कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड सङ्क्रमित
काठमाडौं । दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरुको सङ्ख्या बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीअनुसार गएको २४ घन्टा यता यहाँ ६२ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ गएको २४ घन्टा यता ६२ हजार चार सय ७२ जना सङ्क्रमित थपिएका छन् । अघिल्लो दिन अर्थात् सोमबार यहाँ ६२ हजार दुई सय ७३ जना रहकामा मङ्गलबार ती सङ्क्रमित थपिएका हुन् । यहाँ कोभिड महामारी सुरु भएयता दुई करोड ५९ लाख ८१ हजारजना भन्दा बढी सङक्रमित भेटिएका समाचारमा जनाइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण निकायका अनुसार अघिल्लो हप्ताका तुलनामा मङ्गलबार सङ्क्रमित बढेका छन् ।अघिल्लो हप्तामा यहाँ बढीमा ५४ हजारमा मात्र संक्रमण देखिएको थियो । यहाँ पछिल्लो दिनमा ५९ जनाको यही सङ्क्रमणबाट ज्यान गएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोभिडको सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या २९ हजार चार सयभन्दा बढी रहेको बताइएको छ । रासस
११:११ अभियानको लागि हिमालयन बैंक र दराजबीच सम्झौता
काठमाडौं । हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । यो योजना कर्तिक २५ गते दिन लागु हुनेछ । बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई—कमर्शको लागि सक्रिय गर्नु पर्नेछ ।
काभ्रे २ : गोकुल बास्कोटा कमजोर, शिव हुमागाईं कसरी बलियो भए ?
काठमाडौं । काभ्रे २ को निर्वाचन यसपटक फरक हुँदैछ । २०४८ र २०५१ मा एमालेले लगातार यो क्षेत्रमा जितेकाे रोचक प्रतिस्पर्धा हुँदै आएको छ । अर्थात् आलोपालोमा २०५६ मा कांग्रेसका शिव हुमागाईं विजयी भए । २०६४ को पहिलो संविधानसभामा एमालेका कृष्णप्रसाद सापकोटा विजयी भए । २०७० मा फेरि यो क्षेत्रको चुनावी परिणाम कांग्रेसको पोल्टामा पर्यो । कञ्चनचन्द्र बादे श्रेष्ठले गोकुल बाँस्कोटालाई पराजित गरे । २०७४ मा फेरि नतिजा उल्टिँदा माओवादीको साथमा एमालेका गोकुल बाँस्कोटा विजयी हुन पुगे । त्यसैले यसपटक यो क्षेत्र कांग्रेसको पोल्टामा पर्ने देखिन्छ । केही दलीय र स्वतन्त्र अनुहार देखिए पनि काभ्रे २ मा सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ सालमा एमाले र माओवादी मिल्दा कांग्रेसले सहजै चुनाव हारेको थियो । तर यसपटक स्थानीय तहदेखि नै कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएका छन् । विभाजनको सबैभन्दा धेरै असर पनि एमालेले देशैभर भोग्दैछ । यतिमात्रै होइन २०७४ को चुनावमा सानदार जित दर्ता गरेपछि अप्रत्याशित रुपमा राष्ट्रिय राजनीतिमा चर्चा र विवादका आएका गोकुल बाँस्कोटा फेरि उम्मेदवार बनेपछि यसपटक काभ्रे २ को चुनाव फरक हुँदैछ । देशभरको आँखा पर्नुको कारण हो–सेक्युरिटी प्रेस खरिदमा ७० करोडको मोलमोलाई गरेको अडियो बाहिरिनु । विवादमा तानिएका गोकुल बाँस्कोटा नै उम्मेदवार बन्न पुगे । जुन एमालेको लागि उत्तिकै जोखिम पनि देखिएको छ । यो अडियो बाहिरिएपछि शक्तिशाली सञ्चार मन्त्री र सरकारको प्रवक्ताबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै फिर्ता उनलाई बोलाएका थिए । बाँस्कोटाको त्यो अडियोबारे स्वतन्त्र पुष्टि भइसकेको छैन । तर मन्त्रीबाट फिर्ता बोलाएपछि ओली स्वयंमले चाहेर पनि उनलाई दोस्रोपटक मन्त्री बनाउन सकेनन् । सोही विवादको न्यायिक र स्वतन्त्र निरुपण नभई चुनावी मैदानमा उत्रिएका कारण यसपटक बाँस्कोटामाथि अत्याधिक प्रश्न नागरिक स्तरमा उठेको छ । पार्टी तहमा विवादितलाई किन उम्मेदवार बनाइयो भन्ने प्रश्न उत्तिकै छन् । तर अध्यक्ष ओलीसँगको विशेष सम्बन्धका कारण बाँस्कोटाले फेरि पनि टिकट हत्यारै छोडे । बाँस्कोटाको ठीक उल्टो यसपटक उनीविरुद्ध कांग्रेसका शिव हुमागाईं चुनावी मैदानमा उत्रिएका छन् । २०५६ मै एमालेको बलियो प्रभाव तोडेर हुमागाईंले आफ्नो तागत देखाइसकेका छन् । यतिमात्रै होइन भूगोलमा बसेर काभ्रे कांग्रेसको सभापति चलाएकोले हुमागाईं पार्टीको तल्लो तहसम्मै परिचित छन् । पार्टीको तल्लो तहको संगठन र कार्यकर्ता परिचालनको शैलीमा गोकुलभन्दा हुमागाईं व्यवहारिक मानिन्छन् खरो र रुखो शैलीका कारण आलोचित हुँदै आएका उनै बाँस्कोटाले यसपटक शान्त र नम्र शैलीमा प्रस्तुत हुने हुमागाईंसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । एमालेकै नेता कार्यकर्ताले पनि हुमागाईंको यो नम्र र व्यवहारिक शैलीलाई मन पराउँछन् । यो आफैंमा कांग्रेसको बलियो प्रभाव रहेको क्षेत्र हो । सत्ता गठबन्धनको शक्ति, स्थानीय तहको चुनावी परिणाम, एमाले विभाजनको असरले यसपटक गोकुलले हार चाख्ने देखिन्छ । स्थानीय तहमा धक्का ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले धक्का खाएको छ । यसअघि जितेका पनौती, बनेपा, मण्डन देउपुरजस्ता महत्वपूर्ण इलाका गुमाएको छ । यी पालिकाका केही वडाबाहेक प्रायः गोकुलकै क्षेत्रमा पर्छन् । काभ्रे २ मा पाँचखाल, मण्डन देउपुर र बनेपा नगरपालिका पर्छन् । धुलिखेल नगरपालिकाका १ देखि ७ नम्बर वडा, पनौती नगरपालिकाका १, २, ३, ११ र १२ नम्बर वडा पर्छन् । त्यस्तै, बेथानचोक गाउँपालिकाका १ देखि ५ सम्मका यो क्षेत्रमा पर्छन् । स्थानीय तहको यसपटकको निर्वाचनमा गोकुलले एमालेलाई आफ्नै गृहनगर देउपुरमा जिताउन सकेनन् । नेकपा एसका नेता टोकबहादुर वाइबा फेरि जित्न पुगे । अघिल्लोपटक पनि एमालेमै रहँदा उनी निर्वाचित भएका थिए । यीमध्ये बनेपा र पनौती नगरपालिकामा एमालेलाई यसपटक कांग्रेसले पराजित गर्यो । जुन एमालेका बलिया आधार इलाका थिए । पाँचखालमा अघिल्लोपटक जस्तै कांग्रेसकै महेश खरेल विजयी भए । बेथानचोकमा पनि कांग्रेसले फेरि विजयको झण्डा गाडेको छ । यसैले पनि चुनाव जित्न हुमागाईंलाई सहज र बाँस्कोटालाई कठिन देखिएको हो । मतमा कति अगाडि छ गठबन्धन ? स्थानीय तहको यसपटकको निर्वाचनमा काभ्रे २ वडाध्यक्षतर्फ एमालेले ४५ हजार ५१४ मत ल्याएको देखिन्छ । कांग्रेसले ४५४५६ मत पाएको छ । अर्थात यो क्षेत्रमा गठबन्धन नै नहुँदा पनि एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । एक्लै चुनाव लडेकोले एमालेले यो क्षेत्रभरका सबै वडामा उम्मेदवार उतारेको थियो । तर गठबन्धन हुँदा सबैतिर कांग्रेस बाहेकका अरु दलका उम्मेदवार कम थिए । यसैले कांग्रेस बाहेकका उम्मेदवारले पाएको मत धेरै वास्तविक नहुने देखिन्छ । माओवादीको साथ, नेकपा विभाजनपछि नेकपा एसको साथ हुने भएपछि प्रतिस्पर्धामा कांग्रेसलाई सहज हुने देखिन्छ । नेकपा एसले ८६७६, माओवादीले ६३७० र राप्रपाले २३५४ मत ल्याएको छ । माओवादी र नेकपा एस यो क्षेत्रमा निर्णायक देखिन्छन् । जहाँ गठबन्धनको संयुक्त मत ६० हजार ५०२ छ । एमाले १४९८८ मतले पछाडि छ । सत्ता गठबन्धन, एमाले विभाजनको असर र आफ्नैबारे विवाद देखिएपछि गोकुललाई हुमागाईंविरुद्धको चुनाव सहज नहुने देखिएको हो । माओवादीको साथ पाउँदा २०७४ सालमा गोकुलले सहज जित दर्ता गरेका थिए । तर सोही चुनावको समानुपातिक मतबाट माओवादीलाई अहिलेको कांग्रेसको गठबन्धनमा राख्दा गोकुल त्यतिखेरैको मतको लेखाजोखामा थोरै मतले पछाडि पर्ने देखाउँछ । २०७४ मा एमालेले प्रत्यक्षमा जित्दा समानुपातिकमा ४३०५० मत ल्याएको थियो । कांग्रेसले ३२३९० मत प्राप्त गरेको थियो । माओवादीले ११२५४ मत ल्याएको थियो । तर पहिले एमालेसँग रहेको माओवादी यसपटक कांग्रेससँग छ । अहिले गठबन्धन हुँदा माओवादीको मत कांग्रेसतिर राख्दा पहिलेकै मतको अनुपातमा काभ्रे २ मा एमाले ५९४ मतले पछाडि देखिन्छ । तर स्थानीय तहको यसपटकको मतको आधारमा विश्लेषण गर्दा गठबन्धनभन्दा एमाले झण्डै १५ हजार मतले पछाडि देखिन्छ । गठबन्धनमा आवद्ध सबै दलले केही वडामा तालमेल पनि गरेका थिए । तर एमाले सबै ठाउँमा एक्लै भिडेको थियो । यो एमालेको लगभग मिल्ने मत हो । बढेको मतदाताले थोरै अंक माथि पुर्याउन सक्छन् । तर जित्ने गरी मत बटुल्न विवादित छविका बाँस्कोटालाई कठिन देखिन्छ । छोटो समयमै चर्चित छोटो समयमै बदनाम बाँस्कोटा गोकुल राष्ट्रिय राजनीतिमा शक्ति र चर्चाको शिखरमा जति छिटो चढे उति छिटो झरे । अर्थात बलिया र प्रभावशालीलाई पछि पार्दै छिटो माथि पुगे । तर धेरैसमय टिक्न सकेनन् । अध्यक्ष ओलीसँगको गहिरो सम्बन्धनका कारण छिट्टै माथि पुगे । तर विवादपछि उनी लामो समय नअडि एक्कासी ढल्न पुगे । सांसद र केन्द्रीय सदस्य भएको लामो समयपछि अरु नेताले एमालेमा थोरैमात्रै अवसर पाउने गरेका छन् । तर गोकुलका लागि भने ओलीसँगको विशेष सम्बन्धनले लो प्रोफाइनलमा उच्च पद दिइएपछि एमालेभित्रै तीव्र असन्तुष्टि थियो । तर ओली र गोकुलको विशेष सम्बन्धका कारण कसैले मुख खोल्न भने सक्दैनथे । संचार मन्त्री भएकै बेला सेक्युरिटी प्रेस खरिदमा ७० करोडको घुस बार्गेनिङ गरेको अडियो बाहिरिएपछि गोकुलको ओरालो यात्रा सुरु भयो । त्यसैले जबर्जस्त प्रभाव एकाएक खस्कियो । शक्तिशाली दुई तिहाई हाराहारी मतको प्रधानमन्त्री हुँदासमेत ओलीले नै गोकुललाई बचाउन सकेनन् । त्यही अडियोले गर्दा नैतिकताको आधारमा उनले राजीनामा दिए । छानविन गरेर उनलाई दोषी वा निर्दोष के हो प्रष्ट्याउने काम भएन । यसैले आज पनि गोकुलमाथि थुप्रै नैतिक प्रश्न उठिरहेका छन् । छोटो समयमा अत्याधिक शक्ति र सामथ्र्य प्राप्त गर्नुका कारण आफ्नै विरासत र शक्तिभन्दा ओलीको धाप धेरै थियो । यसैले उनी सत्ता र शक्तिको शिखरमा चढे पनि उनलाई ठूलो राजनीतिक क्षति पुर्यायो । आरोप लागिसकेपछि यो मुद्दाले किनारा नपाउँदा विरोधी र आलोचकलाई यही ७० करोडको विषयले उनीविरुद्ध प्रश्न उठाउने ठाउँ दिएको छ । एमाले विभाजनको असर उत्तिकै नेकपा हुँदै एमाले विभाजनको असर अन्य जिल्लामा भन्दा काभ्रेमा धेरै छ । प्रभावशाली नेताले नै एमाले त्यागे । उनीहरूले नेकपा एस रोजेपछि यो नै गोकुलका लागि ठूलो चुनौती बन्न पुग्यो । २०६४ सालको पहिलो संविधानसभामा जितेका कृष्णप्रसाद सापकोटा नै अहिले एमालेमा छैनन् । २०७० मा गोकुल बाँस्कोटा पराजित भएपछि सापकोटा एमालेमा अपमानजनक स्थितिमा रहे । यसैले उनी एमाले विभाजनपछि नेकपा एसमा लागेका छन् । पार्टीका पूर्व सचिव एवं विदुर सापकोटा पनि एमालेमा छैनन् । यी दुई मात्रै होइनन् प्रदेशसभामा निर्वाचित भएका वसुन्धारा हुमागाईं र लक्ष्मण लम्साल एमालेमा छैनन् । अर्थात उनीहरू नेकपा एसमा सक्रियतापूर्वक लागेका छन् । अर्का प्रभावशाली नेता टोकबहादुर वाइबा पनि अहिले एमाले छोडी नेकपा एसमा सक्रिय छन् । उनी मण्डन देउपुरको मेयरमा नेकपा एसबाट विजयी भएका थिए । यसरी गोकुलको टिमसँग यतिखेर कुनै समयमा एमालेका प्रभावशाली नेताको लहर नै छैन । यसैले पनि हुमागाईंसँगको प्रतिस्पर्धा बाँस्कोटाको लागि कठिन हुने बताइन्छ । एमालेमा सक्रिय र प्रभावशाली रहेको हिस्सा नै अन्यत्र गएपछि गोकुललाई थप संकट देखिएको हो । दुवैको जित्ने दाबी सत्ता गठबन्धनतर्फ काभ्रे २ मा कांग्रेसका उम्मेदवार रहेका शिवप्रसाद हुमागाईं सत्ता गठबन्धनको बलमा कांभ्रेमा यसपटक कांग्रेसले विजयको झण्ड फहराउने बताउँछन् । ‘मैंले पहिले जित्दा पनि जनताको भावना र विश्वासलाई तोड्ने काम गरिनँ । २०५६ सालमा जितेपछि भएका विद्युतीकरण, खानेपानी, बाटोघाटोको विकासजस्ता जनपक्षीय कामका लागि २३ वर्षपछि पनि नगारिकले मलाई सम्झन्छन्’ हुमागाईं भन्छन्, ‘तर यहाँ लोकतन्त्र मास्ने र भ्रष्टाचारमा डुबेर जनता र मतदाताको आस्था र विचारमाथि ठेस पुर्याउने काम भएका छन् । यस्ता गलत काममा म कदामी लाग्ने छैन । यसपटक भ्रष्टाचार र अनियमितता होइन विकास, समृद्धि र सत्कर्मकाको लागि मलाई काभ्रेली जनताले मलाई विश्वास गर्छन् र जिताउँछन् भन्ने विश्वास लिएको छु ।’ पहिलेदेखि नै कांग्रेस बलियो रहेको, १६ हजार मतान्तरले अघि रहेको, सधैं नागरिकको घरदैलोमा रहेर समस्याको समाधानमा लाग्नु नै आफ्नो लागि जितको आधार भएको उनी बताउँछन् । ‘कांग्रेस काभ्रेमा पहिलेदेखि नै बलियो अवस्थामा रहेको पार्टी हो । यसपटक सत्ता गठबन्धनको बलमा हामी धेरै दल एक भएर अघि बढेका छौ । यसैले काभ्रे २ मा हामी सबै गठबन्धनले जित्ने माहोल बनिसकेको छ’ हुमागाईं भन्छन्, ‘म काभ्रेली जनताको शीर निहुर्याउने गरी कुनै गलत काम गर्दिनँ । मेरो यो मन्त्रलाई नागरिक र मतदाताले रुचाउँछन् ।’ काभ्रे २ का एमाले उम्मेदवार गोकुल बाँस्कोटा आफूले गरेको कामबारे काभ्रेली जनताले गरेको बोध नै आफ्नो लागि जितको आधार भएको दाबी गर्छन् । ‘मैंले काभ्रेका लागि के कति गरेको छु भनेर मैंले भन्नै पर्दैन । जनता आफैंले मलाई बुझेका छन् । मैंले सांसद भएपछि गरेका कामहरूको फेहरिस्त जनताले देखेका छन्, बुझेका छन्’ बाँस्कोटा भन्छन्, ‘मैंले प्रतिवद्धता गरेकोभन्दा बढी काम गरेपछि फेरि पनि काभ्रेका जनताले मलाई राम्रोसँग बुझेका छन् भन्ने लाग्छ । यसैले मेरो कामको परीक्षण गर्दा नागरिकले आनन्द महसुससमेत गर्छन् । मेरो कामको मूल्यांकन गरेर जनताले मलाई जिताउँछन् ।’ आफूले मन्त्री हुँदा गरेको विकास हेरेर भोट हाल्न उनले पटकपटक आग्रह गर्दै आएका छन् । तर विकासका योजनामा ठाउँ हेरेर पक्षपात गरेको आरोपसमेत गोकुललाई लाग्ने गरेको छ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषय संसद्ले एकमतले पास गरेको हो : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन् । आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए । ‘कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो’, प्रधानमन्त्री देउवाले भने, ‘अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।’ उनले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उनको भनाइ थियो । ‘अहिले धेरै किसिमका अफवाह काम भइरहेको छु, प्रधानमन्त्री देउवाले भने, ‘मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ ।’ उनले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताए । गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याइने भन्दै देउवाले दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने धारणा राखे । ‘दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ’, उनले भने, ‘दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ ।’ मेरै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्री अध्यक्ष दाहाल सोही चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताए । उहाँले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गरे । पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो । भूमि फिर्ताका विषयमा उनले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिए । ‘चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्’, उनले भने, ‘प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ ।’ सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू छन् । उनीसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहेका छन् । रासस
राजधानीमा कहिले आउँछ मेलम्चीको पानी ?
काठमाडौं । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ । विसं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरुङ बन्द गर्न थालिएको हो । बाढी आउने अघिल्लो दिन सुरुङ बन्द गरिएकाले सुरुङभित्र क्षति हुन पाएको थिएन । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाले कात्तिक महिनाभित्रै मेलम्चीको पानी राजधानी ल्याउने भनेकामा यो महिनामा पानी नआउने निश्चित भएको छ । गतवर्ष मेलम्चीको बाढीले भत्काएको सडक हेलम्बु गाउँपालिकाले नै बनाएर पानी ल्याउने वातावरण बनाएको थियो । सडक बनाएर पानी ल्याउन सहयोग गरेपछि सङ्घीय सरकारले २०७८ साल असार १ गतेको बाढीबाट क्षति भएको मुहानस्थलका संरचना बनाउन वास्ता नगरेकाको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जे शेर्पाले बताए । ‘गाउँपालिकाले सडक नबनाएपछि मेलम्ची आयोजना आफैँले अझै बनाउन सकेको छैन, स्थानीय सरकारले पानी लान रोकेको होइन, तर हामीले नदिएको भनी दुष्प्रचार गरिएको छ, मेलम्चीको पानी राजधानी लगेर महसुल उठाएपछि त्यसको २५ प्रतिशत लेबी स्थानीय सरकारले पाउनुपर्छ भनी माग राखेका हौँ, यहाँको पानी लगेर सरकारले राजधानीमा निःशुल्क बाँडेको होइन, महसुल लिन्छ, महसुल लिएपछि त्यसको २५ प्रतिशत हामीले पाउनुपर्छ’–उनले भने । राजधानीवासी लाई पानी खुवाउने हेलम्बुको सडकमा वर्षा लागेपछि हिँड्न नसकिने समस्या समाधानका लागि पनि स्थानीय सरकारले माग गर्दै आएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा ठूलो बाढी गएर धनजनको क्षति भएको डेढवर्ष बित्दा पनि पुनःनिर्माणमा केन्द्रीय सरकारले वास्ता नगरेको गुनासो स्थानीय सरकारको छ । मेलम्ची बाढीको विषय चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा नसमेटिँदा पनि स्थानीय सरकार आक्रोशित भएको हो । अध्यक्ष शेर्पाले भने–’हामीले मात्र सहयोग गरिरहने रु मेलम्ची पीडितलाई केही गर्न नपर्ने रु राजधानीलाई पानी खुवाउने हेलम्बुमा वर्षामा आउन सकिन्न, राजधानीको खानेपानी ल्याउने मुहानमा जाने पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्दैन ?’ स्थानीय सरकार नहुँदा सामाजिक संस्थामार्फत् सञ्चालन गरिएको सामाजिक उत्थान कार्यक्रमलाई पालिकामार्फत् लैजानुपर्ने माग पनि उनले गरे । गतवर्ष पानी पठाउँदा खानेपानी मन्त्रीमार्फत् प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्र नबुझाइएकामा पनि स्थानीयवासी आक्रोशित छन् । स्थानीय सरकारले पानी नरोकी सरोकार सम्बोधन गर्न जोडदार माग गरेको जनाइएको छ । पानी रोक्दा भने यहाँभन्दा जटिल परिस्थिति आउने भएकाले सचेत हुन अध्यक्ष शेर्पाले आग्रह गरेका छन् । यता मेलम्चीको पानी काठमाडौँ ल्याउन पूर्वाधार पुनःनिर्माणको तयारी हुन थालेको छ । वर्षामा बन्द गरिएको मेलम्चीको पानी फेरि राजधानी ल्याउन प्राविधिक अध्ययन गर्न आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ नेतृत्वको समूह आज आयोजनास्थल पुगेको छ । मुहानस्थलको स्थलगत अध्ययन गरी कहिलेसम्म पानी राजधानी लैजान सकिन्छ भन्न सकिने उनले बताए । राजधानीमा मेलम्चीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउँछ । पहिलो चरणमा मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी सुन्दरीजलमा प्रशोधन गरी काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा वितरण गरिन्छ । मेलम्चीको पानी सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौंको सुन्दरीजलसम्म २७।५ किमी सुरुङ मार्ग हुँदै राजधानी ल्याइन्छ । विसं २०७७ चैतमा बहुप्रतिक्षित मेलम्चीको पानी राजधानी आइपुगेको हो । करिब साँढे दुई महिनापछि वर्षाले असर गर्न सक्ने अनुमानका कारण २०७८ साल जेठ अन्तिम साता सुरुङमा पानी हाल्न बन्द गरिएको थियो । सुरुङमा पानी बन्द गरिएको भोलिपल्ट नै असार १ गते आएको गेग्रानसहितको बाढीले मुहानस्थलमाक्षति पुगेको थियो । विसं २०७८ जेठ अन्तिम साता बन्द गरिएको पानी पाँच महिनापछि कात्तिकमा फेरि राजधानी ल्याइएको थियो । यसवर्ष भने सुरुङमा पानी बन्द गरिएको पाँच महिना पूरा हुँदा पनि फेरि ल्याउन पहल हुन नसक्दा राजधानीवासी काकाकुल हुने अवस्था आएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए ।
पूर्वका उद्योगी सडकमा, ब्याज नघटाएसम्म आन्दोलन गर्ने (फोटोफिचरसहित)
काठमाडौं । पूर्वका उद्योगीहरुले चर्को बैंक व्याजदर तथा प्रतिकूल बैंकिङ नीतिहरु विरुद्ध सडकमा जुस गरेका छन् । बुधबार मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं। १ले बैंकविरुद्ध मौन जुलुस गरेका हुन् । जुलुसमा निजी क्षेत्रका अन्य थुप्रै संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी–व्यवसायीहरु र सर्वसाधारणहरु सहभागी थिए । सो मौन जुलुसले विराटनगर बजार हुँदै नेपाल राष्ट्र बैंकको प्रदेश नं.१ को कार्यालय गई कार्यालयकी प्रमुख मिना पाण्डेमार्फत नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीका लागि ज्ञापन पत्र बुझाएको छ । त्यसका साथै सो मौन जुलुसले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माका लागि ज्ञापन पत्र बुझाएको छ ।
मृगौला प्रत्यारोपणमा किस्ट मेडिकल कलेज सफल, साढे ४ लाखमै उपचार
काठमाडौं । पछिल्लो समय विश्वमा मृगौलाको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा झण्डै ३० लाख मानिसहरुमा मृगौला सम्बन्धी समस्या रहेको विभिन्न तथ्यांकहरुमा प्रस्तुत गर्ने गरिएको छ । त्यस्तै वार्षिक रुपमा ३ हजार नेपालीको मृगौला फेल हुने गरेको विभिन्न तथ्यांकहरुले देखाउने गरेको छ । मानव शरिरको लागि अति आवश्यक अंग मृगौलामा देखिएको सो संख्यात्मक समस्या आँफैमा डरलाग्दो विषय हो । मृगौलामा समस्या भएर फेल भएपछि वा मृगौलाले काम गर्न छोडेपछि यसको उपचार महंगो र जीवनभर गर्नुपर्ने हुन्छ । सरकारले दुबै मृगौला फेल भएर डाइलासिस गरिरहेका र मृगौला प्रत्यारोपण गरेका विमारीहरुलाई कार्यविधि बनाएर मासिक ५ हजार रुपैयाँ प्रदान गर्न शुरु गरेको छ । साथै सरकारले मृगौला प्रत्यारोपण गर्ने विमारीहरुलाई अनुदान उपलब्ध गराउने गरेको छ । तर, मृगौला प्रत्यारोपण कार्य निश्चित सरकारी र निजी अस्पतालहरुले मात्रै गर्ने भएकाले अहिलेसम्मको अवस्था यो विषय आम मानिसमा सर्वशुलभ बन्न सकेको छैन् । पछिल्लो समय भने मृगौला प्रत्यारोपण सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाहरुको वृद्धि हुन थालेको छ । सोही मध्ये ललितपुरमा रहेको किस्ट मेडिकल कलेजले मृगौला प्रत्यारोपणमा आफूलाई विश्वासिलो संस्थाको रुपमा प्रस्तुत गर्न सफल भएको छ । कलेजका अनुसार पछिल्लो डेढ वर्षको अवधिमा ५० ओटा मृगौला प्रत्यारोपण गर्न सफल भएको हो । कलेजले मंगलबार एक समारोहको आयोजना गर्दै मृगौला प्रत्यारोपणमा छोटो समयमा ठूलो सफलता हाँसिल गर्न सफल भएको जनाएको छ । कलेजको अहिलेसम्मको तथ्यांकमा मृगौला प्रत्यारोपण गर्ने अधिकांश मानिसहरु ३० देखि ४० वर्ष उमेरका रहेका छन् भने दान गर्नेहरु ५० वर्षभन्दा माथि उमेरका रहेका छन् । सरकारले मृगौला फेल भएका रोगीलाई निःशुल्क डाइलासिसको व्यवस्था गरेपनि सो उपचार विधि सामान्य जीवनमा फर्किनको लागि भने त्यति प्रभावकारी भएको देखिँदैन । मृगौला प्रत्यरोपण गरिसकेपछि भने मानिसले आफ्नो पुरानै अवस्थामा फर्किन सक्ने कलेजका चिफ युरो एण्ड ट्रान्सप्लान्ट सर्जन डा. नारायण भुसाल बताउँछन् । उनका अनुसार कलेजले डेढ वर्षमा गरेको मृगौला प्रत्यारोपणमा सबै मानिसहरु आफ्नो सामान्य जीवनमा फर्किएका छन् । किस्टले देखाएको सफलता राष्ट्रकै लागि भएको उनले बताएका छन् । कलेजले सरकारबाट ०७७ सालको अन्त्यतिर मृगौला प्रत्यारोपणको लागि लाइसेन्स प्राप्त गरेको थियो । लाइसेन्स प्राप्त गरेको केही समयपछि नै अस्पतालले ०७८ बैशाख महिनाबाट प्रत्यारोपणको कार्य प्रारम्भ गरेको थियो । कात्तिक २२ गतेसम्म कलेजले ५१ जना मृगौलाका बिमारीमा मृगौलाको प्रत्यारोपण गर्न सफल भएको छ । डा. भुसालका अनुसार अस्पतालले सम्पूर्ण कानूनी प्रकृया पुरा गरिसकेपछि त्यसको सम्बन्धित विभाग निर्माण गरेर र उनकै नेतृत्वमा टिम निर्माण गरेर प्रत्यारोपणको थालनी गरेको थियो । ‘यसमा कानूनी प्रकृया पनि अलिक कसिलो छ, हामीले ट्रान्सप्लान्टको लागि विङ्स बनाएका छौं, प्रत्यारोपणको अगाडि हामीले केही वर्कसप पनि गर्यौं,’ डा. भुसालले भने । नेपालमा वार्षिक रुपमा ३ हजार नेपालीहरुमा मृगौला फेल हुने गरेको समस्या देखिएपनि सरकारी र निजी क्षेत्रका अस्पतालहरु सबैको प्रयासबाट झण्डै ३ सय जनाको मात्रै मृगौला प्रत्यारोपण हुने गरेको छ । त्यस्तै सरकारको सूचिकृत अस्पतालमा झण्डै १० हजार मृगौला रोगीहरुले डाइलासिस गराइरहेका छन् । सरकारले मृगौला रोगीको डाइलासिस प्रकृयामा पनि वार्षिक रुपमा प्रतिव्यक्ति ४ लाख भन्दा धेरै खर्च गर्ने गरेको छ भने मृगौला प्रत्यारोपणमा पनि प्रतिव्यक्ति ४ लाख भन्दा धेरै सहयोग गर्ने गरेको छ । किस्ट कलेजले पनि सरकारले नागरिकलाई मृगौला प्रत्यारोपणको लागि उपलब्ध गराएको अनुदान बराबरको खर्चमा नै बिमारीहरुलाई मृगौला प्रत्यारोपणको सुविधा प्रदान गर्ने गरेको कलेका प्राचार्य डा.बालमान सिँह कार्कीले बताए । कलेजले नाफा आर्जन गर्ने भन्दापनि बिमारीहरुलाई सेवा दिने उद्देश्यले शुल्क निर्धारण गरेको उनको भनाइ छ । सरकारले अहिलेसम्म निजी क्षेत्रबाट सञ्चालित अस्पताल वा शिक्षण अस्पताल मार्फत मृगौला प्रत्यारोपण गर्दा अनुदान दिने व्यवस्था गरेको छैन । त्यसैले किस्ट मेडिकल कलेजबाट मृगौला प्रत्यारोपण गर्दा सो सुविधा प्राप्त गर्न सकिँदैन । तर, स्थानीय तहले दिने अनुदान सहयोग र प्रत्यारोपणपछिको सहयोग भने जुनसुकै अस्पतालबाट उपचार गर्ने बिमारीले पनि प्राप्त गर्न सक्छन् । सरकारले निजी क्षेत्रबाट सञ्चालित अस्पताल वा कलेजसँग अनुदानमा सहकार्य गर्ने नीति ल्याएमा आफूहरु पहिला सहकार्य गर्न तयार रहेको नेफ्रोलोजिस्ट डा. सन्तोष क्षेत्रीले बताए । ‘सरकारले अहिलेसम्म निजी अस्पताल तथा मेडिकल कलेजलाई अनुदान उपलब्ध गराउने नीति तय गरेको छैन, त्यस्तो नीति आएमा हाम्रो कलेज पहिला सहकार्य गर्न तयार छ,’ उनले भने । डा. क्षेत्रीका अनुसार मृगौला प्रत्यारोपणको सन्दर्भमा नेपाली अस्पतालहरुले पनि अन्तर्राष्ट्रिय स्तरकै सेवा प्रदान गर्ने गरेका छन्, जसकारणले मृगौला प्रत्यारोपणकै लागि विदेश जानु पर्दैन । चिफ युरो एण्ड ट्रान्सप्लान्ट सर्जन डा. नारायण भुसालले मृगौला ट्रान्सप्लान्ट सम्बन्धी भ्रम आम मानिसदेखि कतिपय चिकित्सकलाई समेत भएको बताए । उनले अहिलेसम्मको अनुभवमा औसतमा हेर्दा मृगौला प्रत्यारोपण गरेको मान्छे २० वर्षसम्म बाँचेको बताए । ‘प्रत्यारोपण सम्बन्धी भ्रम धेरैलाई छ, डाक्टरलाई पनि छ’, उनले भने, ‘हामीले स्वास्थ्य परीक्षण गरेर कुनै व्यक्तिले मृगौला दान गर्न हुन्छ आगामी दिनमा उहाँको स्वास्थ्यमा समस्या आउँदैन भनेपछी मृगौला दान गर्न हुन्छ ।’ डाइलोसिस गरेर भन्दा प्रत्यारोपण गरेर मानिसको जीवन सहज हुने उनको भनाइ छ । उनका अनुसार मृगौला प्रत्यारोपण गरेको बिमारीले जीवनभरी नै केही औषधी खानुपर्ने हुन्छ । जसको खर्च पहिलो ३ महिनासम्म ३० हजार र त्यसपछिका महिनामा १० हजारका दरले खर्च हुने गर्छ । कानूनअनुसार मृगौला प्रत्यारोपणका लागि निश्चित नाता सम्बन्ध भएको मानिसको मात्रै मृगौला लिन पाइन्छ । मृगौला लिनको लागि भने रगतको ग्रुप भने अनिवार्य रुपमा मिल्नुपर्ने उनको भनाइ छ । त्यस्तो अवस्थामा ‘पेयर एक्सचेन्ज’ गर्न सकिने उनले बताए । ‘पेयर एक्सचेन्ज पनि गर्न सकिन्छ, त्यसको लागि पारस्परिक सहमति हुन जरुरी हुन्छ, त्यसको लागि कानूनी व्यवस्था पनि रहेको छ’, कलेका कानून अधिकृतले भने । मृगौला प्रत्यारोपणको विषयलाई लिएर कलेजले देशका विभिन्न ठाउँका विद्यालय, अस्पताल र व्यवसायीक क्षेत्रमा सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । आगामी दिनमा कलेजलाई मृगौला प्रत्यारोपणको नेतृत्वदायी संस्थाको रुपमा विकास गर्नेगरी काम गरेको कलेजले बताएको छ ।
२५ लाखमा नयाँ घाँसेमैदान बनाउँदै चितवन राष्ट्रिय निकुञ्ज
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयार गरिने भएको छ । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि निकुञ्जले घाँसेमैदानको कामलाई प्राथमिकता दिएको हो । यस वर्ष निकुञ्जले दुई सय २५ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले घाँसेमैदान व्यवस्थापनका लागि बोलपत्र आह्वान भएर सम्झौताको चरणमा रहेको बताए । उनले निर्वाचनलगत्तै घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिने जानकारी दिए । यस वर्ष नयाँ घाँसेमैदान निर्माणका लागि २५ लाख र व्यवस्थापनका लागि ३३ लाख बजेट विनियोजन भएको तिवारीले बताए । उनले बजेटअभावका कारण थोरै क्षेत्रफलमा मात्रै घाँसेमैदान निर्माण र व्यवस्थापनको काम गर्न लागिएको जानकारी दिए । निकुञ्जमा आर्थिक वर्ष २०७६/७७ मा छ सय हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान निर्माण र ५८ हेक्टरमा व्यवस्थापनको काम भएको थियो । यस्तै २०७७/७८ मा सात सय हेक्टरमा निर्माण र चार सय हेक्टरमा व्यवस्थापनको काम भएकामा आर्थिक वर्ष २०७८/७९ मा ५० हेक्टरमा नयाँ घाँसेमैदान निर्माण र तीन सय आठ हेक्टरमा व्यवस्थापनको काम भएको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसेमैदानका रुपमा लिइन्छ । निकुञ्जको नौ सय ५२ वर्गकिलोमिटर क्षेत्रफलमध्ये करिब १० प्रतिशत मात्रै घाँसेमैदान छ । साना किरा फट्याङ्ग्रा, सरिसृपदेखि ठूला स्तनधारी प्रजाति गैंडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुलाई घाँसेमैदान विचरण गर्न, खेल्न, हिँड्डुल गर्न, घाम ताप्न, आराम गर्नका लागि अत्यन्तै उपयोगी हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । निकुञ्जका जनावर मात्र नभएर जैविक विविधताको संरक्षण र पर्यावरणमा सन्तुलन कायम राख्नसमेत घाँसेमैदानले ठूलो भूमिका निर्वाह गर्ने उनको भनाइ छ । ‘निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका घाँसेमैदानमा मुख्य घाँस प्रजातिमध्ये दुबो, काँस, सिरु, बरुवा, नर्कट, थमेडा, ढड्डी आदि पाइन्छन्’, आचार्यले भने, ‘निकुञ्जको घाँसेमैदानमा ५० भन्दा बढी प्रजातिका घाँस छन् जुन यहाँका वन्यजन्तुको मुख्य आहारसमेत हो ।’ निकुञ्जले यस आर्थिक वर्षमा पूर्वको सौराहा घाटदेखि पश्चिमको पुरानो टाइगर टप क्षेत्रसम्म घाँसेमैदान निर्माण र व्यवस्थापनको काम गर्ने जनाएको छ । घाँसेमैदान व्यवस्थापनअन्तर्गत अग्लो घाँस–ढड्डी काट्ने, आगो लगाएर जलाउने, जरासहित रूख हटाउने, स–साना पोथ्रा हटाउने, रूखको मुना हटाउनेजस्ता काम हुने आचार्यले बताए । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जभित्रको घाँसेमैदान राम्रो व्यवस्थापन हुन नसकेमा वन्यजन्तु मानवबस्ती आउन सक्ने बताए । घाँसेमैदान व्यवस्थापन र नयाँ निर्माणमा निकुञ्जको बजेट थोरै भएको बताए । निकुञ्जभित्र राम्रो घाँस खान नपाएमा दुर्लभ एकसिङ्गे गैँडा र बाघका आहारा प्रजाति खानाका लागि मानवबस्ती प्रवेश गर्ने र दुःख दिने उनको भनाइ छ । मानव र वन्यजन्तु बीचको द्वन्द्व कम गर्नका लागि निकुञ्जभित्रको घाँसेमैदान व्यवस्थित हुनुपर्ने उनी बताउँछन् । घाँसेमैदान व्यवस्थापनपछि बाघ र गैँडाको सङ्ख्यासमेत वृद्धि भएको निकुञ्जले जनाएको छ । पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैँडा र एक सय २८ वटा बाघ रहेका छन् । रासस