पाथीभरा केबलकार : स्थानीयलाई सेयर दिएर मालिक बनाउने, सयौंलाई रोजगारी
कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमती लिएको थियो । करिब दुईवर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयाजना निर्माणले गति लिन थालेको छ । नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतीहरु प्राप्त गरेपछि यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गत समावेश गरी आयोजना अघि बढाउने काम भयो । आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकार सहितका पर्यटकीय गन्तब्यहरु बनाउने उद्देश्यसहित २०७९ सालमा यस केबलकारको ठूलो सेयर लिएर काम अगाडि बढाएको हो । केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न भइसकेको छ । केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने काम समेत सम्पन्न भई केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माणको काम सुरुभएको थियो । कस्तो बन्दैछ केबलकार ? ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका ११, काफ्लेपाटीदेखि पाथीभरा देवी मन्दिर परिसरभन्दा करिब ७०० मिटर पश्चिमसम्म २ दशमलव ७५ किलोमिटर लामो केबलकारमा ३६ वटा यात्रुवाहक गोन्डोला र दुईवटा सामान ओसारपसार गर्ने गोन्डोला रहनेछन् । केबलकार निर्माण भएपछि तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न जम्मा १० मिनेट ३१ सेकेन्ड जति समय लाग्नेछ । केबलकारको सबै उपकरण तथा पार्टस् विश्व प्रसिद्ध केबलकार कम्पनीको प्रयोग गरिनेछ । केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने छ । यी आधारभूत आवश्यकतका संरचनाबाहेक यहाँ अरु केही नबन्ने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर पर्दैन । केबलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारिरीक रुपमा अशक्त र उकालो ओरालो हिड्न नसक्नेहरुका लागि सहज हुनुका साथै सम्पूर्ण तिर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने छ । हिडेर जान चाहनेहरुको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्याउने छैन । यसका साथै स्वदेशी तथा विदेशी तिर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास छ । पाथीभरा केबलकारको अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ । केबलकार निर्माणपछि करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्राप्त हुनेछ । यसमा करिब ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइनेछ । साथै आइएमई ग्रुपका यस अघिका पर्यटन पूर्वाधारहरुमा जस्तै यहाँ पनि स्थानीयलाई आयोजनाको सेयर तथा लगानीको अवसर मिल्ने कुरा त छदैछ । केबलकार निर्माण हुँदा तिर्थयात्री तथा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने र यसले स्थानीय उत्पादन ९कृषि, घरेलु तथा हस्तकलाका सामग्री० प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ । आर्थिक गतिविधिको विकास र विस्तारसँगै मेची हाइवेको झापा तथा तमोर कोरिडरको सुनसरीको बराह क्षेत्रदेखि नै होटल, रेष्टुरेन्ट, यातायातलगायत थुप्रै क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विस्तारमा उल्लेख्य वृद्धि हुने छ । यसबाट राज्यलाई कर तथा राजश्व पनि वृद्धि हुनेछ । केबलकार विश्वमा अहिले प्रचलनमा रहेका यातायतका साधनमध्ये सबैभन्दा सुरक्षित र वातावरणमैत्री यातायातको साधन हो । विद्युतीय यातायातको यस साधनले कुनै पनि किसिमको प्रदुषण नगर्ने हुनाले यसलाई दिगो विकासको मापदण्डभित्र राखिएको छ । यसका साथै, वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने १ रुख बराबर २५ रुखका दरले बृक्षारोपण गरी बृक्षारोपण गरिएका ती विरुवालाई ५ वर्षसम्म स्याहार तथा संरक्षण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने छ । त्यसैले, यस केबलकार आयोजना सञ्चालन हुँदा पनि जैविक विविधता र वातावरण विग्रिने नभई यसलाई जोगाउन थप सहयोग पुग्ने छ । पाथीभरा केबलकार शिलान्यास भएसँगै केही व्यक्तिहरुले निर्माणका काममा अवरोध सृजना गर्ने र निजी लगानीलाई दुरुत्साहन गर्ने गतिविधि सुरु गरेका छन् । त्यतिमात्र नभएर निजी क्षेत्रलाई नै कलुषित गर्ने र उनीहरुका व्यवसाय, व्यक्तिगत प्रतिष्ठा र सम्मानमा आँच पुर्याउने खालका आक्षेपहरु लगाएका छन् । केबलकार आयोजनाको विषयलाई लिएर समग्र निजी क्षेत्रमाथि प्रहार गर्नु र समाज, अर्थतन्त्र र मुलुककै सम्मृद्धिमा उनीहरुको योगदानको अनादर गर्नु अत्यन्त दु:खद् विषय हो । विकट भौगोलिक अवस्थिति, हाइ अल्टिच्युड र ठाडो उकालो बाटोले गर्दा तीर्थयात्री तथा पर्यटकलाई मन्दिरसम्मको आवागमन अत्यन्तै कठिन छ । अझ हिड्न नसक्ने, विरामी, अशक्त, बालबालिका र बृद्धबृद्धाहरुलाई त त्यहाँसम्म पुग्न निकै संघर्षमय नै हुन्छ । पैसा तिर्न सक्नेहरु मान्छेलाई बोक्न लगाएर प्रति किलो २०० रुपैयाँसम्म तिरेर मन्दिरसम्म पुग्ने गरेको पाइन्छ । यसरी एक जनाको १० हजार देखि १५-२० हजारसम्म पर्ने गरेको तीर्थयात्रीहरुको गुनासो छ । त्यस्तै हुने खानेका लागि त हेलिकप्टर चार्टर्ड गरी पाथीभरा मन्दिर पुग्ने व्यवस्था पनि छ । त्यसैले आम नागरिकलाई पाथीभरा देवीको दर्शनलाई सहज बनाउने, अहिलेको तुलनामा तीन चार गुणा तीर्थयात्रीरपर्यटक भित्र्याउने, स्थानीयलाई रोजगारी र स्वरोजगारीको अवसर सृजना गर्ने, नागरिकको जीवनस्तर सुधार्ने, वातावरण र जैविक विविधता जोगाउने उष्कृष्ट यातायातको एकमात्र माध्यम केबलकार हो । यसका अतिरिक्त केबलकारले आर्जन गरेको नाफाको केही प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय निकायमार्फत स्वास्थ्य, शिक्षा, स्थानीय पूर्वाधारलगायतमा खर्च गरिने कुरा आयोजनाले स्पष्ट गर्दै पनि आएको छ । निजी लगानी दुरुत्साहन र यसले दिने सन्देश आइएमई समूह पाथीभरा केबलकार कम्पनीमा करिब दुई वर्ष पहिलेमात्र संलग्न भएको हो । चार दशकअघिदेखि केबलकार निर्माणको विषय उठेको यस पवित्र धार्मिकस्थलमा २०७५ मा केबलकार कम्पनी स्थापना गरी काम अघि बढेको देखिन्छ । त्यसैले केबलकार बनाउने वा नबनाउने कुरा आज आएर जसरी राष्ट्रियकरण गर्नु राम्रो होइन । आइएमई ग्रुपको संलग्नतापछि केबलकार निर्माणको विषयले गति लिएको हो । हामीले स्थानीय जनप्रतिनिधिज्यूहरु, राजनीतिक दलका नेताज्यूहरु, स्थानीय प्रशासन, जिल्लास्थित विभिन्न उद्योगी व्यवसायीका संघ संस्थाहरु तथा अन्य सरोकारवालाहरुसँग व्यक्तिगतरुपमा तथा समूहगतरुपमा धेरै पटक छलफल गरेर केबलकार निर्माणलाई सहयोग गर्न आग्रह गरेका छौँ । धेरैको केही स्थानीयहरुले केबलकार निर्माण गर्न नहुने तर्क दिनुभएको थियो । जुन सुरुमा नगण्य जस्तै थियो । त्यही पनि हामीले उहाँहरुको माग बमोजिम हाम्रो डीपीआर नै परिवर्तन गरेर उहाँहरुको चासोलाई सम्बोधन गरेर अगाडि बढेका थियौँ । तर, अहिले आएर स्थानीयभन्दा जिल्ला बाहिर वा मुलुकबाहिर बस्नेहरुले सामाजिक सञ्जालमा पाथीभरामा केबलकार बन्न नहुने भन्ने अस्वाभाविक चासो राखेको देखिएको छ । जुन बिल्कुल गलत छ । हामी आयोजना निर्माणस्थल तथा समग्र ताप्लेजुङ जिल्लाबासीका भावना र आवश्यकताको नजिकमा छौँ । हामीलाई स्थानीयको आवश्यकताको बारेमा पूर्णरुपमा जानकारी रहेकाले केबलकार नबनाउने भन्ने जिल्ला बाहिर तथा देश बाहिरका विषयले अनावश्यक चर्चा पाइरहेकोमा दुख लागिरहेको छ । विकासका काममा यस्तो वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यहरुले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्दछ । राज्यका निकायबाट सबै कानुनी र नियामकीय प्रकृया पुरा गरिसकेपछि काम अगाडि बढ्न नदिने विषय अत्यन्त दुखदायक छ । यसले मुलुकमा लगानी भित्र्याउन निजी क्षेत्रले गरिरहेको पहललाई निरर्थक तुल्याएको छ । सातवटै प्रदेशमा ठूलाठूला पर्यटकीय पूर्वाधारको विकास गरी धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने, लगानीका अनगिन्ति अवसरहरु सृजना गर्ने, रोजगारी सृजना गर्ने र समुन्नत नेपाल निर्माणमा हातेमालो गर्ने हाम्रो अभियानमा ठेस पुगेको हामीले महशुस गरेका छौँ । एकातर्फ, यहीका स्थानीय रोजगारीको खोजिमा विदेशिनु परिरहेको तितो यथार्थ देखिन्छ भने अर्कातर्फ उहाँहरुकै घरआगनमा आउँदै गरेको रोजगारीको अवसरलाई विवादमा ल्याउने प्रयास भइरहेको छ । यस्तो अवस्थामा के राम्रो के नराम्रो भन्ने छुट्टाउने जिम्मा म जिल्लावासीलाई नै दिन चाहन्छु । म आइएमई ग्रुपकोे अध्यक्ष, यस केबलकार कम्पनीको अध्यक्ष मात्र नभएर मुलुकको समग्र निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षकै हैसियतले विभिन्न मुलुकहरु पुगेर नेपालमा लगानीका लागि आग्रह गरिरहेको छु । यो परियोजनामा अवरोध हुदाँ यसको सन्देश विश्वव्यापीरुपमै नकारात्मक जान्छ । त्यसैले कुनै पनि बहानामा विकास निर्माणका काममा अबरोध नगर्न सबै सरोकारवालामा पुनस् आग्रह गर्दछु । अन्त्यमा केबलकार केबल यातायातको साधन मात्र हो । जसले पाथीभरा देवीको दर्शनमा जाने तीर्थयात्रीलाई सहजता पुर्याउँछ । पाथीभरा देवी सबै नेपालीको आस्थाको धरोहर भएकाले यहाँ केबलकार निर्माणले यहाँका कुनै धर्म र जाती विशेष या संस्कार संस्कृति एवम् हाल भइरहेका संरचनामा केही असर गर्दैन बरु थप मजबुद बनाउन सहयोग पुर्याउँछ । (पाथिभरा देवी दर्शन केबलकार प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरेकाे विचार)
मस्तिष्कलाई क्रियाशील बनाउन फलफूल भोजन
चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार ‘सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । केही खाद्य वस्तुको विशेष भूमिका रहन्छ ।’ सुक्ष्म पोषण तत्वसहित रेशादार पदार्थ प्रचुर मात्रामा भएको खाना विशेषरूपले मानसिक स्वास्थ्य सबल पार्न मद्दत गर्छ । जति सक्यो कम प्रशोधन गरिएको, शरिरमा एकैचोटी चिनीको मात्रा नबढाउने, ताजा खाद्य पदार्थले मस्तिष्क सक्रिय र प्रभावकारी बनाउन भूमिका खेल्छन् । अर्थात विभिन्न थरिका स्वस्थ भोजनका साथै वनस्पतिजन्य भोजनले मस्तिष्कलाई क्रियाशील बनाउन सक्षम हुन्छ । त्यसैगरी विभिन्न फलफूलजस्तै सुन्तला, जुनार, अम्बा, विभिन्न प्रकारको बेरीहरु जस्तै (काफल, एैसेँलु, स्ट्रबेरी जस्ता) फलफूलमा शरीरमा एन्टिअक्सिडेन्ट (बढौती हुने प्रक्रिया न्यूनीकरण गर्ने) तत्व, रेशादार हुन्छन् । यी तत्वहरुले मानसिक स्वास्थ्य सबल राख्न भूमिका खेल्छन् । त्यसैगरी तरकारी जस्तो ब्रोकाउली, काउली, मुला आदिजस्ता तरकारी पनि महत्वपूर्ण मानिन्छन् । गाढा हरियो पात, रङ्गिन तरकारी जस्तैः फर्सी, चुकन्दर, रातो बन्दा आदिमा पर्याप्त मात्रामा फाइटोकेमिकल (एक रसायन जुन मस्तिष्कको लागि उपयोगी) हुन्छ । मानसिक स्वास्थ्यमा सकरात्मक असर पार्छ । स्वस्थकर खानाको चर्चा गर्दा वैज्ञानिकले महत्वपूर्ण कुरा शुरुवात भएको छ । मानसिक स्वास्थ्य समस्या भएर आएका बिरामीलाई ओखर, विभिन्न बियाँ (आलस, तिल, फर्सीको बियाँ) र रङ्गिन दलहन र कालो दाल, रातो दाल मुगे प्रयोग गर्ने सल्लाह दिइन्छ । डा शर्माको भनाइले स्पष्ट हुन्छ कि प्रायःमानसिक स्वास्थ्य सबल राख्न पनि त्यस्ता भोजनले भूमिका खेल्छन जुन भोजनले मुटु, कलेजो, पाचन प्रणाली स्वस्थ राख्छ । विभिन्न वैज्ञानिक अनुसन्धानले सिद्ध गरेका छन् । डा शर्माको भनाइअनुसार मस्तिष्कको लागि भिटामिन ‘बी’ १२, भिटामिन ‘डी’ आदि पनि महत्वपूर्ण छन् । भिटामिन ‘बी’ १२ को धेरै कमी भए बिर्सने रोगको जस्तै लक्षण देखा पर्ने सम्भावना हुन्छ । ‘चरुवा कुखुराको अण्डा, ताजा पानीका माछा, चरुवा जनावरको मासुको सेवन मस्तिष्क स्वस्थ राख्न उपयुक्त हुन्छ । हुन त कति स्वास्थ्यकर्मीले भिटामिन ‘बी’ १२ शाकाहारी भोजनमा पाइन्न भन्ने ठान्छन् । तर वनस्पतिजन्य भोजन जस्तैः चिज, पनिर, दही, मोहीले शरीरमा भिटामीन ‘बी’ १२ पुग्छ’ भन्ने डा शर्माको अनुभव छ । ‘मष्तिस्कका कोषिकाहरु नष्ट भएपछि पुनर्जीवित हुँदैनन्, त्यसैले नष्ट हुने प्रकिृया न्यूनीकरण गर्न सकेसम्म स्वास्थ्यका भोजनमा ध्यान दिनुपर्छ ।’ विगत केही वर्षदेखि पोषण र मानसिक स्वस्थ अनेक अनुसन्धान भइरहेको र मानसिक रोग विज्ञले मानसिक रूपमा स्वस्थ रहन व्यायाम, निद्रा, सामाजिक सक्रियातालाई पनि महत्वपूर्ण ठान्छन् । मानसिक समस्या भएर विभिन्न औषधि सेवन गर्दा त्यसबाट हुने ‘साइडइफेक्ट’ न्यूनीकरण गर्न पनि पौष्टिक भोजनको जरुरत पर्दछ । कुनै औषधिले कब्जियत गराए पर्याप्त मात्रामा सुप, पानी वा मोही पिउने र विभिन्न थरिका साग, फलफूलजस्ता रेशादार तत्व बढी भएका भोजनको प्रयोग गर्नुपर्छ । त्यसैगरी अनिद्राको कारणले मस्तिष्क र पाचन प्रणालीमा समस्या हुनसक्ने भएकाले यो बेलामा पनि भोजन र जीवनशैलीसम्बन्धी परामर्श दिइन्छ । सुत्ने बेला तातो दूध र बेसारको सेवन गर्ने, रातिको समयमा धेरै क्यालोरी र बोसोजन्य वस्तु आदि नखाने सल्लाह दिइन्छ । पाचन अङ्ग आन्द्रा र आन्द्रामा भएका सुक्ष्म किटाणुले पाचन प्रणालीलाई मजबुत गराउनेछ भने हालै वैज्ञानिक अनुसन्धानले देखाएको छ । मानसिक स्वास्थ्यसँग भोजन जोडिएको छ भन्ने तथ्य त केही चिकित्सकले अगाडिदेखि भन्दै आए पनि यो कुरा आम मानिसले बुझ्न अझै बाँकी छ । पेटभित्रको अङ्गको फरकफरक सञ्चालन प्रकृया छ । आकाश गङ्गामा खर्बै तारा रहे जस्तो पेटभित्र पनि खर्बौं किटाणु छन् । जीवाणु, ढुसी आदि शरीरको विभिन्न भाग (आन्द्र) भूुँडीको साथै फोक्सो आदिमा अवस्थित रहन्छन् । यिनको उपस्थितिले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा भूमिका खेल्न सक्नेबारे अनुसन्धान भइरहेको छ । आधुनिक चिकित्सा विज्ञानले भन्छ, ‘धेरैजसो शारीरिक रोगको जरो पेटमा हुन्छ ।’ आयुर्वेद विज्ञानले पनि पेटको समस्या परेपछि विभिन्न रोग उब्जिन्ने उल्लेख गरेको छ । अहिलेको वैज्ञानिक अनुसन्धानले सिद्ध गरेको छ कि ‘पेटको स्वास्थ्यले मानसिक स्वास्थ्यमा पनि असर पर्छ । सजिलो बुझ्ने भाषामा बुझ्ने हो भने मानसिकरूपमा सबल हुन स्वस्थकर भोजन चाहिन्छ । मानसिक रोगीलाई केबल पेटको स्वास्थ्य राम्रो पारेर मात्रै उपचार गर्न सकिन्छ भन्ने होइन । मानसिक तनाव, डिप्रेसन, छारेरोग, उन्माद हुँदा औषधिको जरुरत पर्छ नै । कतिलाई त लामो समय औषधि जरुरत पर्छ । तर मानसिक रोग लागेका मानिसलाई औषधिको साथै स्वस्थ भोजनको पनि जरुरत पर्छ भन्ने चाहिँ पक्कै हो । जस्तो छारेरोग लागेको मानिसले जाँड रक्सी त छुनै हुँदैन । हाम्रो पेट स्वस्थ भयो भने अर्थात् स्वस्थ खाना खायौँ भने मानसिक स्वास्थ्यको उपचार पनि ठूलो भूमिको खेल्छ । पेट र सम्बन्ध दुईबीचको प्रगाढ सम्बन्ध छ । यतिसम्म कि पेटलाई त दोस्रो मस्तिष्क नै मानिएको छ । यो स्पष्ट छ कि पेटमा रहेको खर्बौँ जीवाणुको स्वास्थ्य पनि हाम्रो भोजनमा नै निर्भर रहन्छ । अनि तीनै जीवाणुले र किटाणुले हाम्रो मस्तिष्क भावना उत्तार चढावमा भूमिका खेल्छ । सरकारको स्वास्थ्यको कार्यक्रममा मानसिक रोगको उपचार र मानसिक स्वास्थ्य अति कम प्राथमिकतामा पर्छ । किनभने जो यो समस्याबाट पीडित छ उसले आफूलाई भएको समस्याको बारेमा बोल्न सक्दो आवाज उठाउन सक्दैन । जसलाई यो समस्या परेको छैन, उसले मानसिक रोगीप्रति हेर्ने दृष्टिकोण सकारात्मक रहेको पाइँदैन । शरीर स्वस्थ रह्यो भने मन स्वस्थ रहन्छ, पेट स्वस्थ भए मन र शरीर दुवै स्वस्थ भन्ने भनाइ पनि छ । विज्ञले भन्नुहुन्छ पेटको स्वास्थ्यसँग छ सम्बन्ध अहिले विभिन्न बिर्सिने रोग, पार्किन्सको समस्याले मानसिक समस्यामा पनि भूमिका खेल्छ । सेराटोनिन नामको तत्व पेटमा ८० प्रतिशत उत्पन्न हुन्छ । सेराटोनिनले मानव मस्तिष्कमा प्रभाव पारेर आनन्दको अनुभूति जगाउँछ । तर मस्तिष्कमा सेराटोनिनको कमि भएपछि उदास हुने समस्या उत्पन्न हुन्छ । जुन तत्व पेटमा उत्पन्न भएर मस्तिष्कको कार्यलाई नियन्त्रण गर्छ । त्यसैले पेट स्वस्थ राख्न भोजन निन्द्रा, व्यायामको कुराले महत्व राख्दछ । रेशादार पदार्थ भएको भोजनको उपयोग गर्दा मनको स्वास्थ्य सबल राख्न पनि मद्दत गर्छ । विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्कअनुसार कुुनै पनि समाजमा १५ प्रतिशत मानिस विभिन्न किसिमका मानसिक समस्याबाट पीडित हुन्छन् र दुई प्रतिशत मानिसमा अति कडा खालका मानसिक समस्या रहेको छ । यस अर्थमा नेपालमा पनि झण्डै ४० लाख मानिस विभिन्न किसिमका मानसिक समस्याबाट पीडित छन् र झण्डै छ लाख मानिसमा कडा किसिमको मानसिक समस्या रहेको छ । यस्ता मानसिक समस्यामध्ये सुस्त मनस्थिति, विभिन्न किसिमका लागूऔषधिहरु प्रयोग गरेर विक्षिप्त भएका मानिस, विभिन्न किसिमका सामाजिक समस्या परेर मानसिक अपराध र डिप्रेसन, प्रसवपछि मानसिक समस्या परेका आदि व्यक्ति पनि पर्छन् । अहिलेको बदलिँदो सामाजिक अवस्थाले गर्दा बढ्दै गरेका मानसिक समस्या अझ थपिएका छन् । विश्व स्वास्थ्यको तथ्याङ्कलाई हेर्ने हो भने संसारभरमा मानिसलाई सबभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक रोग नै छ । त्यसमा पनि डिप्रेशन (मानसिक अवस्था) दोस्रो स्थानमा छ । बढ्दो मानसिक रोगको समस्याको दिगो समाधानका लागि समयमै औषधोपचार गर्नुको साथै उचित खानपानमा पनि ध्यान दिन आवश्यक छ । यसबारेमा जनस्तरमै चेतना अभिवृद्धि हर्नुपर्ने देखिन्छ । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन्)
युवापुस्तामा रफ्तारले बढ्दै क्यान्सर, यसरी बनौं सजग
क्यान्सर एक जटिल रोग हो । यो खर्चालु पनि उत्तिकै हुन्छ । नेपालमा बर्सेनि क्यान्सर हुने र क्यान्सरबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको पाइन्छ । नेपालीलाई सबैभन्दा धेरै हुने फोक्सो क्यान्सर हो । त्यसपश्चात् अनौठो तरिकाले पाचन प्रणाली सम्बन्धीको क्यान्सर देखिन थालेको छ । जस्तै- मुख, पेट, आन्द्रा, मलाशय लगायतका विभिन्न ठाउँमा क्यान्सर देखा परिरहेको छ । पाचन प्रणाली सम्बन्धी क्यान्सरबाट युवाहरू बढी प्रभावित भएका छन् । नेपालमा फोक्सोको क्यान्सरपछि आमाशयको क्यान्सर निकै बढेको देखिन्छ । हामीकहाँ प्रोष्टेट क्यान्सर अलि कम छ तर, पश्चिमी देशहरूमा प्रोष्टेट क्यान्सर धेरै बढेको छ । नेपालमा क्यान्सर : विगत र वर्तमान नेपालमा क्यान्सरका रोगमा प्याटर्न परिवर्तन हुन थालेको छ । पहिले कम देखिने रोग अहिले बढी देखिन थालेका छन् भने पहिले धेरै देखिने क्यान्सर अहिले केही कम हुन थालेको छ । तर, नेपालमा पहिलेदेखि अहिलेसम्मै अग्रस्थानमा रहेको फोक्सोको क्यान्सर अहिले पनि उही स्थानमा छ । किनकि नेपाल अत्यधिक चुरोट खाने देशमा पर्छ र अहिले कलेजमा अध्ययनरत विद्यार्थीले पनि यसको सेवन बढी गर्न थालेको पाइन्छ । अर्को कुरा नेपालमा पहिले पाठेघरको मुखको क्यान्सर पनि बढी देखिएको थियो तर अब विस्तारै स्तन क्यान्सर अग्रस्थानमा जाँदै छ । स्तन क्यान्सर अहिले पश्चिमी देशहरूमा सबैभन्दा बढी छ । अहिले नेपालमा पनि यो बढिरहेको छ । मैले पढ्ने बेला अथवा म वीर अस्पतालमा आवद्ध हुने बेलामा समेत अहिले देखिरहेका क्यान्सर त्यो बेला यति धेरै मात्रामा देखिँदैनथ्यो । आन्द्राको क्यान्सर कुरा गर्दा मैले त्यो बेला पनि रिसर्च गरेको थिएँ जतिबेला युवाहरूमा अलि बढी नै आन्द्राको क्यान्सर देखिएको थियो तर यति धेरै नम्बरमा बिरामी थिएनन् । अहिले निकै धेरै नम्बरमा बिरामीको संख्या बढ्दै गएको छ । यो अवस्था हेर्दा हामीले जुन तरिकाले पहिले खानेकुरा खान्थ्यौं, अब फेरि त्यहीँतिर फर्कन आवश्यक देखिन्छ । जस्तै पहिले हामी आफ्नै बारीमा आफैले फलाएको चामल, दाल, तरकारी खान्थ्यौँ भने दूध दही पनि आफ्नै घरमा बनाइन्थ्यो । अहिले अवस्था निकै फेरिएको छ । केटाकेटीदेखि युवापुस्ताले जंक फुड खाने बानी बसालिसकेका छन् । हुँदाहुँदै मासु पनि अहिले अष्टे«लियाबाट आयात हुन थालेको छ । हामी धेरै परनिर्भर हुँदा रोग पनि नयाँ नयाँ किसिमका देखिन थाले । गहुँ, तोरी, लसुन, फलफुल सबै आयात हुन्छ । अब जबसम्म यो प्रक्रिया रोकिँदैन तबसम्म अवस्था जोखिमपूर्ण हुन्छ । खानामै गडबड विगतमा निकै कमदेखि पाचन प्रणाली सम्बन्धीको क्यान्सर अहिले आएर निकै बढ्नुमा हामीले खाइरहेको खानामा शंका गर्नुपर्ने अवस्था आएको छ । किनकि आन्द्राको क्यान्सर भएकाहरू युवा उमेरमै देखिएको हुन्छ । २५/३० वर्षको उमेरमै आन्द्राको क्यान्सर भएर बिरामी आइरहेका छन् भने पक्कै पनि खानामा कहीँ न कही कमजोर छ भन्ने हो । यो अवस्थाले हामीले खाइरहेका कुरामा प्रयोग गरेको विषादीहरू निकै धेरै रहेको अनुमान लगाउन सकिन्छ । विशेषगरी प्याकेजिङ गरिएका खानेकुरामा बाहिर एउटा लेवलिङ गरिएका हुन्छ भने भित्र अर्कै चीज प्रयोग गरिएको हुन्छ । अब लेबलिङ अनुसारको भित्र छ कि छैन भन्ने विषयमा निगरानी गर्नुपर्ने अवस्था आएको छ । हामीले खाने खानामा समस्या छ, यो प्रष्ट छ किनभने आन्द्राको क्यान्सर, पेटको क्यान्सर लिभरको क्यान्सर एकदमै बढ्नु भनेको यो सबै पाचन प्रणालीसँग सम्बन्धित समस्या हो । हामीले खाने बजारमा आयातित फलफूल, सागसब्जी लगायत हरेक सामग्रीमा केमिकल मिसिएको छ कि छैन जस्ता कुरामा निगरानी राख्न अब निकै आवश्यक भइसकेको छ । वीर अस्पतालमा आउने दैनिक सय जनामध्ये झण्डै १५ देखि २० प्रतिशत बिरामीमा पाचनसम्बन्धी क्यान्सर बोकेर आउँछन् । यो अलाराम वार्निङ हो । यही अवस्थामा हामी सचेत बनेनौँ वा सरकारले केही गर्न सकेन भने भोलिको अवस्था डरलाग्दो हुने छ । अहिले वीर अस्पतालमा दैनिक १ सय जना क्यान्सर रोगका बिरामी उपचारका लागि आउने गर्छन् । जसमा नयाँ र पुराना बिरामी रहेका छन् भने वर्षमा करिब १ हजार क्यान्सरका नयाँ बिरामी र ६-७ हजार पुरानो बिरामीहरू हामीले हेर्नुपर्छ । हाम्रो अस्पतालको कुरा गर्दा अहिले क्यान्सरका बिरामीको त्यति धेरै रस पनि छैन, तर थोरै बिरामी अहिले पनि छैनन् । म पहिले यो अस्पतालमा सुरु गर्दा नेपालमा धेरै अस्पतालहरू थिएनन् । चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र काठमाडौंको वीर अस्पतालमा मात्र क्यान्सरको उपचार गरिन्थ्यो । वीर अस्पतालमा बिरामीको निकै चाप हुन्थ्यो । तर, आजभोलि क्यान्सर रोगको उपचार हुने अस्पतालको संख्या बढेको छ भने निजी अस्पतालले पनि राम्रो सेवा दिन थालेका छन् । जसका कारण वीर अस्पतालमा केही चाप घटेको छ । पहिलेको भन्दा चाप रेडियशनमा कम छ तर, पालो भने बैशाखसम्म पुगिसकेको छ । यो राम्रो होइन । क्यान्सर लागेको बिरामीलाई चाँडै उपचार दिनुपर्ने हुन्छ । केही क्यान्सर छ जसलाई अलि ढिलो गरेपनि फरक पर्दैन । मुख र फोक्सोको क्यान्सरको उपचार जतिसक्दो चाँडो गर्नुपर्छ । यस्तो खालको बिरामीको लागि हामीलाई नयाँ मेशिनको तुरुन्त आवश्यकता परेको छ । क्यान्सर यही कारणले लाग्छ भनी किटान गर्न सकिने अवस्था अहिलेसम्मै पनि छैन । तर अन्दाज भने गर्न सकिन्छ । जस्तै आजभन्दा २५–३० वर्ष अगाडि पाचन प्रणालीमा अहिले जस्तो क्यान्सरको समस्या थिएन । त्यो बेला अहिले जस्तो खानेकुराहरू बाहिरबाट आयात पनि हुँदैनथ्यो । जब बाहिरबाट खानेकुरा आयात गरेर खान सुरु गरियो त्यसपछि यो क्यान्सर देखिन थाल्यो । त्यस्तै नेपालमा चुरोट सुर्तीको सेवन बढ्न थालेसँगै फोक्सोको क्यान्सर पनि बढ्दै छ, मुखको क्यान्सर बढ्दै छ । कुनै क्यान्सरको कारण के हो भन्ने नै थाहा हुँदैन । क्यान्सरका चरण क्यान्सर लागेका बिरामी उपचारका लागि अस्पतालमा पुग्ने भनेको स्टेज थ्री वा फोरमा हो । त्योभन्दा अगाडि प्रायः बिरामी अस्पताल पुग्दैनन् । कतिपय क्यान्सर रोगमा कुनैपनि लक्षण देखिँदैन । लक्षण नदेखिँदा कोही पनि व्यक्ति अस्पताल पुग्दैनन् । जब खोकी लाग्न थाल्छ, टाउको दुख्न थाल्छ वा ढाड दुख्न थाल्छ अनि अस्पताल पुग्दा स्टेज तेस्रो, चौथोमा पुगिसकेको हुन्छ । फोक्सोमै भयो भने पनि फैलिसकेको हुने, ब्रेनमा पुगिसकेको हुने हुन्छ । ढाड किन दुख्यो भनी एक्सरे गर्दा त्यहाँ ढाड भाँच्चिसकेको हुन्छ । किन भनेर हेर्दा क्यान्सर भइसकेको हुन्छ । स्टेजमा थ्रीमा आउँदा उसको निको हुने चान्स उपचार गर्दा ३० प्रतिशत हुन्छ भने चौथो स्थानमा पुगेका बिरामीको ५ प्रतिशत मात्र उपचार हुन्छ । क्यान्सरको आफ्नै संसार हुन्छ । कुनै क्यान्सर हामीले गरेको उपचारमा तुरुन्त काम गर्छ । बिस्तारै हराउँछ पनि कतिपय जति उपचार गर्दा पनि राम्रो हुँदैन । यो रोग निकै खर्चालु पनि हुन्छ । ज्यान जोगाउन पनि गाह्रो हुन्छ । स्टेज थ्री, फोरमा आएपनि केही हदसम्म सर्वाइभल बढाउने र बाँचिएन भने पनि जुन पीडा हुन्छ त्यो कम बनाउन सकिन्छ । यस्तो अवस्थामा आए पनि प्यालिएटिभ केयर गर्न सक्छौँ भने कतिपय व्यक्ति स्टेज फोरमा पुगेर पनि निको भएको बिरामी पनि हुनुहुन्छ । नेपालमा उपचार आजभोलि नेपालमा सबै किसिमको क्यान्सरको उपचार हुन थालेको छ । पहिले चिकित्सक पनि कम थिए, उपकरण पनि थिएन । आजभोलि जनशक्ति विकास हुँदै गएको छ । रेडियशन अन्कोलोजी अथवा क्लिनिकल अन्कोलोजीको पढाइ नेपालमै हुन थालेको छ । वीर अस्पतालबाटै ४० जना उत्पादन भइसकेका छन् । म पनि यही अस्पतालमा पढेर यही अस्पतालम सेवा गरिरहेको व्यक्ति हुँ । बाहिरबाट पनि पढेर आइरहेका छन् । तर, यो जनशक्ति अझै यो रोगको लागि पर्याप्त होइन । अर्को कुरा भएको जनशक्ति पनि एकै ठाउँ अथवा काठमाडौं उपत्यकाभित्रै बस्ने चलन छ । उपत्यका बाहिरको कुरा गर्दा अहिले पनि क्यान्सर रोगको उपचारका लागि सबै प्रदेशमा अस्पताल बनिसकेका छैनन् । पूर्वतिर केही अस्पताल सञ्चालनमा आइरहेका छन् भने चिकित्सक पनि बढी हुनुहुन्छ तर पश्चिममा निकै कम छ । भरतपुर चितवनभन्दा पर अझै यो सेवा पुगेको छैन । भर्खर नेपालगञ्जमा एउटा क्यान्सर अस्पताल स्थापना भएपनि त्योभन्दा पर सुदूरपश्चिम, कर्णाली प्रदेशसम्म पुग्न सकेको छैन । अहिले पनि नेपालको ठूलो ठाउँमा क्यान्सरको उपचार पुगेको छैन । भएका ठाउँमा पनि राम्रो उपकरण र दक्ष जनशक्तिको अभाव कम छ । अहिलेको अवस्थाअनुसार नेपालमा रेडियशनको करिब ३० देखि ४० वटा मेसिन अनिवार्य छ । तर, अहिले १० वटा जतिमात्र छ । जसका कारण दुरका मान्छेलाई काठमाडौं आएर उपचार गर्न निकै कठिन परिरहेको छ । यसको लागि सरकारले प्रत्येक प्रदेशमा कम्तिमा पनि एउटा क्यान्सर अस्पताल आवश्यक छ । जिल्ला अस्पतालमा पनि क्यान्सरको सामान्य भएपनि सेवा सुरु गर्न आवश्यक छ । यसरी बनौं सजग हामी धेरैको बानी बिरामी नहुञ्जेलसम्म अस्पताल नपुग्ने हुन्छ । लक्षण नदेखिनु र स्क्रिनिङ नगराउनाले पनि धेरै जस्तोलाई यस्तो रोग लागिरहेको हुन्छ । यसको लागि सबैभन्दा महत्वपूर्ण भनेको स्क्रिनिङ नै हो । यसका लागि विभिन्न खालको स्क्रिनिङ गर्नुपर्छ । जस्तै पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर हेर्न पाठेघरको मुखको जाँच गर्नुपर्छ । स्तन क्यान्सरको लागि स्क्रिनिङमा जाँदा म्यामोग्राम गर्नुपर्छ । अल्ट्रासाण्ड, एमआरआई पनि गराउन सकिन्छ । पाचन प्रणालीका लागि इण्डोस्कोपी गर्न सकिन्छ, फोक्सोको लागि सिटीस्क्यान गर्न सकिन्छ । कलेजोको लागि अल्ट्रासाउण्ड पनि गर्न सकिन्छ । कतिपय देशमा सरकारले स्क्रिनिङ गर्नैपर्छ भन्ने बाध्यात्मक व्यवस्था गरेको छ । साउथ कोरियाको कुरा गर्ने हो भने त्यहाँ यो व्यवस्था छ । यसले गर्दा नागरिकको ज्यान जोगिने सम्भावना धेरै हुन्छ । यसको लागि राष्ट्रले कडाइ गर्नुपर्यो या नागरिक आफै सचेत हुनुपर्यो । सचेतनामूलक कार्यक्रम निकै आवश्यक छ । यसो गर्दा मान्छे सचेत हुँदै जान्छ । यसमा धेरै समस्या छ । कतिपय व्यक्ति क्यान्सर भन्ने बित्तिकै आत्तिने हुन्छ । कुनैपनि रोग लाग्दा आत्तिनु हुँदैन । उपचार सम्वभ छ । कतिपय रोग उपचारपछि निको हुन्छ भने कतिपय निको नभएपनि कम पक्कै हुन्छ । धेरै भ्रमहरू पनि छन् । कतिपय व्यक्तिलाई औषधीले पनि काम गर्दैन । अहिले नेपालमा क्यान्सर लागेर निको भएकाहरू पनि धेरै छन् । सरकारले पनि एक लाख रुपैयाँ सहयोग गरिरहेको छ । वीर अस्पतालमा आएका बिरामीको एक लाख रुपैयाँमा उपचार हुन्छ । रेडियशनको लागि खर्च छैन भने कतिपयको हकमा अस्पतालले मिलाउने गरेको छ भने १० प्रतिशत बिरामीले रेडियशन फ्रीमै गरिन्छ । कुनै पनि क्यान्सरको बिरामी वीर अस्पतालमा आयो र उसले पैसा छैन भन्यो भने उपचार नपाएर फर्कनुपर्ने अवस्था हामीले गरेका छैनौँ । तर बाध्यता हामीसँग पनि छ । हामीसँग एउटा मात्र रेडिशेयन मेसिन छ जसका कारण बिरामीले उपचारको लागि पालो कुर्न परेको छ । यसका लागिथ हामीले सरकारसँग अर्को एउटा मेसिनको लागि माग गरेका छौँ । अर्को मेसिन आयो भने सबै बिरामीको उपचार समयमै गराउन सकिन्छ । सरकारले गर्नुपर्ने काम क्यान्सर रोग नेपालमा सबैभन्दा बढी जोखिम रोगमध्येको एक हो । यसको मृत्युदर पनि बढिरहेको छ । नेपाल सरकारले यसका लागि ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४-२०३० ’ तयार पारेको छ । जसमा रोग लाग्नेको संख्या कम गर्न वा यसबाट हुने मृत्युदर कम गर्न के गर्ने भन्ने रणनीति बनाइएको छ । जसमा सातवटै प्रदेशमा क्यान्सर अस्पताल स्थापना गर्नेदेखिका विभिन्न ९ वटा रणनीति तयार पारिएको छ । यो रणनीतिअनुसार काम गर्न सक्यो भने अबको ३०-४० वर्षपछि क्यान्सर कम गर्न सकिन्छ । यस्तै रणनीति चलाएको पश्चिमी देशमा अहिले क्यान्सर कम गर्दै गएको छ । क्यान्सर लागे पनि मर्नेको संख्या त्यहाँ निकै कम छ । किनकि पहिले नै यो रोगसम्बन्धी जानकारी दिने वा नियमित जाँच गर्न लगाउने काम त्यहाँ भइरहेको छ । अब नेपालमा पनि यस्तै सचेतनामूलक कार्यक्रम गर्न निकै आवश्यक छ । अहिले विकसित देशमा क्यान्सर लागेर मर्नेको संख्या निकै कम हुँदै जान थालेको छ तर नेपालमा भने बढ्दै जान थालेको छ । नेपालमा सन् २०२० को तथ्यांकअनुसार हरेक वर्ष झण्डै २० हजार क्यान्सरका नयाँ बिरामी देखिने गरेका छन् भने यसमा १४ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो तथ्यांकले क्यान्सर भएका बिरामीमध्ये ६५ देखि ७० प्रतिशतको मृत्यु हुने गर्छ । यो भयावह अवस्था हो । कुन–कुन ठाउँमा के गर्न सकिन्छ, प्रादेशिक अस्पतालमा के गर्न सकिन्छ, क्यान्सर अस्पताल नयाँ बनाउन नसकेपनि भएका अस्पतालहरूमा राम्रा उपकरणहरू राखेर आवश्यक चिकित्सक पूर्ति गर्ने लक्ष्य राखिएको छ । ध्यान दिनैपर्ने विषय सबैभन्दा पहिले हामीले खानपानमा ध्यान दिऔँ । निरोगी रहनको लागि चुरोट नखाऔँ । कुलतबाट टाढा रहन सिकौँ, हरेक दिन शारीरिक व्यायाम गरौँ । सकिन्छ भने योगा गरौँ, हरियो सागपात, फलफुल प्रशस्त मात्रामा खाऔँ । यदि वजन बढी छ भने त्यो घटाउनुपर्छ । यति गर्दागर्दै पनि कतिपयलाई क्यान्सर लाग्न सक्छ । यसको लागि ५० वर्ष पुगेपछि एक पटक क्यान्सर अस्पतालमा गएर अनिर्वार्य जाँच गरौँ । यदि आफ्नो परिवारमा कलिलै उमेरमा कसैलाई क्यान्सर लागेको छ भने आफू पनि सचेत भएर जुनसुकै उमेरमा भए पनि सोध्न जरुरी हुन्छ । किनकि यो वंशाणुगत कारणले पनि लाग्छ । कतिपय बिरामीहरू आजभोलि उपचारको लागि अन्य विधामा जानुहुन्छ । खर्च पनि धेरै गरेर अन्त्यमा ठूलो ट्युमर बोकेर हामीकहाँ नै आउनुहुन्छ । अन्य विधामा जानुभन्दा अगाडि पहिले एक पटक चिकित्सकको सल्लाह चाहिं लिनै पर्छ । (क्यान्सररोग विशेषज्ञ, प्रा. डा. विवेक आचार्य वीर अस्पतालको ओन्कोलोजी विभाग प्रमुख हुन् । )