काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु: वाइफाइ र सीसीटिभीको सुविधा, नगर प्रहरीले सुरक्षा दिने
काठमाडौं । काठमाडौंमा आजदेखि वाइफाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुल्चोकबाट सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र वुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले समन्वय र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गरेका हुन् । बस सञ्चालनको प्रारम्भमा ७ वटा बस सञ्चालनमा ल्याइएका छन् । हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सीसीटिभी क्यामराबाट निगरानी हुनेछ । यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले सामान हराउने हुँदैन । गलत क्रियाकलाप गर्ने वा दुव्र्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिन सकिनेछ । यात्रीहरुको सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले हरेक बसका १ जना नगर प्रहरी पोशाकमा खटाएको छ । सेवा प्रारम्भ गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले रात्रिकालीन सेवालाई दिगो बनाउने र विहानी सेवालाई प्रारम्भ गर्ने योजना रहेको बताइन् । ‘नयाँ बर्ष शुरुवातसँगै महत्वपूर्ण निर्णयको कार्यान्वयन भएको उनले बताइन् । विगतको अभ्यासबाट प्राप्त पृष्ठपोषणका विषय उल्लेख गर्दै भनिन, ‘हिजोको अभ्यास लगानीको आर्थिक प्रतिफलमा केन्द्रीत थियो । आज हामीले आर्थिक प्रतिफलमा होइन, चुस्त र गुणस्तरीय सेवालाई लक्ष्य मानेका छौं । उपत्यकाका स्थानीय तहका बिचमा समन्वय गरेर लागत सहभागिताको मोडल बनाउँछौं । अब हाम्रो योजना भनेको रात्रि सेवालाई दिगो बनाएर विहानी सेवालाई प्रारम्भ गर्ने हो । ’ सेवा सञ्चालनका विषयमा हामी उपत्यकाका स्थानीय तहका बिचमा एक मत छ । ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले भने, ‘आर्थिक साझेदारितामा सबैको साझा मत नै सेवा दिगो हुने महत्वपूर्ण आधार हो । यो सेवाबाट धेरै नागरिक लाभान्वित हुने भएकोले म पनि धेरै उत्साहित छु ।’ चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले थानकोट नाकाबाट दैनिक ५० हजार व्यक्ति काठमाडौं आवतजावत गर्ने गरेको बताए । चन्द्रागिरिका पर्यटकीय स्थानहरुमा काठमाडौंबाट जान आउन सजिलो हुने भएपछि यसले आर्थिक र सामाजिक क्रियाकलापमा स्वतः योगदान गर्ने प्रमुख गिरीको भनाइ छ । बुढानीलकण्ठ नगरका प्रमुख मिठाराम अधिकारीले रात्रि बस सेवाका विषयमा स्थानीयहरुसँग आफूले लिएको प्रतिक्रियाका बारेमा जानकारी गराउँदै भने, ‘स्थानीयबासी धेरै खुशी हुनुहुन्छ । यसलाई विकास र विस्तार गर्दै लैजानुपर्छ । ’ नगरपालिकाहरुले साझा यातायातसँगको सहकार्यमा यो सेवा प्रारम्भ गरेका हुन् । आउँदो असार मसान्तसम्म सेवाको लागत साझा यातायातले व्यहार्नेछ । यस अवधिमा खर्चको विश्लेषण गरेर पालिकाहरुले लागत सहभागिता व्यहार्ने प्रतिवद्धता हाम्रा लागि महत्वपूर्ण छ । साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेलको धारणा राखे । रात्रिकालीन बस सेवा सञ्चालनका लागि गरिएको पूर्व अभ्यासमा वुढानीलकण्ठदेखि बेलुका ८ बजे छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक पुगेको थियो । लगनखेल पुग्दा ८ बजेर ४६ मिनेट भएको थियो । सवारी चापका कारण यो बसले जमल क्षेत्रमा केही समय रोकिनु परेको थियो । थानकोटबाट ८ बजे छुटेको बस २१ मिनेटमा कलंकी चोक र ४५ मिनेटमा एअरपोर्ट पुगेको थियो । बस सेवाहरु हरेक रुटका सुरु र अन्तिम विन्दुबाट गुड्नेछन् । अर्थात् दक्षिण रुटमा चल्ने एउटा सवारी साधन ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ । अर्को बस बुढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ । नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट एउटा बस छुट्नेछ । यसरी ३ वटा विन्दुबाट बस गुडेपछि हरेक बस विसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ । यो सडकको एकतर्फी दुरी १६ किलोमिटर हो । पूर्वपश्चिम रुटको दुरी २० किलोमिटर छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमान स्थलका लागि छुट्नेछ । अर्को बस विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ । नयाँ सडक गेट अगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थल तर्फ छुट्नेछ । यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस विसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन् ।
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
काठमाडौं । नयाँ वर्ष २०८३ को स्वागतसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला मस्त झुमिरहेको छ । नयाँवर्षको छेको पारेर लेकसाइडमा आयोजना गरिएको फेवा नयाँवर्ष महोत्सवले बेग्लै रौनक ल्याएको छ । रङ्गीचङ्गी तुल, ध्वजापतका र प्रवेशद्वारले पोखराको लेकसाइड क्षेत्र सिँगारिएको छ । नयाँवर्ष मनाउन पोखरा आएका पर्यटकले यहाँका होटल भरिभराउ छन् । लेकसाइड क्षेत्री पसल र रेष्टुराँबाट निस्कने सङ्गीतको मधुर धुनसँगै आगन्तुकहरू ओहोरदोहोर गरिरहेका देखिन्छन् । सडक छेउछाउ राखिएका व्यावसायिक कक्षमा किनमेल गर्नेको भीड छ । मौलिक झाँकी, नृत्यदेखि साङ्गीतिक ‘कन्सर्ट’मा पर्यटक झुमिरहेका छन् । आइतबारदेखि सुरु भएको महोत्सव आज मधयरातसम्म चल्नेछ । आयोजक होटल सङ्घ पोखरामा अध्यक्ष लक्ष्मण सुवेदीले २१औं संस्करणको महोत्सव आयोजना भइरहेको बताए । तीन दिनसम्म दसौं हजार पर्यटकले महोत्सव अवलोकन गर्ने उनको भनाइ छ । नयाँ वर्ष मनाउने गन्तव्यका रूपमा फेवा महोत्सव स्थापित भइरहेको अध्यक्ष सुवेदीले बताए । महोत्सवमा संस्कृति संरक्षण, मनोरञ्जनसँगै व्यवसाय प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ । लेकसाइडको हलनचोकदेखि ड्यामसाइडसम्म करिब तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना भइरहेको हो । ‘पर्यटन, संस्कृति र खाना’ नारा दिइएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खाना प्रदर्शनीलगायत सडकमै राखिएको छ । सबै उमेर समूहका पर्यटकलाई लक्षित गरी विविध मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको छ । पर्यटकीय याम पनि चलिरहेकाले यतिबेला पोखरामा विदेशी पर्यटकहरूको पनि चहलपहल बढेको छ । महोत्सवस्थलमा नेपाली पञ्चेबाजा र गीतसङ्गीतमा विदेशीहरू पनि नाच्दै, रमाउँदै गरेका देखिन्छन् । विश्व पर्यटन बजारमा चिनिएको पोखरा पछिल्लो समय नयाँ वर्षको गन्तव्यका रूपमा स्थापित भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले यस्ता मेलामहोत्सवले पोखराको पर्यटकीय गतिविधिलाई चलायमान बनाउने बताए । उनले स्थानीय अर्थतन्त्र उकास्न र व्यवसायीहरूको मनोबल बढाउन पनि मेला–महोत्सव आयोजना भइरहनुपर्ने धारणा राखे । पोखरामा हुने यस्ता गतिविधिले यहाँको पर्यटनलाई प्रवद्र्धन गर्ने, आर्थिक अवसर सिर्जना हुने विश्वास लिइएको छ । नयाँ वर्षका दिन फेवातालमा रहेको ताल बाराही मन्दिरमा पनि भक्तजन र पर्यटकको भीड लागेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष परशुराम शर्मा पहारीले बताए । ‘नयाँ वर्षमा देवी भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुन् र वर्षभरि कुनै दुःखकष्ट नपर्ने जनविश्वास रहेको छ’, उनले भने, ‘आज बिहान ६ः०० बजेदेखि नै ताल बाराहीमा भक्तजनको घुइँचो लागेको छ ।’
अरनिको राजमार्ग : मंगलबारदेखि दुईतर्फी आवागमन
काठमाडौं । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल-खावा सडक खण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कालोपत्रे गर्न २३ दिनदेखि पटक पटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गर्दै आइएको थियो । उक्त सडक खण्डमा गत चैत २२ गतेदेखि मात्रै कालोपत्रे (पीच)को काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी हाल धुलिखेल चोकबाट २.५ किलोमिटर सडक एकतर्फी पक्की बनाइएको हो । आजदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार स्तरोन्नति भइरहेको चार किमीमध्ये बाँकी दुरी (दुवैतर्फीसम्मको)पक्की गर्ने कार्य यो साताको अन्तिमबाट सुरु गरिनेछ । 'त्यसबेला आवागमन कुन प्रकारले रोक्नेबारे छलफल भइरहेको छ, त्यसबारे केही दिनपछि सूचित गर्नेछौँ', योगेशले भने । उनका अनुसार पहिलो पटक गत चैत ७ गतेदेखि २० गतेसम्म र दोस्रो पटक २१ गतेदेखि ३० गतेसम्म रातको समयमा आवागमन रोकेर काम गरिएको थियो । सो अवधिमा टिपरलगायत मालवाहक सवारीलाई भने पूर्णतः निषेध गरिएको थियो । उक्त सडक खण्डको बाँकी १.५ कमी दोस्रो चरणमा पक्की बनाइन लागिएको हो । ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्रे गर्ने काम भएको जनाइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुन:स्तरोन्नतिलाई तीव्रता दिइएको हो । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्ने गरी सी-एन ए-वान काली जेभीसँग भ्याटबाहेक रु. ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । उक्त सडक खण्डमा कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाईको बन्ने उक्त सडक खण्डमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने जनाइएको छ । उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । उक्त निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो । उक्त सडक खण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ ।
आईटी कम्पनीलाई कर छुट, बहुराष्ट्रिय कम्पनीलाई सहुलियत
काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) कम्पनीलाई कर छुट दिने योजना अघि सारेको छ । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका ६ वटै दलको चुनावी घोषणापत्रका आधारमा सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गर्दै आईटी कम्पनीलाई कर छुट तथा सहुलियत दिने योजना अघि सारेको हो । ‘बहुराष्ट्रिय प्रविधि कम्पनीहरुलाई नेपालमा विकास र नवप्रवर्धन केन्द्र स्थापना गर्न आकर्षित गरिनेछ । सूचना प्रविधि कम्पनीलाई कर सहुलियत प्रदान गरिनेछ । सरकारी डिजिटल परियोजनाहरुमा स्थानीय आईटी कम्पनीहरुको सहभागिता र साझेदारी सुनिश्चित हुने गरी सार्वजनिक खरिद प्रणालीमा सुधार गरिनेछ,’ मस्यौदामा भनिएको छ । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगको रुपमा घोषणा गरिनुका साथै आईटी प्रवद्र्धन वोर्ड गठन गरिने, डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि, उच्च उत्पादकत्व र गुणस्तरीय रोजगारी सिर्जनाको प्रमुख क्षेत्रको रुपमा विकास गरिने मस्यौदामा उल्लेख गरेको छ । सरकारले डिजिटल इकोनोमी निर्माणका लागि सञ्चार तथा सार्वजनिक पूर्वाधार, डेटा सेन्टर, क्लाउड सेवा, साइवर सुरक्षा, वैयक्तिक विवरणको गोपनीयता र सुरक्षा विधि तथा उच्चगतिको कनेक्टिभिटीमा प्राथमिकतासाथ लगानी गरिनुका साथै सरकारी र सार्वजनिक प्रयोजनका लागि आवश्यक सफ्टवेयर र एप्लिकेशनहरु नेपालमै विकास गर्न प्रोत्साहन गर्ने गरी सार्वजनिक खरिद नीतिमा सुधार गरिने योजना अघि सारेको छ । मस्यौदामा भनिएको छ, ‘आगामी पाँच वर्षभित्र कृत्रिम बौद्धिकता र कम्प्यूटेसन शक्ति निर्यात गर्ने देशको रुपमा नेपाललाई रुपान्तरण गर्नेछौं । नेपालमै डेटा केन्द्र एआई कम्प्युटिङ्ग र डिजिटल सेवाको स्वदेशी उद्योग निर्माण गरी विश्व अर्थतन्त्रसँग जोडिनेछ । नेपाली आईटी कम्पनीहरुलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन फ्रम नेपाल टु दि वल्र्ड अभियानमुखी कार्यक्रम सञ्चालन गरिनेछ । सबै डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरको रुपमा विकास गरिनेछ ।’ सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत दूरसञ्चार सेवा र डिजिटल कनेक्टिभिटी सुनिश्चित गरिनुका साथै कृत्रिम बौद्धिकता र जेनेरेटिभ एआईमा आधारित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिने, डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जन तथा नागरिक एपलाई सुपर एपको रुपमा विकास गरिने उल्लेख गरेको छ । डिजिटल सिपमा लगानी वृद्धि गरिनुका साथै आर्टिफिसियल इन्टेलिजेन्स तथा कन्टेन्ट मोडरेसनसहित डिजिटल साक्षरतालाई कक्षा १२ सम्म अनिवार्य गरिने मस्यौदामा उल्लेख गरिएको छ ।
बालेन सरकारले सहकारीलाई राष्ट्र बैंकको नियमनभित्र ल्याउँदै, यस्तो चाल्दैछ नयाँ कदम
काठमाडौं । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सहकारी क्षेत्रलाई नेपाल राष्ट्र बैंकको नियमनभित्र ल्याउने गरी तयार गरिरहेको छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका ६ वटै दलको चुनावी घोषणापत्रका आधारमा सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गर्दै सहकारीलाई राष्ट्र बैंकको नियमनभित्र ल्याउने घोषणा गरेको हो । मस्यौदामा भनिएको छ, ‘सहकारी र लघुवित्तको अनियन्त्रित र फितलो नियमनलाई विस्थापन गरी गैर बैंकिङ वित्तीय क्षेत्रलाई राष्ट्र बैंकको प्रत्यक्ष र शक्तिशाली सुपरीवेक्षण प्रणालीभित्र ल्याइनेछ ।’ यस्तै, सहकारी र लघुवित्तलाई कर्जा सूचना केन्द्रसँग आवद्ध गरी वास्तविक क्षमताका आधारमा मात्र कर्जा प्रवाह गरिनुका साथै उत्पादनशील, विनाधितो सामूहिक जमानी र स्थानीय सीपमा आधारित उद्यमशील कर्जामा केन्द्रित गरिने मस्यौलामा उल्लेख छ । सहकारी संस्थाको नियमन र मापदण्ड संघले बनाउने तथा प्रदेश र स्थानीय तहले सहकारी संस्थाको दर्ता, अभिलेख र सुशासन प्रणालीलाई प्रभावकारी बनाइने प्रबन्ध गरिने विषय मस्यौदामा उल्लेख छ । ‘सहकारी दर्ता, प्रतिवेदन अनुगमन र सूचना प्रणालीलाई पूर्णत डिजिटल गरिनुका साथै सहकारीको व्यावसायीकरण, ब्राण्डिङ, गुणस्तर प्रमाणीकरण र ई–कमर्श मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गरिनेछ । यसैगरी युवा, महिला, श्रमिक र सीमान्तकृत समुदाय लक्षित सहकारी मार्फत रोजगारी र स्वरोजगारी सिर्जना गरिनेछ,’ मस्यौदामा भनिएको छ । सहकारी बचतकर्ताको कमाई सुरक्षित गर्न एकीकृत बचत सुरक्षा कोष स्थापना गरी संकटग्रस्त संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी दिने व्यवस्था गरिने विषय मस्यौदामा उल्लेख गरिएको छ । यसका साथै मिटरव्याज र अनुचित लेनदेन आर्थिक अपराधका रुपमा परिभाषित गरिनुका साथै विगतका सबै तमसुक र कपाली तमसुकहरुको न्यायिक छानविन गरिने, मिटरव्याज र लघुवित्तका कारण मानसिक र शारीरिक यातना भोगेका पीडितहरुका लागि स्थानीय तहमा निःशुल्क कानुनी सहायता र मनोसामाजिक परामर्शको व्यवस्था गरिने विषय पनि मस्यौदामा उल्लेख गरिएको छ ।
सरकारले सबै दलका घोषणापत्रलाई गर्यो आत्मसात्, यी १७ क्षेत्र प्राथमिकतामा {पूर्णपाठ}
काठमाडौं । सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्रलाई आत्मसात् गरेको छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका ६ वटै दलको चुनावी घोषणापत्रका आधारमा सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा तयार गरेको हो । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणा गरेका घोषणापत्रलाई आत्मसात् गर्दै राष्ट्रिय प्रतिबद्धता तयार गरेको हो । सरकारले यसमा सुझाव सल्लाह दिन आग्रह गरिएको छ । राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा सुझाव दिनका लागि वैशाख १० गतेसम्मको समय दिइएको छ । यस्तो छ मस्यौदाको पूर्णपाठ
कम्युनिष्ट पार्टी एकताको पहलमा लागे नारायणकाजी, उठाए पुर्नगठनको माग
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ कम्युनिष्ट एकताको पहलमा लागेका छन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पुराना दलहरुले नराम्रो हार व्यहोरेपछि श्रेष्ठ नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत कम्युनिष्ट पार्टीहरु एकताका लागि पहलमा लागेका हुन् । उनले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर अब एकता गरेर अगाडि बढ्नुपर्ने धारणा राखेको बुझिएको छ । ओली पनि त्यसमा सकारात्मक भएको र थप छलफल गरेर अगाडि बढ्नुपर्ने धारणा ओलीले राखेको बुझिएको छ । श्रेष्ठले ओलीलाई अस्पतालमै गएर भेटवार्ता गरेको पार्टीको नेताहरुले बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा २०८३ सालको शुभकामना दिँदै उनले निर्वाचनपछिको विकसित राष्ट्रिय परिस्थितिमा नेपाली कम्युनिस्ट शक्तिहरूले निराशा र पलायन हुन नहुने उल्लेख गर्दै पुर्नगठनको प्रक्रियामा अगाडि बढ्नुपर्ने बताएका छन् । ‘समग्र परिस्थितिको गम्भीर समीक्षा, निर्मम आत्मसमीक्षा, वस्तुनिष्ठ निष्कर्षसहित समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठनको प्रक्रिया अघि बढाउने दृढ सङ्कल्प गर्नु जरुरी छ । नयाँ वर्षलाई सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूले निजी स्वार्थबाट माथि उठेर गतकालका गल्ती कमजोरीहरू सच्याउँदै त्यस दिशामा अभिमुख हुने अवसर बनाउन सकौैं,’ उनले भनेका छन् । उनले अगाडि भनेका छन्, ‘हालै सम्पन्न निर्वाचनमा जनताको तर्फबाट सुशासन र रोजगारी मूल रहेको उक्त उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर परिवर्तनको आकाङ्क्षालाई मतादेशमा अभिव्यक्त गरिएको छ । तसर्थ जनताको अपेक्षा अनुसार नयाँ वर्षमा वर्तमान सरकारलाई त्यस दिशामा परिणाममुखी कार्य गर्ने सफलता प्राप्त हुन सकोस् ।’
अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्न प्रहरीको अनुरोध
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण/प्रकाशन नगर्न अनुरोध गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दर्ता भएको ज्यानसम्बन्धी कसूरका आरोपी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकउपर सम्मानित सर्वोच्च अदालतको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनमा माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान भइरहेको जनाउँदै त्यस विषयमा भ्रामक सूचना सिर्जना र प्रसारणरप्रकाशन नगर्न सबैलाई अनुरोध गरिएको बताए । उनले आजै एक विज्ञप्ति जारी गरी ‘ओली–लेखकको अनुसन्धानमा झेल ?’ भन्ने शीर्षकमा एक युट्युव च्यानलमा श्रव्यदृश्य सामग्री प्रकाशन भएकाले त्यसमा अभिव्यक्त धारणा र सूचनामा ध्यानाकर्षण भएको जनाएका छन् । परिसरले आज जारी गरेको सूचनामा भनिएको छ, 'स्वतन्त्र, विधिसम्मत र सरकारी वकिल कार्यालय, काठमाडौंको कानुनी रायपरामर्शमा अनुसन्धान भइरहेकामा जिम्मेवार प्रहरी अधिकृतलाई जोडेर अनर्गल तथा भ्रामक सूचना सम्प्रेषण हुँदा जनमानसमा गलत जानकारी प्रवाह भएकाले भ्रामक, अप्रमाणित सूचना सृजना एवं प्रसारणरप्रकाशन नगर्न हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।'