राष्ट्र बैंकले ईभीलाई निरुत्साहित गरेको नाडाको धारणा, अर्थमन्त्रीले भने : राजनीति नगरौं
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आउँदै गरेको बजेटमा सवारीसाधन क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेको छ । मंगलबार ललितपुरमा ‘नाडा अटो डायलग’ को आयोजना गर्दै नाडाले वर्तमान नीतिले व्यवसायमा चुनौती थपिएको भन्दै सरकारसँग सुधारको माग माग गरेको हो । कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले सवारी साधन जनताको आवश्यकता भएको बताउँदै अटो क्षेत्रलाई सरकारले ध्यान दिनुपर्ने बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत् विद्युतीय गाडीमा फाइनान्सिङको सीमा घटाएको प्रति पनि चिन्ता प्रकट गरे । उनले भने, ‘नाडा अटो क्षेत्रलाई सुधार गर्न सरकारले नीतिगत व्यवस्था गरिदिनुपर्छ, प्रत्येक नागरिकले सवारीसाधन खरिद गर्दा ८० प्रतिशत ऋणको व्यवस्था गरिनुपर्यो ।’ कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले अटो क्षेत्रका समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए । ‘समस्या समाधानका लागि सबैको सहकार्य आवश्यक छ, सोही ढंगले नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न सकिन्छ, ऋणको सीमाको विषयमा व्यवसायी आत्तिनु हुँदैन, यसलाई राजनीतिकरण पनि गर्नु हुँदैन,’ उनले भने । सरकार निजी क्षेत्रको मनोबल बढाउने प्रयासमा लागेको र आवश्यक कानूनी र संरचनात्मक सुधार गर्दै अगाडि बढ्ने बताए । उनले अटो क्षेत्र केबल आयातमा मात्रै सीमित नभएको बताउँदै सवारी साधन उत्पादनतर्फ पनि अघि बढिरहेकोले यसमा थप जोड दिनुपर्ने बताए । अर्थसचिव घनश्याम उपाध्यायले आर्थिक विकासका लागि इनोभेटिभ मोबिलिटी आवश्यक भएको बताए । उनले इनोभेटिभ मोबिलिटीले निजी क्षेत्रलाई छोटो समयमै नाफा दिने उल्लेख गरे । उनले भने, ‘मोबिलिटीले आर्थिक पाटोमा धेरै सहयोग गर्नेछ । यातायात बिना विकास सम्भव छैन । यसमा सरकारले मात्रै लागेर हुदैन्, सबै पक्षले सहकार्य गर्नुपर्यो ।’ यस्तै कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव तथा पूर्वअर्थसचिव रामप्रसाद घिमिरले अटो क्षेत्रले देशको अर्थतन्त्र र पुर्वाधारमा महत्त्वपूर्ण भुमिका खेलेको बताए । उनले पनि अटो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले अटो क्षेत्रको सुधारका लागि दीर्घकालीन नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा एसियाली विकास बैंक (एडीबी) का सिनियर अफिसर हेमन्त तिवारीले मोबिलिटी र पर्यावरण दुवैलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे । उनले यो योजना काठमाडौं उपत्यका, पोखरा, चितवन, बुटवललगायका सहरहरुमा लागू गर्ने तयारी भइरहेको पनि जानकारी गराए । उनले भने, ‘यसअघि पनि हामीले २०१० मा सबैभन्दा पहिले फरक योजना सुरु गरेका थियौं । तर सफल हुन सकेन । हाल ललितपुर महानगरले ५ वटा स्थानमा काम सुरु गरेको छ । बाँकी कुनै पनि ठाउँमा लागु हुन सकेको छैन् । अब ठूलो बसहरूमा मात्रै यो लागु गरिनेछ ।’
नयाँ वषको अवसरमा जिहो ईभी स्कुटरकोे ‘जिहो जिन्दगी’ अफर सार्वजनिक
काठमाडौं । नेपालका लागि सीएफमोटो तथा जिहोको आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ आउँदै गरेको वर्ष २०८२ साललाई लक्षित गर्दै आफ्नो जिहो ईभी स्कुटरमा अफर सार्वजनिक गरेको छ । सेन्टरले यसपालि नयाँ खरिद गर्ने ग्राहकलाई मात्रै अफर लक्षित नभई जिहो ईभी चढ्दै गरेका हालका ग्राहकले समेत आफ्ना साथीभाई र नजिककालाई रिफर गर्दा समेत १ वर्षको एएमसी प्याकेज निःशुल्क पाउने जानकारी दिएको छ । यसका साथै नयाँ स्कुटर खरिद गर्ने ग्राहकहरूले चाहि सिधै २० हजार नगद छुट पाउनेछन् । हरेक हप्ता उक्त हप्तामा खरिद गर्ने ग्राहकहरु मध्ये एक जना भाग्यशाली विजेताले उल्लेखित छुट रकम बराबर थप रकम छुट पाउने छन् । त्यसैगरी, अफर सकिएपश्चात लक्की ड्रमार्फत आफूले खरिद गरेको रकमको ५० प्रतिशत रकम फिर्ता पाउने लगायतका अफर समेत उपलब्ध छन् । यो अफर आगामी चैत २४ देखि लागू भई वैशाख ३१ सम्म रहने बताइएको छ । जिहो नेपाली बजारमा लोकप्रिय ईभी ब्रान्डको रूपमा रहेको छ । उच्चतम प्रविधि, डिजाइन, कार्यक्षमता र टिकाउ जिहो ब्रान्डका ईभी स्कुटर हाल धेरैको रोजाइमा पर्न सफल ब्रान्ड बनेको छ । हाल यसका एई४, एई६ प्लस र एई८ गरी तीन मोडल रहेका छन् । हाल उपत्यकाभित्र नक्साल, झम्सिखेल तथा सल्लाघारी र उपत्यका बाहिर नुवाकोट बट्टार र हेटौंडामा यसका शोरुममार्फत यसको बिक्री–वितरण भइरहेको छ ।
पोखरामा एसजे मोटोको क्याफे र ग्यालरी : बाइक, कफी र संस्कृति प्रेमीहरूका लागि नयाँ गन्तव्य
काठमाडौं । मोटरसाइकल, कफी र यात्राको प्रेममा रमाउनेहरूका लागि अब पोखरामा नयाँ गन्तव्य थपिएको छ । ‘एसजे मोटो’ ले हिमालयन जाभा सँगको साझेदारीमा पोखराको लेकसाइडमा क्याफे तथा ग्यालरीको सुरुवात गरेको छ, जसले मोटरसाइकल संस्कृति र प्रिमियम कफीलाई एउटै छानामुनि ल्याएको छ । चेत २३ गत आयोजित उद्घाटन कार्यक्रममा थुप्रै पाहुनाहरूको उपस्थिति रहेको थियो । बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म चलेको कार्यक्रममा प्रत्यक्ष प्रदर्शन, अन्तरक्रियात्मक सत्रहरू, र हिमालयन जाभाको उत्कृष्ट कफीको स्वाद लिन पाइने अवसरले सहभागीहरूलाई अविस्मरणीय अनुभव दिएको थियो । पोखराको मुटुमा अवस्थित यो क्याफे बाइकिङ र साहसिक यात्राका सौखिनहरूका लागि मात्र होइन, कफीको स्वादमा हराउन चाहने सबैका लागि आकर्षक केन्द्र बनेको छ । यहाँ उच्च गुणस्तरका बाइकिङ गियर, सहायक सामग्री, ताजा कफी र सांस्कृतिक भेटघाटका अवसरहरू उपलब्ध छन् । 'हामी दुवै संसारको उत्कृष्टता - मोटरसाइकलको रोमाञ्च र कफी संस्कृतिको न्यानोपन - एउटै ठाउँमा ल्याउँदा अत्यन्त उत्साहित छौं । पोखरा जस्तै यात्रुहरूको प्रिय गन्तव्यमा यो उद्यम सुरु गर्न पाउनु हामीका लागि विशेष हो,' यसजे मोटोका संस्थापक सौरभ ज्योतिले भने । यस नयाँ शाखाको उद्घाटनसँगै एसजे मोटो र हिमालयन जाभाको दायरा अझै फैलिएको छ । अब यात्रु, बाइकर र कफी प्रेमीहरू पोखरामा भेला भएर आफ्नो जोश र अनुभवहरू साझा गर्न सक्नेछन् ।