राइड सेयरिङ : दैनिक डेढ लाखलाई सेवा दिँदै, आपराधिक क्रियाकलाप बढाउँदै

काठमाडौं । गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । अनुसन्धानपछि ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । सुरुमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर रद्द गरी ‘अफलाइन’मा यात्रा गरेकाले सम्बन्धित कम्पनीबाट प्राप्त हुने बीमाबाट उनको परिवार वञ्चित भयो । त्यति मात्रै होइन, गत जेठ २६ मा जडीबुटीमै मोटरसाइकल र ट्याक्सी एकापसमा जुध्दा मोटरसाइकलमा सवार मेनुका गुरुङ घाइते भए । दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार भए । कुनै एक राइड सेयरिङ एपमार्फत् यात्रा गरिरहेकी गुरुङले उजुरी गर्न पाईनन् । किनभने उक्त कम्पनीको नेपालमा न त कम्पनी नै थियो, न त कुनै जिम्मेवार व्यक्त नै थिए । त्यसो त एप प्रयोग नगरी राइड सेयरिङ एपका नाममा ‘अफलाइन’ यात्रा गर्ने यात्रु मात्रै होइन, चालक स्वयं पनि पीडित बनेका उदाहरण कैयन् छन् । गत वर्ष माघ ९ गते राति सामाखुसीबाट कोटेश्वरसम्म अनलाइन यात्रा गरेका उनी त्यसपछि धापाखेल पुगेपछि लुटिए । कोटेश्वरसम्म अनलाइनमार्फत् सेवा दिएका चालक प्रवीण राईले त्यसपछि धापाखेलसम्म अफलाइन यात्रा गर्दा यात्रुबाट मोटरसाइकल र ८ हजार रुपैयाँ लुटिनु मात्रै भएन मध्यरातमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधिएको अवस्थामा केही घण्टासम्म बस्नुपर्यो । अर्को दिन सुमन तामाङ र मीनराज राईले मोटरसाइकल बिक्री गर्दैगर्दा चन्द्रागिरिबाट उनीहरु समातिएका थिए तर चालक प्रवीणले भने कुनै क्षतिपूर्ति पाएनन् । कारण थियो, ‘अफलाइन राइडिङ’ । राइड सेयरिङमा अफलाइन यात्रा गर्दा अप्रत्यासित रुपमा घटेका यी केही प्रतिनिधि घटना मात्रै हुन् । यात्रुलाई सहज यातायातको सुविधा दिने उद्देश्यले सुरु भएको राइड सेयरिङको सुविधालाई दुरुपयोग गर्नेको सङ्ख्या बढ्दा यसले आपराधिक क्रियाकलाप बढाउने जोखिम पनि बढेको छ । थोरै भए पनि बढी पैसा कमाउने वा बचाउने लोभमा अफलाइन यात्रा गर्ने यात्रु र चालक दुवैले त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई भने ख्याल नगरेको पाइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले अफलाइन राइडिङ गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए । ‘अफलाइन राइडिङका कारण हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप रोक्नु हाम्रो कर्तव्य हो,’ उनले भने, ‘अफलाइन राइडिङ गरेको पाइएमा चालकलाई सम्झाउने र यसबारे जानकारी दिँदै सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने प्रयास भइरहेको छ ।’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले अफलाइन यात्रा गर्दा बढी असुरक्षित हुने हुँदा अनलाइनमै यात्रा गर्न सुझाव दिए । ‘पहिलो कुरा त यात्रु र चालक आफैँ सचेत हुनुपर्छ, त्यसबाहेक सम्बन्धित कम्पनीले पनि चालक र यात्रु दुवैलाई जागरुग बनाउनुपर्छ,’ उनले भने ‘प्रहरीले पनि समुदाय तथा विद्यालयस्तरमा हुने सचेतनामूलक कार्यक्रममार्फत पनि जानकारी गराउँदै आएको छ ।’ उनका अनुसार केही समयअघि मात्रै प्रहरीले १२५ भन्दा बढी राइड सेयरिङ चालकलाई विशेष कक्षासमेत सञ्चालन गरेको थियो । जसमा उनीहरुलाई अफलाइन राइडिङ नगर्न तथा कानूनको पालना गर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ‘अफलाइन राइडिङ गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ, त्यसैले अफलाइन राइडिङ नगर्न र नगराउन आग्रह गरेका छौँ, यसबाट जोखिम न्यूनीकरण हुने हाम्रो अपेक्षा छ,’ उनले भने । हाल उपत्यकामा विभिन्न कम्पनीमा आबद्ध करिब डेढ लाख राइडले दैनिकजसो सेवा दिइरहेका छन् । जसमध्ये राइडरले अफलाइन सेवा बढी दिने गरेको पाइन्छ । पठाओ नेपालसँग मात्रै २ पाङ्ग्रेमा १ लाख ५० हजार र ४ पाङ्ग्रेको हकमा करिब ७ हजार राइडर दर्ता भएका छन् भने हालसम्म ३५ लाख यात्रु आबद्ध भएका छन् । यात्रा सुरक्षित होस् भन्ने उद्देश्यले आफूहरु सधैँभरि चालक र यात्रुलाई सचेत बनाउँदै आए पनि अझै पनि अफलाइनमा चल्ने चालक र यात्रुको कमी नआएको पठाओ नेपाल प्रालिका प्रवक्ता शशांक शमशेर थापाको भनाइ छ । उनले नेपाल प्रहरीले अफलाइन यात्रालाई निरुत्साहित गर्दै कारबाही अघि बढाएको विषय स्वागतयोग्य भएको बताए । ‘यात्रुलाई अफलाइन जानुपर्ने कुनै बाध्यता नै हुँदैन र पनि अफलाइन गएको भेटेका छौँ,’ उनले भने, ‘अफलाइन जानु भनेको यात्रा असुरक्षित बनाउनु हो भन्ने भुल्नु हुँदैन ।’ पछिल्लो समय विमानस्थल, माइक्रोस्ट्याण्ड, बसपार्क, व्यस्त चोक तथा गल्लीमा अफलाइन यात्रा गर्ने चालक यात्रुसँग मोलमोलाइ गरिरहेको भेट्न सकिन्छ । सीमित कमिसन जोगाउने दाउका साथै थोरै भए पनि अतिरिक्त शुल्क पाउँछु कि भन्ने लोभमा राइडर ग्राहकसँग मोलमोलाइ गरिरहेको दृश्य अचेल सामान्य भइसकेको छ । यात्रुहरु पनि मोबाइलको डाटा खर्चेर अनलाइनका लागि ‘रिक्वेस्ट’ पठाउन र थोरै समय कुर्नुपर्ने सजिलो विधि अपनाउन छाडेर महँगो शुल्क तिरेर असुरक्षित यात्रा गरिरहेको देख्न सकिन्छ । अफलाइन यात्रा कतिसम्म असुरक्षित छ भने बढी शुल्क लिनेदेखि यौन दुव्र्यवहारसम्मका घटनामा यात्रुलाई उजुरी गर्न पनि निकै गाह्रो हुन्छ भने दुर्घटना भइहाल्यो भने क्षतिपूर्तिबापत बीमाको सुविधाबाट पनि यात्रु वञ्चित भइन्छ । ‘पठाओको हकमा हामीले यात्रुले यात्रा सुरु गरेदेखि यात्रा नटुङ्गिँदासम्म ‘लाइभ ट्रयाकिङ’ गरिरहेका हुन्छौँ, दुर्घटना भइहाल्यो भने क्युआरटी (क्विक रेस्पोन्स टिम) परिचालन गर्छौं र सेवा उपलब्ध गराउँछौँ,’ थापाले भने ‘अफलाइनमा भए त्यो सुविधा कम्पनीले उपलब्ध गराउन सक्दैन, कम्पनीलाई त्यसबारे जानकारी नै हुँदैन ।’ उनले सकेसम्म अनलाइन यात्रा गर्नका लागि चालक र यात्रु दुवैलाई समय-समयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । ‘अफलाइनमा यात्रा गर्दा राज्यको राजस्व गुम्छ भने यात्रु र चालक दुवैको ज्यान जोखिममा पर्न सक्छ,’ उनले भने ‘अफलाइनमा ट्रयाकिङ गर्न पनि नसकिने भएकाले सबैलाई अनलाइन नै यात्रा गर्न आग्रह गर्छु ।’ पठाओ नेपालले त्यसरी अफलाइन गएको भेटिए चालकलाई कारबाही गर्दै आएको थापाले जानकारी दिए । ‘यदि घटना सामान्य छ भने पहिलो र दोस्रो पटकलाई चेतावनी मात्रै दिन्छौँ भने तेस्रो पटकको हकमा सधैँभरिका लागि कम्पनीबाट हटाउँछौँ,’ उनले भने, ‘तर फैजदारी घटनाको हकमा भने तुरुन्तै कारबाही गर्दै थप कानुनी उपचारका लागि समेत पीडितलाई सहयोग गर्छौं ।’ हाल नेपालमा पठाओ, टुटल, साहरा, इन्ड्राइभर, ट्याक्सीमाण्डु, जायर, साधनलगायतका राइड सेयरिङ एप प्रचलनमा छन् । जसमध्ये इन्ड्राइभर नेपालमा दर्ता बिना नै सञ्चालन भइरहेको छ । पठाओ र टुटललगायतका कम्पनीले बनाएको बजारको केही हिस्सा ओगट्ने उद्देश्यले यतिबेला बिना दर्ता, बिना कमिसनमा राइडर र यात्रुलाई सेवा दिइरहेको देखिन्छ । इन्ड्राइभरले केही महिनाअघि विज्ञप्ति जारी गर्दै नेपालमा पनि छिट्टै दर्ता गरी सञ्चालन गर्ने बताएको थियो । कम्पनीकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित्रा नन्दाको भने आफूहरुले यात्रुको बीमा नगराए पनि ‘कस्टमर केयर’बाट भने सेवा दिने दाबी थियो तर हालसम्म कम्पनीले नेपालमा दर्ता भने गराएको छैन । इन्ड्राइभरका नन्दाले आफूहरुले बीमाको सुविधा नदिने बताए पनि कानुनमा भने यात्रुको बीमा अनिवार्य गरिएको छ । बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त गर्ने चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार गर्नसक्ने उल्लेख छ । बीमा सुरक्षा  राइड सेयरिङ एपमध्ये पठाओ नेपाल प्रालिले यात्रुको पनि बीमा गरेको छ । यात्राको अवधिमा कुनै दुर्घटना भयो भने उपचारलगायतको खर्च बीमाले पूर्ति गर्छ तर यसका लागि अनलाइनमै यात्रा गरेको हुनुपर्छ । अफलाइन यात्रा गरेको हो भने यात्रु वा चालक दुवै बीमाको सुविधाबाट वञ्चित हुन्छन् । कम्पनीका अनुसार १ लाख रुपैयाँसम्म दुर्घटना बीमा छ भने दुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग भएमा १० लाख रुपैयाँको बीमा गरिएको छ । कम्पनीका अनुसार बीमा सुरु भएपछिको हालसम्म २ सयभन्दा बढीले दुर्घटनामा परी ५७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी लिइसकेका छन् । पठाओ नेपालबाट हालसम्म दुर्घटनामा परी मृत्यु भएका ३ जनाले त्यसबापतको बीमा सुविधा पनि प्राप्त भइसकेको कम्पनीले जानकारी दिएको छ । कानुनमा के छ ?  सरकारले हालसम्म राइड सेयरिङजस्ता स्टार्टअपलाई सञ्चालन तथा नियमनका लागि कुनै कानुन बनाएको छैन । यद्यपि बागमती प्रदेशले भने चालु आर्थिक वर्षको आर्थिक विधेयकमा भने दर्ताका लागि निश्चित रकम बुझाउनुपर्ने व्यवस्था गरेको छ । जसमा २ पाङ्ग्रे सवारी साधनको हकमा २५ हजार रुपैयाँ दर्ता शुल्क र नवीकरणका लागि १२ हजार ५ सय रुपैयाँ तोकिएको छ । साथै ४ पाङ्ग्रे सवारी साधनको हकमा ५० हजार रुपैयाँ दर्ता शुल्क र नवीकरणका लागि २५ हजार रुपैयाँ तोकिएको छ । यदि २ पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै सवारी साधन सञ्चालन गर्नेका हकमा दर्ताका लागि ७० हजार रुपैयाँ र नवीकरणका लागि ३५ हजार रुपैयाँ शुल्क तोकिएको छ तर हालसम्म कार्यविधि नबनेकाले कार्यान्वयन नसकेको यातायात व्यवस्था कार्यालय बागमती प्रदेश प्रमुख मदनप्रसाद पोखरेलले बताए । राइड सेयरिङ कम्पनी ट्याक्सीमाण्डुका सञ्चालक अर्जुन केसी भने सरकारले कानुन बनाएर यस्ता कम्पनीको दर्ता र सञ्चालनसम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिए । उनले पछिल्लो समयमा सुरक्षित यात्राका लागि भरपर्दो माध्यम बन्दै गएको राइड सेयरिङ कम्पनीलाई नियमन गरी सञ्चालन गरिनुपर्ने बताए । उनले कुनै कम्पनी दर्ता नभई सञ्चालन हुन नदिने, स्वदेशी र विदेशी कम्पनीलाई छुट्याउन तथा अफलाइन सेवा दिनेलाई कारबाहीका लागि यो आवश्यक कानुन आवश्यक भएको बताए ।

यी हुन् अटो एक्स्पोमा राखिएका ६०० किलोमिटरसम्म रेञ्ज दिने विद्युतीय कार, यस्तो छ मूल्य र विशेषता

नयाँ दिल्ली, भारत । बुधबारदेखि भारतको नयाँ दिल्लीमा अटो एक्स्पो २०२३ सुरु भएको छ । बुधबार भारतको ग्रेटर नोयडामा अटो एक्स्पो २०२३ सुरु भएको हो । प्रदर्शनीमा विभिन्न कम्पनीले विभिन्न मोडलका गाडीहरु प्रदर्शनीमा राखेका छन् । । एक्स्पोमा विशेष गरेर विद्युतीय सवारी साधनहरुको बाहुल्यता छ । बुधबार अर्थात् पहिलो दिन ५९ मोडलका सवारी साधनहरु सार्वजनिक गरिएको थियो । जसमा सबैभन्दा बढी विद्युतीय गाडीको नै वर्चश्व थियो । बुधबार आधा दर्जन बढी कम्पनीले विद्युतीय गाडीहरु प्रदर्शनीमा राखेका थिए । बुधबार मारुती, सुुजुकी, हुन्डाई, टाटा, किआ, एमजी र बीवाईडी कम्पनीहरूले करिब दुई दर्जन मोडलका विद्युतीय गाडी प्रदर्शन गरेका छन् । ती विभिन्न कारहरु २०२३ देखि २०२५ सम्म भारतीय बजारमा आउन आउने बताइएको छ । प्रदर्शनीमा मारुतीको इभीएक्स, हुण्डाई आइकोनिक–५, आइकोनिक–६, टाटा सियरा, टाटा हैरियर, टाटा कर्व, टाटा अविन्या, एमजी इएचएस, एमजी फोर, एमजी फाइभ, मिफा–८ र किया ईभी–९ लगायतका विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएका छन् । एक्स्पो सर्वसाधारणका लागि भने भोलि अर्थात् शुक्रबार मात्रै खुल्ला गरिने छ । दुई पाँग्रे सवारी साधनहरु पनि प्रदर्शनीमा उल्लेख्य मात्रामा छन् । टर्क मोटर, लाइजर, मेटर, कार्टस्, भिडा, बजाज, टीभीएस लगायतका ब्राण्डले ईभी प्रदर्शनीमा राखेका छन् । यस्ता छन् कारका विशेषता इभीएक्स भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले अटो एक्स्पो २०२३ मा ईभीएक्स विद्युतीय गाडी सार्वजनिक गरेको छ । यस ईभीको लम्बाइ ४ हजार ३०० एमएम, चौडाइ १ हजार ८०० एमएम र उचाइ १ हजार ६०० एमएम रहेको बताइएको छ । यस कारमा ६० किलोवाट आवरको ब्याट्री प्याक, ५५० किलोमिटरसम्म ड्राइभिङ रेन्ज र मूल्य अधिकतम् २० लाख रुपैयाँ भारु तोकेको छ । यो गाडी २०२५ सम्म बजारमा ल्याउने बताइएको छ । आइकोनिक–५ र ६ कोरियन अटोमोबाइल कम्पनी हुन्डाई मोटर्सले इलेक्ट्रीक कार आइकोनिक ५ र आइकोनिक –६को सार्वजनिक गरेको छ । यी दुवै कारण धेरैले रुचाइएका मध्येका कार हुन् । आइकोनिक–५ मा ६२१ किलोमिटर रेञ्ज, ७२.६ किलोवाट आवरको ब्याट्री छ भने ४४.९५ लाख रुपैयाँ भारु मुल्य निर्धारण गरिएको छ । हुण्डाई आइकोनिक–६ को भने ७७.४ किलोवाट ब्याट्री, ६१० किलोमिटरको रेञ्ज रहेको छ । यो कारको मूल्य भने निर्धारण गरिएको छैन । टाटा टाटा कम्पनीले पनि विभिन्न मोडलका विद्युतीय गाडी सार्वजनिक गरेको छ । यस कम्पनीले टाटा कर्व, टाटा अविन्या, टाटा हैरियर र टाटा सियरा कार प्रदर्शनीमा राखेको छ । यी सबै गाडीहरु २०२४ देखि २०२५ भित्र बजारमा पठाउने कम्पनीको दावी छ । यी गाडीहरुको रेञ्ज ४०० देखि ५०० किलामिटरसम्मको रेञ्ज छ । एमजी एमजीले पनि विभिन्न मोडलका विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ । एमजी इएचएस, एमजी फोर, एमजी फाइभ मोडलका विद्युतीय गाडी प्रदर्शनीमा छन् । एमजी फोरले युरोपमा फक्सवागन आईडी थ्री तथा किया निरो ईभीसँग समेत प्रतिस्पर्धा गर्ने अनुमान गर्न थालिएको छ । एमजी फोरले एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ । एमजी फोरको ५१ देखि ६४ किलोवाट आवरको ब्याट्री अप्सनमा छ । एमजी फाइभको पनि ४०२ किलोमिटर रेञ्ज र ६१.१ किलोवाट ब्याट्री छ । एमजीको विद्युतीय कार एमजी जेडएस ईभी नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री भएको थियो । किया ईभी–९ किया मोटर्सले प्रदर्शनीम किया ईभी–९ मोडलको विद्युतीय कार राखेको छ । यस कारले एक पटकको फुल चार्जमा ५४० किलोमिटरको रेन्ज दिने बताइएको छ । इभी ९ को लम्बाइ ४९३० एमएम, चौडाइ २०५५ एमएम र उचाइ १७९० एमएमको रहेको छ । यो एसयूभीको ह्वील वेसको लम्बाइ भने ३१०० एमएमको रहेको छ । यस कारलाई २० मिनेट चार्ज गर्दा ८० प्रतिशत हुने बताइएको छ । जसको ७७.४ किलोवाट आवर ब्याट्री प्याक रहेको छ ।

इण्डिया अटो एक्स्पोमा तीन दर्जन कम्पनीका नयाँ मोडलका गाडी प्रदर्शन (फोटोफिचर)

नयाँ दिल्ली, भारत । भारतमा आज बुधबारदेखि अटो एक्स्पो सुरु भएको छ । अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन अफ इन्डिया (एसिएमए), कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआई) र सोसाइटी अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआइएएम)ले संयुक्त रूपमा यो अटो एक्स्पो आयोजना गरेका हुन् । उक्त अटो एक्स्पो सन् २०२३ को जनवरी ११ मा सुरू हुनेछ भने १८ सम्म जारी रहनेछ एक्स्पो ग्रेटर नोएडामा सञ्चालन भएको छ । जनवरी ११ र १२ गते पत्रकारहरुका लागि मात्रै खुल्ला गरिएको छ भने १३ गते व्यवसायिक प्रदर्शनी गरिने बताइएको छ । एसआइएएका अनुसार यस पटकको अटो एक्स्पोमा विद्युतीय सवारी साधन निर्माता कम्पनीहरूलाई प्राथमिकतामा राखिनेछ । एक्स्पोमा करिब तीन दर्जन कमपनीहरुको गाडीहरु प्रदर्शनीमा राखिएको छ । एक्स्पोमा टर्क मोटर्स, हिरो इको टेक, म्याटर मोटर्स, ओकिनावा अटोटेक लगायत दुई पांग्रे एवम् तीन पांग्रे सवारी निर्माता कम्पनीहरूको सवारी साधन प्रदशर्नी राखिएका छन् । एक्सपोमा टाटा मोटर्स, सुजुकी, मारुती, हुन्डाई मोटर्स, किया इन्डिया, एमजी मोटर इन्डिया, बीवाईडी इन्डिया, अशोक लेल्यान्ड र टोयोटा नयाँ मोडलका गाडी सार्वजनिक गरेका छन् । यस्तै, ओकिनावा अटोटेक, ग्रीभ्स कटन, हिरो इको टेक, स्लेजह्यामर वर्क, मोटोभोल्ट मोबिलिटी, फुजियामा पावर इन्फ्रा, अल्ट्रा भायोलेट अटोमोटिभ, क्वान्टम इनर्जी, एलएमएल इमोशन्स र ब्लाइभ ३ ईभी एक्स्पोमा प्रदर्शनीमा राखिएका छन् ।