अमेरिकामै २ लाख १० हजार डलर पर्ने विद्युतीय गाडी किन्छन् नेपाली, ९ महिनामा आयो ६ अर्बको
काठमाडौं । गत पुस ५ गते एक कम्पनीले अमेरिकाबाट दुईवटा विद्युतीय कार खरिद गर्न एलसी खोल्यो । दुबै कारको एलसी खोल्दाको मूल्य थियो दुई लाख १० हजार अमेरिकी डलर । अमेरिकामा दुई लाख १० हजार डलर मूल्य हुनु भनेको नेपाली विनिमय दर अनुसार एउटा कारको मूल्य दुई करोड ५० लाख रुपैयाँभन्दा बढी हुनु हो । यसको आयातमा लाग्ने खर्च तथा कर र व्यापारीको नाफासमेत जोड्दा ती दुई कारको मूल्य निकै बढी हुने देखिन्छ । यति मात्रै होइन, गत पुस १ गते अर्काे एउटा विद्युतीय कारको पनि एलसी खोलिएको थियो । सो कार पनि अमेरिकादेखि नै आयात गर्ने भनेर एलसी खोलिएको हो । कारको आयातका लागि एलसी खोल्दा मूल्य नेपाली रुपैयाँमा तीन करोड ६७ लाख ७१ हजार रुपैयाँभन्दा बढी छ । भलै यो कार एक बहुराष्ट्रिय कम्पनीले आयात गरेको थियो । टेस्लाको सो कार खरिदका लागि एलसी खोलिएबाटै विश्वमै महँगोमध्येमा पर्ने वस्तु नेपालमा आयात गरी उपभोग गर्न चाहने सौखिन नेपालीको संख्या बढ्न लागेको यो घटनाले पुष्टि गर्छ । विद्युतीय कारमा सरकारले प्रोत्साहन दिन थालेपछि यस्ता कारको आयात बढ्न लागेको तथ्यांकले देखाएको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा कडाइ गरे पनि विद्युतीय गाडीमा कुनै कडाइ नगर्दा विद्युतीय गाडीको आयात बढ्न थालेको तथ्यांकले देखाएको हो । एक तथ्यांक अनुसार गत चैत ३० गतेसम्ममा (चालु आर्थिक वर्षको ९ महिनासम्ममा) ६ अर्ब १७ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरका विद्युतीय गाडी आयातका लागि एलसी खोलिएको छ । चीन, भारत, दक्षिण कोरिया, अमेरिका, फ्रान्स जस्ता देशहरुबाट विद्युतीय कार खरिदको लागि सो परिमाणको एलसी खोलिएको हो । यीमध्ये एउटा कार फ्रान्सबाट २३ हजार २५५ युरोमा आयात गर्न एलसी खोलिएको छ । यस्तै, एक अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको एलसी भारतबाट ५५० वटा विद्युतीय कार खरिद गर्नको लागि खोलिएको छ । कुल एक हजार ६९४ वटा विद्युतीय कार खरिदको लागि एलसी खोलिएकोमा बाँकी कार अमेरिकी डलर तिरेर आयात गर्ने भन्दै एलसी खोलिएको हो । कर छुट सरकारले विद्युतीय सवारी साधनको आयातमा कर छुट दिएको छ । व्यवसायीले भारतलगायत देशबाट विद्युतीय सवारी साधन नेपाल ल्याउँदा ४० प्रतिशतसम्म कर तिर्ने गरेका छन् । भन्सार विभागले कार, जीप तथा भ्यान नेपाल ल्याउँदा किलोवाट क्षमताका आधारमा १० देखि ४० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको छ । विभागका अनुसार १०० किलोवाटसम्मको क्षमता भएका विद्युतीय सवारी ल्याउँदा १० प्रतिशत भन्सार शुल्क, १०० देखि २०० किलोवाट क्षमतासम्म १५, २०० देखि ३०० सम्म ३० र ३०० देखि बढी क्षमता भएका साधान ल्याउँदा ४० प्रतिशत भन्सार शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । यस्तै, भन्सार शुल्कसँगै ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) लाग्ने गरेको छ । सम्बन्धित सामग्री विद्युतीय गाडीको मूल्यका विषयमा अध्ययन गर्दै आन्तरिक राजस्व विभाग सरकारी सुविधा थपिँदा विद्युतीय सवारी साधनको आयातमा छलाङ
हुन्डाई आयोनिक-५ ले जित्यो कार अफ द ईयर २०२२ को उपाधि
काठमाडौं । हुन्डाईको आयोनिक-५ विश्व कार अफ द ईयर २०२२ विजेता भएको छ । वर्ल्ड कार अवार्डका आयोजकले बुधबार न्युयोर्क इन्टरनेशनल अटो शोमा हुन्डाईको आयोनिक-५ लाई ‘वर्ल्ड कार अफ द इयर-२०२२’ को उपाधि घोषणा गरेको हो। साथै वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर र वर्ल्ड कार डिजाइन अफ द इयर पनि हुन्डाईले नै जितेको छ । सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा फोर्ड मस्टाङ मार्च-ई, हुन्डाई आयोनिक-५ र किया इभी-६ परेका थिए । जसमा विश्व शहरी कार अफ द ईयर २०२२ टोयोटा यारिस क्रस, विश्व लक्जरी कार अफ द ईयर २०२२ मर्सिडीज बेन्ज ईक्युएस र विश्व प्रदर्शन कार अफ द ईयर २०२२ अउडि ई-ट्रोन जिटि रहेका छन्। इलेक्ट्रिक कारहरूको लागि छुट्टै श्रेणी रहे पनि कार अफ द इयरमा तीनवटै फाइनलिस्टमा इलेक्ट्रि कार पुगेर इतिहास रचेको थियो । ३३ देशका १०२ अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा छनोट गरिने डब्लुसीए अवार्डमा तीनवटै इलेक्ट्रिक कार पर्नु निकै राम्रो कुरा रहेको विश्लेषण हुन थालेको छ । दिगो गतिशीलताको बारेमा बढ्दै गएको कुराकानी र चेतना अभिवृद्धिमा यो ऐतिहासिक रेकर्डले सघाउने विश्वास गरिएको छ ।
दुई पाँग्रे सवारीमा पौने २१ लाखसम्मको पुरस्कार, कुन कम्पनीको कस्तो अफर ?
काठमाडौं । मोटरसाइकल तथा स्कुटर विक्रेता कम्पनीहरूले नयाँ वर्ष २०७९ का लागि अफरहरू सार्वजनिक गरेका छन् । ग्राहकलाई आफ्ना सवारी साधनमा आकर्षण गर्न विक्रेता कम्पनीहरूले नगद पुरस्कार, सर्भिसिङमा छुटदेखि स्क्रयाच कुपनका अफर सार्वजनिक गरेका हुन् । कोरोना महामारीका कारण बिक्री कम भएका दुईपाँग्रे मोटरसाइकल तथा स्कुटर खरिदका लागि कम्पनीहरूले आर्कषण अफर सार्वजनिक गरेका छन् । कोभिड–१९ महामारीपछि ह्वात्तै बढेको दुईपाँग्रे सवारीसाधनको व्यापार केही महिनायता भने ठप्पजस्तै छ । अटो व्यवसायीले बजार चलायमान बनाउन अफरले केही सहयोग पुग्ने विश्वास गरेका छन् । नयाँ वर्षको अवसरमा कम्पनीहरूले बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म पुरस्कारको योजना ल्याएका छन् । यामाहामा २१ लाखसम्मको अफर यामाहाले नयाँ वर्षको अवसरमा ‘हजार गुणाले बढाउनुहोस् खुसी’ अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत यामाहाले एकजना ग्राहकलाई २० लाख ७९ हजार रुपैयाँ दिने जनाएको छ । ग्राहकले यामाहाका कुनै पनि सवारी साधन खरिद गर्दा आठ हजार ३१६ रुपैयाँदेखि दुई लाख सात हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । कम्पनीले सो अफर चैत्र ०६ गतेबाट सुरु भई आगामी जेठ पहिलो हप्तासम्म चल्ने जनाएको छ । मोटरहेड किन्दा दुई लाख छुट एड्भेन्चर सेग्मेन्ट मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ वर्ष २०७८ का लागि विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले चैत १५ गतेदेखि वैशाख ३१ गतेसम्मका लागि ‘स्क्रयाच एण्ड क्याच द क्यास’ अफर ल्याएको हो । सो अफर अन्तरगत तोकिएको समयमा मोटरहेडको नयाँ बाइक खरिद गर्दा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म स्क्रयाच मार्फत छुट पाउन सकिनेछ । यस्तै, स्क्रयाचमा सहभागी ग्राहकमध्येबाट कम्पनीले एक जनालाई दुई लाख सात हजार ९०० रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने जनाएको छ । बजाजमा १० लाख पुरस्कार बजाज नेपालले नयाँ वर्षको अवसरमा ‘बजाजको ५ पञ्च’ अफर सार्वजनिक गरेको छ । बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले अफर अन्तर्गत ग्राहकले २/३ पटक हैन ५ पटकसम्म जित्ने अवसर भन्दै नयाँ वर्षको अफर सार्वजनिक गरेको हो । कम्पनीले नयाँ वर्ष योजना अन्तर्गत बजाजको नयाँ बाइक खरिद गर्नेमध्येबाट १ जनालाई १० लाख रुपैयाँसम्म पुरस्कार दिने योजना सार्वजनिक गरेको छ । उक्त योजनासँगै कम्पनीले सोचेर, हेरेर, किनेर, भरेर र बम्पर जित्न सकिनेछ । सबैभन्दा पहिला ग्राहकले फेसबुक पेजमा बजाजको पोष्ट सेयर गरेबापत १ हजार छुट पाउनेछन् । त्यसपछि शोरुममा गएर बाइक छनोट गरेपछि ५० हजारसम्मको छुट पाउनेछन् । जावा मोटरसाइकलमा १५ हजार छुट क्लासिक लिजेन्ड्सद्वारा निर्मित जावा मोटरसाइकलले नयाँ वर्षका लागि स्किम्स ल्याएको छ । नेपालका लागि अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले फोर्टी–टु ,जावा र पेराक सबै मोडलमा लागू हुने गरी न्यू ईयर स्किम ल्याएको हो । उक्त स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरूले जावा मोटरसाइकल खरिद गर्दा १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सकिन्छ । बेनेलीको बाइकमा २५ हजार छुट इटालियन बाइक कम्पनी बेनेलीले बाइक किन्दा भाग्य परीक्षणदेखि स्क्रयाचसम्मको बिनाझन्झट छुट पाउने योजना ल्याएको छ । नयाँ वर्षको अवसरमा बेनेलीले नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार सम्मको नगद छुटको घोषणा गरेको हो । बेनेली बाइकका सबै नयाँ ग्राहकहरूले यो नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । टीभीएस मोटरसाइकल टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्ष २०७९ अफर अन्तरगत सामाजिक सञ्जालबाटै बाइक खरिद गर्न सकिने योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षका लागि ‘नयाँ वर्षमा आयो, पायो, पर्यो र सर्यो योजना’ ल्याएको छ । सामाजिक सञ्जालमै लाइक, कमेन्ट, सेयर गरेर ५० हजार हरेक हप्ता जित्न सकिन्छ । सामाजिक सञ्जालमा इन्गेजमेन्ट क्याम्पेनमार्फत एकजना भाग्यशाली विजेताले टीभीएस अपाचे आरआर ३१० जित्न सक्नेछन् । त्यस्तै टीभीएस नेपालमा न्यू इयरमा दर्ता गर्दा ५० हजार, बाइक खरिद गर्दा १ लाख रुपैयाँ जित्न सकिन्छ । तारो ब्राण्डको बाइक एसजी ग्रुपअन्तर्गत रहेको ओम मोटोकर्पले इटालियन प्रविधिको तारो ब्राण्डको बाइक र स्कुटर चैत २३ गते नेपाली बजारमा लन्च गरेको छ । इमोला १५० एलेक्स र टी ९१५० गरी दुई मोडलका दुईपाङग्रे सवारीसाधन नेपाली बजारमा लन्च गरेको हो । नेपाली बजारमा भर्खरै आएको उक्त बाइक किन्दा छुट अफरसमेत ल्याएको छ । तारो ब्राण्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै १५ हजार छुट पाउने छ । साथै कम्पनीले यस चैत २४ देखि वैशाख ३१ गतेसम्म खरिद गर्नेमध्ये दुईजना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्रमार्फत बैंककको प्याकेज अफर गरेको छ ।