जनता अवकाश कोषले संचित रकमको १ प्रतिशत मुनाफा बितरण गर्ने

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडद्वारा सञ्चालित जनता अवकाश कोषले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कोषमा सहभागी सञ्चयकर्ताहरुलाई संचित रकमको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ । २०७६ कात्तिक २१ गते बसेको कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ । कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुको संचित मौज्दात रकममा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको छ । साथै सहभागिले संचित रकमको ९० प्रतिशतसम्म सापटी लिनसक्ने व्यवस्था गरेको छ । कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००/– र काजक्रिया खर्च रु. १०,०००/– को व्यवस्था गरेको छ । जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्ने कोष प्रमुख गणेश सुवेदीले जनाएका छन् ।

अर्थमन्त्री खतिवडा भन्छन्-‘बैंक तथा वित्तीय संस्थालाई कसैको करकाप र हतारमा मर्जर गरिँदैन’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मर्जरमा जान बैंक तथा वित्तीय संस्थाहरुलाई बाध्यकारी नभएको प्रतिक्रिया दिएका छन् । बुधबार कामना सेवा विकास बैंकको १३ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंकहरुलाई मर्जरमा जान बाध्यकारी नभएको बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्था मर्जर ऐच्छिक कुरा हो’, उनले भने– ‘बैंक मर्जर कसैको करकाप र हतारमा गरिँदैन । कानून पालना गर्नु सबैको कर्तब्य हो ।’ केही कमजोर वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले बाध्यकारी मर्जरमा लैजाने तयारी गरिरहेका बेला सरकारको तर्फबाट बाध्यकारी मर्जरको विपक्षमा धारणा बेलाबखत आउने गरेको छ । अर्थमन्त्री खतिवडाले सरकार बाध्यकारी मर्जरको पक्षमा नरहेको र नेपालमा बाध्यकारी मर्जर गराउन सम्भव पनि नरहेको बताए । दक्षिण एसियामा नेपालका बैंकहरु नियमनकारी निकायको सुपरीवेक्षण, निष्कृय कर्जा, र सपूर्ण व्यवस्थापनको हिसाबले तुलनात्मक रुपमा उत्कृष्ट भएको प्रतिक्रिया दिए । उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. चिन्तामणी शिवाकोटीले कमजोर बैंकहरुले मर्जरमा जानु भन्दा अर्को बिकल्प नभएको बताए । उनले अब राष्ट्र बैंंकले छिट्टै नै दुई महत्वपूर्ण कार्यक्रम ल्याउने योजनामा समेत रहेको उल्लेख गरे । ‘राष्ट्र बैंकले डिसेम्बरबाट सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआएएस) कार्यक्रम लागू गर्दैछ।’ उनले भने–‘यसका लागि बैंकहरुले ठूलो लगानी गर्नु पर्ने हुन्छ, त्यो लगानी गर्न नसक्ने बैंकले मर्जरमा जान बाहेकको विकल्प छैन ।’ कामना सेवाका ५२ शाखा  विस्तार  कामना सेवा बैंकले वार्षिकोत्सव कार्यक्रममा देशका ५२ ठाउँमा ५२ शाखा  विस्तार गरेको छ ।  १३ औं वार्षिकोत्सव कार्यक्रममा सात वटै प्रदेशमा ५२ शाखा विस्तार गरेको हो । अब बैंकका देशभर १०३ शाखा भएका छन् । बुधबार उद्घाटन गरेका शाखाहरुमा प्रदेश एकमा तीन, प्रदेश २ मा ११, प्रदेश तीनमा १०, गण्डकी प्रदेशमा ६, प्रदेश पाँचमा ७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा ४ शाखा रहेका छन् । कामना सेवा बैंकले आफ्नो केन्द्रीय कार्यालय समेत उद्घाटन गरेको छ । बैंकका संस्थापक कृष्ण आचार्यले कामना विकास बैंक आफ्नै खुट्टमा उभिन सक्ने भएको हैसियत भएकोले मर्जर आवश्यक नभएको प्रतिक्रिया दिए । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कामना विकास बैंकलाई एक अब्बल वित्तीय संस्थाका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले राष्ट्र बैंकले जारी गर्ने सम्पूर्ण नीतिनियमहरु पालना गर्ने मध्येको एक बैंक कामना सेवा रहेको उल्लेख गरे । हाल बैंकले २६ अर्ब बराबरको निक्षेप संकलन गरेको छ भने २२.५ अर्ब ऋण प्रवाह गरेको छ । समग्र विकास बैंहरुमा ७ प्रतिशत हिस्सा कामना विकास बैंकले ओगटेको कार्यक्रममा बताइयो ।

कृषि विकास बैंकको नाफा साढे ६० करोड, प्रतिसेयर आम्दानीमा पनि सुधार

काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ६० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ६० लाख रुपैयाँ बढी हो । बैंकले गत बर्षको यही समयमा ५५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो असोज मसान्तमा २०.८५ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको बैंकले चालु वर्षको सोही अवधिमा २३.३३ रुपैयाँ रहेको छ । बैंकले १ खर्ब २३ अर्ब ५४ करोड निक्षेप संकलन गरि १ खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निक्षेप ३ अर्ब ७८ करोड र कर्जा परिचालन ६६ करोड रुपैयाँले बढेको छ । बैंकको निष्कृय कर्जा घटेर ३.९३ प्रतिशतबाट ३.७० प्रतिशतमा झरेको छ । बैंकको पूँजी कोष अनुपात २०.७७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८१.७३ प्रतिशत रहेको छ । त्यस्तै, आधार दर घटेर १०.१८ प्रतिशत र स्प्रेड दर ५.२६ प्रतिशत रहेको छ ।