यातायात व्यवसायी भन्छन्- प्राइभेट गाडी र हवाईजहाजले यात्रु बोकेको टुलुटुलु हेरेर बस्नु ?
फाइल फाेटाे काठमाडौं । सरकारले शर्तसहित अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशतभन्दा बढी नहुने गरी आन्तरिक उडान खुलाको निर्णय गरेको हो । यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले मंगलरबारदेखि उपत्यका भित्र ट्याक्सी, पठाओ तथा टुटलको सेवा समेत खुला गरेका छन् । जोरविजोर प्रणाली अनुसार उक्त सेवा समेत खुला गरिएको हो । आन्तरिक उडान, ट्याक्सी र टुटल, पठाओको सेवा सुचारु गरेर सरकारले सार्वजनिक यातायात व्यवसायीलाई चिस्काएको व्यवसायीहरुले बताएका छन् । रातो नम्बर प्लेटले जोरविजोर अवधारण अनुसार यात्रु बोक्दा यातायात व्यवसायीहरु बसमा घिरौला फलेको हेरेर बस्न बाध्य भएको उनीहरुको भनाई रहेको छ । नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला सरकारले व्यवसायीलाई वेवास्ता गरेको बताए । ‘हाम्रा यातायात (सार्वजनिक यातायातले) मात्र कोरोना बोक्छ ? ट्याक्सी, टुटल पठाओ र हवाई जहाजलाई कोरोनाले चिन्छ ? टुटल र ट्याक्सीमा बस्नेहरु मात्र कोरोनाबाट सुरक्षित हुन्छन र ?’, उनले प्रश्न गर्दै भने । उनले सिमित व्यक्तिको स्वार्थमा सरकारले जोरविरोजर प्रणाली लागू गरेर सिमित सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको भन्दै विरोध समेत गरे । ‘टुटल, पठाओ, ट्याक्सी र जहाजमा जो सुकैले यात्रा गर्न सक्ने अवस्था छैन, दैनिक ज्याला मजदुर गर्ने र न्यून आयस्रोेत भएका जनताले कसरी चर्काे शुल्क तिरेर सेवा लिनु ? घरभित्र बसेका मजदुरहरु काम गर्न बाहिर निस्कदा सास्ती पाएका छन्, उनीहरुको दु:ख सरकारले देखेन, दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरुले दु:ख पाएको र रातो नम्बर प्लेटका व्यक्तिगत साधनले काेचाकाेच यात्रु ओसारेको हेर्न बाध्य भयौँँ,’ उनले भने । गत वर्षको बन्दाबन्दीमा सवारी साधनमा तरकारी फलेका थिए । धेरै खर्च गरेर बिग्रिएका टायरदेखि सबै मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याएका थियौँ, हालको निषेधाज्ञाका कारण गत वर्षको जस्तै अवस्था सिर्जना भयो, अहिले पनि केही सवारीमा घिरौला फलिसकेका छन्, हामी त्यही घिरौला बेचेर बैंकको विस्ता तिर्नु ?’ उनले प्रश्न गर्दै भने । दोस्रो चरणको निषेधाज्ञाका कारण लामो समयदेखि काम ठप्प हुँदा समेत यातायात क्षेत्रका श्रमिकहरुले सरकारबाट कुनै राहत नपाएको गुनासो गरेका छन् । यातायात क्षेत्रका करिब १५ लाख श्रमिकहरु रोगको महामारीसँगै भोकको चपेटामा परेको भन्दै यातायात सञ्चालनको अनुमति सगैँ खोपको व्यवस्था गर्न माग गरेका छन् । सरकारले तत्काल यातायात सञ्चालन अनुमति सगैँ खोपको व्यवस्था नभए आन्दोलन गर्न बाध्य हुने जनाएका छन् ।
साउनदेखि एक वर्षका लागि क्यूआर कोडसहितको छुट्टै ड्राइभिङ लाइसेन्स
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेका चालकका लागि साउनदेखि छुट्टै लाइसेन्स जारी गर्ने भएको छ । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स वितरण सुरु भएपछि रोकिएको अस्थाई लाइसेन्स वितरण पुनः सुरु गर्न लागिएको जनाएको छ । यसअघि ट्रायल पास गरेको सुरूको एक वर्ष अवधिका लागि कागजमा लेखेर दिईने अस्थाई लाइसेन्स विभागले साउनदेखि क्यूआर कोडसहितको छुट्टै कार्ड जारी गर्ने तयारी गरेको हो । यसअघि जेठदेखि नै यस्तो कार्ड जारी गर्ने तयारी भएपनि कोरोना महामारीका कारण दुई महिना पछि धेकेलिएको थियो । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाका कारण रोकिएको क्यूआर कोडसहितको लाइसेन्स साउनदेखि वितरण गर्ने तयारी भएको विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् । ‘हामीले जेठ महिनादेखि नै एक वर्षको परीक्षण अवधि राखेर क्यूआर कोड सहित (अस्थाई) लाइसेन्स वितरणको तयारी थालेका थियौं, निषेधाज्ञाका कारण रोकियो, निषेधाज्ञा खुला नभ पनि हामी साउनदेखि क्यूआर कोडसहितको छुट्टै पीभीसी लाइसेन्स वितरण सुरु गर्छौं’, उनले भने । ट्रायल पास गरेका चालकले क्यूआर लाइसेन्स दिएको एक वर्षपछि मात्र स्मार्ट लाइसेन्स पाउनेछन् । उक्त लाइसेन्स दिएपछि एक वर्षको अबधिमा ५ पटक ट्राफिक कारबाही परेका चालकलाई के गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ लाइसेन्स नदिई पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था मिलाउने भन्ने विषयमा छलफल भएको महानिर्देशक घिमिरे बताउँछन् । उनका अनुसार एक वर्षका लागि वितरण गरिएको लाइसेन्समा स्मार्ट लाइसेन्सको जस्तो चिप जडान नगरी बार कोड राखिएको हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ । प्रहरीले बार कोड स्क्यान गर्ने बितिकै त्यो अनुमतिपत्र नक्कली हो या सक्कली भन्ने थाहा पाउँछन् । ट्रायल पास गरेका चालकलाई अस्थाई लाइसेन्स साउनदेखि काठमाडौं सहित देशका १९ वटा यातायात व्यवस्था विभागको कार्यालयबाट वितरण गरिनेछ । सरकारले २०७२ सालबाट कागजी लाइसेन्सलाई विस्थापित गरी स्मार्ट लाइसेन्स वितरणको प्रक्रिया सुरु गरेकोे थियो ।
स्थगित रहेकाे हुन्डाईकाे याेजना पुनः शुरू, गाडी खरिदमा विशेष छुट पाइने
काठमाडाैं । हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले स्थगित गरेकाे याेजना पुनः शुरू गरेकाे छ । ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ नामक उक्त याेजना कम्पनीले पुनः सुचारू गरि असार ३१ गतेसम्म सञ्चालन गर्ने भएकाे छ । यसअघि याे योजना २०७७ चैत १९ गतेदेखि २०७८ बैशाख १७ गतेसम्म रहेको थियो । तर विश्वव्यापी रोग कोभिड १९ ले निषेधाज्ञाका कारण यस योजना स्थगित भएको थियो । यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत ७८ रूपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार रूपैयाँ बराबरको लोयल्टी बोनस, १ लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस तथा १ वर्षको बीमा सुविधा प्राप्त गर्नेछन् । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । हुन्डाई नेपालले सबै शोरुमहरु तथा सर्भिस सेन्टरहरु कोभिड-१९ को सुरक्षा प्रोटोकल पालना गरी सञ्चालन गरिनेछ । हुन्डाई नेपाल आफ्ना ग्राहकहरुलाई उत्तम सेवा र सुविधा प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ। लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाईल उत्पादक मध्येमा पर्दछ ।