विकासन्युज

कसरी सफल बन्यो बुद्ध एयर ? यस्तो छ बिरेन्द्र बस्नेतको संघर्षको कथा

नेपालको हवाई उद्योगमा बुद्ध एयर अग्रणी संस्था बनेको छ । यसले जनजनको विश्वास जितिसक्यो । हामीले वार्षिक करिब ३० लाख स्वदेशी तथा विदेशी यात्रुलाई सेवा दिइरहेका छौं । एउटा जहाज र ९९ जना कर्मचारीबाट हामीले यो कम्पनी सुरु गरेका थियौं । अहिले १६ वटा जहाज छन् भने १५ सय कर्मचारी छन् । यहाँसम्म आइपुग्दा धेरै उतारचढाब भोग्नु पर्याे । अप्ठेरा दिनमा हामी कहिल्यै आत्तिएनौं, निरन्तरको सक्रियता, यात्रुको सेवा र धैर्यबाट हामी सफलताको सिंढी चढिरहेका छौं । राज्यका सबै नियम तथा कानुन अक्षरशः पालना गरी राष्ट्रको गौरवमय उद्योगका रूपमा बुद्ध एयर स्थापित हुन पुगेको छ । हामी उत्साहित छौं । अझ धेरै वर्ष यही रफ्तार र प्रगतिले यात्रुको सेवा गर्दै जाने प्रण गर्दछौं । नाम र लोगो कम्पनी स्थापना गर्ने तयारीमा नाम र लोगो के राख्ने भन्नेमा अलमल थियो । सुरुमा हनुमान एयर राख्ने कि भनेर सल्लाह गर्यौं । घरपरिवार र साथीसँगीको सल्लाहमा ‘बद्ध एयर’ राखियो र लोगोमा बुद्धको मूर्ति । लोगो निकै आकर्षक देखिएको थियो । एक दिन श्रीलङ्काली मित्रले ‘यो जहाजमा कोही चढ्दैनन्’ भन्दा झसङ्ग भयौं । किन चढ्दैनन् ? ‘टिकट र बोर्डिङ पासमा बुद्धको मूर्ति राखिएकाले, तिनले भने, ‘बुद्ध अंकित टिकट च्यातिन्छ, कुल्चिन्छ, धार्मिक भावनामा ठेस पुग्छ ।’ त्यस लगत्तै न्यूरोडमा रहेका कलाकारलाई भेटेर हामीले लोगो परिवर्तन गर्याैं । लोगो परिवर्तन गर्दा हिज्जे गल्ती भएछ, ‘बुद्ध’ हुनुपर्नेमा ‘बुध्द’ भएछ । जुन अहिले पनि निरन्तर छ । जहाज छनौट कुन जहाज कसरी ल्याउने भनेर हामीले धेरै छलफल गर्याैं । तिनताका एउटा बेलायती जहाज थियो, एडभान्स टब्रो प्रोप (एटिपी) । एम्रो (एचएस ७४) भन्ने पुरानो जहाज नेपालमै चलिरहेको थियो । त्यो जहाजले एक घण्टा लगाएर काठमाडौंबाट विराटनगर पुर्याउँथ्यो । त्यसको सेकेन्ड जेनेरेसन पनि आइसकेको थियो । टब्रो प्रोपको थोरै परिष्कृत ‘इटिटिपी’ आयो, तर त्यो सफल हुन सकेन । त्यस्तैमा हाम्रा आफन्त फिजोनाथ नेपालीले निकै उत्साहित भएर भन्नुभयो, ‘वीच ९०’ नयाँ जहाज आएको छ । माउन्टेन फ्लाइटका लागि निकै राम्रो छ, १८ सिट हो । हामी ल्याएर चलाउन सक्छौं । फाइनान्स पनि गर्न सकिन्छ । वीच ‘हकर्स’ कम्पनीको जहाज हो । वीचभन्ने अमेरिकी कम्पनीले हर्कस भन्ने बेलायती कम्पनी किनेर बनाएको थियो । रेथियुन नामका डिफेन्स म्यानुफ्याक्चरिश कम्पनीले त्यसको उत्पादन गरेको थियो । पाँच मिलियन डरसम्ममा जहाज खरिद गर्न सकिन्थ्यो । हामीलाई जुन भए पनि जहाज ल्याउनु परेको थियो । गर्ने भनेपछि गर्ने-गर्ने । पुँजीको जोहो बीचक्राफ्ट जहाजको मूल्य त्यतिखेर झण्डै ३२ करोड रुपैयाँ थियो । यत्रो ठूलो रकम जोहो गर्न बडो कष्ट भयो । हामी कहाँ वित्तीय योजना हेर्ने मदनबहादुर श्रेष्ठ र मैले एसेम्बल्ड कम्प्युटरमा विजनेस प्लान तयार गर्याैं । त्यही कम्प्युटर चलाउँदा चलाउँदै वर्ड र एक्सेल मज्जाले सिकेँ । बिजनेस प्लान लिई हामी चारैतिर भौतारियौं । सञ्चय कोष लगायत विभिन्न बैंकमा पनि पुग्यांै । भनसुनका लागि मन्त्रालय, विभाग, सिंहदरबार,वालुवाटार पनि कुद्यौं । अन्त्यमा नेपाल बैंक अफ सिलोन र कर्मचारी सञ्चय कोषको सहवित्तयकरणबाट ऋण स्वीकृत भयो । जावलाखेल अफिस जावलाखेल आज व्यस्त चोकमा गनिन्छ । त्यतिखेर खासै ट्राफिक थिएन । अहिलेको केन्द्रीय कार्यालय जावलाखेलमा ८०० वर्गफिटको हाम्रो घर थियो । हाम्रो कार्यालयको सुरुवात त्यहीबाट भयो । साँघुरो अफिसमा हामी सबै जना कच्याककुचुक परेर बस्थ्यौ । बुद्ध एयर स्थापनासँगै झण्डै ९९ जना कर्मचारी थियो । अहिले २५ वर्ष पछि पनि ४९ जना साथीहरु त सँगै नै छन् । एउटा सपनाको अवतरण साँझ पर्न खोजेको थियो । म मारुती–८०० चढेर एयरपोर्टतिर हानिँदै थिएँ, भीनभवनको ओरालोमा पुग्दा जहाज ठ्याक्कै कोटेश्वर पार गरेर धावनमार्गतिर सोझिएको देखियो । ब्रान्ड न्यू जहाज । पुच्छारमाथि बत्ती पिलिक्क–पिलिक्क बाल्दै, हाम्रो लोगो टल्काउँदै गौचरणमा ओर्लियो । म निकै भावुक र आह्लादित भएँ । साँच्चै जहाज ल्याउने सपना पूरा भएको हो त्यो क्षण । परीक्षण उडान दशैं टीकाको दिन परीक्षण उडान भर्ने तय गर्यौं । जीवनमै पहिलो पटक पोखरा गइयो, त्यो पनि आफ्नै जहाजमा । दिउँसो गएर बेलुकी फर्कियौं । पोखरामै लन्च पनि खायौं । पहिलो व्यावसायिक उडान ११ अक्टोबर १९९७ का दिन हामीले पहिलो व्यावसायिक उडान सुरू गर्याैं । माउन्टेन फ्लाइट, पोखरा र विराटनगरको उडान राखेका थियौं । माउन्टेन फ्लाइटका क्याप्टेन रञ्जन शर्मा हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा त्यो उडान भएको थियो । उहाँ अहिले पनि बुद्ध एयरको अपरेसन डिपार्टमेन्टको डाइरेक्टर र इन्स्ट्रक्टर पाइलट हुनुहुन्छ । नेपालको हवाई इतिहासमा पहिलो पटक काठमाडौं–विराटनगर १ घण्टा लाग्ने उडान त्यसको आधा समयमा पूरा गरी नयाँ इतिहास रचेका थियौं हामीले । त्यहीबेलादेखि नेपालमा नयाँ पुस्ताका विमानहरुले आन्तरिक उडान सुरु गरेका हुन् । तलब दिन पनि अप्ठ्यारो ऋणमा ल्याइएको जहाज, त्यसको अपरेसन खर्च, बैंकको किस्ता र अस्वस्थ प्रतिस्पर्धाले गर्दा पैसा जोहो गर्न पनि धौधौ परेको सन् २००२ ताका । त्यसबेला बुद्ध एयरकर्मीसँग भलाकुसारी गर्याै । ‘तलबभन्दा पनि कम्पनी चल्नु पर्छ । पहिला कम्पनी हेरौं, त्यसपछि तलब हेरौंला’ भन्ने कुरा आयो । त्यो दिन म साथीहरुको ऋणी भएको थिएँ । आज हामी करिब १५०० जनाको परिवार भएका छौं । तलबसँगै कतिपय बेलामा बोनस पनि बाँडेका छौं । कोभिड कालबाहेक उडान गरेको पाँच वर्षपछि लगभग हरेक वर्ष कर्मचारीलाई बोनस बाड्न सफल भएका छौं । विश्वकै उड्डयन इतिहासमा सायद धेरथोरै कम्पनीले मात्र यस्तो सफलता प्राप्त गरेको हुनाले हामी धेरै उत्साहित छौं । सरकारलाई पहिलो कर पैसा कमाउन कसलाई मन नलाग्ला ? तर यो रहर पूरा गर्दा पनि इमान्दारी र पारदर्शिता छाड्नु भएन । हिसाबकिताब पारदर्शी राख्न, रिट्ठो नबिराई राज्यलाई कर तिर्न हामी सुरूदेखि नै भित्रैदेखि प्रतिबद्ध छौं । त्यसैले सार्वजनिक रूपले भन्दै आएको पनि छु–हामी कर छली गर्दैनौं । खासमा हामीलाई सरकारले दिएको ‘ट्याक्स होलि–डे फापेन’ । पाँच वर्षसम्म सरकारलाई कर तिर्नु नपर्दा २० करोड घाटा भएको थियो । छैठौं वर्षदेखि कर तिर्नुपर्ने भयो, अनि फेरि खातामा नाफा देखिन थाल्यो । पाँच वर्ष घाटा भएको रकम हामीले छैठौं वर्षको हिसाबमा सार्न सक्दैनथ्यो । ‘होलि–डे’ नभएको भए सकिन्थ्यो । अहिलेसम्म राज्यलाई अरबौ रुपैयाँ कर तिरिसकेका छौं । हामी हर महिना १० करोड रुपैयाँभन्दा बढी तलबै बाँड्छौं । साँढे दुई करोड रुपैयाँ त्यसबाटै राज्यकोषमा कर जाने भयो । कम्प्युटरकृत कार्य सञ्चालन दुई दशक अगाडि कम्प्युटर आजको जस्तो सजिलो थिएन । महँगोका साथै चलाउने जनशक्ति पनि थिएनन् । हाम्रा कामकाज बहिखातामा लेखिन्थ्यो । टिकट, सिट पनि बहिखातामै हुन्थ्यो । भुलचुकले कतिपय बेला जहाजको भन्दा बढी सिट पनि बेचिन जान्थ्यो । एक यात्रुले अदालतमै मुद्दा हाल्छु भनेका पनि थिए । नेपाली जनशक्तिकै सहयोगले विस्तारै हामीले सबै सिस्टम बनायौँ । आज हाम्रो सम्पूर्ण कार्य कम्प्युटरकृत भएको छ । व्यवसाय सञ्चालन गरेको ६ महिनामै हाम्रा काम कम्प्युटरकृत गरेका थियौं । नेपालमा पहिलो पटक यस्तो व्यवस्था भएको थियो । ठूलो जहाजको आवश्यकता सानो जहाजको सञ्चालन खर्च स्वभावतः बढी नै हुने हो । प्रतिस्पर्धा गर्न पनि गाह्रो । सबै बुद्ध एयरकर्मीको एकै स्वर बन्यो, ‘अब हामी ठूलो जहाजमा जानुपर्छ । त्यसै अनुरूप हामीले सन् २००८ मा अर्काे जहाज एटीआर–४२ भित्र्यायौं । आईएफसीसँगको सहकार्य ठूलो जहाज त ल्याउने, फेरि लगानी पनि ठूलो यत्रो रकम फेरि कसरी जोहो गर्ने ? बैंकहरुको चर्काे ब्याजदर र सर्तहरु । यस्तैमा अन्तर्राष्ट्रिय संस्था आईएफसीसँग सम्पर्क भयो । उहाँहरुको सर्त पनि राम्रै र कडा थियो तर ब्याजदर निकै सस्तो । हामीले उहाँहरुसँग सहकार्य गर्यौ । १० वर्षमा तिर्नुपर्ने ऋण हामीले ७ वर्षमै चुक्ता गर्याै । आईएफसीको निक्कै कडा विश्लेषणमा उत्रिन हामी सफल भयौं र यो नै नेपाली हवाई क्षेत्रमा आईएफसीले प्रवाह गरेको पहिलो ऋण, हवाई सेवा कम्पनी बन्यो । ह्यांगर निर्माण सन् २००८ मा आईएफसीसँग हामीले दुईओटा एटीआर ४२ र ह्यांगर निर्माणका लागि रकम प्राप्त गर्याै । यस अघि अर्का एवरलाइन्स नेकोन एयरले पनि एटीआर जहाजबाटै अपरेसन गरेको थियो । कारणवश ती बन्द भए । कारण खोज्दा मर्मत सम्भार निकै महँगो र पायक नहुँदा कर्मचारीलाई पनि गाह्रोसारो । अहिलेको टेक्निकल टिम त्यतिखेर इन्जिनियरिङ डिपार्टमेन्ट थियो । इन्जिनियरिङसँग सल्लाह गर्दा आफ्नै ह्यांगर भएमा मर्मतसम्भार पनि सजिलो र कम खर्च हुने सुझाए । त्यसैअनुरूप २० करोड रुपैयाँमा ह्यांगर निर्माण गर्याै । हाम्रो ह्यांगरले वेस्ट आइपिएमए अवार्ड पनि प्राप्त गरिसकेको छ। प्रकृति प्रकोप सन् २००८ पछि कोसीको धार परिवर्तन हुँदा पूर्वको राजमार्ग निकै दिन अवरूद्ध भएको थियो । सर्वसाधारण राजधानीदेखि टाडिने अवस्था आएको थियो । यस्तो बेला हामी सबै कर्मचारी मिलेर पूर्वको उडान तालिकालाई सहज बनायौं । एकाबिहानैदेखि बेलुकासम्म निरन्तर उड़ान भरेका थियौं । त्यस उडानले हामीलाई आर्थिक रूपले सहज पनि बनाएको थियो । बैंकको ऋण पनि समयमै तिर्न सफल भएका थियौं । लगत्तै थप जहाज पनि भित्र्यायौं । दुर्घटनापछिको सिकाइ सन् २०११ सेप्टेम्बर २५ को दिन हाम्रो स्मृतिमा ताजै छ । माउन्टेन फ्लाइट गरी फर्केको जहाज ललितपुरको कोटडाँडामा दुर्घटनामा पर्याे । १६ जना यात्रु तथा ३ जना चालकदल गरी १९ जना गुमाउनुको पीडा अझै छंदैछ । यसपछिका हाम्रा उडान र जनशक्तिलाई थप सशक्त बनायौं । तालिका व्यापक बनायौं । नयाँनयाँ सुरक्षाका प्रविधि भित्र्यायौ । एफडीएमको मद्दतले अहिले हामी हरेक उडानलाई सूक्ष्म निगरानी गरिरहेका हुन्छौं । हाम्रो उडान तथा मर्मतसम्भारलाई अन्तर्राष्ट्रिय संस्थाको सहयोग अडिट पनि गरायांै, जुन निरन्तर जारी छ ।आज पनि हरेक सेप्टेम्बर २५ का दिन ‘इमरजेन्सी डे’ का रुपमा सुरक्षा सम्बन्धी कार्यक्रम गरी यो घटनालाई हाम्रा कर्मचारीकाबीच ताजा राखेका छौं । अन्तर्राष्ट्रिय उडान देशैभरि पखेटा फिजाइसकेपछि, अन्तर्राष्ट्रिय उडानको सपना साकारः पार्नतिर लाग्यौ । सन् २०१० को अगस्टदेखि भुटानको पारो विमानस्थलमा उडान भर्याैं । यो नै हाम्रो पहिलो अन्तर्राष्ट्रिय उडान थियो । अर्को वर्ष सन् २०११ को जनवरीबाट भारतको उत्तरप्रदेशको राजधानी लखनउलाई पनि काठमाडौसँग जोड्यौ । यसैगरी सन् २०१२ को मार्चबाट भारतकै उत्तरप्रदेशको धार्मिक नगरी वाराणसीको उडान भर्याै । जुन अहिले पनि जारी छ । साताको दुई दिन सोमबार र शुक्रबार वाराणसीको उडान भरिरहेका छौं । सन् २०१९ को मे देखि भारतको वेष्ट बङ्गालको राजधानी कोलकोत्ताको पनि उडान सुरु भर्याै । पछि विभिन्न कारण र परिस्थितिवश वाराणसी बाहेक अन्य गन्तव्यका उडान बन्द गर्न बाध्य भयौं । सबैका लागि हवाई यात्रा ठूला जहाज र आफ्नै ह्यांगर निर्माणपछि सञ्चालन खर्च स्वतः घट्यो । यसको फाईदा अहिले प्रत्यक्ष रूपमा सबै यात्रुवर्गले पाएका छन् । आजभन्दा दुई दशक अगाडिको भाडादर र अहिलेको भाडादर तुलना गर्ने हो भने भाडामा खासै अन्तर देखिंदैन । चार जात छत्तिस वर्णको साझा फूलबारी हाम्रो विमानस्थल भएको छ। साधारण चप्पल लगाउनेदेखि सुटेड बुटेड यात्रुहरु एउटै जहाजबाट यात्रा गरिरहेका हुन्छन् । ठूला जहाजसँगै विभिन्न वर्गीकृत भाडा दर ल्याई इतिहासकै सस्तो भाडादर कायम गरी सबै नेपालीलाई हवाईजहाज चढ्ने अवसर सिर्जना गर्याै । हाल वर्षको ३० लाख यात्रुलाई सेवा दिइरहेका छौं । इमरजेन्सीमा पनि सहज उडान विसं २०६१ माघ १९ मा देशैभर इमरजेन्सी लागू हुँदा उडान सेवा सञ्चालनमा निकै असहज भएको थियो । टेलिफोन लाइन काटिँदा हामीले वाकीटाकीका माध्यमबाट उडान सञ्चालन गरेका थियौं । लगत्तै वाकीटाकी पनि काटिँदा निकै असहज भएको थियो, तर पनि यात्रुलाई सहज उडानका लागि निकै चुस्तताका साथ सेवा प्रदान गरेका थियौं । एटीआर–७२ को छलाङ सानो १८ सिटे जहाजपछि ४२ सिटे एटीआर–४२ जहाजको सफल व्यवसायिक उडान । त्यसपछि, अझ ठूलो जहाज किन नल्याउने ? यसले उडान खर्चलाई अझ धेरै घटाउँछ र सबै तप्काका लागि हवाई उडान सहज हुन्छ भनेपछि हामीले सन् २०१० को जुलाईदेखि एटीआर ७२ जहाजबाट सेवा विस्तार गर्यौं । यो जहाजले एकैपटक ७० जना यात्रुलाई सेवा दिन्छ । हामीसँग ११ ओटा एटीआर ७२ जहाज छन् । भुँइचालो वि.सं. २०७२ वैशाख १२ को महाभूकम्पका कारण विशेषतः गोरखादेखि काठमाडौको जनजीवन निकै प्रभावित बन्यो । काठमाडौबाट आउजाउ गर्नेको संख्या हवात्तै बढेको थियो । यस्तो विषम् परिस्थितिमा पनि हाम्रा सम्पूर्ण कर्मचारीहरु उडान सहज बनाउन खटिएका थिए । मोफसलबाट राजधानीमा उडान आन्तरिक उडान केन्द्रीय राजधानी काठमाडौबाटै हुने गरेको छ ।यसबाट मोफसलका यात्रुलाई एकाबिहानै राजधानी आउन गाह्रो र ढिलो हुने भएकाले हामीले मोफसलबाट पनि उडान गुरु गर्याै । यसको सुरुवात हामीले विराटनगरबाट गरेका थियौं । अहिले त्रिभुवन विमानस्थल, काठमाडौंको आन्तरिकतर्फ जहाज राख्ने पर्याप्त ट्याक्सी वे नभएको हुँदा जहाजको रात्रि विसौनी धनगढी, जनकपुर, भद्रपुर र भैरहवामा हुने गरेको छ । भोलिपल्ट एकाबिहानै यी गन्तव्यबाट काठमाडौं उड्छन् । पोखरा हब पोखरालाई हामी सबैजसो गन्तव्यबाट जोड्ने क्रममा छ । पोखराबाट भैरहवा, भरतपुर, नेपालगञ्जको सिधा उडान भरिरहेका छौं। अब पहिलाजस्तो काठमाडौं आउनै पर्ने बाध्यता हटेको छ । समय पनि धेरै लाग्ने र उडान खर्च पनि महँगिने हुँदा धेरैजसो पर्यटकलाई पोखरा अपायक भएको थियो । अब यो समस्या सबैका लागि समाधान उन्मुख भएको छ। पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि एटीआर जहाजबाट भारतको नयाँ दिल्ली जोड्नेछौ । कोभिड–१९ को चुनौती कोभिडको चुनौति अहिले पनि उत्तिकै छ । संसारका धेरैजसो देशले लकडाउन नै गरे । हामी कहाँ सन् २०२० मार्च २४ देखि पहिलो लकडाउनसुरु भयो । यो ६ महिनासम्म चल्यो । अर्का लकडाउन सन् २०२१ अप्रिल २९ देखि २ महिना भयो । अर्थात् ८ महिनासम्म विमान सेवा पूर्ण बन्द रह्यो । हामी शून्य आम्दानीमा झर्यााै । आम्दानी नभए पनि जहाजको नियमित मर्मतसम्भार, तलब खर्च यथावत नै रह्यो । हामीले यस अवधिमा सबै कर्मचारीलाई केही कटौती गरे पनि तलब वितरण जारी नै राख्यौं । कोभिडपछिका सुषप्त पर्यटन बजारलाई बुद्ध एयरले विभिन्न किसिमका स्कीम, विस्काउन्टबाट माथि ल्याउने कार्य गर्याे । यसोगर्दा कोभिडविरुद्धका सुरक्षा प्रोटोकोललाई त्यत्तिकै ध्यान दिइयो । सामाजिक उत्तरदायित्व कार्यक्रम हाम्रो सामाजिक उत्तरदायित्व कार्यक्रम सन् २००४÷२००५ देखि नै निरन्तर चल्दै आइरहेको छ । पूर्वी नेपालको मोरङ, सुनसरी र झापाका किसानलाई खेतीकिसानी सजिलो बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका छौं । परम्परागत खेतीपातीबाट उल्लेख्य मात्रामा अन्न उत्पादन नहुने र खर्च पनि धेरै हुने हुँदा बुद्ध एयरले यान्त्रिकरण प्रविधि भित्र्र्याई खेतीकिसानीलाई सजिलो बनाएको छ। कार्यक्रमको उद्देश्य निर्वाहमुखी खेतीकिसानीलाई व्यवसायमुखी रूपान्तरण गर्नु हो । पर्वतीय उडानमा छलाङ सगरमाथा पर्वतीय उडानको स्थापना हामीले पहिलो उडानबाट गर्याै र हालसम्म ५ लाख ५० हजार भन्दा बढि पर्यटकलाई सेवा दिई युएसडी ५ करोड २० लाख भन्दा बढि विदेशी मुदा राष्ट्रको लागि कमाएका छौं । आज सगरमाथा मात्र होइन अन्नपूर्ण÷धवलागिरि हवाई हिमश्रृंखला दर्शन पर्यटकहरुको लागि स्थानीय गन्तव्य बनाई राष्ट्रको लागि निरन्तर विदेशी मुदा कमाउने आधार बनाएका छौं । (लेखक बुद्ध एयरका प्रबन्ध निर्देशक हुन् । बुद्ध एयरको २५औं वार्षिकोत्सवको अवसरमा प्रकाशित जर्नलमा उनले राखेको विचार)

तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ बराबर छ । सो अवधिमा देशको कूल व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबर भएको विभागले जनाएको छ । यस्तै, सो अवधिमा कूल निर्यात ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको छ । आर्थिक वर्ष २०७८र७८ को तुलनामा चालू आवको तीन महिनामा कूल व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गत आवमा कूल पाँच खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको व्यापार भएकामा यस आवको तीन महिनामा मात्रै चार खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ बराबरको मात्रै व्यापार भएको छ । यस आधारमा गत आवको तीन महिनाको तुलनामा चालू आवको तीन महिनामा १८ दशमलव ५४ प्रतिशतले ओरालो लागेको हो । गत आवमा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकामा चालू आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आई चार खर्ब ९९ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो । यस्तै, गत आवको तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात भएकामा चालू आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो । रासस

बेलायती विदेशमन्त्रीले भने : भारतसँगको व्यापार वार्तामा धेरै प्रगति भएको छ

नयाँ दिल्ली । बेलायतको यूरोपेली सङ्घबाट भएको बहिर्गमन (ब्रेक्जिट) पछि भारतसँग भएको स्वतन्त्र व्यापार सम्झौता वार्ता ‘निकै सकारात्मक’ रहेको बेलायतले आइतबार जनाएको छ । भारत भ्रमणका क्रममा बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार प्रकाशित टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भने, ‘हामीले वार्तामा धेरै प्रगति गरेका छौं र हामी दुवै देशका लागि हित गर्ने सम्झौताका लागि काम गरिरहेका छौं ।’ ‘भारतसँगको हाम्रो साझेदारी हाम्रा लागि महत्वपूर्ण छ र यसलाई हामी बढाउन र विकास गर्न चाहन्छौं भन्ने कुरामा हामी स्पष्ट छौं,’ दुई दिने भ्रमणका क्रममा उनले भने । भारत र उसका पूर्व औपनिवेशिक शासकबीच करिब १८ महिनादेखि व्यापार सम्झौताका लागि वार्ता भइरहेको छ, जुन बेलायतका लागि महत्वपूर्ण कोसेढुङ्गा हुनेछ । कडा पेय पदार्थ ह्विस्कीजस्ता बेलायती आयातमा कर घटाउने बदलामा भारतले आफ्ना नागरिकका लागि थप काम र अध्ययन भिसाको माग गरेको छ । तर अक्टोबर २४ देखि सुरु भएको भारतीय धार्मिक चाड दीपावलीको अवसरमा सम्झौताको लागि लक्षित मिति बेलायतको सत्तारुढ कन्जरभेटिभहरूबीच थप आप्रवासनको भारको भयका कारण वार्ता असफल भएको समाचारहरू केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् । हालै पुनर्बहाली गरिएकी दक्षिणपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले बेलायती भिसा अवधि नाघेकाहरूको सबैभन्दा ठूलो समूह भारतीय भएको टिप्पणी गरेपछि भारतीय पक्ष चिढिएको भन्ने समाचारहरू पनि आएका छन् । यद्यपि, क्लेभरलीले टाइम्ससँगको अन्तवार्तामा भने, ‘आफुले यसलाई ‘धेरै सकारात्मक’ कुराको रूपमा हेरेको र बेलायतमा अध्ययन र व्यापारमा संलग्न धेरै भारतीयहरूले बेलायतमा जान चाहने विद्यार्थी र व्यापारीको लागि सम्झौतालाई अवसरका रूपमा हेरेका छन् ।’ उनले थपे, ‘निस्सन्देह, यसको अर्थ हामीले हाम्रा प्रक्रियाहरू सही छन् भनेर सुनिश्चित गर्नुपर्छ ।’ भारतीयहरूका प्रिय पात्र ऋषि सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गर्दा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतमा बेलायती प्रधानमन्त्री प्रतिको उत्साह र उमङ्ग देख्दा खुसी लागेको क्लेभरलीले बताए ।

यी हुन् भिभोको वाई सिरिजअन्तर्गतका उत्कृष्ट स्मार्टफोनहरू

काठमाडौं । विश्व स्मार्टफोन उद्योगको अग्रणी ब्राण्ड, भिभोले वाई सिरिजका स्मार्टफोनमार्फत नेपाली प्रयोगकर्ताहरुका लागि धेरै विकल्पहरू उपलब्ध गराउँदै आइरहेको छ । ब्रान्डले आफ्नो स्मार्टफोनमा नयाँ क्यामेरा प्रविधि र नयाँ विशेषताहरु समावेश गरेर बजारमा बलियो पकड बनाउन सफल भएको छ । वाई सिरिजका सबै स्मार्टफोनहरू अत्याधुनिक प्रविधिद्वारा डिजाइन गरिएकाले यसले उत्कृष्ट पर्फमेन्श र नयाँपनमार्फत ग्राहकको अनुभवलाई अझ वृद्धि गर्ने कम्पनीकाे दावी छ । कम्पनीकाे अनुसार भिभो वाई सिरिजका स्मार्टफोनहरु ग्राहकहरूका लागि सुलभ मूल्य दायरामा फ्ल्यागशिप अनुभवका साथै नयाँ क्यामेरा प्रविधि तथा शक्तिशाली कार्यसम्पादन प्रदान गर्न केन्द्रित रहेका छन् । १) वाई३५ भिभो वाई३५ स्टाइल र प्रविधिको उत्कृष्ट संयोजन भएको स्मार्टफोन हो । यसमा एक्सटेन्डेड र्याम ३.० (८जीबी + ८जीबी) छ जसले एउटा एपबाट अर्कोमा सहजै स्विच गर्न अनुमति दिन्छ र निर्बोध अनुभव प्रदान गर्दछ । कुनै पनि कार्यहरु स्मुथ रुपले गर्न वाई३५ मा ५०००एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले सपोर्ट गर्दछ । यस उपकरणले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्नुका साथै यसमा ५०एमपी ट्रिपल रियर क्यामेरा रहेको छ जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ र व्यावसायिक क्यामेरा जस्तै उच्च–स्तरीय तस्वीरहरु खिच्दछ । यस क्यामेराले सुपर नाइट क्यामेरा जस्ता सुविधाहरू पनि प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ । यसकाे बोकेह फ्लेयर पोट्र्रेटले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र सुन्दर पोट्र्रेटहरू खिच्न मद्दत गर्दछ । २) वाई३३एस वाई३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो जसलाई नेपाली ग्राहकहरूले धेरै मन पराएका छन् । यो फोनमा सार्प र अल्ट्रा–क्लियर फोटोग्राफीको लागि ५०एमपी रियर क्यामेरा र १६एमपी सुपर नाइट सेल्फी क्यामेरा रहेको छ । यो शक्तिशाली स्मार्टफोन १८ वाट फास्ट चार्जको साथ ५०००एमएएच ब्याट्रीमा आउँछ । वाई३३एस मा एक्सटेन्डेड र्याम २.० (८जीबी + ४जीबी) रहेको छ । स्लिम र ट्रेंडी स्मार्टफोन वाई३३एस को मूल्य २९ हजार ९९९ रुपैयाँ रहेको छ । ३) वाई२२ वाई२२ प्रयोगकर्ताहरूका लागि राम्रो विकल्प हो । यसमा मिडियाटेक हेलियो जी८५ प्रोसेसर छ जसले शक्तिशाली कार्यसम्पादनको प्रतिज्ञा गर्दै हरेक कार्यलाई सहज बनाउँछ । यो १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीमा आउँछ र विशाल ब्याट्री क्षमताको साथमा शक्तिशाली प्रोसेसरको संयोजनले वाई२२ लाई धेरै आकर्षक बनाएको छ । यसमा ५०एमपी रियर क्यामेरा रहेको छ जसले स्पष्ट, सुन्दर र उज्यालो तस्बिरहरू लिन सम्भव बनाउँछ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट जस्ता विभिन्न क्यामेरा सुविधाहरू पनि उपलब्ध छन् । भिडियो फेस ब्यूटी फिचरले सेल्फी लिने वा भिडियो खिच्ने प्रयोगकर्ताहरूको अनुहारको अझ आकर्षक बनाउँछ । साथै अर्कोतर्फ मल्टि स्टाइल पोट्र्रेटले व्यक्तिगत पोट्र्रेट खोज्ने प्रयोगकर्ताहरूको लागि धेरै स्टाइलहरू समावेश गर्दछ । ४) वाई२२एस वाई२२एस ले भिभोको वाई सिरिजको गतिशील र युवा–केन्द्रित दृष्टिकोणलाई अगाडि बढाउँछ, र प्रयोगकर्ताहरुका विभिन्न आवश्यकताहरू पूरा गर्न प्रयासरत छ । वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीबी र्याम र १२८जीबी रोम रहेको छ, जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाई एकै साथ धेरै ठुला एपहरू चलाउन अनुमति दिन्छ । यसको एक्सटेन्डेड र्याम विशेषतामार्फत निष्क्रिय रोमलाई प्रयोग गर्न सकिन्छ र १टीबी सम्म मेमोरी कार्ड थप्न पनि सकिन्छ । वाई२२एस मा एआई पावर–सेभिङ टेक्नोलोजी पनि छ र ५०००एमएएच ब्याट्रीलाई १८ वाट फास्ट चार्ज ले सर्पोट गरेको छ । यसका साथै, ५०एमपी रियर क्यामेरा र ८एमपी एचडी फ्रन्ट क्यामेरासंग भिडियो फेस ब्यूटी अप्टिमाइज गरिएको छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्वीरहरू क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडको साथ अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम प्रकाशका क्षणहरूलाई जादुई रूपमा उत्कृष्ट बनाउन अनुमति दिन्छ । यसबाहेक, प्रयोगकर्ताहरुलाई व्यक्तिगत पोट्र्रेट खिच्न वाई२२एस मा मल्टी–स्टाइल पोट्र्रेट– फेस ब्यूटी, बोकेह, र अन्य स्टाइलहरू समावेश छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरू खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ । ५) वाई५५ वाई५५ शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाई सिरिजको नयाँ स्मार्टफोन हो । यस फोनमा ५० एमपी एचडी ट्रिपल क्यामेरा छ जसले डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो प्रदान गर्दछ । वाई५५ मा स्न्यापड्रेगन ६८० प्रोसेसर छ जसले यस स्मार्टफोनलाई गेमिङ तथा स्ट्रिमिङका लागि सक्षम बनाउँछ । यो उपकरण ५०००एमएएच ब्याट्रीको साथ आउँछ जुन ४४ वाट फ्ल्यासचार्जद्वारा समर्थित छ । यो स्मार्टफोन ३३ हजार ९९९ रुपैयाँमा देशभर उपलब्ध छ ।

पुस्तक बिक्रीको रकम मानवीय सेवामा

काठमाडौं । नेपाल क्यान्सर अस्पताल एवम् रिसर्च सेन्टर ललितपुरका प्रमुख कार्यकारी अधिकृत प्रा डा बच्चुकैलाश कैनीले हालै प्रकाशित आफ्ना पाँच कृतिको बिक्रीबाट आउने सबै रकम मानवीय सेवामा लगाउने घोषणा गरेका छन् । पुस्तक बिक्रीबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धार गरी संरक्षण गर्दै आएको संस्था मानवसेवा आश्रमलाई दिने डा कैनीले बताए । उनले पहिलो चरणको सहयोगअन्तर्गत पुस्तक विमोचनका अवसरमा उठेको २१ हजार आठ सय ६० रुपैयाँ आश्रमका केन्द्रीय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरे । सो क्रममा उनले पुस्तकबाट जति पनि रकम आउँछ, सबै आश्रमलाई दिने लामाले जानकारी दिए । केन्द्रीय सदस्य लामाले परोपकारी व्यक्तिको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुहरुको पालनपोषण भइरहेको बताए । उनले डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताए । डा कैनीले हालै अदृश्य मनका सादृश्यहरू, सिमाहीन सिमा र रङको पहिचान, भिसागर्ल, र प्रतिबिम्ब गरी एकैसाथ पाँच कृति सार्वजनिक भएको थियो । ‘मेरा यी पाँच कृति बिक्रीबाट आएको सबै पैसा म मानवसेवा आश्रमका लागि अर्पण गर्नेछु, यसले आश्रमको सेवालाई थोरै भए पनि सहयोग पुग्ने अपेक्षा छ’, डा कैनीले भने । मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिकस्थलमा घरपरिवार र आफन्तविहीन भई कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर मानिसको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ । परामर्शका क्रममा परिवार भेटिएकाको पारिवारिक पुनर्मिलन पनि गराउँदै आएको छ । रासस

भैरहवाबाट उडान नगर्ने दुई एयरलाइन्सको काठमाडौंबाट हुने उडान कटौती

काठमाडौं । सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएको भन्दै नागरिक उड्डयन प्राधिकरण(क्यान)ले उनीहरुको नियमित उडानहरू कटौती गरेको हो । यसक्रममा क्यानले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको छ । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी उडान गरिरहेका एयरलाइन्सलाई भैरहवाबाट कम्तीमा पनि एक उडान गर्नुपर्ने व्यवस्थासहित लिखित निर्देशन दिएको थियो । काठमाडौं विमानस्थलको विद्यमान हवाई उडान चाप व्यवस्थापन गर्न तथा गौतमबुद्ध विमानस्थलको प्रभावकारी प्रयोजनका निम्ति प्राधिकरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य उडान गर्न निर्देशन दिएको हो । प्राधिकरणको यो निर्णयले काठमाडौं उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नुपर्नेछ । प्राधिकरणले निर्देशन दिएबमोजिम नेपाल एयरलाइन्स तत्कालै भैरहवामा उडान गर्न असमर्थ भएपछि निगमको उडान कटौती भएको सम्बन्धित अधिकारीले बताएका छन् । प्राधिकरणको निर्देशनबमोजिम भैरहवा उडान भर्न निगम तयार रहे पनि प्राविधिक व्यवस्थापनसहित तयारी गर्न करिब दुई महिना लाग्ने भएकाले तत्कालै उडान गर्न नसकिने निगमले उल्लेख गरेको छ । वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई ‘विन्टर सेड्युल’ मा उडान गर्न प्राधिकरणले पत्राचार गरेको छ । अक्टोबर ३० देखि आगामी सन् २०२३ मार्चसम्मको उडान तालिका अनुसार गौतमबुद्ध विमानस्थलमा समेत दुवै एयरलाइन्सले उडान सञ्चालन गर्नुपर्नेछ । प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आगामी पुस १ गतेदेखि भैरहवामा अनिवार्य उडान तयारी गर्न सूचित गरिसकेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले काठमाडौं विमानस्थलमा तीनभन्दा बढी उडान गर्ने एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलमा उडान गर्नुपर्ने निर्देशनसहित पत्राचार गरिएको बताए । उनले भने, ‘हाम्रो आन्तरिक वायुसेवाले भैहरवाबाट उडान नगर्दा विदेशी एयरलाइन्सलाई दबाब दिन गाह्रो हुने भयो त्यसैले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई भैरहवाबाट पनि उडान गर्नुपर्छ भनेर निर्देशन दिइएको हो ।’ काठमाडौं विमानस्थलमा हाल तीन नेपालीसहित २६ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् । यात्रु अभावका कारण नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले भैरहवाबाट उडान सुरु गरेको बताएका छन् । केही समय अघि मात्र यात्रु नभएको बताउँदै जजिरा एयरवेजले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने निर्णय गरेको थियो ।    

‘सेयर बजार धेरै घटिसक्यो, एक/डेढ महिनामै छलाङ मार्छ’

काठमाडौं । गत वर्ष नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्ना पुराना रेकर्डलाई तोड्दै एकपछि अर्को नयाँ–नयाँ रेकर्ड बनायो । गत वर्ष सेयर बजारमा साढे २१ अर्ब रुपैयाँ बढीको कारोबार भएर आफ्ना सबै रेकर्ड ब्रेक गर्याे । सोही वर्ष नेप्से परिसूचक ३२ सय अंक बढी पुगेर अर्काे रेकर्ड पनि कायम गर्न सफल भयो । साथै गत वर्षको २० भदौमा नेप्से परिसूचक ११० अंकले घटेको थियो । जुन एकैदिन यति फराकिलो अंकको गिरावट आएको सेयर बजार इतिहासमै पहिलो पटक हो । यस वर्ष भने सेयर बजार घटेको घट्यै छ । सेयर बजारमा धेरै ठूलो गिरावटकै कारण लगानीकर्ताहरुले ठूलो मात्रामा घाटा ब्यहोर्नु परेको छ । ३२ सय अंकबाट १८ सय अंकमा झर्दा सेयर बजार झण्डै ८० प्रतिशतले घटेको छ । कारोबार रकममा पनि संकुचन आएको छ । एक वर्षको अवधिमा यति धेरै अंकले सेयर बजार घटेको इतिहासमा नै पहिलो पटक भएको लगानीकर्ताहरु बताउँछन् । दशैं तिहार पनि सकिएको छ । धेरैले चाडपर्वको समयमा पैसा बैंकिङ प्रणालीमा पनि आउने बताउँनछन् । यही समयमा फेरि सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तोकेको छ । चाडपर्वपछि र निर्वाचनको समयमा बजारमा ठूलो रकम आउने र सेयर बजार पनि बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् । यही समयमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च छ । जसको प्रभाव सेयर बजारमा परेको भएपनि लगानीकर्ताहरुले ब्याजदरलाई पचाइसकेकाले सेयर बजार अब धेरै नघट्ने उनीहरुको तर्क छ । लगानीकर्ता कमला गिरी आगामी दिनमा सेयर बजार बढ्ने वा नबढ्ने भनेर लगानीकर्ताको मनोबलमा भर पर्ने बताउँछिन् । उनका अनुसार बजारमा भएका ठूला कम्पनीहरुको वित्तीय विवरण राम्रो आएको छ भने बजार केही समयको लागि बढ्छ । जसले गर्दा ठूला लगानीकर्ता बिक्री गर्छन् भने साना लगानीकर्ताले खरिद गर्छन् । तर ठ्याक्क उल्टो भयो भने ठूला लगानीकर्ताले बजारमा खरिद गर्छन र साना लागनीकर्ताले बिक्री गर्छन् । लगानीकर्ता विष्णु बस्याल सेयर बजारमा सुधार आउने अपेक्षा गर्छन् । अब बैंक तथा वित्तीय संस्थाको ब्याजदर धेरै नबढ्ने आशा गरेका उनी बरु ब्याजदर घट्ने अपेक्षा गरिरहेका छन् । महँगो ब्याजदर हुँदा बैंकको ब्यापार पनि घट्ने हुँदा घटाउनु पर्ने बाध्यता रहेको उनले बताए । पहिलो त्रैमासको वित्तीय विवरणले सर्टटर्ममा प्रभाव पारेपनि दीर्घकालमा भने यसले खासै असर नगर्ने उनको बुझाइ छ । ‘निक्षेप तर्फको ब्याजदर घट्नेक्रम सुरु हुन्छ, कर्जातर्फको ब्याज एक त्रैमास थप बढ्न सक्छ तर कर्जाको ब्याज पनि धेरै बढ्ने ठाउँ छैन, अहिले कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी छ, कहाँबाट कर्जाको महँगो ब्याज तिर्ने र लगानी गर्ने कुरा हुँदैन, अब कर्जाको माग कम हुँदै जाने, बैंकहरुलाई ब्यापार गर्न निक्षेपको कस्ट घटाउने र ब्याजदर तल झार्नु पर्ने बाध्यता आउँछ, यो भन्दा धेरै भयावह स्थिति आउँदैन,’ उनले भने, ‘एक डेढ महिना बजार यतिकै रहन सक्छ, बजार माथि जाने संकेत गरिरहेको छ, पहिलो त्रैमासमा ब्यापार गर्न नपाएपछि बैंक तथा वित्तीय संस्थाको नाफा वृद्धिदर घटेको हो, अघिल्लो वर्षको तुलनामा यो वर्ष कम नाफा कमाएका मात्रै हुन् ।’ लगानीकर्ता बस्यालका अनुसार बैंकहरुको नाफा बढ्दैन भनेर सेयर मूल्य हेरेर नै थाहा हुने उनको भनाइ छ । नाफा घट्छ भनेर नै बैंकहरुको सेयर मूल्य पनि कम भएको उनको बुझाइ छ । ‘बैंकहरुको नाफा वृद्धि हुँदैन भनेर पहिल्यै बजारले थाहा पाइसकेको थियो, बैंकहरुले मज्जाले नाफा कमाउँछन् भनेको भए बैंकहरुको सेयर मूल्य पनि माथि हुन्थ्यो होला, यो कुरा बजारले पहिला नै आँकलन गरिसकेको थियो, अब असर नै नपर्ला भन्न सकिन्न, यसको असर सर्टटर्ममा हुन्छ, सोमबार बजार खुलेपछि केही तलमाथि हुन सक्छ तर लामो समयसम्म यसको असर परिरहने भन्ने हुँदैन,’उनले भने । अबको एक डेढ महिनापछि बजारको उकालो यात्रा सुरु हुने लगानीकर्ता बस्यालको भनाइ छ । यस अवधिमा बजार घटेपनि १ हजार ७ सय अंकसम्म मात्रै झर्ने उनको दाबी छ । एक दुइ हप्ता बजार घटबढ मात्रै भइरहने उनले बताए । ‘एक/डेढ महिनापछि बजारले लय लिन्छ, बैंकहरुको वित्तीय विवरण राम्रो आएको छैन भनेर सर्टटम रियाक्सन गर्ने आफ्नो ठाउँमा छ, आउने हप्ता नेप्से तल आउने मोटामोटी अनुमान छ, तल नै आयो भनेपनि धेरै अंकले तल आउने ठाउँ देख्दिन, कहिले तल कहिले माथि गर्दै एक डेढ महिनामा एक/डेढ सय अंक तल भयो भनेपनि यसलाई धेरै ठूलो सरप्राइज मान्नु पर्दैन, त्यति नै अंकमा बजार सम्हालिने मेरो अपेक्षा छ, तल आयो भने १७००/१७५० अंकभन्दा तल आउँदैन,’ उनले भने, ‘उच्च ब्याजदर बजारले पचाइसक्यो, बेस रेट बढ्यो भन्दैमा कर्जाको ब्याजदर बढाउने क्षमता बैंकहरुको छैन किनभने बजारमा कर्जाको माग नै छैन, पुराना ऋणीहरुलाई महँगो ब्याज तिर्नुपर्ने बाध्यता भएपनि नयाँ कर्जा लिएर नयाँ बिजनेश गर्छु भन्नेले यो महँगो कर्जा तिर्न सक्दैन, कर्जाको माग नभएपछि बैंकहरुले निक्षेपमा मात्रै बढी ब्याज दिन सक्दैनन्, निक्षेपको रेट घटेपछि बजार बढेको इतिहास नै छ ।’ यसअघि १८ सय अंकबाट सेयर बजार घटेर ११ सय अंकमा झर्दा र अहिले ३२ सय अंकबाट घटेर १८ सय अंकमा झर्दाको अवस्था एउटै छ । ११ सय अंकमा झर्ने बेलामा केही लगानीकर्ताहरुले बजार घटेर ९ सय अंकमा पुग्ने बताएका थिए । तर, बजार घट्न मानेको थिएन । ११ सय अंकबाट नै बजार बढेर ३२ सय अंकमा पुगेको लगानीकर्ता छोटेलाल रौनियारको बुझाइ छ । अहिले पनि सेयर बजार ३२२७ अंकबाट घटेर १८ सयसम्म झरेकाले लगानीकर्ताहरु सेयर बिक्री गर्न नमानेर बजार घट्न नमानेको उनले बताए । अहिलेको अवस्था भनेको पनि १८ सय अंकबाट घटेर ११ सयमा झरेको जस्तै रहेको उनको भनाइ छ । ‘५ वर्ष अघि १८६० अंकमा पुगेको सेयर बजार घटेर ११ सय अंकमा झरेको थियो, त्यो बेलामा पनि ब्याजदर बढेर १६/१७ प्रतिशत पुगेको थियो, १८ सय अंकमा पुग्दा मास साइकोलोजी बलियो थियो, त्यसपछि बैंकहरुको ब्याजदर बढेपछि बजार घटेको हो, बजार घटेर ११ सय अंकमा झरेको थियो तर त्यो बेलामा लगानीकर्ताले सेयर बिक्री मानेका थिएनन्,’ लगानीकर्ता रौनियारले स्मरण गर्दै भने, ‘त्यो बेलामा १५/२० करोड रुपैयाँको मात्रै कारोबार हुन्थ्यो, सेयर बजार ९ सय अंकमा झर्छ भनेर केही लगानीकर्ताले भन्थे,उनीहरुले महँगोमा सेयर बिक्री गरेर बजार घटाएर आम लगानीकर्ताको पैसा लुट्न खोजेका थिए तर बजार घट्न मानेन, धेरै लगानीकर्ता सेयर बिक्री गरेनन्, ११ सय अंकमा आएर ३२ सय अंकमा पुगेको हो ।’

देशभर छठ पर्वको रौनक (फोटोफिचर)

काठमाडौं ।  हिन्दु धर्मावलम्वीहरुले प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाउने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सुर्यलाई अर्घ दिई मनाइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो । छठ पर्वलाई निकै कठिन पर्वका रुपमा लिइन्छ । सूर्य र जलको शक्ति र महत्व झल्काउने यस पर्वमा शुद्ध खाने कुरा खानुपर्ने र यस पर्वमा अन्नपानी नखाइ तीन दिन भोकै बसी व्रत गर्ने चलन रहेको छ । छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गरेका छन् । तराईका जिल्लामा हिन्दू धर्ममा वर्षभरी उदाउँदो सूर्यलाई मात्र पूजा गरिए पनि यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई विशेष रुपले पूजा गरिन्छ । छठ पर्वमा विशेषगरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने कुरा सबैभन्दा विशेष र महत्वपूर्ण हुने गरेको छ । आफ्नो परिवारको खुसीका लागि यो पर्वमा महिलाले व्रत लिने गरेका छन् ।