विनोद चौधरीको चुनाव प्रचारमा गएपछि भुवन केसीलाई सोधियो स्पष्टीकरण
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। सत्ता गठबन्धनबाट नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको चुनाव प्रचारमा गएको भन्दै आयोगले बोर्ड अध्यक्ष केसीलाई स्पष्टीकरण सोधेको हो। चौधरीको चुनाव प्रचारमा केसी सहभागी भएकाबारे समाचार आएको भन्दै आयोगले त्यसबारे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड क मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ भन्ने उल्लेख छ। खण्ड ख मा ‘राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने’ समेत व्यवस्था छ। ‘उल्लेखित कानूनी व्यवस्था रहेको सम्बन्धमा तपाईंले कुनै दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने भएकोले तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?’ खुलाउनसमेत आयोगले भनेको छ।
नुवाकोटमा स्वतन्त्र पार्टीका पाण्डे ठूला पार्टीलाई भारी, सफल व्यवसायीको ट्यागले जित्नेमा ढुक्क
काठमाडौं । मतदाताले निर्वाचनमार्फत आफ्नो मत अभिव्यक्त गर्न अब केही दिन मात्रै बाँकी छ । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरुले आफ्नो प्रचार–प्रसारलाई पछिल्लो समयमा निकै तीव्र बनाएका छन् । विगतमा आफ्नो सांगठनिक विरासत नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक नुवाकोट २ मा राम्रो उपस्थिति देखाएको छ । सत्ता गठबन्धन र एमालेबाट पुरानै उम्मेदवारहरु दोहोरिएको अवस्थामा लामो समयसम्म पर्यटन व्यवसाय गर्दै आएका सुमन बिक्रम पाण्डे यसपटक सो क्षेत्रमा नयाँ प्रतिस्पर्धीको रुपमा उदाएका छन् । उनी लामो समयदेखि एयरलाइन्स, ट्राभल एजेन्सी, लगायत विभिन्न व्यवसायिक क्षेत्रमा लगानी गर्दै आएका सफल व्यवसायी हुन् । यसपटकको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुराना अनुहारलाई हराउँदै ‘ह्याट्रिक’ गर्ने दाउमा उनको उपस्थिति देखिएको छ । पाण्डेले ठूला राजनीतिक दलमा वितृष्णा पैदा भएका र नयाँ पुस्ताका मतदातालाई आफ्नो पोल्टामा पार्ने दाउमा प्रचार गरिरहेका छन् । ठूला राजनीतिक दलका उम्मेदवार दोहोरिरहेको र सो क्षेत्रको विकासमा उनीहरुको आवश्यक योगदान रहन नसकेको विषय उम्मेदवार पाण्डेको मुख्य प्रचारको सामग्री बनेको छ । आफू पर्यटन क्षेत्रको विषयमा जानकार तथा सफल व्यवसायी भएको नाताले सो निर्वाचन क्षेत्रमा रहेका सम्भावित पर्यटन क्षेत्रलाई पनि उनले प्रचारमा समेटेका छन् । पाण्डेले आफ्नो घोषणापत्रमा नुवाकोटमा औद्योगिक विकासको लागि ‘नुवाकोट विकास मन्च’ गठन गर्ने, बेत्रावतीदेखि गल्छीसम्मको सडकलाई राजमार्गको रुपमा विकास गर्ने र नुवाकोटमा काठमाडौंको वैकल्पिक शहरको विकास गर्न सबै पालिकाहरुको समन्वयमा गुरुयोजना निर्माण गर्ने विषयको उठान गरेका छन् । त्यस्तै, उनले नुवाकोटमा कला सम्मेलन, अन्तर्राष्ट्रिय स्तरको शिक्षालय, अस्पताल र अध्ययन केन्द्र लगायतका विषयहरुको शुरुवात गर्ने विषयलाई आफ्नो घोषणापत्रमा समेटेका छन् । ठूला राजनीतिक दलहरुले उनीहरुबीचमा नै प्रतिस्पर्धा सीमित रहेको अनुमान गरेको गरिरहेको बेला पाण्डेले पनि समान स्तरमा जनपरिचालन गर्न सफल भएको देखिन्छ । जनस्तरमा संगठनको आधार नभएकाले उनलाई जनतामा देखिएको आफू पक्षको लहरलाई चुनावसम्म कसरी जोगाउने भन्नेमा भने निकै चुनौति देखिएको छ । आफू प्रतिनिधिसभा सदस्यको रुपमा निर्वाचित भएपछि आफ्नो ३ दशकको व्यवसायिक अनुभवका आधारमा मुलुकमा पर्यटन क्षेत्रको विकासमा आफूलाई समर्पित गर्ने पाण्डेले बताएका छन् । विज्ञ समूहको निर्माण गरी राज्यको कानून निर्माण प्रकृयामा संसदमा आफ्नो ओजपूर्ण उपस्थिति जनाउने उनले बताएका छन् । पाण्डेको घरदैलो कार्यक्रम । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा (एमाले)को तर्फबाट नारायणप्रसाद खटिवडा पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् । ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीलाई हराउँदै बामगठबन्धनको तर्फबाट एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा विजयी भएका थिए । विगतमा बाम गठबन्धनको साझा उम्मेदवारले सो क्षेत्रबाट विजयी हासिल गरेकोमा यसपटक सत्ता गठबन्धनको साथ पाएकोमा आफूले सहज ढंगले विजय हासिल गर्नेमा कांग्रेसका नेता अर्जुननरसिंह केसी ढुक्क रहेका छन् । तर, उनी उमेरले धेरै वृद्ध भएको र नुवाकोटको विकासको लागि महत्वपूर्ण योगदान गर्न नसकेको भन्दै आलोचना हुने गरेको देखिन्छ । ठूला राजनीतिक दलहरुले आफ्नो प्रवृत्तिलाई धेरैपटकको अवसरमा पनि सुधार नगर्दा निराश हुन पुगेका जनताको बैकल्पिक उम्मेदवार हुन पुगेका सुमन बिक्रम पाण्डेले मत प्रकट गर्ने दिनसम्म नुवाकोटमा उनको पक्षमा देखिएको लहरलाई बचाउन सकेमा उनकाे जितलाई कसैले पनि नकार्न नसक्ने अवस्था आउन सक्छ । को हुन् उनी ? पर्यटन व्यवसायीको क्षेत्रमा राम्रो छवि बनाएका पाण्डेले विभिन्न संघ संस्थामा रहेर काम गरिरहेका छन् । उनले ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्ष रुपमा पनि काम गरिसकेका छन् । यसका साथै नेपाल पर्यटन बोर्डका सदस्य, अन्तर्राष्ट्रिय हिमालयन ट्राभल मार्टका संयोजक, प्यासेफिक एशिया ट्राभल एशोसियशन नेपाल च्याप्टरका अधयक्षका रुपमा पनि काम गरिसकेका छन् । यस्तै, उनले एयरलाईन्स अपरेटर एशोसियसनको उपाध्यक्ष, नेपाल तेकान्दो संघ बागमती प्रदेश संरक्षक, नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति नुवाकोट समूह अध्यक्षका रुपमा पनि काम गरिसकेका छन् । उनीसँग फिस्टेल एयर हेलिकप्टरको प्रमुख कार्यकारी अधिकृत (अहिले सञ्चालक), समिट एयरका संचालक, एलफ्ट काठमाडाैं होटल र छाँयादेवी कम्प्लेक्सका सञ्चालको रुपमा पनि काम गरिरहेका छन् । उम्मेदवार सुमन बिक्रम पाण्डेको चुनावी घोषणापत्र
जीवन विकास लघुवित्तको ईपीएस ५९ रुपैयाँ घट्यो, नाफा १६.४० प्रतिशत गिरावट
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १६.४० प्रतिशत घटेर १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.९४ प्रतिशत बढेर ४० करोड ६२ लाख ८० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.०४ प्रतिशत बढेर ५० करोड ५१ लाख ९० हजार रुपैयाँ र सञ्चालन मुनाफा २०.९४ प्रतिशत घटेर १२ करोड ५१ लाख ६९ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ७० प्रतिशत बढेर १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ, जगेडा कोष १२.६७ प्रतिशत बढेर १ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ, सापटी ६.०६ प्रतिशत घटेर १० अर्ब ६ करोड ४२ लाख रुपैयाँ, निक्षेप १६.५८ प्रतिशत बढेर ९ अर्ब ७६ करोड ९ लाख रुपैयाँ र कर्जा १२.३१ प्रतिशत बढेर २४ अर्ब २६ करोड ३७ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ १ पैसा घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी घटेर ५७ रुपैयाँ १० पैसा रहेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११६.११ रुपैयाँ रहेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.८२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २८३ रुपैयाँ ९२ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ०.४४ प्रतिशत घटेर १.१२ प्रतिशत र कस्ट अफ फण्ड १०.३३ प्रतिशत रहेको छ ।
आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्न आइएमईले बोलायो साधारणसभा
काठमाडौं । आइएमई लिमिटेडले मंसिर १६ गतेको लागि साधारणसभा बोलाएको छ । कम्पनीको बुधबार बसेको बैठकले लाजिम्पाटस्थित ले हिमालय होटलमा दिउँसो ३ बजेको लागि वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभाले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने विषयमा निर्णय गर्नुको साथै बोनश सेयर जारी गरी चुक्ता पूँजी जारी गर्ने बताइएको छ । यस्तौ, सभाले संचालक समितिको २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा २०७८ साउन १ देखि २०७९ असार मसान्तसम्मको नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने र लेखापरीक्षक नियुक्ति गर्ने कम्पनीले जनाएको छ ।
आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छु : अध्यक्ष दाहाल
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताएका छन् । चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताए । ‘मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु’, उनले भने, ‘राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ ।’ उनले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट नै गर्ने दाबीसमेत गरे । ‘म गोरखा आएको विषय सबैलाई थाहा पाइसकेको अवस्था छ, अब आर्थिक क्रान्तिको सुरुआत पनि गोरखाबाट नै गरेर सिङ्गो मुलुकको विकास गर्नेछु ।’ गोरखा जिल्लामा संसारको ध्यान केन्द्रित भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पनि गोरखाको भूमिबाट पूरा गर्ने बताए । उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्तामध्येको आफू पनि एक भएको भन्दै विचार र आस्थाका आधारमा कसैलाई पनि विभेद हुन नदिने दाबीसमेत गरे ।
ग्रेडर मेसिन हाँक्दै दाङकी अनिता
घोराही । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त छिन्, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न गे्रडर मेसिन चलाउँदै आएकी छिन् । उनी डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत छिन् । अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छिन् । बाह्र कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उनी बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थालेकी हुन् । ‘मैले यतै आएर चलाउन सकेकी हुँ’, चालक अनिता बताउँछिन् । ‘कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिए’, उनले भनिन्, ‘घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।’ घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउँछन् । उनीसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउँछन् । निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उनको भनाइ छ । करिब एक चलाउन सिकेपछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने भइन् । तर उनीसँग सवारी चालक अनुमतिपत्र भने थिएन । यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिइन् । परीक्षमा सहभागी १३ जनामध्ये उत्तिर्ण हुने अनिता भने एक्ली महिला थिइन् । ‘पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफल भए, अनिता भन्छिन् । उनले त्यसपछि जागीरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम गरिन् । ‘ग्रेडर मेसिन चलाउन सक्थे, तर लाइसेन्स नहुँदा समस्या थियो’, उनले भनिन्, ‘विसं २०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए । ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो ।’ अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उनि बताउँछिन् । ‘अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ’, चालक अनिता भन्छिन्, ‘तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।’ बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उहाँको अरु महिलालाई सल्लाह छ । निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ । ‘निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ’, अनिताले भनिन्, ‘धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ ।’ अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी हुन् । स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तिर्ण गरेकी उनले बाँकेको कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तिर्ण गरेकी हुन् । कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थालिन् । सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उनी सम्झिन्छन् । ‘अहिले सबैलाई सामान्य लाग्न थालिसकेको ‘, अनिताले भनिन् ।
बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा १३ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रति तोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
किसानले कोदो लगाउनै छाडे
तनहुँ । गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार यस वर्ष करिब पाँच हजार पाँच सय मेट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादित कोदो जिल्लामा नै खपत हुने गरेको छ । पहाडी क्षेत्रको माथिल्लो भेगमा कोदो खेती गरिँदै आएको छ । कोदोको परिकार स्वास्थ्यको हिसाबले खान उपयुक्त मानिन्छ । कोदोको परिकार स्वास्थ्यवद्र्धक हुने भएकाले जिल्लामा माग बढ्दै आएको तिवारी बताउँछन् । गत वर्ष छ हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार आठ सय २९ मेट्रिकटन कोदो उत्पादन भएको थियो । कोदो रोप्न र चुट्न झन्झटिलो हुने हुँदा खेती गर्न छाड्ने क्रम बढेको तिवारीले बताए । ‘पाखो बारीमा नै उत्पादन हुने खेती हो । तर बीउ पारेर रोप्न र चुट्ने समस्याले किसानले खेती गर्नै छाड्न थाले । हरेक खेती हुने क्षेत्रको जमिन बाँझिने क्रममा छ’, उनले भने । कोदो उत्पादन क्षेत्रको जमिन घट्ने क्रम जारी रहेको उनले बताए । ‘वन्यजन्तुको समस्याले गर्दा गाउँबाट बसाइँसराइ जाने क्रम छ । विशेष गरी पाखो बारीमा खेती गर्ने जमिन बाँझिदै गएको छ । कोदो लगाउन गाह्रो हुँदा पनि समस्या हुने गरेको छ’, तिवारीले भने । अहिले घरवास होमस्टे सञ्चालन भएका स्थानमा उत्पादन भएकै ठाउँमा कोदो खपत हुने गरेको उनको भनाइ छ । बन्दीपुर, व्यास, भानु, ऋषिङ, घिरिङ, भिमाद, देवघाट र आँबुखैरेनीको पहाडी क्षेत्रको उपल्लो भागमा कोदो खेती हुन्छ । ऋषिङ, घिरिङ, भिमादमा कोदोको बढी उत्पादन हुने गरेको उनले बताए । कोदो उत्पादन भएको स्थानमा नै खपत हुने गरेको उनी बताउँछन् । केही स्थानमा उत्पादित कोदो बाहिर निर्यात गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । घरवासमा ढेडो, रोटी तथा पिठोबाट बन्ने विभिन्न परिकारको माग होमस्टेमा समेत बढेकाले पछिल्लो समय कोदोको माग बढ्दै गएको छ भने उत्पादन घट्ने क्रममा रहेको किसान बताउँछन् । पछिल्लो समय जिल्लामा कोदोको माग बढे पनि स्थानीय उत्पादन कम हुँदा अभाव छ । चालु आर्थिक वर्षमा स्थानीय तहसँग समन्वय गरी कोदोलाई रैथानेबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत विशेष प्राथमिकतामा राखी उत्पादन प्रशोधन र बजारीकरण गरी सहज गराउने उद्देश्य रहेको ज्ञान केन्द्रले जनाएको छ । रासस