‘अर्थतन्त्रमा ठूलो दबाब पर्यो, अझै कडाइ गर्नु पर्ने देखियो’
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सनाले अर्थतन्त्रमा ठूलो दबाब रहेको बताएकी छन् । शुक्रबार एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान)ले गरेको दीगो आर्थिक विकास विषयक कार्यक्रममा उनले विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेको बताएकी हुन् । नेपाल रास्ट्र बैंककी डेपुटी गभर्नर समेत रहेकी उनले अब दीगो विकासका बहस आवश्यक रहेको बताइन् । उनले वर्तमान पुस्तालाई असर नगरी भविष्यको पुस्तालाई सहयोग पुग्ने गरी काम गर्नु दीगो विकास भएको बताउँदै अर्थतन्त्रलाई पनि सोही ढंगलाई सञ्चालन गर्नु पर्ने अवस्था आएको धारणा राखिन् । उनले नेपाल लगायत केही देशहरू अहिले असहज परिस्थितिमा चलिरहेको बताउँदै कोरोना महामारी र रुस–यूक्रेन युद्धका कारण अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताइन् । ‘नेपालको अर्थतन्त्रमा मुद्रा स्थिति को दबाब छ, डलरको मूल्य बढेको कारण रेमिटान्स बढेको छ, बैंक तथा बित्तीय संस्थाले तरलताको समस्या खेप्नुपरेको छ, तरलता सहज कायम गर्न उत्पादन मूलक क्षेत्रमा लगानी बढाउनु पर्ने छ, अर्थतन्त्रमा दबाब रहेकै कारण नियामकले पनि कडाइ गरेर अगाडि बढ्नु पर्ने अवस्था छ, अझै यसलाई थप सशक्त बनाउँदै लैजानु पर्ने बाध्यता हामीलाई पनि छ,’ उनले भनिन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण निरन्तर रुपमा गरिरहेको बताउँदै उनले दीगो बिकासका लागि राष्ट्र बैकले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरिरहेको बताइन् । यस्तै, उनले राष्ट्र बैंकले जलविद्युत, कृषि लगायतका कर्जामा सहुलियत दिएको बताउँदै राष्ट्र बैंक अर्थतन्त्रको दीगो विकासका लागि नियम सङ्गत काम गराउन दत्तचित्त भएर लागेको बताइन् ।
विश्व बैंकको कार्यक्रममा नेपाललाई प्राथमिकतामा राख्न अर्थमन्त्री शर्माको अनुरोध
वाशिङ्गटन डिसी । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका छन् । बिहीबार विश्व बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष मार्टिन रेइजरसँग वाशिङ्गटन डिसीमा भेट गर्दै अर्थमन्त्री शर्माले यस्तो अनुरोध गरेका हुन् । भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ । यसैगरी अर्थसचिव कृष्णहरि पुष्करले अर्को एक भेटघाटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनको कम्प्याक्ट अपरेशन विभागका उपाध्यक्ष केमरुन अल्फोर्डसँग भेटघाट गरेका छन् । उक्त भेटघाटमा नेपालमा एमसिसी परियोजना तोकिएको समयमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकाका लागि सहउपाध्यक्ष जोनाथन बु्रकलगायत एमसिसी केन्द्रीय कार्यालयका अधिकारीको सहभागिता थियो । यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उहाँका समकक्षी रिजर्भ बैंक अफ इन्डियाका गभर्नर शक्तिकान्त दासबीच अमेरिकाको वाशिङ्टटन डिसीमा छलफल भएको छ । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका गभर्नर अधिकारी र दासबीच भेटघाटको अवसरमा दुई देशको मौद्रिक विषय डिजिटाइजेशन, भुक्तानी, ट्रेड सेटलमेन्टस, सार्क फाइनान्स, रेमिटेन्सलगायतका विषयमा छलफल भएको थियो । उक्त भेटघाटमा राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाका उच्चपदस्थ अधिकारीको समेत सहभागिता थियो । रासस
‘सरकारले विदेशी लगानी भित्र्याउन सहयोग गरेन’
काठमाडौं । द एसोसिएसन अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल(एक्यान)का अध्यक्ष दिपक पाण्डेले सरकारले विदेशी लगानी भित्र्याउन सहयोग नगरेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालमा विदेशी लगानी भित्र्याउन सहज वातवरण नभएको बताए । उनले दिगो विकासलाई जोड दिनुपर्नेमा ढुङ्गा हान्नेलाई नेपालमा सपोर्ट गर्ने गरेका आरोप लगाए । यस्तै, पाण्डेले नेपाल जस्तै अर्थतन्त्र रहेका देशहरूले ठूलो फड्को मार्दा नेपालको स्थिति उस्तै रहेको बताए । ‘नेपालको अर्थतन्त्र आयातमा मात्रै निर्भर रह्यो, अबको बिकास मेगा यातायात, मेगा लगानीमा जोड दिनुपर्नेछ,’ उनले भने । भ्रष्टाचारले लागत बढाएको र काम गर्ने मान्छेलाई नेपालमा काम गर्ने वातवरण नभएको उनी बताउँछन् ।
खुल्यो इष्टर्न हाइड्रोपावरको आईपीओ
काठमाडौं । आजबाट इष्टर्न हाइड्रोपावरकाे आईपीओ खुलेकाे छ । कम्पनीले शुक्रबारबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकाे छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले आगामी कात्तिक १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका गर्न आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका साथै ‘मेरो शेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी–बी प्लस आइएस’ रेटिङ्ग प्रदान गरेको छ । (रासस)
विराटनगरको फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति
वाशिङ्गटन । विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो । आगलागीबाट ४५ लाखको क्षति भएको छ । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो । उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको बताए । विराटनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रङ्गेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको एउटा दमकल प्रयोग गरी आगो निभाइएको बताए । रासस
सोल्टी होटलको सेयर २०० रुपैयाँमा किन्न पाइने, यस्तो छ ४ होटलको सेयरमूल्य र लाभांश
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ वटा होटलहरु सूचीकृत रहेका छन् । जसमा एउटा होटलको सेयर कारोबार रोक्का रहेको छ भने बाँकी ४ वटा होटलहरुको भने सेयर कारोबार भइरहेको छ । नेप्सेमा सोल्टी होटल, ओरियन्टल होटल, तारागाउँ रिजेन्सी होटल, चन्द्रागिरी होटलको सेयर कारोबार भइरहेको छ भने याक एण्ड यति होटल भने कारोबार रोक्का रहेको छ । २०६४ साउन ९ गते नेप्सेमा सूचीकृत भएको सोल्टी होटलको चुक्ता पूँजी ८४ करोड ४२ लाख रुपैयाँ रहेको छ । नेपालको होटल क्षेत्रलाई व्यवसयको रुपमा सुरु गर्ने यस कम्पनीको दोस्रो बजारमा बुधबारको अन्तिम मूल्य २ सय रुपैयाँ रहेको छ । कम्पनीले १० रुपैयाँबाट सेयर कारेबारा सुरु गरेकाे हाे । कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता २५२.९ रुपैयाँ र न्युनतम १८६.७ रुपैयाँ रहेको थियो । कम्पनीको ८ करोड ४२ लाख कित्ता सेयर सूचीकृत छन् । कम्पनीमा संस्थापक समूहको ८५ प्रतिशत सेयर र सर्वसाधारण लगानीकर्ताको १५ प्रतिशत सेयर स्वामित्व रहेको छ । पछिल्लो सेयर मूल्य अुनसार कम्पनीको बजार पूँजीकरण १६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । कम्पनीले आर्थिक वर्ष २०६७/२०६८ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६८/२०६९ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६९/२०७० मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०७०/२०७१ मा ५७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७१/२०७२ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०७२/२०७३ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा २६.३२ प्रतिशत र आर्थिक वर्ष २०७५/२०७६ मा २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले २ वर्षयता भने लाभांश वितरण गरेको छैन । कम्पनीलाई कार्यकारी अध्यक्ष दिनेश बहादुर बिष्टले नेतृत्व गरिरहेका छन् । ओरियन्टल होटल पनि २०६५ साउन ४ गते नेप्सेमा सूचीकृत भएको हो । बुधबारको दोस्रो बजारमा कम्पनीको सेयर मूल्य ४५५ रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य १ वर्षकाे अवधिमा अधिकतम प्रतिकित्ता ५६६ रुपैयाँ र न्युनतम प्रतिकित्ता ४१३.१८ रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने १ करोड १२ लाख कित्ता सेयर सूचीकृत छन् । पछिल्लो सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण ५ अर्ब १३ करोड २८ लाख रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७०/२०७१ मा १० प्रतिशत, आर्थिक वर्ष २०७१/२०७२ मा २० प्रतिशत, आर्थिक वर्ष २०७२/२०७३ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा २४.२१ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा २६.३२ प्रतिशत र आर्थिक वर्ष २०७५/२०७६ मा १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले पछिल्लो २ वर्षयता लाभांश वितरण गरेको छैन । तारागाउँ रिजेन्सी होटल वि.स.२०६४ साउन ९ गते नेप्सेमा सूचीकृत भएको थियो । बुधरबाको सेयर मूल्य अनुसार दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता ३३० रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४०९.५ रुपैयाँ र न्युनतम प्रतिकित्ता ३०२.१ रुपैयाँ रहेको थियो । कम्पनीमा संस्थापक समूहको ५७ प्रतिशत र सर्वसाधारण समूहको ४३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/२०७४ मा ७.३६ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा १२.६३१ प्रतिशत, आर्थिक वर्ष २०७५/२०७६ मा १२ प्रतिशत र आर्थिक वर्ष २०७६/२०७७ मा १० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले गत वर्ष लाभांश वितरण गरेको छैन । चन्द्रागिरी हिल्स वि.स. २०७७ माघ १७ गते नेप्सेमा सूचीकृत भएको कम्पनी हो । नेप्सेमा सूचीकृत होटल समूहको कान्छो कम्पनी हो । कम्पनीको बुधबार दोस्रो बजारमा सेयर मूल्य ९७४ रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य एक वर्षको अवधिमा अधिकतम प्रतिकित्ता १ हजार ७३७ रुपैयाँ र न्यूनतम प्रतिकित्ता ९ सय रुपैयाँ रहेको थियो । बुधबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १४ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । कम्पनीको १ करोड ५३ लाख कित्ता सेयर सूचीकृत छन् भने १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीमा संस्थापक समूहको ८८ प्रतिशत सेयर र सर्वसाधारण समूहको सेयर स्वामित्व १२ प्रतिशत रहेको छ । कम्पनीलाई अध्यक्ष चन्द्र ढकाल र जनरल म्यानेजर सन्जीव थापाले नेतृत्व गरिरहेका छन् । कम्पनीले सेयरधनीहरुलाई यो अवधिमा लाभांश वितरण गरेको छैन ।
अब ठूलो पानी नपर्ने
काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो । दशैं सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पु¥यायो । बाढीपहिरोजन्य घटना पनि बढे । यतिखेर दशैं सकिएर तिहारको सङ्घारमा केही दिनयता मौसम सुधारिएको छ । क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले अहिले मनसुनी गतिविधि नरहेकाले देशैभरको मौसम सुधार हुँदै गएको बताए । उनका अनुसार देशका कतिपय स्थानमा क्षणिक बदली र हल्का वर्षा हुने संभावना रहे पनि भारी वर्षा हुने देखिँदैन । उनले भने, ‘मौसम सुधारिँदै गएको छ । अब, मौसम सुक्खा हुँदै जाने भएकाले वर्षाको सम्भावना रहँदैन । केही दिनभित्र देशको पश्चिमी भूभाग भएर मनसुन पनि बाहिरिनेछ ।’ राजधानी काठमाडौंलगायतको आकाशमा क्षणिक बादल देखिए पनि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भेगमा बदली तथा प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
पैसा नभएको बैंकको चेक काट्ने दुई जना पक्राउ, २७ लाख जरिवाना तिर्नुपर्ने
काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बैकिङ कसुर मुद्दामा फरार भारत हरियाना घर भई काठमाडौं महानगरपालिका वडा नं १२ बस्ने ४४ वर्षीय शशी शर्मालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट २५ लाख जरिवाना ठहर भएपछि फरार शर्मालाई आज चन्द्रागिरि नगरपालिका वडा नं १५ सतुङ्गलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको सो कार्यालयले जनाएको छ । यसैगरी बैंकिङ कसुर मुद्दामा दुई लाख आठ हजार जरिवाना र एक दिन कैद सजाया भएका कास्कीका मादी गाउँपालिका– ७ घर भई काठमाडौँको थानकोट बस्दै आएका ५८ वर्षीय नारायण भण्डारीलाई समेत बिहीबार नै पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलापछि फरार भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले आज बालाजु चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ । रासस