एपोलो हाइड्रोपावरको आईपीओमा लगानी गर्ने आज अन्तिम दिन
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २ गते अन्तिम दिन रहेको छ । चैत २६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ४७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा १४ लाख १० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ४ करोड ७० लाख कित्ता स्थानीय बासिन्दा, सर्वसाधारण लगानीकर्तालाई छुट्याएको सेयरमध्ये ९४ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८ सय कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले ७ करोड ८० लाख २० हजार रुपैयाँको ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ९४ हजार कित्ता सेयर आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
बालेन सरकारको निर्देशन अगावै तनहुँका २ पालिकामा पठनपाठन हुने
काठमाडौं । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्न निर्देशन दिएको पनि तनहुँका २ स्थानीय तहले त्यसअघि नै पठनपाठन सुरु गर्ने भएका छन् । आबुँखैरेनी गाउँपालिकाले बुधबार अर्थात् आजदेखि र बन्दीपुर गाउँपालिकाले वैशाख ९ गतेदेखि पठनपाठन सुरु गर्ने भएका छन् । दुवै पालिकाले सोमबार सूचना प्रकाशित गरी पठनपाठन सुरु हुने मिति ताकिसकेका छन् । सङ्घीय सरकारले वैशाख २१ देखि पठनपाठन सुरु गर्ने निर्णय गरे पनि नेपालको संविधान तथा प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहसम्म शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भए बमोजिम स्थानीय आवश्यकतालाई मध्यनजर गरी यो निर्णय गरिएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । गाउँ कार्यपालिकाको चैत ३० गतेको निर्णयअनुसार गाउँपालिकाको शैक्षिक क्यालेन्डर बमोजिम अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान तथा पठनपाठन गर्न गराउन सूचना प्रकाशित गरिएको छ । यसैगरी बन्दीपुर गाउँपालिकाले गाउँ शिक्षा समितिको निर्णयअनुसार आजदेखि ८ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने, शैक्षिक सत्र २०८३ को कार्ययोजना र वार्षिक कार्यतालिका निर्माण, विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना र वैशाख ९ गतेबाट नियमित पठनपाठन सुरु गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले चैत २६ गते देशभरका सबै स्थानीय तहलाई पत्र पठाउँदै शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ र पठनपाठन २१ गतेबाट मात्र सुरु गर्न लगायत निर्देशन दिएको छ ।
तराईमा मौसम सफा, पहाडमा वर्षा हुने
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र हिमाली भू-भाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागलगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भू-भागलगायत बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने, तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भारतबाट १ सय रूपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार
काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले झापाको पूर्वीनाका काँकडभिट्टालगायत भन्सार नाकामा कडाइ गर्न थालेको छ । सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएको र मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि झापामा कडाइ गरिएको हो । झापामा सशस्त्र प्रहरी बलले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवल लगायत सीमा नाकामा १ सय रूपैयाँभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन आग्रह गरिरहेको छ । भन्सार महसुल नबुझाए कानुनबमोजिम कारबाही अघि बढाइने भन्दै सूचित गर्ने काम पनि भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइलीले बताए । गृह मन्त्रालयको निर्देशनअनुसार राजस्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सचेतना मूलक कार्यक्रम सुरु गरिएको उनको भनाइ छ । सीमानाकाबाट हुने अवैध आयात र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले देशैभरका नाकामा झापामा जस्तै निगरानी बढाइरहेको जनाइएको छ ।
स्वास्थ्यको बजेट ८ प्रतिशत पुर्याइने, यी हुन् बालेन सरकारले दिने निःशुल्क उपचार
काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा वि.सं २०८८ सम्म ८ प्रतिशत पुर्याइने प्रतिबद्धता जनाएको छ । सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा ५ वर्षमा स्वास्थ्य क्षेत्रमा ८ प्रतिशत बजेट पुर्याउने उल्लेख गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ । प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय तथा प्रत्येक नागरिकको पहुँच पुग्ने गरी विस्तार गरिने उल्लेख छ । ‘एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनुका साथै छरिएर रहेका स्वास्थ्यसम्बन्धी सुविधा र सहुलियतलाई सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उल्लेख गरिएको छ । यसैगरी प्रत्येक प्रदेशमा एक अत्याधुनिक अपाङ्गता पुनःस्थापना विशिष्टिकृत स्रोत केन्द्र स्थापना गरी एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने उल्लेख छ । जलन पीडितलाई निःशुल्क उपचार सरकारले जलन पीडितलाई निःशुल्क र गुणस्तरीय उपचार तथा मानसिक स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याइने जनाइएको छ । प्रतिबद्धतामा ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको घरदैलोमा आधारभूत स्वास्थ्य सेवा पुर्याइने, समग्र स्वास्थ्य प्रणाली सुधारका लागि आधारभूत स्वास्थ्यमा न्यूनतम् मापदण्ड तयार गरी एकीकृत मोडल लागू गरिने, सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संरचनाको पुनः संरचना गरी स्वास्थ्यकर्मी, उपकरण, भवन तथा सेवाको वर्गीकरण गुणस्तर निर्धारण गरिने उल्लेख छ । ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ सञ्चालन गरिने छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक प्रतिबद्धतामा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तीमा एक जना चिकित्सा शिक्षामा स्नातकोत्तर तह उत्तीर्ण गरेका एमडिपिजी चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराइने बताइएको छ । यस्तै, गरिब, मजदुर, किसान, अपाङ्गता भएका व्यक्तिको बिमा वा निःशुल्क उपचार तथा अनिवार्य श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिने प्रतिबद्धतामा उल्लेख छ । रोग लागेपछि उपचार होइन रोग नै लाग्न नदिने अवस्था सृजना, स्वस्थ हावापानी, वातावरण र सक्रिय जीवनशैली प्रोत्साहन गरी ‘म स्वस्थ मेरो परिवार स्वास्थ्य’ भन्ने महाअभियान सञ्चालन गरिने प्रतिबद्धतामा उल्लेख छ । स्वास्थ्य सेवामा आयुर्वेद, प्राकृतिक उपचार र योग ध्यानलाई जोडी प्रमुख पर्यटकीय क्षेत्रहरूमा ‘वेलनेस जोन’ र योग प्रयोगशाला निर्माण गरिनुका साथै पाठ्यक्रममा योग, ध्यान र आरोग्य पर्यटन समावेश गरिने प्रतिबद्धतामा उल्लेख छ । उक्त प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३/८४ को र त्यसपछिका वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधार ‘एजेन्डा’मा आबद्ध गरिने जनाइएको छ ।
आजदेखि देशभर आर्थिक गणना, ५ हजार जनशक्ति परिचालन
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब ५ हजार जनशक्ति परिचालन गरिएका छन् । अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ । त्यसक्रममा देशभर दर्ता भए/नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिने छ । आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप ७ गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । यसअघि वि.सं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।
मर्न लागेको भनेर श्रीमानलाई फोन गरेपछि...
काठमाडौं । ललितपुर महानगरपालिका-२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक सञ्जालमा ‘भिडियोकल’ गरी आफू मर्न लागेको भनेर बताएकी छिन् । श्रीमान्ले हस्याङ्फस्याङ गर्दै उक्त कुरा जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराए । परिसरले तत्कालै प्रहरी वृत्त चापागाउँबाट प्रहरी नायब उपरीक्षक शिला थापाको कमान्डमा टोली खटायो । खोजतलास गर्दा ती महिला सुनाकोठी जङ्गलमा भेटिइन् र उद्धार भयो । सुन्दा एउटा चलचित्रको कहानी जस्तै लाग्ने यो घटना सोमबार साँझको हो । समयमा सूचना प्राप्त हुँदा महिलाको अकालमा मृत्यु हुनबाट जोगिएको छ । ती महिलाले मर्न लागेको भनेर परिवारमा भिडियोकल गरेपछि प्रहरीको सक्रियतामा सकुशल उद्धार गरिएको ललितपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले भने, ‘क्विक रेस्पोन्स ९छिटो प्रतिक्रिया० हुँदा महिलाको सकुशल उद्धार सफल भएको हो, हाम्रो टोलीले भेट्टा उनी डोरी बोकेर जङ्गल जाँदै थिइन्, मोबाइल लोकेसन पच्छ्याउँदै जाँदा फेला परिन् । ’ उनले पारिवारिक कलहका कारण उक्त घटना भएको बताए । परिसरले आज एक सूचना जारी गरी भनेको छ, ‘ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले आफ्नो श्रीमान्लाई सामाजिक सञ्जालमा भिडियोकल गरी आफू मर्न लागेको जानकारी गराएको भनी निजको श्रीमान्ले जिल्ला प्रहरी परिसरको प्रहरी कन्ट्रोल १०० मा फोनमार्फत जानकारी गराएकामा खबर प्राप्त हुनसाथ तत्काल प्रहरी वृत्त चापागाउँ ललितपुरबाट प्रनाउ थापाको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा महिलालाई सुनाकोठीको जङ्गलबाट सकुशल उद्धार गरी निजको अफन्तको जिम्मा लगाएको छ । ’
प्रधानमन्त्री बालेन र समानुपातिक सांसदहरूबीच बुधबार सिंहदरवारमा अन्तरक्रिया हुँदै
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग बैशाख २ गते बुधबार विशेष अन्तरक्रिया गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा मध्याह्न १२ बजेका लागि तय गरिएको उक्त कार्यक्रममा विभिन्न क्लस्टर (वर्ग/क्षेत्र) बाट प्रतिनिधित्व गर्ने सांसदहरू सहभागी हुनेछन् । अन्तरक्रियामा सांसदहरूले आ-आफ्नो क्लस्टरका विशिष्ट समस्या, विद्यमान चुनौती र समाधानका लागि चाल्नुपर्ने कदमहरूबारे प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा धारणा राख्नेछन् । यसको मुख्य उद्देश्य जनप्रतिनिधि र कार्यपालिकाबीचको दूरी कम गरी सिधा संवाद स्थापित गर्ने, सांसदहरूका सुझावका आधारमा नीति निर्माण र कार्यान्वयन प्रक्रियालाई थप वस्तुपरक बनाउने तथा शासन प्रणालीलाई जनमुखी, उत्तरदायी र पारदर्शी बनाउन मद्दत पुर्याउने रहेको बताइएको छ । प्रधानमन्त्रीको यो कदमलाई सुशासन र संसदीय उत्तरदायित्व सुदृढ गर्ने एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।