धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ
काठमाडाैं । सरकारले धानकाे न्युनतमा समर्थन मूल्य रुपैयाँ ताेकेकाे छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ तोकेको हो । पोहोरको तुलनामा यो मूल्य २१५ रुपैयाँ बढी हो । त्यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २२६ रुपैयाँ भन्दा बढी हो । सरकारले गत आर्थिक वर्ष २०७८/७९ को लागि मोटा धानको न्यूनतम समर्थन मूल्य २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो ।
कात्तिक २५ गतेदेखि ‘उचाई’ प्रदर्शन हुँदै
काठमाडौं । गत वर्ष कोरोना भाइरसको महामारी र ओभर दी टप ओटिटको बढ्दो प्रयोगले पुनः दर्शक हलमा फर्किने हुन् वा होइनन् भन्ने बहसकै बीच नेपालमा छायाङ्कन हुन् आएको भारतीय फिल्म ‘उचाई’ ले नेपाली पर्यटनलाई प्रवद्र्ध्धनमा सहयोग गर्ने भएको छ । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परीनिती चोपडा, नीना गुप्ता, सारिका हसन जस्ता दिग्गज कलाकारहरूको अभिनय रहेको फिल्म ‘उचाई’ आउँदो शुक्रबारदेखि प्रदर्शन हुँदैछ । नेपालकै पात्रलाई मूलकथा बनाइएको फिल्म छायाङ्कन गर्न दुई सयको हाराहारीमा प्राविधिक भारतबाट आएका थिए । त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत सहभागी भएर काम गरे । बलिउडमा स्थापनाको ७५औँ वर्ष पूरा गरेको राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका छन् । नेपालमा स्वयम्भू, काठमाडौँ विमानस्थल, लुक्ला, नाम्चे, मनाङमा झन्डै एक महिना छायाङ्कन भएको थियो । नेपालमा लाइन प्रोड्युसर सुरज आचार्यको कम्पनि थ्री ह्विलर्सले र प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मीले व्यवस्थापन गरेका थिए । ‘उनीहरूसँग काम गर्दा नेपाली प्राविधिकले समेत सिक्न पाएँ । उनीहरूको काम गर्ने शैली परिपक्व छ’, प्रोडक्सन कोर्डिनेटर रेग्मीले भने, ‘दिग्गज कलाकारहरूको कामप्रतिको सरलता र मानवीय स्वभावले हामीलाई काम गर्न ऊर्जा प्रदान गथ्र्यो । निर्देशकले नेपाली दृश्य खिच्नलाई कुनै सम्झौता गरेन ।’ छायाङ्कन टोलीमा भारतीय टोलीमा एक सय ५५ जना सदस्य र नेपालीतर्फ कलाकारबाहेक छायाङ्कनमा ३० देखि ३५ जना नेपाली प्राविधिक खटिरहे । टोलीका लागि ६०/६५ गाडीको प्रयोग चौबिसै घण्टा रहन्थ्यो । लाइन प्रोड्युसर आचार्यका अनुसार छायाङ्कनको दौरान लगभग तीन सयको हाराहारीमा हेलिकप्टर उडान गरिएको थियो । ‘हामीले फाप्लो–लुक्ला, लुक्ला–नाम्चे, नाम्चे–एबिसी, कालापत्थर, कालापत्थर–काठमाडौँ, काठमाडौँ–मनाङको यात्रा हेलीबाटै गरेका थियौँ’, उनले भने । उचाईको छायाङ्कन भएपश्चात् केही सिरिज तथा फिल्महरू नेपालमा छायाङ्कन हुन् आएका छन् । ‘सरकारका तर्फबाट केही सेवासुविधा पाए छायाङ्कनमा आउने सङ्ख्या बढ्छ जस्तो लाग्छ । कानुनी अड्चनसँगै विविध समस्याहरू छन् । यद्यपि, उचाई प्रदर्शन भएपछि अन्य प्रोडक्सन हाउसलाई नेपालले लोभ्याउनेमा विश्वत छु’, प्रोडक्सन कोर्डिनेटर रेग्मीले भने । डेनी डेन्जोङ्पा सोलुखुम्बुवासीको भूमिकामा छन् । उनले आफ्ना बुढ्यौलीको साथीहरू अमिताभ, अनुपम र बोमनलाई नेपाल ल्याउने प्रयास गरेता पनि त्यो सफल हुँदैन । डेन्जोङ्पाको निधनपश्चात् उनको अस्तुलाई नेपालमा विसर्जन गर्ने अठोट लिएर बाँकी तीन नेपाल आउने कथा फिल्ममा छ । नेपाली गाइड परिणिती चोपडाले उनीहरूलाई हिमाल पुर्याउने र घुमाउने भूमिका निर्वाह गरेका छन् । यात्रामा यी तीन साथीहरू आउने आरोह अवरोह नै मूल कथा हो ।
नेप्सेमा एनएमबि क्यापिटलको १२ करोड सेयर सूचिकृत
काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि क्यापिटलले निष्कासन तथा बिक्री गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सूचिकृत भएकाे छ । नेप्सेका अनुसार फण्डको १२ करोड २१ लाख कित्ता इकाई नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो । नेप्सेले फण्डको दोस्रो बजार कारोबारको लागि NSIF2 सिम्बोल प्रदान गरेकाे छ ।
चुच्चे नक्सा मैले बनाएको हुँ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुच्चे नक्सा आफ्नो पहलमा बनेको बताएका छन् । बुधबार दार्चुला पुगेर उनले चुच्चे नक्सा आफ्नो पहलमा बनेको बताएका हुन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ओलीले आफूले चुच्चे नक्सा बनाए भनेर हल्ला फिजाएपनि आफुले चुच्चे बनाएको उनको भनाइ छ ।
३९ अंकले घट्यो सेयर बजार, अत्याधिक गुमाउनेमा वित्तिय संस्था
काठमाडौं । बुधबारको सेयर बजार ३९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर बजार ३९.१५ अंकले घट्दा १९१७.२२ विन्दुमा पुगेको छ । यसरी सेयर बजार घट्दा ३६ लाख ९६ हजार ७२३ कित्ता सेयर एक अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ । आज अत्याधिक कमाउनेमा उपर हावेखोला हाइड्रोपावर कम्पनीका साथै ४ म्युचल फण्डहरु रहेका छन् भने अत्याधिक गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंकसहित सबै ४ वटा वित्तिय संस्थाहरु रहेका छन् ।
सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प
फाइल फोटो डोटी । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले आज दिउँसो १ बजेसम्म दुई सय पराकम्प गइसकेको जानकारी दिए । उनका अनुसार गएराति त्यसअघि राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । उनले भने, ‘लगातार तीनपटक एकै स्थानमा केन्द्रविन्दु बनाएर तीन ठूला भूकम्प गएका छन् । तीबाहेक चार रेक्टर स्केलभन्दा मुनिका दुई सय पराकम्प गइसकेका छन् ।’ भूकम्पछि पराकम्पनहरु आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ । भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण बैतडीमा पनि केही घरहरुमा क्षति पुगेको छ । भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको नगरपालिका कृषि शाखाप्रमुख महेश अवस्थीले जानकारी दिए । यस्तै भूकम्पका कारण दशरथचन्द नगरपालिका–१ का विभिन्न स्थानमा घरहरुमा चिरा परेका स्थानीय महेश भट्टले बताए । साथै पाटन नगरपालिकामा रहेको ज्ञानेश्वर माविको भवन पनि चर्किएको विद्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले भने भूकम्पका कारण क्षति भएको विवरण नआएको जनाएको छ । जिल्लाका सबै प्रहरी युनिटहरुलाई बुझ्दा हालसम्म क्षतिबारे कुनै जानकारी नआएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनले भने, ‘प्रहरी युनिटहरुलाई बुझ्दा क्षतिबारे कुनै जानकारी आएको छैन । स्थानीय जनप्रतिनिधिहरुलाई बुझ्दैछौँ ।’
डोटीका भूकम्प पीडितलाई साढे १ लाख दिने पूर्वमन्त्री आलेको घोषणा
काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छजनाको परिवारहरुलाई एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् । बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुगेका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर उनीहरुका परिवारलाई जनही २५ हजारका दरले एक लाख ५० हजार राहतको दिने बताएका हुन् । आफूले सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने जानकारी उनले परिवारलाई भेटेर दिएका थिए । त्यसैगरी उनले अन्य निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरुका लागि आवश्यक राहतको व्यवस्था गरिदिन पनि आग्रह गरेकाे छ । गएरातिको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका छजनाको ज्यान गएको छ भने अरू सातजना गम्भीर घाइते भएका छन् । डोटी निवासी पूर्वमन्त्री आले आसन्न मङ्सिर ४ को निर्वाचनमा सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुन् ।
बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल
गलकोट । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुङ्गे पुल थपिँदैछन् । बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो नेपालकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षभित्रै पुनः बागलुङ र पर्वत जोड्ने तथा बागलुङ र म्याग्दी जोड्ने दुई पुल निर्माण भइरहेका छन् । बागलुङ र पर्वत जोड्ने अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ भने बागलुङ र म्याग्दी जोड्ने गरी निर्माण भएको तीन सय ८८ मिटर लामो पुल निर्माणको अन्तिम चरणमा रहेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि कालीगण्डकी माथि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुल नेपालकै लामो भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । उक्त पुल ११ करोड लागतमा निर्माण सम्पन्न भएको छ । बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षमा नै बागलुङ–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने गरी तीन सय ८८ मिटर लामो पुल निर्माण सुरु भएको थियो । उक्त पुलको अहिले ८० प्रतिशत काम सकिएको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । त्यस्तै सोही कम्पनीले भदौबाट बागलुङ–४ उपल्लाचौरदेखि पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमा अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ । बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी–१ रत्नेचौरदेखि बागलुङ–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण डेढ वर्षअघि सुरु गरेको थियो । निर्माण कम्पनीका अनुसार पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । ‘नेपालकै लामो पुलसमेत हाम्रै निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखरलेनै निर्माण सम्पन्न गरेको थियो, त्यसपछि लगत्तै सुरु गरेको कुडुँले रत्नेचौरको झोलुङ्गेपुलको काम अहिले लगभग सकिनै लागेको छ, पुनः बागलुङ बजारको उपल्लाचौरदेखि पर्वतको जलजला जोड्ने गरी पाँच सय २४ मिटर लामो झोलुङ्गे पुल सृजिता, थानी हिमशिखर कम्पनीले निर्माण गर्न सुरु गरेको छ’, लामा झोलुङ्गेपुलका निर्माण व्यवसायी नरहरि खड्काले भने, ‘बागलुङ र पर्वत जोड्ने दुई तथा बागलुङ र म्याग्दी जोड्ने एक पुल चार वर्षको अवधिमा निर्माण हुने भएका छन्, त्यसमध्ये नेपालकै लामो पुल दुई वर्षअघि सम्पन्न भइसकेको छ ।’ खड्काले आफ्नो निर्माण कम्पनीले जिम्मा पाएको झोलुङ्गे पुल सम्पन्न गर्नुपर्ने मितिभन्दा अगावै सम्पन्न भइरहेको बताए । कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल तीन करोड ५० लाख रुपैयाँमा निर्माण गरिएको छ । एक सय ७० मिटर अग्लो कुडुले रत्नेचौर जोड्ने झोलुङ्गे पुलले दुई जिल्लाको यात्रालाई सहज बनाउँदै पर्यटन विकासमा टेवा पुर्याउनेछ । उक्त पुलको दायाँ र बायाँतर्फ जाली हालेर लट्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम मात्रै बाँकी रहेको छ । पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनाका साथै रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षत्रीले जानकारी दिए । ‘यही वडासँग जोडिएर म्याग्दी जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने उपल्लाचौरको गौरिधामदेखि पर्वतको जलजला गाउँपालिका जोड्ने पाँच सय २४ मिटर लामो कालीगण्डकी माथि पुल निर्माण सुरु भएको छ’, वडाध्यक्ष क्षत्रीले भने, ‘एकै वडाबाट म्याग्दी र पर्वत जोड्ने गरी पुल निर्माण हुनुले बागलुङको आन्तरिक पर्यटन र व्यापार व्यवसायमा फस्टाउनेछ ।’ पुल निर्माणका लागि २०७९ साल जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । पुल निर्माणका लागि बागलुङतर्फको झन्डै छ आना जग्गा निःशुल्क दिएर विकासको ढोका खोलेको जग्गादाता राजेन्द्रबहादुर जिसीले बताउनुभयो । उक्त पुल झन्डै सात करोड लागतमा निर्माण सुरु गरिएको छ । करोडौँ लागतका लामा झोलुङ्गे पुल धमाधम निर्माण हुँदा बागलुङ र बागलुङसँग जोडिएको छिमेकी जिल्ला पर्वत र म्याग्दीको समेत पर्यटनसँगै व्यापार व्यवसाय फस्टाउने स्थानीय गणेश पुरीले बताए । चार वर्षको अवधिमा बागलुङबाट पर्वत जोड्ने दुई र म्याग्दी जोड्ने एक पुल २१ करोड रुपैयाँ खर्चमा निर्माण हुनेछन् । रासस