सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?
काठमाडौं । असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको कतिपय विभागमा पढ्ने विद्यार्थीभन्दा पढाउने प्राध्यापकहरुको सङ्ख्या बढी छ । बढो मुस्किलले घर्सँदै यात्रा गरिरहेका त्रिविको केन्द्रीय विभागमध्ये इतिहास विभाग पनि एक हो । कुनै समय समय इतिहास एक लोकप्रिय विषय थियो । त्रिविले प्रमाणपत्र तह हटाएसँगै इतिहास पढ्ने विद्यार्थीहरुको सङ्ख्या पनि स्वात्तै घट्यो । दश जोड दुई (प्लस टू) पढाउने कलेजहरुको प्राथमिकतामा इतिहास विषय परेन । कलेजहरुकै उपेक्षाको शिकार भएपछि इतिहास विषय अध्ययनतिर विद्यार्थीहरुको रुची घट्नु स्वभाविक हो । स्नातक तहमा पुग्दा प्लस टूमा नपढेको विषयतिर विद्यार्थीको के ध्यान जान्थ्यो ? स्नातक तहमा विद्यार्थीको अभाव झेलेको विश्वविद्यालयले स्नातकोत्तर तहमा मनग्य विद्यार्थी पाउने अवस्था नै रहेन । यसरी इतिहास अध्ययन गर्ने विद्यार्थीको चरम अभावका कारण इतिहास विषयका प्राध्यापकहरु फुर्सदिला बनेको देखिन्छ । विद्यार्थी अभावको कारण अभिभावक र विद्यार्थीको प्राथमिकता रोजगारीमुखी विषयतिर बढ्दै गएको छ । अझ प्लस टू सक्नासाथ विदेशमा कमाउँदै पढ्ने सपना देख्ने प्रवृत्ति केही वर्षयतादेखि ह्वात्तै बढेको छ । नेपालमै रहेर इतिहासजस्तो ज्ञानमुखी विषय अध्ययन गरेर देशमा प्राज्ञिक योगदान दिन सकिन्छ भन्ने सोचको अपेक्षा विद्यार्थीहरुबाट गर्नु मृगतृष्णाजस्तो हुन पुगेको छ । इतिहास पढेका अग्रजपुस्ताले इतिहास विषयलाई जुन ढङ्गले आकर्षक विषय बनाउन पर्ने हो, अपेक्षाकृत त्यसो सकेनन् । राज्यले इतिहास अनुसन्धानमा लगानी गर्न नसक्दा इतिहास विषयमा उच्च शिक्षा लिएका पुस्ताले पनि काम पाउन सकेनन् । इतिहास पढ्नेहरुको यस्तो अवस्था देख्ने नयाँ पुस्तालाई इतिहास विषयले कसरी आकर्षण गर्न सक्थ्यो ? देशको राजनीतिक परिवेशले पनि अनेकौँ मोड लियो । राणाकालको कुरा छाडौँ, पञ्चायतकालभरि इतिहास विषयमा राजा महाराजाको महिमा मण्डनले प्राथमिकता पायो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको त्यो समयमा राजा महाराजाका गल्ती कमी कमजोरी औल्याउने र जनताको वास्तविक इतिहासलाई व्यवस्थित गर्ने कार्य निषेधित जस्तै थियो । महत्त्वपूर्ण ऐतिहासिक कागजपत्रहरु राजदरबारको नियन्त्रणमा थिए । त्यस्ता कागजपत्र अध्ययन गर्न राजदरबारको विशेष कृपाको आवश्यकता पर्थ्यो । प्रजातन्त्रकालमा पनि इतिहास विषयमा राजा महाराजाको महिमा मण्डनले नै प्राथमिकता पाइरहदा खासगरी सरकारी कलेजहरुमा इतिहास विषय अध्ययन गर्ने विद्यार्थीको खासै अभाव थिएन । तर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुग्दासम्म विद्यार्थीमाझ इतिहास विषय पूरै अलोकप्रिय अवस्थामा पुग्यो । इतिहासः भविष्यको आधार नेपाली युवा पुस्तामा विदेशी प्रभावको जरो दिनदिनै गहिराइमा पुगिरहेछ । खानपान, फेसन, गीत सङ्गीत आदिमा मात्र होइनस चिन्तनमा समेत विदेशी प्रभाव पर्न थालेपछि युवा पुस्तामा देशभक्ति भाव क्रमशः कमजोर हुन थालेको अनुभव हामीले गरिरहेका छौं । युवा पुस्ताले पूर्वजको पौरखलाई एकादेशको कथाजस्तो सोच्न थालिसकेका छन् । भविष्यमा देश हाँक्ने पुस्तामा देशभक्ति भाव कमजोर हुँदै जानु राम्रो सङ्केत होइन । इतिहास विषयको अध्ययनबाट आफ्ना पूर्वजको गौरवबारे ज्ञानलाभ गर्न सकिन्छ । विगतको अवस्थाको अनुशीलनले वर्तमान अवस्थामा त्यसले पारेको प्रभावको ज्ञानलाभ गरी भविष्यमा अपनाउनु पर्ने सतर्कताबारे पनि सचेत गराउँछ । देश कसरी निर्माण भयो, विगतमा देश कस्तो थियो रु यस्ता विषयमा छलफल गर्न पनि इतिहास विषयले सहज बनाउँछ । समग्रमा इतिहास विषयले देशभक्ति भाव बढाउँछ । इतिहास विषय केवल राजा महाराजाको महिमामण्डन होइन । विगतको कमजोरीहरु केलाउने र निफन्ने महत्त्वपूर्ण साधन पनि हो, इतिहास विषय । उदाहरणका लागि, आफ्नो स्वास्थ्य समस्या लिएर कुनै चिकित्सक कहाँ पुगेको एक विरामीको विषयमा कुरा गरौं । उनलाई चिकित्सकले सम्बन्धित स्वास्थ्य समस्या पहिले पनि भएको थियो कि थिएन भनेर सोध्छ । यस्तो समस्या उनका बाबुआमा वा परिवारका कोही कसैलाई पनि भएको थियो भनेर पनि सोध्छ । पहिले सेवन गर्ने गरेको औषधीका बारेमा पनि सोध्छ । अर्थात ती बिरामीको इतिहास सोध्छ । अझ विगतमा स्वास्थ्य परीक्षण गराएको रिपोर्टहरु छन् भने त चिकित्सकलाई सम्बन्धित बिरामीको रोग निदान गरी उपचारको सिफारिस गर्न सजिलो हुन्छ । भन्नुको अर्थ, देशमा विगतमा भएका सबै समस्याको चित्रण इतिहास विषयमा आउँछ । ती समस्याका कारण वर्तमानले झेल्न परेको परिस्थितिबारे ज्ञान दिन्छ इतिहास विषयले । त्यहीँ ज्ञानको आधारमा हामीले देशको समस्याको अन्त्य गरेर उज्यालो भविष्य निर्माण गर्न सक्छौं । हामी नेपालमा बारम्बार आउने जाने भूकम्पलाई पनि उदाहरणका रुपमा लिन सक्छौँ । भूकम्प किन आउँछ ? यस विषयमा भूगर्भशास्त्रीहरुले पत्ता लगाएकै छन् । तर भूकम्प कहिले आउँछ भन्ने विषयमा भूगर्भशास्त्रीहरुले आजसम्म पत्ता लगाउन सकेका छैनन् । यस विषयमा थाहा पाउने एउटै माध्यम हुन पुगेको छ इतिहास । हरेक ५० वर्षको अन्तरालमा नेपालमा ठूलो भूकम्प आउँछ भन्ने ऐतिहासिक अभिलेखअनुसार नै यसबारे सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिदै आएका छन् । हालै जाजरकोट र रुकुममा आएको विनाशकारी भूकम्पबारे विज्ञहरुले त्यहीँ इतिहासको आधारमा सचेत गराउँदै आएका थिए । पश्चिम नेपालका नागरिकहरुले विगत पाँच सय वर्षयतादेखि यस्तो विनाशकारी भूकम्पको अनुभव गर्न पाइरहेका थिएनन् । दार्शनिक भोल्तेयर इतिहास विषयमा भन्छन्, ‘विगतका तथ्यहरुलाई सङ्कलन गरेर रोचक पाराले प्रस्तुत गर्नु मात्रै इतिहास होइन, इतिहास त भविष्य हेर्ने आँखा हो ।’ इतिहास र पर्यटन सुन्दर हिमलस्कर मुस्कुराउने देश हो नेपाल । विविधतायुक्त सुन्दर देश भएकै कारण नेपाललाई पूर्वको स्वीट्जरल्याण्ड पनि भनिन्छ । पर्यटकहरु भौगोलिक र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न त आउँछन् नै, स्थानीय जनजीवन, संस्कृति र पुरातत्वको ज्ञानको भोक पनि उनीहरुमा हुने गर्छ । पर्यटकहरुलाई स्थानीय जनजीवन, संस्कृति र पुरातत्वको ऐतिहासिक ज्ञानले परिपूर्ण बनाउनका लागि पनि इतिहास अध्ययन गर्नैपर्छ । इतिहास जति प्राचीन हुन्छ, पर्यटकहरुलाई त्यसले थप आकर्षित बनाउँछ । नेपालमा अनेकौँ ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरु छन् । यी सम्पदाहरु नेपाली सभ्यता विकासको पारिचयक हुन् । यी सम्पदाहरुको ऐतिहासिक विकासक्रमबारे प्रकाश पारेर पर्यटकहरुलाई सन्तुष्ट पार्नका लागि सम्बन्धित विषयको इतिहासबारे ज्ञान हुनैपर्छ । यस्ता सम्पदाहरुको इतिहास अध्ययन गरी यसको प्रकाशन र प्रचारले पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । नेपालको इतिहास अध्ययन गर्न विगतमा प्रशस्तै विदेशी विद्वानहरु नेपाल आएर नेपालको इतिहास लेख्न भ्याए । नेपालमा लेख्न बाँकी इतिहासप्रति आकर्षण बढाएर प्राज्ञिक पर्यटन प्रवर्द्धनमा पनि इतिहास विषयले महत्वपूर्ण भूमिका निभाउन सक्छ । अन्त्यमा अब इतिहास विषय राजा महाराजाको महिमा मण्डन मात्रै होइन भन्ने धारणालाई ब्यापक बनाउन अत्यावश्यक भएको छ । हिजोको जुन राजनीतिक व्यवस्था थियो र त्यसले इतिहास विषयलाई कतिसम्म समेट्ने भन्ने सिमा निर्धारण गरिदिएको थियो । अबको परिवेश त्यस्तो छैन । इति-ह-आस शब्दको सश्लेषणबाट इतिहास शब्द बनेको छ । इति भनेको ‘यस्तो’ ह भनेको ‘पक्का’ र आस भनेको ‘थियो’ भन्ने अर्थ लाग्छ । हिजो राजा महाराजाको जुन प्रकारले महिमा मण्डन गर्दै इतिहास शब्दकै मर्मलाई बिर्सेर लेख्नु पर्ने बाध्यता थियो, अब त्यो परिस्थिति पनि छैन । जे सत्य हो, जतिसुकै तीतो भए पनि त्यो लेख्ने हो । आशा गर्न सकिन्छ । इतिहास विषयले पुनर्जीवन पाउने पक्का छ । (लेखक इतिहास अध्ययन र लेखनमा सक्रिय छन्)
रक्तदान किन आवश्यक र कतिपटक गर्न सकिन्छ ?
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । पछिल्लो समय बाढी, पहिरा, भूकम्पजस्ता प्राकृतिक कारणदेखि सडक दुर्घटना एवं स्वदेशमै अनेक जटिलखालका रोगहरूको शल्यक्रियाको सुविधा पनि उपलब्ध भएसँगै रगतको माग आकासिएको छ । ब्लड बैंकहरूले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरूले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको अभाव भएको छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह तथा एचआइभी/एड्स नलागेको व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन । रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विकसित देशमा एक हजारमा ३३ दशमलव चार जना, विकाशोन्मुख देशमा ११ दशमलव सात जना र अल्पविकसित देशमा चार दशमलव छ जनाले मात्र रक्तदान गर्ने गर्दछन् । विश्वको जनसङ्ख्याको दुई प्रतिशतले मात्र रक्तदान गर्दा पनि बिरामीको उपचारको लागि रगत अभाव हुँदैन भन्ने तथ्याङ्क छ । रक्तदान किन आवश्यक छ ? वैज्ञानिकहरूले चिकित्सा क्षेत्रमा अकल्पनीय आविस्कारहरू गरी क्यान्सर, मिर्गौला प्रत्यारोपण, ठूला एवं जटिल रोगहरूको उपचार पनि सम्भव गराएका छन् तर त्यस्ता रोगहरू उपचार गर्न मानव जीवनका लागि नभई नहुने रगतको विकल्प भने दिनसकेका छैन । प्राकृतिक प्रकोपका कारण बर्सेनि लाखौँले जीवन गुमाउने गर्दछन् भने करोडौँको सङ्ख्यामा घाइते हुन्छन् । त्यस्तै मानव निर्मित सडक दुर्घटना, युद्धजस्ता कारणले समेत बर्सेनि ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको छ । यसका अलावा सरुवा रोगलगायत विभिन्न प्रकोपका कारण लाखौँको ज्यान जान्छ । साथै गरिब परिवारका गर्भवती, सुत्केरी तथा नवजात शिशुको रगतमा हेमोग्लोबिनको मात्रा कम भएकालाई उपचार गर्न रगत आवश्यक पर्दछ । कुनै पनि बिरामीको उपचारका क्रममा रगत आवश्यक हुन गएमा अर्को स्वस्थ मानिसलाई रक्तदान गराउनुबाहेक अर्को विकल्प छैन । आफ्नो शरीरको अमूल्य रगतबाट अरुको जीवन बचाउन सकिने भएकाले नै रक्तदानलाई जीवनदान भन्ने गरिएको हो । हामीले शरीरमा भएको रगत दान नगरे पनि तीन महिनामा त्यो रगत त्यत्तिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने भन्ने भावनाको विकास हुन जरुरी छ । त्यसैले रक्तदानभन्दा अर्को ठूलो पुण्य काम केही हुँदैन । रक्तदान कतिपटक गर्न सकिन्छ ? मानिसको शरीरमा रगत बोनम्यारोमा बन्छ । शरीरमा हरेक १२० दिनमा नयाँ रगत बन्दै जाने र पुरानो रगत नष्ट हुने गर्दछ । पुरुषमा ७६ र महिलामा ६६ मिलीलिटर प्रतिकिलोग्राम रगत हुन्छ । मानिसलाई दैनिक काम गर्नका लागि ५० मिलीलिटर रगत प्रतिकिलोग्राम आवश्यक पर्दछ । एकजना स्वस्थ एवं ४५ किलोग्राम तौल भएको व्यक्तिले आठ मिलीलिटर प्रतिकिलोग्राम अर्थात् तीन सय ६० मिलीलिटर रगत सजिलैसँग दान गर्न सक्छ । यो रगत दिँदा हाम्रो शरीरमा कुनै कमजोरी हुँदैन । दान गरेको रगतको परिणाम कुनै पनि तीन सय ६० मिलीलिटर पेय पदार्थबाट र दैनिक खानपानबाट केही दिनमा आफैँ बनेर पूर्ति हुने भएकाले रक्तदान गर्न सकिन्छ । रगत निकाल्दा यसले कमजोरी बनाउँदैन तर आफ्नो शरीरमा सञ्चालन भएको रगत एकाएक निकाल्दा रगतका कोशिका र नसाहरूमा केही गडबड भने हुन्छ । यसले कसैकसैलाई केही अप्ठ्यारो हुन्छ तर तरल पदार्थको यथेष्ट खाएका एक–दुई दिनमा नै यथारूपमा आउँछ । एउटा स्वस्थ व्यक्तिको शरीरमा चारदेखि पाँच लिटर रगत हुन्छ । त्यसमध्येबाट ३५० मिलीलिटर मात्र रगत लिइरहेका हुन्छौँ । दुर्घटना, प्रसूति, शल्यक्रिया तथा अन्य रोगका कारण शरीरमा रगतको कमी भएका बिरामीलाई रगत दान गरी उनीहरूलाई बचाउन सकिन्छ । विश्वभरि रक्तदान गर्नेमध्ये एक प्रतिशतभन्दा कमले मात्र सयौँपटक रक्तदान गर्न सकेका छन् । नेपालको परिपेक्ष्यमा १८ वर्ष पूरा भएका, ६५ वर्ष ननाघेका र ४५ किलो वजनका भएका व्यक्तिले हरेक ९० दिनमा रक्तदान गर्न सक्छन् । अमेरिका र क्यानडामा हरेक ५६ दिनमा रक्तदान गर्न सकिन्छ भने १६ वर्ष पुगेका र ७५ वर्ष ननाघेका व्यक्तिहरूले वर्षमा छ पटकसम्म रक्तदान गर्न सक्छन् । रक्तदानप्रति युवाको आकर्षण कसरी बढाउने ? नेपालमा पछिल्लो समय रक्तदानबारे सचेतना त बढेको छ, तर अभावलाई पूर्ति गर्न सकेको छैन । दाताहरू पनि रक्तदान गर्न सहजरुपमा उपस्थिति हुँदैनन् । रगतको स्रोत स्वस्थ्य युवाहरू नै हुन् । रक्तदान जीवनदान भन्ने कुरा सबैलाई थाहा छ । रगत दिएर अरुलाई बचाउन सकिन्छ भन्ने पनि थाहा छ, तर पनि युवाहरू रक्तदानमा सहभागी हुँदैनन । आमरूपमा रक्तदान गर्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ । अहिले काठमाडौँमा प्रतिदिन झण्डै पाँच सय युनिट रगत चाहिन्छ । तर स्वयंसेवीहरूबाट करिब एक सय ५० युनिटमात्र रगत दान गरेको पाइन्छ । यसले गर्दा दैनिक झण्डै तीन सय बिरामीले रगत नपाउने स्थिति छ । नेपालको जनसङ्ख्या करिब तीन करोडमध्ये एक प्रतिशतले पनि रक्तदान गरेका छैनन् । देशभरिमा झण्डै सवा तीन लाख युनिट रगत चाहिन्छ । गत वर्ष लगभग दुई लाखले मात्र रक्तदान गरेका थिए । प्रविणता प्रमाणपत्र तहमा अङ्ग्रेजी पाठ्यपुस्तकको ‘द ब्लड डोनर’ पाठबाट प्रेरित भई रक्तदान कार्यमा आफूलाई समर्पण गरेको मैले विगत ४० वर्षदेखि निरन्तर रक्तदानको माध्यमबाट बिरामीलाई नयाँ जीवन दिँदै आएको छु । युवाहरूमा रक्तदानको महत्वबारे अवगत गराउन विद्यालय, विश्वविद्यालयका पाठ्यक्रमहरूम रक्तदानसम्बन्धी पाठ्यसामग्री समावेश गर्नु जरुरी छ । पाठ्यपुस्तकमा रक्तदानबारे एउटा सानो पाठ राखिदियो भने ती विद्यार्थीलाई रक्तदान गर्न उत्पे्ररणा मिल्छ । रक्तदानको महत्वबारे समाजमा अझै अनेक अविश्वास, भ्रम र चेतनाको अभाव रहेको पाइन्छ । त्रिवि मातहतको सरस्वाती क्याम्पसको समाजशास्त्र विभागले सन् २०२२ मा गरेको रक्तदानबारे सामाजिक बुझाइसम्बन्धी अध्ययनमा पनि अझै यो अवस्था रहेको पाइएको छ । अध्ययनमा नेपालमा रक्तदानको दर न्यून रहेको, अत्यावश्यक अवस्थामा बाहेक रक्तदान गर्न तयार नरहेको, रक्तदान गर्दाका असर र फाइदाबारे जानकारी नभएको, सामाजिक चेतनाको अभाव, रक्तदानका लागि उत्प्रेरणा बढाउन नसकिएकोलगायतका विषय औँल्याएको छ । अर्को कुरा रक्तदानसम्बन्धी काम गर्ने नेपाल रेडक्रसको रक्तसञ्चार सेवा, नेपाल सरकारको केन्द्रीय रक्त ब्यूरोले रक्तदान कार्यक्रम बढाउनका लागि स्थानीय सङ्घसंस्थालाई प्रोत्साहन गर्नुपर्छ । रक्तदानको अभियान ‘म एक्लैले यस संसारलाई दयारुपी संसारमा बदल्न सक्दिन तर संसाररुपी पानीमा एउटा पत्थर फ्याँकेर समाज सेवाको हलचल मच्चाइ मानव सेवाका लागि मनुष्यमा दया पैदा गर्न सक्छु’ भन्ने मदर टेरेसाको भावनाबाट प्रेरित भएर नै मैले पनि रक्तदानको अभियानलाई विश्वव्यापी बनाउन खोजेको हुँ । मान्छेहरूलाई बचाउन सकुँ र समुदायलाई पनि उत्प्रेरणा दिने नै मेरो अभियान रहेको छ । रगत दान गर्दा कमजोरी भइन्छ भन्नेहरूका लागि रक्तदान गरेर कमजोरी हुँदैन भनेर बुझाउनु मेरो अर्को उद्देश्य हो । बिरामीलाई रगत उपलब्ध गराउन, युवाहरूलाई रक्तदान गरेर कमजोर भइँदैन भनेर बुझाउनका लागि १९९० डिसेम्बर ५ मा रक्तदान गरेको एक घण्टापछि विभिन्न जिल्लाहरूमा साइकलयात्रा गरेको थिएँ । सन् २०२२ नोभेम्बरसम्म विश्वका छवटै महादेशका १४ वटा देशमा पुगी त्यहाँ बसोबास गरेका नेपाली समुदायमा रक्तदान गर्न उत्पे्ररणा गरेको छु र आफूले पनि दुई सय पाँचपटक रक्तदान गरेको छु । यस अभियानबाट छ सय १५ जना बिरामीलाई बचाउन सक्नु आफैँमा असाधारण काम हो भन्ने लाग्दछ । प्राकृतिक प्रकोप, दुर्घटना र युद्धमा घाइते भएका मानिसलाई बचाउन रगतको ठूलो भूमिका हुन्छ । रगत खेर जाने चिज होइन, यो सबैलाई चाहिने कुरा हो, असह्य भएर पनि अरुलाई रगत दिनु र उसलाई बचाउनु चानचुने कुरा होइन । मेरो रक्तदानको यात्रा एउटा देश वा भूगोलमा सीमित छैन । मैले आफ्नै साधन, स्रोत, समयमा यो अभियानलाई विश्वव्यापी बनाउने जमर्को गरेको हुँ । यसले विश्वमा नेपालको परिचय गराउन मद्दतमात्र पुगेको छैन, मानवीय भावनाको विस्तार पनि भएको छ । अझै ५० वर्षसम्म पनि रगतको विकल्प आउन कठिन रहेकाले देश र विदेशमा पुगेर रक्तदानको आवश्यकता, महत्व र उपयोगिताका बारेमा जनचेतना बढाउने मेरो अभियान कायमै रहनेछ । रासस (प्रस्तुत विचार लामो समयदेखि अमेरिकामा बस्दै आएका र हालै नेपाल भ्रमणमा आएका मैनालीसँग गरेको कुराकानीमा आधारित)
‘१९ जिल्लालाई नमूना टेलिकमको घोषणा गरेका छौं’
मुलुकमा दूरसञ्चार सेवाको शुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो इतिहास बोकेको संस्थाको रुपमा परिचित र वि.सं. २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो कम्पनी स्थापनाको २०औं वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । विगतका विभिन्न समयमा आइपरेका बाधा अड्चन र कठिन परिस्थितिको समयमा पनि कम्पनीका सेवाहरुलाई अभिछिन्न रुपना गुगुणस्तर कायम राख्दै संचालन गर्नको लागि कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरुबाट प्रदर्शित जिम्मेवारी बोध एवम् ग्राहकबाट प्राप्त माया र सद्भाव प्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु । विगत र वर्तमान २० वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब ४ लाख २२ हजार रहेकोमा आज कम्पनीको ग्राहक आधार २ करोड १८ लाख भन्दा बढी छ । मुलुकका अधिकांश भूभागमा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइवरमा आधारित फिफ्थ सेवा सञ्चालनमा ल्याएपछि ग्राहक ३ लाख ३६ हजार पुगिसकेको छ र निकट भविष्यमा समेत ग्राहक आधारमा निरन्तर वृद्धि भइरहने अपेक्षा गरिएको छ । सेवाको गुणस्तर सुधार गर्न माननीय मन्त्री रेखा शर्माज्यूको प्रत्यक्ष निर्देशनमा हाइवे नेटवर्क सुधारको कार्य अगाडि बढाइएको छ । त्यसैगरी जिल्लावाइज नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमूना टेलिकम जिल्ला घोषणा गरी तीव्रताका साथ कार्य अगाडि बढाइएको छ । कम्पनीले आधारभूत टेलिफोन, ताररहित जीएसएम मोबाइल, अति दुर्गम विकट स्थानहरुमा भीएसएटी प्रविधिमा आधारित सेवा, इन्टरनेट/डाटा सेवा तथा अन्य भ्यालु एडेड सर्भिसेस् (भीएएस) उपलब्ध गराउँदै आएको छ । त्यसैगरी हाल कम्पनीले बबरमहल, सुन्धारा, पोखरा तथा वीरगन्जमा फाइभजी उपकरणहरु जडान सम्पन्न गरी परीक्षण कार्य समेत सम्पन्न गरेको छ । बाँकी चार प्रदेशमा समेत उपकरण जडान गर्नका उपकरण आयातको अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरिसकेको छ । आगामी दिनमा फोरजी सेवा विस्तार र फाइभजी पनि क्रमशः परीक्षण र विस्तार गर्ने कम्पनीको योजना छ । कम्पनीको प्रगति आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कुल आय रु ४४ अर्ब ४२ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा ७ अर्ब ९२ करोड भएको छ । चालु आ.व. को पौष मसान्त सम्म कम्पनीले करिब२० अर्ब ५३ करोड रूपैयाँ राजश्व प्राप्त गरेको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुरÞ्याएको योगदान हेर्ने हो भने आ.व. २०७९/८० मा कर तथा गैरकर गरी कम्पनीले २८ अर्ब ४६ करोड रकम योगदान गरेको छ भने यस आ.व. मा उक्त योगदान झन् बढ्ने अपेक्षा गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतः रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट जिल्लामा गत कात्तिक १७ गते गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरुलाई टेन्ट, ब्लांकेट तथा म्याट्रेस उपलब्ध गराईनुका साथै त्यस क्षेत्रमा नेपाल टेलिकमको सिमकार्डमा ५ दिनसम्म निःशुल्क भ्वाईस सेवा उपलब्ध गराईएको थियो । हरियाली प्रवर्द्धन अन्तर्गत माइतीघर तीनकुने सडकखण्डमा हरियाली संरक्षण तथा सौन्दर्यता अभिवृद्धि कार्य गरिँदै आएको छ । सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याबको स्थापना गरिनेछ । सरकारी तथा सामुदायिक विद्यालयहरुमा फिफ्थ डाटा तथा नमस्ते वाईफाई उपलब्ध गराइनेछ । वीर अस्पतालमा बिरामी तथा कुरुवाहरुको लागि बेड कुम चेयर उपलब्ध गराइनेछ । कम्पनीको २० औं वार्षिकोत्सवको अवसरमाः कम्पनीका कर्मचारी ग्राहकको घरदैलामै पुगी टेलिकमका सेवा प्रदान गर्ने गरी माघ २१ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट नेपाल टेलिकम अन व्हिल कार्यक्रम शुभारम्भ भई देशभर विस्तार हुने क्रममा रहेको छ । सेवा शुरु भए पश्चात सेवा लिई हालसम्म निरन्तर सेवा प्रयोग गरिरहनुभएका ३०० पोष्टपेड र ३०० प्रिपेड ग्राहकलाई लोयालिटी प्याकेज उपलब्ध गराईएको छ । हाल सञ्चालनमा रहेको च्याटबोटलाई स्तरोन्नति गरी एआई प्रविधिको एलएलएम (लार्ज ल्यांग्वेज मोडल) मा आधारित च्याटबोट सञ्चालनमा ल्याउने तयारी कार्य अन्तिम चरणमा रहेको छ । गत वर्षको यानिभर्सरी अफर अन्तर्गतको फिफ्थ कम्बो प्याकेज (२० एमबीपीएस प्लस एक टेलिफोन प्लस एक एनटीटीभी प्याकेज) खरिद गर्नुभएका ग्राहकले साविककोभन्दा करिब १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस क्षमताको फिफ्थ प्याकेज रिन्यु गर्न सक्नुहुनेछ । नयाँ ग्राहक एवं अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा स्पीड अभिवृद्धि गरी २५० प्रतिशतसम्म पुर्याइएको कम्बो प्याकेज खरिद गर्न सक्नुहुनेछ । नयाँ फिफ्थ सेवा खरिद गर्दा एक थान प्रिपेड सीम कार्ड निःशुल्क प्रदान गरिनेछ । नेपाल टेलिकमको एपीपी पहिलो पटक डाउनलोड गर्दा वान जीबी डाटा प्राप्त गर्न सकिनेछ । आगामी योजनाः हाल दूरसञ्चार बजारमा विभिन्न चुनौतीहरु छन् । यद्यपि हरेक चुनौतीलाई अवसरमा परिणत गर्दै गएको खण्डमा मात्र कम्पनीको प्रगतिमा दीर्घकालीन रुपमा स्थायित्व कायम गर्न सकिन्छ । आगामी दिनमा यसैअनुसार कार्य अगाडि बढाइने छ । दूरगामी प्रभाव पार्ने रणनीतिक आयोजनाहरु जस्तैः मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर, डाटा सेन्टर, अत्याधुनिक तालिम तथा अनुसन्धान केन्द्र, फोरजी विस्तार, फाइभजी परीक्षण, डिजिटल मार्केटिङ, नयाँ भ्यालु एडेड सर्भिस, नमूना टेलिकम सेवा आदिलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा लगिने छ । सबै राजमार्गहरुमा हाइवे कभरेजलाई थप परिष्कृत तथा गुणस्तरयुक्त बनाइने छ । एफटीटीएच विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ । आई एनओसीलाईलाई अझ बढी परिष्कृत बनाइने छ । कम्पनीको मोबाइल सेवा अन्तर्गत सञ्चालनमा रहेको म्यानेजड सर्भिस कार्यलाई व्यवस्थित गरिनेछ । मोबाइल सेवाको कार्पेट कभरेज गर्नका लागि फोरजी एलटीई लगायतका नयाँ आरएएन विस्तार परियोजना कार्यान्वयनमा जोड दिइने छ । अन्त्यमा, वर्तमान चुनौतीपूर्ण अवस्थामा संस्था प्रमुखको जिम्मवारी बहन गर्नु निकै कठिन कार्य भए तापनि सम्पूर्ण नेपाल टेलिकम परिवार तथा सरोकारवालाहरुको सहयोगले हरेक चुनौतीलाई सामना गर्दै संस्थालाई अगाडि बढाउने मेरो हरसम्भव प्रयत्न रहने छ । कम्पनीको प्रगतिमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्नु हुने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि साथ र सद्भाव प्राप्त भइरहने विश्वासका साथ कम्पनीको प्रगतिका लागि सकारात्मक सुझाव तथा मार्गदर्शनको अपेक्षा गर्दछु । ( नेपाल टेलिकमको प्रबन्ध निर्देशक पहाडीले कम्पनीको २०औं वार्षिकोत्सव २०८० को अवसरमा राखेको मन्तब्यको सम्पादित अंश)