स्वर्ण जयन्तीको अवसरमा नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भाद्र ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन गर्ने भएका छन् ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले गरेको निमन्त्रणालाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेपछि उद्घाटन निश्चित भएको हो । सरकार प्रमुखबाटै अटो शोको उद्घाटन हुने भएपछि अटोमोबाइल व्यवसायीहरू उत्साहित भएका छन् । उनीहरूले यसलाई सरकारले अटोमोबाइल क्षेत्रलाई दिएको महत्त्व र सकारात्मक संकेतका रूपमा लिएका छन् । यस वर्षको अटो शो नाडाको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) को विशेष अवसरमा आयोजना हुन लागेको हो, जसले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाएको छ । भाद्र ३ देखि ८ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहनेछ भने ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरूले आफ्ना नयाँ उत्पादन तथा प्रविधिहरू प्रस्तुत गर्नेछन् । नाडाका अनुसार, यस पटकको प्रदर्शनीमा विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटीका नवीनतम प्रविधिहरूलाई विशेष प्राथमिकतामा राखिएको छ । साथै, अवलोकनकर्ताका लागि यस पटकको विशेष आकर्षणका रूपमा भिन्टेज मोटर शो पनि रहनेछ, जहाँ पुराना र क्लासिक गाडीहरू प्रदर्शन गरिनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष चौधरीसँगै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेललगायतको सहभागिता थियो ।  उक्त अवसरमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई अटोमोबाइल क्षेत्रका वर्तमान अवस्था र चुनौतीबारे संक्षिप्त जानकारी गराउँदै अटो शोको महत्त्वबारे प्रकाश पारेको थियो । स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको र प्रधानमन्त्रीबाटै उद्घाटन हुने भएपछि यस पटकको नाडा अटो शो विगतभन्दा भव्य र विशेष हुने अपेक्षा गरिएको छ ।

नाइमा मोबिलिटी एक्स्पो : २ हजार बढी गाडी बुकिङ, ९२ हजारले गरे अवलोकन

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोको पाँचौं दिन गाईजात्राको सार्वजनिक बिदा । ८६ वर्षीया बिनासरी आचार्य लौरो टेक्दै विस्तारै भीड छिचोल्दै थिइन् । प्यूठान घर भई हाल बागबजारमा छोरा–बुहारी र नातिनातिनासँग बस्ने उनी गाडी किन्न होइन, केवल रमाइलो हेर्न र मेलाको माहोलमा रमाउन आएकी थिइन् ।  ‘न गाडी किन्न सक्छु, न हिँड्न सक्छु,’ उनी मुस्कुराउँदै भन्छिन्, ‘यहाँको माहोल राम्रो लाग्यो, सबै कुरा राम्रो छ, रमाइलो हेर्न आएको ।’ बिनासरी जस्ता आगन्तुकले एक्स्पोलाई केवल व्यापारिक मेला मात्र नभएर एउटा सामाजिक उत्सवको रूप लिएका थिए । यस पटकको एक्स्पोलाई ‘ईभीमय’ भन्दा फरक पर्दैन । खासगरी बीवाईडीको स्टलमा मानिसहरूको भीड थामिनसक्नु थियो । कम्पनीले भर्खरै सार्वजनिक गरेको बजेट कार ’एट्टो वान’ हेर्न र बुकिङ गर्न मानिसहरू झुम्मिएका थिए । ‘साढे दुई/तीन वर्षदेखि उपभोक्ताहरूले सानो र गुणस्तरीय बजेट कारको माग गरिरहनुभएको थियो,’ बीवाईडीकीकी प्रबन्ध निर्देशक तथा नाईमाकी बोर्ड सदस्य यमुना श्रेष्ठ भन्छिन्, ‘त्यही माग पूरा भएकाले यति धेरै माया पाएका छौं ।  पहिला ईभीबारे बुझाउनु पथ्र्यो, आज ग्राहक आफै आएर एट्टो वान नै किन्छु भन्दै दुई मिनेटमै फारम भरेर बुकिङ गर्नुहुन्छ । यो विश्वास हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’ एक्स्पोको पाँच दिनमा करिब ६ सय बिवाइडी गाडी बुकिङ हुनुले नै यसको क्रेज प्रस्ट पार्छ ।  त्यस्तै, एमजी र  ओमोडा एन्ड जेकोको स्टलमा पनि उत्तिकै आकर्षण थियो । विशेषगरी जेको जे-फाइभको आकर्षक लुक्स, ग्राउन्ड क्लियरेन्स र पावरले धेरैलाई तानेको थियो । एक्स्पो ईभीमय भए पनि अन्य प्रविधिले पनि आफ्नो दरिलो उपस्थिति देखाएका थिए । टोयोटाले आफ्नो हाइब्रिड प्रविधिको यारिस क्रस र नयाँ लुक्सको ल्यान्ड क्रुजर प्राडो प्रदर्शनमा राखेको थियो । ‘हाइब्रिड टेक्नोलोजीबारे मान्छेमा ठूलो चासो छ । नसोचेको तरिकाले बुकिङ भइरहेको छ,’ टोयोटाका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठ भन्छन् । उनले एक्स्पो अवधिभर १६/१७ वटा गाडी बुकिङ भएको जानकारी दिए । यसैबीच एउटा फरक र विशेष स्टलले सबैको ध्यान तानेको थियो, एमजीपीएल ग्रुप । विराटनगरमा फ्याक्ट्री रहेको यो कम्पनीले नेपालमै एसेम्बल गरिएका विद्युतीय रिक्सा, पानी ट्याङ्कर, फोहोर उठाउने गाडी र फुड ट्रक जस्ता व्यावसायिक सवारी प्रदर्शनमा राखेको छ । एक्स्पोमा मेगाटेक समूहले प्रदर्शनमा ल्याएका स्वदेशमै बनेका ‘सामुराइ ब्रान्ड’ का ई-रिक्साहरू दर्शकहरूको आकर्षणको केन्द्र बनेका छन् । विभिन्न प्रयोजनका लागि निर्माण गरिएका यी इ-रिक्साहरूले सस्तो, वातावरणमैत्री र बहुउपयोगी सवारीको रूपमा नयाँ सम्भावना देखाएका छन् ।  मोरङको बुढीगंगास्थित कारखानामा डिजाइनदेखि उत्पादनसम्मको सम्पूर्ण प्रक्रिया नेपालमै हुने यी रिक्साहरू साना व्यवसायी, किसान तथा स्थानीय तहका लागि लक्षित छन् । सामान ढुवानी, तरकारी र मासु बिक्री, फोहोर संकलन, पानी हाल्ने, र यात्रु सेवा जस्ता विविध प्रयोजनका लागि निर्माण गरिएका मोडलहरू एक्स्पोमा प्रदर्शित छन् ।  १३ मोडलका सामुराइ रिक्साहरू एक्स्पोमा सामुराइ लोड-किङ, भेजी क्लोज, फुडीज, चिकन कार्ट, सुपर प्लस, प्लस, प्लस (बेस), इवा, एक्सट्रीम, पावर प्लस, र भेजी ओपन जस्ता विभिन्न मोडलहरू सार्वजनिक गरिएका छन् । यी इ-रिक्साहरूमा ४ देखि ५ वटा लेड-एसिड ब्याट्री, १०००-१२०० वाट मोटर, तथा ८०० देखि १३८० किलोग्रामसम्मको लोड क्षमता रहेको मेगाटेकले जनाएको छ । कम्पनीका अनुसार पानी ट्यांकर मोडलको मूल्य ९ लाख रुपैयाँ, गार्बेज कार्ट ६ लाख ५० हजार, चिकन कार्ट ५ लाख ५० हजार, स्कूल भ्यान ६ लाख, र भेजी क्लोज ४ लाख ५० हजार तोकिएको छ । ३०० जनालाई रोजगारी दिइरहेको मेगाटेकले हालसम्म ९ सयदेखि १ हजार युनिट रिक्साहरू उत्पादन गरिसकेको र दैनिक १०-१५ युनिट उत्पादन क्षमता रहेको जनाएको छ । ‘हाम्रो उत्पादन तराईमा निकै सफल छ, तर काठमाडौं उपत्यकामा चलाउन अनुमति पाएका छैनौं,’ कम्पनीका सिनियर सेल्स अफिसर शशी रेग्मीले भने, ‘हामी यही एक्स्पोमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं । यदि निश्चित समय र रुटमा अनुमति पाए, यी साधन शहरी व्यवस्थापनका लागि निकै उपयोगी हुनेछन् ।’ विगतका नाडा अटो शोभन्दा फरक यसपटकको नाइमा  मोबिलिटी एक्स्पो व्यवस्थापन र आगन्तुकको गुणस्तरका हिसाबले अब्बल देखिएको अवलोकनकर्ताहरू बताउँछन् । विद्यार्थी वा रमितेभन्दा पनि वास्तविक खरिदकर्ताको उपस्थिति बाक्लो रहेको आयोजकको दाबी छ । ‘एक्स्पो सुरु हुनुअघि डर जस्तो थियो तर आज पाँचौं दिनमा आइपुग्दा म ढुक्क छु, सबैले राम्रो व्यापार गरेका छन्,’ नाइमाका आयोजक समिति सदस्य गौरव शारडा भन्छन् । ‘आगन्तुकको चाप र व्यवसायीको आग्रहमा हामीले एक्स्पो एक दिन थप्यौं । यसले नै देखाउँछ कि यो नेपालकै आजसम्मको सबैभन्दा ठूलो र सफल अटोमोबाइल एक्स्पो हो,’ उनले थपे । उनका अनुसार एक्स्पो अवधिभर एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अनुमान छ, जसले बजारमा सकारात्मक सन्देश प्रवाह गरेको छ । सोमबारसम्म चल्ने नाइमा एक्स्पोमा पाँचौं दिनसम्म आइपुग्दा २ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन् भने ९२ हजार जनाले एक्स्पो अवलोकन गरिसकेका छन् । नाइमाका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार, चौथो दिन साढे २१ हजार र आइतबार २२ हजार जनाले एक्स्पोमा सहभागिता जनाएका थिए ।  आइतबार परेको गाईजात्राको विदाका बाबजुद पनि अवलोकनकर्ताहरूको उत्साहमा कुनै कमी नआएको नाइमाको भनाइ छ । अवलोकनकर्ताहरूले एक्स्पो स्थलमा आफूलाई मनपर्ने दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनबारे जानकारी लिने, सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरूको बाक्लो उपस्थिति रहेको नाइमाले बताएको छ । कार्यालयको काममा व्यस्त रहनेहरूले समेत गाईजात्राको सार्वजनिक बिदाको भरपूर उपयोग गर्दै एक्स्पो अवलोकन गरेका थिए । सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र व्यवसायीहरूले समेत एक्स्पोमा सहभागिता जनाएका छन् । ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी रहेको यो एक्स्पोले अवलोकनकर्ताहरूलाई एकै छानामुनि विभिन्न सवारीसाधन तुलना गर्ने र छान्ने अवसर प्रदान गरेको छ ।

हाइब्रिडको माग घट्दा जुलाईमा चीनको कार बिक्री वृद्धि सुस्त

काठमाडौं । जुलाई महिनामा चीनको कार बिक्री वृद्धि सुस्त भएको छ, जसको एउटा कारण हाइब्रिड गाडीको कम माग हो । विश्वकै सबैभन्दा ठूलो अटो बजारमा नियामक निकायहरूले मूल्ययुद्धलाई नियन्त्रण गर्ने प्रयास गर्दा यसले उद्योगमा असर पारेको छ । चाइना पासेन्जर कार एसोसिएशन ९सीपीसीए० को तथ्याङ्कअनुसार शुक्रबारसम्म जुलाई २०२४ को तुलनामा बिक्री ६.९ प्रतिशतले बढेर १८.५ लाख युनिट पुगेको छ, जुन जुन महिनाको १८.६ प्रतिशत वार्षिक वृद्धिदरभन्दा निकै कम हो । पूर्ण विद्युतीय र प्लग(इन हाइब्रिडसहितका नयाँ ऊर्जा सवारीसाधनको बिक्री वृद्धि जुन महिनाको २९.७ प्रतिशतबाट घटेर १२ प्रतिशतमा आएको छ, तर लगातार पाँचौं महिनासम्म पेट्रोल कारभन्दा बढी बिक्री भएको छ । हाइब्रिडको माग निरन्तर कमजोर भइरहेको देखिन्छ किनभने प्लग–इन र एक्सटेन्डेड–रेन्ज हाइब्रिड दुवैको बिक्री जुलाई २०२४ को तुलनामा ३.६ प्रतिशतले घटेको छ । ब्याट्री प्रविधि र चार्जिङ पूर्वाधारमा भएको प्रगतिले पूर्ण विद्युतीय गाडीप्रति धेरै टाढा यात्रा गर्ने यात्रीको चिन्ता कम गरिदिएको छ । यस प्रवृत्तिले लिपमोटर, साओमी र एक्सपेङजस्ता विद्युतीय गाडी उत्पादकहरूलाई फाइदा पुर्‍याएको छ, जसले जुलाईमा रेकर्ड बिक्री गरेका छन् । तर, बीवाईडी र ली अटोजस्ता कम्पनीहरूलाई असर पारेको छ, जसको प्रमुख बिक्री र नाफा हाइब्रिडमा निर्भर थियो । बीवाईडीको चीनमा जुलाईमा लगातार तेस्रो महिनासम्म बिक्री घटेको छ– वार्षिक हिसाबले १२ प्रतिशतले । चीनको नयाँ ऊर्जा सवारी बजारमा यसको हिस्सा गत वर्षको ३५.४ प्रतिशतबाट घटेर २७.८ प्रतिशतमा आएको छ । तर, विदेशी बजारमा बिक्री बढेकै कारण यसको विश्वव्यापी डेलिभरी भने जुलाईमा थोरै बढेको छ, जसमा विदेशबाट आएको बिक्री कुलको २० प्रतिशतभन्दा बढी रहेको छ । टेस्लाको चीनको सबैभन्दा ठूलो प्रतिस्पर्धी र मूल्य कटौती अभियानको अगुवा बीवाईडीको उत्पादन जुलाईमा १७ महिनापछि पहिलो पटक घटेको छ । बीवाईडीसँगै चीनका थोरै नाफामूलक ईभी निर्मातामध्ये एक ली अटोले गत महिना ४० प्रतिशत वार्षिक बिक्री गिरावट भोगेको छ । विस्तारित–रेन्ज हाइब्रिडको अग्रणी यस कम्पनीले भर्खरै आफ्नो पूर्ण विद्युतीय एसयूभी लाइनअप नयाँ प्रिमियम स्पेसिफिकेसनसहित प्रतिस्पर्धात्मक मूल्यमा प्रस्तुत गरेको छ । अटो उद्योग चीनको अत्यधिक प्रतिस्पर्धा र मूल्ययुद्धका कारण क्षमताभन्दा बढी उत्पादन भइरहेको क्षेत्रमा नियन्त्रण गर्ने बेइजिङको अभियानको केन्द्रमा रहेको छ । गत महिना उद्योग मन्त्रालयका एक अधिकारीले चीन अटो र अन्य क्षेत्रमा वृद्धि स्थिर पार्ने कदमहरू चाल्ने बताएका थिए । सीपीसीएको तथ्याङ्कअनुसार कार निर्यात वृद्धि जुलाईमा २५ प्रतिशतमा पुगेको छ, जुन जुन महिनाको २३।८ प्रतिशतभन्दा उच्च हो । यसअघि एसोसिएशनले देशीय र अन्तर्राष्ट्रिय बजारमा अपेक्षाभन्दा राम्रो डेलिभरीको आधारमा यस वर्षको बिक्री र निर्यात पूर्वानुमान सुधार गरेको थियो । चिनियाँ ईभीको दबाबसँग जुध्न जीएम र हुन्डाई एकजुट लिफ्ट र चीनको बाइडुले युरोपमा रोबोट्याक्सी सेवा सुरु गर्ने