नाइमा एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको व्यवसायीको दाबी, बुकिङ र अवलोकनकर्ताको ‘रेस्पोन्स’ ले मक्ख
काठमाडौं । शनिबारको मुसलधारे पानीले राजधानीको सडक अस्तव्यस्त बनाइरहँदा भृकुटीमण्डपभित्र भने अर्कै रौनक थियो । विगतका वर्षहरुमा पानी पर्नेबित्तिकै बिथोलिने प्रदर्शनी यस पटकको नाइमा मोबिलिटी एक्स्पोमा भने कुनै असर परेन । स्थापनाको पहिलो वर्षमै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पो २०२५ ले अपेक्षाभन्दा निकै माथिको सफलता पाएको अवलोकनकर्ताहरु बताउँछन् । अवलोकनकर्ताको उर्लंदो भीड र सहभागी व्यवसायीहरूको मागलाई सम्बोधन गर्दै आयोजक नाइमाले एक्स्पोको अवधि एक दिन थपेर ६ दिनको कायम गरेको छ । विगतका अटो शोहरूमा पानी पर्नासाथ हिलो र अव्यवस्थाको सामना गर्नुपर्ने अनुभव संगालेका अवलोकनकर्ताहरूका लागि यो पटकको नाइमा एक्स्पो नितान्त फरक रहेको अनुभव सुनाउँछन् । नाइमा मोबिलिटीमा अवलोकन गर्न पुगेका प्रवेश कुवंरका विगतका नाडा अटो शोहरुमा पानी पर्दा पुरै खुट्टा हिलै हिलोले पुरिन्थ्यो । तर यसपटक त्यस्तो अवस्था नभएको उनी सुनाउँछन् । उनले भने, ‘यसपटको अटो शो धेरै व्यवस्थित छ । पानी परेर पनि हामी भिजेनौं । स्टलभित्र छिर्ने बाटोहरुमा जताततै कार्पेट ओछ्याएको छ । माथि पालको छानो छ । ठाउँठाउँमा पंखाहरु छन् । भित्रछिर्ने बाटोका दुई लेन छन् । खाजा खानेदेखि प्रत्येक स्टलहरुमा पानीको व्यवस्था छ । यसपटको अटो शो विगतका भन्दा व्यवस्थित छ ।’ फराकिलो र आकर्षक स्टल, हलहरू जोड्ने र ढाकिएका बाटा र हिलोमुक्त परिसरले आगन्तुकलाई सहजता प्रदान गरिरहेको नाइमाले दाबी गरेको छ । नाइमाकी अध्यक्ष तथा वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्री एण्ड ट्रेडिङ हाउसकी प्रबन्ध निर्देशक रितु सिंह वैद्यका अनुसार यसपटक स्टलहरू ठूला छन् र व्यवस्थापन उत्कृष्ट छ । ‘यो प्रदर्शनी ह्वीलचेयरमैत्री पनि छ । अशक्तता भएका व्यक्तिहरू पनि सहजै घुम्न सक्नुहुन्छ । एकै छानामुनि ५० वटा ब्रान्ड भएको यस्तो प्रदर्शनी अहिलेसम्म भएको थिएन,’ उनले भनिन् । एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको उनको भनाइ छ । उनले ग्राहकको रेस्पोन्सले आफूहरु खुसी भएको सुनाइन् । उनले एक्स्पोमा सवारी साधन बुकिङको आधिकारिक तथ्यांक आइनसकेको भएपनि एक हजार बढी सवारी साधन बुकिङ भएको अनुमान रहेको सुनाइन् । जी अटोमोबाइल्सका सञ्चालक आकाश गोल्छाले स–सानो कुराले गर्दा एक्स्पो फरक र उत्कृष्ट बनेको बताए । यसपटकको एक्स्पोमा घुम्न र रमाइलो गर्न आउनेभन्दा पनि गाडी किन्ने वा बुझ्ने मनसाय बोकेका गुणस्तरीय ग्राहकको उपस्थिति बाक्लो देखिएको लक्ष्मी ई–मोबिलिटीका प्रबन्ध निर्देशक दीपक थपलियाले बताए । ‘यसपटकका ग्राहकहरू पहिलादेखि नै गाडीबारे अध्ययन गरेर, बुझेर आएका छन् । धेरै कुरा इन्टरनेटमा हेरेर थाहा पाइसकेका हुन्छन् । त्यसैले उहाँहरूसँग कुरा गर्न पनि सहज भएको छ,’ थपलियाले थपे । नाडाका पूर्व अध्यक्ष धु्रव थापा पनि विगतको तुलनामा यस पटक उत्कृष्ट भएको बताउँछन् । ‘पहिले विद्यार्थीहरूको भीड बढी हुन्थ्यो, तर अहिले साँच्चिकै सवारीसाधनमा रुचि राख्ने र खरिद गर्न चाहनेहरूको उपस्थिति बढेको छ । यसले बुकिङमा समेत सकारात्मक प्रभाव पारेको छ,’ उनले भने । विशेषगरी विद्युतीय सवारी (इभी) प्रति मानिसहरूको आकर्षण बढेको उनको अनुभव छ । यस्तै, यार्डियाका सेल्स एन्ड मार्केटिङ प्रमुख भिजन कोइरालाले पनि शनिबार ‘पोटेन्सियल बायर’ हरूको फ्लो निकै राम्रो रहेको र १०/१५ वटा स्कुटर नगदमै बुकिङ भएको बताए । एक्स्पोको उद्देश्य तत्काल गाडी बेच्नु मात्र नभएर ब्रान्डिङ गर्ने, सही जानकारी दिने र ग्राहकसँग सम्बन्ध स्थापित गर्नु पनि हो । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले भने, ‘यो सेलिङ स्पट मात्र होइन । यो मानिसहरूलाई सबै उत्पादन एकै ठाउँमा हेर्ने, तुलना गर्ने, अध्ययन गर्ने र भविष्यका लागि निर्णय लिने प्लेटफर्म हो । ’ यो एक्स्पोले दशैंको माहोललाई समेत अगाडि नै भित्र्याएको छ । ‘हाम्रो ट्यागलाइन नै दशैंको सुरुवात नाइमाबाट भन्ने थियो । शिथिल अर्थतन्त्रमा यसले एउटा सकारात्मक भाइब्रेन्सी ल्याएको छ,’ नाइमा आयोजक समितिका सदस्य तथा एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने । नाइमाका मार्केटिङ तथा मिडिया कन्सल्टेन्ट प्रतिक अर्यालले भने, ‘हाम्रो होडबाजी यति बेच्यौँ वा यति बुकिङ भयो भन्नेमा हुँदै होइन । हाम्रो मुख्य लक्ष्य उपभोक्ताले यहाँ आएर दुःख होइन, रमाइलो अनुभव गरेर फर्कनुहोस् भन्ने हो । हामीले टिकटको लाइन, पार्किङ, पानीको समस्या जस्ता विगतका पीडालाई समाधान गर्न खोजेका हौं ।’ एक्स्पो भव्य रूपमा सफल भए पनि यसले काठमाडौंको कमजोर प्रदर्शनी पूर्वाधारलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ । अधिकांश सहभागी र आयोजकहरू भृकुटीमण्डपको पुरानो संरचना अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीका लागि अपर्याप्त भएको स्वीकार्छन् । ‘सबैभन्दा ठूलो चुनौती नै प्रदर्शनी स्थल हो, यहाँ न राम्रो पार्किङ छ, न त वातानुकूलित हल नै । हामीले जसोतसो टालटुल गरेर व्यवस्थापन गरेका हौं, ’ उनले सरकारलाई आग्रह गर्दै हात जोडेर बिन्ती छ, नेपाली ग्राहकलाई सुहाउँदो पूर्वाधार सरकारले उपलब्ध गराइदिए अझै राम्रो हुन्थ्यो,’ निर्देशक शारडाले भने । यद्यपि, अर्थमन्त्री विष्णु पौडेलले बजेट छुट्याएर तीन वर्षभित्र नयाँ हल बनाउने घोषणा गरेकाले व्यवसायीहरू आशावादी छन् । पहिलो प्रयासमै नाइमा मोबिलिटी एक्स्पो २०२५ ले नेपाली अटोमोबाइल क्षेत्रमा एउटा नयाँ मानक स्थापना गरेको व्यवसायीको दाबी छ ।
नाइमा मोबिलिटी एक्स्पो एक दिन थप, चार दिनमा ७० हजारले गरे अवलोकन
काठमाडौं । राजधानीमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा अवलोकनकर्ताहरूको अप्रत्याशित भीड लागेपछि आयोजकले प्रदर्शनीको अवधि एक दिन थप गरेको छ । स्थापनाको छोटो समयमै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको पहिलो एक्स्पोमा दर्शकको उत्साहजनक उपस्थितिले नेपालको अटोमोबाइल बजारप्रतिको आकर्षण जीवन्त रहेको संकेत गरेको छ । श्रावण २१ बुधबारदेखि २५ गतेसम्म ५ दिनका लागि तय गरिएको एक्स्पो अब अवलोकनकर्ताहरूको चाप र मागलाई ध्यानमा राख्दै श्रावण २६ गते, सोमबारसम्म सञ्चालन हुने नाइमाले जनाएको छ । आयोजकका अनुसार, शनिबारसम्मका सुरुवाती चार दिनमा मात्रै ६९ हजार ५ सय जनाले एक्स्पो अवलोकन गरिसकेका छन् । नाइमाका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र शनिबार मात्रै २१ हजार ५ सय जनाले एक्स्पोमा सहभागिता जनाएका थिए । शनिबार परेको मुसलधारे पानीका बाबजुद पनि अवलोकनकर्ताहरूको उत्साहमा कुनै कमी आएन, बरु सबैभन्दा बढी भीड सोही दिन देखियो, जसले गाडीप्रति आममानिसको चासोलाई स्पष्ट पार्छ । एक्स्पो स्थलमा आफूलाई मनपर्ने दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनबारे जानकारी लिने, सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ । कार्यालयको काममा व्यस्त रहनेहरूले समेत शनिबारको सार्वजनिक बिदाको भरपुर उपयोग गर्दै एक्स्पो अवलोकन गरेका थिए । सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र व्यवसायीहरूले समेत एक्स्पोमा सहभागिता जनाएका छन्, जसले यसको बृहत् आकर्षणलाई पुष्टि गर्छ । ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी रहेको यो एक्स्पोले अवलोकनकर्ताहरूलाई एकै छानामुनि विभिन्न सवारीसाधन तुलना गर्ने र छान्ने अवसर प्रदान गरेको छ । स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रयासमा नै नाइमाले पाएको यो सफलताले आगामी दिनहरूमा नेपालको मोबिलिटी क्षेत्रमा थप योगदान पुर्याउन आयोजकलाई उत्साहित बनाएको छ । अवलोकनकर्ताहरूको अपार माया र समर्थनलाई मध्यनजर गर्दै थपिएको एक दिनले गाडी खरिद गर्न वा जानकारी लिन चाहनेहरूलाई थप सहज हुने आयोजकको विश्वास छ ।
नाडा अध्यक्ष चौधरी नाइमा एक्स्पोमा : अटोमोबाइल क्षेत्रको सहकार्य र रूपान्तरणको संकेत
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी नाइमा नेपाल मोबिलिटी एक्स्पो अवलोकनमा पुगेका छन् । शुक्रबार अध्यक्ष चौधरी नाडाबाट छुटिएर बनेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा ) ले काठमाडौंको भृकुटीमण्डपमा जारी नाईमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवलोकन गर्न पुगेका हुन् । नाडाका अन्य पदाधिकारीहरू सहित एक्स्पोमा पुगेका चौधरीले नेपालको अटोमोबाइल क्षेत्रको विकासका लागि नाडा र नाईमाबिचको सहकार्य महत्त्वपूर्ण हुने बताए । एक्स्पो अवलोकनका क्रममा अध्यक्ष चौधरीले दुई संस्थाहरूको सहकार्यले नेपालको अटोमोबाइल व्यवसायमा देखिएका नीतिगत र व्यावहारिक चुनौतीहरूलाई सम्बोधन गर्न सहज हुने विश्वास व्यक्त गरेको नाइमाले जनाको छ । नाइमा नाडाबाट छुटिएर बनेको सवारी साधनका आयातकर्ताहरू मिलेर गठन भएको नयाँ संस्था हो । नाइमाले आयोजना गरेको यो पहिलो एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरू सहभागी छन् । गत बुधबारदेखि सुरु भएको एक्स्पो यही साउन २५ गतेसम्म चल्नेछ । यस एक्स्पोमा विद्युतीय सवारी, स्मार्ट मोबिलिटी सोलुसन्स र सडक सुरक्षा प्रविधिहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । आयोजकले ७० देखि ८० हजार मानिसले एक्स्पोको भ्रमण गर्ने अनुमान गरेका छन् ।