जसका कारण क्युआर र मोबाइल बैंकिङको प्रयोग लगातार बढ्न थाल्यो । अहिले कार्ड प्रयोगकर्ताको तुलनामा मोबाइल बैंकिङका प्रयोगकर्ता दोब्बर छन् । हालसम्म डिजिटल भुक्तानीको अवस्था एकदमै राम्रो छ । गत वर्षको भुक्तानीकै तुलना गर्दा पनि यस वर्ष करिव शतप्रतिशतले डिजिटल प्लेटफर्ममार्फत हुने भुक्तानी बढेको छ । खासगरी दक्षिण एसियाभन्दा बाहिर विद्युतीय भुक्तानीको वर्चस्व कार्डमार्फत नै बढी छ । उनीहरुले कार्ड नै बढी मन पराउँछन् तर नेपाल, भारतलगायत दक्षिण एसियाली मुलुकमा भने कार्डको तुलनामा अनलाइन भुक्तानीको परिमाण बढी छ । चीन मोबाइल बैंकिङमार्फत हुने कारोबारमा नेपालको तुलनामा धेरै अघि छ तर भारतको तुलनामा भने नेपाल पछि पछि नै छ । अहिले दक्षिण एसियाका धेरैजसो देशले कार्डभन्दा मोबाइल बैंकिङलाई नै प्राथमिकतामा राख्ने गरेका छन् । विद्युतीय भुक्तानीमा नेपालले आफ्नै नयाँ तरिका अपनाएको छ । नेपालले भारत, चीन या अन्य कुनै पनि एसियाली मुलुकको सिको गरेको छैन । केही देशका नागरिक नेपालमा क्युआरमार्फत भएको भुक्तानी हेरेर छक्क पर्छन् । हामीले अहिलेको भुक्तानीको प्रवृत्ति हेर्दा नेपाल पनि कम स्थानमा छैन । डिजिटल भुक्तानीका समस्या  तथापि नेपालमा सरकारले डिजिटल अर्थतन्त्र सबल बनाउन ठूलो प्रयास गरिरहेको जस्तो देखिए पनि सोही अनुसार काम भने भएको छैन । कुनै काम वा सरकारी सेवाका लागि अनलाइनबाट भुक्तानी हुन्छ त भनिन्छ तर, कति काम अनलाइनमार्फत भयो र कति सेवाग्राहीले भौतिक रूपमै सेवाको शुल्क तिरे भनेर यकिन तथ्यांक निकालिएको छैन । अझ कुनै कुनै कार्यालयमा सम्पूर्ण क्रियाकलाप अनलाइनमार्फत हुने भनिएको हुन्छ, तर त्यसैभित्रको कुनै न कुनै काम गर्न सर्वसाधारणलाई लाइन लाग्नैपर्ने बाध्यता छ । यसको पूर्ण रुपमा अन्त्य भएपछि मात्रै डिजिटल अर्थतन्त्रले सार्थकता पाउला । हाल नेपाल सरकारले डिजिटल अर्थतन्त्र निर्माणका लागि जे जति नीति निर्माण गरिसकेको छ तिनलाई नै राम्रोसँग कार्यान्वयन गरे मात्रै एक चरणको काम हुने छ । हुन त प्रविधिको विकास हुँदै जाँदा सोही अनुसार नीति निर्माण त गर्नुपर्ला तर, निर्माण गरिएका नीतिको कार्यान्वयनको पाटो कमजोर हुँदा नेपाल डिजिटाइजेसनको क्षेत्रमा पछि परेको छ । डिजिटल अर्थतन्त्रको नीति कार्यान्वयन गर्ने इच्छाशक्ति नै कसैसँग नभएर यस्तो अवस्था निम्तिएको हो । अर्थात जे गर्ने भनिएको छ त्यो गर्न सकिएको छैन । नेपालमा डिजिटल अर्थतन्त्रका लागि वातावरण नै बनाउन कसैले ध्यान नदिएको देखिन्छ । खास डिजिटल अर्थतन्त्रको सबल पक्ष भनेकै अन्तरआवद्धता र न्यूनतम आय भएका र दुूदराजका सर्वसाधारणलाई पनि इन्टरनेटको पहुँचमा दिलाएर आवश्यक सेवा दिनु हो । अहिले न सरकारले उनीहरुलाई समेट्ने गरी कुनै योजना ल्याउन सकेको छ न त निजी क्षेत्र अर्थात बैंक तथा वित्तीय संस्था या अन्य डिजिटल प्लेटफर्मले नै यसबारे सोचेका छन् । बैंककै कुरा गर्दा पनि तिनीहरु अहिले डिपोजिटमुखी भए । यसो गर्दा सर्वसाधारणले बैंकमा पैसा राख्न सक्दैनन् । यस्तो हुँदा बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणका लागि भन्दा पनि धनीमानीका लागि आवश्यक प्याकेज र स्किम मात्रै ल्याउँछन् । अर्थात कुनै पनि नेपाली पाँच सय रुपैयाँ जम्मा गर्न सिसाको ढोका खोलेर बैंकभित्र छिर्दैन । तर, डिजिटल प्लेटफर्मको माध्यमबाट भने यस्ता सर्वसाधारणलाई पनि पाँच सय रुपैयाँ नै निकाल्न, सापटी लिन र जम्मा गर्न सकिने सुविधा प्रदान गर्न सकिन्छ । विभिन्न बिमा कम्पनीका पोलिसी पनि त्यस्तै छन् । सर्वसाधारणको पहुँचभन्दा बाहिर, अर्थात उनीहरुले धान्न नै नसक्ने पोलिसी बेचेर बिमाको पहुँच बढाउनेतिर हामी लाग्यौँ । अझ भनौँ हाल बैंकको बचत खाता मात्रै जनसंख्याभन्दा बढी साढे पाँच करोडको हाराहारीमा छ । तर, बैंकबाट कर्जा पाउनेको संख्या जम्मा साढे १८ लाखको हाराहारीमा मात्रै छ । अझ साढे १८ लाखले लिएको कर्जामध्ये पनि ८० प्रतिशत केही निश्चित घरानाले मात्रै पाएको भन्ने एक अध्ययनले देखाएको थियो । यसरी सर्वसाधारणले वर्षभरि या महिनाभरि कमाएको पैसा बैंकमा केही हदसम्म त जान्छ तर, त्यसको फाइदा निश्चित व्यक्ति वा कम्पनीले मात्रै लिइरहेका छन् । अर्थात बैंकहरुले दिने कर्जा सुविधाका लागि आवश्यक पर्ने मापदण्ड र कागजात पनि सर्वसाधारणको पहुँचबाहिरको कुरा जस्तै भएको छ । बैंकले एक करोडको ऋण दिँदा र एक लाखको ऋण दिँदा पनि गर्ने प्रक्रिया त उही हो । त्यसैले बैंकहरुले पनि व्यापार मात्रै हेरेपछि सर्वसाधारण बैंकको कर्जाको पहुँचबाट पनि बाहिर पुगेका छन् । यस्ता समस्याको समाधान नै डिजिटल अर्थतन्त्रको सबल पक्ष हो । कुनै एक सर्वसाधारणले आफ्नो बिमा गर्नुपर्याे भने वार्षिक ४० देखि ५० हजार प्रिमियम तिर्नुपर्छ जुन उसले एकैपटक जम्मा गर्न सक्ने अवस्था नै हुँदैन । यस्ता सर्वसाधारणलाई ध्यानमा राखेर छोटो समयको कम पैसाको बिमालेख बेचे पनि त हुने हो नि ! डिजिटल अर्थतन्त्रको विकासको क्षेत्रमा पनि समस्या यही हो । ग्रासरुटमा आवश्यक कुरालाई भन्दा पनि पहुँचवाला वर्गका लागि मात्रै ध्यानमा राखेर डिजिटल अर्थतन्त्रको काम अघि बढाइएको छ । यसले न डिजिटल अर्थतन्त्रको विकासमा सहयोग पुग्छ न समावेशी रूपले सर्वसाधारणले यसमार्फत हुने सेवाको उपभोग गर्न पाउँछन् । त्यसैले डिजिटल प्लेटफर्मले हालसम्म बैंकमा नजोडिएकालाई पनि बैंकमा जोड्न मद्दत मिलेको छ । सरकारी सेवा सुविधामा प्रत्यक्ष भूमिका निर्वाह गर्न सहयोग पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकमा जनसंख्याभन्दा बढी बैंक खाता भएको देखिए पनि नेपालका ३० प्रतिशत परिवारको अझै बैंक खाता छैन भनेर एक अध्ययनले नै देखाएको छ । ती परिवारलाई पनि बैंकमा जोड्न डिजिटल प्लेटफर्मले सहयोग पु¥याउँछ । यसका लागि सरकारले नीतिगत सुधारलाई नै जोड दिनुपर्छ । निजी क्षेत्र र बैंकहरु खुला हुनुपर्छ । नियामकले पनि लचिलो भएर नीति निर्देशिका बनाउनु पर्छ । यसमा निजी क्षेत्रले सरकारलाई बुझाउनु पर्ने ठाउँ पनि छ । सङ्कटमोचन  सरकारले नीति बनाउँदा कुनै कम्पनी वा फर्मले गर्न नपाउने कुरा स्पष्टसँग भनिदिने र त्यसबाहेकका कुरामा छुट दिनेखालको बनाउनु आवश्यक देखिन्छ । तर, नेपालमा नीतिमा उल्लेख गरिएको, पाउने भनेको कुरा मात्रै पाउने त्यसबाहेकको कुरा नपाउने नै हो भन्ने बुझाइ बढी छ । खासगरी डिजिटल अर्थतन्त्र विकासका लागि सरकारको जति भूमिका रहन्छ सोही अनुसारको भूमिका निजी क्षेत्रको पनि छ । तर यसको विस्तारका लागि निजी क्षेत्रप्रति सरकारको धारणा भने तटस्थ जस्तै देखिन्छ । अर्थात् विद्युतीय भुक्तानी र विद्युतीय अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रले जसरी ठूलो मात्रामा बजार विस्तार गर्दैछन् त्यसरी नै सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्छ । हुन त निजी क्षेत्रले गरेको काममा काम गर्न दिनुहुँदैन भनेर रोक्ने काम पनि गरेको छैन । यसर्थ विद्युतीय भुक्तानीको क्षेत्रमा सरकार तटस्थ जस्तै छ । यसैका कारण निजी क्षेत्रले काम गर्नुपर्ने जसरी नै काम गर्न भने पाइरहेकै छ । बरू कतिपय कुरामा नेपाल राष्ट्र बैंकले निजी क्षेत्रलाई बचाउ पनि गरेको छ । ईसेवाकै कुरा गर्दा पनि सन् २००९ मा आएको ईसेवा सन २०१६ सम्म नियामकको हस्तक्षेपविनै चलिरहेको थियो । त्यसबेला ईसेवाविरुद्ध धेरै प्रश्न पनि उठेका थिए । राष्ट्र बैंकले त्यसैबेला बैंकसँग सम्झौता गरेको कारण देखाउँदै ईसेवाको बचाउ गरेको थियो । त्यसपछि पनि राष्ट्र बैंकबाट हुनुपर्ने सहयोग भइरहेकै छ । राष्ट्र बैंक पछिल्लो समय भने केही सक्रिय भएको जस्तो देखिएको छ । यसले सही समयमा सही नीति निर्माण गरिदिने कार्य गरिरहेको छ जसले नेपालको डिजिटल अर्थतन्त्रलाई ठूलो सहयोग पुगेको छ । तर यस्ता नीतिहरु दीर्घकालीन होऊन् भन्ने निजी क्षेत्रको अपेक्षा हो । पछिल्लो समय बजारमा डिजिटल भुक्तानीसँग सम्बन्धित धेरै प्लेटफर्म भित्रिएका छन् । यसरी धेरै कम्पनी भित्रिँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ । बजारमा प्रतिस्पर्धा हुनु त राम्रो कुरा हो । प्रतिस्पर्धाकै नाममा केही कम्पनीले अस्वस्थ काम गरिदिनाले राष्ट्र बैंक पनि अब केही कडा रुपमा उत्रिएको जस्तो देखिएको छ । तर त्यस्तो नहोस् भन्ने हाम्रो अपेक्षा हो । नियामकले नीतिमा जति कडाइ गर्याे त्यति नै देशमा नवप्रवर्तन खुम्चिन्छ । यसले देशमा नयाँ आविष्कारलाई पनि केही हदसम्म रोकिदिन्छ । त्यसैले नियामकले नीति कडा ल्याउनेभन्दा पनि स्वच्छ प्रतिस्पर्धा हुनेगरी नीति बनाउनुपर्छ । कडा नीति आएमा नयाँ आविष्कार गर्न तम्सिएका आविष्कारक पनि निरुत्साहित हुन्छन् । सरकारले नीति बनाउँदा कुनै कम्पनी वा फर्मले गर्न नपाउने कुरा स्पष्टसँग भनिदिने र त्यसबाहेकका कुरामा छुट दिनेखालको बनाउनु आवश्यक देखिन्छ । तर, नेपालमा नीतिमा उल्लेख गरिएको, पाउने भनेको कुरा मात्रै पाउने त्यसबाहेकको कुरा नपाउने नै हो भन्ने बुझाइ बढी छ । यो बुझाइ नहुँदा नवप्रवर्तन बढ्छ र त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्छ र समग्र डिजिटल अर्थतन्त्राई नै राहत हुन्छ ।  बजारमा नयाँ नयाँ आउने कम्पनीको आआफ्नो बजार विस्तार गर्ने ध्येय त हुन्छ नै । यसरी बजार विस्तार गर्दै जाँदा यसको उचित सूचना र जानकारी नै नपुगेको समुदायसम्म बजार पुग्दा त्यसले अर्काे समस्या निम्त्याउँछ कि भन्ने चिन्ता थपिएको छ । विद्युतीय युगमा सर्वसाधारणको जानकारीमा नै नआएको प्रोडक्ट समुदायमा भित्रियो भने त्यसले साइबर सुरक्षाको जोखिम पनि बढाउँछ । यसका लागि भने प्रविधिसँगै जनचेतना, वित्तीय साक्षरता र डिजिटल अर्थतन्त्रसम्बन्धी साक्षरता पनि एकसाथ लैजानु राम्रो हुन्थ्यो । नत्र यसले उल्टै खतरा थप्ने सम्भावना बढ्न सक्छ । सकेसम्म कुनै नयाँ डिजिटल सेवा लिएर यसबारे कम जानकारी भएका समुदायमा पुग्दा त्यसबारे नसिकाइकन पुर्याउनु हुँदैन भन्ने हो । यस्तो विद्युतीय साक्षरताको जिम्मेवारीको बोध सरकार र निजी क्षेत्र दुबैले उत्तिकै गर्नुपर्छ । निजी क्षेत्रलाई आफ्नो बजार विस्तार गर्दै गर्दा भविष्यमा आइपर्ने जोखिम हेर्नै पर्छ । सरकारमा पनि जनताको सुरक्षा र संवेदनालाई हेर्नैपर्ने कर्तव्य हुन्छ । तसर्थ डिजिटल अर्थतन्त्र अघि बढाउँदै गर्दा र यसको पहुँच हरेक क्षेत्रसम्म पुर्याउँदै गर्दा यस सम्बन्धी आवश्यक साक्षरता फैलाउनु पनि उत्तिकै आवश्यक छ जुन यसका सरोकारवाला सबैको दायित्व हो । हाल डिजिटल साक्षरताका लागि राष्ट्र बैंकले कार्यक्रम नै निर्माण गरेको छ । निजी क्षेत्रलाई पनि वित्तीय साक्षरता र विद्युतीय साक्षरता दुबैमा काम गर्नुपर्ने गरी दायित्व थपिदिएको छ । विद्युतीय अर्थतन्त्रको साक्षरता फैलाउनकै लागि सरकार र निजी क्षेत्र उत्तिकै मात्रामा सक्रिय त भएका छन्, तर केही समुदाय र समाजसम्म यस्तो साक्षरता पुर्याउन सकिएको अवस्था छैन । (शर्मा एफवान सफ्टका निर्देशक हुन् । सेजन स्मारिका ‘अर्थनीति २०८०’बाट साभार)