कैलालीमा बाढी : सयौँ परिवार पुनः सडकमा
कैलाली । कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उनको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ । यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरु पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन् । कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा आएका छन् । मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरुले कैलालीमा बाढीको स्थिति ल्याएपछि यहाँका नागरिकको विचल्ली भएको छ । असोज १ गतेको बाढीले भजनीमा ७ हजार परिवार विस्थापित भएका थिए । विस्थापित भएकाहरु दसैँ आएसँगै घर फर्किएका थिए । घर फर्किएर दसैँको टीकासमेत राम्ररी लगाउन पाएनन् । ‘दसैँको टीकासमेत राम्ररी लगाउन पाएनौँ, घरमा केही छैन । बाढीले सबै तहसनहस पारिसकेको थियो’, भजनीका रमा धामीले भने, ‘छिमेकीसँग बाँडीचुँडी खाऊला भनी फर्कियौँ, फेरि बाढीले डुबायो । शुक्रबार फेरि सडकमा आएका छौँ ।’ उनले बाढीका कारण आफूहरु बिचल्लीमा परेको गुनासो गरे । ‘बाढीले केही राखेन, न घरका सामान, अन्न राख्यो, न खेतमा रहेको धानबाली रह्यो’, उनी भन्छन्, ‘हामी के खाने ? वस्तुभाउलाई के खुवाउने ? अब यो ठाउँ नै छोडेर कतै जानुपर्छ जस्तै भएको छ ।’ बुधबार रातिदेखि भएको अविरल वर्षाले नदी र खोलामा बाढीको अवस्था ल्याएको हो । कर्णाली नदीमा शनिबार बिहान बाढीको सतह ९ दशमलव ८ मिटर पुगेको गेज रिडर पार्वती गुरुङले जानकारी दिए । । १० मिटरमाथि जल सतह पुगेमा खतरा मानिन्छ । कर्णाली प्रदेशमा अत्यधिक वर्षा भइरहेकाले भेरीलगायत नदीले खतराको तह पार गर्दा कर्णाली नदीमा जल सतह बढेको हो । यसअघि असोज १ गते शनिबारका दिन दिउँसो २ः५० बजे कर्णालीमा बाढीको तह १०।८० मिटर रेकर्ड भएको थियो । पछिल्ला वर्षहरुमा बेमौसमी वर्षापछि आउने बाढीले ठूलो नोक्सान गरिरहेको छ । कैलालीको चुरेबाट निस्कने काँडा, कान्द्रा र पथरैया नदीमा बाढी बढेर भजनीमा गाउँ पसेको हो । यी नदीबाट आएको बाढीले तटीय क्षेत्रको भजनी नगरपालिका–२, ७ र ८ का सयौँ घरमा बाढी पसेको हो । भजनी नगरपालिका प्रमुख केवल चौधरीले बाढीबाट विस्थापितहरु कोही उच्च घर, कोही विद्यालय र कोही सडकमै फर्किएको बताए। उनले भजनीमा बाढीले तहसनहस गरेको बताए । असोजको पहिलो साताको बाढीले खेतीपाती सखाप भइसकेको यहाँ नागरिक पुनः बाढी आएपछि थप पीडामा छन् । फर्किएको एक साता नबित्दै भजनीवासी पुनः विस्थापित हुनु परेपछि निकै दुःखी भएका छन् । निरन्तरको वर्षाका कारण अधिकांश किसानको पाकेको धान खेती हावा लागेर ढलेको छ । पाकेको धान खेतमा सड्ने र उम्रने जोखिम बढेको किसान मणिराम रावलले बताए। ‘खुल्ला खेतमा धान ढलिसकेको छ । पाकेको धान हावाले समेत ढल्न थालेको छ’, उनले भने, ‘वर्षा नरोकिए धान खेती रहन्न । मौसम यस्तै रहे यहाँ त भोकमरी हुने चिन्ता बढेको छ ।’ किसानहरु वर्षा रोकिएको भए बाला काटेर भए पनि धान खेती जोगाउन हुन्थ्यो भन्न थालेका छन् । ‘खुल्ला खेतमा पानी रोकिएको एक सातासम्म धान काट्न सकिँदैन’, किसान परमभक्त देवकोटाले भने, ‘पानी रोकिएको भए धानका बाला मात्र काटेर भए पनि अन्न जोगाउन हुन्थ्यो । अझै दुई/तीन दिन वर्षा भएमा धान नोक्सान हुन्छ ।’ मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीका अनुसार शुक्रबारको तुलनामा शनिबार आइतबार झन् बढी वर्षा हुनेछ । वर्षा निरन्तर रहेको र यहाँका नदीहरुमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रमा थप जोखिम रहेको बताइएको छ । यहाँका पालिकाहरुले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न सूचना गरिसकेका छन् । यसका साथै खोज तथा उद्धारमा सबै सरोकारवालाई परिचालन हुन आग्रह गरेका छन् ।
आमाबाबुमा स्मार्टफोनको प्रभाव : धेरै मोबाइल चलाउने अभिभावक रिसाउने र बालबालिकालाई हप्काउने
एजेन्सी । दिनको चार घण्टा मोबाइल फोन र अन्य डिजिटल उपकरणहरू प्रयोग गर्ने अभिभावकहरूले आफ्ना बच्चाहरूप्रतिको व्यवहार परिवर्तन गर्ने गरेको पाइएको छ । वाटरलू विश्वविद्यालयका अनुसन्धान विद्वानहरूले ५ देखि १८ वर्षका दुई बच्चा भएका ५४९ अभिभावकहरूको सर्वेक्षण गरेका थिए। यो अनुसन्धानले फुर्सदको समयमा वा आरामको समयमा फोन वा अन्य डिजिटल माध्यमको सम्पर्कमा रहेका अभिभावकहरू आफ्ना बालबालिकाप्रति चिडचिडा हुने गरेको पाइएको छ । उनीहरू आफ्ना छोराछोरीलाई हप्काइरहेका छन् र झन् चिच्याइरहेका छन्। मोबाइल फोन र अन्य डिजिटल उपकरणहरू प्रयोग गर्ने आमाबाबुहरू मध्ये ७५ प्रतिशतमा डिप्रेसन पनि देखिएको थियो। कोरोनामा डिजिटल उपकरणको प्रयोग बढेको छ अनुसन्धान कोरोना अवधिमा भएको थियो। स्क्रिन टाइम र डिजिटल मिडियाको प्रयोगमा उल्लेख्य वृद्धि भएको पाइएको छ । औसतमा अभिभावकहरूले दिनको ३ देखि ४ घण्टासम्म डिजिटल मिडिया प्रयोग गर्छन्। वाटरलू विश्वविद्यालयका क्लिनिकल मनोविज्ञानका विद्वान र यस अनुसन्धानको प्रमुख लेखक जस्मिन झाङले भनिन् कि परिवारको रूपमा आमाबाबु र बच्चा दुवैको व्यवहार महत्त्वपूर्ण छ, त्यसैले हामीले अभिभावकको व्यवहारले पनि नकारात्मक प्रभाव पारेको पायौं। डिजिटल उपकरणहरूको बढेको स्क्रिन समय र बढेको व्यवहार बीचको जडान फेला पर्यो। अनुसन्धान टोलीले यो पनि पत्ता लगायो कि जब परिवारका सदस्यहरू बीचको अन्तरक्रिया घट्यो, आमाबाबुहरुमा खराब बानीको विकास हुन थाल्यो । सामाजिक रुपमा अधिक सक्रिय हुनुपर्ने अनुसन्धान प्रमुख प्रा. जस्मिन झाङले दिनमा एक वा दुई घण्टा सामाजिक सञ्जालमा बिताउने अभिभावकको व्यवहार बालबालिकाप्रति बढी सकारात्मक हुने बताइन् । अभिभावकहरु सामाजिक रुपमा सक्रिय हुनुपर्ने उनको भनाइ छ ।
अस्वस्थ भएपछि राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उनका अनुसार राष्ट्रपति भण्डारीलाई रुघा खोकी र ज्वरो आएको छ । अहिले शिक्षण अस्पतालमा राष्ट्रपति भण्डारीको स्वास्थ्य परीक्षण भइरहेको छ ।
यस बर्षको नोबेल शान्ति पुरस्कार बेलारूस, रूस र युक्रेनका मानव अधिकारवादीलाई दिने घोषणा
एजेन्सी । युद्ध अपराध र अधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणका लागि काम गरेपापत बेलारुसका मानव अधिकारवादी एलेस बियालियात्स्की, रुसको मेमोरियल समूह र युक्रेनको सेन्टर फर सिभिल लिबर्टीजलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । समितिले सन् २०२१ देखि बेलारुसको जेलमा रहेका बियालियात्स्कीको रिहाईको माग गरेको छ । ‘उनीहरूले युद्ध अपराध, मानव अधिकार उल्लङ्घन र शक्तिको दुरुपयोगलाई दस्तावेजीकरण गर्न उत्कृष्ट प्रयास गरेका छन्’, र्वेजियन नोबेल कमिटीका प्रमुख बेरिट रीस एन्डरसनले भने, ‘उनीहरूले मिलेर शान्ति र लोकतन्त्रका लागि नागरिक समाजको महत्वलाई दर्शाएका छन् ।’ गत वर्षको शान्ति पुरस्कारले प्रेस स्वतन्त्रताका दुई विजेता फिलिपिन्सकी पत्रकार मारिया रेसा र उनका रुसी सहकर्मी दिमित्री मुरातोभलाई सम्मान गरेको थियो । यो पुरस्कारमा स्वर्ण पदक, प्रमाणपत्र र १० मिलियन स्वीडिश क्रोनर (करिब नौ लाख अमेरिकी डलर)को पुरस्कार राशि रहेको छ । सन् १८९६ मा स्वीडिस आविष्कारक तथा परोपकारी अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा ओस्लोमा आयोजित एक औपचारिक समारोहमा सो पुरस्कार प्रदान गरिनेछ । रीस–एन्डरसनले बियालियात्स्की उपस्थित हुन सक्षम हुने आशा व्यक्त गरेका छन् । उनले भने, ‘हामी आशा गर्छौं । उहाँ ओस्लोमा आउनुुहुनेछ र सम्मान प्राप्त गर्नुहुनेछ ।’ शान्ति पुरस्कार ओस्लोबाट प्रदान गरिएको एक मात्र नोबेल पुरस्कार हो, अन्य विधाहरू स्टकहोमबाट घोषणा गरिएको छ । वर्ग र लिंगको व्यक्तिगत अनुभवमा आधारित भ्रामक सरल उपन्यासका लागि चिनिएकी फ्रान्सेली लेखिका एनी एर्नाक्सले बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जितेका थिए। सन् १९०१ यता ११९ जना साहित्य पुरस्कार विजेतामध्ये उनी १७ औं महिला हुन् । यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार सोमबार घोषणा हुने समितिले बताएको छ ।
त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा– काठमाडौँ यातायात अवरुद्ध
काठमाडौं । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ । उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुक्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट आएका र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारी साधन बाह्र घुम्तीमा लामबद्ध रुपमा राखिएको भैँसे प्रहरीले जानकारी दिएको छ ।
अझै तीन दिन वर्षा हुने, मङ्गलबारदेखि मौसममा सुधार आउने
काठमाडौं । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना रहेको हो । आगामी मङ्गलबारदेखि मौसम क्रमिकरुपमा सुधार हुनेछ । उनले भने, ‘अबको तीन दिनसम्म वर्षाको सम्भावना रहेको छ । पश्चिमी क्षेत्रमा बढी असर पर्ने देखिन्छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।’ नेपालमा मनसुन अझै सक्रिय रहेकाले पनि वर्षा भइरहे पनि विगतका दिनभन्दा कम असर पर्ने मौसमविद् महर्जनले बताउनुभयो । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर रहेको छ । प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्वदेशमा सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चि प्रदेशमा थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ । महाशाखाका अनुसार गत २४ घण्टामा वीरेन्द्रनगरमा एक सय ६९ र नेपालगञ्जमा एक सय ६५ मिलिमिटर वर्षा मापन गरिएको छ । घोराहीमा एक सय चार, धनगढीमा ९०, दिपायलमा ६३ र डडेलधुरामा ४४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँम नौ दशमलव पाँच मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । आज काठमाडौँको न्यूनतम तपक्रम १७ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।
पहिरोले लमही–घोराही प्रसारण लाइनको टावर ढाल्यो
दाङ । अविरल वर्षासँगै गएको पहिरोबाट दाङकोलमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमहीनगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो । प्रसारण लाइनमा ढलेपछि त्यस क्षेत्रको विद्युतआपूर्ति अवरोध भएकोथियो । प्राधिकरणले अहिले वैकल्पिकव्यवस्था गरी घरायसीग्राहकलाई विद्युत् दिइएको छ । प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसीग्राहकलाई विद्युतआपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत् खपतगर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् । प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपत्कालीन पुनस्र्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत् आपूर्ति दिने छ । इआरएस टावर जडानका लागि सर्भेक्षण गर्न टोली खटाइएको छ । टावर जडान गर्न केहीदिन लाग्ने बताइएको छ ।
दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु
दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए। मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेकोे बताइएको छ ।