‘छोटे-बडे भाइ’ प्रसंग : दिल्लीमा देखिएको दुर्लभ दृश्य

टिप्पणी । बेला बखत विश्व राजनीतिमा छोटे र बडे भाइको प्रसंगले बजार तताउँछ, तरंग ल्याउँछ, तहल्का मच्चाउँछ । विशेषगरी भौगलिक बनावट र ठूलो अर्थतन्त्र भएका देशले साना राष्ट्रलाई हेर्ने संकुचित दृष्टिकोणबाट उद्देलित हुँदै उनीहरू सानालाई ‘छोटे भाइ’को उपमा दिन्छन् । यही फेहरिस्तको पुनरावृत्ति भारतको राजधानी नयाँ दिल्लीमा पनि भयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कुटनीतिक कमजोरी र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेको अपरिपक्वताले अन्तर्राष्ट्रिय कुटनीतिमा गम्भीर सवाल उठाएको छ । गत साता अन्तर्राष्ट्रिय सहकारी महासंघको आयोजनामा भारतको नयाँ दिल्लीमा उद्घाटन भएको अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ मा प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री तोग्बेले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने नाममा अन्तर्राष्ट्रिय जगतमा आलोचना हुने टिप्पणीको अंकमाल गरे । छिमेकी देशको प्रधानमन्त्रीको रूपमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा अतिथि बनेर पुगेका भुटानका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीको तारिफसँगै नाक चुच्चो बनाएर फर्किए । त्यसको बदला प्रधानमन्त्री मोदीले पनि उनको वक्तव्यमा ‘ होस्टेमा हैसे’ लगाउँदै कुटनीतिक कमजोरी प्रदर्शन गरे । सम्मेलनको उद्घाटन कार्यक्रममा अतिथिको रूपमा भारत पुगेका भुटानका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीलाई कार्यक्रमको दौरानमा पटक–पटक ‘बडे भाइ’ ले सम्बोधन गरे । उनले आफू भुटानको प्रधानमन्त्री भएको भुल्दै, भारत भ्रमण आफ्नो ठूलो उपलब्धि भएको भन्दै भ्रमणको अवसर दिने सहकारीमन्त्री अमित शाहलाई दुई हात जोडेरै सम्बोधन गरे । अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा १० मिनेट आफ्नो मन्तव्य राखेका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीलाई सात पटक बडे भाइ भनेर सम्बोधन गरे । उनको सो शब्दमा हलमा उपस्थित साढे चार हजार सहभागी गज्जबले हाँसे । नरेन्द्र मोदी मुस्कुराए । ताली बजाए । तर, भुटानबाट सम्मेलनमा सहभागी भएकाहरू भने आफ्ना प्रधानमन्त्रीको लज्जास्पद अभिव्यक्तिले निराश बने । उनीहरूले न ताली बजाए न त हाँसोमा मुस्कान फिजाए । प्रमुख वक्ताको रूपमा सहभागी प्रधानमन्त्री मोदीले पनि तोग्बेको सम्बोधनमा साथ दिँदै मुस्कानका साथ मन्तव्यको सुरुमै उनलाई ‘मेरा छोटे भाइ’ भनेर भाषणको सुरुवात गरे । दुई देशका प्रधानमन्त्रीबीचको ‘छोटे–बडे भाइ’को सम्बन्ध अन्तर्राष्ट्रिय जगतमा भने लज्जितको विषय बनेको छ । दुई राष्ट्रबीचको सम्बन्ध समानताको आधारमा हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय कूटनीतिक मान्यता छ । कुनै पनि देशका प्रधानमन्त्री सानो र ठूलो भन्ने हुँदैन । अन्तर्राष्ट्रिय रूपमा सबै देशका प्रधानमन्त्रीको हैसियत समान हुन्छ । दुई देशको सम्बन्धलाई सम्मान, स्वायत्तता र पारस्परिक हितको दृष्टिले हेर्नुपर्छ । तर, प्रधानमन्त्री मोदी र तोग्बेले भने कुटनीतिक मर्यादालाई भुले । प्रधानमन्त्रीस्तरबाट आउने यस्ता अभिव्यक्तिले कूटनीतिक असमानता झल्काउँछ । यस्तो टिप्पणीले कूटनीतिक वार्ता वा सहयोगमा पनि अवरोध सिर्जना गर्न सक्छ । आर्थिक, भौगलिक वा पूर्वाधार विकासको हिसाबले कुनै देशको हैसियत ठूलो र कुनैको सानो हुनु स्वाभाविक हो । तर, अन्तर्राष्टिय मञ्चमा प्रधानमन्त्रीको हैसियतले धारणा राख्दा हरेक शब्दमा ध्यान दिनुपर्छ । एक अर्कालाई सम्मान र बराबरीको हैसियतको सन्देश सम्प्रेषण गर्न सक्नुपर्छ । तर, प्रधानमन्त्री मोदी र तोग्बेले ‘छोटे-बढे’को उपमा दिँदै कुटनीतिको खिल्ली उडाए । यसले भुटानका जनतामा वितृष्णा पैदा गर्छ भने आत्मसम्मानमा आँच पुर्‍याउँछ । हरेक देशका नागरिकको पनि समान हैसियत हुन्छ चाहे त्यो विकसित देश होस् वा विकासोन्मुख । बेला बखत भारतले नेपाललाई पनि छोटे भाइले सम्बोधन गर्ने प्रयत्न्न गर्छ । तर, नेपालले भने त्यसलाई अनुसरण गरेको छैन । नेपालले आफूलाई एउटा स्वायत्त र स्वतन्त्र राष्ट्रको रूपमा आफूलाई चिनाइरहेको छ । भारत र नेपालबीच रोटी–बेटीको सम्बन्ध भए पनि नेपाले छोटे भाइको उपमा भने स्वीकार गरेको छैन । छोटे र बडे भाइको सम्बन्धले भने नेपाल र भारतबीचको सम्बन्धलाई थप जटिल भने बनाउँदै गएको छ ।

छारे रोगले निम्त्याउने स्वास्थ्य संकट, कस्ता व्यक्तिमा लाग्दछ ? 

हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ । तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरु छन्, तिनको सञ्चालन गरेका हुन्छन् । मस्तिष्कलगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्ग जस्तो प्रतिक्रियाबाट चलेको हुन्छ । शरीरका विभिन्न अङ्ग चल्दा पनि फरक फरक विद्युतीय तरङ्गले काम गरेको हुन्छ। शरीर सञ्चालन गर्ने वा रोक्ने तिनै विद्युतीय तरङ्गमा सन्तुलन नभएमा मानिस बेहोस हुने, कुनै अङ्ग नचल्ने वा अन्य असामान्य अवस्था सिर्जना हुने हुन्छ । कतिपय अङ्गका कामहरु हामीले देख्न, अनुभव गर्न सक्छौँ भने कतिपय देख्न र अनुभव पनि गर्न सकेका हुदैनौँ । केही कारणले त्यो प्रवाहमा अवरुद्ध भयो भने त्यहाँ असामान्य अवस्था हुन्छ र त्यसले अस्वाभाविक तरङ्ग पैदा गर्छ । त्यसले शरीरको कुनै भागमा झड्का हुने वा पूर्ण रुपमा बेहोस हुने गर्दछ, त्यसलाई नै हामी छारेरोग भन्ने गर्छौं । मस्तिष्कको जुन भागको नसामा छारे रोगको असर पर्छ त्यही भागमा लक्षण देखिने गर्दछ । छारे रोग भनेको मस्तिष्कबाट उत्पन्न हुने एक प्रकारको रोग हो । यस रोगमा मस्तिष्कमा क्षणिक खराबी उत्पन्न हुँदा होस हराउने, लड्ने, बेहोस हुने, कम्पन हुने, चोटपटक लाग्नसक्ने हुन्छ । छारेरोगमा बेहोसै हुनुपर्छ भन्ने छैन । यस्ता बिरामीको कुनै अङ्ग अस्वाभाविक रुपमा चल्ने, आँखा फर्फराउने, कोही बेहोस नै हुने हुन्छन् । कतिपयले जिब्रो टोक्ने, आँखा बाङ्गिने, मुखमा फिज आउने, र्याल आउने, ओठ टोक्ने, घाँटी बटार्ने, शरिर काठजस्तै कडा बनाउने गर्छन् । कतिपय क्षणमा दिसा पिसाब समेत नियन्त्रणमा हुँदैन । सामान्यतयाः यस्तो अवस्था २०–३० सेकेण्ड रहन्छ र विस्तारै पहिलेकै अवस्थामा आउँछन् । नेपालमा कति मानिस यस रोगबाट ग्रसित छन् भन्ने यकिन तथ्याङ्क छैन । विश्व स्वास्थ्य संगठनले कुल जनसङ्याको एक प्रतिशतलाई छारे रोग हुन्छ भनेको छ। त्यस आधारमा नेपालमा साढे तीन लाखभन्दा बढी छारे रोगका बिरामी रहेको अनुमान गर्न सकिन्छ।विश्वभरि ५० मिलियन मानिसलाई छारे रोग छ। त्यसको ८० प्रतिशत समस्या हाम्रो जस्तो देशहरूमा छ। छारेरोग विश्वमा नसासम्बन्धी रोगहरुमध्ये पहिलो स्थानमा रहेको छ । नेपालमा छारेरोग ठूलो जनस्वास्थ्य समस्याको रुपमा रहेको पाइन्छ । छारे रोगकै कारण कतिपय बालबालिकाले बीचमै विद्यालय छाडेका छन् भने कतिपयले रोजगारी गुमाएका छन् । अझ महिलाहरुमा यो जटिलता अझ बढी रहेको पाइन्छ । बिबाह नै नहुने, भइहाले पनि पारिवारिक विचलन आउने गरेको देखिन्छ । नेपालमा छारेरोग भएकामध्ये ७० प्रतिशत मानिसले उपचारबाट बञ्चित छन् । जबकि, उपचार गरियो भने छारेरोग लागेकामध्ये ७० प्रतिशतको रोग निको हुन सक्छ भने बाँकी ३० प्रतिशत बिरामीले आफूलाई छारेरोग भएको पत्तो नै पाएका छैनन् । उनीहरुलाई औषधिको सेवनबाट रोगलाई नियन्त्रणमा राख्न ससकिन्छ । कतिपय बिरामी चिकित्सकको सम्पर्कमा आउन नचाहने हुन्छन् । अझै पनि गाउँघरमा यसलाई लुकाउने, झारफुक गर्ने जस्ता प्रवृत्ति रहेको छ । कति बिरामीले आफूखुसी औषधि छोड्ने गर्दा पनि रोग निको हुन गाह्रो हुन्छ।यसबारे जनचेतना, विज्ञ र उपचारको सहज पहुँच नुहँदा यो गम्भीर समस्याको रुपमा रहेको छ । कस्ता व्यक्तिमा लाग्दछ ? यो रोग यति नै उमेर समूहको मानिसमा लाग्छ भन्ने छैन, मान्छेको जन्मदेखि अन्तिम अवस्थासम्म पनि छारेरोग हुनसक्छ । किनकी यो रोग मस्तिष्कको विकारका कारण हुने गर्दछ । खासगरी १२ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहलाई यसले बढी देखिएको छ । कतिपय व्यक्तिमा जन्मजात नै मस्तिष्कमा अनेक दागहरु हुन्छ । बच्चाको दिमागमा अक्सिजन नपुग्ने, दिमागमा जुकाको कारण हुने सङ्क्रमण, क्षयरोग वा प्यारासाइटर भएमा, मस्तिष्क रक्तश्राव वा मस्तिष्कघात हुँदा पानी जमेमा, ट्यमर भएमा, चोट लागेमा छारेरोग हुने उच्च सम्भावना रहन्छ । यस्ता बिरामीलाई शल्यक्रियाबाट निको पार्न सकिन्छ । रोगको उपचार विधि के के छन् ? यस्ता लक्षणहरूको आधारमा बिरामीको परीक्षण हुन्छ र त्यसकै आधारमा उपचार गरिन्छ । नियमित रूपमा औषधि प्रयोग गरेमा ७० देखि ८० प्रतिशत निको हुन्छ। छारेरोगलाई लापरबाही भने गर्नु हुँदैन । यसले अन्य जटिल अवस्था ल्याउन सक्छ । सामान्यतः छारेरोगले मानिसको ज्यानै लिने नभएपनि यसले बिरामीको व्यक्तिगत, पारिवारिक र सामाजिक रुपमा निकै ठूलो असर पारेको हुन्छ र उनीहरुको व्यक्तित्व विकासमा अवरोध सिर्जना गर्दछ । यस्ता बिरामीलाई एक्लै बाहिर जान नदिने, अन्य व्यक्तिसरह जोखिमपूर्ण काममा नलगाउने जस्ता कारणले उनीहरु थुप्रै अवसरहरुबाट बञ्चित हुनु पर्दछ । सबैभन्दा पहिले त औषधिबाटै छारे रोगको उपचार गरिन्छ । औषधिको सेवनले पनि निको भएन भने शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । यसमा दुईवटा परीक्षणबाट रोगको पहिचान गरीशल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भनेर थाहा पाउन सकिन्छ । पहिलो मस्तिष्कको एमआरआई हो । यसका लागि एमआरआईको प्रोटोकलअनुसारको परीक्षण गरिनुपर्छ । दोस्रो इइजी अर्थात मस्तिष्कको चाल हेर्ने । यी दुवै परीक्षणबाट ७५ देखि ८० प्रतिशत मात्र कारण पत्ता लाग्न सक्छ । अझै २५–३० प्रतिशतमा के कारणले छारेरोग लागेको हो भन्ने थाहा हुन सकेको छैन । यस्ता खालका बिरामीलाई लामो समयसम्म छारेरोगको औषधि खुवाउनुपर्छ । उनीहरुलाई दुई वर्षसम्म औषधि दिएर त्यसको प्रभाव हेरेपछि विस्तारै बन्द गर्ने गरिन्छ । कतिपयमा दोहोरिएको पनि छ । त्यसरी दोहोरिएको अवस्थामा उनीहरुले जीवनभर नै औषधि खानुपर्ने हुन्छ । औषधिले पनि निको नभए भिएनएस (भेगर्स नर्भ स्टिमुलेशन) प्रविधिबाट उपचार गरिन्छ । भिएनएस भन्नाले एक किसिमको उपकरण हो, जसलाई सामान्य शल्यक्रिया गरी शरिमा जडान गरिन्छ । यो प्रविधि निकै महंगो छ । नेपालमा सामान्यतः यसको मूल्य १३/१४ लाख रुपैया पर्न आउँछ । विश्वमा यस प्रविधिको विकास भएको दुई/तीन वर्ष मात्रै भएको छ भने नेपालमा भित्रिएको छ/सात महिना मात्रै भएको छ । हाल यो सुविधा बीर अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र नर्भिक अस्पतालमा मात्रै उपलब्ध छ । छारेरोगका बिरामीले नियमित औषधि खानुपर्ने भएकाले सरकारले सकेसम्म निःशुल्क उपलब्ध गराउन पहल गर्नुपर्ने, त्यसो नभए पनि केही अनुदान दिन सके विपन्न वर्गका जनतालाई निकै सहज हुने देखिन्छ । छारेरोगबाट बच्ने कसरी ? कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु नै सबैभन्दा उपयुक्त बाटो हो । तर यसो भन्दैमा सबै मानिस निरोगी हुन्छन् भन्ने पनि होइन । अन्य रोगजस्तै छारेरोगबाट पनि मानिस ग्रसित हुने गर्दछ । छारेरोगबाटबच्नका लागि केही उपायहरुमा ध्यान दिन सकिन्छ । –गर्भावस्थामा र बच्चा जन्मिने बेला विशेष ध्यान दिनुपर्छ । यस्तो बेला बच्चाको मस्तिष्कमा चोट लाग्नसक्छ र त्यसले पछि बच्चा छारेरोगी हुन पुग्छ । –रक्सीको सेवन गर्ने व्यक्तिमा यो रोग लाग्ने सम्भावना उच्च हुन्छ । रक्सीसेवन गरेपछि जहाँसुकै लड्ने हुँदा मस्तिष्कमा चोट लाग्नसक्छ र त्यसले छारेरोग हुन सक्छ । –सवारीसाधन चलाउँदा सावधानीपूर्वक चलाउनुपर्छ । कुनै दुर्घटना हुँदा टाउकोमा चोट लाग्न गएमा रक्तश्राव वा रगत जम्न गई छारेरोग हुने सम्भावना रहन्छ । –छारेरोगबाट बच्ने अर्को उपाय भनेको पक्षघातबाट बच्नु भनेको पनि हो । त्यसैले पक्षघातबाट बच्न राम्रो खानपान, व्यायाम गर्ने, मोटोपन घटाउनुपर्छ । –मधुमेह तथा उच्च रक्तचाप हुनबाट बच्न सके पनि छारेरोगको जोखिम धेरै हदसम्म कम हुन्छ । अरुको भूमिका कस्तो हुनुपर्छ ? छारेरोग जोकोहीलाई पनि हुनसक्ने हुँदा उनीहरुलाई नकारात्मक व्यवहार नगरी मित्रवत् व्यवहारको खाँचो पर्दछ । उनीहरुमा उच्च मनोबल ल्याउनुपर्छ । छारे रोगको समस्या भएको मान्छेले त्यसलाई नियन्त्रण गर्न सक्दैनन् । केहीजानी बिरामी ढलेको छ भने उसको वरपर भएको चोट लाग्ने वस्तुलाई हटाइदिनुपछ, ताकी टाउकोमा चोट लाग्न नपाओस् । त्यस्तो अवस्थामा वरपरको व्यक्तिले उसलाई सम्हाल्नुपर्ने हुन्छ । ढलेको व्यक्तिको वरिपरि भीडभाड गरिदिनुहुँदैन । बरु यसलाई सजिलोसँग बस्न वा सुत्न सहज वातावरण मिलाइदिनुपर्छ । परिवार वा समाजमा कसैलाई छारेरोगको लक्षण देखिएमा चिकित्सककोमा लैजाने वा जाने सल्लाह दिनुपर्छ । जुनसुकै समयमा पनि छारेरोगका बिरामीलाई छोप्ने हुँदा उनीहरुको साथमा परिचयपत्र भएमा आफन्तलाई सम्पर्क गर्न सजिलो हुन्छ । यस रोगका बिरामीलाई सही परामर्शले निको गर्न मद्दत पुग्दछ । मस्तिष्कका कतिपय भाग शल्यक्रिया गर्न नमिल्ने किसिमका हुन्छन्। त्यस्तो ठाउँमा शल्यक्रिया गर्दा रोग निको भए पनि मान्छेको बोली बन्द हुने, कान नसुन्ने, सोच्न नसक्ने जस्ता अनेक समस्या आउन सक्ने भएकाले चिकित्सकले विशेष ध्यान दिनुपर्छ । त्यसैले औषधि, परामर्श र शल्यक्रियाबाट  छारे रोगको उपचार हुन्छ । रासस (वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्रा डा झासँग गरिएको कुराकानीमा आधारित)

कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’

भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो । देश एउटा ऐतिहासिक परिवर्तनको मोडबाट अघि बढ्दै थियो । दश वर्षको सशस्त्र लडाइँ सकेर नेकपा ९माओवादी० राजनीतिको मूलबाटोमा आएको थियो । र त्यसका एउटा मुख्य शूत्रधार नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । त्यही बेला कोइराला निवासको एउटा बत्ती निभ्यो । अर्थात् २०६३ साल माघ १४ गते नोना कोइराला यो धरतीबाट बिदा भएर जानुभयो । त्यो बेला गिरिजाप्रसादले कार्यकर्तासँग भन्नुभएको थियो ‘कोइराला निवासको बत्ती निभ्यो ।’ नेपाली कांग्रेस आफैँमा एउटा यस्तो राजनीतिक पार्टी हो, जसले राजनीतिक समावेशीतालाई गर्भदेखि नै बोकिल्यायो । अर्थात् महिला अधिकार वा भनौँ प्रतिनिधित्वलाई नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै प्रमुखता दिँदै आएको छ । नेपाली कांग्रेसभित्र त्यस्ता धेरै महिलाहरूले योगदान गरेका छन् तर बिरलैको नाम पार्टी पङ्क्तिमा आउँछ । नयाँ पुस्ताले त कतिपय नामहरू ‘गुगल’ गर्दा पनि नभेट्ने अवस्था छ । कांग्रेसभित्र आफू जलेर राष्ट्र, राजनीति, जनता, प्रजातन्त्र अनि पार्टी र कार्यकर्ता माझ उज्यालो छरेका त्यस्ता धेरै नारी पात्रमध्ये नोना कोइराला अग्रपङ्तिमा हुनुहुन्छ । उहाँलाई समकालीन कांग्रेस नेता, कार्यकर्ताहरूले ‘नोना आमा’ भनेर पनि चिन्दछन् । यद्यपि, नेपाली कांग्रेसभित्र ‘दाइ-दिदी’ अनि ‘भाउजु’ कल्चर एउटा परम्परा जस्तै मानिन्छ । तर नोना कोइराला त्यस्तो सम्मानीत नारी पात्र हुनुहुन्छ, जसलाई नेपाली कांग्रेसका आम कार्यकर्ताले ‘आमा’ भनेर सम्बोधन गर्थे । यसबाट पनि प्रस्ट हुन्छ, उहाँ कोइराला परिवारले मात्रै होइन, सिङ्गो पार्टी जीवनकै एउटा उज्यालो बत्ती हुनुहुन्थ्यो । नोना आमाको जन्म १८८५ कात्तिक २४ गते भारतको रामनगरमा भएको थियो । नेपालमा राणाविरुद्ध लडिरहेको कोइराला परिवारका एक स्तम्भ कृष्णप्रसाद कोइराला सारा परिवारसहित भारतमा निर्वासित जीवन बिताइरहनु भएको थियो । भारतमै बसेर कोइराला परिवारले नेपालमा क्रान्ति हाँकिरहेको थियो । त्यो बेला राणाको अत्याचारका बीच पनि केशव कोइराला भने नेपालमै रहनुभएको थियो । त्यो बेला भारतमा पनि अङ्ग्रेज विरोधी आन्दोलन चलिरहेको थियो । पञ्चायतको समयमा समेत उहाँले प्रजातन्त्र स्थापना तथा सामाजिक न्यायका लागि साहसिक कार्य गर्नुभयो । उहाँमा सबैलाई मिलाएर अघि बढ्न सक्ने विशिष्ट क्षमता थियो । नोनाको राजनीतिक जीवनको सुरूवात २००३ सालको मजदूर आन्दोलनदेखि भएको हो । त्यतिबेला उनले मजदुर आन्दोलनका घाइतेहरूलाई औषधि उपचार र भोजन व्यवस्थापनको जिम्मा उहाँले नै लिनु भएको थियो । निरकुङ्श राणा शासनविरुद्ध २००७ सालमा कांग्रेसले सञ्चालन गरेको सशस्त्रमुक्ति आन्दोलनमा पनि उहाँले हतियार व्यवस्थापन, सरसफाइ र वितरणको जिम्मेवारी लिनुभएको थियो । यहाँसम्मकी कतिपय हतियार त उहाँले आफ्नो शरीरमा लुकाएर मुक्ति सेनासमक्ष पुर्याउने गर्नुभएको आन्दोलनका होमिएका धेरैलाई थाहा छ । त्यही क्रममा भारतमा रहनुभएका कृष्णप्रसाद कोइराला उतै जेल पर्नुभयो । त्यही बेला २००० असार २५ गते नोना र केशव कोइरालाबीच विवाह भयो । त्यसपछि उहाँ कोइराला परिवारभित्र एक अभिभावकजस्तै बनेर आफ्नो पारिवारिक, सामाजिक र राजनीतिक अभिभारा निभाइरहनुभयो । सारा परिवार भारतमै निर्वासन भएका बेला नेपालमा परिवारको खेतिपातीदेखि घरबार धान्ने र पार्टी अनि कार्यकर्ता परिचालन र व्यवस्थापनको जिम्मेवारी नोना-केशवकै काँधमा थियो । त्यही बेला २००३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको आन्दोलनमा पनि नोना कोइरालको अद्वीतीय भूमिका रह्यो । कोइराला परिवार आफैँमा एउटा अलग्गै राजनीतिक र सामाजिक संस्कारले भरिएको परिवार हो । त्यसमा पनि नोना आमा पनि एउटा शिक्षित र राजनीतिक चेतनाले भरिएको परिवारबाटै आउनुभएको थियो । त्यसबाट पनि उहाँमा राजनीतिक र सामाजिक चेतना थियो । यसले गर्दा उहाँलाई राजनीतिक र पारिवारिक व्यवस्थापनमा अझ निपुण हुनुभयो । क्रान्तिकै बेला बिपी कोइरालाले एकपटक केशव र नोना आमालाई सम्बोधन गरेर लेख्नुभएको चिठी अहिले पनि उत्तिकै महत्वपूर्ण छ । बिपीले त्यो चिठीमा केशव र नोनाले घरबार अनि खेतीपाती धानिदिएकै कारण आफूहरूलाई प्रवासमा सजिलो भएको र नेपालमा पनि कार्यकर्ता परिचालनमा बाधा नआएको भन्दै उहाँहरूप्रति आभार व्यक्त गर्नुभएको थियो । कोइराला परिवारमा मात्रै नभएर ‘नोना आमा’ समकालीन राजनीतिक नेता तथा कार्यकर्ताका लागि अभिभावक नै बनेर उभिनुभयो । कोइराला परिवारको राजनीतिक विरासतमा नोना कोइरालाको अभिभावकीय र नेतृत्वदायी भूमिका अनि क्षमता सिङ्गो नेपाली राजनीतिकै लागि प्रेरणाको अजर स्रोत पनि हो । कांग्रेसमात्रै कोइराला निवास अनि कोइराला परिवार हरेक राजनीतिक दलका कार्यकर्ताका लागि सधैँ खुल्ला हुन्थ्यो । र स्वागतका लागि रातदिन तम्तयार हुन्थ्यो । त्यो सबै नोनाकै योगदान र तत्परताले मात्रै सम्भव थियो । उहाँले कांग्रेस मात्रै होइन, जुनसुकै राजनीतिक दलका कार्यकर्ताका लागि कोइराला निवास सधैंँ खुल्ला गरिदिनुभयो । यसले गर्दा नेपालमा हरेक राजनीतिक कार्यकर्ताका लागि कोइराला निवास र कोइराला परिवार आफैँमा एक उदार अनि खुल्ला संसार जस्तै भएको थियो । परिवारमा मात्रै नभएर सिङ्गो नेपाली कांग्रेस पार्टी पङ्तिमा उहाँको निर्णायक र अभिभावकीय भूमिका रहन्थ्यो । कोइराला परिवारमा हरेक दिन बिहानअर्थात् दिनको पहिलो प्रहरमै हुने बसाई राजनीतिक नै हुन्थ्यो । त्यो भनेको दिनभरिको कार्ययोजना र कार्यदिशा तय गरिन्थ्यो । त्यो सबको चाँजोपाँजो मिलाउने जिम्मेवारी नोनाकै काँधमै थियो । एक प्रकारले परिवारका सदस्यबीच भएको राजनीतिक जिम्मेवारीको बाँडफाँटमा उहाँले यसरी महत्वपूर्ण भूमिका पाउनुभएको थियो । त्यसलाई अन्तिम समयसम्म उत्तिकै सफलताका साथ निर्वाह गर्नुभयो । नोना आमाको त्यो ‘मर्निङ मिटिङ’लाई गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालासम्मले अन्तिम समयसम्मै निरन्तरता दिनुभयो । ‘मर्निङ मिटिङ’ एक प्रकारले कोइराला परिवारभित्रको आफ्नै मौलिक राजनीतिक संस्कार बनिसकेको थियो । त्यसले सिङ्गो पार्टीलाई नै ऊर्जाशील बनाउँथ्यो । अब कोइराला परिवारको राजनीतिक विरासत थाम्ने जिम्मेवारी डा शेखर कोइरालाको काँधमा छ । डा शेखर केशव–नोनाका कान्छा छोरा हुनुहुन्छ । यो बेला नेपाली कांग्रेसलाई पुनर्जीवन दिनका लागि फेरि एकपटक आम कार्यकर्ताको आशा र भरोसको केन्द्र कोइराला परिवार हुन पुगेको छ । हरेक व्यक्तिको निजी जीवनमा ‘आमा’ नै पहिलो पाठशाला हुन्छिन् । नोना कोइराला मात्रै एक गृहणीका रुपमा समित रहनुभएन । उहाँले त तत्कालीन सिङ्गो राजनीति र प्रजातन्त्रको लडाईंमा होमिएका आम नेपालीलाई आफ्नै सन्तान जसरी ममता र अभिभावकत्वको छहारीमा राख्नुभयो । उहाँले सिकाएर जानु भएको बाटोमा अब डा शेखरका पाइलाहरू अगाडि बढ्न सके र त्यसलाई निरन्तरता दिन सके नेपाली कांग्रेसको त्यो राजनीतिक संस्कारको निरन्तरता आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत हुनसक्छ । उहाँले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउनुभएको थियो । राजनीतिमा ३३ प्रतिशत महिलाको स्थान रहनुपर्ने माग उहाँले नै उठान गर्नुभएको थियो । जसको परिणाम आज नेपाली महिलाहरूले राजनीति या सामाजिक क्षेत्रमा जुन अवसर प्राप्त गरेका छन् त्यसको मुख्य श्रेय उहाँलाई नै जान्छ । प्रजातन्त्र स्थापनाका लागि महिलालाई जागृत र गोलबद्ध बनाउने कार्यमा उहाँको भूमिका अविस्मरणीय छ । प्रजातन्त्र प्राप्तिपछि उहाँसमेतको अगुवाइमा विराटनगरमा नारी जागृति नामक संस्थाको स्थापना भयो । यही संस्थाबाट नारीहरूलाई पढ्न लेख्न र सामाजिक रुपले अगाडि बढाउने अभियानमा उहाँले धेरै काम गर्नुभएको थियो । आज त्यो संस्था आदर्श बालिका विद्यालयमा परिणत भएको छ । (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)