नबिल बैंकले शुरु गर्यो क्यिूआर कोड प्रणाली, फोनबाटै चाहेको सामानको भुक्तानी गर्न सकिने

काठमाडौं । नबिल बैंकले नेपालमा नै पहिलो पटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत “यूनियनपे इन्टरनेशनल क्विक रेसपोन्स (क्यिूआर कोेड) एक्वाएरिङ सर्भिस”को शुभारम्भ गरेको छ । उक्त प्रणाली मार्फत क्यिूआर कोेडको प्रयोग गरी नबिल बैंकसँग आबद्ध मर्चेन्टहरूले यूनियनपेका अन्तरार्ष्ट्रिय कार्डहरू स्विकार गरी सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाहरूको भुक्तानी लिन सक्नेछन् । क्यिूआर कोेड म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) को एक प्रकार हो । बारकोड मेशिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको हुन्छ । क्यिूआर कोडमा सेतो पृष्ठभूमिमा कालो स्क्वाएर ग्रीडहरु हुन्छन् जसलाई छविको रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरि कारोबार गर्न सकिने बैंकले जनाएको छ । क्यिूआर कोेड प्रणाली मार्फत उपभोक्ताहरूले व्यापारीक बिक्री केन्द्रमा रहेको क्यिूआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरि आफूले रोजेको सामान र सेवाहरूको भुक्तानी गर्न सक्नेछन् । यस भुक्तानी प्रणालीमा विद्धमान प्रक्रिया जस्तो फिजिकल प्वोइन्ट अफ सेल्स(पीओएस) टर्मिनलहरूको आवश्यकता नपर्नुका साथै कार्डको समेत सिधा सम्पर्कको आवश्यक पर्दैन । क्यिूआर कोड मार्फत गरिने भुक्तानी र सो सम्बन्धी जानकारी ग्राहक स्वयमको मोबाइलमा नै उपलब्ध हुन्छ । “पहिलो चरणमा हामीले यो सेवा मुख्य रूपमा चिनियाँ पर्यटकहरुलाई लक्षित गरेका छौं । चीनमा निकै नै प्रख्यात रहेको अत्यन्त सरल र सुरक्षित क्यिूआर कोड प्रणाली मार्फत नेपालमा समेत चिनियाँ पर्यटकहरुले आफूले रोजे बमोजिमका सामान र सेवाको भुक्तानी सजिलै गर्न सक्नेछन् । निकट भविष्यमा हामीले आफ्ना ग्राहकहरूको लागि समेत उक्त सेवा विस्तार गर्ने योजना गरेका छौं ।” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले बताए । यस बैंकले भिसा इन्टरनेशनल, मास्टर र्काड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको मुख्य सदस्य हो र यसले डेबिट, प्रिपेड, क्रेडिट कार्डहरु जारी गर्दछ साथै उक्त कार्डहरुबाट यसका एटिएम, पीओएस तथा पेमेण्ट गेटवे सञ्जालहरु मार्फत कारोबार स्विकार गर्दछ ।  बैंकले युनियन पे इन्टरनेशनलको सहकार्यमा यो थप सेवाको शुरुवात गरेको हो । यस यूपीआई क्यिूआर कोड सेवाको शुरुवात मार्फत न्युन शुल्कमा नै व्यवसायी र ग्राहकहरुले इ–कमर्स कारोवार सरल, सहज र सुरक्षित रुपमा गरी लाभान्वित हुन सक्नेछन् ।

रिलायन्स लाईफ इन्स्योरेन्स र जनता बैंक नेपाल बिच बैंकासुरेन्स सम्झौता

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र जनता बैैंक नेपाल लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात बैंकले बीमकको बीमाअभिकर्ताको रुपमा आफ्ना ग्राहकहरुलाई रिलायन्सद्धारा जारी गरिएका बीमालेखहरु बिक्रि वितरण गर्ने छ । हाल यस कम्पनीको कूल पुँजी २ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । सो मध्ये बांकी रहेको ६३ करोड रुपैयाँको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ ।

३ बैंकको ४ करोडको संस्थापक सेयर किनबेच, सबैभन्दा बढी ओम डेभलपमेन्टको

काठमाडौं । आइतबार सबैभन्दा बढी ३ वटा बैंकको संस्थापक (प्रमोटर) सेयर कारोबार भएको छ । ओम डेभलपमेन्ट बैंक, नविल बैंक र कामना सेवा विकास बैंकको गरी कुल ४ करोड १ लाख ४६ हजार ६७३ रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएका छन् । सबैभन्दा बढी ओम डेभलपमेन्ट बैंकको प्रमोटर किनबेच भएको छ । ओमको एकैदिन प्रतिकित्ता २४० रुपैयाँमा १ करोड ७४ लाख ६० हजार रुपैयाँ बराबरको ७२ हजार ७५० कित्ता संस्थापक सेयर किनबेच भएको छ । ओमको संस्थापक सेयर एउटै लगानीकर्ताले खरिद गरेको पाइएको छ । यस्तै नबिल बैंकको १ करोड २६ लाख १६ हजार ६७३ कित्ता प्रमोटर सेयर किनबेच भएको छ । नविलको प्रतिकित्ता ८५० रुपैयाँमा १५ हजार ७६३ कित्ता प्रमोटर सेयर किनबेच भएको छ । कामना सेवा विकास बैंकको प्रतिकित्ता १०६ रुपैयाँ १ करोड ७० हजार रुपैयाँ बराबरको ९५ हजार कित्ता प्रमोटर सेयर किनबेच भएका छन् । कामनाको पनि एउटै व्यक्ति तथा संस्थाले संस्थापक सेयर किनेको पाइएको छ । सेयर बजारमा निरन्तर गिरावट आईरहेका बेला संस्थापक सेयर बढी कारोबार हुने गरेको छ । त्यसैगरी, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको पनि प्रतिकित्ता १ हजार ६६३ रुपैयाँमा १करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबारको बजारमा कुल १५९ कम्पनीको २४ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ६ लाख ७० हजार ५८९ कित्ता सेयर बिक्री भएका छन् । साताको पहिलो दिनको बजार कारोबार खुलेदेखि बन्द हुँदासम्म निरन्तर ओरालो लागेको छ । दिनभर निरन्तर ओरालो लागेको नेप्से परिसूचक बजार बन्द हुँदा ६.३२ अंकले झरेर १३८४.७१ अंकमा अडेको छ । आइतबारको बजारमा ट्रेडिङ समूह स्थिर रहेको छ भने अन्य कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ४० अंकले ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंककै सेयर मूल्यमा वृद्धि भएको छ । अघिल्लो कारोबारको तुलनामा कम्पनीका लगानीकर्ताले ६.९५ प्रतिशत कमाएका छन् । उता आरएसडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने करिब १० प्रतिशत गुमाएका छन् ।