विकासन्युज

पहिराले महाकाली राजमार्ग अवरुद्ध

बैतडी । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउन जेसिबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । यस्तै सोही राजमार्गको दोगडाकेदार–३ खिरेगाउँमा पनि सडक आंशिक रूपमा बन्द भएको छ ।

एक सातापछि मनसुन बाहिरिने

काठमाडौं ।  नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो । तथापी, पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ । अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए । जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मनसुन शुरु भएको थियो । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको मौसमविद् पौडेलले बताए । उनले भने, ‘मनसुन आगामी शनिबार र आइतबारदेखि बाहिरिने देखिन्छ । यो वर्ष मनसुन बाहिरिने क्रममा बङ्गालको खाडीबाट आएको न्यून चापीय क्षेत्रको असरले लम्बिएको हो ।’ अहिले राजधानी काठमाडौं, पश्चिमको पोखरा (कास्की) लगायत देशका पूर्वी भेगको मौसम सामान्यतया सफा रहेको छ । पश्चिमका कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले वर्षा भइरहेको र मनसुन पनि सोही क्षेत्रमा केन्द्रीत रहेको मौसमविद् पौडेलले बताए । उनका अनुसार आगामी मङ्गलबारदेखि मौसम सुधार आउनेछ । मनसुन रहदासम्म पानी पर्ने सम्भावना रहेपनि लगातारको झरी पर्दैन । महाशाखाको पछिल्लो तीन घण्टाको विवरणमा डडेलधुरामा १३ मिलिमिटर, बैतडीमा १८ मिलिमिटर, बर्दियामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । रासस

सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट पाइन् टिकट

काठमाडाैं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् । डा. मिनेन्द्र रिजाल र काेइराला टिकटको दाबेदार थिए । डा. रिजालले यसअघि मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर जितेका थिए । मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र पाएको कांग्रेसले १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालालाई टिकट दिएकाे छ ।

चितवन क्षेत्र नं ३ मा सत्ता गठबन्धनका तर्फबाट डा. भोजराज अधिकारी

चितवन । नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । सो निर्वाचन क्षेत्र सत्ता गठबन्धनका तर्फबाट माओवादीकेन्द्रको भागमा परेको छ । विसं २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोही क्षेत्रबाट निर्वाचन जितेका थिए । डा. अधिकारी सङ्घीय अस्पताल भरतपुर अस्पतालको अध्यक्ष हुन् । उनले आजै राजीनामा दिएर उम्मेदवारी दिने जानकारी दिए । उनी माओवादीको स्वास्थ्य जनसङ्ख्या विभागको केन्द्रीय सचिव हुन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको उक्त मौसमी प्रणालीका कारण बदली र वर्षा गराएको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेको छ । काठमाडौंको आकास सफा रहेको छ । महाशाखाका अनुसार गत २४ घण्टामा डडेलधुरामा ८८, दिपायलमा ६२, धनगढीमा ४८ र वीरेन्द्रनगरमा २८ मिलिमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम १७ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।

रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार हुने घनश्याम भुसालकाे घोषणा

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि शनिबार एमाले परित्याग गरेका भुसालले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

फेरि बढ्यो अमेरिकी डलरको भाउ, हालसम्मकै कमजोर बन्यो नेपाली मुद्रा

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको बिक्रीदर १३२ रुपैयाँ २ पैसा तोकिएको छ । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । कोरोनाका कारण पर्यटकको आवागमनसमेत उल्लेख्य मात्रामा वृद्धि हुन नसक्दा डलरको मूल्यवृद्धिले थप सङ्कट पैदा गर्नेछ । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।

सहकारीको कारण किसानलाई खसीबोका कहाँ लगेर बेच्ने भन्ने चिन्ता हट्यो

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको एक सहकारीले दशैंमा मात्रै ७० लाख बराबरको खसीबोका बिक्री गरको छ । दशैं सुरु भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा रहेको लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले ७० लाख बराबरको खसीबोका बिक्री गरेको हो । सहकारीका व्यवस्थापक सुशीला परियारका अनुसार सहकारीले यस वर्ष चार सय ५० खसीबोका बिक्री गरेको छ । किसानबाट खसीबोका सङ्कलन गरी सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमार्फत बिक्री गर्दै आएको छ । जिल्लाको पहाडी भेगका किसानले हुर्काएका खसीबोका सहकारीले सङ्कलन गरी बिक्री गरेको हो । जिउँदो तौल प्रणाली अनुसार सहकारीले यस वर्ष खसीबोका प्रतिकेजी पाँच सय ३० देखि पाँच सय ६० सम्ममा बिक्री गरेको उनले बताए । सहकारीले किसानबाट खसीबोका सङ्कलन गरी बिक्री गर्दा किसानले पनि उचित मूल्य पाउने र किसानलाई बजारीकरणको दुःखसमेत नहुने उनको भनाइ छ । ‘अरू खसीबोका किन्न गए मूल्यको ठेगान हुँदैन, हामीले तोकिएको मूल्य र सही तौल मापन गरी लिन्छाैं, किसानलाई उचित मूल्य दिन्छौँ’, व्यवस्थापक परियारले भन्नुभयो, ‘किसानलाई कहाँ बेच्न भन्ने चिन्तासमेत हुँदैन ।’ उनका अनुसार अघिल्ला वर्षभन्दा यस पटक खसीबोका निकै कम बिक्री भएको छ । गत वर्ष करिब एक हजार र त्यसअघिको दशैंमा एक हजार सात सय ५५ वटा खसीबोका बिक्री गरेकामा यस वर्ष निकै कम बिक्री भएको छ । अहिले बजारको मन्दी भएर हो वा के कारणले कम मात्रामा माग भएको यसै भन्न नसकिने व्यवस्थापक परियारले बताए । कोभिडपछिका असरहरु बजारमा देखिएको हुनसक्ने उनको आङ्कलन रहेको छ । सहकारीले विगत ६ वर्षदेखि सामान्य मुनाफा राखी कृषकहरुबाट खसीबोका सङ्कलन गरी बिक्री गर्दै आएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–१२, तमासपुरमा रहेको अरुणज्योति सामाजिक महिला उद्यमी सहकारी साथै मैनाघाटमा रहेको कृषि सहकारीले समेत खसीबोका सङ्कलन तथा बिक्री गरेको छ । जिल्लामा रहेका सहकारीले कृषकबाट खसीबाख्रा खरिद गरी बिक्री गर्दा बजारीकरणमा बाख्रापालक किसानलाई सहजता मिलेको छ । किसानलाई आफ्ना खसीबोका कहाँ लगेर बेच्न भन्ने चिन्ता हटेको छ । नवलपुरको पहाडी क्षेत्रमा प्रशस्त चरण क्षेत्र रहेकाले सो क्षेत्रका धेरै जसो किसानले बाख्रा पाल्ने गरेका छन् । सहकारीले सहजरूपमा बाख्रा खरिद गरिदिने र आम्दानीसमेत राम्रो लिन सकिने भएपछि पहाडी क्षेत्रका किसान बाख्रापालनतर्फ आकर्षित बनेका छन् । रासस