म्याक्ससको मिफा सेभेन विशेष अफरसहित आजदेखि बिक्री सुरु

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ इलेक्ट्रिक एमपीभी म्याक्ससको मिफा सेभेन बुधबारबाट औपचारिक रूपमा सार्वजनिक भएको छ । भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा या ईभी लञ्च भएको हो ।  सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो ।  चाइनाको प्रख्यात एसएआईसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको यो गाडी अत्यन्त सुविधायुक्त प्रिमियम गाडीमा गनिन्छ । केही समयअघि पहिला म्याक्सस ब्रान्डकै लक्जरी ई-टेरोन नाइन पिकअप समेत नेपालको मनाङ जिल्लामा लगेर लन्च गरिएको थियो।  हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारीसाधनहरू आयात तथा विक्री वितरण गर्दै आइरहेको छ।  मिफा सेभेन नेपालमा प्रिमियम कार चढ्‌नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ ।  एक्सोभरि मिफा बुक गर्ने ग्राहकहरूलाई २० लाख रुपैयाँ र ई-टेरोन पिकअप बुक गर्नेलाई ५ लाख रुपैयाँ नगद छुट लगायत अन्य विशेष अफरहरू रहेका छन् । मिफा सेभेनको मूल्य १ करोड २५ लाख रुपैयाँ र ई-टेरोन डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य करोड साख १९ हजार रहेको कम्पनीले जनाएको छ । १० किलोवाट आवर ब्याट्री क्षमता रहेको मिफा सेभेनले डिसी फार्स्ट चार्जर सर्पोट गर्छ । यो गाडी ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दावी छ। कन्ट्रोलजस्ता सुरक्षा फिचर्सका साधे यो गाडीले यूरो एनक्याप, सी(एनक्याप, ए(एनक्यापमा ५ स्टार रेटिङ पाएको छ । यस गाडीको ९० किलावाटको उच्च क्षमताको ब्याट्रीले ६३५ किमीसम्मको रेन्ज दिने दावी कम्पनीको छ ।

फोर्थिङ ‘फ्राइडे’ ईभी नेपालमा सार्वजनिक, नाइमा मोबिलिटी एक्स्पोमा विशेष छुट

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ इलेक्ट्रिक एसयूभी फोर्थिङ ‘फ्राइडे’  बुधबारबाट औपचारिक रूपमा सार्वजनिक भएको छ । डङफेङ ग्रुप अन्तर्गतको यस गाडीलाई नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर विशेष लन्चिङ अफरसहित बजारमा ल्याइएको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा ठूलो र फराकिलो मानिएको यो गाडीलाई 'बिगर एसयूभी'को रूपमा पनि हेरिएको छ । सन् २००१ देखि नै स्थापित र विश्व बजारमा आफ्नो पहिचान बनाइसकेको फोर्थिङ ब्रान्डको फ्राइडे मोडल अब नेपाली ग्राहकका लागि पनि उपलब्ध भएको हो । फोर्थिङ फ्राइडेले आफूलाई एक लक्जरियस एसयूभीको रूपमा प्रस्तुत गरेको छ । यसमा प्रिमियम फिचरहरू रहेका छन् । यो गाडी नेपालमा उपलब्ध अन्य ईभीहरूमध्ये सबैभन्दा ठूलो ब्याट्री प्याक भएकोमध्ये एक हो । यसमा ६४ किलोवाट आवरको ब्याट्री छ, जसले एक पटकको पूर्ण चार्जमा ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीले जनाएको छ । फोर्थिङ फ्राइडे विशेषगरी सहरी र राजमार्गका लागि उपयुक्त भए पनि सामान्य अफरोडका लागि पनि सक्षम रहेको बताइएको छ । यो फोर-ह्विल ड्राइभ नभए पनि नेपालका मध्यम स्तरका कच्ची बाटोहरूमा पनि सहजै चल्न सक्ने  कम्पनीको दावी छ । नाइमा मोबिलिटी एक्स्पोको अवसरमा कम्पनीले यस गाडीमा विशेष छुटको घोषणा गरेको छ । सुरुवाती मूल्यबाट ४ लाख रुपैयाँ घटाएर यसको स्टार्टिङ भेरिएन्ट ४८ लाख ९६ हजार रुपैयाँमा उपलब्ध गराइएको छ । यो अफर केवल मोबिलिटी एक्स्पो अवधिभरका लागि मात्र लागू हुनेछ ।

नाइमा मोबिलिटी एक्स्पोमा अर्थमन्त्रीले गरे आधुनिक प्रदर्शनी हल निर्माणको घोषणा

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी, 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५', बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे ।  उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको नीतिगत स्थायित्वको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको र आगामी दिनमा अनावश्यक नीतिगत फेरबदल नगरिने प्रतिबद्धता व्यक्त गरे । समारोहमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रदर्शनी हल निर्माण गर्ने घोषणा गरे । उनले भने, 'यो केवल बजेटमा बोलिएको विषय मात्र होइन, यो कार्यान्वयन हुने विषय हो । ढिलोमा पनि तीन वर्षभित्र भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हल निर्माण भइसक्नेछ, जसले निजी क्षेत्रले भोग्दै आएको झन्झटको अन्त्य गर्नेछ ।' उनले सरकार पूर्वाधार विकास, विशेषगरी गुणस्तरीय सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकताका साथ लागेको बताए । पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र उत्तर(दक्षिण करिडोर निर्माणका कामहरू तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । अर्थमन्त्रीले हालैको बजेट निजी क्षेत्रसँगको बृहत छलफलपछि ल्याइएको र यसले लगानीको वातावरण बनाउन तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको स्पष्ट पारे । 'यो बजेट अर्थमन्त्रीले बनाएको होइन, यो हामी सबैले बनाएको बजेट हो भन्ने अनुभूति निजी क्षेत्रले गरोस् भन्ने हाम्रो चाहना थियो,' उनले भने । नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले स्वागत मन्तव्य राख्दै अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्र र रोजगारीमा पुर्‍याएको महत्वपूर्ण योगदानबारे प्रकाश पारिन् । उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढीलाई रोजगारी दिएको छ र कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशत योगदान पुर्‍याएको छ । अध्यक्ष वैद्यले भनिन्, 'अटोमोबाइल क्षेत्रले बारम्बार नीतिगत अस्थिरताको सामना गर्नु परेको छ, जसले लगानीको वातावरणलाई असर गरेको छ। हामी सरकारसँग नीतिगत स्थायित्वको लागि जोडदार माग गर्दछौं ।' उनले  भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हलको आवश्यकता औंल्याउँदै यसका लागि सरकारसँग आग्रह गरेकी थिइन् । अध्यक्ष वैद्यले नाइमा केवल एउटा संस्था मात्र नभएर एक 'मुभमेन्ट' भएको र यसले नेपालको मोबिलिटी इकोसिस्टमलाई बलियो बनाउने लक्ष्य राखेको बताइन् ।  एक्स्पोमा ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिँदैछ । एक्स्पोमा 'मोबिलिटी : हिजो, आज, भोलि', 'वर्कफोर्स डेभलपमेन्ट,' र 'सेफ मोबिलिटी' जस्ता विषयहरूमा गहन प्यानल छलफलहरू पनि आयोजना गरिनेछ । नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक्स्पोको टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत हिस्सा शिक्षा मन्त्रालय र सीटीईभीटीसँगको सहकार्यमा मोबिलिटी क्षेत्रका लागि छात्रवृत्ति र अनुसन्धानमा खर्च गर्ने घोषणा पनि गरेको छ। यो एक्स्पो केवल सवारीसाधनहरूको प्रदर्शनी मात्र नभई नेपालको समग्र मोबिलिटी क्षेत्रको भविष्य, चुनौती र अवसरहरूबारे विमर्श गर्ने एक महत्वपूर्ण मञ्च बनेको छ । सरकारको सकारात्मक प्रतिबद्धता र निजी क्षेत्रको उत्साहले आगामी दिनमा यो क्षेत्रले थप गति लिने अपेक्षा गरिएको छ ।