बजाज मोटरसाइकल किन्दा उर्लाबारीकी तुलसाले जितिन् १० लाख रुपैयाँ

काठमाडाैं । हंसराज हुलासचन्द एण्ड कम्पनीले बजाज पाँचको पन्च नामक ग्राहक याेजनाकाे विजेता घाेषणा गरेकाे छ । बजाज माेटरसाइकलकाे नेपालका लागि आधिकारिक वितरक रहेकाे कम्पनीले शुक्रबार  बजाज पाँचको पन्च याेजनाकाे विजेता घाेषणा गरेकाे हाे । कम्पनीकाे अनुसार यस याेजनाकाे बम्पर पुरस्कार बापत उर्लाबारीकी तुलसा देवी अधिकारीले १० लाख नगद पुरस्कार जितेकी छिन् । उनले उर्लाबारीस्थित गणेश ट्रेडलिंकबाट मोटरसाईकल खरिद गरेकी थिइन् । यस योजना अन्तर्गत बजाजकोे बाईक खरिदगर्दा एकैजनाले पाँचपटकसम्म पुरस्कार जित्नसक्ने व्यवस्था वस्था गरिएको थियो ।

बजेटको असर : क्रसफायर आरएमको मूल्य एक लाख ४० हजारले बढ्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत २०० सीसी माथिका दुई पाँग्रे सवारी (मोटरसाइकको) भन्सार तथा अन्तशुल्क महशुल बढाएसँगै मोटरसाइकलको मूल्य बढ्न थालेको छ । नेपालमा विभिन्न कम्पनीका मोटरसाइकल बिक्री गर्दै आएका कम्पनीहरुले मूल्य बढ्न थालेको जनाएका छन् । जसअनुसार क्रसफायर मोटरसाइकलका विभिन्न तीन मोडलका बाइकको मूल्य १ लाख ४० हजार रुपैयाँसम्म बढेको छ । क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता क्लासीक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले एक सूचना जारी गर्दै तीन मोडलका बाइकको मूल्य बढेको जनाएको हो । कम्पनीले जारी गरेको सूचना अनुसार क्रसफायर आरएम २५० को मूल्य १ लाख ४० हजार रुपैयाँ, एचजे २५० मा १ लाख रुपैयाँ, ट्रेकर २५० मा ३५ हजार रुपैयाँ मूल्य वृद्धि भएको हो । क्रसफायर आरएम २५० को ७ लाख ४८ हजार रुपैयाँमा बिक्री हुँदै आएकोमा अब ८ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यस्तै, एचजे २५० ६ लाख ७० हजार रुपैयाँ रहेकोमा अब ७ लाख ७० हजार र ट्रेकर २५० को ३ लाख ७५ हजार रुपैयाँ रहेकोमा ४ लाख १० हजार रुपैयाँ पुगेको छ । कम्पनीले तीन मोडलका बाइकमा बढेको मूल्य आजदेखि लागु भएको जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै २०० सीसी माथिका मोटरसाइकलको भन्सार तथा अन्तशुल्क महशुल बढेको बताएका थिए । उनले सार्वजनिक गरेको बजेट अनुसार २०० सीसी देखी २५० सीसी नाघेको मोटरसाइकलको अन्तशुल्क ८० प्रतिशतले बढेको छ । हाल २०० देखि २५० सीसी ननाघेको ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो । यस्तै, २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ । हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो । यसअघि बजाज मोटरसाइलको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री वितरण गर्दै आएको तीन मोडका बाइकको मूल्य बढाएको थियो । बजेटका कारण भन्दै बजाजले ३ हजारदेखि २० हजार रुपैयाँसम्म मूल्य बढाएको थियो ।

सिमेन्ट बोकेर विद्युतीय बसको क्षमता परिक्षण, साझाले थप ४० वटा गाडी किन्ने

काठमाडौं । साझा यातायातले चीनबाट ल्याएको तीन थान विद्युतीय बसको सडक क्षमता परीक्षण सकिएको जनाएको छ । यातायात व्यवस्था विभाग र साझा यातायातका प्रतिनिधिले जेठ दोस्रो सातादेखि उक्त विद्युतीय बसको सडक क्षमता परीक्षण गरेका थिए । बसमा सिमेन्टका बोरादेखि मान्छे (यात्रु) राखेर सडक क्षमता परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बसको क्षमतामा कुनै समस्या नदेखिएको जनाइएको छ । आवश्यक सम्पूर्ण परीक्षण सकिए पनि परीक्षण प्रतिवेदन सार्वजनिक नभएको साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरले जानकारी दिए । उनले एक दुई दिनमा परीक्षण प्रतिवेदन आएपछि बोर्ड बैठकले विद्युतीय बस सञ्चालनको विषयमा निर्णय गर्ने जानकारी दिए । ‘परीक्षण सकिएको छ, साझा र यातायात व्यवस्था विभागले संयुक्त रुपमा विद्युतीय गाडीको सडक क्षमता परीक्षण गरेको हो, परीक्षण रिपोर्ट सार्वजनिक भएपछि ती बस यहाँको सडकका लागि ठीक भएमा थप बस ल्याउँछौँ’, उनले भने । परीक्षण रिपोर्ट सार्वजनिक भएको चार महिनाभित्र बाँकी ४० थान बस ल्याउने साझाले जनाएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा साझा यातायातको बोर्ड बैठक बसेर बस सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ । बोर्ड बैठकले गरेको निर्णयका आधारमा बस कहिलेबाट सञ्चालन हुने टुंगो लाग्ने तुलाधर बताउँछन् । बोर्ड बैठकको निर्णयपछि चालकलाई तालिम बोर्ड बैंठकले चीनबाट ल्याईएको तीन थान विद्युतीय बसको विषयमा निर्णय गरेपछि मात्र बाँकी प्रक्रिया सुरु हुनेछ । तुलाधरले बोर्ड बैठकका आधारमा विद्युतीय बस सञ्चालनका लागि चालकलाई तालिन दिनेदेखि बाँकी कामहरु अघि बढाइने जानकारी दिए । संस्थाले २०७७ को असोज २२ गते चीनको सिएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार साझाले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्नका लागि पहिलो चरणमा ३ वटा विद्युतीय बस ल्याएर परीक्षण गरेको हो । उक्त परीक्षण सफल भएमा साझाले थप विद्युतीय बस नेपाल ल्याउनेछ । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौता अनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ प्रदान गर्नेछ । संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताए । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्ने भनिएको छ । सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर देशको अर्थतन्त्रलाई टेवा दिने दाबी गरिएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । विगतदेखि नै सार्वजनिक यातायात सञ्चालनमा संस्थाले संघीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारण मैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको तुलाधरले बताए । संस्थाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप चार विद्युतीय बस खरिद गर्ने प्रक्रियासमेत अगाडी बढाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेशनको व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अघि बढाइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिइने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनः बस खरिद गर्दा कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो । लामो छलफल पछि पुनः साझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो । तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।