बीमा गराउँदा बुढी ठूस्स, ४० लाख पाएपछि छोरी डाक्टर
खेमराज ढकाल तपाईं एक घन्टा कुनै योगी वा महात्मासँग गफ गर्नूस्, संगत गरेको केहीबेरपछि तपाईंमा जीवन केही होइन् भन्ने भान पर्दछ र तपाईंमा वैराग्यता आउन थाल्दछ । तपाईं केहीबेर कुनै राम्रो राजनीतिकर्मीसँग बस्नूस्, केही बेरपछि तपाईंलाई पनि राजनीति गर्न वा उसको कार्यकर्ता हुन मन लाग्दछ । तपाईं कुनै डिस्को वा वारमा कुनै जाँड पिउने साथीसँग केहीबेर बस्नूस्, एकछिन पछि तपाईंलाई पनि उसको कुरा सुनेर जाँड पिऊँ पिऊँ जस्तो लाग्छ । हामी जसको र जस्तो सगंत गर्दछौं, विस्तारै हामी पनि ऊ जस्तै हुन थाल्दछौं । झन् बीमा अभिकर्ताको कुरा सुन्यौं भने त हामीलाई लाग्न सक्छ– जीवन केही होइन, हामी जतिखेर पनि मर्न सक्छौं… बरु आफू बाँच्दा वा जीउँदो छँदभन्दा मरेपछि एकमुष्ठ पैसा आउने हुँदा बरु मर्दा फाइदा छ । आजभन्दा पन्ध्र–सोह्र वर्ष अगाडिको कुरा हो । मेरो एकजना मिल्ने साथी जो पेशाले जीवन बीमाको अभिकर्ता हुन् । ऊ र म साथी भएको नाताले र उसको पेशा नै अरूलाई बीमा गराउने भएकोले ऊ बारम्बार मेरो घरमा आइरहन्थ्यो । एकछिनको औपचारिकता निभाएपछि ऊ बीमा गर्ने होइन त भनेर मसँग पेशागत मार्केटिङ गरिहाल्थ्यो । म भने बीमामा खासै रुचि नभएकोले र पैसा पनि नभएकोले जहिले पनि हरेक भेटमा ठाडै नाइँ भन्न नसकेर र साथी रिसाउँछ भन्ठानेर हाँसीहाँसी पछि गरौंला नि भनेर टार्दथें । मलाई र मेरो श्रीमतीलाई बीमासम्बन्धी कुनै ज्ञान नभएकोले बीमा गर्नुपर्दछ भन्ने लाग्दैनथ्यो । झन् मेरी श्रीमती त उसलाई देखिसहदिन थिइन् । भन्थिन् कस्तो हो … हजुरको साथी जहिले पनि घरमा आई बीमा गर, बीमा गर मात्र भन्छन् । उनको संगत नगर्नू है… यस्ताको …। काठमाडौंको बसाइँ महगो छ, घरखर्च गर्न त धौधौ छ, बीमा गर्ने खर्च कहाँ बाट ल्याउने …? म भने उनलाई फकाउँदै नरिसाउन, साथी हो, उसको पेसै यस्तै छ, बरु चिया पकाइदेऊन भनेर फकाउँथे । उनी भने रिसाइरिसाइ साथी र मलाई चिया पकाउँथिन् । तर यो चोटि उसले अति नै कर गर्यो मलाई । सायद यो महिना एउटा पनि उसको पोलिसी नबिकेको हुनुपर्दछ । मैले संधै झैं उसलाई टार्दै पछि गरौंला नि, हुन्न ? भनें । उसले पछिपछि भनेर नभन्न यार, आज त एउटा पोलिसी जसरी पनि काटदछु …के तँ मेरो साथी होइन ? उसले साथीको प्रश्न उठायो, मैले हो नि त, मेरो मिल्ने साथी हो भनेर भनें । उसले साथी हो भने एउटा जीवन बीमा गर न त भनेर अति नै कर गर्यो, मैले अहँ भन्नै सकिनँ । विस्तारै हुन्छ भनेँ । ऊ औधी खुसी भयो । म भने मनमनै बीमा गर्ने पैसा कहाँबाट ल्याउने होला भनी सोंचिरहें । कर गरेर भएपनि बीमा त गर्ने भइयो । अब कुरा आयो कसको गर्ने । उसले मलाई सुझाव दिँदै परिवारमा तँ नै कमाउने हो, तेरै गर्नुपर्छ । यदि तँलाई भोलि केही भइहाल्यो भने अथवा मरिस् भने त एकमुष्ठ पैसा भाउजूले पाउनु हुन्छ । ऊ स्टे्रट फरवार्ड मान्छे सिधै भनिदियो तँ मरिस भने एकमुष्ठ पैसा आउछ भनेर । श्रीमतीले यो कुरा सुनेर मलाई इसाराले कोठामा आउन आदेश दिइन् । म डराइडराइ एकछिन है भनेर साथीलाई बैठककोठामै छोडेर श्रीमती भएको कोठामा गएँ र फकाउँदै भने के भयो ? श्रीमतीको अनुहार मलिन थियो, घुँक्कघुँक्क रुँदै उनले भनिन्, ‘चाहिँदैन बीमासीमा… कस्तो साथी हो यो तपाईंको ? तपाईं मरेपछि पैसा आउछ रे… तपाईं मरेपछि मलाई पैसाको के काम । मेरो श्रीमती अलि भावनात्मक र संवेदनशील मान्छे भएकोले म मर्ने कुरा सुनेर होला उसलाई चोट परेको । मलाई केही हुन्न क्या… भनेर उसलाई कोठामै छोडेर एकछिन है भनेर म फेरि साथी भएको बैठककोठामै आएँ र भनें– मेरो नगर्दा हुन्न ? उसले फेरि उसो भए छोरीको गरौं न त भन्दै सुझायो । छोरीको पढाइको लागि शैक्षिक बीमा । अन्ततः मेरो ३ वर्षे छोरीको नाममा शैक्षिक बीमा गरियो, १६ वर्षे अवधिको, बीस लाख रुपैयाँ बीमाङ्कको । जसमा मैले महिनामा करिब दश हजार जति तिर्नु पर्ने भयो । उसले हाँस्दै पोलिसी काट्यो, म भने भित्रभित्र खर्च बढ्यो भनेर खिन्न भइरहेको थिएँ । उसले पोलिसी काट्दै मलाई ढाडस दिँदै भन्न थाल्यो– कहिले काही किस्ता तिर्ने पैसा भएन भने भन्न म हालिदिम्ला सापटी । मैले टाउको हल्लाई स्वीकृति दिएँ । छोरीको शैक्षिक बीमा गरेको त्यो रात श्रीमती मसँग धेरै रिसाइन्, अब प्रत्येक महिना बीमालाई दश हजार तिरेपछि केले घर खर्च गर्ने ? के खाने ? त्यही पोलिसी पकाउने हो अब ? आफै पुर्याउनु घरखर्च, तलब मलाई दिनु पर्दैन अब भन्दै रिसाइन् । त्यो रात रिसाएर घरमा खाना पनि पाकेन, नखाई सुतियो । साँच्चै भन्नुपर्दा चार पाँच दिन मेरो र श्रीमतीबीच बोलचाल नै बन्द भयो । झन कहिलेकाही गफैगफमा त्यो बीमा अभिकर्ता मेरो साथीको कुरा निस्कियो भने ऊ मलाई खाउँला जसरी हेर्थिन् । त्यस्ता साथीको कुरा नगर्नु है मसँग, त्यस्तालाई घरमा पनि ल्याउनु पर्दैन भन्थिन् । कहिलेकाँही भने उसलाई म घरबाहिरै भेट्थेँ । यद्यपि पछिल्लो समय भेट पातलिँदै गइरहेको थियो । मैले एउटा पोलिसी किनिदिएर होला र मसँगको स्वार्थ पुरा भएर होला प्रायः आउने साथी बिस्तारै टाढिँदै गयो । आखिरमा उसको काम फत्ते भयो, अब किन पो आउँथ्यो र मेरोकहाँ ? उसलाई पोलिसी बेच्नुथ्यो बेच्यो । यता मैले बीमाको किस्ता नियमित नै तिरिहरेको थिएँ । घर खर्च गर्न धौधौ परिरहेकै थियो । समयको अन्तरालसँगै छोरीले पनि एसईईमा ए प्लस ल्याइन् । सानैदेखिको उसको डाक्टर पढने रहरले राम्रै कलेजमा साइन्स पढाइयो र प्लस टु पनि राम्रैसँग पास गरिन् । आज झन खुसीको दिन थियो । एमबीबीएस इन्ट्रान्समा छोरी पास भएकोले अब छोरी डाक्टर पढ्ने र उसको रहर पुरा हुने पक्का थियो तर डाक्टर पढ्न साठी लाखजति लाग्ने भएकोले यत्रो पैसा कहाँबाट ल्याउने भनेर हामी चिन्तित थियौं । सम्पत्तिको नाममा हामीसँग केही थिएन । झन मेरो सानो जागिर त्यसमा पनि काठमाडौको बसाइँ– खान लाउन र छोरीलाई पढाउँदा दैनिक घर खर्च चलाउन धौधौ नै थियो । बैंक ब्यालेन्स जिरो थियो । विवाहको श्रीेमतीको गरगहना बेच्दा र मेरो नोकरीको सञ्चयकोषको सबै रकम निकाल्दा पनि बीस–बाइस लाख मात्र जोहो हुन्थ्यो । छोरीलाई डाक्टर पढाउन साठी लाख लाग्दथ्यो, जसमा बीस लाख घटाउँदा पनि चालीस लाख पुग्दैनथ्यो । अरू तिरबाट सरसापट माग्न नखोजेको पनि होइन । तर भनेको बेला कस्ले दिन्छ र सापटी ? फेरि तिर्नु पनि त पर्यो नि त, कसरी तिर्ने ? भनेको बेला कोसँग पैसा हुन्छ आजकाल ? फेरि कसले पत्याउने ? थोरै भए पो सापटी माग्नू । र अन्त्यमा हामी निराश हँुदै छोरीलाई डाक्टर नपढाउने बरु नर्स पढाउन धेरै खर्च नलाग्ने भएकोले नर्स नै पढाउने निर्णय गरियो । छोरीको सानैदेखिको डाक्टर पढ्ने सपना भए पनि, उसले डाक्टरमा नाम निकाले पनि बल्लबल्ल उसलाई नर्स नै पढ ल छोरी, बाबामामुसँग त्यत्रो पैसा छैन भनेर सम्झाइयो र अन्त्यमा ऊ पनि नमानीनमानी नर्स नै पढ्ने निधो गरिन् । आज छोरीको नर्सको इन्ट्रान्स परीक्षाको दिन, छोरी परीक्षा दिनको लागि ठिक्क पर्दै थिइन् । म र मेरो श्रीमती पैसाकै कारणले छोरीलाई डाक्टर पढउन नसकेको र हाम्रो कारणले छोरीले नर्सको परीक्षा दिन लागेको सम्झेर मन खिन्न भइरहेको थियो । एक्कासि घरको मूल ढोकामा कारको हर्न बज्यो । सायद कोही आएको हुनुपर्दछ । हामीले ढोका खोल्यौं । गाडीमा त उही मेरो पूरानो साथी पो रहेछ, उही क्या त बीमा अभिकर्ता । ऊ वर्षौंपछि मेरो घरमा आएको थियो । उसलाई देख्दा निकै ऊ निकै बदलिएको देखिन्थ्यो । उसले टिलिक्क टल्केको जुत्ता र निकै राम्रो सुट लगाएको थियो । संधै बाइक चढ्ने ऊ आज कारमा थियो । मैले पनि औपचारिकता देखाउँदै आऊ बस भने । चिया खाने हो त भनेर सोध्न आँट पनि आएन । मेरो श्रीमतीले मन नपराएको मान्छे हो ऊ । ‘कहाँ हराएको यत्रो दिन’ भनेर मैले गफको प्रसंग कोट्याएँ । ‘म कहाँ हराएँ र ? बीमाको काम यस्तै हो … थाहा नै छ त तिमीलाई । अहिले म बीमा कम्पनीको प्रदेश हेड भइसकेँ नि त, धेरै देश पनि डुलिसकेँ, पैसा पनि राम्रै कमाइयो । ऊ त्यो कार छ नि त्यो पनि कम्पनीले मलाई नै दिएको हो,’ उसले भन्यो । मैले उसलाई बधाईसँगै यो तिम्रो मिहिनेतको परिणाम हो भनेँ । हाम्रो कुरा सुनेर श्रीमती रिसाइरहेकी थिइन् । ऊ वर्षौंपछि हाम्रो घरमा आउँदा पनि मेरो श्रीमतीको मन र रिस भने अझै मरेको थिएन । वर्षौपछि कसरी सम्झियौ त मलाई आज भनी मैले प्रश्न गरेँ । उसले आफ्नो ब्यागबाट कागजपत्र निकाल्दै मलाई एक चेक थमाउँदै भन्यो, ‘ल यो राख चालीस लाखको तिम्रो छोरीको नामको चेक । थाहा छ तिमीले छोरीको सोह्र वर्षे शैक्षिक बीमा गरेको थियौ नि, बीस लाखको त्यसको भाका पुग्यो । तिमीले तिरेको बीस लाख र त्यसको बोनस गरेर जम्मा चालीस लाख भयो । म त्यही दिन आएको ।’ म खुसीले गदगद भएँ । नसोचेको पैसा आज एक्कासि हातमा आइपुग्यो । बीमा भनेको त खर्च भन्ठानेको थिए, यो त बचत पो रहेछ । मैले उसलाई आफ्नो कमिशनको लागि बीमा गराएको होला भन्ठानेको थिएँ, त्यसो होइन रहेछ । मैले उसलाई कति गलत सोंचेछु । बीमा अभिकर्ताहरू हामीजस्ताको लुखुरलुखुर घर धाइरहन्छन्, बीमा नगरुन्जेल लिसोजस्तै टाँस्सिरहन्छन् भनेर सोचेको होइन रहेछ । बीमा भनेको त हाम्रौ लागि रहेछ । भविष्यको जोखिम कम गर्न पो रहेछ । बल्ल आज मैले बुझेँ । यदि आजको यो स्वार्थी दुनियाँमा हाम्रो लागि आफ्नो परिवारबाहेक बाहिरको कोही सोच्ने छ भने त्यो बीमा अभिकर्ता नै हो । मैले बल्ल बीमाको महत्व बुझेँ । यत्तिकैमा छोरी पनि नर्सको परीक्षा दिन तयार हुँदै कोठाबाट बाहिर ठीक्क निस्केकी मात्र के थिइन्, ती मेरा साथीले सोधिहाले– तिम्री छोरी त ठूली भइसकिछिन्, कतिमा पढ्दैछौ छोरी ? उसले छोरीलाई कतिमा पढ्छौ भनेर के प्रश्न गरेका मात्र थिए यता मेरी श्रीमतीले हाँस्दै र मेरो हातको उसले भर्खरै दिएको चालीस लाखको चेक हेर्दै छोरीले अब डाक्टर पढ्छे भनिन् । सायद श्रीमतीले चालीस लाखको बीमाको चेक मेरो हातमा देखेर हुनुपर्दछ छोरीलाई डाक्टर पढाउन आँट आएको । मैले पनि मनमनै गरगहना र सञ्चयकोषको गरी बीस लाख, अनि बीमाको चालीस लाख जम्मा गरी साठी लाख । म खुसीले फुरुङ भएर भनेँ– हो डाक्टर पढ्छे । मेरो साथीले पनि बधाई दिँदै हामीबाट बिदा हुन खोज्यो । यता म भने चियासम्म खुवाउन नसकेकोमा दुःख मानिरहेको थिएँ । एक्कासि श्रीमतीले भान्साबाट हामीनिर आई छोरीलाई हजारको नोट दिँदै चोकबाट छोरीलाई मासु लिन भनिन् । उनले साथीलाई भनिन्, ‘आज चिया होइन, मासुभात खुवाउँछु मेरो देवर बावुलाई । आज यतै बस्नुपर्छ है । बीमा सम्बन्धी धेरै कुरा बुझ्न मन लागेको छ मलाई ।’ मेरी श्रीमती र साथी गफ गर्दै थिए, यता म भने मेरो श्रीमतीको साथीप्रति र बीमाप्रति आएको सकारात्मक परिवर्तन देखेर खुसी हुँदै थिएँ । तर त्यतिखेर साथीलाई नराम्रो सम्झेकोमा मनमनै पश्चाताप पनि भैरहेको थियो । उता भान्साबाट मेरी श्रीमतीले मेरो साथीलाई सोेध्दै थिइन्, ‘साँच्ची बावु यो बीमा अभिकर्ता बन्न के गर्नु पर्दछ ? म पनि बनूम् कि क्या हो बीमा अभिकर्ता ?’
नयाँ वर्षको प्रतिज्ञा र मानसिकता परिर्वतनको यात्रारम्भ
मानिसमा निहित सोच तथा विश्वासहरूले उनीहरूको व्यवहार तथा क्रियाकलापहरूलाई प्रत्यक्ष तथा परोक्षरूपमा प्रभावित पार्ने गर्दछन् । मानिसमा विद्यमान मानसिकताका आधारमा कुनै विषय वा प्रसङ्गमा कस्तो दृष्टिकोण राख्ने वा परिस्थितिहरूलाई कसरी स्वीकार गर्ने तथा प्रतिक्रिया दिने भन्ने कुरा निरन्तर रूपमा निर्धारण भैरहेको हुन्छ । जसका आधारमा मानिसहरूका शिक्षा, पेशा, व्यक्तिगत विकास, सामाजिक सम्बन्ध आदिमा नियमित तथा निरन्तर रूपमा तरंग पैदा हुन्छ । मानिसहरुका प्रतिक्रिया वा व्यवहारका आधारमा अन्तरनिहित मानसिकतालाई मुख्यरूपमा निश्चित वा स्थिर तथा विकासशील गरी दुई तरिकाले विभाजन गर्न सकिन्छ । क) निश्चित मानसिकता निश्चित मानसिकता भएका मानिसहरूले आफ्ना क्षमता, बौद्धिकता आदि जन्मजात तथा निश्चित रहन्छन् भन्ने कुरामा विश्वास गर्ने गर्दछन् जसबाट उनीहरूमा नयाँ कुरा सिक्न तथा आफूलाई परिस्थिति अनुकूल ढाल्न वा सुधार गर्नमा अनिच्छा पैदा हुने गर्दछ । जसकारणले उनीहरू सदैव चुनौती र असफलताको भयबाट जीवन व्यतित गरिरहेका हुन्छन् । आफूसँग अपरिचित विषयवस्तु, कार्य वा परिस्थिति उत्पन्न हुनासाथ प्रतिकूलताको तीब्रता महसुस गर्दै सहजै हार स्विकार गर्ने अवस्थाहरु पनि सृजना हुने गर्दछन् । उपलब्धी तथा सफलता मानव भाग्यमा जन्मदेखि नै निर्धारण हुने भएकोले जीवनका प्रयत्नका कारणले मात्रै परिवर्तन सम्भव ल्याउंदैन भन्ने धारणाको गहिरो प्रभावका कारणले स्थिर मानसिकताका मानिस प्रायः असफलताको डर, चुनौतीबीच असहजता, संघर्षमा सन्देह, पुरातन वा परम्परागत विचारमा अडिगता आदिका शिकार हुने गर्दछन् । ख) विकासशील मानसिकता व्यक्तिमा निहित क्षमता तथा बौद्धिकतामा समय, अभ्यास अनि प्रयत्नसँगै विकास हुदै जान्छ भन्ने सोंच राख्ने मानिसहरूलाई विकासशिल मानसिकतामा राख्ने गरिन्छ । यस्ता मानिसले चुनौतीको सामनालाई अवशरका रूपमा स्वीकार गर्दछन् र असफलताहरूलाई सिकाइका माध्यमका रूपमा देख्छन् । सदैप नयाँ कुरा सिक्ने कुरामा प्रेरित भैरहने यस्ता मानिस अनवरत कडा परिश्रम, अभ्यास, सकरात्मक सोच तथा निरन्तर सुधारको बाटोमा अग्रसर भैरहेका भेटिन्छन् । व्यक्तिमा विकास हुने मानसिकताले उसको जीवनको दिशा निर्धारण गर्नमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । निश्चित वा स्थिर मानसिकताले परिवर्तनलाई सदैव बहिष्कार गर्दछ भने विकासशील मानसिकताले सदैव परिर्वतनलाई सिकाइको प्रमुख आधारका रूपमा बुझिरहेको हुन्छ । लक्ष्य प्राप्तिका लागि मानसिकतालाई पनि सोहीअनुरूप ढाल्न सक्यो भने मात्र आशातित सफलता हासिल हुन सक्छ अन्यथा भाग्यलाई दोष लगाउँदै टाउकोमा हात लगाउनुको विकल्प रहँदैन । मानिसमा विकास भैरहेको वा बनिसकेका मानसिकता परिवर्तन गर्नै नसकिने भने होइन । नियमितरूपमा स्वपरीक्षण गर्दै आफ्ना दृष्टिकोणहरुमा परिवर्तन ल्याउन अभ्यासरत मानिसले आफ्ना यथास्थिति केन्द्रित मानसिकतालाई जित केन्द्रित मानसिकताले प्रतिस्थापन गर्न सक्षम रहन्छन् । अपेक्षित परिणाम र त्यसका लागि आवश्यक क्रियाकलापका निम्नानुसारका समीकरणीय बोधपश्चात आपश्यक अभ्याससहित नयाँ वर्षसँगै लिइने प्रतीज्ञाहरूमा आफ्ना मानसिकता परिर्वतनको यात्रारम्भ गर्न सक्दा पक्कै पनि उपलब्धीको प्रभावकारिता अनि आयातन ठुलो हुनेछ । १) सफलता = (धैर्य + निरन्तरता) सफलता प्राप्त गर्नका लागि केवल एउटा प्रयत्न वा एक पलको प्रयास कहिल्यै पनि पर्याप्त हँुदैन । यसका लािग धैर्य र प्रयत्नको निरन्तरताको दरकार पर्दछ । केवल अथक प्रयास र संर्घषले मात्रै मानिसलाई अन्ततः लक्ष्यमा पुर्याउने भएकोले जस्तोसुकै परिस्थितिमा धैर्य राख्दै आफ्नो यात्रा निरन्तर राख्नाले मात्रै सफलताको स्वाद चाख्न पाउँछ । २) उपलब्धी = (आत्मविश्वास + मेहनत) आत्मविश्वास र परिश्रमको उपर्युक्त सन्तुलनबाट अपेक्षित सफलता हासिल हुन सक्छ जसका लागि सर्वप्रथम सफलताको अपेक्षाकर्ताले आफ्ना क्षमतामा विश्वास राख्दै कडा मेहनत गर्दा लक्ष्यमा पुग्न सकिन्छ । बिना परिश्रम प्राप्त हुने सफलताको दिगो नहुने भएको आत्मविश्वासका साथ प्राप्त गरेको सफलताको सन्तुष्ठि अधिक हुन्छ । ३) प्राप्ती = (सकारात्मक सोंच + परिश्रम) सकारात्मक सोंच र कडा परिश्रमको तालमेलले मानिसलाई लक्ष्य प्राप्त गर्न सबलता प्रदान गर्दछ । जब मानिस आफ्ना कामहरुमा सकरात्मक तरिकाले परिश्रम गर्न थाल्दछ त्यसपछि सफलताको यात्रा अत्यन्तै प्रभावकारी बन्दै जान्छ । सकारात्मक सोचबाट मानसिकतामा सुधार आउँछ भने परिश्रमले आफ्नो फल आर्जन गर्न भएकोले यस्तो प्राप्तिको स्वाद अत्यन्तै मीठो हुने गर्दछ । ४) नेतृत्व = (अवशर + तयारी) आवश्यक तयारीको उपस्थितिमा हमेशा अवसरले सफलतालाई आकर्षित गर्ने गर्दछन् । जुन मानिस सदैव हरेक कुरामा तयार रहन अभ्यासरत रहन्छ अवसरहरूले पनि उसैलाई पछ्याउँदै नेतृत्वको शिखरमा पु¥याउने गर्दछ भने बिना तयारीमा हासिल भएको नेतृत्वले अक्सर बाँदरको हातमा नरिवलको भावनालाई चरितार्थ गर्ने बाहेक अन्य केही गर्न सक्दैन । ५) परिणाम = (विचार + कर्म) मानिसले जीवनमा हासिल गर्ने परिणाम उसको विचार अनि उसले गर्ने विभिन्न कर्मको योगफलका रूपमा उत्पन्न हुने गर्दछन् । विचारमात्रै वा कर्ममात्रैबाट पनि केही न केही परिणाम उत्पन्न त हुन सक्छन् तर अपेक्षित परिणामका लागि दुबैको उपस्थिति अपरिहार्य छ । सही विचार र उचित कर्मले निश्चिय नै उत्पन्न हुने परिणामलाई सकरात्मक बनाउने छन् । ६) चरित्र = (विपत्ति + संघर्ष) सुनको शुद्धता खारेपछि मात्रै थाहा भए झैं जीवनका कठिनाइ र संर्घषले सदैव मानिसको चरित्रलाई बलियो बनाउछ । त्यसैले अधिक प्रतिकूलताहरूसँगको सामना खदिलो चरित्रको आधार स्तम्भ हो । कठिन समयमा जुन सीप वा ज्ञान हासिल हुन्छ त्यसले सदैव जीवनमा सबलता प्रदान गर्ने गर्दछ । त्यसैले प्रतिकूलता तथा संघर्षलाई जिताइ वा सिकाइका रूपमा दिन सक्दा मानिसको चरित्र तथा मानसिकता दुबैमा सकरात्मक बल प्राप्त हुन्छ । ७) तयारी= (सपना + योजना) लक्ष्य प्राप्तिको सपना देख्नु मात्रै पर्याप्त हुँदैन, यसलाई प्राप्त गर्न आवश्यक योजना बनाउनु पर्ने हुन्छ । जसमा के कस्ता गतिविधि वा क्रियाकलाप गर्ने, कहिले गर्ने, कुन दिशामा अग्रसर बन्ने, कति परिश्रम गर्ने, कस्तो ज्ञान, सीप वा संगति हासिल गर्ने आदिजस्ता पक्षहरूको मेहेनतका साथ आँकलन तथा अनुसरण गर्न सक्दा पक्कै पनि सफलता हासिल गर्ने तयारी परिपक्क बन्न सक्छ । ८) प्रगति = (समय + प्रतिवद्धता) हरेक मानिससँग समयको सीमा हुन्छ । जसले उपलब्ध समयको सहि सदुपयोग गर्दै लक्ष्य प्राप्तिमा प्रतिबद्ध हुन्छ उसको मात्रै प्रगति सुनिश्चित हुन्छ । जसले यसलाई तालमेल गर्न सक्दैन उसको जीवन केवल गुनासो मात्रै शेष रहने गर्दछ । ९) जीवन शिक्षा = (अनुभव + शिक्षा) शिक्षाले सदैव सैद्धान्तिक ज्ञान दिन्छ भने अनुभवले त्यसलाई व्यावहारिक बनाउने भएकोले आर्जित अनुभव र शिक्षालाई एकीकृतरूपमा सदुपयोग गर्दा जीवन उपयोगित शिक्षा प्राप्त हुन्छ । जीवन उपयोगी शिक्षाको प्रचुरतासँगै जीवनका कठिनाइहरूसँगै डटेर जुधून् तथा अवसरहरूको भरपूर सदुपयोग गर्न सक्षमता वृद्धिमा टेवा पुग्छ । १०) व्यक्तिगत विकास = (आत्म आलोचना + सुधार) आत्म आलोचनाले मानिसलाई आफ्ना कमजोरीहरूको सुक्ष्म परीक्षण गरी सुधारका रणनीतिहरू बनाउन मार्गदर्शन गर्दछ जसबाट हिजोभन्दा आज क्रमिकरूपमा व्यक्तिगत विकासहरू देखिन थाल्दछन् । आत्म आलोचना र सुधारको प्रक्रियाले मानिसको व्यक्तिगत विकासमा ठूलो भूमिका खेल्ने गर्दछ । यो निरन्तर सुधारको प्रक्रियाले मानिसलाई जीवनभर विकास गर्न मद्दत गर्दछ । ११) अहंम = (१/सफलता) मानिसलाई महान तथा तुच्छ सम्म बनाउन सक्ने विशेषता बोक्ने भएकोले अहंमले जीवनमा दोधारी तरबारको काम गरिरहेको हुन्छ । यो समीकरणले मानिसहरूलाई साँचो सफलता अहंमता बढाउनमा होइन, विनम्रता स्विकार गर्नमा छ भनेर सतर्क बनाउने काम गर्दछ । जब सफलता एक हुन्छ मानिसको अहंमता शून्यमा झर्दा मात्रै मानिसको बृहत्तर वृद्धि तथा समृद्धिको मार्ग खुल्ने छ । १२) आत्मविश्वास = विश्वास / वास्तविकता हरेक क्रियाकलापहरू सम्पादन गर्दा मानिसहरूमा आत्मविश्वासको आवश्यकता पर्दछ जुन उसको विश्वास र बास्तविकता बीचको सन्तुलनबाट निर्माण हुने गर्दछ । विश्वासको अधिकताबाट अहंकारको जन्म हुन सक्छ भने वास्तविकताको बोधको कमीले क्षमताको सही सदुपयोग नहुन सक्छ । त्यसैले मानिसको विश्वासलाई वास्तविकतासँग मिलान गर्दा स्वस्थ अनि सबल आत्मविश्वास विकासमा टेवा पुग्छ । १३) खुशी = (अनुभव–अपेक्षा) × कृतज्ञता मानिसका खुसीहरू केवल बाह्य परिस्थितिहरूमा मात्रै निर्भर नभई अपेक्षा तथा वर्तमान परिवेशको बोध, प्रशंसा एवं कदर गर्ने क्षमतामा पनि निर्भर गर्दछ । यस समीकरणले मानिसलाई आफ्ना अपेक्षाहरू व्यवस्थापन गर्न, अनुभवहरूलाई बढाउन तथा कृतज्ञता व्यक्त गर्न प्रेरित गर्दछ जसबाट सन्तुष्ट, सुखी तथा खुसी जीवनका लागि मार्गदर्शन हुन्छ । १४) असफलताको लचकता = ((प्रयत्न + सिकाइ)/(भय × २)) अपेक्षित सफलता प्राप्तिका लागि यात्रामा आउने प्रत्येक असफलताहरूले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले सफलताको अभिन्न अंगका रूपमा विफलताहरूलाई लिने गरिन्छ । त्यसैले असफलतालाई तिरष्कार गर्नेभन्दा पनि लचकता अपनाउने गर्दा जीवनमा प्रयास र सिकाइ मात्र होइन डर कम तथा सामना गर्दै निरन्तर जीतको तयारीमा जुट्न प्रेरणा मिल्ने गर्दछ । असफलताहरूलाई सिक्ने अवसरका रूपमा हेर्न सक्दा मानिस जीतका लागि थप बलियो बन्नुका साथै प्रतिकूलता बहन क्षमता विस्तारमा लचिलो बन्न सक्छ । १५) असाधारण सफलता = (जोश + दृढता + धैर्य) जीवनमा असाधारण सफलता हासिल गरिरहेका मानिसहरूको जीवनलाई नियालेर हेर्दा प्रायः सबै मानिसहरूमा हुने सामान्य गुणहरूकै प्रचुरता रहेको पाइन्छ । त्यसैले असाधारण सफलता हासिल गर्नका लागि पनि प्रेम, धैर्यता तथा दृढताको मिश्रणसहितको प्रतिभा र समयको साथ लक्ष्य प्राप्तिको निरन्तर प्रयास नै हो भनेर बुझ्दा सहज हुने देखिन्छ । १६) उत्प्रेरणा =(चाहना ×एकरूपता) मानिसका प्रत्येक क्रियाकलापहरूको प्रेरक शक्तिका रूपमा प्रेरणाले काम गर्छ जुन संधै स्थिर नरहन सक्छ । उत्प्रेरणालाई अविच्छिन्न राख्न बलियो इच्छा वा चाहना तथा एकनास प्रयासको आवश्यकता रहन्छ । यो उत्साह र निरन्तर प्रगतिको संयोजन हो जसले मानिसलाई अघि बढ्न हौसाइरहेको हुन्छ । १७) एकाग्रता = (व्यतित समय × तीव्रता) / विचलित अवस्था मानिसले जीवनमा आफ्ना पूर्वनिर्धारित लक्ष्यबाट विचलित हुने अनेकन क्रियाकलापहरू तथा परिस्थितिहरूको निरन्तर सामना गरिरहको हुन्छ जसबाट उसको एकाग्रता भंग भै लक्ष्य प्राप्तिमा अवरोध सृजना हुन्छ । त्यसैले मानवजीवनमा ध्यान एकाग्र गर्न सक्नु पनि एक मूल्यवान सीप हो । यो समीकरणबाट मानिसहरूलाई एकाग्रता भनेको केबल समयको खर्च मात्र होइन कि अपेक्षित कार्यमा तीब्रता कायम गर्दै ध्यान भट्काउने तत्वहरूलाई घटाउनु समेत हो भनेर बुझ्न सहजता प्रदान गर्दछ । १८) स्व:प्रेम = (करुणा + स्वीकृति) ×क्षमा जसले आफूलाई प्रेम गर्दैन उसले कसैलाई पनि प्रेम गर्नै सक्दैन । त्यसैले स्व:प्रेम व्यक्तिगत विकासको एक आधारस्तम्भ हो । यसबाट मानिसलाई आत्मदया, आत्म स्वीकृति तथा माफी भनेको एक स्वस्थ्य आत्मचित्रको आधार समेत निर्माण हुने गर्दछ । आफूलाई दया र समझदारीका साथ व्यवहार गर्दा मानिसलाई सकारात्मक एवं समृद्ध जीवनको मार्गदर्शन हुने गर्दछ । १९) लचकता =((प्रतिकूलता ×अनुकूलन) /( भय + शंका)) मानिसको जीवन प्रायः प्रतिकूलताका चुनाैतीहरूले भरिएको हुन्छ जसबाट बाहिर निस्कनका लागि मानिसहरूसँग रहने परिस्थितिजन्य लचकताको क्षमताले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । यस समीकरणबाट प्रतिकूलता सामना गर्दा अनूकुलनको क्षमता र भय अनि शंका घटाउन पर्ने आवश्यकतालाई प्रष्ट पार्दछ । लचिलोपन भनेको केवल कठिनाइ सहन गर्नु मात्र नभई त्यसको बाबजुत पनि समृद्धि हासिल गर्ने क्षमता विकास समेत हो । २०) दिगो सफलता = (जुनून + निष्ठा) × प्रभाव सफलताहरू केवल व्यक्तिगत उपलब्धीहरू मात्रै नभई मानिसहरूले संसारमा छोड्ने दीर्घकालीन प्रभावहरू समेत हुन् । त्यसैले दिगो सफलताको मापन मानिसहरूको जुनून, निष्ठा र वरपर देखिने सकारात्मक प्रभावका आधारमा समेत मापन हुने गर्दछ । त्यसैले सफलतालाई दिगो स्वरूप दिनका लागि वरपर सकारात्मक बाह्यता सृजना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ । माथिका प्रत्येक समीकरणले मानिसलाई विभिन्न महत्त्वपूर्ण पहलुहरूमा ध्यान केन्द्रित गराउन, जीवनका चुनौतीहरूसँग जुध्न, लक्ष्यहरू प्राप्ति गर्न, खुसी तथा सुखी बन्न आदिका बारेमा बढ्ने जागरणसँगै मानसिकता तथा परिणाममा परिवर्तन वा वृद्धि हुने कुराको संकेत गर्दछन् । समीकरणीय बोध तथा दैनिक जीवनमा नियमित अभ्यासबाट मानसिकताहरूमा सकारात्मक परिर्वतन आई जीवनलाई अधिक सफल तथा सुखी मार्गमा निर्देशित गर्न सकिने प्रमाणहरू पनि माथिका प्रसंङ्गमा भेटिन्छन् । । त्यसैले यस्ता सुत्रहरूलाई आत्मसात गरेर आफ्नाे आत्मगौरव, आत्मविश्वास, खुसी, विफलतामा विजय आदिमा नयाँ आयाम स्थापित गर्न सकिन्छ, जुन प्रत्येक नयाँ वर्षहरूमा गरिने प्रतिबद्धताहरूलाई कसिलो तथा प्रभावकारी बनाउने आधार समेत बन्न सक्छ । प्रायः नयाँ वर्षसँगै मानिसहरूले आफूमा केही न केहि परिर्वतन ल्याउने, बदल्ने अथवा सुधार गर्ने प्रतिज्ञा गर्ने प्रचलनहरूसमेत रहेका छन् तर धेरै प्रतिज्ञाहरू नयाँ वर्षको पहिलो महिनाको १५ दिनसम्म पनि कायम रहँदैनन् । फेरि अर्काे वर्षमा यस्तै प्रतिज्ञाहरू भइरहन्छन् । यस नयाँ वर्ष २०८२ ले हामी सबैलाई स्वस्थ तथा सबल मानसिकता प्रवर्द्धन एवं विकासका हरेक संकल्पहरूको सुक्ष्म बोधसहित अनवरत एवं अनुशासित कार्यान्वयनमा जुट्ने ऊर्जा थप्न सकोस्, सबैलाई हार्दिक मंगलमय शुभकामना ! (उल्लेखित विचारहरू लेखकका निजी भएकाले आवद्ध संस्थाको प्रतिनिधित्व गदैनन्)
“नाफाखोर” होइन, अर्थतन्त्रको मेरुदण्ड
मुलुकको आर्थिक अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्याहरू, सरकार र निजी क्षेत्रको सहकार्यमा गर्न सकिने सुधारहरू र निजी क्षेत्रको सरकारप्रतिको विश्वासका विषयतर्फ पेचिलो बन्दै गएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत भन्दा बढी छ । जसले हाम्रो जिम्मेवारी र सम्भावनालाई प्रस्ट पार्छ । तर, हामीलाई सरकारले सहयात्रीको रूपमा हेर्नुपर्छ, साक्षीको रूपमा मात्र होइन । निजी क्षेत्रलाई “रेन्ट सिकर” वा “सधैँ गुनासो गर्ने” भनेर हेयको दृष्टिले हेर्ने प्रवृत्ति बदलिनुपर्छ । यदि निजी क्षेत्रले नाफा कमाउन सकेन भने पूँजी निर्माण नै हुँदैन, र पूँजी निर्माणविना अर्थतन्त्रको विकास सम्भव छैन । निजी क्षेत्रले अहिले धेरै समस्याहरू भोगिरहेको छ । पहिलो, पूर्वाधारको अभाव ठूलो चुनौती हो । सडक पूर्वाधारको सुस्त विकासले व्यापार लागत २०–३० प्रतिशतले बढाएको छ । दोस्रो, ऊर्जाको गुणस्तर र उपलब्धतामा समस्या छ । तेस्रो, नीतिगत अस्पष्टता र कार्यान्वयनको कमजोरीले हामीलाई हैरान बनाएको छ। नियम बन्छन्, तर कार्यविध बन्दैनन्, र हरेक निकायले आफ्नै तरिकाले व्याख्या गर्छन् । चौथो, जग्गा प्राप्ति र प्रशासनिक ढिलासुस्तीले परियोजनाहरू वर्षौंसम्म अल्झिरहन्छन् । ऋणको सीमित पहुँचले साना तथा मझौला उद्योगहरूलाई संकटमा पारेको छ । यी समस्याहरूले हाम्रो उत्पादकत्व र प्रतिस्पर्धात्मकता घटाएका छन् । निजी क्षेत्रका यी समस्याहरू समाधान गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ । पहिलो, पूर्वाधार विकासमा ठोस कदम चाल्नुपर्छ । सडक, रेल र ऊर्जा परियोजनाहरूमा सार्वजनिक–निजी साझेदारी मोडल प्रभावकारी हुन सक्छ । ऊर्जा आपूर्ति सुनिश्चित गर्न हामी निजी क्षेत्रले मागको अध्ययन गरी प्रस्ताव गर्न सक्छौँ, र सरकारले आपूर्तिको प्रतिबद्धता दिनुपर्छ । तेस्रो, नीतिगत सुधारमा जोड दिनुपर्छ—जस्तै, इन्सल्भेन्सी एक्ट, डेट रिकभरी एक्ट र पर्सनल क्रेडिट रेटिङ प्रणाली लागू गर्नुपर्छ । चौथो, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न कर छुट, सस्तो ऋण र बजार पहुँचको व्यवस्था गर्नुपर्छ । नेपालमा ९० प्रतिशत उद्योग साना तथा मझ्यौ छन्, जसले ४५ प्रतिशत रोजगारी सिर्जना गर्छन् । पाँचौँ, निर्यात प्रवद्र्धनमा सहकार्य जरुरी छ । सन् २०२३/२४ मा हाम्रो निर्यात १.५३ खर्ब मात्र छ, जबकि आयात १५.३६ खर्ब छ । नेपाली उत्पादनको ब्रान्डिङ र बजार विस्तारमा सरकारको सहयोग अपरिहार्य हुन्छ । निजी क्षेत्रको सरकारप्रतिको विश्वास बलियो बनाउन धेरै काम गर्न बाँकी छ । सरकारले अध्यादेशमार्फत गरेको सुधार र लगानी सम्मेलनका प्रयासहरूले हामीलाई आशावादी बनाएको छ । तर, बिगतको अनुभव कार्यान्वयनमा देखिएको ढिलासुस्ती र नीतिगत अस्थिरताले विश्वास कमजोर बनाएको छ । उदाहरणका लागि, औद्योगिक व्यवसाय ऐन संशोधन भए पनि नियमावली बन्न ढिलाइ भयो । हामीलाई विश्वासिलो वातावरण चाहिएको छ—जहाँ नीति स्पष्ट होस्, प्रशासन चुस्त होस्, र निजी क्षेत्रलाई संरक्षण र सम्मान दिइयोस् । सरकारले हामीलाई “नाफाखोर” होइन, अर्थतन्त्रको मेरुदण्ड मानेर सहकार्य गर्नुपर्छ । हामीले पनि सरकारलाई सहयोगी ठानी रचनात्मक सुझाव र लगानीको प्रतिबद्धता दिनुपर्छ । यो विश्वासको आधारले मात्र हामी मुलुकको आर्थिक समृद्धि हासिल गर्न सक्छौँ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी निर्देशिकाले व्यवसायीहरूलाई ऋणको सीमामा कडाइ गरेको छ, जसले साना तथा मझौला उद्यमीहरूलाई कार्य सञ्चालन पूँजी अभावमा परेर व्यवसाय सङ्कटमा धकेलिदिएको छ । बैंकिङ क्षेत्रमा अधिक तरलताको समस्या पटक–पटक देखिन्छ । कहिले लगानीयोग्य रकमको अभाव त कहिले तरलता बढी भएर ब्याजदर अस्थिर हुने स्थिति छ । नियामक निकाय नवप्रवर्तनमा चुकेको छ; वैकल्पिक वित्तीय व्यवस्था जस्तै भेन्चर क्यापिटल वा क्राउडफन्डिङ जस्ता उपायहरूको विकासमा ध्यान दिनु अबको आवश्यकता भैसक्यो । वित्त वातावरणमा नवप्रबर्तनको कमि हुँदा हामीलाई परम्परागत बैंकिङमा मात्र निर्भर रहन बाध्य बनाएको छ, जसले गर्दा आर्थिक गतिविधि सुस्त भएको छ । सरकार र नियामकले यस्ता समस्यालाई सम्बोधन गरी निजी क्षेत्रको विश्वास जित्न ठोस पहल गर्नुपर्छ । नेपालको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेका घरेलु साना तथा मझौला उद्योगहरूको संरक्षण र विकासका लागि स्थानीय उत्पादनको प्रयोगलाई केवल नारामा सीमित नराखी व्यवहारिक रणनीतिक अभियानका रूपमा अघि बढाउनु अपरिहार्य छ । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरूको विस्तारले प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्नुका साथै विदेशी आयातको परनिर्भरतालाई क्रमशः न्यूनीकरण गरी व्यापार घाटा कम गर्न सघाउँछ । यसले गाउँघरका कुटीर उद्योगदेखि सहरका लघु व्यवसायसम्ममा रोजगारीका अवसर सिर्जना गरी युवा पलायन रोक्ने र स्थानीय अर्थतन्त्रमा रक्तसञ्चार गर्ने प्रत्यक्ष आधार तयार गर्छ । सरकारले हालै सावजनिक गरेको स्वदेशी वस्तु प्रयोग सम्बन्धि व्यवस्थाले उत्साह जगाएको छ । विश्व परिदृश्यले पनि हामीलाई नयाँ चुनौती र अवसर दिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीति र भन्सार दरले विश्व अर्थतन्त्र प्रभावित हुनेछ । नेपालले यहाँ तुलनात्मक लाभ लिन सक्छ, जस्तै ८० को दशकमा कोटा प्रणालीका कारण तयारी पोशाक उद्योग फस्टाएको थियो । तर, यो अवस्था दिगो रहन्छ कि रहँदैन, र परिवर्तन भए हामी कसरी प्रतिस्पर्धी बनिरहन्छौँ, त्यसको तयारीसहित लगानी र निर्यात नीति बनाउनुपर्छ । विश्व व्यापार वृद्धि २.६ प्रतिशत मात्र हुने अनुमान छ । त्यसैले हामीले क्षेत्रीय सन्धि र डिजिटल व्यापारमा जोड दिनुपर्छ । यस्तै, सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदैछ । बंगलादेश र लाओसको प्रतिव्यक्ति आय २,६०० डलर छ, नेपालको झन्डै आधा । यो स्तरोन्नतिले व्यापार छुट गुम्नेछ र निर्यात प्रभावित हुनेछ, विशेषगरी भारतमा सीमित हुने जोखिम छ । हामी चाहन्छौँ कि निजी क्षेत्रको नेतृत्वमा नीति बनोस् । उदाहरणका लागि, स्टार्टअप नीति महासंघको पहलमा बनेको छ, जुन वैज्ञानिक र प्रभावकारी छ । यस्ता नीतिले हाम्रो प्रतिस्पर्धात्मकता बढाउन सक्छ । विगत दुइ बर्षदेखि अर्थतन्त्र शिथिल हुदा हामी र हाम्रा सदस्यमा निराशा छ । शिथिल अर्थतन्त्र चलायमान बनाउन नयाँ चरणको आर्थिक सुधारको हामीले माग गर्यौं । सोही अनुसार बनेको आयोगले छिट्टै प्रतिवेदन बुझाउँदैछ र आगामी बजेटबाट सुधारको सुरुवात हुने विश्वास हामीले लिएका छौ । हामी सुधारका लागि सरकार एवं अन्य सरोकारवालाहरुसंग सहकार्य गरिरहेका छौं। निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ओज निरन्तर बढी रहेको छ । महासंघप्रति बढ्दो आकर्षणले हामीलाई थप उर्जा मिलेको छ । लगभग ६० वर्ष अगाडि १२ वटा संस्थापक सदस्यबाट स्थापना भएको महासंघमा अहिले जिल्ला, वस्तुगत, एसोसिएट गरी २२ सय भन्दा बढी सदस्यहरुमार्फत करिब ६ लाख निजी क्षेत्रका उद्यमी व्यवसायीको प्रतिनिधित्व हुर्दै आएको छ । महासंघको चुलिंदो ख्यातीलाई स्थापित राख्न हालै शंसोधित विधानले अझ बढी सहयोग गर्ने हाम्रो विश्वास छ । महासंघको विधानलाई समयको माग अनुसार संशोधन गर्न सफल भएको हामीलाई लागेको छ । हामीले काम गर्ने वातावरण पाउनुपर्छ, परिवर्तन सम्भव छ । त्यो सही अर्थमा आर्थिक क्रान्ति हुनेछ । (उद्योग दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले व्यक्त विचारबाट सम्पादित)