दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो
वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट चार अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३ सय ३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड रुपैयाँ राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा तीन अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८ सय ५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका चार हजार ५ सय ६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख बराबरका दुई हजार १ सय ९२ वटा मोटरसाइकल आयात भएका थिए । यसैगरी, चालु आवको पहिलो छ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका चार हजार ५ सय ९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँ बराबरका दुई हजार २ सय १८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।
नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७, सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
काठमाडौं । प्रोटोन नेपालअन्तर्गतको फुल-साइज इलेक्ट्रिक एसयूभी इमास ७ नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको छ । मलेसियाको नम्बर एक इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित इमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत नेपालमा उपलब्ध छ । इमास ७ को प्रमुख विशेषता यसको एइजिस सर्ट ब्लेड ब्याट्री हो, जुन हाल उपलब्ध अत्याधुनिक ब्लेड-टाइप लिथियम आयरन फस्फेट ब्याट्री प्रविधिमध्ये एक हो । यसले उच्च ऊर्जा घनत्व प्रदान गर्दै लामो ड्राइभिङ रेन्ज सुनिश्चित गर्दछ भने लामो साइकिल लाइफले दीर्घकालीन टिकाउपन र प्रदर्शनमा स्थिरता दिन्छ । कम्पनीका अनुसार यो ब्याट्री उच्च चार्जिङ दक्षतासहित तयार गरिएको छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्मको चार्ज केवल २० मिनेटमै पूरा गर्न सक्ने क्षमता राख्छ, जसले चार्जिङ समय उल्लेखनीय रूपमा घटाउँछ । सुरक्षालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यस ब्याट्रीमा आगो प्रतिरोधी संरचना राखिएको छ, जसले चालक तथा यात्रु दुवैलाई थप सुरक्षित बनाउँछ । ब्याट्रीको लेआउटले इन्टेरियर क्याबिन स्पेस अधिकतम बनाएको छ, प्रदर्शनमा कुनै सम्झौता नगरी छिटो चार्जिङ क्षमतासहित न्यू युरोपियन ड्राइभिङ साइकल (NEDC) प्रमाणित ४९२–५८५ किलोमिटर सम्मको प्रभावशाली ड्राइभिङ रेन्ज प्रदान गर्दछ । यसले इमास ७ लाई दैनिक शहरी यात्रा देखि लामो दूरीका यात्रासम्मका लागि उपयुक्त बनाउँछ । प्रोटोन नेपालले इमास ७ को सुरुवातसँगै आधुनिक, सुरक्षित र दिगो इलेक्ट्रिक मोबिलिटी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
बजाजको ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर सार्वजनिक
काठमाडौं । बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक योजना ल्याएको हो । यस योजनाअन्तर्गत १०० सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ । यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नयाँ जीवन र नयाँ जिम्मेवारी सुरु गर्ने जोडीका लागि यो अफर ल्याइएको बताए । उनले भने, 'नयाँ सोच र नयाँ संकल्पका साथ जीवन सुरु गर्नेहरूका लागि यो योजना उपयोगी हुने विश्वास लिएका छौँ ।' नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यस योजनाबाट सबै ग्राहकले लाभ लिन सक्ने उनले जानकारी दिए । कम्पनीका अनुसार यो योजना माघ १५ गते बिहीबारदेखि लागू गरिएको हो ।