विकासन्युज

मकवानपुरमा पहिरोमा परेर दुईजनाको मृत्यु

फाइल फाेटाे मकवानपुर । मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६ मागेनीका ४७ वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो । यस्तै कैलाश गाउँपालिका–३ कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ ।

एमाले नेता बालकृष्ण ढुङ्गेलको मृत्यु

काठमाडौं । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा ९एमाले० का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उनको मृत्यु भएको हो । दशैंको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उहाँ एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा पुगेर प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाउन थालेको छ । विगतमा नेकपा (माओवादी) पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि उनी एमालेमै बसेका थिए । ढुङ्गेल द्वन्द्वका क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बसेका थिए । यसअघि उनी संविधानसभाका सदस्यसमेत बनेका थिए ।

एमाले नेता घनश्याम भुसालद्वारा पार्टी परित्याग

काठमाडौं । नेकपा(एमाले) का नेता घनश्याम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा(एमाले)को गौरवलाई पुनःस्थापित गर्न सकिन्छ कि भनेर आशा र विश्वासले चरम अपमान र सहँदै आएपनि पार्टीमा विधी र नीति स्थापित नहुने देखेकाले आफूले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गरेपनि आगामी राजनीतिक जीवनबारे भने भुसालले केही उल्लेख गरेका छैनन् । हेर्नुहोस नेता भुसालको स्टाटस : देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो । र, अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु । नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं । घनश्याम भूसाल मणिग्राम, रुपन्देही २०७९ असोज २२

जुम्लामा पहिरोले घर पुरिँदा सातजनाको मृत्यु, दुई घाइते

फाइल फाेटाे जुम्ला । जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। “बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्’, उनले भने, ‘प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।’ जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घट्नास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताए। ‘हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो’, उनले भने, ‘साँझसम्म घट्नास्थलमा पुग्ने आश गरेका छौँ ।’सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताए। वर्षाका कारण जिल्लाभरी टेलिफोन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ ।

नवलपुरका चार पालिका डुबानका कारण सयौं घरपरिवार विस्थापित

नवलपुर । लगातार चार दिनसम्म परेको झरीका कारण एक सय ४४ घरपरिवार बाढीको डुबानमा परी विस्थापित बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका चार पालिका गैँडाकोट, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीका गरी एक सय ४४ घरपरिवार बाढीको डुबानका कारण विस्थापित भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार अविरल वर्षाका कारण गैँडाकोटमा ८० घर, मध्यविन्दुका २०, विनयी त्रिवेणीका २८, हुप्सेकोटका १६ घर गरी एक सय ४४ घर बाढीले गर्दा डुबानमा परी विस्थापित बनेका छन् । विस्थापित क्याम्पस, विद्यालय, सार्वजनिक भवन तथा वन क्षेत्रका खाली चौरमा त्रिपाल टाँगी आश्रय लिएका छन् । नारायणी नदी, विनयी खोलासहितका खहरे खोलामा आएका बाढीका कारण र पहिराको जोखिममा भएका परिवार विस्थापित बनेका हुन् । विस्थापितलाई सरोकारवालाहसँगको समन्वयमा अवस्था हेरी पुनःस्थापनाको काम अघि बढ्ने प्रहरीले जनाएको छ । सूचना अधिकारी पाठकले भने, ‘तत्काल डुबानमा परेकालाई नजिकका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ, अब जोखिमको अवस्था हेरी सरोकारवालाहरूको समन्वयमा पुनःस्थापनाको काम गर्छौं।’ अविरल वर्षाले घरपरिवार विस्थापितसँगै जिल्लाको मुख्यगरी सडक पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । अविरल वर्षाले पहाडी क्षेत्रको बाटोहरू अस्तव्यस्त बनेको छ । ठाउँठाउँमा गएका पहिराका कारण नवलपुरको पहाडी क्षेत्रको सदरमुकामसँग को यातायात सम्पर्क टुटेको छ । जिल्लाको बौदिकाली, बुलिङटार दुई पालिकाको यातायात सम्पर्क पूर्ण रुपमा टुटेको छ । हुप्सेकोट, मध्यविन्दु, विनयी त्रिवेणीका पहाडी क्षेत्रहरूमा यातायात चल्न सक्ने अवस्था छैन् । पहाडी क्षेत्रका लागि मुख्य नाका मानिने कुमसोत –पोखरी खण्डअन्तर्गत हुप्सेकोट–५ पाङ्ग्रेमा गएको पहिरो अझै हटाउन नसक्दा यातायात सञ्चालन पूर्ण रुपमा अवरुद्ध रहेको छ । जिल्लाको कालीगण्डकी करिडोर क्षेत्रका विभिन्न ठाउँमा पहिरो गएको सूचना अधिकारी पाठकले बताए । बुलिङटार–६ फुलमती भन्ने स्थान र बौदिकाली–३ मा झरेको पहिराले सो खण्डमा समेत यातायात सञ्चालन हुन सकेको छैन । अविरल वर्षाको समयमा जिल्लामा कुनै मानवीय क्षति नभए पनि जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१, मा एक सय ५० बिघा क्षेत्रफलको धानबाली डुबानमा परी नष्ट भएको छ । बुलिङटार–४, जौवारीमा चारवटा बाख्राको मृत्यु भएको छ । प्रहरीका अनुसार बौदिकाली तीन, बुलिङटारमा ६ घर र पाँच गोठमा अविरल वर्षाका कारण क्षति पुगेको छ । अविरल वर्षासँगै पानीका मुहान धमिलो हुँदा कतिपय स्थानमा खानेपानीको समस्यासमेत परेको सूचना अधिकारी पाठकले बताए । प्राप्त जानकारीअनुसार जिल्लाको हुप्सेकोट क्षेत्र र बुलिङटार गाउँपालिका–३ मा खोनेपानीको समस्या भएको उनले बताए।

लाङटाङ राष्ट्रिय निकुञ्जको जडीबुटी सदुपयोग गर्न माग

सिन्धुपाल्चोक । प्राकृतिक जडीबुटीको भण्डारका रूपमा चिनिने सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी पहिचान र सदुपयोग गर्न नसक्दा बर्सेनि खेर गइरहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चिराइतो, कुड्की, नागबेली, पाउडर झ्याउ, ठूलो ओखतो, लोठसल्ला, धूपी, सुनपाती, जटामसीलगायत जडीबुटी पाइन्छ । निकुञ्ज क्षेत्रको स्याउले, सेलाङ, गुम्बा, गोल्चे, गुन्सा, थाङपालकोट, भोताङलगायत जङ्गलहरूमा यस्ता जडीबुटी प्रशस्त मात्रामा पाइने गरेको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका वडाध्यक्ष काले गोलेले बताए । अन्य जडीबुटी सङ्कलन नभए पनि आंशिक रूपमा यार्सागुम्बा सङ्कलन गर्न शुरु भएको पाँचपोखरी थाङपाल गाउँपालिका–३ का वडाध्यक्ष नीमछिरिछ तामाङले जानकारी दिए । यस क्षेत्रका कमैले मात्रै रोग लागेपछि मेडिकलको औषधि प्रयोग गर्ने गरेको भोताङका नीरबहादुर तामाङ बताए। उनले भने, ‘जे भए पनि यहीँको झारपातलाई औषधि बनाएर खाने गरेका छौँ ।’ राजधानीबाट नजिक रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी इन्द्रबहादुर गुरुङलाई जडीबुटीको सदुपयोग नहुँदा दुःख लागेको बताए । उनका अनुसार यस क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी पहिचान गरेर यसको सदुपयोग गर्नसके यस क्षेत्रका बासिन्दाको जीवनस्तर उठ्न सहज हुने थियोे ।

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

रामेछाप । रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरुले मनग्य आम्दानी गर्ने गरेका हुन् । शुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रुपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्की बताए । उनले आफ्नो पाँच रोपनी जग्गामा दुई हजार अकबरे खुर्सानीको खेती गरेर अचार उद्योग सञ्चालन गरेका हुन्। उनले अकबरेका अलावा निबुवा, कागती, करेला, मूला, अमलालगायत विभिन्न प्रकारका कच्चापदार्थहरु जम्मा गरी अचार बनाएर बिक्री गर्ने गरेको जानकारी दिए। उनले अचार बेचेर नै वार्षिक १५ लाखसम्म आम्दानी गरेका छन् । । गाउँमा सामूहिक रुपमा पनि अकबरे खुर्सानी खेती गरिएको छ । यो खुर्सानीले बेफाइदा नगर्ने भएकाले पनि गाउँका अधिकांश कृषकहरु यस खेतीतर्फ लागेका छन्, कम मेहनत र खर्चमा यो खुर्सानी उत्पादन हुने र उत्पादन भएको खुर्सानी गाउँमै खपत हुने भएपछि स्थानीयहरुको यस खेतीप्रति आकर्षण बढेको हो । अकबरे खुर्सानीको अचार को मुख्य बजार रामेछापको सदरमुकाम मन्थली, सिन्धुलीको खुर्कोट र काठमाडौं भएको पनि कार्की बताउँछन् । उनले भने, ‘अहिले गाउँमा खुलेको अचार उद्योगले गाउँमा उत्पादन भएका जम्मै खुर्सानी खरिद गरिदिन थालेपछि गाउँले हरु अधिकांशले यसको खेती गरिरहेका छन् । आफ्नो उमेर ढल्कँदै गएको र यस पेसालाई निरन्तरता दिइयोस् भनेर गाउँका अरू कृषकहरुलाई पनि यो सीप सिकाउने गरेको छु ।’ उमेरले ६५ लागेका कार्कीको सीप र जाँगरमा कुनै कमी देखिँदैन । कहिले कोभिड र कहिले डेङ्गुको महामारीले गर्दा व्यवसायमा कमी आउने गरेको भए पनि उनी उत्साहित भएर आफ्नो कर्ममा लागिरहेका छन् । नौवटा वडा रहेको नगरपालिकामा बढी जसो खुर्सानी, अदुवा र जुनार उत्पादन हुने हुनाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा नगरपालिकाले यसलाई जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तनहुँको भिामादमा सडक भासिँदा आवागमनमा ठप्प

तनहुँ । तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएको हो । पहिरा अगाडिको भाग पहिरिएकाले दुईपाङ्ग्रे सवारीबाहेक ठूला सवारी गुड्न नसक्दा चाडपर्वका समयमा टीका लगाउन आवतजावत गर्ने मानिसहरुले सास्ती भोग्नुपरेको जनाइएको छ । गाडी नचलेपछि मानिसहरु लामो दूरी पैदल हिँडेर भएर पनि आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान बाध्य भएको उनले बताए । कि त त पहरा पट्टिको भित्ता काट्नु पर्छ कि त तलबाट पर्खाल उठाएर सडक सञ्चालन गर्न सकिने हुँदा तत्कालका लागि पहरा काट्न छिटो हुने देखिएको उनले जानकारी दिए । उक्त सडकबाहेक वैकल्पिक मार्गका रुपमा रहेको भिमाद, ऋषिङपाटन हुँदै ऋषिङ भञ्ज्याङदेखि घिरिङ देउराली जान सकिने भए पनि ठाउँठाउँमा पहिरा खसेर अवरोध भएकाले सम्भव नदेखिएको बताइएको छ । यात्रुहरुको समस्यालाई दृष्टिगत गरी तत्कालका लागि यताको गाडी यतै र उताको गाडी उतै व्यवस्था मिलाई यात्रुलाई गन्तव्यसम्म पु¥याउने योजना बनाइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए । उक्त सडक भएर सवारीसाधन गुड्ने चारवटै पालिकासँग समन्वय गरी जति सक्दो चाँडो दीर्घकालीन रुपमा सञ्चालन गर्न पहल भइरहेको उनको भनाइ छ ।