आर्थिक स्थायित्व र वृद्धिको स्तम्भ बन्दै पुनर्बीमा

बीमाको दुनियाँमा जोखिम व्यवस्थापन नै सबै भन्दा मुख्य हो । बीमा कम्पनीहरूले व्यक्तिहरू तथा व्यवसायहरूलाई वित्तीय नोक्सानीबाट जोगाउने जिम्मेवारी लिन्छन् । तर, प्रश्न उठ्छ—विशेष गरी प्राकृतिक प्रकोपको उच्च जोखिम भएका देशहरूमा, सम्भावित विनाशकारी नोक्सानीबाट यी कम्पनीहरूले आफूलाई कसरी सुरक्षित राख्छन् ? यसको उत्तर पुनर्बीमामा सन्निहित छ । पुनर्बीमा एउटा परिष्कृत प्रणाली हो, जसले बीमाकर्ताहरूलाई आफ्नो जोखिमको केही हिस्सा अन्य बीमा कम्पनीहरूमा स्थानान्तरण गर्न सक्षम बनाउँछ, जसलाई पुनर्बीमा भनिन्छ । यस्तो अभ्यासले बीमा कम्पनीहरूको वित्तीय स्थायित्वलाई बलियो बनाउन मद्दत मात्र गर्दैन, विशेष गरी नेपाल जस्तो भूकम्प, बाढी र पहिरोको उच्च जोखिमयुक्त देशमा, बीमा दाबीहरूको भुक्तानी क्षमतालाई समेत सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ । कसरी बुझ्ने पुनर्बीमालाई ? पुनर्बीमालाई ‘बीमाको पनि बीमा’का रूपमा हेर्न सकिन्छ । यो एउटा जोखिम व्यवस्थापन रणनीति हो, जसमा बीमा कम्पनीले ठूला वा विनाशकारी दाबीहरूको वित्तीय बोझबाट आफूलाई जोगाउन पुनर्बीमाबाट ‘कभरेज(बीमा)’ खरिद गर्छन् । एक वा एक भन्दा बढी पुनर्बीमा कर्तासँग जोखिम साझेदारी गरी मूल बीमाकर्ता (जसलाई सिडिङ्ग कम्पनी भनिन्छ)ले आफ्नो क्षतिको जोखिमलाई सीमित गर्छ, जसले उसलाई ठूला दाबीहरूको सामना गर्नुपर्दा पनि आर्थिक रूपमा स्थिर रहने क्षमता प्रदान गरिदिन्छ । दृष्टान्तका लागि, सन् २०१५ मा नेपालमा गएको गोरखा भूकम्प वा अप्रत्याशित बाढीले पुर्‍याएको क्षतिजस्ता कुनै पनि ठूला प्राकृतिक विपत्ति आइपर्दा बिमा कम्पनीहरूलाई ठूलो आर्थिक असर पर्न सक्छ । यसमा बीमितहरूको दाबी अर्बौ रुपैयाँसम्म पुग्न सक्छ, जुन एउटा बीमा कम्पनीले धान्न सक्नेभन्दा धेरै परको विषय हुन्छ । यस्तो अवस्थामा पुनर्बीमाको भूमिका महत्वपूणर् हुन्छ । पुनर्बीमा सम्झौताको माध्यमबाट सिडिङ्ग कम्पनी (बीमा कम्पनी)ले जोखिमको केही हिस्सा मात्र आफूले बेहोर्छन् भने बाँकीको ठूलो हिस्साको जिम्मेवारी पुनर्बीमाले लिन्छ । दायित्वको यस साझेदारीले बीमा कम्पनीलाई विपद्पछि पनि सञ्चालनमा रहन, दाबीहरूको भुक्तानी दिइरहन र नयाँ पोलिसी धारकहरूलाई कभरेज प्रदान गर्न सक्ने सामथ्र्य सुनिश्चित गर्छ । नेपालको पुनर्बीमा क्षेत्र मुलुकको अर्थतन्त्र एवं बीमा उद्योगको एक महत्वपूणर् घटकका रूपमा उदाएको छ । केही वर्षयता तीव्र आर्थिक वृद्धि, नियामकीय बदलाव र भूकम्प तथा बाढीजस्ता विपत्तिकारी घटनाहरूको बढ्दो जोखिमका कारण नेपालको पुनर्बीमाको परिदृश्यमा परिवर्तन आएको छ । बीमा उद्योगको क्षमता र दायरा दुवैमा वृद्धि भइरहँदा पुनर्बीमाको बलियो सहयोगको आवश्यकता पहिले भन्दा धेरै महत्वपूणर् हुन पुगेको छ । नेपालको बदलिँदो पुनर्बीमा बजार पछिल्लो समय नेपालको पुनर्बीमा बजारमा उल्लेख्य परिवर्तन आएको छ । देशको आर्थिक विकाससँगै ठूला र अधिक जटिल जोखिम पनि बढेका छन् । साथै, नियम, कानुनहरूको विकास र पूर्वाधारमा बढ्दो लगानीले पनि बीमा कम्पनीहरूलाई ठूला जोखिम व्यवस्थापनका उपयुक्त समाधानहरू खोज्न उत्प्रेरित गरेको छ । यसैगरी, प्राकृतिक विपत्ति विशेष गरी भूकम्प र बाढीले बीमा क्षेत्रमा ठूलो जोखिम थपेको छ, जसले दाबीको सम्भावित वृद्धिलाई व्यवस्थापन गर्न पुनर्बीमामा ठोस ढाँचाको आवश्यकतामा जोड दिएको छ । आर्थिक वर्ष २०८०/८१ सम्म नेपालको बीमा उद्योगमा दुई पुनर्बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी, १४ जीवन बीमा कम्पनी र सात लघु बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यी कम्पनीहरूमा परिचालित कुल इक्विटी पुँजी लगभग १ खर्ब ९ अर्ब रुपैयाँ छ । यसमध्ये ५० प्रतिशत हिस्सा जीवन बीमाले ओगटेको छ भने बाँकी आधामा निर्जीवन बीमा, लघु बीमा र पुनर्बीमा कम्पनीहरूको हिस्सेदारी छ । सोही आर्थिक वर्षमा उद्योगले कुल प्रिमियम १ खर्ब ९७ अर्ब रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८ प्रतिशतले बढी हो । यो वृद्धिले बीमा उद्योगमा पुनर्बीमाको माग निरन्तर रूपमा बढिरहेको देखाउँछ। बीमा कम्पनीहरूले आफ्ना ‘प्रडक्ट’ र बजारमा पहुँच विस्तार गर्ने क्रममा जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न पुनर्बीमाको प्रयोगलाई प्राथमिकता दिन थालेका छन् । नेपालमा पुनर्बीमा क्षेत्रको विकास नेपालमा पुनर्बीमाको इतिहास २०१४ (२०७१ साल) मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को स्थापनासँगै सुरु भएको हो। नेपाल रिको स्थापना देशको बीमा क्षेत्रमा एउटा महत्वपूणर् कोशेढुंगा साबित भयो । यसले अत्यावश्यक घरेलु पुनर्बीमा क्षमता प्रदान गर्नुका साथै विदेशी पुनर्बीमा माथिको निर्भरता घटाउने काम गर्‍यो । नेपाल रि स्थापना हुनुअघि, पुनर्बीमा सम्बन्धी अधिकांश प्रिमियम विदेशी बजारमा भुक्तानी गरिन्थ्यो। यसले नेपालको वित्तीय प्रणालीबाट ठूलो मात्रामा पुँजी बाहिरिने समस्या निम्त्याएको थियो। नेपाल रिको स्थापना भएपछिको सुधारले बीमा उद्योगलाई थप स्थायित्व र आत्मनिर्भरता प्रदान गरेको छ । सन् २०२१ (२०७८साल)मा हिमालयन पुनर्बीमा लिमिटेड (हिमालयन रि) को स्थापना भयो र योसँगै नेपालको पुनर्बीमा उद्योगको परिदृश्य थप मजबुत भएको छ । बजारको यस नयाँ प्रविष्टिले घरेलु पुनर्बीमा क्षेत्रको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाललाई विश्व पुनर्बीमा बजारमा एक खेलाडीको रूपमा स्थापित गर्न पनि मद्दत गरेको छ । विशेष गरी हिमालयन रिले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिबाट मुलुकभित्र विदेशी मुद्राको आप्रवाह बढाउनमा योगदान पुर्‍याएको छ भने देशको निम्ति राजस्वको नयाँ स्रोतहरू सिर्जना भएका छन् । प्रस्तुत तथ्यांकअनुसार गत तीन वर्षमा बीमा कम्पनीहरूले तिर्ने पुनर्बीमाको प्रिमियममा खासै उल्लेखनीय वृद्धि नभएको भए पनि मुलुकका पुनर्बीमा कम्पनीहरूमा गएका पुनर्बीमाका प्रिमियम आ.व २०७८/७९ मा ४७ प्रतिशत रहेकोमा त्यो बढेर २०८०/८१ मा ६७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा क्रमशः १३ अर्ब र १४ अर्ब रुपैयाँ पुनर्बीमाको प्रिमियम नेपाली पुनर्बीमा कम्पनीहरूमा रहेकोमा, आर्थिक वर्ष २०८०/८१ मा यो बढेर १९ अर्ब रुपैयाँ पुगेको देखिन्छ । यसले पुनर्बीमा व्यवसायलाई देशभित्रै सुदृढ बनाउन मात्र सहयोग गरेको छैन, व्यवसायबाट प्राप्त हुने रकम पनि देशभित्रै रहने सुनिश्चित गर्दै नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ । अहिले दुई वटा पुनर्बीमा कम्पनी (हिमालयन रि र नेपाल रि)ले घरेलु बीमा बजारलाई सहयोग गर्न महत्वपूणर् भूमिका खेलिरहेका छन् । यी कम्पनीले नेपाली बीमा कम्पनीहरूको क्षमतामा उल्लेखनीय वृद्धि गरेका छन्, जसले उनीहरूलाई स्वदेशमै थप बीमा जोखिम व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय बजारतर्फ पुनर्बीमा प्रिमियमको बहिर्गमनलाई घटाउन समर्थ बनाएको छ । यो परिवर्तनले नेपालका बीमा कम्पनीहरूको वित्तीय स्थितिलाई मजबुत मात्र बनाएको छैन, स्थानीय बजारमा थप स्थायित्व पनि ल्याएको छ । पुनर्बीमाको माध्यमबाट अर्थतन्त्रको मजबुतीकरण नेपालमा पुनर्बीमा क्षेत्रको विकासले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव/योगदान गरिरहेको छ । विदेशी पुनर्बीमा कम्पनीहरूमा गइरहेको पुनर्बीमाको प्रिमियमलाई मुलुकभित्रै राख्न सहयोग गरेर पुँजीको बहिर्गमनलाई घटाउँदै छ । यसरी अर्थतन्त्रमा पुँजीको परिचालनलाई कायम राखिदिएर स्थानीय परियोजना तथा विकासका पहलहरूमा थप लगानीको वातावरण तयार गरिदिने भएकाले यो परिवर्तन नेपालको आर्थिक स्थायित्वका लागि एकदमै महत्वपूणर् छ । यसबाहेक नेपाल रि र हिमालयन रि जस्ता सबल घरेलु पुनर्बीमा कम्पनीहरूको उपस्थितिले बीमा क्षेत्रमा आत्मविश्वास जगाएको छ । यी कम्पनीले पुनर्बीमाको मजबुत आड उपलब्ध गराउने भएकोले नेपालका बीमा कम्पनीहरूले पूर्वाधार विकास, कृषि, जलविद्युत् आयोजना र पर्यटनसँग सम्बन्धित ठूला एवं जटिल जोखिमहरूको पनि आत्मविश्वासका साथ क्ष्लकगचबलभ कभरेज प्रदान गर्न सक्छन् । यो सक्षमताले अर्थतन्त्रका प्रमुख क्षेत्रको वृद्धिलाई मात्र सहयोग गर्दैन प्राकृतिक प्रकोप वा अन्य ठूला दुर्घटनाहरूको कारण पर्न सक्ने वित्तीय आघातहरू सहन क्षमतालाई पनि अभिवृद्धि गर्छ । हिमालयन रि जस्ता कम्पनीको सहजीकरणबाट अन्तर्राष्ट्रिय बजारमा नेपाली पुनर्बीमा कम्पनीहरूको प्रवेशले विदेशी मुद्राको प्रवाहमा योगदान पुर्‍याएको छ । यी पुनर्बीमा कम्पनीहरूले विश्व बजारमा आफ्नो पदचिह्न बढाउँदै जाँदा तीनले नेपालमा नयाँ राजस्व स्रोतको आधार बनाउछन् । देशको विदेशी विनिमय सञ्चितिलाई सहयोग पुर्‍याउँछन् र वित्तीय क्षेत्रको समग्र स्थायित्वलाई नै बढवा दिन्छन् । नेपालमा पुनर्बीमाको आर्थिक प्रभाव सबल पुनर्बीमा क्षेत्रको आर्थिक लाभ बीमा उद्योगसम्म सीमित नभई धेरै परसम्म विस्तारित छ । पुनर्बीमा प्रिमियमको ठूलो हिस्सा मुलुकभित्रै राखेर यो क्षेत्रले पुँजी बहिर्गमनलाई उल्लेखनीय रूपमा घटाएको छ, जसले नेपालको विदेशी विनिमय सञ्चिति कायम राख्न महत्वपूणर् योगदान पुर्‍याएको छ । यसका साथै, पुनर्बीमा उद्योगले बीमाकर्ताहरूका लागि सुरक्षा जालोको काम गरेको छ। प्राकृतिक प्रकोपबाट उत्पन्न ठूला दाबीहरूको भुक्तानी गरेपछि पनि बीमा कम्पनीहरूले आफ्नो सञ्चालन निरन्तरता दिन सक्ने सुनिश्चितता पुनर्बीमाले प्रदान गर्दछ। यसले बीमा उद्योगलाई थप स्थिर र विश्वासयोग्य बनाउँदै आएको छ । हिमालयन रि जस्ता घरेलु पुनर्बीमा कम्पनीले आफूलाई अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गरेका छन् । उनीहरूको अन्तर्राष्ट्रिय सञ्चालनमार्फत विदेशी मुद्राको आप्रवाह सिर्जना भएको छ । यसले नेपालको विदेशी विनिमय सञ्चितिमा योगदान पुर्‍याउदै र विदेशबाट प्राप्त हुने राजस्वको स्थिर स्रोत उपलब्ध गराउँदै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत गर्छ । बलियो पुनर्बीमा बजारको उपस्थितिले अर्थतन्त्रका अन्य क्षेत्र जस्तै पूर्वाधार, कृषि, जलविद्युत र पर्यटनमा लगानीलाई पनि प्रोत्साहित गर्छ । ती परियोजनासँग सम्बन्धित जोखिमलाई पुनर्बीमामार्फत प्रभावकारी रूपमा व्यवस्थापन गरिएको थाहा पाएपछि लगानीकर्ताले यस्ता ठूला परियोजनामा लगानी गर्ने सम्भावना बढ्छ । यसले समग्र अर्थतन्त्रमै आत्मविश्वास बढाउँछ र दीर्घकालीन विकास लक्ष्यहरूको प्राप्तिमा सहयोग गर्छ । चुनौती र अवसर नेपालको पुनर्बीमा बजारको वृद्धि आशातीत नै छ तर यो क्षेत्रले सम्बोधन गर्नुपर्ने थुप्रै चुनौतीहरू पनि छन् । विशेष गरी भूकम्प र बाढीको जोखिमलाई दृष्टिगत गर्दा विपत्तिकारी जोखिमको बढ्दो सामना एउटा प्रमुख चुनौती हो । यी जोखिमको आवृत्ति र गम्भीरता दुवैमा वृद्धि हुँदै जाँदा पुनर्बीमाको माग पनि बढ्दै जानेछ, जसले पुनर्बीमा सेवा प्रदायकहरूलाई पर्याप्त पुँजी र जोखिम व्यवस्थापनका अभ्यासहरू कायम राख्न दबाब दिनेछ । यसबाहेक, यो क्षेत्रले विश्वका उत्कृष्ट अभ्यासहरूसँग कदम मिलाउनु पर्ने चुनौतीको पनि सामना गर्नुपर्छ । नेपालको पुनर्बीमा बजार बढ्दै जाँदा यसले जोखिम बहनका थप परिष्कृत मोडलिङ उपकरणहरू पनि अँगाल्दै जानु पर्छ, नियामकीय ढाँचामा सुधार गर्नु पर्छ र यसको निरन्तर विकास सुनिश्चित गर्न थप अन्तर्राष्ट्रिय विशेषज्ञता आकर्षित गर्नु पर्छ । तथापि, यी चुनौतीहरूसँगसँगै अवसरहरू पनि आउँछन् । नेपाल आर्थिक रूपमा विकसित हुँदै जाँदा बीमाको माग पनि बढ्नेछ, जसले पुनर्बीमाको आवश्यकतालाई अझै बढाउनेछ । नेपालमा बढ्दो सहरीकरण तथा पूर्वाधार विकासका कारण विशेष गरी ठूला परियोजना र बढ्दो मध्यम वर्गबाट नयाँ नयाँ जोखिम बीमाका मागहरू देखा पर्दै जाँदा पुनर्बीमाका लागि पनि महत्वपूर्ण अवसरहरू प्रदान गर्नेछ । नेपालमा पुनर्बीमाको भविष्य नेपालमा पुनर्बीमाको भविष्य सम्भावनाले भरिपूणर् देखिन्छ । नयाँ-नयाँ पुनर्बीमाको आगमन र अनुकूल नियामकीय वातावरणले यो क्षेत्रलाई निरन्तर वृद्धिको ठाउँ दिएको छ । नेपालको अर्थतन्त्रको विविधीकरण र विकास हुँदै जाँदा पुनर्बीमा क्षेत्रले जोखिम व्यवस्थापन, बीमा कम्पनीहरूलाई सहयोग र आर्थिक स्थायित्वमा योगदान पुर्‍याउनमा महत्वपूणर् भूमिका खेल्नेछ । आगामी वर्षहरूमा हिमालयन रि र नेपाल रि जस्ता कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै जाँदा विश्वव्यापी पुनर्बीमा परिदृश्यमा नेपालको पुनर्बीमा बजारको थप एकीकरणको अपेक्षा गर्न सकिन्छ । साथै, यो क्षेत्रले जोखिम मूल्यांकन र व्यवस्थापनमा सुधार ल्याउन डाटा एनालिटिक्स तथा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नयाँ प्रविधिहरू अँगाल्दै गएको स्थितिमा यो क्षेत्र थप बलियो बन्दै गएको छ । निष्कर्ष नेपालको पुनर्बीमा क्षेत्रले देशको बीमा उद्योग र अर्थतन्त्रको भविष्यलाई आकार दिनमा रूपान्तरणकारी भूमिका निर्वाह गरिरहेको छ । गत केही वर्षमा पुनर्बीमा सापेक्षिकरुपमा एक शिशु उद्योगबाट वित्तीय स्थायित्वको एक प्रमुख स्तम्भको रूपमा विकसित भएको छ । यसले आन्तरिक बीमक र अर्थव्यवस्था दुवैलाई सहयोग गरिरहेको छ । हिमालयन रि जस्ता नयाँ पुनर्बीमा कम्पनीहरूको आगमन र नेपाल रिको निरन्तर वृद्धिसँगै यो क्षेत्र प्राकृतिक विपत्ति तथा अन्य ठूला घटनाहरूबाट उत्पन्न बढ्दो जोखिमलाई व्यवस्थापन गर्न अझ सुसज्जित हुँदै गएको छ । नेपालको बीमा उद्योग विकसित हुँदै जाँदा पुनर्बीमाको माग पनि बढ्दै जानेछ । प्राकृतिक एवं मानव सिर्जित दुवै खाले चुनौतीहरूको सामना गर्न नेपाल लचिलो (सबल) भएको सुनिश्चित गर्न यो क्षेत्रले आफूलाई बदलिँदो बजार गतिशीलता, नियामकीय सर्तहरू तथा बढ्दो जोखिमहरूसँग समायोजन गर्नु अपरिहार्य हुन्छ । धेरै भन्दा धेरै प्रिमियम देशभित्रै कायम राख्न सघाउँदै र आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गर्दै लगेर नेपालको पुनर्बीमा क्षेत्रले आउँदा वर्षहरूमा देशको आर्थिक विकास र वित्तीय स्थायित्वमा अझ महत्वपूणर् भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ ।नेपालको पुनर्बीमा बजार बढ्दै जाँदा यसले जोखिम बहनका थप परिष्कृत मोडलिङ उपकरणहरू पनि अँगाल्दै जानु पर्छ, नियामकीय ढाँचामा सुधार गर्नु पर्छ र यसको निरन्तर विकास सुनिश्चित गर्न थप अन्तर्राष्ट्रिय विशेषज्ञता आकर्षित गर्नु पर्छ । (पौडेल हिमालयन रिइन्स्योरेन्स कम्पनीका सीइओ हुन् । स्राेतः अर्थनीति)

‘छोटे-बडे भाइ’ प्रसंग : दिल्लीमा देखिएको दुर्लभ दृश्य

टिप्पणी । बेला बखत विश्व राजनीतिमा छोटे र बडे भाइको प्रसंगले बजार तताउँछ, तरंग ल्याउँछ, तहल्का मच्चाउँछ । विशेषगरी भौगलिक बनावट र ठूलो अर्थतन्त्र भएका देशले साना राष्ट्रलाई हेर्ने संकुचित दृष्टिकोणबाट उद्देलित हुँदै उनीहरू सानालाई ‘छोटे भाइ’को उपमा दिन्छन् । यही फेहरिस्तको पुनरावृत्ति भारतको राजधानी नयाँ दिल्लीमा पनि भयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कुटनीतिक कमजोरी र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेको अपरिपक्वताले अन्तर्राष्ट्रिय कुटनीतिमा गम्भीर सवाल उठाएको छ । गत साता अन्तर्राष्ट्रिय सहकारी महासंघको आयोजनामा भारतको नयाँ दिल्लीमा उद्घाटन भएको अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ मा प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री तोग्बेले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने नाममा अन्तर्राष्ट्रिय जगतमा आलोचना हुने टिप्पणीको अंकमाल गरे । छिमेकी देशको प्रधानमन्त्रीको रूपमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा अतिथि बनेर पुगेका भुटानका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीको तारिफसँगै नाक चुच्चो बनाएर फर्किए । त्यसको बदला प्रधानमन्त्री मोदीले पनि उनको वक्तव्यमा ‘ होस्टेमा हैसे’ लगाउँदै कुटनीतिक कमजोरी प्रदर्शन गरे । सम्मेलनको उद्घाटन कार्यक्रममा अतिथिको रूपमा भारत पुगेका भुटानका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीलाई कार्यक्रमको दौरानमा पटक–पटक ‘बडे भाइ’ ले सम्बोधन गरे । उनले आफू भुटानको प्रधानमन्त्री भएको भुल्दै, भारत भ्रमण आफ्नो ठूलो उपलब्धि भएको भन्दै भ्रमणको अवसर दिने सहकारीमन्त्री अमित शाहलाई दुई हात जोडेरै सम्बोधन गरे । अन्तर्राष्ट्रिय सहकारी सम्मेलनमा १० मिनेट आफ्नो मन्तव्य राखेका प्रधानमन्त्री तोग्बेले भारतीय प्रधानमन्त्री मोदीलाई सात पटक बडे भाइ भनेर सम्बोधन गरे । उनको सो शब्दमा हलमा उपस्थित साढे चार हजार सहभागी गज्जबले हाँसे । नरेन्द्र मोदी मुस्कुराए । ताली बजाए । तर, भुटानबाट सम्मेलनमा सहभागी भएकाहरू भने आफ्ना प्रधानमन्त्रीको लज्जास्पद अभिव्यक्तिले निराश बने । उनीहरूले न ताली बजाए न त हाँसोमा मुस्कान फिजाए । प्रमुख वक्ताको रूपमा सहभागी प्रधानमन्त्री मोदीले पनि तोग्बेको सम्बोधनमा साथ दिँदै मुस्कानका साथ मन्तव्यको सुरुमै उनलाई ‘मेरा छोटे भाइ’ भनेर भाषणको सुरुवात गरे । दुई देशका प्रधानमन्त्रीबीचको ‘छोटे–बडे भाइ’को सम्बन्ध अन्तर्राष्ट्रिय जगतमा भने लज्जितको विषय बनेको छ । दुई राष्ट्रबीचको सम्बन्ध समानताको आधारमा हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय कूटनीतिक मान्यता छ । कुनै पनि देशका प्रधानमन्त्री सानो र ठूलो भन्ने हुँदैन । अन्तर्राष्ट्रिय रूपमा सबै देशका प्रधानमन्त्रीको हैसियत समान हुन्छ । दुई देशको सम्बन्धलाई सम्मान, स्वायत्तता र पारस्परिक हितको दृष्टिले हेर्नुपर्छ । तर, प्रधानमन्त्री मोदी र तोग्बेले भने कुटनीतिक मर्यादालाई भुले । प्रधानमन्त्रीस्तरबाट आउने यस्ता अभिव्यक्तिले कूटनीतिक असमानता झल्काउँछ । यस्तो टिप्पणीले कूटनीतिक वार्ता वा सहयोगमा पनि अवरोध सिर्जना गर्न सक्छ । आर्थिक, भौगलिक वा पूर्वाधार विकासको हिसाबले कुनै देशको हैसियत ठूलो र कुनैको सानो हुनु स्वाभाविक हो । तर, अन्तर्राष्टिय मञ्चमा प्रधानमन्त्रीको हैसियतले धारणा राख्दा हरेक शब्दमा ध्यान दिनुपर्छ । एक अर्कालाई सम्मान र बराबरीको हैसियतको सन्देश सम्प्रेषण गर्न सक्नुपर्छ । तर, प्रधानमन्त्री मोदी र तोग्बेले ‘छोटे-बढे’को उपमा दिँदै कुटनीतिको खिल्ली उडाए । यसले भुटानका जनतामा वितृष्णा पैदा गर्छ भने आत्मसम्मानमा आँच पुर्‍याउँछ । हरेक देशका नागरिकको पनि समान हैसियत हुन्छ चाहे त्यो विकसित देश होस् वा विकासोन्मुख । बेला बखत भारतले नेपाललाई पनि छोटे भाइले सम्बोधन गर्ने प्रयत्न्न गर्छ । तर, नेपालले भने त्यसलाई अनुसरण गरेको छैन । नेपालले आफूलाई एउटा स्वायत्त र स्वतन्त्र राष्ट्रको रूपमा आफूलाई चिनाइरहेको छ । भारत र नेपालबीच रोटी–बेटीको सम्बन्ध भए पनि नेपाले छोटे भाइको उपमा भने स्वीकार गरेको छैन । छोटे र बडे भाइको सम्बन्धले भने नेपाल र भारतबीचको सम्बन्धलाई थप जटिल भने बनाउँदै गएको छ ।

छारे रोगले निम्त्याउने स्वास्थ्य संकट, कस्ता व्यक्तिमा लाग्दछ ? 

हाम्रो मस्तिष्कमा करोडौँ स–साना नसाका न्यूरोनहरुको प्रवाह भएको हुन्छ । तिनै नसाले हाम्रो शरीरका जति पनि अङ्गहरु छन्, तिनको सञ्चालन गरेका हुन्छन् । मस्तिष्कलगायत स्नायु प्रणालीका अङ्ग विद्युतीय तरङ्ग जस्तो प्रतिक्रियाबाट चलेको हुन्छ । शरीरका विभिन्न अङ्ग चल्दा पनि फरक फरक विद्युतीय तरङ्गले काम गरेको हुन्छ। शरीर सञ्चालन गर्ने वा रोक्ने तिनै विद्युतीय तरङ्गमा सन्तुलन नभएमा मानिस बेहोस हुने, कुनै अङ्ग नचल्ने वा अन्य असामान्य अवस्था सिर्जना हुने हुन्छ । कतिपय अङ्गका कामहरु हामीले देख्न, अनुभव गर्न सक्छौँ भने कतिपय देख्न र अनुभव पनि गर्न सकेका हुदैनौँ । केही कारणले त्यो प्रवाहमा अवरुद्ध भयो भने त्यहाँ असामान्य अवस्था हुन्छ र त्यसले अस्वाभाविक तरङ्ग पैदा गर्छ । त्यसले शरीरको कुनै भागमा झड्का हुने वा पूर्ण रुपमा बेहोस हुने गर्दछ, त्यसलाई नै हामी छारेरोग भन्ने गर्छौं । मस्तिष्कको जुन भागको नसामा छारे रोगको असर पर्छ त्यही भागमा लक्षण देखिने गर्दछ । छारे रोग भनेको मस्तिष्कबाट उत्पन्न हुने एक प्रकारको रोग हो । यस रोगमा मस्तिष्कमा क्षणिक खराबी उत्पन्न हुँदा होस हराउने, लड्ने, बेहोस हुने, कम्पन हुने, चोटपटक लाग्नसक्ने हुन्छ । छारेरोगमा बेहोसै हुनुपर्छ भन्ने छैन । यस्ता बिरामीको कुनै अङ्ग अस्वाभाविक रुपमा चल्ने, आँखा फर्फराउने, कोही बेहोस नै हुने हुन्छन् । कतिपयले जिब्रो टोक्ने, आँखा बाङ्गिने, मुखमा फिज आउने, र्याल आउने, ओठ टोक्ने, घाँटी बटार्ने, शरिर काठजस्तै कडा बनाउने गर्छन् । कतिपय क्षणमा दिसा पिसाब समेत नियन्त्रणमा हुँदैन । सामान्यतयाः यस्तो अवस्था २०–३० सेकेण्ड रहन्छ र विस्तारै पहिलेकै अवस्थामा आउँछन् । नेपालमा कति मानिस यस रोगबाट ग्रसित छन् भन्ने यकिन तथ्याङ्क छैन । विश्व स्वास्थ्य संगठनले कुल जनसङ्याको एक प्रतिशतलाई छारे रोग हुन्छ भनेको छ। त्यस आधारमा नेपालमा साढे तीन लाखभन्दा बढी छारे रोगका बिरामी रहेको अनुमान गर्न सकिन्छ।विश्वभरि ५० मिलियन मानिसलाई छारे रोग छ। त्यसको ८० प्रतिशत समस्या हाम्रो जस्तो देशहरूमा छ। छारेरोग विश्वमा नसासम्बन्धी रोगहरुमध्ये पहिलो स्थानमा रहेको छ । नेपालमा छारेरोग ठूलो जनस्वास्थ्य समस्याको रुपमा रहेको पाइन्छ । छारे रोगकै कारण कतिपय बालबालिकाले बीचमै विद्यालय छाडेका छन् भने कतिपयले रोजगारी गुमाएका छन् । अझ महिलाहरुमा यो जटिलता अझ बढी रहेको पाइन्छ । बिबाह नै नहुने, भइहाले पनि पारिवारिक विचलन आउने गरेको देखिन्छ । नेपालमा छारेरोग भएकामध्ये ७० प्रतिशत मानिसले उपचारबाट बञ्चित छन् । जबकि, उपचार गरियो भने छारेरोग लागेकामध्ये ७० प्रतिशतको रोग निको हुन सक्छ भने बाँकी ३० प्रतिशत बिरामीले आफूलाई छारेरोग भएको पत्तो नै पाएका छैनन् । उनीहरुलाई औषधिको सेवनबाट रोगलाई नियन्त्रणमा राख्न ससकिन्छ । कतिपय बिरामी चिकित्सकको सम्पर्कमा आउन नचाहने हुन्छन् । अझै पनि गाउँघरमा यसलाई लुकाउने, झारफुक गर्ने जस्ता प्रवृत्ति रहेको छ । कति बिरामीले आफूखुसी औषधि छोड्ने गर्दा पनि रोग निको हुन गाह्रो हुन्छ।यसबारे जनचेतना, विज्ञ र उपचारको सहज पहुँच नुहँदा यो गम्भीर समस्याको रुपमा रहेको छ । कस्ता व्यक्तिमा लाग्दछ ? यो रोग यति नै उमेर समूहको मानिसमा लाग्छ भन्ने छैन, मान्छेको जन्मदेखि अन्तिम अवस्थासम्म पनि छारेरोग हुनसक्छ । किनकी यो रोग मस्तिष्कको विकारका कारण हुने गर्दछ । खासगरी १२ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहलाई यसले बढी देखिएको छ । कतिपय व्यक्तिमा जन्मजात नै मस्तिष्कमा अनेक दागहरु हुन्छ । बच्चाको दिमागमा अक्सिजन नपुग्ने, दिमागमा जुकाको कारण हुने सङ्क्रमण, क्षयरोग वा प्यारासाइटर भएमा, मस्तिष्क रक्तश्राव वा मस्तिष्कघात हुँदा पानी जमेमा, ट्यमर भएमा, चोट लागेमा छारेरोग हुने उच्च सम्भावना रहन्छ । यस्ता बिरामीलाई शल्यक्रियाबाट निको पार्न सकिन्छ । रोगको उपचार विधि के के छन् ? यस्ता लक्षणहरूको आधारमा बिरामीको परीक्षण हुन्छ र त्यसकै आधारमा उपचार गरिन्छ । नियमित रूपमा औषधि प्रयोग गरेमा ७० देखि ८० प्रतिशत निको हुन्छ। छारेरोगलाई लापरबाही भने गर्नु हुँदैन । यसले अन्य जटिल अवस्था ल्याउन सक्छ । सामान्यतः छारेरोगले मानिसको ज्यानै लिने नभएपनि यसले बिरामीको व्यक्तिगत, पारिवारिक र सामाजिक रुपमा निकै ठूलो असर पारेको हुन्छ र उनीहरुको व्यक्तित्व विकासमा अवरोध सिर्जना गर्दछ । यस्ता बिरामीलाई एक्लै बाहिर जान नदिने, अन्य व्यक्तिसरह जोखिमपूर्ण काममा नलगाउने जस्ता कारणले उनीहरु थुप्रै अवसरहरुबाट बञ्चित हुनु पर्दछ । सबैभन्दा पहिले त औषधिबाटै छारे रोगको उपचार गरिन्छ । औषधिको सेवनले पनि निको भएन भने शल्यक्रियामार्फत पनि उपचार गरिन्छ । यसमा दुईवटा परीक्षणबाट रोगको पहिचान गरीशल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भनेर थाहा पाउन सकिन्छ । पहिलो मस्तिष्कको एमआरआई हो । यसका लागि एमआरआईको प्रोटोकलअनुसारको परीक्षण गरिनुपर्छ । दोस्रो इइजी अर्थात मस्तिष्कको चाल हेर्ने । यी दुवै परीक्षणबाट ७५ देखि ८० प्रतिशत मात्र कारण पत्ता लाग्न सक्छ । अझै २५–३० प्रतिशतमा के कारणले छारेरोग लागेको हो भन्ने थाहा हुन सकेको छैन । यस्ता खालका बिरामीलाई लामो समयसम्म छारेरोगको औषधि खुवाउनुपर्छ । उनीहरुलाई दुई वर्षसम्म औषधि दिएर त्यसको प्रभाव हेरेपछि विस्तारै बन्द गर्ने गरिन्छ । कतिपयमा दोहोरिएको पनि छ । त्यसरी दोहोरिएको अवस्थामा उनीहरुले जीवनभर नै औषधि खानुपर्ने हुन्छ । औषधिले पनि निको नभए भिएनएस (भेगर्स नर्भ स्टिमुलेशन) प्रविधिबाट उपचार गरिन्छ । भिएनएस भन्नाले एक किसिमको उपकरण हो, जसलाई सामान्य शल्यक्रिया गरी शरिमा जडान गरिन्छ । यो प्रविधि निकै महंगो छ । नेपालमा सामान्यतः यसको मूल्य १३/१४ लाख रुपैया पर्न आउँछ । विश्वमा यस प्रविधिको विकास भएको दुई/तीन वर्ष मात्रै भएको छ भने नेपालमा भित्रिएको छ/सात महिना मात्रै भएको छ । हाल यो सुविधा बीर अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र नर्भिक अस्पतालमा मात्रै उपलब्ध छ । छारेरोगका बिरामीले नियमित औषधि खानुपर्ने भएकाले सरकारले सकेसम्म निःशुल्क उपलब्ध गराउन पहल गर्नुपर्ने, त्यसो नभए पनि केही अनुदान दिन सके विपन्न वर्गका जनतालाई निकै सहज हुने देखिन्छ । छारेरोगबाट बच्ने कसरी ? कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु नै सबैभन्दा उपयुक्त बाटो हो । तर यसो भन्दैमा सबै मानिस निरोगी हुन्छन् भन्ने पनि होइन । अन्य रोगजस्तै छारेरोगबाट पनि मानिस ग्रसित हुने गर्दछ । छारेरोगबाटबच्नका लागि केही उपायहरुमा ध्यान दिन सकिन्छ । –गर्भावस्थामा र बच्चा जन्मिने बेला विशेष ध्यान दिनुपर्छ । यस्तो बेला बच्चाको मस्तिष्कमा चोट लाग्नसक्छ र त्यसले पछि बच्चा छारेरोगी हुन पुग्छ । –रक्सीको सेवन गर्ने व्यक्तिमा यो रोग लाग्ने सम्भावना उच्च हुन्छ । रक्सीसेवन गरेपछि जहाँसुकै लड्ने हुँदा मस्तिष्कमा चोट लाग्नसक्छ र त्यसले छारेरोग हुन सक्छ । –सवारीसाधन चलाउँदा सावधानीपूर्वक चलाउनुपर्छ । कुनै दुर्घटना हुँदा टाउकोमा चोट लाग्न गएमा रक्तश्राव वा रगत जम्न गई छारेरोग हुने सम्भावना रहन्छ । –छारेरोगबाट बच्ने अर्को उपाय भनेको पक्षघातबाट बच्नु भनेको पनि हो । त्यसैले पक्षघातबाट बच्न राम्रो खानपान, व्यायाम गर्ने, मोटोपन घटाउनुपर्छ । –मधुमेह तथा उच्च रक्तचाप हुनबाट बच्न सके पनि छारेरोगको जोखिम धेरै हदसम्म कम हुन्छ । अरुको भूमिका कस्तो हुनुपर्छ ? छारेरोग जोकोहीलाई पनि हुनसक्ने हुँदा उनीहरुलाई नकारात्मक व्यवहार नगरी मित्रवत् व्यवहारको खाँचो पर्दछ । उनीहरुमा उच्च मनोबल ल्याउनुपर्छ । छारे रोगको समस्या भएको मान्छेले त्यसलाई नियन्त्रण गर्न सक्दैनन् । केहीजानी बिरामी ढलेको छ भने उसको वरपर भएको चोट लाग्ने वस्तुलाई हटाइदिनुपछ, ताकी टाउकोमा चोट लाग्न नपाओस् । त्यस्तो अवस्थामा वरपरको व्यक्तिले उसलाई सम्हाल्नुपर्ने हुन्छ । ढलेको व्यक्तिको वरिपरि भीडभाड गरिदिनुहुँदैन । बरु यसलाई सजिलोसँग बस्न वा सुत्न सहज वातावरण मिलाइदिनुपर्छ । परिवार वा समाजमा कसैलाई छारेरोगको लक्षण देखिएमा चिकित्सककोमा लैजाने वा जाने सल्लाह दिनुपर्छ । जुनसुकै समयमा पनि छारेरोगका बिरामीलाई छोप्ने हुँदा उनीहरुको साथमा परिचयपत्र भएमा आफन्तलाई सम्पर्क गर्न सजिलो हुन्छ । यस रोगका बिरामीलाई सही परामर्शले निको गर्न मद्दत पुग्दछ । मस्तिष्कका कतिपय भाग शल्यक्रिया गर्न नमिल्ने किसिमका हुन्छन्। त्यस्तो ठाउँमा शल्यक्रिया गर्दा रोग निको भए पनि मान्छेको बोली बन्द हुने, कान नसुन्ने, सोच्न नसक्ने जस्ता अनेक समस्या आउन सक्ने भएकाले चिकित्सकले विशेष ध्यान दिनुपर्छ । त्यसैले औषधि, परामर्श र शल्यक्रियाबाट  छारे रोगको उपचार हुन्छ । रासस (वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्रा डा झासँग गरिएको कुराकानीमा आधारित)