कस्तो हुनुपर्छ बैंकर्स संघको भूमिका ?
काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले हालै नयाँ नेतृत्व पाएको छ । बैंकर्स संघको नयाँ अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला चुनिएका छन् । कोइरालाको अध्यक्षतामा बनेको नयाँ बैंकर्स संघले कस्तो भूमिका खेल्ला ? अथवा खेल्नुपर्छ । बैंकर्स संघको आगामी कार्यभार के हो ? त्यसै विषय उपर यस लेख केन्द्रित छ । मूलतः बैंकहरू आफैमा नियमनकारी निकाय होइनन् । त्यसकारण बैंकर्स संघ नियमाकीय निकाय होइन । खासगरी बैंकहरूले आफ्ना आवाज, मुद्दा र हकहितका विषयमा संगठित रूपमा सरोकारवालासमक्ष राख्न बैंकर्स संघ जन्मिएको हो । देशको मूल पुँजीको बागडोर सम्हालेका कुल २० वाणिज्य बैंकहरूको यस छाता संगठन नियामक निकाय नभए पनि शक्तिशाली संस्था भने अवश्य हो । यस संस्थाले देशको मूल पुँजीको लागानीलाई कुन बाटोमा हिँडाउन प्रोत्साहित गर्ने, ग्राहक र बैंकहरूबीचको सम्बन्धलाई कस्तो बनाउने, अस्वस्थ प्रतिस्पर्धालाई कसरी न्युनीकरण गर्ने, अल्पकालीन तथा दीर्घकालीन खालका समस्याहरूमा छलफल गरी नियमाकीय निकाय नेपाल राष्ट्र बैंकसमक्ष पुर्याउने भूमिका हुन्छ । त्यसकारण बैंकर्स संघ नियमाकीय निकाय नभएर पनि महत्त्वपूर्ण संस्था हो । यस संस्थाको नेतृत्वकर्ताले आफ्नो क्षमता प्रर्दशन गर्न सक्दा बैंक र ग्राहकबीचको सम्बन्ध, बैंक र सरकारबीचको सम्बन्ध, बैंक र नियामकीय निकाय नेपाल राष्ट्र बैंकसँगको सम्बन्ध प्रगाढ हुनसक्छ । त्यतिमात्र होइन, देशको अर्थतन्त्रलाई टेवा दिने गरी बैंकहरूको लगानी प्राथमिकता सिर्जना गर्न बैंकर्स संघको अग्रणी भूमिका हुन सक्दछ। हाम्रोजस्तो कमजोर आर्थिक अवस्था भएको एउटा अल्पविकसित देशको पुँजीलाई क्रमशः उत्पादनमूलक क्षेत्रमा आर्कषित गर्दा देशलाई फाइदा हुन्छ । जसले गर्दा रोजगारीका अवसरहरू सँगसँगै सिर्जना हुन्छन् । वाणिज्य बैंकहरूको पुँजी कृषि, उत्पादन, उद्योग, पर्यटन, जलविद्युतजस्ता सम्भावना भएका क्षेत्रहरूमा धेरैजसो प्रवाह गर्न सकियो भने त्यसले आर्थिक बृद्धि र अर्थतन्त्रमा टेवा पुर्याउन सक्छ । त्यो भूमिका वा सेतुको काम बैंकर्स संघले गर्न सक्छ । बैंकर्स संघ आफूहरूलाई आइपरेका सानाठुला समस्याहरूमा मात्र केन्द्रित नभएर फराकिलो सोचसहित अघि बढ्न जरुरी छ । नयाँ संविधान बनेर संघीय संरचनामा देश गइसकेपछिका सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लगाएका छन् । यस्तोमा देश सम्मृद्ध बनाउने भूमिका बैंकहरूको अहम हुने गर्छ । उनीहरूको लगानी सही ठाउँमा हुनसक्यो भने देश समृद्ध हुनसक्छ । त्यसकारण बैंकर्स संघको नयाँ कार्य समितिले फराकिलो अवधारणा राखेर काम गर्नुपर्छ । रिसब गौतम । बैंकहरू कुनै निश्चित व्यक्तिहरूको निजी संस्था नभएर हजारौं लगानीकर्ताहरूको लगानीको साझा संस्था हो । त्यसकारण पनि बैंकहरूको सोच र सरोकार फराकिलो हुनुपर्छ । यसै पनि बैंकहरू सबै क्षेत्र, तह, तप्काका मानिसहरूसँग विविधतापूर्ण तवरले जोडिएका हुन्छन् । उनीहरूले सबै किसिमका समुदाय र मानिससँग उठबस, सहकार्य गर्छन् । फलस्वरुप उनीहरू फराकिलो अवधारणाले अघि बढ्न जरुरी छ । सीमित साहुको स्वार्थ सिद्धिको एजेण्डामा केन्द्रित भएर होइन, असीमित ग्राहक, सरोकारवाला, सेयरधनीको पक्षमा बैंकहरूले आफ्ना गतिविधि केन्द्रित गनुपर्छ । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रका लागि बनाउने ऐन, निर्देशिका प्रगतिशीलका साथै बैंकहरूको हितमा केन्द्रित गर्न भूमिका खेल्नुपर्छ । बैंकहरू राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिहरू, ऐन, नियम तथा निर्देशिकाहरू कार्यान्वयन गर्ने निकाय हो भने राष्ट्र बैंक नीतिहरू बनाएर कार्यान्वयन गराउने निकाय हो । त्यसकारण नेपाल बैंकर्स संघले राष्ट्र बैंकलाई सही र अत्यावश्यक नीतिहरू बनाउन गहन छलफलमार्फत सही सुझाव दिएर भूमिका खेल्नुपर्ने हुन्छ । र, नयाँ कार्यसमितिले त्यसतर्फ आफूलाई केन्द्रित गराउनु पर्छ । अर्को सरकारले ल्याउने हरेक बजेटहरू बैंकहरूसँग जोडिन्छन् । तर कतिपय सरकारले बैंकहरूमार्फत कार्यान्वयनमा ल्याउन चाहेका राम्रा कार्यक्रमहरू पनि बैंकहरूले अलिकति जोखिम र हिम्मत गर्न नसकेका कारण कार्यान्वयन भएका छैनन् । उदाहरणका लागि देशमा शैक्षिक बेरोजगारी बढिरहँदा बेलाबेला सरकारले बजेटमार्फत शैक्षिक प्रमाणपत्र धितोमा उद्यमी बन्नका लागि कर्जा दिइने भनेर कार्यक्रमहरू ल्याइरहेको हुन्छ । ती राम्रा र विदेशमा पनि प्राक्टिसमा आएका कार्यक्रमहरू हुन् । तर त्यस्ता कार्यक्रम कार्यान्वयन गर्न/गराउन बैंकहरूको प्रभावकारी भूमिका विगतमा देखिएन । बैंकहरू डराउने र राष्ट्र बैंकले पनि आवश्यक सहजीकरण नगरेका कारण बजेटमार्फत आएका राम्रा कार्यक्रमहरू पनि कार्यान्वयन भएका छैनन् । त्यस्ता कार्यक्रमहरू कार्यान्वयन गर्न नेपाल बैंकर्स संघको भूमिका हुनसक्छ । जसले देशमै रोजगारी, उत्पादन बढाएर आर्थिक क्रियाकलापलाई बढावा दिनसक्छ । फलस्वरूप आर्थिक गतिविधिहरू बढ्दा उद्यम तथा व्यावसायिक क्रियाकलापहरू बढ्दा अन्तत: बैंकहरूकै व्यवसाय विस्तार हुने हुन्छ । उनीहरूकै दायरा फराकिलो हुने हो । त्यसकारण नयाँ कार्यसमितिले नयाँ ढगंले काम अघि बढाउन जरुरी छ । बैंक टिक्ने र अर्थतन्त्र अघि बढ्ने आधार औद्योगिक क्षेत्रको विकास नै हो । रेमिट्यान्स स्थायी हुँदै होइन । अहिले ६० लाखभन्दा बढी युवायुवती विदेशिएका छन् भनिन्छ । समग्र अर्थतन्त्रमा घरेलु उद्योग-व्यवसायको योगदान ६/७ प्रतिशतभन्दा बढी छैन । मुलुक पूरै मजदुर उत्पादन गर्ने देशजस्तो भएको देखिन्छ । सीप, श्रम, साधन-स्रोत र पुँजीको परिचालनबाट औद्योगिक विकास हुन सकेको छैन । त्यस हिसाबले पनि बैंकहरूले औद्योगिक क्षेत्रमा, कृषि, उत्पादन र उद्योगहरूमा लगानी गर्न हिच्चकिचाइरहेका देखिन्छन् । उद्योगी वा व्यवसायी भनेका बैंकहरूका लागि पुँजी निर्माणका साधन हुन् । एउटा उद्योगीले कुनै बैंकमा आफ्नो मात्रै खाता खोलेको हुँदैन । उसका कर्मचारी तथा कामदारहरूको पनि खाता खोलिन्छ । उद्योगीले आयात तथा निर्यातका माध्यमबाट राज्यको आर्थिक गतिविधिलाई चलायमान बनाएका हुन्छन् । त्यसकारण बैंकको उद्योगी व्यवसायीसँगको सम्बन्ध बढी महत्त्वपूर्ण हुन्छ र हुनुपर्छ । विगतमा खालि साहु र आसामी मात्रैको सम्बन्ध बैंक र ग्राहकबीच हुन्थ्यो । त्यस्तो धारणामा बिस्तारै परिवर्तन भएर आएको छ । समाजप्रति, ग्राहकप्रति, सरकारप्रति, उद्योग कलकारखानाको विकासप्रति बैंकको उत्तिकै दायित्व हुन्छ, जो बढेर गएको छ । नेपालमा खासगरी उद्योग-व्यवसायको क्षेत्र कमजोर भएको, त्यो क्षेत्रको कारोबारको आकार बढ्न नसकेका कारण पनि बैंकहरूले त्यो क्षेत्रलाई विश्वास गर्न सकिरहेका छैनन् तर अब नेपालमा बैंकहरूले जसरी आफ्नो विकास र फैलावटलाई विस्तारित गर्दै लगेका छन्, त्यही हिसाबमा उत्पादनमूलक उद्योग र व्यवसायका क्षेत्रमा लगानी विस्तार हुनुपर्छ । केही वर्षयता बैंक र व्यवसायीबीचको सम्बन्ध त्यति हार्दिक छैन । तर पनि पछिल्ला केही महिनायता लगातार घटेको कर्जाको ब्याजदरसँगै बैंक र व्यवसायीबीच सम्बन्धमा केही सुधार हुन थालेका छन् । तर कोरोना महामारी र आर्थिक मन्दीको प्रभावले गलेका उद्यमी व्यवसायीको व्यावसायिक मनोबल बढ्न सकेको छैन । आजको मितिमा बैंकहरूसँग ६ खर्ब अधिक तरलता रहँदा पनि व्यवसायिकहरू ऋण माग्न बैंकसमक्ष गएका छैनन् । विगत केही वर्षमा मंसिर लागेसँगै बैंकहरू तरलता संकटको मारमा हुन्थे । त्यो क्रम निकै वर्ष चल्यो । तर अघिल्ला वर्षहरूमा देशका ठुला भनिएका धेरै सहकारीहरू धराशाही भए, सहकारी क्षेत्र ठगहरूको चंगुलमा फसेसँगै त्यो क्षेत्रमा गएका निक्षेप बैंकहरूमा फर्किएका छन् । त्यसकारण पनि बैंकहरूमा तरलता चुलिएका हुन् । अर्को राष्ट्र बैंक अलिक कडा हुँदा बैंकहरू ऋणीमार्फत ब्याज र किस्ता असुल्ने कुरामा त्यसरी नै प्रस्तुत हुँदा बैंक र ब्यवसायीबीच सम्बन्ध बिग्रिएको हो । त्यसलाई पुनर्ताजकी गर्ने र हार्दिकतातर्फ अग्रसर बनाउन बैर्कस संघले भूमिका खेल्नुपर्छ । २ वर्षअघिसम्म पनि बैंकहरूको ब्याजदरलाई लिएर बेलाबेला व्यवसायीले आन्दोलन गर्थे । व्यवसायीले बेलाबेला बैंकहरूको ब्याजदर चर्को भयो भन्दै घटाउन प्रधानमन्त्रीलाई नै हार-गुहारेर गरिरहेका हुन्थे । खासगरी बैंक र व्यवसायीबीच प्रगाढ सम्बन्ध नभएकै कारण त्यो आन्दोलन भएको थियो । यी दुई पक्षबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध हुँदा मात्र उद्योग क्षेत्रले प्रगति हासिल गर्न सक्छ । उद्योग क्षेत्रको प्रगति हुँदा मात्रै उनीहरूको बैंकसँगको कारोबार बढ्ने र बैंकको पनि नाफा बढ्ने अवस्था सिर्जना हुन्छ; तर यहाँ लय मिलेको छैन । बैंकहरूले दीर्घकालीन सोच राख्न सकेका छैनन् । अल्पकालीन उपलब्धि र नाफामा रमाइरहेका छन् । उत्पादनमूलक उद्योगहरूमा सहुलियत ब्याजदरको कर्जा प्रवाह गरेर स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउनेबारे सोचेकै छैनन् । त्यो सोच हुँदा मात्रै बैंकहरूको मुनाफा र गतिविधि दीर्घकालमा चलायमान हुन सक्छन् । त्यसकारण नमिलेका धेरै कुराहरू मिलाउने सेतुको भूमिकामा बैंकर्स संघ अगाडि आउनुपर्छ । सन्तोष कोइराला नेतृत्वको नयाँ कार्यसमिति जहाँ ग्लोबल आइएमई बैंकका सिईओ सुरेन्द्रराज रेग्मी उपाध्यक्ष, प्रभु बैंकका सिईओ अशोक शेरचन, सानिमा बैंकका सिईओ निश्चलराज पाण्डे, प्राइम बैंकको सिईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सिईओ सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका सिईओ रामचन्द्र खानाल, एभरेष्ट बैंकको सिईओ सुदेश खालिङ, नेपाल बैंकको सिईओ तीलकराज पाण्डे कार्यसमिति सदस्य रहेका छन् । त्यसैगरी, निवर्तमान अध्यक्ष एवं एनएमबि बैंकका सिईओ सुनिल केसी कार्यसमितिको पदेन सदस्य रहेका छन् भने पूर्वअध्यक्षहरू हिमालयन बैंकका सिईओ अशोकशमशेर राणा र नविल बैंकको सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना नयाँ कार्यसमिति सल्लाहकार रहेका छन् । त्यसले आफनो कार्यभार प्रभावकारी रूपमा पुरा गरोस् । शुभकामना !
सातै प्रदेशमा केबलकार, पर्यटकको बसाइँ एक साता
सुदूरपश्चिम प्रदेशको पहिलो केबलकार परियोजना, जालपादेवी केबलकारको शिलान्यास गर्न पाउँदा अत्यन्तै उत्साह र गर्व महशुस भएको छ । पर्यटन पूर्वाधारको विकासमार्फत जनजनलाई जोड्दै, मुलुकको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको बाटो पहिल्याउने दृढ संकल्प र उच्च उद्देश्यसहित आईएमई समूह सात वटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माणमा लागि रहेको छ। यसै सिलसिलामा हामीले काठमाडौंको चन्द्रागिरि र पूर्वी नवलपरासीको गैँडाकोटमा मौलाकाली केबलकार, होटल तथा रिसोर्ट र अन्य मनोरञ्जनात्मक पूर्वाधारसहितको गन्तव्य सञ्चालनमा ल्याइसकेका छौँ । रूपन्देहीको बुटबलमा केबलकार सञ्चालनमा आइसकेको छ भने पाँचतारे होटलसहित अन्य पूर्वाधार निर्माणको क्रममा रहेको छ । त्यसैगरी ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि केबलकार निर्माणको अघि बढेको छ । चन्द्रागिरिमा बनेको विशाल पूर्वाधारले केबल ५ सयले प्रत्यक्ष रोजगारी मात्र सृजना गरेको छैन, यसले समग्र चन्द्रागिरि र यसको वरिपरि आमूल परिवर्तन ल्याएको छ । दैनिक औसत ३ हजार हाराहारीमा मानिसको आवतजावत हुँदा आर्थिक क्रियाकलाप बढेका छन् । स्थानीयको व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । उनीहरूको जीवनस्तरमा सुधार आएको छ । चन्द्रागिरि स्वदेशी तथा विदेशी पर्यटककै एउटा नवीन र आकर्षक गन्तव्य बनेको छ । नेपाल भ्रमणमा आउने उच्च विदेशी पाहुनाका लागि थप एक दिन बिताउने गन्तव्य बनेको छ । बालबच्चादेखि जेष्ठ नागरिकसम्मलाई एकपटक पुग्नै पर्ने पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको छ । बुटवल र गैडाकोटमा पनि चन्द्रागिरि जस्तै सयौँ स्थानीयले रोजगारी पाएका छन् । आर्थिक गतिविधि विस्तार भएका छन् । धेरै स्थानीय, भारतीय र अन्य विदेशी पर्यटकलाई नयाँ गन्तव्य बनेको छ । हामीले चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर अगाडि बढेका छौँ । यो हाम्रो प्रयासबाट नेपाल आउने पर्यटकको बसाइ कम्तिमा ७ दिन लम्बियोस् भन्ने हाम्रो उद्देश्य हो । यसै सिलसिलामा सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको संगमस्थल यस कर्णाली चिसापानीमा जालपादेवी केबलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र समृद्धिमा कोशेढुङ्गा साबित हुनेमा विश्वास छ । अहिले मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाइ निकै कम छ । र, यो प्रतिदिन झन् घट्दो छ । विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्याङ्क छ । हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरूको नेपाल बसाइ र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ । संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक भूगोलको अवलोकन लागि नेपालमा पर्यटक आउने गर्छन् । त्यस्ता पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्छ भन्ने मेरो सुझाव हो । यी कार्यहरुमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुन्छ । हामीलाई प्रकृतिले अपार बरदान दिएको छ । पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्नसक्ने सम्भावना अनगिन्ति छन् । त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौँ, र प्रविधि र पुँजी जोड्न सक्यौँ भने साँच्चिकै मिराकल गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । निजी क्षेत्र निश्चय पनि यो मुलुकको विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ । हामीले पटकपटक यसको पुष्टि पनि गर्दै आएका छौँ । अनुकूल वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । अहिले मुलुक संघीय संरचनामा छ । हरेक प्रदेश तथा स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसका लागि प्रदेश र स्थानीय तहहरु बिच लगानीकर्ताहरुलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने, ठोस र व्यवहारिक नीति मार्फत सहजीकरण गर्ने र आफ्नो प्रदेश तथा स्थानीय तहमा धेरै भन्दा धेरै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने हो । तबमात्र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल हुन सक्छ । सबै स्थानीय तहहरुले दीर्घकाललाई लक्षित गरी यस्ता संरचनाहरु बनाउन जरुरी छ । लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्था आवश्यक पर्छ । तब मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ । हाम्रो मुलुकको सम्भावनाको क्षेत्र भनौँ वा कुनै क्षेत्रले मुलुकको कायापलट गर्न सम्भव छ भने त्यो पर्यटन नै हो । पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाइ लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ । पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ । जालपादेवी केबलकार आयोजनाले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ । गरिबी घटाउने छ । मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि आउने छ । आखिर हामी सबैका अपेक्षा पनि यिनै होइनन् र ? सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने ? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै मैले समय समयमा सरकारलाई निजी क्षेत्रको बिना लगानीको पार्टनर भन्ने गरेको हुँ । निजी क्षेत्रले निर्माण गर्ने हरेक आयोजनाले दिने सेवा, सुविधा र यससँग जोडिने अर्थोपार्जन सबै राज्यको दायित्व मै पर्ने विषय हुन् । निजी क्षेत्रले निर्माण गर्ने यिनै भौतिक पूर्वाधार र प्रदान गर्ने सेवाले राज्यको स्टाटस बढ्ने हो । राज्य विकसित हुने आधार पनि यिनै हुन् । निजी लगानीलाई प्रोत्साहन हुने, निजी क्षेत्रलाई विस्तार र विकास गर्न दिने र उनीहरुको मान, मर्यादा र मनोबल उच्च हुने हो भने निजी क्षेत्रले नै हो विकास, आर्थिक सम्मृद्धि र समुन्नति ल्याउने । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले संघीय, प्रदेश तथा स्थानीय सरकारहरुलाई मेरो यो आग्रह तथा सुझाव छ । जालपादेवी केबलकार आधुनिक विकास र आर्थिकरुपमा अन्य प्रदेशको तुलनामा अलि पछि रहेको सुदूरपश्चिम प्रदेश मलाई भने निकै सुन्दर र अलौकिक लाग्छ । यस प्रदेशका रामारोशन, बडीमालिका, खप्तड, शुक्लाफाँट, चिसापानी पुल आफैँमा धेरै सुन्दर गन्तव्य हुन् । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने कुरामा कसैको पनि दुई मत हुँदैन भन्ने मेरो विश्वास छ । पवित्र कर्णाली नदीमा जल पर्यटन विकासको प्रचुर सम्भावना छ । कर्णाली नदीमा र्याफ्टिङ, यस क्षेत्र आसपासका धेरै पहाडहरु प्याराग्लाइडिङ र ट्रेकिङ तथा बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारीसहित परम्परागत थारु संस्कृतिको प्रवद्र्धन गर्न सकेमा यो क्षेत्रको भौतिक, आर्थिक र सामाजिक विकासले साच्चै नै फड्को मार्न सक्छ । यसका लागि आज शिलान्यास गरे जस्ता धेरै भन्दा धेरै पर्यटन पूर्वाधारको खाँचो मैले देखेको छु । विगत केही वर्षदेखि नेपाल र नेपालका हिल स्टेशनहरु भारतीय पर्यटकको रोजाइका गन्तब्य बन्दै आएका छन् । सप्ताहन्त होस् वा विदामा मनोरञ्जनका लागि आउने होलिडे पर्यटक हुन् वा मिटिङ्ग, इन्सेन्टिभ, कन्फ्रेन्स, एक्जिबिसन हुन् वा डेस्टिनेशन वेडिङ, अहिले नेपालका धेरै पर्यटकीय गन्तब्यहरु भारतीय पर्यटकको पहिलो रोजाइमा पर्ने गरेका छन् । तर, एयर कनेक्टिभिटि र आवश्यक अन्य भौतिक पूर्वाधारको अभावले ती पर्यटकहरु नेपालमा ल्याउन नसकेको यथार्थ छ । अहिले हामी हाम्रो छिमेमी मुलुक भारतको सिमाबाट करिब २ घण्टाको ड्राइभिङ दूरिमा छौँ । भारतीय सिमादेखि सजहै आउन सकिने र पूर्व पश्चिम राजमार्गको छेवैमा रहेको यस केबलकार र रिसोर्टले ती पर्यटकको केही हिस्सा मात्र पनि आकर्षित गर्न सकेमा यस जिल्लाको मात्र होइन यस सुदूरपश्चिम प्रदेश र समग्र नेपालको पर्यटनको क्षेत्रमा अकल्पनीय फड्को मार्न सक्नेछौँ । हामीले निर्माण गरिरहेका यसअघिका पूर्वाधारहरु जस्तै यहाँ पनि हामी स्थानीय सहभागिताकै मोडल अपनाएका छौँ । किनभने अब यो संरचना यहाँहरुको पनि साझा सम्पत्ति हो । यो आयोजनामा सहभागीताका लागि हामीले आग्रह गरेका छौँ । यहाँहरु पनि कम्पनीमार्फत् यस आयोजनामा सहभागी हुन सक्नुहुनेछ । यस चिसापानी क्षेत्रको इतिहास र महत्वलाई चिनाइ रहनुपर्दैन । चिसापानी क्षेत्र आफैँमा सुन हो, यो केबलकार आयोजनाले यसमा सुगन्ध थप्ने हाम्रो अपेक्षा छ । त्यसैगरी तीन प्रदेशको संगम स्थल तथा डल्फिन र र्याफ्टिङमा प्रसिद्ध कर्णालीको यो किनार ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्यटनको त्रिवेणी बन्नेछ भन्नेमा हामी पूर्ण रुपमा विस्वस्त छौँ । (ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् । जालपादेवी केवलकार शिलान्यास समारोहमा दिएको मन्तव्य)
औषधीको प्रयोग गरी तौल घटाउँदा स्वास्थ्यमा असर, धनको पनि नाश
‘तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने’, ‘कपालमा भरिसकेका रौँहरु फेरि पलाउने’, ‘अनुहारमा भएका चायाहरु हट्ने फेरि जवान हुने’ आदि कामका लागि विभिन्न सञ्चारमाध्यममा अनेकौँ विज्ञापनहरु हेर्न, पढ्न र सुन्न सकिन्छ । कतिपयले ती विज्ञापनमा विश्वास गरी त्यस्ता सामग्री किनेर प्रयोग गर्दा आर्थिक हिसाबले नराम्ररी ठगिनु मात्र परेको छैन, त्यसले स्वास्थ्यमा गम्भीर जटिलता पनि ल्याएको छ । असम्भव कुरामा विश्वास गर्नु हुँदैन भन्ने थाहा पाउँदापाउँदै पनि विज्ञापनको जालोमा धेरै मानिस फसिरहेका छन् । विशेषगरी मानिसमा रहेका केही कमजोर पक्षहरुलाई समात्न विज्ञापन गर्ने संस्था र गर्न लगाउने कम्पनीले अनेक आकर्षक कुराहरु गरेर झुक्याउन सफल हुन्छन् । त्यही कमजोर पक्षलाई पकडेर गरिने विज्ञापन माछा जालमा फसे झैं हामी फसिरहेका हुन्छौँ । उदाहरणका लागि ‘मोटो मानिसका लागि खानेकुरा कम नगरे पनि हुने, व्यायाम गर्न नपर्ने, नथाकिने, खाली एक क्यापसुल औषधि बिहान बेलुका खाए पुग्ने’ जस्ता विज्ञापनले त मुटुमा यसरी छुन्छ कि मोटा व्यक्तिहरु त्यस्तो औषधि जताबाट पाउन पनि लालायित हुन्छन् । त्यस्तै प्रकारले ‘कम्मर पेटी बाँधेर केही छन बसेपछि पसिना निस्कन्छ अनि कम्मर त एक इन्च घटिहाल्छ’ भन्ने जस्ता लोभलाग्दो कुरा विज्ञापनमा भनेपछि कम्मर घटाउन चाहने मानिस दौडेर त्यो पेटी किन्न तयार हुन्छ । त्यसरी नै ‘छाला गोरो पार्न जिन्दगी सफल पार्न’ भन्दै थरिथरिका क्रिमहरुको विज्ञापन गरिन्छ, त्यसले विरामी फाइदा नपुगे पनि सम्बन्धित कम्पनीलाई राम्रै आम्दानी हुन्छ । यति हुँदाहुँदै पनि हामीहरुमध्ये धेरैले विज्ञापनमा भनिएका कुराहरु कति सत्य हुन् भन्ने कुरामा कहिल्यै सोचेका हुँदैनौँ । मोटोपन घटाउन वा औषधि वा कम्मर घटाउन बेल्टले कति सहायता दिन्छ होला त ? शरीरभित्र रहेको बोसो एकैचोटी पगाल्ने कुनै औषधि हुँदैन । यदि त्यस्तो हुँदो त अमेरिकामा २५ प्रतिशत जनसंख्याले त्यो औषधि प्रयोग गर्थे होलान् । कम्मर पेटी बाँधेर पसिना निस्कँदा कम्मरको नाम ३४ इन्चबाट ३३ इन्च हुँदो हो त, त्यस्तो खालको कम्मर पेटीको उत्पादन गर्ने कम्पनी हजारौँको सङ्ख्यामा हुने थिए होला । किनभने एक दिनमा एक इन्च घट्ने कम्मर १० दिनमा १० इन्च घट्दैन थियो होला त ? शरीरको कम्मरको नाप १० दिनमा १० इन्च घट्न शरीरको तौल कति कम हुनुपर्छ होला ? १० दिनमा के आश्चर्यजनक रुपले ‘केही नगरिकन’ तौल कम होला र ? तैपनि किन मानिसहरुले विश्वास गर्छन् र प्रयोग गर्छन् । विज्ञापनमा भनेका कुरा एक दिन–दुई दिन वा एकै दिनमा दशौँ चोटी सुनेपछि जो कोहीलाई पनि ‘हो कि, हो कि’ जस्तो लाग्न थाल्छ । त्यसमाथि पनि साँच्चीकै कुनै मानिसले त्यसमाथि पनि सुडौल खालकी महिलाले आएर ‘आफू पहिला मोटी भएको, तर औषधि खाएर वा कम्मरपेटी लगाएर पातलो भएर जीवन नै अर्को भएको कुरा’ भनेपछि विश्वास नगर्ने पनि कसरी ?’ भन्ने भावना आउँछ । हो यही भावनालाई पकडिएका छन् विज्ञापन निर्माता कम्पनीहरुले । यदि साँच्ची नै यसरी औषधि र पेटीको कारणले पातलोपन आउँदो हो त डाक्टरहरु त्यसमाथि पनि मुटु रोग विशेषज्ञहरुले बिरामीलाई यिनै औषधी वा पेटी किन्न लगाउँथे । चिनीका रोग भएको मोटा व्यक्ति, मुटुको रोग भएर तौल घटाउनु भन्ने रोगीलाई खानेकुरा कम गर्ने, व्यायाम गर्ने आदिको ठाउँमा यस्ता विज्ञापनको बढी काम लाग्थ्यो होला । उमेर बढ्दै जाँदा जीवनशैलीका कारणले (विशेषगरी बौद्धिक काम गर्ने) व्यक्तिहरुलाई त यही पेटी र औषधि प्रयोग गर्नु भन्ने बारेमा विशेषज्ञले बोल्थे होलान् । मोटो मानिसलाई खानेकुरा कम खाएर र व्यायाम गरेर महिनौँ लाग्ने काम त औषधीको एउटा चक्कीले हुने भए किन शारीरिक र मानसिक दुःख गरिरहनु पथ्र्यो र ? यदि साँच्चै यस्तो हुँदो त बिहानबिहान उठेर ‘मर्निङ वाक’ वा जीम गर्नेहरुले बिहानको मीठो निद्रा छोडेर गर्मी, जाडो, पानी नभनी किन दुःख गर्थे होलान् ? आधुनिक समाजमा मानिसहरुलाई विश्लेषण गर्ने समय छैन, विज्ञापनमा भनेको कुरा सुन्दासुन्दा हो जस्तो लाग्छ र फेरि त्यस्ता गलत विज्ञापनहरुको विरुद्धमा कसैले नबोल्ने र नलाग्ने हुनाले मानिसहरुलाई त हो न हो यो कुरा साँच्चीकै जस्तो लाग्छ ? मुटुरोग विशेषज्ञ डा. प्रकाश रेग्मीको विचारमा यसरी औषधि प्रयोगबाट तौल घटाउँदा शरीरमा धेरै हानी गर्छ । यस्ता औषधिहरुले केही समयको लागि घटाए जस्तो हुन्छ तर वास्तवमा शरीरको पानी गएर तौल घटेको अनुभव हुन्छ । पसिना शरीरबाट गएर, पेटी बानेर ठूलो भइन्छ भन्ने त वाहियात विज्ञापन हो । विज्ञापनको अर्को पक्ष देखिन्छ विभिन्न थरिका सौन्दर्य सामग्रीमा । उमेर बढ्दै जाँदा हुँदै जाने शारीरिक भित्री र बाहिरी परिवर्तनहरु रोक्छन्, वा प्रकृतिबाट लिएर आफ्नो छालाको रङ फेर्न सकिने भन्ने गरी जसरी विज्ञापन दिइन्छ, त्यसले एउटा त गलत ज्ञान वा कुराहरु भनिरहेको हुन्छ, अर्को मानवीय दृष्टिकोणले पनि कुनै खास वर्णका मानिसहरुले सोही कारणले जीवनमा सफलता प्राप्त गर्न सक्दैनन् भन्ने जस्ता विचार पनि दिइरहेका हुन्छन् । शरीरको छालाको बनोट र रङ हामीहरुले जन्मेदेखि लिएर आएका हुन्छौँ । यसलाई बाहिरी वस्तुहरु लेपन गरेर रङ् परिवर्तन गर्न सकिँदैन । कुनै रोग लाग्यो भने जस्तो छालाको ‘ल्यूकोडर्मा’ जसमा छालाको रङ दिने वस्तु–मेलानिन कम हुँदै जान्छ भने छालाका रङ बदलिन्छ । तर छालाको रङ कालोबाट गोरो हुने वस्तु चाहिँ हुँदैन । तर ‘गोरो’ हुनुपर्ने र गोरो भएपछि केटा र केटीले एक अर्कालाई मन पराउँछन् भन्ने जस्ता विज्ञापन दिएर सौन्दर्य सामग्री बनाउने कम्पनीले मालामाल हुने कारण पनि हाम्रो विश्वास हो । डा. अरुणा उप्रेती विज्ञापनबाट प्रेरित भएर हामी शरीरको छालालाई सफा राखेर, व्यायाम गरेर, पोषणयुक्त खाना खाएर स्वस्थ राख्नको सट्टामा सौन्दर्य सामग्री किनेर, लेप लगाएर राम्रो (गोरी) देखिन चाहन्छौं । तर यस्ता सौन्दर्य सामग्रीहरुको प्रयोग कति ठीक हो, विज्ञापनमा भनिएका कुरा कति सत्य हो, लामो समयसम्म यसको प्रयोग गरेपछि के हुन्छ भन्ने बारेमा हामी कहिले सोच्दैनौं । छाला रोग विशेषज्ञ डा. बिमला ओझा भन्नुहुन्छ, ‘यस्ता विज्ञापनहरु गलत सौन्दर्य र वैज्ञानिक दृष्टिकोणले पनि ठीक छैन । मानिसको शरीर स्वस्थ रह्यो भने अनुहारको चमक आफैं आउनेछ । यस्ता विज्ञापनहरुले गलत सन्देश दिन्छन् ।’ त्यसरी नै विज्ञापन दिएर हाम्रो अर्थ व्यवस्थालाई कमजोर बनाउँदैछ खानेकुराको विज्ञापनले । विशेषगरी बच्चाहरुको खानेकुराको विज्ञापन विभिन्न रेडियो, टिभी, पत्रपत्रिकामा आउने यस्ता विज्ञापनहरुले गलत सूचना त दिइरहेका नै हुन्छन् । विश्व स्वास्थ्य सङ्गठनले हानीकारक, प्रयोग नगर्ने, यस्तो किसिमको सूचना दिन नहुने जस्ता बनाएका नियमहरुलाई पनि बेवास्ता गरिरहेका छन् । फलफूलको रसहरु ताजा फलफूलले बनाइएका बट्टामा बन्द गरी केही बाहिरी वस्तु नमिसाइएको, स्वस्थ भनेर प्रचार गरिन्छ र फलफूलको सट्टामा राखिएको रस हामी साँच्ची नै फलफूलको रस भनेर ल्याउँछौं । तर विचार गर्नुस् त ? के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ताजा रहिरहन सक्छ ? अर्को कुरा फलफूलका रस बनाएर राख्दा त फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन् भने अर्कोतिर कहिले बनाएर राखेको र बासी फलफूलको रस चाहिँ सधैं ताजा रहन्छ भन्ने विज्ञापनमा सन्देश दिइन्छ र हामी विश्वास पनि गर्छौं । बिहान पकाएको बेलुका नखाने हामीहरु महिनौंदेखि बासी बट्टामा राखिएको फलफूलको रस ताजा झैं स्वाद मानेर खान्छौं र स्वस्थ भयौं भन्ठान्छौंँ । आर्थिक र स्वास्थ्य दुवै दृष्टिकोणले यसरी बट्टामा राखिएका वस्तुहरुबाट हामीले के फाइदा गर्न सक्छौं त ? विज्ञापनमा सुनिन्छ– ‘बढ्ने उमेरका बच्चाहरुका लागि घरको खाना मात्र पर्याप्त छैन । बढ्ने उमेरका बच्चाहरुलाई चाहिन्छ प्रोटिन र र अनेक किसिमका लवणहरु जुन यही फलफूलजन्य बट्टामा राखिएका वस्तुमा पाइन्छ । यो वस्तु किन्नु भयो भने तपाईंले सित्तैमा चम्चा, बाल्टिन, झोला, आदि पनि पाउनुहुन्छ ।’ अनि सित्तैमा पाइने वस्तुको लोभ र घरको खानाले बच्चालाई पोषण नपुग्ने भन्ने विश्वासमा परेर धेरैले त्यस्ता खानेकुरा किनेर ल्याउने गर्दछन् । मानिसहरुले यसमा विचार पुर्याएको देखिन्न कि त्यस्ता बट्टाहरुमा राखिएका भोजनहरु केबाट बनाइन्छन् ? प्रायः अङ्ग्रेजीमा साना अक्षरमा लेखिएका यी वस्तुहरुमा लेखिएको हुन्छ । प्रयोग गरिएका वस्तु– कोदो, चामल, गहुँ, जौ, दूध, चिनी आदि र त्यसमा यो पनि लेखिएको हुन्छ– अझ बढी क्याल्सियम मिसाइएको हुन्छ । यीमध्ये सबै वस्तु घरमा पाइन्छन् तर १० गुणा बढी मूल्य तिरेर किन्ने गरिन्छ । बाहिरका बट्टाका खानेकुरा स्वास्थ्यकर छैनन् । यस्तै साना शिशुहरुलाई खुवाइने पोषणका बारेमा त विश्व स्वास्थ्य सङ्गठन र युनिसेफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले बनाएका नियमहरुलाई एकातिर फालेर शिशुका पोषण र दूधको लागि विज्ञापन गरिन्छ । बच्चाहरुलाई दूध बनाउने कम्पनीहरुले पहिले त आमाको दूधभन्दा बट्टाको दूध शिशुलाई फाइदा गर्छ भनेर विज्ञापन गर्थे । पछि स्वास्थ्यकर्मीहरुले त्यसको विरुद्धमा आवाज उठाएपछि विश्व स्वास्थ्य सङ्गठनले यससम्बन्धी नियम बनाएपछि यस्ता सन्देशहरु दिन चाहिं छोडेका छन् तर अन्य तरिकाले विज्ञापन र गलत सन्देश दिने काम त अझै जारी छ । घरमा रहेको जाउलो, रोटी, आलु छोडेर विज्ञापनबाट प्रेरित भएर त्यसमा बढी पैसा तिर्ने गर्दछन् । यसरी विज्ञापनको प्रभावमा परेर धेरैजना हरेक पलमा ठगिरहेका हुन्छन् । विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका कुराहरु पनि किन्ने प्रवृत्ति छ । सही ढङ्गबाट विज्ञापन गर्ने नियम कार्यान्वयन तथा उपभोक्ताहरुमा स्वास्थ्यप्रतिको जनचेतनाको विकास नभएसम्म धेरै मानिसहरुले आर्थिक नोकसानीको साथै अनेक स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था रहिरहनेछ । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन् )