युरो-६ कार्यान्वयन : पुराना मापदण्डका सवारी १५ मंसिरसम्म भन्सार पास गर्न नाडाको आग्रह

काठमाडौं । नेपाल सरकारद्वारा लागू गरिएको नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) सम्बन्धी व्यवस्थाका बारेमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सूचना सार्वजनिक गर्दै तोकिएको समयभित्र भन्सार प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । वन तथा वातावरण मन्त्रालयले गत असार ९ गतेको नेपाल राजपत्रमार्फत युरो–६ मापदण्ड लागू गरिसकेको छ । सोको अनुगमन गर्दै अर्थ मन्त्रालयले गत असोज १० गते प्रकाशित राजपत्रमार्फत युरो–६ लागू हुनु अघि नै प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन तथा नेपालमै एसेम्बलरउत्पादन हुने सवारी साधनका लागि मंसिर १५ गतेसम्म पुरानै मापदण्डअनुसार सवारी साधन तथा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय गरिसकेको छ । नाडाका अनुसार उक्त प्रावधानअन्तर्गत तोकिएको म्यादभित्र आयात प्रक्रिया तथा भन्सार जाँचपास पूरा गर्न सबै आयातकर्ता तथा प्रभावित पक्षलाई अनुरोध गरिएको छ । नाडाले यस विषयमा वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग निरन्तर समन्वय र पत्राचार गर्दै आवश्यक पहल गरेको पनि जानकारी गराएको छ ।

भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर सुरु

काठमाडौं । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।  कार्यक्रम भोलि (शुक्रबार) देखि आइतबारसम्म काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुनेछ । तीनदिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवासुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।  एक्सचेन्ज अफर ४६ लाख ९९ हजार सुरु हुनेछ । प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ ।  उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।  

बालाजुमा नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टरको उद्घाटन

काठमाडौं । भेस्पा तथा अप्रिलियाका नेपालका आधिकारिक विक्रेता  डेल्टा अटोकर्प प्रालिले बालाजुको सानिमा बैंक नजिकैै नयाँ भेस्पा तथा अप्रिलिया सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।  नयाँ सर्भिस सेन्टरले २०८२ मंसिर १ गतेदेखि आधिकारिक रूपमा सेवा प्रदान गर्न थालेको  हो ।  सर्भिस सेन्टरको उद्घाटन डेल्टा अटोकोर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा निर्देशक विजयकुमार महतोले गरे । सर्भिस सेन्टरले ग्राहकहरूलाई बिक्री पछिको सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास कम्पनीले लिएको छ । नयाँ बलाजु सर्भिस सेन्टरले ग्राहकहरूलाई प्रिमियम सर्भिसिङ, मर्मत, डाएग्नोस्टिक सेवा तथा जेन्यून स्पेयर पार्ट्स​​​​​ उपलब्ध गराउँदै विश्वसनीय र सहज अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।