नेपालमा पेट्रोलका सवारी कहिलेसम्म चलाउन पाइन्छ ? यस्तो भन्छन् अर्थमन्त्री शर्मा
काठमाडौं । अहिले विद्युतीय गाडीको लहर सुरु भइरहेको बेला सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयूको विषयमा पनि अध्ययन सुरु गरेको छ । अर्थमन्त्रालयले एक कार्यदल नै गठन गरेर नेपालमा कहिलेसम्म पेट्रोलियम पदार्थका सवारी साधन चलाउन पाइने भन्ने विषयमा अध्ययन गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले अहिले विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको र अब सरकारले पनि यही नीतिलाई आत्मसाथ गर्दै अगाडि बढ्ने धारणा राखे । उनका अनुसार विद्युतीय गाडीको प्रयोगसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको प्रयोग पनि न्यूनीकरण गर्दै लैजानु पर्नेछ । यस्तै, उनले अब आयातमा गरिएको कडाइको विषयमा पनि नयाँ ढंगले सोच्नु पर्ने बेला आएको बताए । उनले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् । उनले बिद्युत निर्यात गर्ने वस्तु नभएको पनि बताएका छन् । विद्युतलाई उत्पादनमा लगाउनु पर्ने उनको धारणा छ । ‘अहिले बिश्वमा गर्न अर्थतन्त्र कसरी निर्माण गर्ने बारेमा बिश्वमा बहस भइरहेको छ, सबै देशहरूले त्यो दिशातर्फ जानको लागि योजना बनाइरहेका छन्, ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया उत्पादन गर्ने बहस हामीले गर्दैछौं, नेपालमा कहिलेसम्म पेट्रोलियम गाडी चल्न पाउने बारेमा हामीले अध्ययन गर्दैछौं, त्यसको लागि मन्त्रालयमा कमिटी बनेको छ, हामिले समयमै जानकारी दिनेछौं,’ उनले भने । उनका अनुसार अब विस्तारै पेट्रोलियम पदार्थका गाडीको आयात पनि कम गर्ने र प्रयोग पनि कम गर्ने नीति लिइनेछ । त्यसका लागि केही निश्चित समयावधि तोक्ने उनको भनाइ छ । त्यसपछि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रयोग गर्न पाइने छैन ।
नाडा इभी अटो सो सुरु, ९ महिनामा २५ प्रतिशत व्यवसायी पलायन भएको गुनासो
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा नाडा इभी अटो सो सुरु भएको छ । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ईभी अटो सो सुरु भएको हो । नाडा ईभी अटो शोमा विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधनको प्रदर्शन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नाडा अटोबाइल्स एसोशिएसनका अध्यक्ष धु्रबकुमार थापाले अटोमोबाइल क्षेत्र राज्यलाई सबैभन्दा धेरै राजस्व बुझाउने क्षेत्र भएपनि सरकारले कडाइ गरेको गुनासो गरे । अटो व्यवसायीहरुले गत आवमा मात्रै नेपालमा ९९ अर्ब बराबरको सवारी साधन आयात गरेको र त्यसबाट राज्यलाई ९० अर्ब राजस्व प्राप्त भएको बताए । यस्तै, थापाले पछिल्लो ९ महिनामा २५ प्रतिशत व्यवसायी पलायन भएको र हजारौंले रोजगारी गुमाएको धारणा राखे । थापाले सवारी साधनको आयात खुलाउन पनि अर्थमन्त्रीलाई आग्रह गरे । विद्युतीय गाडीहरुमा लाग्ने स्पेयर्स पार्ट्स र ब्याट्री नेपालमा नै उत्पादन गर्न सम्भव भएको बताउँदै थापाले त्यसका लागि १ प्रतिशत मात्रै भन्सार कर लगाउन उनले आग्रह गरे । नाडा अटोमोबाइल एशोसिएसनले प्रदर्शनमा ८ वटा चार पाङ्ग्रे इभी ब्राण्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डका सवारी साधनले सहभागी जनाएको छ । आगामी आइतबारसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार ग्राहकले अवलोकन गर्ने आयोजकले जनाएको छ । आयोजककाअनुसार पहिलो ईभी अटो शोमा ७ वटा चार पाङ्ग्रे ब्राण्डले भाग लिएका छन् । हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्लाले भाग लिएका छन् ।
अग्नि ग्रुपले नाडा इभी एक्सपोमा महिन्द्राका नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने
काठमाडौं । अग्नि ग्रुपले नाडा इभी एक्सपोमा महिन्द्राका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गर्ने भएकाे छ । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको नाडा इभी एक्स्पाेमा महिन्द्राको ट्रीयो झोर नेपाली बजारमा सार्वजनिक गर्ने भएकाे हाे । ट्रीयो झोर नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप हो जुन कार्गो डेलिभरीलाई प्रयाेग गर्न सकिन्छ । महिन्द्रा ट्रीयो झोर ३ भेरियन्टमा उपलब्ध छ । यस पटकको नाडा इ.भि अटो एक्सपो २०२२ मा अग्नी इनर्जीले महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाउने छन् । कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारी साधनहरुमा स्क्र्याच कार्ड मार्फत आकर्षक नगद पुरस्कारहरु र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत राखेको छ । यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र पिकअप खरिद गर्नेका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएकाे छ ।