क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ ।  काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्सपोमा केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गरिएको हो ।  यी भ्यान व्यावसायिक तथा शैक्षिक दुबै क्षेत्रका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको छ । भ्यानको मूल्य क्रमशः ५८ लाख ५६ हजार र ६३ लाख ६ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालकै लागि भनेर विशेष रुपमा डिजाइन गरिएका यी भ्यान १५ र १६ सिट क्षमतामा उपलब्ध हुनेछन् ।  साथै व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ‘कमर्सियल भेरियन्ट’ र स्कुल/कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेंलो रङमा ‘स्कुल भेरियन्ट’ उपलब्ध गराइएको छ । स्कुल भेरिएन्टमा बालिबालिकाको सुरक्षालाई सुनिश्चित गर्न उच्चतम सुरक्षा मापदण्ड र विशेष सुबिधाहरु समावेश गरिएका छन् । यी इलेक्ट्रिक भ्यानमा ५३ किलोवाट आवरको एलएफपी सिएटिएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्दछ ।  दुवै मोडलमा स्थायी पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर ९पीएमएसएम० जडान गरिएको छ, जसले १३०/२७० एनएमको रेटेडरपीक टर्क र ५०/८० किलोवाटको रेटेड/पीक पावर उत्पादन गर्दछ । क्यारीको यी विद्युतीय भ्यानमा नेपाली सडकका लागि उपयुक्त हुनेगरी १८० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स दिइएको छ । अगाडि डिस्क र पछाडि ड्रम ब्रेक जडान गरिएको यी भ्यानमा एबीएस, ईबीडी र फायर एक्सटिन्गुइसर लगायत सेफ्टी फिचर पाउन सकिन्छ । क्यारी ईभी भ्यानका बारेमा थप जानकारी लिन नाइमा मोबिलिटी एक्सपोको हल डी, स्टल डी–१२ मा आई अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ । एलएक्सजी मोटर्स प्रालि नेपालको अग्रणी व्यावसायिक समूह लक्ष्मी ग्रुपको एक सहायक कम्पनी हो । कम्पनीले नेपाली बजारमा उत्कृष्ट र वातावरणमैत्री विद्युतीय सवारी साधनहरू भित्र्याएर दिगो यातायातमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

नाइमा मोबिलिटी एक्स्पोमा नयाँ गाडीको आकर्षण र विशेष अफरको होडबाजी

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) लाई लिएर  विशेष रौनक छाएको छ ।  एक्स्पोमा विश्व प्रसिद्ध अटोमोबाइल कम्पनीहरूका नयाँ मोडल, अत्याधुनिक प्रविधि र आकर्षक छुटका साथ ग्राहकहरूलाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् । यही भीडमा बीवाईडी, हुन्डाई, महिन्द्रा, प्रोटोन र ओमोडा जस्ता ब्रान्डहरूले पनि नयाँ गाडी सार्वजनिक गर्नुका साथै विशेष अफरहरू पनि रहेका छन् ।  बीवाईडीः विश्वकै उत्कृष्ट ह्याचब्याक नेपालमा पहिलो पटक साईमेक्सकी शोरुम म्यानेजर सन्ध्या श्रेष्ठका अनुसार बीवाईडीले यो एक्स्पोलाई लक्षित गरी विश्वकै उत्कृष्ट ह्याचब्याक मध्येको एक मानिने ‘एटो वान’ नेपालमा पहिलो पटक सार्वजनिक गरेको छ ।  ‘यो गाडी नेपालमा पहिलो पटक आएको हो । ग्राहकहरूको अत्यधिक माग र अनुरोधपछि हामीले नाइमालाई नै सही समय मानेर यो गाडी लन्च गरेका हौं,’ श्रेष्ठले भनिन् ।  एटो वान दुई भेरियन्टमा उपलब्ध छ जसको मूल्य २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बीवाईडीको सबैभन्दा ठूलो विशेषता यसको ‘ब्लेड ब्याट्री टेक्नोलोजी’ र ‘ई–प्लेटफर्म ३.०’ हो । यी दुवै विशेषता एटो वानमा उपलब्ध छ । एटो वानको खरिदमा डेढ लाख बराबरको बेनिफिट प्याकेज दिइएको छ । जसमा बीमा, सडक कर, एसेसरिज र पोर्टेबल चार्जर समावेश छन् । त्यस्तै, ७५ लाख पर्ने बीवाईडी सिलमा ‘अर्ली बर्ड बुकिङ’ अफर अन्तर्गत ७२ लाखमा गाडी पाउनुका साथै बीमा, कर र अन्य एसेसरिजहरू पनि उपलब्ध छन् ।  हुन्डाईः नेपाली सडक सुहाउँदो ‘क्रेटा ईभी’ हुन्डाईका सेल्स इन्चार्ज सुरेश श्रेष्ठले एक्स्पोमा ‘क्रेटा ईभी’ मुख्य आकर्षण बनेको जानकारी दिए । ‘हामीले क्रेटा ईभी, क्रेटा पेट्रोल, भेन्यू, ग्रान्ड आईटेन र आयोनिक फाइभ जस्ता पाँचवटा गाडी राखेका छौं । तर सबैभन्दा बढी माग क्रेटा ईभीको छ,’ उनले भने । क्रेटा ईभी ५१ लाख ९६ हजारबाट सुरु भई ७७ लाख रुपैयाँसम्मको पाँच भेरियन्टमा उपलब्ध छ । यसको सुरुवाती तीन भेरियन्टले एक पटकको चार्जमा ३५० किलोमिटर रेन्ज दिन्छ भने टप दुई भेरियन्टले ४७० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ ।  श्रेष्ठका अनुसार गाडीमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।’ ब्याट्रीको आयु लगभग १४–१५ वर्षसम्म रहने दावी उनले गरे ।  एक्स्पोमा गाडी बुक गर्ने ग्राहकका लागि आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ बीमा, सडक कर र लक्की ड्र मार्फत भियतनाम टुरको अवसर जस्ता विभिन्न सुविधा छन् ।  महिन्द्राः अत्याधुनिक प्रविधिसहितको नयाँ ईभी अग्नि महिन्द्रा ग्रुपका ईभी सेल्स म्यानेजर सागर भट्टराईले एक्स्पोमा तीनवटा नयाँ गाडी लन्च गरेको जानकारी दिए ।  बीई ६, एक्सईभी नाइन ई र पेट्रोल गाडी एक्सयूभी थ्री एक्स ओ । बीई ६ को मूल्य ५७ देखि ६८ लाखसम्म छ भने एक्सयूभी नाइन ईको मूल्य ६९ देखि ९५ लाखसम्म रहेको छ । यी गाडीहरूमा ‘इन्टेलिजेन्ट एड्याप्टिभ सस्पेन्सन’ जडान गरिएको छ जुन नेपालको खाल्डाखुल्डी बाटोका लागि निकै उपयोगी छ ।   साथै क्वालकमको स्न्यापड्र्यागन प्रोसेसर, १ हजार ४०० वाटको हार्मन कार्डन स्पिकर, ३६० डिग्री क्यामेरा र गाडी आफै पार्क हुने ‘अटो पार्क’ जस्ता अत्याधुनिक फिचरहरू छन् । टप मोडलले एक पटकको चार्जमा ४५० किलोमिटरको रेन्ज दिने भट्टराईले दावी गरे। नाईमा एक्स्पोमा गाडी बुक गर्नेहरूका लागि भेरियन्टअनुसार २ लाखसम्मको नगद छुटको व्यवस्था गरिएको छ । प्रोटोनः शून्य प्रतिशत ब्याजदरको अनौठो अफर जगदम्बा मोटर्सका सेल्सका सुजन श्रेष्ठले मलेसियन ब्रान्ड प्रोटोनले ‘ई–मास सेभेन’ का दुई भेरियन्ट रहेको जानकारी दिए–  प्राइम र प्रिमियम । प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ भने प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्राइमले ३४५ किलोमिटर प्रिमियमले ४१० किलोमिटर रेन्ज दिन्छ । गाडी घरको सामान्य चार्जरबाट ६-७ घण्टामा फुल चार्ज हुन्छ भने डीसी फास्ट चार्जरबाट मात्र २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । प्रोटोनले एक्स्पोका लागि सबैभन्दा फरक अफर ल्याएको छ । गाडीको कुल मूल्यको ६० प्रतिशत रकममा चार वर्षका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराइएको छ । साथै ब्याट्रीमा आठ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी दिइएको छ । जुन पहिले १ लाख ६० हजार किलोमिटरमा सीमित थियो ।  ओमोडाको जेको जे- ५ नाइमा एक्स्पोमा ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे–५’ राखेको छ । यो प्रिमियम एसयुभी भेरियन्ट हो । कम्पनीका अनुसार जे–५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ ।  यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध छन् ।  यो एसयुभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ ।  कम्पनीले एक पटकको फुल चार्जमा यसले ४०२ किलोमिटरको डब्लुएलटीपी प्रमाणित रेन्ज दिने दाबी गरेको छ।  सुरक्षाका लागि जेको जे-५ मा लेभल २ एडास अन्तर्गतका विभिन्न फिचरहरू छन् । यसमा फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित आपतकालीन ब्रेकिङ सहित १९ भन्दा बढी सुरक्षा प्रविधि रहेको जनाइएको छ ।  एक्स्पोको अवसरमा यो गाडी ग्राहकले ५६ लाख ९९ हजार रुपैयाँमै पाउनेछन् । यो गाडी ६० लाख ९९ हजार रुपैयाँको मूल्यमा सार्वजनिक भएको थियो । नाडा मोबिलिटी एक्स्पो नयाँ गाडीहरूको प्रदर्शनी मात्र नभएर ग्राहकका लागि उत्कृष्ट डिल र अफर प्राप्त गर्ने अवसर पनि बनेको छ । कम्पनीहरूबीचको यो प्रतिस्पर्धाले नेपाली अटोमोबाइल बजारलाई थप प्रतिस्पर्धी र ग्राहकमुखी बनाएको छ ।

‘अटो एक्स्पो कस्तो हुन्छ हामी देखाउँछौं, नाडा अटो शो ईभीमय हुन्छ’ {अन्तर्वार्ता}

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)ले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने तयारीमा जुटिरहेको छ । नाडाले यस पटकको नाडा अटो शो विगतको भन्दा फरक हुने दाबी गरिरहेको छ । यही नाडा अटो शोको तयारीबारे नाडाका अध्यक्ष करण चौधरीसँग विकासन्युजका लागि नरेन्द्र विष्टले गरेको कुराकानीको संक्षिप्त अंश : विगतमा नाडा अटो शो मात्रै हुन्थ्यो । यसपटक दुईवटा एक्स्पो हुँदैछन् । यो नयाँ मोबिलिटी एक्स्पो र नाडा अटो शोलाई कसरी हेरिरहनुभएको छ ? यसपटकको नाडा अटो शो विगतको भन्दा फरक हुनेछ । फरक हुनेवाला छ । साँच्चिकै अटो शो कस्तो हुन्छ भन्ने कुरा तपाईंहरूले अवलोकन गरेपछि मात्रै थाहा पाउनुहुन्छ । तपाईंहरूले नै यसपटकको अटो शोको मुल्यांकन गर्नुपर्नेछ । त्यसकारण नाडा अटो शोमा आउनुहोला, अवश्य पनि यहाँले हेर्नुहुनेछ र त्यो हेरेपछि कस्तो फिल हुन्छ । पक्कै प्रतिक्रिया दिनुहुनेछ ।  मोबिलिटी एक्स्पो अहिलेसम्मकै भव्य र ठूलो हो भनेर दाबी गरिएको छ । यसमा तपाईंको धारणा के छ ? म नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोबीच तुलना गर्दिनँ । किनभने नाडाको आफ्नो ५० वर्षको इतिहास छ । यो इतिहासले आफै बोल्छ । नाडा अटो शोलाई पर्खिनुस् । नाडा अटो शो हेर्नुहोला । त्यसपछि म प्रतिक्रिया आफै दिनेछु । अहिले भनिराख्नु पर्दैन ।  विगतका नाडा अटो शो भन्दा यो नाडा अटो शो कत्तिको फरक हुनेछ ? यस वर्षको नाडा अटो शो प्रदर्शनी नभएर भविष्यको अटोमोबाइल क्षेत्रको झलक दिने महोत्सव हुनेछ । नाडा आफ्नो स्वर्णजयन्तीको संघारमा छ । यो केवल एउटा प्रदर्शनी होइन, सम्पूर्ण अटोमोबाइल क्षेत्रको चाड हो । यसपटक हामीले ‘इनोभेसन र टेक्नोलोजी’ लाई केन्द्रमा राखेका छौं । जहाँ आगन्तुकले भविष्यको सवारी अनुभव गर्न पाउनेछन् । अटो शो ३ लाख स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा आयोजना हुनेछ ।  यो शोले नयाँ मानक स्थापना गर्नेमा हामी ढुक्क छौं ।  शोको मुख्य आकर्षणको रूपमा मुख्य प्रायोजक एमएडब्ल्यू वृद्धिले चाङ्गानको (चार खुट्टे) रोबोट ‘युनिट्री रोबोट’ र भविष्यको सहरी हवाई यातायातको नमूनाको रूपमा ‘दीपल ईभीटीओएल युएभी’ (उड्ने गाडी) को प्रदर्शन गर्नेछ । नेपालमा फ्लाइङ ट्याक्सीसम्बन्धी नीति नभए पनि अटो शोले नीति निर्माणका लागि बहस सिर्जना गर्ने विश्वास हामीले लिएका छौं । धेरै भनिरहनु पर्दैन । नाडा अटो शोमा आएपछि मात्रै अनुभव लिनसक्नुनेछ । नाडाले के के गर्छ यस पटक भनेर । नेपालमा ईभीप्रतिको माहोल बढ्दो क्रममा छ । ईभीलाई नाडा अटो शोले कत्तिको प्राथमिकतामा राखेको छ ? चार पाँग्रेको हकमा त यहाँहरुलाई थाहा नै छ । ९९ प्रतिशत भेहिकल्सहरू सबै ईभी छन् । गत वर्ष पनि ९० प्रतिशत ईभी थिए । यसपटक पनि सम्पूर्ण स्टलमा ईभी नै हुनेछन् ।  नाडा अटो शोमा कत्तिको कारोबार र अवलोकनकर्ता आउने अपेक्षा गर्नुभएको छ ? हाम्रो एउटै मात्र टार्गेट छ– नाडा अटो शोमा अवलोकन गर्नेको संख्या १ लाखभन्दा बढी हुनेछ । यसपटक धेरै निर्यातकर्ताले मिहिनेत गरेर आफ्नो स्टल बनाउने योजना गरिराख्नु भएको छ । यो योजना के हुन्छ भन्ने कुरा यहाँहरुले नाडामा आएर हेर्न सक्नुहुनेछ ।  दुईटा अटो शो हुनुलाई तपाईले कसरी लिनुहुन्छ ? मैले पहिलै पनि भनेको थिएँ । म धेरै कुरा अहिले भन्न सक्दिनँ । अब एक्स्पोहरू नेपालमा धेरै हुनेछन् । पहिला पनि हेर्नुहुन्थ्यो भने विभिन्न ब्रान्डहरूले नै एक्स्पो गर्थे । तर नाडाको स्केलमा आजसम्म कहिले भएको पनि थिएन । नाडाले आफ्नो स्केल सधैं म्यानेज गर्छ जस्तो लाग्छ । त्यसको लागि पनि एक्सपेरियन्स गर्न आउनुस्, त्यसपछि बुझ्नुहुन्छ । आईसीई सवारीको आयात घट्ने क्रममा छ । नेपालमा आईसीई गाडीको भविष्य अन्त्यतिर जाँदै हो ? कुनै पनि गाडीहरूको अन्त्य कहिल्यै हुँदैनन् । पछिल्लो समय कसको बजार हिस्सा कति हुने भन्ने मात्र हो । यहाँहरूले देख्नुभएकै छ । डिजेल इन्जिन अहिलेसम्म बन्द भएको छैन । आईसीई गाडीहरुको सधैं केही न केही हिस्सा रहन्छ ।  हाल नेपालको अटोमोबाइल बजारको अवस्था कुन दिशातर्फ गइरहेको देख्नुभएको छ ? हाल नेपाली अटो बजार ग्रिन इकोनोमीतिर गइरहेको छ । फ्युचर र मोबिलिटीतिर गइरहेको हामी पाएका छौं । यो राम्रो पक्ष हो । अहिले पहिलेको तुलनामा धेरै परिवर्तन भइसकेको छ।   सवारीसाधन आयातमा सरकारले तयार   पारेको नयाँ मापदण्डअनुसार मात्र आयात   गर्ने  भनिएको छ । यसप्रति तपाईंको धारणा   के छ ? यो मापदण्ड छलफलको क्रममा छ । यसबारे    सरकारलाई नाडाले आफ्नो सल्लाह सुझाव    लिखित रूपमा दिनेछ । यो चिज भएपछि    सरकारको उत्साहले हामीलाई धेरै हेल्प गर्छ    जस्तो मलाई लाग्छ । हामीले कुनै पनि पक्षलाई    अर्थात् उपभोक्तालाई मार नपर्ने गरी सरकारलाई   आफ्नो सुझाव दिने छौं ।   यस वर्षको नाडा अटो शोले   नेपाली  अटोमोबाइल उद्योगमा प्रविधि,   लगानी  र रोजगारीको क्षेत्रमा कस्तो योगदान   पु¥याउने अपेक्षा गर्नुभएको छ ? नाडा अटो शो नेपाली उपभोक्ताहरु तथा विशेष गरी हाम्रो अटोमोबाइलप्रेमीहरुका लागि चाड हो । यहाँहरूले दशैंमा जस्तो अपेक्षा गर्नुभएको छ । त्यहीं अपेक्षा नाडाले अटो शोमा गरेको हुन्छ । र हामीले पनि गरेका छौं ।  नाडा अटो शोमार्फत ईभी प्रवर्द्धनका लागि कस्तो योजना बनाउँदै हुनुहुन्छ ? यसबारेको बारेमा नाडा अटो शोमा डाइलग हुनेछ । त्यो टाइममा हामीबाट भन्दा पनि अरुको मुखबाट सुन्दा तपाईंलाई अझै रोचक लाग्नेछ । धेरै कुराहरु सिक्ने अवसरहरु पाउनु हुनेछ ।  के यस्ता प्रदर्शनी बिक्री केन्द्रित मात्र हुन् ? नाडा अटो शो हाम्रो लागि ठूलो चाड हो । किनभने वर्षभरि हामी अटो व्यवसायीहरूले जति बेच्ने प्रयास गर्छौं, त्यसको ४० प्रतिशत नाडा अटो शोको टाइममा बिक्री हुन्छ । यसपटक पनि त्यही आश गरेका छौं । जुन त्योभन्दा बढी हुनेछ ।   नाडाका मुख्य चुनौतीहरू र अवसरहरू के   देख्नुभएको छ ?   नाडाका चुनौतीबारे चार पाना लामो एनालिसिस   गरेका छौं । त्यसको मैले ठ्याक्कै नाडा अटो   शोको क्लोजिङमा दिनसक्छु । आज यी कुरा   सार्वजनिक गर्न सकिँदैन ।   नाडा हुँदा हुँदै नाइमा किन स्थापना भयो ?  म सबैलाई आग्रह गर्छु । नाडा र नाइमाको विषयलाई नकारात्मक रूपमा नलिउँ। सकारात्मक रूपमै लिएर अगाडि बढौं । हामी टुक्रिएका छैनौं । अहिलेसम्म नाइमामा रहेका साथीहरुले नाडाको सदस्यता त्यागेको   छैन । नाडाबाट छुट्टिएर नाइमा खोलिएको कुरा गलत हो ।