फेवातालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो, पर्यटकलाई सहज
काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा फोनपेप्रति आकर्षण बढेको हो । फोनपे र फेवाताल डुंगा व्यवसायी संघसँगको सहकार्यमा केही दिनअघि फोनपे मार्फत भुक्तानी गर्न सकिने सेवाको सुरुवात भएकाे थियो । फोनपेले यतिबेला चाडवाड लक्षित विभिन्न अफरहरु समेत सञ्चालन गरिरहेको छ । यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना कार्तिक १२ गत सम्म सञ्चालन हुनेछ ।
प्लाष्टिकजन्य फूल बिक्री गर्नेलाई १ लाखसम्म जरिवाना, शुक्रबारदेखि अनुगमन हुने
काठमाडौ । वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण रोक्न माईकिङ तथा अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो । बिहीबार वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रबारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताए । उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री,वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीबारको सूचनामार्फत सचेत गराइसकेकाे जानकारी दिए । ‘तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रिवितरणमा रोक लगाउने सरकारको उद्देश्य छ, गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिबन्ध रहेको छ,’ उनले भने । उनले तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताए । ‘अनुगमनका क्रममा सरकारको निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा ४ को खण्ड क वा ख बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा २० बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ,’ उनले भने ।
समयमा फूल नफुल्दा भारतबाट २ लाख माला भित्र्याइयो
धरान । धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला तिहारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । ल्याइएका माला व्यावसायीहरुले धरान–१३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोर शतिघरमा भण्डारण गरेका छन् । हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला भारतबाट आउँदै गरेको व्यवसायीले कृषि उपजबजारलाई जानकारी गराएको उल्लेख गर्दै उनले नेपाली बजारको फूलबाट एक लाख ५० हजारको माला आउन सक्ने बताए । यो वर्ष नेपालमा फूल फुल्ने समयभन्दा अघि नै तिहार आएकाले स्थानीय उत्पादनको फूल बजारमा कम आउने भएपछि व्यवसायीले तिहार अगाडि नै फूलको माला व्यवस्थापन गरेका हुन् । विगत वर्ष २५ प्रतिशत धरानमा भारतबाट फूलका माला आयात गरिँदै आएको थियो तर यस वर्ष भने ७५ प्रतिशत नै तयारी माला भारतबाट आउने सम्भावना रहेकोे व्यवस्थापक भट्टराईको भनाइ थियो । उनका अनुसार गत वर्ष एक करोड ६२ लाख रुपैयाँको फूलको व्यापार भएको थियो तर यस वर्ष दुई करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । ‘ती फूलका माला प्रतिगोटा ४०–५० रुपैयाँ पर्न सक्छ । नेपाल यस क्षेत्रमा समयमै फूल नफुलेकाले ती माला प्रतिगोटा एक सय रुपैयाँ सम्म पर्न सक्छ’, भट्टराईले भने । बढी फूल उत्पादन हुने क्षेत्र धनकुटा, तेह्रथुम, सुनसरीको पानवारी, ठिङ्गाबारी, मोरङको केराबारीलगायत क्षेत्रमा सयपत्रीफूलका कोपिला मात्र बसेको छ । तिहार यही कात्तिक ५ गतेदेखि सुरु हुँदैछ । यो वर्षको तिहारलाई स्थानीयवासीले रोपेको फूलले काम नदिएको व्यवसायी विमल थापाले बताए । रासस
मेगा बैंकले संचालनमा ल्यायो भू–सेवा केन्द्र, अब घरजग्गा रोक्का तथा फुकुवा बैंकबाटै हुने
काठमाडौं । मेगा बैंक नेपालका ग्राहकले घर, जग्गा र अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउन उद्देश्यले भू–सेवा केन्द्र संचालनमा ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र संचालनको अनुमति लिई घर, जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरुवात गरेको बैंकले जनाएको छ । समन्वयकाे लागि अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा भएकाे सम्झाैतामा मेगा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका तर्फबाट महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरेका छन् । भू–सेवा केन्द्र संचालनमा आएपछि घर, जग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरुमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरु अनलाइनमार्फत पेश गरे पुग्ने बैंकले जनाएकाे छ ।
टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक, मूल्य ३ लाख १५ हजार पर्ने
काठमाडौं । टिभिएस मोटरको नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा कार्तिक २ गते भएको कार्यक्रममा टिभिएसका ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काद्वारा नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपीको अनावरण गरेका थिए । कम्पनीले यसकाे मूल्य ३ लाख १५ हजार ९०० रुपैयाँ ताेकेकाे छ । अहिले जगदम्बा मोटर्सले टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला नामक एक्सचेन्ज मेला पनि संचालन गरिरहेकाे छ । असोज ३१ गतेबाट सुरु भएको यो मेला कात्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । यस एक्सचेन्ज मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कष्क छुट तथा उपहारहरु पाउने छन् । कम्पनीकाे अनुसार यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कनभन्दा ७ हजार बढीको मूल्य पाउने छन् । यसका साथै, ग्राहकले सवारीसाधन नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुट पाउन सक्नेछन् । यस मेलामा न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिने कम्पनीले बताएकाे छ । यस बाहेक मेलामा ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।
स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ
काठमाडौं । हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे । ‘मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु’, अभिनेता श्रेष्ठले भने । महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ । उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्छन् । यद्यपि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहेका छन् । ‘बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरुआत गरेका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ’, अभिनेता श्रेष्ठले भने । लेखकसँगै निर्देशकसमेत रहनुभएका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिए । ‘काठमाडौँमै छायाङ्कन हुने भएकाले उनको सुविधाअनुसार अभिनय गराएको हुँ । मदन दाइ र हरि दाइ मेरा लागि स्कुल छन् । उनीहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ’, निर्देशक भट्टराईले भने । उनीहरूले यस अगाडि ‘शत्रु गते’ मा काम गरेका थिए । पत्रकार सम्मेलनमा हास्यकलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरे । ‘मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ । यसअगाडिका फिल्महरूझैँ यसमा पनि उनी जोडिँदा धन्य भएको छु’, अभिनेता आचार्यले भने । फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् । रासस
विषादी खेती प्रणालीले जनस्वास्थ्यमा असर पारेकाले प्राङ्गारिक खेतीमा विज्ञको जोड
काठमाडौं । विद्यमान विषादी खेती प्रणालीले जनस्वास्थ्यका साथै माटो, पानीलगायत पर्यावरणीय क्षेत्रमा प्रतिकूल असर पारेकाले प्राङगारिक खेतीमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए । विश्व खाद्य दिवसको अवसरमा खाद्यका लाागि कृषि अभियान, राष्ट्रिय किसान समूह, अनाजलगायतका संस्थामा आबद्ध कृषि विज्ञहरुले राजधानीमा आज आयोजना गरेको ‘जैविक खेतीः खाद्य प्रणालीको पुनरजीवन’ विषयक अन्तक्र्रिया कार्यक्रममा सो धारणा व्यक्त गरेका थिए । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले खेतीमा विषादीको प्रयोगबाट आम मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्दै गएकाले प्राङ्गारिक खेती प्रणालीको विकास अपरिहार्य रहेको बताए । सरकार सम्बद्ध अधिकारीले द्धैध चरित्र देखाएका कारण नेपालमा प्राङ्गारिक खेती हुन नसकेको उनको आरोप थियो । नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीले तुलनात्मकरुपमा आधुनिक खाद्यन्नबाली भन्दा रैथाने सन्तुलित तथा स्वस्थकर हुने बताए । खाद्यका लागि कृषि अभियानकर्मी प्रमोद दाहालले अहिलको खेती प्रणालीमा रासायनिक विषादीको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमासमेत प्रभाव बढ्दै गएको जानकारी दिए । कृषि विभागका उपमहानिर्देक डा हरिबहादुर केसीले पूर्ण प्राङ्गारिक खेती प्रणालीले खाद्य सुरक्षा र खाद्य सम्प्रभुत्ता कायम हुन नसक्ने भन्दै दुवै खेती प्रणालीलाई अगाडि लैजानुपर्ने बताए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले उत्पादन बढाउनुपर्ने चुनौती रहेकाले रासायनिक मल र विषादी प्रयोग पूर्ण प्रतिबन्धभन्दा पनि क्रमिक रुपमा घटाउँदै लैजानुपर्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले संविधानले खाद्य अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरे पनि उत्पादन प्रणालीबिना कार्यान्वयन सम्भव नहुने भन्दै उत्पादनमा जोड दिनुपर्ने बताए । किसान प्रतिनिधि माधव ढङ्गेलले पढेलेखेकाले नै नेपालको कृषि क्षेत्र ध्वस्त पारेको भन्दै नीति निर्माण तहमा बसेर उनीहरुले द्धैध चरित्र देखाएको आरोप लगाए । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले उन्नत खेती प्रणाली र जलवायु परिवर्तनको असर न्यूनीकरणबीच तालमेल सम्भव नहुने भन्दै प्राङ्गारिक कृषि प्रणालीबाट मात्रै जलवायु परिवर्तनको असर न्यूनीकरण हुनसक्ने जिकिर गरे । रासस
नेपालमै पहिलोपटक ब्रोकर नं ५८ ले सुरु गर्यो लगानीकर्तालाई कर्जा दिएर सेयर किन्ने सेवा
काठमाडौं । ब्रोकर नं ५८ अर्थात नासा सेक्यूरिटिजले मार्जिन कारोबार सुविधा सुरु गरेको छ । कम्पनीले नेपालमै पहिलोपटक लगानीकर्तालाई सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोबार सुविधा सेवा सुरु गरेको हो । नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपछि लगानीकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्यूरिटिज पहिलो ब्रोकर कम्पनी हो । कम्पनीले यस सेवामा लगानीकर्ताहरुका लागि २ प्रकारका योजनाहरु ल्याएको छ । पहिलो योजना अन्तरर्गत १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन् । ३० दिने अवधिका लागि उपलब्ध गराइने यस योजनामा सेवा शुल्क र ब्याजसहित ९ हजार ९९९ रुपैयाँ लाग्ने कम्पनीले जानकारी दिएको छ । दोस्रो योजना अन्तर्गत १० लाखसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि सेवा शुल्क र ब्याजसहित २१ हजार ५८ रुपैयाँ लाग्नेछ । कम्पनीको अनुसार यो सुविधा उपयोग गर्न चाहने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रही कारोबार गर्नुपर्ने छ । कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्ने जनाएको छ । मार्जिन कारोबार सुविधा लिई कारोबार गर्नका लागि ग्राहकले कम्पनीको वेबसाइटमा गई आवेदन दिन सक्नेछन् ।