सरकारविरुद्ध आन्दोलन जारी राख्ने अटोमोवाइल व्यवसायीहरुको निर्णय

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निणर्य गरेको छ । चितवनमा शुक्रबार र शनिबार नाडाका अध्यक्ष धुर्व थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेलाले यस्तो निर्णय गरको हो । सरकारले ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान र १५० सिसिभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि उच्च ब्याजको कारण सहजता आउन नसकेको र व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोस्राे चरणको आन्दोलनमा जाने निर्णय गरेको नाडाले जनाएको छ । नाडाले मिति मङ्गसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि मङ्गसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो । भेलाले वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघी बढाउने र  व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । सोहि दिन बसेको नाडाको १३ औं कार्य समितिको बैठकले नाडाको आउँदो ४६ औं वार्षिक साधारण सभा माघ २७ गते काठमाडाैंमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

सिंहदरबारभित्र उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने

काठमाडौं । मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । प्रमुख निकाय भएपनि विद्युतीय सवारी साधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन । हाल सिंहदरबारमा चार्जिङ स्टेशन भए पनि तर कम क्षमता थिए । त्यसको अभाव परिपूर्तिका लागि सरकारले ३० किलोवाट क्षमताका पाँच वटा चार्जिङ स्टेशन निर्माण हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको ‘इनर्जी डेभलपमेन्ट डिकेड एक्सन प्लान प्रोजेक्ट’ले सो परियोजना निर्माण गर्न लागेको हो । आयोजना हेर्दै आउनु भएका सिनियर डिभिजनल इञ्जिनियर शालिकराम भण्डारीका अनुसार ३० किलोवाट क्षमताका डिसी चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो । मन्त्रालय र आसपासका स्थानमा ती स्टेशन निर्माण हुनेछन् । पछिल्ला दिनमा विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि भएपनि चार्जिङ स्टेशन निर्माणको क्रमले अपेक्षित गति लिन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चार्जिङ स्टेशन पनि अधिकांश अन्तिम चरणमा पुगेका छन् । कूल ५१ वटा त्यस्ता स्टेशन प्राधिकरणले निर्माण गरेको हो । त्यसमा १२ वटा सञ्चालनमा आएको र ३२ वटाको जडान सम्पन्न भएको छ । सिंहदरबारभित्रै द्रूत गतिको स्टेशन निर्माण भएपछि विद्युतीय सवारी साधनको प्रयोगमा थप अभिवृद्धि हुने सिडिई भण्डारीले जानकारी दिए । चार्जिङ स्टेशन निर्माणका लागि मन्त्रालयले आज बोलपत्रमार्फत् प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । स्टेशन निर्माणका लागि निजी वा सार्वजनिक संस्थाले आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

पुस १० देखि १२ गतेसम्म टाटाको मेगा सर्भिस क्याम्प हुँदै, आकर्षक छुट पाइने

काठमाडाैं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पुस १० देखि १२ गतेसम्म मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे छ । कम्पनीले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे हाे । कम्पनीकाे सेवा केन्द्र काठमाडाैंमा बागडोल, बालकुमारी र सोल्टीमोडमा रहेका छन् भने त्यसैगरी उपत्यका बाहिरका पोखरा, इटहरी, मेची, विरगंज, ढल्केबार, हेटौडा, धनगढी र नेपालगंजमा रहेका छन् । क्याम्पमा टाटाका गाडीहरु जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीले साे अवसरमा म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश: १८, १५ र १८ प्रतिशत छुट दिनुकाे साथै टप वाशिंग, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप , ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा पनि नि:शुल्क प्रदान गर्ने जनाएकाे छ । कम्पनीकाे अनुसार यसको अतिरिक्त क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ ।