विकासन्युज

सर्वोच्चले माग्यो मेयर बालेनसँग लिखित जवाफ

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह विरुद्ध अदालतको अपहेलना गरेको विषयमा परेको मुद्दामा सर्वोच्चले लिखित रुपमा जवाफको माग गरेको छ । मेयर शाह विरुद्ध परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले उनीसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो । अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्धमा सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा हालेका थिए । सोमबार सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै मेयर शाहसँग लिखित जवाफ माग्ने निर्णय गरेको हो । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले दिएको अन्तरकालिन आदेशलाई संकेत गर्दै मेयर शाहले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी सार्वजनिक रुपमा प्रतिक्रिया दिएका थिए ।

ऊर्जामन्त्री भुसालसँग स्लोभाक गणतन्त्रका राजदूतको भेट

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनले भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र जल तथा मौसम विज्ञानका विविध विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले विगत २० वर्षदेखि दुई देशबीच रही आएको सुमधुर सम्बन्ध मित्रता, हार्दिकता, आपसी सहकार्य र सद्भावमा आधारित रहेको उल्लेख गर्दै युरोपेली सङ्घको सदस्य मुलुक स्लोभाकले नेपालको सामाजिक एवं आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा अभार व्यक्त गरे । विकास साझेदार मुलुकको सहयोगमा नेपालले सुशासन एवं सामावेशी नागरिक सहभागिताको लक्ष्यमार्फत स्थितरता, प्रगति एवं दिगो विकासका लक्ष्य प्राप्त गर्ने उद्देश्य लिएको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जलवायु परिवर्तन एवं मौसम पूर्वानुमानका विषयमा स्लोभाकसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताए । नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये पर्यटन प्रवद्र्धन एक रहेको बताउँदै उनले उल्लेख्यमात्रामा नेपाल आउने स्लोभाक पर्यटकका कारण दुई देशबीचमा जनस्तरको सम्बन्ध पनि विकास भएकामा खुसी व्यक्त गरिन् । सो अवसरमा राजदूत म्यक्सियनले नेपाल र स्लोभाक गणतन्त्र दुवै भूपरिवेष्ठित मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिइन् । आफ्नो देशमा मौसससंग सम्बन्धित प्रविधिको राम्रो विकास भएको जानकारी गराउँदै उहाँले स्लोभाकमा उत्पादन भएका राडारसहित यस्ता प्रविधि उपलब्ध गराएर पूर्बाधार विकासमा सहकार्य गर्न सकिने विश्वास दिलाए । भेटमा सहसचिवद्वय बाबुराम भण्डारी, चिरञ्जीवी चटौतसहित परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । रासस

बैंकहरुमा निक्षेप स्थीर, कर्जा बढ्दो

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप स्थीर देखिएको छ । साउन पहिलो साता ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप दोश्रो सातामा पनि बराबर रहेको छ । यता कर्जा लगानी भने निरन्तर बढ्दो छ । एक सातामा बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता ४१ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले दोश्रो सातामा ४१ खर्ब ८० अर्ब रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८८.४२ प्रतिशत पुगेको छ । अघिल्लो साता अर्थात साउनको पहिलो सातामा यस्तो अनुपात ८८.३५ प्रतिशत थियो ।

विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोड ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास ग्रीड का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ, (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका छन् । बजेटरी सहायताका रुपमा उपलब्ध हुने सो सहयोगले नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सघाउनेछ । ‘ग्रीड’अन्तर्गत तीन चरणमा प्राप्त हुने सहुलियत ऋणमध्येको यो यो पहिलो चरण हो । ‘यो सहायताले हरित, समावेशी र उत्थानशील विकासका लागि सरकारको लक्ष्यलाई सघाउनेछ’, विश्व बैंकका सञ्चालन प्रबन्धक स्ट्रोलकोभाले भने, ‘यस कार्यक्रममार्फत हामी, पानी, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, सहरी क्षेत्र, फोहर व्यवस्थापन र प्रदूषणलगायतका क्षेत्रमा सरकारको प्राथमिकतामा रहेका नीतिगत प्रयासलाई सहयोग गर्दछौँ ।’ नेपालको ग्रीड मार्गतर्फको प्रस्थान भनेको यस चुनौतीपूर्ण समयका लागि अवसरले भरिपूर्ण आवश्यक रणनीतिक कदम भएको उनले बताए । कोभिडबाट आर्थिक पुनरुत्थानका साथै हाल विद्यमान विपद, जलवायु तथा वातावरणीय जोखिमलगायत दिनप्रतिदिन जटिल बन्दै गएको नेपालको विकाससम्बन्धी चुनौतीको माझमा गरिबी निवारण गर्दै देशको समृद्धिका लागि भइरहेको प्रगतिलाई विस्तार तथा संरक्षण गर्न यसले सघाउने सहसचिव अर्यालले बताए। रासस

मेयर बालेन शाह विरुद्ध दर्ता भएको अवहेलना मुद्दामा सुनुवाइ हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध दर्ता भएको अबहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनवाइ हुने भएको छ । मेयर शाह विरुद्ध दर्ता भएको अवहेलना मुद्दाको सुनुवाई न्यायाधीश हरिकृष्ण कार्कीका एकल इजलासमा हुने भएको हो । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलना गरेको भनेर निवेदन दर्ता गरेका थिए । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले दिएको अन्तरकालिन आदेशलाई संकेत गर्दै मेयर शाहले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी सार्वजनिक रुपमा प्रतिक्रिया दिएका थिए । दर्ता भएकाे निवेदनलाई स्वीकार गरेर अदालतले शाहका नाममा आदेश जारी गरेमा उनले आफू स्वयं उपस्थित भई वा वारेस मार्फत लिखित जवाफ पेश गर्नुपर्ने हुन्छ ।

प्राधिकरणले ८५ दिनमै कमायो छ अर्ब, थप बिजुली निर्यात गर्ने

काठमाडौं । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै रु छ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ । यसले चर्को खडेरीमा वर्षात् भए जस्तै राहतको महसुस भएको छ । हाल दैनिकरुपमा नै कूल तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । थप छ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ । माथिल्लो तामाकोसीको चार सय ५६ मेगावाट र अन्य आयोजनाको एक सय १० मेगावाट बिजुलीसमेत भारत निर्यातका लागि तयारी भइरहेको छ । भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको र छिट्टै निष्कर्ष निस्कने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरणले चालू आवमा मात्रै रु १६ अर्ब बराबरको बिजुली निर्यात हुने प्रक्षेपण गरेको छ । थप बिजुली निर्यात भएको अवस्थामा आम्दानीमा समेत वृद्धि हुनेछ । आगामी दुई वर्षपछि मुलुक पूर्णरुपमा बिजुली निर्यात गर्ने देशका रुपमा परिणत हुने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । ‘आगामी हिउँदमा समेत केही मात्रामा बिजुली आयात गर्नुपर्ने हुनसक्छ, तर त्यसको मात्रा असाध्यै न्यून हुनेछ, आगामी वर्षदेखि भने हामी आयात शून्यमा झारेर निर्यात मात्रै गर्नेछाैं, कार्यकारी निर्देशक घिसिङले भने । गत वर्षको लक्ष्मीपूजाको दिनदेखि प्राधिकरणले नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात सुरु भएको हो । गत जेठको १५ गतेदेखि पुनः बिजुली निर्यात सुरु भएको र जेठ २७ गतेदेखि भारतको ऊर्जा एक्सचेञ्ज मार्केटमा समेत निर्यात शुरु भएको छ । चालु आवको साउन महिनामा मात्रै झण्डै दुई अर्ब बराबरको बिजुली निर्यात भएको छ । वर्षात्को मौसममा भारतमा गर्मी बढी हुने भएकाले बिजुलीको माग बढी हुने र सोहीअनुसार भाउ पनि पाएको उहाँको भनाइ छ । प्राधिकरणले बढी माग हुने समयमा प्रतियुनिट १९ रुपैयाँ २० पैसासम्म मूल्य पाएको छ । यो आन्तरिक बजारको तुलनामा धेरै बढी हो । आन्तरिकरुपमा खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्दा त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यमा मात्रै सकारात्मक प्रभाव परेको छैन, मुलुकको आर्थिक उन्नयनमा समेत योगदान पुगेको छ । गत आर्थिक वर्षमा मात्रै प्रणालीमा थप सात सय ४१ मेगावाट बिजुली थप भएको छ । चालु आवमा झण्डै एक हजार मेगावाट क्षमतामा बिजुली थप हुने विद्युत् विकास विभागका महानिर्देशक सञ्जिव देवको भनाइ छ । मुलुकको कूल जडित क्षमता दुई हजार दुई सय ६९ मेगावाट बराबर पुगेको छ । निर्यातका लागि छैन अवरोध मुलुकभित्र बिजुलीको उत्पादन बढ्दै जाँदा थप निर्यातका लागि प्रसारण लाइन नभएको भन्ने आशङ्का व्यक्त भइरहेका बेला प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने त्यसलाई नकारे । उनले हाल भारतका विभिन्न राज्यमा विभिन्न स्थानबाट प्रसारण प्रणाली जोडिएको जानकारी दिए । विगतमा बिजुली आयात गर्ने मात्रै विषयले प्राथमिकता पाउने गरेकामा पछिल्ला दिनमा निर्यातको विषयले प्राथमिकता पाएको उल्लेख गर्दै उनले आठ स्थानबाट दुई देश जोडिएको बताए । भारतीय कम्पनी सतलजले ढल्केबर हुँदै सीतामढी जोड्नका लागि निर्माण गरिरहेको चार सय केभी क्षमताको प्रसारण लाइनबाटै पनि बिजुली भारत पठाउन सकिने जानकारी दिए । सो प्रसारण लाइनले दुई हजार मेगावाट बिजुली बोक्न सक्छ । यस्तै चार सय केभी क्षमताको ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइन पूर्ण क्षमतामा चलाउँदा एक हजार दुई सय मेगावाट बराबर बिजुली पठाउन सकिन्छ । उता न्यू–बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बोलपत्र भइसकेको जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र सो लाइनसमेत निर्माण भइसक्ने उल्लेख गरे । सो प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड इण्डियाले जिम्मा लिएको छ । त्यसमा प्राधिकरण र भारतीय पक्षको समान लगानी रहनेछ । कूल एक सय ४० किलोमिटर हुने भनिएको सो लाइनको लम्बाइसमेत घटेको छ । त्यस आधारमा लगानी पनि एक अर्ब कम लाग्ने देखिएको छ । नेपालतर्फको अमेरिकी सहयोग परियोजनाले निर्माण गर्ने भनिएको स्थानमा समेत १८ किलोमिटर प्रसारण लाइन प्राधिकरण आफैँले निर्माण गर्ने भएको छ । भारततर्फको कूल एक सय २० किलोमिटरमध्ये ९६ किलोमिटर मात्रै निर्माण हुने भएको छ । यस्तै लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पनि प्रक्रिया सुरु गरिने भएको छ । ती दुवै प्रसारण लाइन चार सय केभी क्षमताका छन् । आन्तरिकरुपमा आयोजना निर्माण सम्पन्न हुँदै जाँदा प्रसारण लाइन तयार भइसक्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । प्राधिकरणले सतलजले निर्माण गरिरहेको प्रसारण लाइनमा समेत प्रयोग गर्न पाउने भएको छ । त्यस आधारमा पनि कुनै समस्या नहुने जनाएको छ । आन्तरिकरुपमा निर्माणमा रहेको हेटाँैडा– इनरुवा प्रसारण लाइनको अवरोधसमेत खुलेका अवस्थामा सो लाइनमार्फत थप बिजुली प्रवाहका लागि मार्ग प्रशस्त हुने जनाएको छ । हाल देशभर ९५ प्रतिशत घरधुरीमा केन्द्रीय प्रणालीको बिजुली पुगेको उनले जानकारी दिए । सरकारको निरन्तरको प्रयास र प्राधिकरणको सकारात्मक योजना र पहलका कारण चार वर्षअघि ६२ प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको भए पनि हाल त्यो बढेर ९५ प्रतिशत पुग्नु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ । प्राधिकरणले बिजुली नपुगेका दुर्गम स्थानका लागि बोलपत्रसमेत गरिसकेकाले आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा बिजुली पुग्नेछ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ५० हजार घरधुरीमा उज्यालो पु¥याउनेछ । आन्तरिकरुपमा पनि बिजुली खपतको मात्रामा २५ प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ । हरेक वर्ष बिजुलीको खपतमा वृद्धि भएको र त्यो निरन्तररुपमा अगाडि बढ्ने क्रममा नै रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । देशभित्रै बिजुली खपतका लागि विद्युतीय चुल्होको प्रवद्र्धन तथा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन निर्माणलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइएको उनको भनाइ छ । प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मिलेर चार्जिङ स्टेशन र विद्युतीय चुल्हो प्रयोगको अभियान नै सञ्चालन गर्ने भएको छ । रासस

बीमा कम्पनीहरु मुद्दती निक्षेपमै आकर्षित, घरजग्गामा नेशनल लाइफ बाहेक ४० वटाकै लगानी शून्य

काठमाडौं । बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ इन्स्योरेन्सले मात्रै घर जग्गामा लगानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जीवन, निर्जीवन र पूनर्बीमा कम्पनीमध्ये नेशनल लाइफले मात्रै उक्त क्षेत्रमा लगानी गरेको हो । कम्पनीले एक वर्षको अवधिमा ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ घर जग्गामा लगानी गरेको छ । समितिका अनुसार कम्पनीहरुले कूल लगानीमध्ये बढीमा ५ प्रतिशत घर जग्गामा पाउने व्यवस्था छ । तर, उक्त व्यवस्थालाई अधिकांश कम्पनीले अटेर गरेको पाइएको छ । गत आवमा कम्पनीहरुले घर जग्गामा शून्य लगानी गरेका छन् । त्यस्तै, जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले नेपाल सरकारको बचतपत्रमा २ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जसमा मेट लाइफले १ अर्ब ६८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १० करोड, राष्ट्रिय बीमा संस्थाले २५ करोड रुपैयाँ र सन नेपाल लाइफले १ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् । ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा भने सबै कम्पनीले लगानी गरेका छन् । १९ वटै कम्पनीले एक वर्षमा ३ खर्ब १६ अर्ब रुपैयाँ बराबरको लगानी गरेका बीमा समितिले जानकारी गराएको छ । जुन कम्पनीहरुले गरेको लगानीमध्ये सबैभन्दा बढी हो । त्यस्तै, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । नेशनल लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ र सन नेपाल लाइफ गरी ५ वटै कम्पनीले ५/५ करोड उक्त क्षेत्रमा लगानी गरेका हुन् । यता सूचीकृत कम्पनीको सेयरमा मेटलाइफबाहेक सबैले लगानी गरेको पाइएको छ । १८ कम्पनीले कूल ८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् । त्यसैगरी विभिन्न बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । यो क्षेत्रमा नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, मेट लाइफ, एशियन लाइफ, आइएमई लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ र रिलायबल लाइफको भने शून्य लगानी छ । त्यस्तै, सूचीकृत कम्पनीको ऋणपत्रमा २१ अर्ब ८७ करोड, पूर्वाधार क्षेत्रमा ७ अर्ब १४ करोड, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ९८ करोड ४१ लाख, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४२ अर्ब ४४ करोड रुपैयाँ र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ४ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेका छन् । त्यसैगरी, अन्य लगानी अन्तर्गत संस्थापक सेयरमा ८ अर्ब ८ करोड, सूचीकृत नभएको कम्पनीमा ४२ करोड ७३ लाख र अन्य लगानीमा २८ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन् । समग्रमा जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कूल ४ खर्ब ७३ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३१.६७ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ५९ अर्ब ३३ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए ।

च्याउ खेती गरेर वार्षिक सात लाख नाफा कमाउछन् सिन्धुपाल्चोकका किसान

सिन्धुपाल्चोक । यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको लाँगर्चेमा–१३ रोपनी जग्गा १० वर्षको लागि भाडामा लिएर बलराम राउतले च्याउ खेती गरेका छन् । यसबाट मनग्य आम्दानी गर्न उनी सफल भएका छन् । वार्षिक एक लाखमा जग्गा भाडामा लिएर च्याउ खेती गरेका राउतले सात जनालाई रोजगारी दिएका छन् । उत्पादनका हिसाबले जिल्लाकै ठूलो फार्म भएकोले हेर्न आउनेलाई राउतले फार्ममै च्याउको ‘रोष्ट’ बनाएर चखाउछन् । झण्डै २० लाख लगानी गरेको च्याउ व्यवसायबाट सबै खर्च कटाएर वार्षिक सात लाख नाफा हुने गरेको राउत बताउछन् । राउतका अनुसार च्याउ उत्पादनको ४० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ । बाँकी ६० प्रतिशत काठमाडौँमा पुग्छ । च्याउको स्थानीय मूल्य एक सय ५० देखि दुई सयसम्म छ । बाह्रबिसे, खाडीचौरलगायत स्थानीय बजारका व्यापारी च्याउ लिन फार्ममै आउँछन् । त्यस्तै, तीन वर्षदेखि च्याउ खेती गर्नुभएका चौतारा साँगाचोक नगरपालिका–१० जल्किनेका सीता थापाको आफ्नै घर नजिकै प्लास्टिक टनेलमा राखिएको काठको मुढामा खैरो रङ्गको सिताके च्याउ ढपक्कै फलेका छन् । लगभग सात लाख रुपैयाँ लगानीमा तीनसय मुढाबाट व्यवसाय थालेका उनले अहिले एक हजार ५०० मुढा पुगेको छ । मुढामा बीउ राखेको नौ महिनापछि मात्रै उत्पादन हुने गरेकोले तीन सय मुढाबाट मात्रै उत्पादन भएको उनी बताउछन् । उनकोमा महिनामा सय केजीसम्म च्याउ उत्पादन हुन्छ । बीउ राखेको ६ महिनासम्म मुढालाई थुपारेर राखेपछि फल्न सुरु हुन्छ । तर ठूलो खालको सिताके च्याउ उत्पादन हुन नौ महिनासम्म लाग्छ । प्रति केजी पाँच सय देखि आठ सयसम्म बिक्री हुने गरेको उक्त च्याउबाट गतसाल साँढे दुई लाख आम्दानी भएको उनले बताए । यसवर्ष थपिएका मुढाबाट च्याउ उत्पादन भएपछि कम्तिमा दुईलाख देखि चार लाखसम्म आम्दानी हुने उहाँको आशा छ । जुनसुकै रोगीलाई उपयोगी हुने तथा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भएको स्वास्थ्यबर्दक सिताके च्याउ खरिद गर्न स्थानीय व्यापारी घरसम्म आउने गरेका छन् । उनका अनुसार यो च्याउ विशेष गरेर उत्तिसको र कटुसको मुढामा हुन्छ । उत्तिस भन्दा कटुसको मुढामा यो फस्टाउछ । तर मुढाको अभाव भएकोे उनले बताउछन् । आफ्नै लगानीबाट सुरु गर्नुभएको सो खेतीमा उहाँलाई बागमती प्रदेश सरकारले नमूना कृषि फार्म स्थापना कार्यक्रम अन्तर्गत १५ लाख दिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा सीता श्रेष्ठले तीन वर्षदेखि गरेको सिताके च्याउबाट अहिले राम्रो आम्दानी गरेको बताउँछन् । श्रेष्ठले च्याउ खेतीबाट वार्षिक दुई लाख कमाउछन् । चौतारा साँगाचोकगढी नगरपालिका ४ मा उत्पादित सिताके च्याउले भने बजार नपाउँदा स्थानीय किसान चिन्तित बनेका छन् । विसं २०७५ मा वसन्त कृषि तथा पशुपालन फार्म सञ्चालनमा ल्याएका व्यवसायी भीमसेन खड्काका अनुसार स्थानीयस्तरमा उत्पादन गरिएको च्याउले स्थानीय हाटबजारमा राम्रो भाउ नपाएकाले काठमाडाँैंको विभिन्न होटलसम्म पु¥याउनुपर्ने झन्झट व्यहोर्नु परेको छ । उनले फार्ममा विभिन्न जातका माछा, सिताके च्याउ, भँैसीपालनदेखि स्थानीय तरकारी तथा बेर्नाहरु उत्पादन गर्दै आएका छन् । स्थायी शिक्षकको जागिर छोडेर कृषि फार्मतिर आकर्षित भएका उनका बुबा झपडबहादुर पनि जिल्लाको उत्कृष्ट किसान थिए । तीन जनाले एक करोडको लागतमा सञ्चालनमा ल्याएको फार्मलाई पशुपालनको लागि प्रदेश सरकारबाट १० लाख तथा स्थानीय सरकारबाट माछापालनलाई ५० हजार अनुदान पाएको खड्काले बताए । रासस