तीर्थालुलाई सुविधा दिन तीन दिन ‘अनटाइम्ली’ रेल चल्ने
जनकपुरधाम । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली निर्धारित सिफ्टभन्दा बाहेक रेल सेवा सञ्चालन गरिने भएको छ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल सेवा सञ्चालन गरिने जनाएको छ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना जारी गरी कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई ध्यानमा राखेर कात्तिक २१ देखि २३ गतेसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुने जानकारी दिएका छन् । कार्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपालका विभिन्न स्थानबाट तथा भारतीय सहरबाट समेत तीर्थालु आउँदा सो तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले रेल सेवा अनटाइम्ली गरिएको प्रबन्ध सञ्चालक झाले बताए । “जतिबेला यात्रु आउँछन्, त्यतिबेला नै रेल चलाउँछौँ”, उनले भने, “यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ, तीन दिन यात्रुलाई यातायातको कुनै समस्या हुन दिँदैनौँ, रेल अनटाइम्ली चलाउँछौँ”, उनको भनाइ थियो । जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर जयनगर–कुर्था रेलमार्गमा रेल सेवाको शुभारम्भ गरेका थिए । त्यसयता निर्धारित समयतालिकाअनुसार नै नियमित रेल चल्दै आएको प्रबन्ध सञ्चालक झाको भनाइ छ । उनका जयनगरबाट ८ः३० र ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने गरेको छ । लामो समयदेखि रेल चल्ने सुने पनि थन्किएको रेल देख्दै आएका धनुषावासी नियमित सञ्चालित रेल देखेर दङ्ग छन् । रेल चल्न थालेसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास हुने र स्थानीय उत्पादनको निर्यात बढ्ने स्थानीयको विश्वास छ । रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट रहेका छन् । तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् । भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरिद गरेर करिब दुई वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले दुवै सेट रेल सञ्चालनमा छ । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जीनियर रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए । कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा ९० रुपैयाँ भाडादर तोकिएको छ । एसीका लागि भने त्यसको पाँच गुणा अर्थात् चार सय ५० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । कम दूरीमा यात्रा गर्दा स्वतः भाडादर त्योभन्दा कम हुनेछ । रासस
आम्दानीको मुख्य स्रोत तरकारी खेती, घरखर्च चलाउन सहज
कञ्चनपुर । अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान तरकारी खेतीमा लागेका छन् । यहाँ रहेका ४१ राना परिवार सबैले तरकारी खेती गर्दै आएका छन् । विसं २०६३ देखि समूह बनाएर व्यावसायिक तरकारी खेतीको सुरुआत गरेको यहाँका किसान नाथुराम रानाले बताए । ‘विसं २०६३ मा ७५ बोट बैगुन लगाएर तरकारी खेती सुरु गरेँ’, विगत सम्झिँदै उनले भने, ‘अहिले खेती विस्तार गर्दै १५ कठ्ठमा पु¥याएको छु ।’ यहाँका किसानले दुई कठ्ठादेखि दुई/तीन बिघासम्ममा तरकारी खेती गरिराखेको उनले बताए । ‘हामी राना परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो’, उनले भने, ‘यसैबाट आएको आम्दानीले घरखर्च र छोराछोरीको पढाइ खर्च व्यर्होछौँ ।’ डेढ दशकदेखि तरकारी खेतीमा लागेका सुदामा रानाले अन्य बालीभन्दा तरकारीमा फाइदा हुने भएपछि तरकारी खेती रोजेको बताए । ‘मेहेनत गर्न सक्यो भने अन्य बालीको तुलनामा तीन गुणा बढी फाइदा हुन्छ’, उनले भने, ‘कहिलेकाहीँ बजार समस्याले चुनौती थपिदिन्छ ‘ भारतबाट आउने तरकारीले यहाँको स्थानीय उत्पादनमा समस्या गर्ने गरेको उनले गुनासो गरे । त्यसैगरी तरकारी खेतीमा लाग्नुभएका मीना रानाले पनि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेको बताए । ‘बजारमा स्थानीय उत्पादनलाई हेला गर्ने परम्परा छ’, उनले भने, ‘हामीले विषादीरहित तरकारी उत्पादन गर्छौ यहाँ राम्रोभन्दा पनि सस्तो हेर्छन्’, उनले विभिन्न समस्याका बावजुत पनि एक दशकदेखि निरन्तर तरकारी खेती गरिराखेको बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो बस्तीमा राना समुदायले घरबास होमस्टे पनि सञ्चालनमा ल्याएका छन् । यहाँ आउने पर्यटकलाई आफ्नै बारीको उत्पादनको स्वाद दिलाउँदा सुखी भएर जानेको गरेको उनको भनाइ छ । तरकारी खेतीमा लाग्नुभएका कैलाशु राना पनि यसैबाट घरपरिवार चलेको बताउँछन् । ‘तरकारी उत्पादन गरेर महेन्द्रनगर बजारमा बिक्री गर्छौँ, राम्रो फाइदा हुन्छ’, उनले भने, ‘तरकारीबाट वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म फाइदा हुने गरेको छ ।’ यहाँ तरकारी खेती गर्ने अधिकांश राना समुदायका महिला छन् । पुरुष अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गरेर घरखर्च जोहो गर्ने गरेको उनीहरु बताउँछन् । गाउँमा उत्पादन गरेको तरकारी बैलगाडा, मोटरसाइकल र टाउकोमा बोकेर तरकारी बेच्न महेन्द्रनगर बजारसम्म पुग्ने गरेको किसान बताउँछन् । रासस
यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न
काठमाडौं । अवलोकनकर्ताको उत्साहनजक सहभागितासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको यार्सा ल्याब्स स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । शनिबार अपराह्नन आयोजित समापन कार्यक्रममा फेस्ट सम्पन्न भएको घोषणा गरिएको हो । स्टार्टप एण्ड आईडिया फेस्टका संयोजक राजन लम्सालको अध्यक्षतामा सुरू भएको समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी २ जनाले आफ्नो अनुभव समेत शेयर गरेका थिए । मधेश प्रदेशबाट आफ्नो अनुभव शेयर गर्दै सञ्चित पन्तले स्टार्टअपको विकासका लागि स्टार्टअप एण्ड आईडिया फेस्ट एउटा राम्रो कदम भएको बताइन् । गण्डकी प्रदेशबाट आफ्नो अनुभव सेयर गर्दै एक्सडिजोका संस्थापक दिनेश थापाले सूचना प्रविधिको विकास र विस्तार गर्न फेस्टले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै यसअघि भएको ३ दिनको बुटक्याम्पले आफ्नो स्टार्टअपलाई अझै माथि लैजाने धेरै कुरा सिकाएको उनको भनाइ छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ जेनेसको प्रि ईभेन्ट क्याम्पियनको रूपमा काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वटमा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट १५ हजार बढीले अवलोकन गरेका छन् । समापन कार्यक्रममा बोल्दै नेपाल टेलिकमका घिमिरेले स्टार्टअप र इन्नोभेसनको विकासका लागि यस्ता कार्यक्रमलाई टेलिकमले सधैं सहयोग गर्ने जानकारी दिए । २ दिनसम्म चलेको फेस्टमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । फेस्टमा सातै प्रदेशबाट छनौट भएका स्टार्टअप र आईडियासँगै इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ सहित १०० बढी डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका थिए । कार्यक्रममा आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीलाई भोटिङ गर्न सकिने व्यवस्था गरिएको थियो । रामलक्ष्मण इन्नोभेसनले मतदानका लागि उक्त विद्युतीय भोटिङ मेसिन राखेको छ । द स्क्वाइड अफ चेन्जमेकर र इन्नोभेट घर नेपालले सहकार्यमा यसका अतिरिक्त स्टिम क्याम्प र एस्टोरोइड वर्कशप पनि आयोजना भएको थियो । फेस्टमा स्टिम क्याम्प, जब फेयर, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई, भीआर लगायतका गतिविधि भएको आयोजकले जानकारी दिएको छ । यस कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ । कार्यक्रमलाई इन्फोडेभलपर्स, नेपाल टेलिकम, जेनेस, ह्वावे, स्मार्ट क्युआर, दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, आइएमइपे, ब्रोडवे इन्फोसिस, वेद, सिल्भर लाइनिङ, फ्युज मेसिन्स लगायतको सहयोग रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरण, एनआइटिसी, नाष्ट, एफएनसिसिआई लगायतको पनि सहयोग तथा सहकार्य रहेको छ ।
बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो
काठमाडौं । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेङ्गुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्क जनाइएको छ । काठमाडौँमा १३ हजार दुई सय जनामा डेङ्ग सङ्क्रमण भएका छन् भने रसुवामा आठ जनामा रोग पुष्टि भएको हो । यसैगरी ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठ सय ६० काभे्रपलाञ्चोकमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५, नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइएको छ । यस्तै प्रदेशमा डेङ्गुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
भ्रष्टाचार नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने जसपाको प्रस्ताव
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले भ्रष्टाचार र आर्थिक अनियमितालाई नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गर्ने प्रस्ताव गरेकोे छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गर्दै जसपाले संसद् मातहत रहने गरी शक्तिशाली जनलोकपाल गठन गर्ने प्रस्ताव गरेको हो । जसपाले सबै तहका भ्रष्टाचार अन्त्यका लागि जनताको भावनानुसार जनसहभागितामा आधारित कार्यक्रम सञ्चालन गर्ने, सरकारको लगानीमा सञ्चालित विकासे योजना र कामको अनुगमन तथा मूल्याङ्कनको व्यवस्था गर्ने, पारदर्शी शासन पद्धतिलाई अवलम्बन गर्दै सबै सरकारी कारोबारसँग सम्बन्धित सूचना इन्टरनेटको माध्यमबाट पाउने व्यवस्था गर्ने जनाएको छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिइने जसपाले जनाएको छ । गैरकानुनी तरिकाबाट आर्जित सम्पत्ति जफत गर्ने र सो सम्पत्ति भूमिहीन तथा आवासहीन र श्रमजीवी नागरिकहरुका लागि भूमि र आवासको व्यवस्थामा खर्च गरिने जसपाले जनाएको छ ।
हुवावेको आफ्नै अपरेटिङ सिस्टम परिपक्क हुँदै, विश्व प्रविधि बजारमा नयाँ तरंग आउन सक्ने
एजेन्सी । चिनियाँ दुरसञ्चार कम्पनी हुवावेले आफ्नै अपरेटिङ सिस्टम निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । कम्पनीका अध्यक्ष यु चेंगडोंग ले चिनियाँ दुरसञ्चार कम्पनी हुवावेले ४ वर्षको निरन्तर प्रयासमा आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ निर्माणको परिपक्क चरणमा पुगेको शुक्रबार बताएका छन् । युका अनुसार अहिलेसम्म हार्मोनी प्रविधि जडित उपकरणको संख्या ३ सय २० मिलियन पुगिसकेको छ, जो पछिल्लो वर्षको तुलनामा १ सय १३ प्रतिशतले बढी हो । हार्मोनी ओएस उत्पादनहरुको ढुवानी २ सय ५० मिलियन नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ सय १२ प्रतिशत बढी हो । अहिले हार्मोनी प्राणालीको उत्पादन र विकासमा २ मिलियन भन्दा बढी प्राविधिकहरु संलग्न भइरहेका छन् । अध्यक्ष युका अनुसार विश्वको मोवाइल प्रणालीमा सो प्रविधि द्रुतस्तरमा जोडिदै गएको छ । हार्मोनी प्रणाली जोडिएको डिभाइस जुलाइको अन्त्यसम्ममा ३ सय मिलियन भन्दा धेरै पुगेको अध्यक्ष युले सेप्टेम्बरमा खुलासा गरेका छन् । सोही समयसम्म हार्मोनी प्रणाली जोडिएको तेस्रो पक्षको प्रविधि संख्या १ सय ७० मिलियन पुगको थियो । उनका अनुसार हार्मोनी इतिहासमा नै सबै भन्दा छिटो विकास हुने ओएस बन्न सफल भएको छ । सन् २०२२ मा नयाँ विकसित प्रविधिको सन्दर्भमा हुवावे डेभलपर सम्मेलन गरिएको थियो, जुन प्रकारको सम्मेलन हुवावेले हरेक वर्ष गर्ने गर्छ । यस्ता सम्मेलनमा २५ हजार भन्दा धेरै कर्मचारी, विद्यार्थी, डेभलपर र विश्लेषक सहभागी हुने गर्छन् । सेन्जेनका उच्च तहका टेलिकम अधिकारीहरुले सन् २०१९ अगस्टमा हार्मोनी ओएसको लन्च गरेका थिए । जसको ३ महिनापछि गुगलले हुवावेलाई अपरेटिङ सिस्टममा प्रतिवन्ध लगाएको थियो । गुगलको प्रतिवन्धपश्चात हुवावेले निकै मेहेनत गरेर हार्मोनी ओएस निर्माण गरिरहेको छ, जसले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक प्रविधि सञ्चालन गर्न सकिने बताइएको छ । पछिल्लो समयमा हुवावेले हार्मोनी ओएसलाई इलेक्ट्रिक कारको लागि समेत विकास गरेको छ, जसको लागि उसले चिनियाँ कार निर्माता कम्पनी सेरेससँग सहकार्य गरेको छ । ग्लोबल टाइम्सबाट ।
उत्तरकोरियालाई तर्साउन सुपरसोनिक बमवर्षक विमान उडाउँदै अमेरिका
एजेन्सी । यो साता शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा तनाव सृजना गरेको उत्तरकोरियालाई तर्साउन अमेरिकाले दक्षिणकोरियाको आकाशमा सुपरसोनिक बमवर्षक विमान उडाउने भएको छ । दक्षिणकोरियासँगको संयुक्त हवाई अभ्यासको अन्तिम दिन आज प्योङयाङलाई आफ्नो शक्ति देखाउन अमेरिकाले सुपरसोनिक बमवर्षक विमान पनि अभ्यासमा समावेश गरिएको सोलले बताएको छ । वायुसेनाको संयुक्त अभ्यासमा बमबर्षक विमान पनि समावेश हुने बताएको दक्षिणकोरियाली रक्षा मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन । वायु सेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित दुई सय ४० विमान समावेश छन् । उक्त अभ्यासबाट आाक्रोशित प्योङयाङले यो साता सुमद्रमा दर्जनौँ क्षेप्यास्त्र प्रक्षेपण गर्नाका साथै अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले आन्तरिकरूपमा युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश प्रवाह गरेको थियो । ‘भिजिल्याण्ट स्टोर्म’ नामको अमेरिकासँगको कोरियाको संयुक्त सैन्य अभ्यासलाई सैन्य टकरावको उन्माद भन्दै उत्तरकोरियाली विदेश मन्त्रालयले शुक्रबार अबेर एक वक्तव्य निकालेर आफ्नो सार्वभौमसत्ता तथा राष्ट्रिय सुरक्षाविरुद्ध लाग्नेहरूलाई कडा जवाफ दिइने जनाएको छ ।
घरका छतभरि राताम्य खुर्सानी
डोल्पा । त्रिपुुरासुन्दरी नगरपालिका–४ रङ्ग डोल्पाकी रमिता कुलालको घरको छत राताम्य भएको छ । माटो र ढुङ्गाको मिश्रणबाट निर्माण गरिएको घरको छानामा सुकाइएको स्थानीय जातको खुर्सानीले रङ्ग गाउँका छाना राताम्य देखिएको हो । कुलालका अनुसार १८ क्विन्टल खुर्सानी बारीमा उत्पादन भएको छ । कुलालले भनिन्, ‘हाम्रो यहाँको खुर्सानी रुकुमपश्चिम, जाजरकोट र डोल्पा जिल्लाभरिलाई पुग्छ । भोटाने खुर्सानी (मच्य) भनेर चिनिने हामीले उत्पादन गरेको यो खुर्सानी धेरै बिक्री हुने गर्दछ । कुलाल जस्तै सरस्वती बुढाको घरमा यसबर्ष १२ क्विन्टल खुर्सानी उत्पादन भएको छ । अहिले उत्पादिन खुर्सानी सुकाउने र भण्डारण गर्ने काम चलिरहेको छ ।’ वैशाखमा लगाएको खुर्सानी असोज, कात्तिक महिनामा टिपेर सुकाउने काम चलिरहेको कालीबहादुर बुढाले बताए । अग्लो डाडामा रहेको रङ्ग गाउँ सडक सञ्जालसँग जोडिएको छ । अधिकांश माटो प्रयोग गरेर निर्माण गरिएका यहाँका घरका छत खुर्सानी सुकाउनका लागि उपयुक्त हुने गरेको बुढाले जानकारी दिए। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने रङ्ग गाउँ खुर्सानीको रातो रङ्गले हिउँदयामको कात्तिक र मङ्सिर महिनाभरि छत राता हुने गर्दछन् । आधुनिक प्राविधिकभन्दा पनि स्थानीय जातकै खुर्सानी सबैले मन पराउने र माग बढी हुने भएपछि आफूहरु ले त्यहीअनुसार खुर्सानी खेतीतर्फ लागेको स्थानीय बुढाले बताए। यहाँ दुई सय १४ घरधुरी रहेका छन् । तत्कालीन सुँ गाविसको वडा नं ७, ८ र ९ लाई समेटेर त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ४ बनेको छ । पूर्ववडा सदस्य हरिवान बुढाका अनुसार वडाभरि खुर्सानी राम्रो उत्पादन हुने गर्दछ । सानो रबरको एक जग खुर्सानी बिक्री गर्दा ७० पर्ने गर्दछ । एक क्विन्टल बिक्री गर्दा रु सात हजार दुई सय पर्ने गरेको बुढाले बताए। खुर्सानी बिक्री बाट स्थानीयले झण्डै दुई लाखजति आम्दानी गर्ने गरेको उनको भनाइ छ । गाउँमा ढुवानीका साधनबाट त्रिपुराकोटस्थित बगरमा रहेका बजारमा बिक्री गर्ने गरिएको छ । सिँचाइ सुविधा सबै ठाउँमा नपुगेका कारण सोचेजति खुर्सानी उत्पादन गर्न मुस्किल हुँदै आएको स्थानीयवासी बताउँछन् । नगरपालिका र अन्य निकायले व्यावसायिकरुपमा खेती गर्दै आएका किसानका लागि अनुदानको व्यवस्था, सिँचाइको व्यवस्था गरिदिए सहयोग पुग्ने स्थानीय भावना बुढाले बताए । रङ्ग गाउँ खुर्सानी मात्र होइन, स्याउको पनि स्थापित मानिन्छ । मध्य डोल्पामा पर्ने त्रिपुरासुन्दरी स्याउ, ओखर र खुर्सानीका लागि चर्चित हुँदै आएको छ । त्रिपुरासुन्दरी नगरपालिकाबाट खुर्सानी खेतीका लागि कुनै कार्यक्रम नभएको कृषि शाखाका जगतबहादुर रोकायले बताए । स्याउ र ओखरका लागि मात्र बजेट विनियोजन गरी काम भएको उनले बताए ।