बज्यै, ब्यान्तारो र गाउँका गुरु
काठमाडौं । उइ.. आज नाप माठा भैगो रैछ ब्यान्तारो हपै आइगयो (ओहो आज अलि ढिला भइसकेछ बिहानको तारा नजिकै आइसकेछ) बज्यै (हजुरआमा) को यो आवाज सुन्ने बित्तिकै निन्द्राले छोड्थ्यो । निन्द्रा भगाउन दुवै हातले बेस्सरी आँखा मिच्थें । उत्सुकताको अगाडि निन्द्रा पनि हराउँदो रहेछ । बज्यैको स्वर सुन्ने बित्तिकै हस्याङफस्याङ गर्दै तारा हेर्न मन आतुर हुन्थ्यो । घर भित्रबाट बाहिर निस्कन पनि कहाँ सजिलो थियो र ! न बिजुली, न टर्च । मट्टीतेल हालेर बनाइएको टुकी बाल्न पनि आगो चाहिन्थ्यो । तर सुर चलेपछि के उज्यालोको आवश्यकता हुँदो रहेछ र । बज्यैको स्वर पच्छ्याउँदै अँध्यारोमै छामछुम पार्दै कुदिन्थ्यो । अँध्यारो, राम्रोसँग नखुलेका आँखा कहिल्यै भित्तामा टाउको बज्रिन्थ्यो त कहिले दैलोमा । तारा हेर्ने अत्यासले भित्रबाट बाहिर आउँदा कति चोट खाइयो आफैलाई थाहा छैन । कहिले घैटौंभरि राखेको पानी पोखिएर आफै चिप्लियो, आफ्नै निधार ठोक्किँदै कुदेका ती दिनहरू अहिले सम्झँदा अनौठो लाग्छ । बिहान उज्यालो भएको आभास आकासको ताराले बताइदिन्थ्यो । न बिजुली न घडी । आफ्नै छाया हेरेर यति बज्यो भन्ने अन्दाज गरिन्थ्यो । अहिले जस्तो समय बताइदिने हात हातमा घडी कसैको थिएनन् । बज्यैले आकास, घाम हेरेर समय छुट्याएको थाहा पाउँदा अच्म्म लाग्थ्यो । आफ्नो छाया आफ्नै शरीरभन्दा सानो देखिँदा दिउँसोको १२ बजेको ठानिन्थ्यो । अँध्यारोलाई चुनौती दिँदै बाहिर निस्किसकेपछि बज्यैलाई सोध्थें, ‘ब्यान्तारो काँ छ ?’ बज्यैले आकाशतिर औंला देखाउँदै भन्नुहुन्थ्यो, ‘ऊ त्यो सबैभन्दा चम्किलो तारा छ नि, हो त्यो ब्यान्तारो हो । यो तारा जहिले बिहान आउँछ, यो आइसकेपछि उज्यालो भयो भन्ने थाहा पाउनुपर्छ ।’ बज्यैले तारा देखाउँदै ताराको बारेमा भनिसकेपछि अरू ताराको बारेमा पनि जान्ने रुचि हुन्थ्यो । कतिपय ताराको बारेमा भनेको आफै बिर्सिसकें पनि । तर, जहिले मलाई निदाउन नदिने, अनि आमालाई छिटो उठ्न संकेत दिने यो ताराले जहिले बज्यैले बिहान सुरु भएको संकेत दिइसक्थ्यो । तारा हेरिसकेपछि बज्यैको हात समाउँदै घरभित्र आइन्थ्यो । त्यो अँध्यारोमा बज्यैले कसरी देख्नुहुन्थ्यो कुन्नि घरको खुड्किलोदेखि भित्र सुत्ने ठाउँसम्म उज्यालोमा जसरी फटाफट् हिँड्नुहुन्थ्यो । न बत्ती, न टर्च, न झिरो अँध्यारोमा पनि कसरी हिँड्न सकेको । लाग्थ्यो ठूलो भइसकेपछि बज्यै जस्तै पानी नपोख्दै, भित्तामा न ठोक्किँदै म पनि यसैगरी हिँड्न सकुँला । बज्यै भित्र आइसकेपछि हत्तपत्त आमाको उठ्ने पालो हुन्थ्यो । आमा पनि म जसरी आत्तिएर उठ्नुहुन्थ्यो । तर, अत्यास फरक हुन्थ्यो । म बज्यैले भनेको तारा हेर्न उठ्थे । आमा बिहानको काम गर्न । मेरो बाल्यकालमा आमा भन्दा बढी संगत बज्यैसँग भयो । सुत्ने, उठ्ने खानेदेखि सबै बज्यैसँगै हुन्थ्यो । आमासँग कहिलेकाहीँ घरायसी काम गर्नुपरे मात्र गइन्थ्यो । त्यसैले पनि होला दैवले आमासँगको यात्रा यति छिट्टै टुंग्याइदिएको । आमासँगै बसेको, खाएको, हिँडेको, सुतेको खासै याद छैन । अहिले त लाग्छ- बज्यैजस्तै आमासँगै सुत्ने, उठ्ने, खाने गरेको भए अहिले पनि भगवानले आमाको साथ छुट्याइ दिँदैन थियो कि ! बिहानै उठेर चोखो पानी भर्ने, दैलो पोत्ने मेरी आमाको नियमित काम थियो । बिहान भात पकाउन चामल छैन भने धान लिएर ओखल पुग्नुपर्थ्यो । चामल छ भने बिहानको नास्ता चिया, पकाएर भात पकाइ अध्यारोँमै सक्नुपर्थ्यो । जुन काम अनिवार्य जस्तै थियो । आमाले यति सबै कामसकेपछि बल्ल कुखुरा (भाले)ले उज्यालो भएको जनाउ दिँदै कुखुरी काँ भन्न सुरु गर्थ्यो । भाले बास्दा अर्को तनाव । आमाको कचकच सुरु भइसक्थ्यो । भाले बासिसकेपछि छोरीले सुत्न हुँदैन । बिहानै उठ्न सिक्नुपर्छ । भोलि कस्तो घरमा परिन्छ, काम त सबै सानैदेखि सिकेको राम्रो । आमाले सानैदेखि बस्न, हिँड्न, काम गर्न सिकि राख्नुपर्छ भन्नुहुन्थ्यो । आमाले यस्ता कुरा सिकाउँदा बुझ्ने नै भइएको थिएन । सानै भए पनि केटाकेटी भनेर कहाँ त्यत्तिकै बस्न छुट हुन्थ्यो । घरमा सक्नेजति सबै काम सघाउनु पर्थ्यो । खाना पकाउनेदेखि, घाँस काट्ने, घरको सरसफाइ गर्ने सबै काम गर्नुपर्थ्यो । म पछिको मेरो भाइ उसलाई आनन्द थियो । किनकि मेरो भाइ छोरा थियो । छोरालाई प्रायः घरको काम गर्न आमा र बज्यैलाई मन नपर्ने । ऊ साथी खोज्दै खेल्न जान्थ्यो । सँगसँगैको भए पनि उ खेल्ने फुर्सद पाउँथ्यो । मैले काम गर्नुपर्थ्यो । घरमा आमा, हजुरआमालाई सघाइ स्कुल पढ्न जानु पर्थ्यो । विस्तारै उमेर बढ्दै जाँदा कामको जिम्मेवारी थपिँदै गयो । काम यतिसम्म गर्नुपर्थ्यो कि स्कुल जाँदा कपाल पनि बाटोमै कोर्नुपर्थ्यो । हातका नङ दाँतले टोक्नुपर्थ्यो । काम गर्दै पढ्दै म ठूली भइसकेकी थिएँ । गाउँमा छोरीलाई पढाउनुपर्छ भन्ने सोचको विकास भइसकेको थिएन । मसँगका दिदी फुपूहरू पनि ठूलो भइसकेपछि बल्ल स्कुल जान सुरु गरेका थिए । तर, सानो भाइबहिनीसँग सँगै बसेर पढ्दा उनीहरू अप्ठ्यारो महसुस गर्थे । एक/दुई जनाले त पढ्नभन्दा बरु भागेर विवाह गर्नु उचित ठानेर भागेर गए । मलाई पढाउन भने न मेरो आमाले रोक्नुभयो, न त बज्यैले । मभन्दा धेरै अगाडिका दिदी फुपूहरू पनि पढेका थिए । बुवालाई पनि छोरी पढाउनुपर्छ भन्ने चेत थियो । तर, अहिलेको जस्तै अनिवार्य थिएन । कतिपय छोराहरू पनि नपढ्ने चलन थियो । बुवाले नै मलाई पढाउनुपर्छ भनेर स्कुल पठाउनुभयो । तर, स्कुल पठाउनुपर्छ भन्ने चेत मात्र भएर गाउँमा नपुग्ने रहेछ । खेतबारीको काम नगरी हातमुख जोर्न नपाइने, हातमुख जोर्न दश नङ्ग्रा खियाउनै पर्ने । खेतबारीको काम गर्दा घरमा काम नगरी बस्न छुट थिएन । बिहान कति बजेको हुन्थ्यो थाहा हुँदैनथ्यो । तर, आमाले घरको सबै काम सकेर मलाई सँगै लिएर जंगल पुग्नुहुन्थ्यो । स्याउला, दाउरा घाँसको लागि भएपनि आमासँगै नाम्लो र हँसिया बोकेर जंगल जानु पर्थ्यो । जंगलबाट घर फर्कन ९ बजिसक्थ्यो । हातमुख धोइवरी खाना खाँदा स्कुल लाग्ने बेला भइसक्थ्यो । कक्षा तीनसम्म गाउँमै स्कुल भएपनि कक्षा चार कक्षापछि भने आधा घण्टा हिँडेर स्कुल पुग्नुपर्थ्यो । घरको कामले समयमा स्कुल पुग्न पनि गाह्रो । समयमै स्कुल नपुग्दा सरले पिट्ने डर, घरको काम नगरेर स्कुल आउँदा काम छुट्ने । यस्तो दोहोरो भूमिकामा स्कुले दिनहरू बिताउनुपर्यो । यो मेरो मात्र बाध्यता थिएन प्रायः गाउँका केटीहरूको बाध्यता थियो । यो बाध्यता कतिपयलाई अहिले पनि छ । बिहान उठेर किताब पढ्नु, दिउँसो स्कुल जान पाउनु, साँझ घरमै ट्यूसन पढ्न पाउनेहरू साँच्चिकै भाग्यमानी हुन् । कति दिन हातको नङ नकाटेको निहुँमा कुटाइ खाइयो, कति दिन गृहकार्य नगरेको नाममा, कति दिने ड्रेस फोहोर भएको नाममा । लाग्थ्यो स्कुल जानु नै कुटाइ खान हो । घरमा न गृहकार्य गर्ने समय न सरसफाइ गर्ने फुर्सद । अहिले सम्झँदा त लाग्छ- भगवानले गाउँका महिलालाई खेतबारीको काम गर्नकै लागि जन्म दिएका हुन् । न पढाइ, न शिक्षक घरको कामसँगै पढ्नुपर्ने चुनौती अर्को थियो । न घरमा पढ्ने समय न विद्यालयमा राम्रो पढाइ । शिक्षकहरूलाई विद्यालय कहरभन्दा रहर थियो । कहिल्यै विषय अनुसारका शिक्षक स्कुलमा भएनन् । अहिले पनि छैनन् । सामाजिक विषय पढाउने शिक्षक आएर विज्ञान विषय पढाउँथे, गणित विषय पढाउने शिक्षक आएर स्वास्थ्य विषय पढाउँथे । बाध्यता अहिले पनि उस्तै छ । विषय अनुसारका शिक्षक भएपनि कक्षा कोठामा महिनाको १० दिनमात्र उपस्थित हुन्थे । धेरै दिन बिदामै गएको हामीले थाहा पाउँथ्यौं । भएकै शिक्षकहरू पनि मन लागे पढाउने, नभए आज तिमीहरू आफै पढेर कक्षा कोठाबाट बाहिरिने अभ्यास थियो । गाउँमा गणित, विज्ञान, अंग्रेजी विषय पढाउने शिक्षक प्रायः तराई मधेशकै हुन्थे । उनीहरू विदा लिएर घर आउजाउ गर्दा एक महिना त्यत्तिकै जान्थ्यो । परीक्षाको मिति आइसक्दा कहिल्यै पनि सबै विषयको पढाइ पूरा भएको अनुभव छैन । न घरमा पढ्ने फुर्सद न स्कुलमा पढाउने गतिला शिक्षक । परीक्षाको नतिजा कस्तो आउँथ्यो सम्झँदा अहिले दुःख लाग्छ । समस्या मेरो पालामा मात्र समिति रहेन अहिले पनि उस्तै छ । अहिले पनि गाउँका स्कुलमा विषयगत शिक्षक छैनन् । भएकाहरूको पनि कक्षा उपस्थित त्यही महिनाको १०/१२ दिन मात्र हो । यो विषयमा न त्यहाँका विद्यार्थी आवाज उठाउँछन्, न त्यहाँका अभिभावक । दुई वर्ष अगाडि मेरो कान्छो भाइले एसईई दियो । अंग्रेजीमा केही कमजोर भएपनि गणित लगायत अरू विषयमा राम्रो थियो । तर समस्या जस्तो मैले भोगेको थिएँ, उसले पनि उस्तै भोग्नुपर्यो । न विषयगत शिक्षक, न सबै विषयको पढाइ पूर्ण । उसले एसईई दिँदा पनि पुरा विषय पढ्न पाएको थिएन । अवस्था अहिलेको पनि उस्तै छ । पालिकाको अनुदान कोटामा, निजी स्रोतमा राखिएका शिक्षकहरू पनि पहुँचको आधारमा राखिएका छन् । न उनीहरू विषय अनुसारको विज्ञ आफै छन्, न विद्यार्थीलाई सिकाउन सक्ने क्षमता छ । सुदूरपश्चिम होस् या सुदूर पूर्व वा तराईका गाउँमा सबै विद्यालयमा प्रायः विषयगत शिक्षकहरू छैनन् । निजी स्रोत वा अनुदान कोटामा राखिएकाहरू कि विद्यालयको प्रधानाध्यापकका आफन्त, पालिकाको अध्यक्षका आफन्तहरू छन् । पहाडका विद्यार्थीले एसईईको समयमा तराई गएर ट्युसन पढेर एसईईको परीक्षा दिनुपर्ने बाध्यतामा छन् । काठमाडौं वा धनगढीमा आएर आईएस्सी पास गरेर गाउँ फर्केकाहरू निजी कोटाबाट शिक्षक बनेर विद्यार्थीलाई पढाइरहेका छन् । मौलाएको राजनीति नेपालको संविधानले विद्यालय तहको शिक्षालाई स्थानीय तह अन्तर्गत राखेको छ । अहिले कक्षा ८ मा हुने परीक्षाको नतिजा पालिकाले नै सार्वजनिक गर्छ । यो वर्षको कक्षा ८ को नतिजामात्र हेर्ने हो भने अधिकांश विद्यालय शून्यमा झरे । अर्थात् कक्षा ८ मा एकजना विद्यार्थी पास हुन नसकेको लाजमर्दो नतिजा सार्वजनिक भयो । यस्तो अवस्था हुँदा समेत विद्यालयको पढाइ कसरी सुधार्ने भन्ने विषय न त्यहाँको पालिकाको मुख्य विषय बन्न सक्यो न त विद्यालयको । बरु एउटा रमाइलो कुरा के भने अछामको एउटा पालिकाले कक्षा ८ मा पालिका भित्रका जुन विद्यालयले राम्रो नतिजा ल्याउन सक्यो उसलाई पुरस्कार दिने नीति ल्याएपछि त्यहाँ गत वर्षदेखि चिट चोराउन प्रतिस्पर्धा नै चल्यो । २०८० सालमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयले पालिकाबाट पुरस्कार पाएपछि २०८१ सालमा पालिका भित्रका विद्यालयले राम्रो नतिजा ल्याउन यतिसम्म गरे कि प्रश्नपत्र समेत आउट गरे । यो विकृतिमा स्वयं शिक्षक नै सहभागी थिए । गाउँका अभिभावकमा अहिले पनि राजनीति भन्दा बाहिरको चेतना आउन सकेको छैन । विद्यालयको शिक्षा कसरी राम्रो बनाउने, विद्यार्थीलाई कसरी सीपमूलक शिक्षा दिने भन्दा पनि प्रधानाध्यापक कसलाई बनाउने, कुन शिक्षकको सरुवा कहाँ गर्ने भन्नेमै सीमित छ । अस्थायी शिक्षकलाई स्थायी बनाउनु पर्ने, बाल शिक्षाका शिक्षकहरूको तलब बढाउनुपर्ने लगायत माग राख्दै गाउँका शिक्षकको समय घर्किरहेको छ । गाउँका सरकारी विद्यालयमा पढ्ने गरिब, किसानका छोराछोरीमाथि अझ पनि यो स्तरको खेलबाड गरिरहने हो भने अझै हामीले भनेको गुणस्तरीय शिक्षा पाउन जुग कुर्नुपर्छ । जसरी मेरो बज्यैले ब्यान्तारो हेरेर उज्यालो भएको अन्दाज लगाउने समयको अन्त्य भयो । त्यसरी हामीले शिक्षक नहुँदा अधुरा छोडेका पाठहरू कहिले पूर्ण होलान् ?
आरामको जिन्दगी होइन, स्वस्थ, सुखी र मज्जाको जिन्दगी बाँच्नुस्
आज जुन २१ तारिख अथवा वर्षभरिको सबैभन्दा लामो दिन । आज योग प्रारम्भ गरिएको दिन । हजारौँ वर्षअघि, धेरै वर्षअघि, धेरै हजार वर्षअघि शिवले आफ्ना सप्तऋषि भनिने शिष्यहरूलाई अगाडि राखेर पहिलो योग शिक्षा प्रदान गर्नुभएको दिन, उत्तरायनबाट सूर्य दक्षिणयान लाग्ने दिन योग प्रारम्भ भएको शास्त्र अनुसार मानिन्छ । त्यसै दिनलाई संयुक्त राष्ट्रसङ्घले विश्व योग दिवसका रूपमा मानेको छ । यस दिवसको सन्दर्भमा म सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । अर्थात्, योग मानव जातिको कल्याणका लागि, मानिसको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र मानिसको मानवीय प्रवृत्ति अर्थात् सामाजिकपन, सामाजिक प्रवृत्तिको विकास र त्यसको कार्यान्वयनका लागि योग सिर्जना र विकास हुँदै आएको छ । बिचमा योग अलिकति लुप्त भयो । आज योग अलिकति भड्किन पनि खोजेको छ । योगबाट योगातिर जान खोजेको छ । योगा होइन, योग हो । योगाको कुनै अर्थ हुँदैन, योगको अर्थ हुन्छ । दीपक नाम मैलेभन्दा बत्ती हुन्छ, ज्योति हुन्छ, उज्यालो हुन्छ, अनेक होला तर बिगारेर अर्को नाम राखेँ भने त्यसको अर्थ हुँदैन । त्यस्तै योगलाई योगा बनाउनु हुँदैन । योग हो । योग पहिलो शिवबाट उत्पत्ति भएको थियो अर्थात् यस धर्तीमा योग उत्पत्ति भएको थियो । यहाँका पुर्खाहरूबाट, यहाँका अग्रजबाट भएको हो । हामी पुर्खालाई भगवान् भन्छौँ । हामी भगवान् दुई वटा चिजलाई मान्छौँ । एउटा पुर्खाहरूलाई मान्छौँ, शिव, दुर्गा, मातादेवी, देवता, विष्णु, ब्रह्मा जेसुकै भन्नुस्, जति देवताको नाम लिइन्छ, ती सबै पुर्खा हुन् । पुर्खालाई हामी देवतुल्य मान्छौँ र देवता भन्छौँ । अर्को हामी प्रकृतिलाई देवता मान्छौँ । अघि यहाँ गायत्री संस्थाले गायत्री वाचन भनिरहेको थियो–सूर्य देवता, चन्द्र देवता, वरुण र मरुता देवता आदि अथवा पानी पनि देवता हो, जसले हाम्रो जीवन चलाएको छ । मरुता अर्थात् हावा जसले अक्सिजन दिएर हामीलाई बचाएको छ । जीवनका लागि सबैभन्दा महत्वपूर्ण हावा छ, अक्सिजन छ । जुनबिना हामी दुई तीन मिनेटभन्दा बढी बाँच्न सक्दैनौँ । त्यस्तो अक्सिजन, त्यो हाम्रा लागि भगवान् हो, हाम्रा लागि जीवनदायिनी हो । त्यस कारण हामी गर्भमा हुँदा पनि अक्सिजनबाट बाँचेका हुन्छौँ र जन्मपश्चात् पनि अक्सिजनबाट बाँचेका हुन्छौँ । जीवनभरि अक्सिजनबाट बाँचेका हुन्छौँ । त्यो सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यस कारण वायु जो देखिँदैन, वायुमा धुलो उड्यो भने धुलो देखिन्छ तर वायु देखिँदैन । वायु अदृश्य छ । त्यो वायु पनि देवता हो भनेर अघि भर्खर मन्त्र उच्चारण गर्नुभयो । अर्थात् हाम्रा पूर्वज धेरै ज्ञानी थिए, विश्व शान्ति भने, वनस्पतीय शान्ति भने, आकाश शान्ति भने, पृथ्वी शान्ति भने सबैतिर शान्ति भने । आज आकाश शान्तिको कति अर्थ र महत्व रहेछ, पृथ्वी शान्तिको कति महìव रहेछ, त्यो हामी बुझ्दै छौँ । धेरै सोचेर, चिन्तन गरेर निष्कर्ष निकालेर, अनुभूतिहरूलाई ज्ञानमा परिणत गरेर, ज्ञान सङ्ग्रह गर्दै ज्ञानलाई व्यवहारमा हेर्दै, अनुभूतिलाई अनुभवमा बदलेर, अनुभवलाई सङ्ग्रह गर्दै ज्ञानमा बदलेर, ज्ञानलाई प्रयोगमार्फत तिनलाई सिद्धान्त र सूत्र बनाएर अगाडि बढ्ने काम भइरहेको छ । यसै सन्दर्भमा आज हामी जुन अष्टाङ्ग योगका चर्चा गर्छौं, म त्यसको अलिकति मात्रै चर्चा गर्न चाहन्छु । पहिले योगको प्रारम्भ भयो शिवबाट । त्यसकारण शिवलाई आदियोगी भनिन्छ । त्यसपछि विश्वामित्रको समय आयो र विश्वामित्रले योग विकास गर्नुभयो । विश्वामित्रले योग मात्रै विकास गर्नुभएन, विश्वामित्रका सुपुत्र सुश्रुतले लगभग तीन हजार वर्ष अगाडि सर्जरी विद्याको विकास गर्नुभयो । त्योभन्दा अगाडि चरकले जसरी आयुर्वेदको विकास गर्नुभयो, यी सबै योगबाट प्रारम्भ भएका छन् । विश्वामित्रका पिताजीले आफ्ना नाति चरकलाई सर्जन डाक्टर बनाउनुभयो । अहिले पनि सङ्ग्रालयमा चरकले चलाएका सर्जरीका उपकरण अहिलेसम्म पाइन्छ । चरकसंहिता लिखित रूपमा पाइन्छ । जो, तीन हजार वर्ष लगभग अगाडि हो । जति बेला अक्षर दुनियाँमा आए । अक्षर आएपछि ३२ सय वर्षको आसपासका बेला अथवा महाभारत युद्धको लगत्तैपछि जसको समयमा हुनु पर्छ, अक्षर आएपछि त्यसैबेला वेदव्यासले श्रुति र स्मृतिमा रहेको वेदलाई अपौरुषीय अथवा मानवद्वारा निर्मित वेद होइन भनिएको हो । किनभने कोही रचनाकार थाहा छैन, अज्ञात रचनाकार, यो परम्परा हुँदै आयो, कसले बनायो भन्ने थाहा छैन । त्यसो भएको हुनाले यसलाई अपौरुषीयसमेत भनियो । अथवा मानव निर्मित होइन, देव निर्मित भनियो भन्ने भनाइ छ । वेदलाई वेदव्यास भनिन्छ, किनभने उनले लिपि सिकेर लिपिमा वेदलाई उतारेपछि यो मानवीय अथवा मानव भयो । वेदव्यासको आलोचना पनि भयो, विरोध पनि भयो । यो अलौकिक मानवताभन्दा बाहिरको, मानव सिर्जितभन्दा बाहिरको अपौरुषीय चिजलाई पौरुषीय अथवा मानवको सिर्जना, यो असिर्जनीय चिजलाई सिर्जनामा परिणत गराए र यो पाप कर्म गरे यिनले भन्ने खालका धर्मान्धले भने । जनकको समयमा वेदको गार्गी, मैत्री आदि ऋषिमुनि, विदुषीहरूले तयार गर्दा ती लिपिमा तयार गरिएको थिएन, वाणीमा तयार गरिएको थियो, मनमनै रचना गरेर प्रस्तुत गरिएको थियो । त्यो श्रुतिबाट स्मृतिमा रहेको थियो । स्मृतिबाट फेरि प्रवचनमा गएर फेरि श्रुतिमा जान्थ्यो । यो सिलसिलाबाट आयो । विश्वामित्रको समय एउटा चमत्कारको समय थियो, योग विज्ञानको सन्दर्भमा र अरू विभिन्न विज्ञानको सन्दर्भमा । हामी सबैलाई थाहा छ, विश्वामित्र सत्ययुग र त्रेतायुगको बिचको समयको अथवा सङ्क्रमणकालीन समयको हुनुहुन्थ्यो । विश्वामित्रले राम लक्ष्मणलाई शिक्षादीक्षा दिनुभएको थियो । राम–लक्ष्मण त्रेतायुगको हुनुहुन्थ्यो । दशरथ र पर्शुरामहरू सत्य युगका हुनुहुन्थ्यो । रामले धनुष भङ्ग गरेपछि पर्शुरामले आएर राम लक्ष्मणसँगको विवाद गर्दा राममाथि भुलवश बन्चरो प्रहार गर्न खोज्दा बन्चरो उठेन, प्रहार हुन सकेन । फेरि कोसिस गर्दा झन् कमजोर भए । कतिपय कुरा मिथमा आधारित हुन सक्छ । मिथक भए पनि हाम्रा शास्त्रका (तथ्य प्रमाणित भनौँ) विज्ञान प्रमाणित होइन । उनले बचपनमा वा सानैमा आफूलाई कुनै भविष्यवाणी भएको थियो, तिमी सत्ययुगको अन्तिम प्रतिनिधि पात्र हौ र सत्ययुग त्यतिबेला समाप्त हुने छ, जतिबेला तिमीले तिम्रो अगाडि एउटा यस्तो व्यक्ति भेट्ने छौँ, जसमाथि तिमीले भुलवश प्रहार गर्न खोज्ने छौँ । तिम्रो अहङ्कार त्यहीँ समाप्त हुने छ । तिम्रो तागत समाप्त हुने छ । पहिलो कुरा, त्यो व्यक्तिलाई भेट्नेबित्तिकै तिम्रो आधा शक्ति उसमा गइहाल्छ । उसमाथि भुलबस प्रहार गर्न खोज्दा अर्को शक्ति आधा फेरि जान्छ । फेरि आक्रोशित भएर तिमीले प्रहार गर्न खोज्दा तिम्रो फेरि आधा शक्ति गएपछि तिमीसँग एकदमै थोरै शक्ति मात्रै बाँकी रहन्छ र ऊ जो व्यक्ति ऊ आफैँ एउटा अवतार हो र उसँग असाधारण शक्ति हुन्छ । त्यसमाथि पहिलो देख्नेबित्तिकै तिम्रो आधा शक्ति उसमा सरेपछि असाधारण शक्तिवान् हुन्छ । अर्को पल्ट फेरि आधा बाँकी रहेको आधा सरेपछि र फेरि अर्को प्रहार गर्न खोज्दा आधा शक्ति सरेपछि तिम्रो शक्ति समाप्त हुन्छ, बुझ्नु । अब तिम्रो युग समाप्त भयो अर्थात् सत्ययुग समाप्त भयो र त्रेतायुग प्रारम्भ भयो । यसरी पर्शुराम र रामको भेट एउटा संयोगले हुन्छ, धनुष भङ्गको प्रसङ्गले हुन्छ, राम सीता विवाहको प्रसङ्गमा हुन्छ र त्यसै प्रसङ्गबाट पर्शुराम र रामको भेटबाट नै शिवको धनु अथवा यहाँनेरी शिवको प्रसङ्ग आउँछ । अघि मैले भनेँ, शिवले योगको प्रारम्भ गर्नुभएको थियो भनेर । शिवले राखेको धनु जनकपुरमा राजा जनकको दरबारमा छँदै थियो, जसलाई सीताले खेलाउने गर्थिन् । त्यही धनुको ताँदो चढाउन खोज्दा भाँचियो । यसरी सुरु भयो राम पर्शुराम मिलापको प्रसङ्ग । त्यही मिलापबाट पर्शुरामले थाहा पाए कि अब मेरो युग समाप्त भयो । अब रामको युग प्रारम्भ भयो । यही सङ्क्रमणकालीन युगमा, जस्तोमा हाम्रो तानाशाहीबाट गणतन्त्र, लोकतन्त्रमा आयो, राजतन्त्रबाट गणतन्त्रमा आयो । यो सङ्क्रमणकालीन युग हो । कसैलाई मन पर्ला, कसैलाई नपर्ला । पर्शुरामलाई पनि मन परेको थिएन आफ्नो युग समाप्त भएको तर के गर्ने ! युग समाप्त, युग समाप्त हो । आफ्नो युग समाप्त भएपछि त्यो युग समाप्त भयो । अर्को मन पर्नु नपर्नुको केही पनि अर्थ छैन । यो यति बलवान् हुन्छ समय कि, त्यो परिवर्तन भयो भयो । त्रेतायुग र द्वापरयुगको बिचमा फेरि कपिलमुनिले योगलाई अगाडि बढाउनुभयो । उहाँले साङ्ख्य दर्शन प्रतिपादन गर्नुभयो । योगको निरन्तरता त्यसरी आयो । त्यसपछि इसापूर्व दुई सयदेखि इसाको दुई सयसम्म अथवा यो चार वर्षको बिचमा पतञ्जलि भन्ने एक जना व्यक्ति निक्लिनुभयो । उहाँको जन्मस्थान कहाँभन्दा मान्छेहरूले व्याख्या अनौठो अनौठो गर्छन् । म त्यसमा भ्रम पर्नु हुँदैन भन्छु । कसको जन्मस्थान कहाँ फेरि मान्छेहरूलाई रिस उठ्छ । शिव यहीँका थिए भन्नेमा पनि कुनै दुविधा छ र ? बृहस्पति चतराका थिए भन्ने कुरामा कुनै दुविधा छ र ? चतराबाट कोशी नदी पार गरेर पश्चिमतिर आएर राम लक्ष्मणलाई शिक्षादीक्षा दिएका थिए । त्यो शास्त्रमा भनेको छ, मैले भनको त होइन । वेदव्यास तनहुँमा जन्मेका थिए, शास्त्रले भन्छ । महाकालीको किनारमा तप गरेका थिए, शास्त्रले भन्छ । व्याकरणका महान् व्याकरणाचार्य पाणिनि अर्घाखाँचीका थिए, शास्त्रले भन्छ, मैले भनेको होइन । अर्घाखाँचीमा पणेना गाउँ त्यहाँ छँदै छ, अस्ति भर्खर हामीले पाणिनि सम्मेलन मनायौँ । त्यहाँ एउटा के देखाए भने, पाकिस्तानमा जन्मिएका ऋषि पाणिनि अर्घाखाँची आए रे तर त्यस्तो कुरा होइन । अर्घाखाँचीमा जन्मिएका, अर्घाखाँचीमा हुर्किएका, अर्घाखाँचीमा शिक्षादीक्षा आर्जन गरेका त्यस्ता विद्वान् हुन् पाणिनि । विश्वामित्रले शिक्षादीक्षा दिँदा अथवा सुश्रुतले सर्जरी विकास गर्दा अथवा चरकले आयुर्वेद विज्ञान विकास गर्दा, आरोग्य विज्ञान विकास गर्दा विश्वको पहिलो विश्वविद्यालय खुलेको थिएन । त्यसो भएर यो यहीँका व्यक्तिबाट सुरु भएको हो । यो विश्व कल्याणका लागि, समग्र मानव जातिका लागि कल्याण भएको हो । यसको भूगोलको सीमासँग सम्बन्ध छैन, यो विश्वव्यापी छ । यो कुनै सम्प्रदायसँग सम्बन्धित छैन, यो विश्वव्यापी छ । यसरी पतञ्जलि अर्को एउटा विद्वान् अर्घाखाँचीमै जन्मनुभयो र अष्टाङ्ग योगको विकास गर्नुभयो । योगलाई पतञ्जलिले सूत्रीकृत गर्नुभएको छ । यहाँ महत्वपूर्ण कुरा के छ भने, उहाँले योगलाई चार भागमा बाँढ्नुभएको छ । चार पाद भन्नुभएको छ । पाद भनेको पाउ हो । त्यो चार भागको पहिलो भागमा ५६ सूत्र छन् । दोस्रो भागमा ५१ सूत्र छन् । तेस्रो भागमा ३३ सूत्र छन् । चौथो भागमा ३४ सूत्र छन् । यसरी पतञ्जलि योगको चार पाद, चार भाग छ । यी अष्टाङ्ग योगका आठ वटा (अष्टाङ्ग) सूत्र दोस्रो भागमा पर्छन् । यसलाई धेरै महìव दिएको छ, जीवनका लागि र समाजका लागि । हामी कोही ऋषिमुनि बनाउन, तपस्वी बनाउन मान्छेहरूलाई खोजिराखेका छैनौँ । मान्छेहरूलाई योग गुरु बनाउन खोजिराखेका छौँ, हरेकलाई योगी बनाउन खोजिराखेका छौँ । त्यसमध्येबाट केही योग गुरु हुनुहोला, केही योग गुरुमा विकास हुनुहोला तर हामीले कमाउनु पनि पर्छ आजको समयमा । फेरि कमाउनु सुख भोग आदि इत्यादि फेरि ऋषिमुनिका भाषणले काम गर्दैन । खानु त पर्छ नै । आरोग्यका कुरा गर्दा, स्वास्थ्यका कुरा गर्दा तीन वटा कुरामा ध्यान दिनु पर्छ । पहिलो कुरा : खाना हो । जसलाई हामी आहार भन्छौँ । दोस्रो योग, विहार, व्यायाम काम हामी जे नाम दिउँ । तेस्रो आराम गर्नु पर्छ । खाना, काम र आराम तीन वटा चिजको सन्तुलन । सन्तुलित भोजन, राम्रो भोजन, स्वस्थ भोजन, विषादीरहित भोजनमा हामीले ध्यान दिनु पर्छ, खास गरी योगीहरूले । किनभने सन्तुलित शुद्ध पेट भर्नका लागि होइन, स्वास्थ्यका लागि खाने हो भन्ने कुरा हरेकले बुझ्नु पर्छ, स्वास्थ्यका लागि खाने । अष्टाङ्ग भनेको धेरै महत्वपूर्ण छ, त्यसको निचोड निकालेर आठ वटा सूत्रहरूलाई, पहिलो सूत्र त नेपाललाई अहिले सबैभन्दा चाहिएको सूत्र त पहिलो सूत्र छ, जहाँबाट १९४ वटा सूत्र सुरु हुन्छ । पहिलो सूत्र अर्धवाक्य छ । अर्धवाक्य भनेको, अथः योगानुशासनम् । अब योग अनुशासन प्रारम्भ हुन्छ । योग भन्नेबित्तिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित के मा छ भने अनुशासनको समस्या हो, अनुशासनहीनता । अनुशासन योगको पहिलो सूत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञानले र ध्यानले केहीले पनि हुँदैन । ध्यानको पनि अनुशासन हुन्छ नि, ध्यान गर्दै छ कपाल चलाएको छ, चलेको छ, यता पनि हेर्दै छ, उता पनि हेर्दै छ, त्यो अनुशासनमै बसेन भने ध्यान कसरी हुन्छ ? ध्यानको आफ्नै पनि अनुशासन हुन्छ । हरेक चिजको अनुशासन हुन्छ । समाजका अनुशासन हुन्छ । यसरी अष्टाङ्ग योगलाई आठ भागमा र आठ वटा सूत्र छन् । त्यो सूत्रमध्ये यम एउटा, नियम अर्को र नियम समाजसँग, व्यक्तिसँग सम्बन्धित छ तर समाजसँग त्यो सोझै सम्बन्धित के हुन्छ भने यमले पाँच वटा सूत्र भन्छ, पहिलो सूत्र भन्छ अहिंसा । आज विश्वलाई शान्ति चाहिएको छ । हिंसा होइन, अहिंसा चाहिएको छ । हाम्रा पुर्खाहरूले उहिलेदेखि भन्ने गर्दथे, ॐ शान्ति शान्ति शान्ति कति महत्वपूर्ण छ आज पनि । यही यम र नियम मात्रै बुझिदिए हतियारधारीले भने, अहङ्कारधारीले भने, हतियार मात्रै केही खतरा होइन । हतियार आफैँ पड्किँदैन, बन्दुक आफैँ पनि पड्किँदैन । त्यसमा गोली हुन्छ, जो बहुत खतरनाक हुन्छ । मान्छेको अहङ्कार जो हो, त्यसले गर्दा हतियार बनाउँछ, हतियार चलाउँछ, विनाश गर्छ, विनाशमा रमाउँछ, विनाशमा थप अहङ्कार पैदा गर्छ र अहङ्कारी हुन्छ । त्यस कारण हिंसा होइन, अहिंसा । अष्टाङ्ग योगको पहिलो हामीले जान्नै पर्ने र हाम्रो व्यवहारमा लागु गर्नुपर्ने कुरा के हो भने अहिंसा । दोस्रो यममध्ये दोस्रो सत्य । सत्य व्यवहार गर, असत्य नगर । यो दुनियाँ तपाईं हामी सबै सत्यमा चल्यौ भने, असत्य अपनाएनौँ भने सुन्दर हुँदैन र ? नचाहिने, आफूलाई आवश्यकता नभएका कुरामा लोभ नगर, अनुशासनमा बस, ब्रह्मचार्यधारण गर, यिनै कुरा भनिएको छ । नियममा भनिएको छ, आफूलाई स्वस्थ राख शौच पहिलो सूत्र । आफूलाई स्वस्थ राख, शारीरिक हिसाबले स्वच्छ राख, मानसिक हिसाबले स्वच्छ राख, स्वच्छ मन राख । अघि डाक्टरले भन्नुभयो खुसी, “स्वच्छ मनले खुसी पलाउँछ ।” म आफ्नो अनुभव भन्छु, म देशका लागि काम गर्छु, जनताका लागि काम गर्छु, सुशासनका लागि काम गर्छु, विकासका लागि काम गर्छु, मौका पाएका बेला सुशासन विकासका लागि, देशका लागि काम गर्छु, नपाएका बेला पवित्र मनका साथ बस्छु, पवित्र चाहनाका साथ बस्छु, पवित्र भावनाका साथ बस्छु । त्यस कारण म कसैप्रति कुनै वैरभाव केही पनि राख्दिनँ । सधैँ प्रसन्न चित्त हुन्छु । मलाई गाली गरिराखेका हुन्छन् । मिसन छ गाली गर्ने, त्यो कुरा म बुझ्छु । माया लाग्छ गाली गर्नेहरूप्रति ! तर म प्रसन्न रहन्छु, किनभने मैले उसलाई बुझाउन सकिनँ, त्यति मात्रै कुरा हो । मेरो बुत्ताभन्दा सायद बाहिरको कुरा हो । म कतिलाई बुझाउन सक्छु, कतिलाई सम्झाउन सक्छु, कतिलाई भेट्न सक्छु, सबैैलाई बुझाउन सक्दिनँ । यदि योगको सङ्गतमा आए भने, तपाईंहरूको सङ्गतमा आए भने ती मान्छे पनि मान्छे हुन्छन् । तपाईंहरू कसैलाई मुख छाड्र्दै हिँड्नु भएको छ, गाली गर्दै हिँड्नु भएको छ ? हिँड्नु हुन्न, किनभने तपाईंहरू योग गर्नुहुन्छ, ध्यान गर्नुहुन्छ, प्राणायाम गर्नुहुन्छ । योग भनेको के हो चित्तानुशासनम् । चित्तलाई एक ठाउँ लाग्ने, चित्ताग्रह, एक ठाउँमा चित्तलाई स्थिर बनाउने, चित्त स्थिर गर्ने कुरा हो, मनलाई स्थिर गर्ने कुरा हो । पतञ्जलि भन्छन्, योग भनेको मनलाई स्थिर गर्ने कुरा अथवा स्थिरता नै योग हो भन्छन् । स्थिरता भनेको नचल्ने, अचल भन्ने होइन तर राम्रा कुरामा गएर स्थिर हुन्छ । हरेक भड्किएको मनलाई हामी राम्रा कुरामा ल्याएर स्थिर गर्छौं । डाक्टरहरू ल्याबमा पठाउनुहुन्छ खकार, थुक, रगत अरू विभिन्न चिज पठाउनु हुन्छ । ल्याबमा पठाउनुहुन्छ र त्यहाँबाट हेर्नुहुन्छ, एक्सरेमा पठाउनु हुन्छ, त्यहाँबाट हेर्नुहुन्छ, एमआरआई गर्नुहुन्छ, सिटीस्क्यान गर्नुहुन्छ, यो गर्नुहुन्छ, त्यो गर्नुहुन्छ, सबै गर्नुहुन्छ र हेर्नुहुन्छ अनि निष्कर्षमा पुग्नुहुन्छ । त्यो हो स्थिर । यो भएको रहेछ, स्थिर त्यहाँ पुगेपछि तपाईंको निष्कर्ष पुग्यो । हो त्यो स्थिरताबाट अब तपाईंले ट्रिटमेन्ट सुरु गर्नुहुन्छ, किनभने तपाईंले निदान गर्नुभयो रोगको अथवा रोगको पहिचान गर्नुभयो अथवा डाइग्नोसिस गर्नुभयो । त्यो डाइग्नोसिसपछि अब उपचारको फेजमा तपाईं जानुहुन्छ । हामीलाई डाक्टर चाहिन्छ, अस्पताल चाहिन्छ तर अहिले सरकारले लिएको नीति निरोगी नेपालको हो । योगका यदि यम, नियम मानिँदैन भने जति आसन गर्नुस्, जति प्राणायाम गर्नुस्, आफ्ना निम्ति त होला तर समाजका निम्ति हुँदैन । तपाईंको समाजमा व्यक्तित्व बन्दैन, किनभने भने ध्यानले मात्रै पुग्दैन । तपाईं कर्मशील, कर्मवीर, कर्मठ र कर्मयोगबिना हामीले ध्यानै मात्रै गर्यौँ भने, प्राणायाम गरेको छ, गरेको छ, छिट्टै पुगिहाल्छ माथि ! यो लोक बन्दैन फेरि परलोक बन्छ । योगको सम्बन्ध परलोकसँग होइन, यस लोकसँग छ सम्बन्धित छ, मानव जातिसँग छ । योगको सम्बन्ध इजरायल र इरानबिचको अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्ध छ र दुनियाँमा फेरि शान्ति स्थापना होस्, युद्ध नभड्कियोस र नफैलियोस् भन्ने कामनासँग, यसको प्रयाससँग छ, यसको आवाजसँग छ सम्बन्ध । मान्छेको मारामारलाई युद्ध भनिन्छ । साँढे जुधाइलाई युद्ध भनिँदैन । मान्छे मारामार जस्तो नराम्रो कुरा के हो ? अरू केही हुन सक्छ, मान्छे मारामार ! एउटाले अर्कालाई मा¥यो ओहो ! यो भन्दा नराम्रो कुरा के हुन्छ होला ? त्यही त भइराखेको छ । त्यसमा दाउपेच भइराखेको छ, कसले धेरै मार्ने ! एउटा देशको राष्ट्रपतिलाई अर्को देशको राष्ट्रपतिले, अर्को देशको प्रधानमन्त्रीले त्यो फलानालाई मार्छु र मारेर छोड्छु ! ग्लोबल अर्डर, ग्लोबल अर्डर भनेको के हो ? यस्ता यस्ता कुराहरू आज सुन्न थालिएको छ । मैले यो पोलिटिसियनको हिसाबले भनेको होइन, एउटा योगको हिसाबले भनेको हो । यही कुरासँग योग, व्यक्तिभित्रको अशान्ति शान्त होस्, व्यक्तिभित्रको चिन्ता शान्ति होस् । व्यायाम हुनै पर्छ, ध्यानमा मात्रै पनि भर नपर्नु होला । काम गर्नै पर्छ, तपाईंहरूको रक्तसञ्चार हुनै पर्छ । हात पाहुहरू चल्नै पर्छन्, तपाईंको गर्धन चल्नै पर्छ, तपाईंको हातले केही उठाउनै पर्छ, तपाईंका मसल चुस्तदुरुस्त हुनै पर्छ, नत्र भने मसल कमजोर हुने छ । अनि डाक्टरले फिजियोथेरापिस्ट कहाँ जानुस् भनेर अनि फिजियोथेरापीले गर्छ । आफैँले फिजियोथेरापी कहाँ जानु पर्ने स्थिति बनाउनु हुन्छ, आरामको जिन्दगी बाँच्न खोज्नुभयो भने । आरामको जिन्दगी होइन, सुखको जिन्दगी बाँच्नूस् । आरामको जिन्दगी होइन, स्वस्थ जिन्दगी बाँच्नूस् । आरामको जिन्दगी होइन, स्वस्थ, सुखी, मज्जाको जिन्दगी बाँच्नुस् । पसिना ननिस्किएको जिन्दगी होइन, पसिना काँढेको जिन्दगी बाँच्नुस् । हातपाउ खियाएको, हिँडेको जिन्दगी बाँच्नुस्, चलेको जिन्दगी बाँच्नुस् । त्यस कारण योगले ती कुराहरू सिकाउँछ । यदि हामी हाम्रो आचरणमा यम र नियममा ध्यान दिँदैनौँ भने हुँदैन । सरकारले अहिले मात्र होइन, म प्रधानमन्त्री हुनेबित्तिकै मैले निरोगी नेपाल भन्ने नारा दिएँ । निरोगी नेपालको नीतिभित्र के पर्छ भने, मानिसलाई रोगी हुन नदिने, नेपाललाई निरोगी बनाउने पहिलो कुरा आरोग्यता । निरोगी नेपाल, बिमारी हुनै नदिने, कसरी खाना, काम र आरामको सन्तुलन । सबै चिज स्वस्थ । यससँगै मनको स्वस्थता । मनको पवित्रता । यससँगै हामी सामाजिक प्राणी हौँ, समाजले निर्धारण गरेका चिज योगले सिकाउनु पर्छ । योग एउटा पक्ष मात्रै होइन, योग जीवनको बहुआयामिक दृष्टिकोण हो । वैज्ञानिक दृष्टिकोण हो, जो हाम्रा पूर्खाले हजारौँ वर्षअगाडि मानव कल्याणका लागि, मानव जातिका लागि र बिनाविभेद, धर्मको विभेद, जातिको विभेद, भाषाको विभेद कुनै विभेदबिना, पेसाको विभेदबिना, रङको विभेदबिना, लैङ्गिक विभेदबिना, जातीय वा अरू कुनै प्रकारका रङ्गभेदबिना, पेसा व्यवसायका भेदबिना सबैको कल्याणका लागि योग हाम्रा पुर्खाले धेरै अगाडि निर्माण गर्नुभएको हो । यसका विभिन्न शाखा छन् । म तपाईंहरूलाई के आग्रह गर्न चाहन्छु भने, यम मानिएन भने योग सुरु नै नगरे हुन्छ । यम मान्नु हुन्न, नियम मान्नु हुन्न, जिम जानुहुन्छ भने तपाईंले कसैको के भत्काउनु हुन्छ । जिम जानुहुन्छ, पाखुरा ठुलो हुन्छ । के गरुँ के गरौँ भएर आउँछ, मति बुद्धि ठिकमा ल्याएको छैन, अनि के हुन्छ ? त्यस कारण मति बुद्धिसहितको मसल हुनु पर्छ । यो योगले काम गर्छ । बाटो देखाउने टर्चलाइट जस्तो, बाटो देखाउने उज्यालो, तमसोमा ज्योतिर्गमय योगले त्यो काम गर्छ । त्यस कारण योग दैनिक जीवनमा गरौँ । आज योग दिवस हो । त्यस कारण आज एकछिन हामीले यहाँ अभ्यास गर्ने होइन, घर घरमा अभ्यास गरौँ । योग भनेको मस्तिष्कको, मनको, तनको, सबै चिज शुद्ध, पवित्र र सामाजिक रह्यो भने हामी निरोगी र स्वस्थ हुन्छौँ र समाजलाई स्वस्थ ढङ्गले अगाडि बढाउन सक्छौँ । सबैलाई यही मेरो आग्रह छ । सरकारको तर्फबाट यस सन्दर्भमा दिने ध्यान हामी दिइरहेका छौँ र निरोगी नेपाल, रोग लाग्नै नदिने, लागिहालेमा उपचार गर्ने, आकस्मिक दुर्घटना केही भए उपचार गर्ने, प्राकृतिक खालका कुनै चिज परे उपचार गर्ने तर साधारणतया भन्ने हो भने सधैँ स्वस्थ रहन प्रेरित गर्ने, सधैँ स्वस्थ रहने बाटो हिँड्ने, स्वस्थताको, स्वस्थ मन र प्रसन्नता । खासमा भन्ने भने इम्मुन सिस्टमको सबैभन्दा प्रमुख जग प्रसन्नता हो । पहिले आफूलाई पवित्र सोच्न थाल्नूस्, तपाईं योगी हुन थाल्नुभयो । पवित्र सोच्नूस्, सत्य सोच्नूस्, अहिंसा सोच्नूस्, अर्काको सम्पत्तिमा लोभ नगर्ने, आफ्नोबाहेक र चाहिनेबाहेक अपरिग्रह, चाहिनेबाहेकका कुराहरूप्रतिको लोभलाई पन्छाइदेउ, प्रत्याहार आठ वटामध्येको एउटै हो । त्यस्ता चिजको कुनै पनि दुष्प्रभावलाई टाडैबाट हटाइदेउ आदि । घरै बसेर योगी हुनुस् । मेरो विनम्र आग्रह छ । म फेरि पनि योग मानवजातिको कल्याणका लागि, मानव जातिले गर्ने मानवका लागि गर्ने, आफ्ना लागि, परिवारका लागि, समाजका लागि, विश्वका लागि, शान्ति र सभ्यताका लागि गर्ने, समृद्ध नेपाल, सुखी नेपाली बनाउन हामीले गर्ने, स्वस्थ सुखी नेपालीहरूको नेपाल बनाउन हामीले गर्ने हो । त्यसर्थ योगलाई त्यसै गरी बुझेर अगाडि बढौँ भन्ने आग्रहका साथ सबैमा शुभकामना । रासस (प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व योग दिवसका आवसरमा ललितपुरमा आयोजित कार्यक्रममा गरेको सम्बोधनका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको)
सुन ५/७ तोलासम्म गहना, सीमाभन्दा बढी विलासिताका साधन
काठमाडौं । सुन कर्जा ‘उपभोक्ता कर्जा’ हो । यो फर्मभन्दा पनि व्यक्तिलाई दिइन्छ, त्यो पनि एक वर्षका लागि । सुन आवश्यक वस्तु हो । त्यसैले पनि नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रूपमा राख्न सकिने व्यवस्था गरेको छ । तर, बैंकहरूले सुनलाई निक्षेपको रूपमा राख्न भने सकिरहेका छैनन् । अन्तर्राष्ट्रियस्तरमै स्वीकार्य धातु वा क्वाइन भएकाले सुन महत्त्वपूर्ण छ । नेपालीहरूले पनि व्यक्तिगत रूपमा सुन पर्याप्त किनेर राखेका छन् । व्यक्तिसँग सापटी माग्न गाह्रो हुने भएकाले बैंकमा सुन राखेर कर्जा लिन सजिलो छ । व्यक्तिहरूले आफ्नो आवश्यकता पूर्ति गर्न सुन कर्जा लिइरहेका हुन्छन् । जस्तो छोराछोरीको विवाह गर्नु पर्याे भने बुहारीको सुन बैंकमा राखेर कर्जा लिने गरेका छन् । छोराछोरी विदेश पठाउनु पर्याे भने सुन राख्छन् । पछिल्लो समय विदेश पठाउनका लागि सुन राख्नेहरू धेरै आउनु हुन्छ । यस्तै, बिरामी भएर, छोराछोरी पढाउन सुन राखेर कर्जा लिने अभ्यास बढ्दै गएको छ । सुन कर्जाका लागि आवश्यक प्रमाण सुन कर्जा लिनका लागि बैंकमा खाता खोलेको हुनुपर्छ । बैंक खाता र नागरिकता (राष्ट्रिय परिचयपत्र) भएपछि सुन कर्जा लिन सकिन्छ । कर्जा लिँदा सुन २४ क्यारेटको हुनुपर्छ । यदि २२ क्यारेटको सुन छ भने विश्वासिलो कम्पनीबाट खरिद गरेको बिल हुनुपर्छ । २४ क्यारेटका लागि बिल छैन अथवा पुर्ख्यौली सुन हो भने बैंकले सहजीकरण गर्न सक्छ । तर, २२ क्यारेटको सुनका लागि बैंकले सहजीकरण गर्न सक्दैन, बिल अनिवार्य हुनुपर्छ । एक तोला सुनमा कति कर्जा पाउँछ ? अहिले बजारमा सुनको मूल्य १ लाख ९२ हजार रुपैयाँको हाराहारीमा रहेको छ । बैंकले औसतमा प्रतितोला १ लाख रुपैयाँसम्म सुन कर्जा दिइरहेको छ । गहना हो कि ढिक्का हो सो आधारमा बैंकले कर्जा दिन्छ । गहनामा जर्ती लगाइएको हुन्छ, कुनैमा पोते पनि हुन्छ । यदि सुन कर्जा तिरेन भने गहनालाई गाल्नुपर्ने हुन्छ । किनभने अर्काको गहना कसैले लगाउँदैनन् । गहना गाल्दा ५ प्रतिशत नोक्सान हुन्छ । किनभने त्यसमा मयल फोहर हुन्छ । यस्तै, ढिक्कावाला सुनमा भित्र केही मिश्रण गरेको छ की भन्ने डर हुन्छ । त्यसकारण बैंकलाई जोखिम हुने भएकाले २५ प्रतिशत मार्जिन राखेर ७५ प्रतिशतसम्म कर्जा दिइन्छ । शुद्ध सुन छ भने प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पनि कर्जा दिने गरिएको छ । यदि २२ क्यारेटको छ भने प्रतितोला ९० हजार रुपैयाँ हाराहारीमा कर्जा दिने गरिएको छ । औसतमा एक तोला सुनमा १ लाख रुपैयाँ कर्जा प्रवाह भइरहेको छ । बजार मूल्यको ६० प्रतिशतसम्म कर्जा पाउँछन् । बैंकको मूल्याङ्कनको ७५ प्रतिशत पाउने हो । सुन कर्जा के का लागि लिने ? सुन कर्जा व्यक्तिगत आवश्यकता पूर्तिका लागि लिने हो । कतिपयले व्यावसायिक प्रयोजनका लागि सुन कर्जा लिने गरेका छन् । २५ लाखभन्दा माथिको कर्जा छ भने प्यान नम्बर अनिवार्य हुनुपर्छ । २५ लाखभन्दा माथिको कर्जा व्यावसायिक प्रयोजनका लागि लिएको मानिन्छ । २५ लाखभन्दा कम छ भने व्यक्तिगत प्रयोजनका लागि लिएको मानिन्छ । २०८१ मंसिर भन्दा अगाडि सुन कर्जा एक जनालाई १० करोड रुपैयाँसम्म पनि दिइन्थ्यो । ३ करोड रुपैयाँसम्म काठमाडौं बैंकिङ अफिस शाखालाई अधिकार थियो । त्यसपछि राष्ट्र बैंकले व्यक्तिका लागि ५० लाख रुपैयाँ लागू गर्न सर्कुलर जारी गर्याे । एक/दुई जनाको ४/५ लाख रुपैयाँ डाउन साइज गर्नुपर्नेछ । त्यसलाई पनि पनि एक/दुई दिनमा पूरा हुन्छ । जतिबेला नेपालमा सुनको मूल्य १ लाख ७३ हजार पुगेको थियो, त्यतिबेला भारतमा भन्सार दर १२ प्रतिशत थियो । नेपालमा सुन आयात गर्दा भन्सार दर १० प्रतिशत थियो । पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेटमा भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याए । तर, भारतमा १२ प्रतिशतको भन्सार दर कटौती गरेर ६ प्रतिशतमा झारियो । जसले गर्दा भारतमा सुन धेरै सस्तो भयो । नेपाली बजारमा दुई नम्बरी सुन छ्यापछ्यापी आउन थाल्यो । नेपाल बैंकले ६/६ महिनामा सुन किन्दा आवश्यकताका आधारमा १/२ क्विन्टल किन्ने गरेको छ । तर, बैंकले त्यतिबेला २ किलो मात्रै सुन किन्यो । बजारमा छ्यापछ्याप्ती दुई नम्बरी सुन आउन थालेपछि माग पनि घट्यो । त्यसपछि सरकारले भन्सार दर घटाएर १० प्रतिशतमा झारेको हो । अहिले भारतमा भन्सार दर नेपालको भन्दा ४ प्रतिशत कम भएपनि दुई नम्बरी गर्नेहरूलाई फलिफाप छैन । त्यसकारण अहिले बजारमा दुई नम्बरी सुन छैन । सुन कर्जामा डिफल्टर कर्जा लिइसकेपछि त्रैमासिक रुपमा ब्याज तिर्नुपर्ने हुन्छ । अहिले आधारदरसहित ९.३८ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेको छ । आधार दरमा ३.५ प्रतिशत प्रिमियम निर्धारण गरिएको छ । त्रैमासिक रुपमा ब्याज तिर्नुपर्ने हुन्छ भने वर्षको एक पटक नवीकरण गर्नुपर्ने हुन्छ । प्रिपेमेन्ट गर्न पाइन्छ, ७५ प्रतिशतसम्म । तर, प्रिपेमेन्ट गर्नका लागि नवीकरण गरेको हुनुपर्छ । सुन कर्जामा कोही विदेशमा हुन्छन्, इच्छाएको व्यक्ति राखेको पनि हुँदैन, इच्छाएको व्यक्ति पनि विदेश गइरहेको हुन्छ । जस्तो श्रीमान/श्रीमती विदेश गएपछि इच्छाएका व्यक्ति नै हुँदैनन् । ७५ प्रतिशत साँवा चुक्ता गरेको अवस्थामा लिलाम गर्न पनि भएन । यस्तो समस्या रहेको छ । कतिपय ग्राहक सम्पर्कमै आउँदैनन् । एक/डेढ वर्ष पुगिसकेको हुन्छ, ब्याजले डाँडो नाघिसकेको हुन्छ । अहिले सुनको मूल्य बढेका कारण बैंकले सहजीकरण भएको हो । यदि सुनको मूल्य स्थिर थियो, ५/१०/२० प्रतिशत सुनको मूल्य घटेको थियो भने तत्काल लिलाम गर्नुपर्थ्यो। पछिल्लो एक वर्षमा सुनको मूल्य ६०/७० प्रतिशत बढेको छ । त्यसकारण बैंक सुरक्षित छन् । यदि सुनको मूल्य घट्यो भने मार्जिन कल गर्नुपर्छ । त्यसकारण सुन कर्जा खासै डिफल्ट छैन । कुल कर्जाको १/२ प्रतिशत मात्रै होला । राष्ट्र बैंकको व्यवस्था अनुसार १० लाखमुनिको खराब कर्जामा १ प्रतिशत प्रोभिजन गरे पुग्छ भने १० लाखभन्दा बढीको कर्जामा सतप्रतिशत प्रोभिजन गर्नुपर्छ । त्यसकारण १० लाखभन्दा माथिको कर्जा असुल गर्न, लिलामका बैंक सक्रिय हुन्छ । कति कर्जा गएको छ ? पछिल्लो तथ्याङ्क अनुसार नेपाल बैंकले मात्रै ३२ अर्ब रुपैयाँ हारहारीमा सुन कर्जा प्रवाह गरेको छ । बैंकमा सुन कर्जाका २७ सय पोका (ग्राहक) छन् । काठमाडौं बैंकिङ अफिस शाखाबाट मात्रै १ अर्ब ३३ करोड रुपैयाँ हाराहारीमा सुन कर्जा गएको छ । बैंकको कुल कर्जामा करिब १५ प्रतिशत सुन कर्जाको हिस्सा हुन सक्छ । अहिले नेपाल बैंकसँग ४३ अर्ब रुपैयाँ बराबरको सुन बैंकमा रहेको छ । यो बैंकको मूल्याङ्कन गरेको आधारमा रहेको सुन हो । तर, यसमा ५ प्रतिशत फरक पर्न सक्ने भएकाले बैंकमा ४५ अर्बको सुन हुन सक्छ । बैंकको आम्दानीमा सुन कर्जाको अनुमानित १५ प्रतिशत हिस्सा हुन सक्छ । गत वर्ष १४ प्रतिशत भन्दा बढी ब्याजदर हुँदा र अहिले ९.३२ प्रतिशत ब्याजदरको तुलना गर्ने हो भने आम्दानी घटेको देखिन्छ । तर, कर्जा, ब्याज असुली राम्रो नै भइरहेको छ । पोखरा, नारायणगढ, खस्यौली, कान्तिपथ, सुनधारा शाखाले पनि ५०/६० करोड रुपैयाँ हाराहारीमा सुन कर्जा दिएका छन् । विगतमा ३०/३५ करोड रुपैयाँ सुन कर्जा थियो । पछिल्लो समय मान्छेहरू अन्य कर्जा लिन डराइरहेका छन् । एक/दुई लाखको आवश्यक पर्याे भने सुन कर्जा लिन सहज रुपमा लिन सकिन्छ । गत वर्ष नेपाल बैंकमा सुन कर्जाको ब्याजदर १४ प्रतिशत र सेवा शुल्क ०.७५ प्रतिशत थियो । राष्ट्रिय वाणिज्य बैंकको सुन कर्जाको ब्याजदर ११ प्रतिशत थियो तर, सेवा शुल्क थिएन । त्यतिबेला राष्ट्रिय वाणिज्य बैंकको २० अर्बको पोर्टफोलियो थियो भने नेपाल बैंकको १८ अर्बको थियो । राष्ट्रिय वाणिज्य बैंकले सुन कर्जा बढाउन खोजिरहेको थियो । गत वर्ष काठमाडौं बैंकिङ अफिस शाखामा ९८ करोड रहेको सुन कर्जा ९४ करोडमा झरेको थियो । कुल १९ अर्बको सुन कर्जा १७ अर्बमा झरेको थियो । सुन कर्जा जान पनि छाडेको थियो । त्यसपछि बैंकले सुन कर्जाको प्रिमियम घटाएर साढे २ प्रतिशतमा झार्यो । अहिले प्रिमियम बढाएर साढे ३ प्रतिशत पुर्याएको हो । सेवा शुल्क पनि हटाएको छ । अहिले राष्ट्रिय वाणिज्य बैंकको भन्दा नेपाल बैंकको सुन कर्जा धेरै छ । हिमाली र सहर बजार क्षेत्रका मान्छेसँग बढी सुन छ । किनभने पहाडी क्षेत्रका मान्छेले अलिकति पैसा हुने बित्तीकै जग्गामा लगानी गर्छन् । तर, सहर बजार क्षेत्रका मान्छेहरु सुनमा लगानी गरेर लकरमा राख्ने गरेका छन् । गुरुङ, शेर्पाहरुसँग सुन धेरै हुन्छ र सुनको गुणस्तरीय पनि राम्रो छ । उहाँहरुले बढी तौल भएको सुन लगाउनु हुन्छ । सुन कर्जाका लागि बैंकमा किन आउने ? बैंक वैधानिक संस्था हो, सुन पसलले कारोबार मात्रै गर्ने हो । उनीहरुलाई ऋण प्रवाह गर्ने अधिकार छैन । तैपनि उनीहरुले आफ्नो तरिकाले सुन राखेर सापटी दिइरहेका हुन्छन् । त्यो व्यक्तिगत रुपमा गाउँले सापटी जस्तै हो । तर, उनीहरूसँग कानुनी कागज केही पनि हुँदैन । यदि समयमा सापटी तिरेन भने व्यवसायीले तत्काल सुन गाल्छन् । तर, बैंक सुरक्षित प्रक्रियाबाट अघि बढ्छ । किनभने एक वर्षसम्म लिलामीको सूचना निकाल्दैन । एक वर्षसम्म ब्याज नियमित गरेन भने मात्रै १५ दिने, ७ दिने चिठ्ठी लेखेर कर्जा नियमित गर्न जानकारी गराउँछ । सम्पर्क, म्यासेज पठाएर पनि भएन भने राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर लिलाम गरिन्छ । विगतमा १ लाख ७४ हजार रुपैयाँ पुगेको सुन १४८ हजार रुपैयाँमा झर्याे । त्यतिबेला हामीले १ लाख ६० हजार पैयाँका दरले दिएको भए तत्काल मार्जिन कल गर्नुपर्थ्यो । सुन कर्जाका लागि घर गणना गर्न सकिने व्यवस्था छ । तर, ५० हजारको सुनका लागि सूचना निकालेर घरबाट असुल गर्दा बढी आउँछ । बैंकबाट सुन कर्जा लिँदा त्यो सुनको बीमा गरिएको हुन्छ । तर, अन्य व्यक्ति तथा फर्मले बीमा पनि गरेको हुँदैनन् । सुनमा लगानी गर्ने कि जग्गामा ? अन्तर्राष्ट्रिय युद्धका कारण सुनको मूल्य बढेको हुँदा पछिल्लो समय सुनमा लगानी गर्दा फाइदा देखिएको छ । डलरको मूल्य सस्तो हुँदा अमेरिका, चाइना लगायत देशले सुन स्टक राखेका छन् । उनीहरुले सुन निकालेर बेचिरहेका छन् भने सुनको मूल्यमा लगानी जोखिम हुन्छ । सुन नै जोखिममा पर्न सक्छ । पछिल्लो समय धेरै नेपाली विदेश गए । विगतमा बजार क्षेत्र नजिक एउटा घडेरी किन्ने र सोही जग्गामा घर बनाएर बस्ने अवधारणा थियो । तर, अहिले जहाँ भएपनि भाडाको घरमा बस्ने परिपाटी बसिसकेको छ । नयाँ घर बनाउने भनेर जग्गा किन्ने परिपाटी पनि विस्तारै कम हुँदै गएको देखिन्छ । त्यसकारण सुन रहर मात्रै हो । सुन अनुत्पादक क्षेत्र पनि हो । नोट निष्काशन गर्दा सुन डिपोजिट गर्नुपर्ने र अन्तर्राष्ट्रियस्तरमा सबैले विश्वास गरेको धातु भएकाले सुनमा लगानी बढेको हो । तर, पछिल्लो समय ५ तोलाको सुनका गहना लगाएर एक्लै हिँड्न पनि सक्ने अवस्था छैन । तर, जग्गामा लगानी गर्याे भने खेती पनि गर्न सकिन्छ । नेपालीसँग कति सुन छ ? हिमाली र सहर बजार क्षेत्रका मान्छेसँग बढी सुन छ । किनभने पहाडी क्षेत्रका मान्छेले अलिकति पैसा हुने बित्तीकै जग्गामा लगानी गर्छन् । तर, सहर बजार क्षेत्रका मान्छेहरू सुनमा लगानी गरेर लकरमा राख्ने गरेका छन् । गुरुङ, शेर्पासँग सुन धेरै हुन्छ र सुनको गुणस्तरीय पनि राम्रो छ । उहाँहरूले बढी तौल भएको सुन लगाउनु हुन्छ । शेर्पाको सिक्का नै सिक्का भएको सुन लगाउने चलन छ । २१ सिक्कासम्मको माला लगाउँछन् । एउटा सिक्का नै एक तोलाको हुन्छ । त्यो सिक्का ८ ग्राम भन्दा घटीको हुँदैन । पहाडमा बस्नेहरूले तिलहरी लगाउँछन् । नेवार, गुरुङ, शेर्पा समुदायका मान्छेहरुसँग पनि बढी सुन रहेको छ । यस्तै, व्यापारिक प्रयोजनका मान्छेहरूले पनि सुनमा सुनमा लगानी गरेको देखिन्छ । बाहुन क्षेत्री, तराईवासी, थारु (चौधरी) समुदायका मान्छेले सुनमा भन्दा जग्गामा लगानी गर्छन् । सुन बेचेर जग्गा किनेका धेरै छन् । तर, जग्गा बेचेर सुन किनेको बिरलै हुन्छन् । सुन विलासिताको वस्तुमा हो ? विगतमा २/३ तोला सुनमा विवाह हुन्थ्यो, एउटा औँठी, घाँटीमा सिक्री भए पुग्थ्यो । तर, अहिले रानी हार चाहियो, अन्य सिक्री चाहियो । पछिल्लो समय विवाहको स्ट्याण्डर्ड नै बढिरहेको छ । छोरी चेलीको विवाहको लागि सुन अनिवार्य जस्तै बनेको छ । त्यसकारण ५/७ तोला सुन खरिद गर्दा विलासिता वस्तु भन्नु हुँदैन । तर, त्यो भन्दा धेरै सुन खरिद गरिएको छ भने विलासिता वस्तुमा गणना गर्दा हुन्छ । एक व्यक्तिले त्यो भन्दा बढी सुन राख्नु पनि हुँदैन । (नेपाल बैंकका सिनियर मेनेजर हरिप्रसाद ज्ञवालीसँग सीआर भण्डारीले गरेको कुराकानीमा आधारित । )