घरमा पाइने सस्ता पोषक खानेकुराको हेला गरिँदै, महँगा भिटामिनका पछाडि दौडिनेक्रम बढ्दै
‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ यो वाक्य अस्पताल, हेल्थपोष्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः सुन्नुपर्छ । हातमा ठूला राम्रा टनिकका सिसी लिएर घरपरिवारका बालबालिका वा बिरामीबाट भर्खर तङ्ग्रिन लागेका व्यक्तिलाई खुवाउने प्रचलन अहिले गाउँ सहर सबै ठाउँमा बढ्दो छ । पहिले सुत्केरीलाई ज्वानोको झोल खुवाएर दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । तर अहिले ज्वानोको नाममा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग खुवाइन्छ । त्यसैगरी बढी भिटामिन ख्वाउनुपर्छ भनेर मानिसहरु जताततै भिटामिनको खोजीमा छन् । कतिचोटी ग्राहक आफैँ औषधि पसलमा गएर भन्छन्, ‘मलाई कमजोरी भएको छ कुनै तागतको झोल दिनुस् न ।’ औषधि पसलेले कुनै ‘कुनै रङ्गीन झोल’ निकालेर दिन्छ र ग्राहक खुसी हुँदै ‘तागतको सिसी’ लिएर फर्कन्छन् । विशेषगरी गाउँघरतिर महिला ढाड दुख्नेदेखि लिएर मुटु पोल्नेसम्म जुनसुकै प्रकारको शारीरिक अस्वस्थतामा पनि भिटामिन प्रयोग गर्छन् । सहरका महिलाले पनि आफैँ ‘दुब्लो भएँ, मोटाउने भिटामिन दिनुस् न’ भन्दै औषधि पसलबाट किनेर ल्याउँछन् । गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा कतिचोटी महिला खास कुनै समस्या नभए पनि कमजोरी भयो भनेर आउँछन् र भिटामिनको माग गर्छन् । यदि उनीहरुलाई भिटामिन नदिने हो भने ‘कस्तो डाक्टर होला । केही रोग छैन भनेर भिटामिन दिएन’ भनेर गुनासो गरेको पनि सुनिन्छ । त्यसैगरी बच्चाले भात खाएन भनेर बजारको औषधि खुवाए भात र रोटीले पाउने पोषण पुग्छ भन्ने ठान्छन् । भिटामिन मानव शरीरको लागि एकदमै नभई नहुने तत्व हो । त्यस शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल (अत्यन्त आवश्यक) शब्दबाट भएको हो । भिटामिन मानव शरीरलाई अत्यन्त कममात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहिँ कमैलाई थाहा छ । त्यसैले त उनीहरु त्यसको पूर्ति हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरुले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गएको पाइन्छ । गर्भवती र सुत्केरी आमालाई सबै पौष्टिक तत्व एवं भिटामिनहरु बढी चाहिन्छन् भन्ने कुरा पनि प्रायःलाई थाहा हुन्छ, तर ती आवश्यक तत्वहरु प्राकृतिक भोजनमै धेरै हुन्छ भन्ने कुरामा कमैले ध्यान पुर्याएको देखिन्छ । आमा पनि चाहे काखको बच्चा होस् चाहे बढ्ने बच्चा सबैलाई भिटामिन झोल र टनिक दिएर सन्तुष्ट हुन्छन्, बच्चालाई पोषण दिइरहेको ठान्छन् । बाबु आमा कमैलाई थाहा छ-भान्छामा भएको भोजन नै बच्चालाई सबैभन्दा उपयुक्त हुन्छ । आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्र्याटस भनेका थिए, ‘भोजन नै औषधि हो ।’ विभिन्न विज्ञापनका भरमा औषधि किनेर खाने प्रचलन र घरको खानेकुराले मात्रै हाम्रो शरीर कमजोर हुन्छ भन्ने गलत मानसिकताका कारणले नै मानिसहरु सिसी र चक्की भिटामिन औषधि किनेर खान्छन् । हाम्रा करेसाबारीमा फलेका हरिया तरकारी, बजारमा पाइने मौसमअनुसारका फलफूल आदिलाई बेवास्ता गरेर हामीहरु धेरैजसो स्वास्थ्य राम्रो पार्नका लागि बजारका टनिक किनेर खान्छौँ । भिटामिनको प्रयोग गर्दा चक्कीभन्दा रङ्गीन झोल वा टनिकहरु बढी फाइदाजनक र झोलभन्दा बढी भिटामिन सुई फाइदाजनक हुन्छन् भन्ने गलत धारणाले गर्दा गाउँघरमा प्रत्येक रोगको लागि भिटामिन सुई लिने प्रचलन पनि धेरै मात्रामा छ । अनेक भ्रामक र अज्ञानताको कारणले पछिल्लो समय गाउँघरमा पनि सस्ता पोषक खानेकुराहरु छोडेर महँगो झोल तथा सुईका पछाडि दौडिनेक्रम बढ्दै गएको छ । यस्तो चलन बढ्नुको एउटा कारण रेडियो, पत्रपत्रिका र टिभीजस्ता सञ्चार माध्यमहरुमा हर्लिक्स्, बुष्ट, बोर्नभिटाजस्ता भिटामिनहरुको प्रचारप्रसार अत्यधिक हुनु पनि हो । भिटामिन ‘ए’ को कमीले हुने राति अन्धो हुने रोगको लागि ‘भिटामिन ए’ को क्याप्सुल बाँडिन्छ । तर तपाईको घरको बारीको फल मेवा वा अम्बा खाउँ है भनेर भनिदैन । जुन ठाउँमा पर्याप्त मात्रामा अमला पाइन्छ त्यो ठाउँमा भिटामिन सी’ को चक्की बेचिन्छ महँगोमा । सस्तोमा पाइने अमला भिटामिन सीकोभन्दा धेरै सस्तो भएर पनि बेवास्ता गरिन्छ । डा. अरुणा उप्रेती मानिसहरुले आफ्नो धेरै कमाई भ्रममा परेर यस्ता रङ्गीन झोलमा खर्च गरिरहेका छन् । औषधि पसलमा गएर रङ्गीन झोल किन्नुभन्दा अगाडि तपाईं डाक्टरलाई सोध्नुस्, ‘के वास्तवमा नै मलाई भिटामिन जरुरी छ र?’ भोक लगाउने टनिक आफूले खानुभन्दा अघि वा परिवारका सदस्यहरुलाई दिनुभन्दा अघि सोच्नुस्, ‘के यो वास्तवमा तपाईंलाई चाहिन्छ ? के यसका सम्पूर्ण कुप्रभावहरुबारे तपाईंलाई जानकारी दिइएको छ ? कतिपय विकसित देशहरुमा कुप्रभाव पर्छ भनेर भनिएका यस्ता भिटामिनका चक्की वा झोलहरु नेपालमा प्रश्रयका साथ बिक्री वितरण भइरहेको छ । सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरु पाउन सकिन्छ भनेर बुझ्नसक्यो भने भिटामिन झोल र टनिकको कसैलाई पनि जरुरत हुँदैन । त्यसैगरी धेरै मानिसहरु भोजन भनेर पाचन गराउने रस किनेर खान्छन् । तर घरमै भएका खानेकुरा ज्वानो, हिङजस्ता तत्वहरुको प्रयोग गरे पनि पच्ने प्रक्रिया राम्रो हुन्छ भनेर धेरै थोरैलाई मात्र थाहा हुन्छ होला । युवा पुस्तामा त यस्ता कुराहरुमा कमैले चासो दिएको पाइन्छ । तराईमा घरघरमा पाइने मेवा पाकेर झरिरहेका हुन्छन् । त्यसलाई हेरेर आँखा तर्काएर हिँड्नेहरुलाई थाहा छैन कि मेवा कस्तो औषधि, पाचन रस र भिटामिनले भरिएको खानेकुरा हो भनेर । खाना पचाउने भनेर थरिथरिका सिसीहरु बजारबाट किनेर ल्याउनेहरुलाई थाहा छ कि छैन मेवामा शरीरका भोजन पचाउन चाहिने सबै पाचन रसहरु जस्तै– पापायीन, खिम्मोपापिन आदि हुन्छ । मेवालाई विभिन्न ठाउँमा विभिन्न तरिकाले प्रयोग गरिन्छ । कतै पाकेको, कतैकतै पाकेको फललाई झोल बनाएर खाइन्छ, कतै काँचो मेवालाई तरकारी वा अचार बनाएर खाइन्छ जसरी खाए पनि यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने मात्रा होइन कि शरीरमा रहेका अन्य समस्या जस्तो कब्जियत हुने, खाना नपच्ने समस्या हुने आदि हटाउन पनि सक्छ । मेवामा भिटामिन ‘सी’ को मात्रा प्रचुर रहेको हुन्छ । आधुनिक पाचन रसका बारेमा जानिफकार प्रोफेसर म्यकस वोल्फले क्यानेडियन सिपाहीहरुमा अनुसन्धान गरेका थिए । उनले पर्याप्त मात्रामा पाचन रस भएका फलफूलहरुको खान दिएका सिपाहीहरुको स्वास्थ्यमा मात्र सुधार भएन कि उनीहरुमध्ये जसलाई धेरै रुघाखोकी लागि रहन्थ्यो दुई तिहाईलाई त लामो समयसम्म रुघाखोकी नै लागेन । एक तिहाई सिपाहीलाई रुघाखोकी लागे पनि कडा रुपले लागेन । प्रोफेसर वोल्फले आफ्ना विभिन्न अनुसन्धानबाट यो निष्कर्ष निकाले कि, शरीरमा पर्याप्तमात्रामा पाचन रस हुने हो भने व्यक्तिहरुको शरीरमा किटाणुहरुले आक्रमण गरेर रोग लाग्ने सम्भावना कम हुन्छ । पाचन रस प्राप्त गर्न टाढा जानै पर्दैन । मेवामा रहेका पर्याप्त तत्वहरु नै खानेकुरा पचाउन पर्याप्त छन् । तरै प्रायः मानिसहरु घरमा फलेको मेवा खान छोडेर, औषधि पसलमा गएर पाचन गर्ने औषधि, विभिन्न भिटामिनका झोल, शक्ति दिने झोल, सुत्केरी महिलालाई दूध बढाउने झोल, बालबालिकालाई भोक लगाउने झोल भनेर अनेकथरीका थरीथरीका बट्टाहरु किनेको पाइन्छ । नेपाली उखान ‘नजिकको तीर्थ हेला’ भने झैँ आफूसँग भएको वस्तुको बेवास्ता गरेर त्यसको सट्टामा महँगा झोलहरु किन्नेक्रम बढिरहेको छ । यसले आर्थिक रुपमा मात्र नभई स्वास्थ्यका हिसाबले पनि फाइदा पुगेको छैन । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन्)
लगानीकर्ताले कसरी लिने कानुनी लाभ ?
धितोपत्र बजार जोखिम र सम्भावनाको पिङ हो । यहाँ हरेकले कमाउन र रमाउन सक्छन् तर अरूको देखासिकीमा नबुझी र नजानी प्रवेश गरेका प्रत्येक लगानीकर्ताले गुमाउने निश्चित छ । धितोपत्र बजार यस्तो ठाउँ हो, जहाँ १० प्रतिशतले कमाउने र ९० प्रतिशतले गुमाउने गर्छन् । यसैले कैयौँले यसलाई अपव्याख्या गरेर जुवाको सङ्ज्ञा दिएका छन् तर यो क्षेत्र त्यसो नभई जोखिमले भरिएको भरपुर खजाना हो । जानेर झिक्न सक्ने हो भने बहुमूल्य सम्पत्ति प्राप्त हुनेछ तर लहडमा दौडिन थाल्यौँ भने भएकै धन पनि गुम्ने पक्का छ । यस्तो बजारलाई व्यवस्थित र मर्यादित ढङ्गबाट सञ्चालन गर्न र बजारमा हुने अराजक गतिविधिलाई नियमन र नियन्त्रण गर्न राज्य वा नियामक निकायहरुले नीतिनियम बनाउने गर्दछन् । हरेक लगानीकर्तालाई कानुनको सीमाभित्र अवसरको पहिचान गरेर परिणामहरु प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराइएको हुन्छ । तर ती सीमाभित्रका सम्भावनाहरु लगानीकर्ताले तब देख्न र बुझ्न सक्ने हुन्छन् जब त्यसको अध्ययन, अभ्यास र छलफलमा सहभागी हुने समय र आँटका लागि स्वयंले आफूलाई प्रोत्साहित गर्न थाल्छ । यसरी उत्साहित लगानीकर्तामध्ये गहिरो र गम्भीर ढङ्गबाट आफूलाई प्रस्तुत गर्नेहरुले त्यही नियमभित्र पनि अरूले भन्दा बढी फाइदाका छिद्र पहिल्याएका थुप्रै उदाहरण छन् । यस आलेखमा प्रचलित केही कानुनी व्यवस्थभित्र नबुझी लगानी गर्दा र बुझेर गर्दा एउटा लगानीकर्ताले कसरी तुलनात्मक रुपमा बढी लाभ लिन सक्छ भन्ने देखाउन खोजिएको छ । धितोपत्र कारोबार कमिसनसम्बन्धी व्यवस्था : लगानीकर्ताले धितोपत्रका उपकरण शेयर, डिबेञ्चर, बन्ड र म्युचुअल फन्ड आदिको कारोबार गर्दा धितोपत्र दलाल, नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र बोर्ड (सेबोन) र निक्षेप सदस्यहरुलाई विभिन्न किसिमको दस्तुर तिर्नुपर्ने हुन्छ । जुन कारोबार रकमका आधारमा निर्धारण हुने गर्छ । क) शेयर कारोबार : धितोपत्र बजारमा शेयर कारोबार रकम सीमाको आधारमा कमिसन तिर्नुपर्ने हुन्छ । ५० हजारसम्मलाई ०.३६ प्रतिशत, ५० हजारभन्दा माथि पाँच लाखसम्मलाई ०.३३ प्रतिशत, पाँच लाखभन्दा माथि २० लाखसम्मलाई ०.३१ प्रतिशत, २० लाखभन्दा माथि एक करोडसम्मलाई ०.२७ प्रतिशत र एक करोडभन्दा माथिको हकमा ०.२४ प्रतिशत रहेको छ । ख) बोन्ड र डिबेञ्चर कारोबार : धितोपत्र बजारमा कारोबार हुने नेपाल सरकार, राष्ट्र बैङ्क र कर्पोरेट संस्थाले जारी गरेका बन्ड र डिबेञ्चरको हकमा पाँच लाखसम्म ०.१० प्रतिशत वा १० जुन बढी हुन्छ सो बराबरको दस्तुर लाग्ने गर्छ । पाँच लाख एकदेखि ५० लाखसम्म ०.०५ प्रतिशत र ५० लाखभन्दा माथि ०.०२ प्रतिशत दस्तुर लाग्ने गरेको छ । ग) म्युचुअल फन्ड तथा अन्य धितोपत्र कारोबार : धितोपत्र बजारमा कारोबार हुने खुल्ला तथा बन्द मुखी म्युचुअल फन्ड र अन्य धितोपत्र उपकरण जुन माथि उल्लेख गरिएका छैनन्, त्यसको हकमा पाँच लाखसम्म ०.१५ प्रतिशत वा १० जुन बढी हुन्छ सो बराबरको दस्तुर लाग्ने गर्छ । पाँच लाख एकदेखि ५० लाखसम्म ०.१२ प्रतिशत र ५० लाखभन्दा माथि ०.१० प्रतिशत दस्तुर लाग्ने गरेको छ । धितोपत्र कारोबारमा लगानीकर्ताबाट लिइएको माथि उल्लेखित शत्प्रतिशत दस्तुरमध्ये ७९.४० प्रतिशत धितोपत्र दलाललाई, २० प्रतिशत नेप्सेलाई, ०.०६ प्रतिशत सेबोनलाई भाग लगाइन्छ । माथि उल्लेख गरिएबाहेक सेबोनलाई धितोपत्र हस्तान्तरणबापत थप शुल्क कारोबार रकमको ०.०१ प्रतिशत तिर्नुपर्ने हुन्छ । यस्तै, प्रतिस्टक प्रतिदिन हुने हस्तान्तरणका आधारमा डिपोजिटरी पाटिसिपेन्ट (डिपी) ट्रान्जेक्सन चार्ज २५ समेत लगानीकर्ताले आफूले धितोपत्र कारोबार गर्दा कमिसन तिर्नुपर्ने हुन्छ । लाभ : यस नियम नबुझेकाले भन्दा बुझेका लगानीकर्ताले विभिन्न अवस्थामा धितोपत्र कारोबार गर्दा लाग्ने कमिसन बचाउन सक्ने परिस्थिति हुन सक्छ । उदाहरणका रुपमा २० लाखको शेयर खरिद गर्दा ०.३१ प्रतिशत अर्थात् छ हजार दुई सय कमिसन तिर्नुपर्ने हुन्छ । तर २० लाख एकको शेयर खरिद गर्ने हो भने ०.२७ प्रतिशत अर्थात् पाँच हजार चार सय कमिसन तिर्नुपर्ने हुन्छ । यसरी एउटा कारोबारमा कमिसनबापत १२ प्रतिशत अर्थात् आठ सय बचाउन सकिन्छ । यस्तै, आफूले खरिद गरेको वा बिक्री गरेको धितोपत्रको कमिसनपछिको वास्तविक तिर्नुपर्ने वा पाउनुपर्ने रकम थाहा पाउन सकिन्छ । पुँजीगत लाभकरसम्बन्धी व्यवस्था : पुँजीगत लाभकरको दृष्टिले लगानीकर्तालाई संस्थागत र व्यक्तिगत गरी दुई किसिमले हेरेको देखिन्छ । व्यक्तिगत लगानीकर्ताको हकमा सम्बन्धित व्यक्तिले खरिद गरेर एक वर्षभन्दा लामो समय अवधि राखेर बिक्री गरेमा पुँजीगत लाभको पाँच प्रतिशत र एक वर्षभन्दा कम अवधि राखेर बिक्री गरेमा सात दशमलव पाँच प्रतिशतको दरमा पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ । यस्तै, संस्थागत लगानीकर्ताहरुको हकमा जुनसुकै अवधिमा धितोपत्र बिक्री गरे तापनि पुँजीगत लाभ भएमा १० प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको छ । यस व्यवस्था जान्ने र कारोबारका क्रममा अभ्यासमा ल्याउने हो भने वास्तविक रुपमा पुँजीगत लाभकर बापत काटिएको रकम ठीक छ छैन थाहा पाउन सकिन्छ । यस्तै, व्यक्तिगत लगानीकर्ताले कारोबारका क्रममा समयलाई ख्याल नगर्दा पुँजीगत लाभमा बढी कर तिर्नु परेको हुन सक्छ, त्यसबाट लाभ लिन सकिन्छ । उदाहरणका रुपमा मानौँ कुनै शेयर खरिद गरेको तीन सय ६० दिनमा बिक्री गर्दा एक लाख पुँजीगत लाभ भए छभने सात दशमलव पाँच प्रतिशत पुँजीगत लाभकर अर्थात् सात हजार पाँच सय भुक्तानी गर्नुपर्छ तर त्यही शेयर तीन सय ६६ दिनमा बिक्री गरियो र एक लाख नै पुँजीगत लाभ भएछ भने पाँच प्रतिशत पुँजीगत लाभकर अर्थात् पाँच हजार भुक्तानी गर्दा पुग्छ । यसले के प्रस्ट गर्छ भने समयलाई ध्यान दिएर कारोबार गर्ने हो भने केही दिनको अन्तरालमा लगानीकर्ताले दुई दशमलव पाँच प्रतिशत अर्थात् एक लाख पुँजीगत लाभमा दुई हजार पाँच सय बचत गर्न सक्ने अवस्था बन्छ । शेयर धितो कर्जासम्बन्धी व्यवस्था : आफूसँग भएको शेयर बैङ्क तथा वित्तीय संस्थाहरुमा बन्धकी राखेर कर्जा लिने व्यवस्था नै शेयर धितो कर्जा हो । यसरी कर्जा लिनका लागि आफूसँग योग्य कम्पनीको शेयर छभने आफ्नो आवश्यकताअनुसार सम्बन्धित निकायमा आवेदन दिन सकिन्छ र उक्त वित्तीय संस्थाले आवेदक र धितोलाई योग्य ठानेमा कर्जा दिन सक्छ । यस्तो कर्जाको हकमा ५० लाखभन्दा कम भएमा पछिला एक सय ८० कार्यदिनको अन्तिम बजार मूल्यको औसत मूल्य वा त्यस दिनको अन्तिम बजार मूल्यमध्ये जुन कम छ त्यसको एक सय अङ्क भारका आधारमा कर्जा दिन सकिने व्यवस्था गरिएको छभने ५० लाखभन्दा बढीको हकमा ७० अङ्क भारका आधारमा कर्जा दिन सकिने व्यवस्था गरिएको छ । यसको अर्थ कर्जा लिन चाहने व्यक्तिले आफ्नो शेयर सुरक्षण गर्दाको बखत मूल्याङ्कन गरिएको चलनचल्तीको दरभाउको निश्चित प्रतिशत कर्जा पाउने गर्दछ । यसको अवधि एक वर्षको हुने गर्दछ । त्यसपछि नविकरण गर्न सकिन्छ । यसैले मूल्याङ्कित शेयर धितो राखेर ५० लाखसम्मको हकमा एक सय प्रतिशत र ५० लाखभन्दा माथिको हकमा ७० प्रतिशतसम्म कर्जा प्रवाह हुने व्यवस्था नै शेयर धितो कर्जा हो । यस्तो कर्जा भुक्तानी गरेर धितो फुकुवा नभई शेयर बिक्री गर्ने गरेमा ‘क्लोजआउट’ बापत जरिवानासमेत तिर्नुपर्ने हुन्छ । लामो समयका लागि लगानी गर्ने व्यक्तिहरुको हकमा शेयर कर्जा उपयुक्त हुने देखिन्छ । शेयर धितो कर्जाका सम्बन्धमा जानकारी हुँदा कति कर्जा लिनका लागि कति शेयर सम्पत्ति आवश्यक छ थाहा पाउन सकिन्छ । यसको तुलनात्मक लाभहरु लिन सकिन्छ । उदाहरणका रुपमा रु ५० लाखको कर्जा लिने हो भने ५० लाख बराबरको शेयर सम्पत्ति मूल्याङ्कन भए पुग्छ । तर ५० लाख एकको कर्जा लिने हो भने रु ७१ लाख ४२ हजार आठ सय ५९ बराबरको शेयर सम्पति मूल्याङ्कन आवश्यक हुन्छ । यसको अर्थ के हो भने रु ५० लाखसम्मको कर्जाका लागि जति कर्जा लिने हो सो बराबरको शेयर सम्पत्तिको मूल्याङ्कन भए पुग्छ तर त्यसभन्दा माथि एक मात्रै थपिने हो भने पनि शेयर सम्पत्ति मूल्याङ्कनको ७० प्रतिशत मात्रै कर्जा पाउने अवस्था हुन्छ । यसैले यस्तो अवस्थामा त्यति नै धितो राखेर आफूलाई बढी कर्जा चाहिएको छभने आफ्नो नाममा ५० लाख र अन्य परिवारका सदस्यका नामबाट बाँकी शेयर किनेर उक्त शेयरलाई धितो राखेर रु २१ लाख ४२ हजार आठ सय ५९ थप कर्जा लिन सकिन्छ । मार्जिन कर्जासम्बन्धी व्यवस्था : नेपाल धितोपत्र बोर्ड र नेप्सेले जारी गरेका ‘मार्जिन’ कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४ र ‘मार्जिन’ कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ मा भएको कानुनी व्यवस्थाभित्र रहेर ‘मार्जिन’ कर्जा कारोबार गर्न योग्य दलाल व्यवसायीमार्फत योग्य कम्पनीका धितोपत्र उपकरणका हकमा ‘मार्जिन’ कारोबार सुविधा दिनुपर्ने व्यवस्था गरेको छ । ‘मार्जिन’ कर्जा लिएर धितोपत्र खरिद गर्दा पछिल्ला एक सय ८० कार्यदिनको अन्तिम बजार मूल्यको औसत मूल्य वा त्यस दिनको अन्तिम बजार मूल्यमध्ये जुन कम छ त्यसको निश्चित प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश पूर्व नै सुरु ‘मार्जिन’ दिन लगाएर बाँकी स्वयं ‘मार्जिन’ कर्जा दिनयोग्य दलाल व्यवसायी आफँैले खरिदकर्ताका तर्फबाट बिक्रेतालाई भुक्तानी गरिदिने गरी गरिने कर्जा सुविधा नै ‘मार्जिन’ कर्जा हो । यसरी किनिएको धितोपत्रको बजार मूल्य घट्दै गएमा दलाल व्यवसायीले अपुग रकम बराबरको ‘मार्जिन’ कल सम्बन्धित खरिदकर्तालाई जाने गर्दछ । यस्तो ‘मार्जिन’ समयमा तिर्न नसक्ने वा नटेर्ने लगानीकर्ताको हकमा दलाल व्यवसायीले उक्त धितोपत्र बिक्री गर्न सक्छ । ‘मार्जिन’ कर्जामा तोकिएकोे भुक्तानी गरेर शत्प्रतिशतको धितोपत्र खरिद गर्न सकिन्छ भने शेयर धितो कर्जामा शत्प्रतिशत शेयर बन्धकी राखेर तोकिएको प्रतिशत कर्जा मात्रै पाउन सकिन्छ । उदाहरणका रुपमा ‘मार्जिन’ कर्जालाई प्रयोग गरेर तपाईसँग ३० छ भने एक सयको धितोपत्र खरिद गर्न सक्नुहुन्छ । यसको अर्थ के हो भने खरिद पूर्व ३० प्रतिशत ‘मार्जिन’ भुक्तानी गरेर त्यसको एक सय प्रतिशतको धितोपत्र सम्पत्ति खरिद गर्ने सुविधा ‘मार्जिन’ कर्जाले दिने गर्छ । यसले लगानीकर्तासँग थोरै रकम हुँदा समेत धेरै शेयर किन्न सक्ने र जोखिम लिन सक्ने अवसर सिर्जना गर्छ । धितोपत्र बिक्री गर्न शेयर धितो कर्जामा जस्तो फुकुवा गरिरहनु पर्दैन । कारोबारी वा छोटो अवधिका लागि लगानी गर्नेहरुको हकमा यो कर्जा सुविधा धेरै उपयुक्त देखिन्छ । बजारमा धितोपत्रको कारोबार वृद्धि गर्न मद्दत गर्नसक्ने देखिन्छ । यसरी हेर्ने हो भने लगानीमा सफलता हात पार्न हरेक लगानीकर्ताले भइरहेका कानुनी व्यवस्थाहरुको सूक्ष्म अध्ययन गर्ने बानी बसाल्नु आवश्यक छ । यस्तो स्वभावले कानुनभित्र रहेका अवसर पहिल्याएर अन्य लगानीकर्ताले भन्दा थप फाइदा उठाउन सक्ने वातावरण सिर्जना हुन्छ । माथि भनिए जस्तै लगानीको लागत घटाएर, जरिवाना जोगाएर, तिर्नुपर्ने कमिसन कानुनतः कम तिरेर र विभिन्न कर्जाको तुलनात्मक लाभ उठाएर एउटा लगानीकर्ताले चिल, बाज जस्तै आफ्नो सम्पत्तिको उडान भर्न सक्ने कानुनी घेराभित्र प्रचुर आधार हुनेगर्छ । यसैले समृद्ध बन्न चाहने हरेक लगानीकर्ताले राज्य र नियामकले बनाएको कानुन पढेर, बुझेर अनुशासनसहित अभ्यासमा ल्याएर जसरी सुन्तला निचोरेर रस निकालिन्छ त्यसरी नै कानुनी व्यवस्थालाई निचोरेर लगानीमा प्रतिफलको जुस निकाल्न सक्नु नै सफल बन्ने मूल मार्ग हो । रासस (लेखक धितोपत्र बजारका जानकार हुन्)
अन्तर्राष्ट्रिय स्तरमा नेपाली परिकार र यसको ब्राण्डिङ, पहिलो सेफ केसीको विचार
पछिल्लो समय बजारमा नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने भनेर हुरी नै चलेको छ । जसलाई सकारात्मक नै मान्नुपर्छ । तर आजको दिनमा नेपाली खाना अन्तर्राष्ट्रिय स्तरमा नपुगेको भने होइन । यसलाई प्रमाणित गर्न नसकेको मात्रै हो । उदाहरणको लागि मम । मम अन्तर्राष्ट्रियस्तरमा प्रख्यात छ । तर यो नेपाली खाना हो भनेर प्रमाणित गर्न नसक्दा हामी पछि परेका छौं । नेपालको हस्पिटालिटीमा विगत र आजमा ठूलो अन्तर छ । विगतको तुलनामा आज नेपाली खानासम्बन्धी खोज, अनुसन्धानसमेत बढेर गएको पाइन्छ । आजभन्दा ४७ वर्षअघि अर्थात् सन् १९७७ तिर मैले सेफको जागिर सुरु गर्दा परिस्थिति अर्कै थियो । त्यतिबेला स्रोतसाधन र प्रविधिको अभावले गर्दा धेरै कुरा भेट्टाउन असम्भव थियो । हामीले पढ्ने बेलामा हलुवाईदेखि लिएर करेला, घिरौंलालाई अंग्रेजीमा के भनिन्छ भनेर शिक्षकले जसरी सिकाउनुहन्थ्यो त्यही हिसाबले कपीमा नोट गरेर पढ्थ्यौं । तर आज हामीलाई जुनसुकै भाषामा जेसुकै विषयमा जान्नुपरे सहजै भेट्टाउन सक्छौं । आज सूचना र प्रविधि तीव्र रूपले विकास हुँदै गएको छ । यसले हरेक नयाँ कुराको खोजी र अनुसन्धानसमेत बढ्दै गएको छ । नेपाली खानाकै कुरा गर्ने हो भने विगतमा पनि यसको महत्त्व उत्तिकै थियो । ४० वर्षअघि सोल्टी होटलमा काम गर्दा पनि होटलमा नेपाली खाना पाक्थ्यो । त्यहाँ पाक्ने खाना भने दरबार शैलीको हुन्थ्यो । हामीलाई दरबारबाटै राजदरबार शैलीको खाना कसरी बनाउने भनेर सिकाउन आउनुहुन्थ्यो । खाना बनाउँदा जिरा, मरिच, धनियाँ, खुर्सानी सबै एकैचोटि हालेर सिलौटामा राखेर लोरोले पिसिन्थ्यो । साथै कालो दाल बनाउँदा काँचो तोरीमा मेथी पट्काएर तेजपत्ता, गरम मसला हालेर पकाइन्थ्यो । त्यतिबेला बनाइने खानाको छुट्टै स्वाद हुन्थ्यो । अहिले त बजारमा विभिन्न स्वादका परिकार पाक्न थालिसकेको छ । तर नेपाली अथेन्टिक खाना भनेको विशेषगरी हिङ, चुकअमिलो, ज्वानो, मेथी, छ्यापी, शुद्ध घिउ, काँचो तोरीको तेल प्रयोग गर्ने हो । सोल्टीमा काम गर्दा ‘हिमाल चिल्ली’ भन्ने रेष्टुरेन्ट थियो । उक्त रेष्टुरेन्टमा नेपाली परिकार नै पाक्थ्यो । कालो दालमा जिम्बु हालेर झान्ने, कुखुराको मासुमा मुला हालेर पकाउने, खसीको भुटुवा, पक्कु, गुन्द्रक साँधेको अचार बनाइदिन्थ्यो । अचार पनि विभिन्न प्रकारको हुन्थ्यो । उदाहरणको लागि काँक्रोको अचार, निम्बुको अचार, कोइरालाको अचार इत्यादि । त्यतिबेला पनि पर्यटकको रोजाइमा नेपाली खाना हुन्थ्यो । जस्तोः भारतबाट सुटिङका लागि नेपाल आउँदा चलचित्रका नायक/नायिका सोल्टी होटलमै बस्थे । तिनीहरुको रोजाइमा नेपाली खाना नै हुन्थ्यो । हामीले कालो मासको दालमा जिम्बु हालेर, कुखुराको मासुमा मुला हालेर, मिक्स तरकारी बनाएर दिन्थ्यौं । लोपपछि पुनः चर्चा ग्लोबलाइजेसन, सूचना र प्रविधिको विकासँगै विस्तारै नेपालमा विदेशी खानाले प्राथमिकता पाउन थाल्यो । होटल तथा रेष्टुरेन्टमा पनि नेपाली खानाको सट्टामा विदेशी खाना पाक्न थाल्यो । जसले गर्दा नेपाली खानाको मौलिकता विस्तारै हराउन थाल्यो । यो एक किसिमले पर्यटकको मागअनुसार पनि हो । नेपालमा भित्रिने पर्यटकहरूले नेपाली खाना नै खान्छ भन्ने छैन । त्यसमा पनि विभिन्न मुलुकबाट आएका पर्यटकले नेपाली खाना पचाउन सक्छ भन्ने पनि हुँदैन । पहिले आजजस्तो ग्यास्ट्रोनोमीको अवधारणा पनि आइसकेको थिएन । त्यसले गर्दा पनि नेपाली खानाभन्दा बढी इन्डियन, चाइनिजलगायत विदेशी खानाले प्राथमिकता पाउन थाल्यो । नेपालमा पनि नेपाली रेष्टुरेन्ट भनेर खोल्ने तर तन्दुरी, चिकेन, नान किसिमका इन्डियन परिकार राख्दा नेपालीपन नै हराएर गयो । अहिले फेरि नेपाली खानाले पुनः चर्चा पाउन थालेको छ । यो पनि सूचना प्रविधि र प्रचारप्रसारकै कारण हो । विस्तारै मान्छेहरूले नेपाली खानाको महत्त्व र फाइदाबारे थाहा पाउँदै गएका छन् । विदेशी खानाभन्दा नेपाली खाना स्वाथ्यवर्द्धक छ भन्ने कुरा विभिन्न खोज तथा अनुसन्धानबाट पनि प्रमाणित भइसकेको छ । यसले गर्दा अहिले फेरि नेपाली खानाको माग बढ्दै गएको छ । तारे होटलमा पनि कुनै न कुनै आइटमका नेपाली खाना बन्नुपर्छ भनेर आइसकेको छ । नेपालमा तारे होटलहरू बढ्दैछन् । चेन होटल पनि थपिने क्रममा छन् । पहिले नेपालका पहाडी भू-भागमा सजिलै उपलब्ध हुने रैथाने बाली कोदोलाई घृणाको नजरले हेरिन्थ्यो । तर कोदोमा एन्टिअक्सिडेन्ट, प्रोटिन, भिटामिन, मिनरल, आइरन, क्याल्सियम पाइन्छ । यसको महत्त्व बुझ्दै गएसँगै मान्छेहरूले कोदोलाई हेर्ने दृष्टिकोणमा फरक आएको छ । अहिले मान्छेहरू कोदो अनि फापरको खोजी गर्दै हिँडेका छन् । सामान्यतया भान्सामा कोदोको परिकार बन्ने भनेको कोदोको ढिँडाे र रोटी मात्रै हो । पछिल्लो समय यसलाई फ्युजन गरेर नयाँ परिकार बनाउन थालिएको छ । अहिले काेदोबाट धेरै परिकार बन्छन् । नेपाली खानामा विविधता छ । यहाँ भेषभूषा र जातजातिअनुसारको खाना पाइन्छ । हरेक जातिको आफ्नै किसिमको खानाको मौलिकता हुन्छ । उपत्यकामा नेवार जातिको बहुल्यता छ । नेवार जातिको पनि विभिन्न परिकारहरू प्रख्यात छन् । नेवार जातिका विभिन्न परिकारहरू छन् । संस्कृति र खानाको हिसाबले नेवार जाति धनी छ । म आफै लामो समय यो इन्डस्ट्रीमा सेफको रूपमा काम गरेपनि उनीहरूले बनाउनेजति खानाको परिकार बनाउन सक्दिनँ । त्यो खालको खानासम्बन्धी सीप छ नेवार जातिमा । नेवार मात्रै नभएर थारु, मगर, गुरुङलगायत जातजातिको आफ्नै संस्कृति र खाना छ । ‘नजिकको तीर्थ हेला’ भने झैं हामीले नेपाली खानाको प्रवर्द्धन र प्रचार जति हुनुपर्ने त्यो हुन सकेको छैन । त्यसको प्रचार र प्रवर्द्धन हुन सके हस्पिटालिटी सेक्टरमा सम्भावना छ । खानाले नै पर्यटकलाई तान्न सक्छ । नेपालमा अर्थतन्त्रको ठूलो स्रोत पर्यटन हो । एक जना विदेशी पाहुना नेपाल आएर बस्दा त्यसले नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ । त्यसैले पर्यटकलाई भित्र्याउन सक्यो भने नेपालमा विदेशी डलर भित्र्याउन सकिन्छ । यसले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्नुका साथै रोजगारी सिर्जना हुन्छ । जसले गर्दा आज जुन हिसाबले रोजगारको लागि लाखौंको संख्यामा वैदेशिक रोजगारको लागि युवाहरू पलायन भइरहेका छन् त्यसलाई केही हदसम्म रोक्न सकिन्छ । (नेपालको पहिलो सेफ गोविन्द नरसिंह केसीसँगको कुराकानीमा आधारित) गाउँले परिकारको सहरमा तहल्का, तारे होटलमा प्रिमियम शुल्क