विकासन्युज

आरएमसी फुड्सले ‘न्यूट्रिप्लसु ब्राण्ड अन्तर्गत बजारमा ल्यायो तीन तेल

काठमाडौं । आरएमसी फुड्सले तीन प्रकारका तेलहरू बजारमा ल्याएकाे छ । कम्पनीले ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी तीन प्रकारका तेलहरू सार्वजनिक गरेको हो । कम्पनीले आफ्ना खाद्यान्न उत्पादनहरूको ब्राण्ड एम्बेसेडरका रूपमा प्रख्यात टेलिभिजन कार्यक्रम बीबीसी मास्टर सेफका फाइनालिस्ट सेफ सन्तोष साहलाई अनुबन्ध गरेको छ । कम्पनीका कार्यकारी निर्देशक राजेश कुमार अग्रवालले गुणस्तरीय खाद्यान्न उत्पादनहरू आपूर्ति गरी ग्राहकहरूको मन जित्ने कम्पनीकाे मूल उद्देश्य रहेको बताए । ‘यस कार्यमा यहाँहरूको साथ, सहयोग र सहकार्य यसैगरी मिल्दै गयो भने शीघ्र नै न्यूट्रिप्लस प्रत्येक घरघरमा र सबैको मनमनमा बस्न सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने । आगामी दिनहरूमा न्यूट्रिप्लसलाई अझ बृहत्तर आकार दिन र बजारको मागलाई पूरा गर्नका निम्ति थप उत्पादनहरू ल्याउँदै जाने उनले बताएका छने ।

बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने

काठमाडौं ।  नेपालमा पहिलो पटक बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ । बेष्ट एयरलाइन्स अवार्ड नेपालले १३ डिसेम्बर २०२२ का दिन उक्त अवार्ड नेपाल २०२२ घोषणा गर्न लागेको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बेष्ट एयरलाइन्स अवार्ड नेपालले नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड गर्न लागेको बताएको छ । पत्रकार सम्मेलनमा बेष्ट एयरलाइन्स अवार्ड नेपाल आयोजनाका अध्यक्ष सागरदेव लाखेले हवाई क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायले डिसेम्बर १३ का दिन विशेष समारोहका बीच बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गरिने बताए । ‘अन्तर्राष्ट्रियतर्फ १६ विधा बेस्ट एयरलाइन्स आवर्डमा ३ विधामा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएको छ, ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिष्पर्धा गर्नेछन्,’ उनले भने । विभिन्न डिजिटल तथा अन्य माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा अवार्ड दिने उनले बताएका छन् । ‘अवार्डको निर्णायक मण्डलमा ११ जना प्रतिष्ठित व्यत्तित्वहरु रहेका छन्, जसमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एशोशिएसन नेपालका अध्यक्ष श्रृजना राणा, स्कुल क्लव अफ काठमाडौंका अध्यक्ष प्रविणबहादुर पाण्डे, नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे रहेका छन्,’ उनले भने । त्यस्तै, उनले अन्य निर्णायकमा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएशन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश लिड नेपाल इन्कका अध्यक्ष अनिल केशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेको बताए । अवार्डकाे लागि नेपालबाट काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिष्पर्धा गर्नेछन् ।

निर्वाचन पछि गठबन्धनकै सरकार हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताउनुभएको छ । आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो भन्नुभयो । उहाँले भन्नुभयो “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।” परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उहाँले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको छ भन्नुभयो । मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उहाँले आग्रह गर्नुभयो ।

स्काइवर्थको क्युएलइडि प्लस टिभि बजारमा, ३३ प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडाैं । हाइ एन्ड ग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि) को पायोनियर स्काइवोर्थले नेपालमा क्युएलइडि प्लस गुगल टिभि ल्याएको छ । एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिम अन्तर्गत रहेको कम्पनीले जनाएको छ । स्काइ्वर्थको लागि नेपालको एक मात्र आधिकारिक विक्रेता केएल दुगड ग्रुुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजले उक्त जानकारी दिएको हो । गुगल टिभिको लेटेस्ट अपरेटिङ सिस्टमद्वारा पावर्ड भएको यो टिभिको पिक्चर क्वालिटी अत्यन्त उत्कृष्ट छ । गुगलले आफ्नो एन्ड्रोइड टिभि एक्सपिरियन्स रिफाइन गरेको हुँदा अब उपभोक्ताहरुले आफ्नो टिभी पनि पर्सनलाइज गर्न सक्नेछन् । यसमा आफ्नो भ्युइङ ह्याबिट र इन्टेरेस्ट अनुसार पर्सनलाइज्ड कन्टेन्ट र टेलर्ड रेकमेन्डेसन पाउन सकिन्छ । यसको नयाँँ जेनेरसनको इको क्युएलइडि क्वान्टम डट टेक्नोलोजीले कलर प्युरिफाइ गर्ने, कलर गेमुट सुधार्ने र डिस्प्ले कलर सहि तरिकाले मिलाउने काम गर्छ । यसरी यसले १.०७ बिलियन लेभलको कलरहरु वास्तवमै रिस्टोर गर्ने दाबी गरिएको छ । क्युएलइडि प्रो डुअल पिक्चर क्वालिटी इन्ह्यान्सर सहितको एउटा नयाँँ जेनेरसनको क्यु एलइडि टेलिभिजन हो । यसको उच्च गुणस्तरीय पिक्चर इन्ह्यान्सिङ एन्जिनले हरेक सुन्दर पलहरुलाई एउटा अनुभवी र पोख्त मेक–अप आर्टिस्टले जस्तै राम्रोसँग देखाउँछ । एस्युआइ ९५०० बिना फ्लिकर हाइ कलर गेमुट प्रयोग गर्ने पहिलो क्यु एलइडि हो जसले गर्दा तस्बिरको गुणस्तर उच्च हुनुको साथै हेर्ने मानिसको आँखालाई पनि असर गर्दैन । त्यस्तै, फिफा वल्र्ड कप २०२२ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम स्किम पनि ल्याएको छ । यस स्किम अन्तर्गत उपभोक्ताहरुले स्काइवर्थ ब्रान्डको टेलिभिजन खरिदमा ३३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे अनुसार यो स्किम मंसिर ३० गतेसम्म लागु हुनेछ । एस्युइ ९५०० सिरिज ५५, ६५ र ७५ इन्चमा उपलब्ध छ ।

कनेक्ट आइपिएसकाे विन्टर अफर : १५ हजारसम्मको वार्षिक इन्टरनेट सेवा नि:शुल्क पाइने

काठमाडौं । कनेक्ट आइपिएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न विन्टर अफर ‘ल्याएको छ । उक्त अफर अन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपिएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रुपैयाँको रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, कनेक्ट आइपिएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्सक्रिप्सन (अधिकतम १५ हजारसम्म) समेत प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कनेक्ट आइपिएस मोबाइल एप डाउनलोड गरी वा वेबसाइटमा गई नयाँ युजर बनाउन सक्नेछन् । यसपछि ग्राहकले एक पटकको भेरिफिकेसन पश्चात एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी अन्लाईन सेल्फ भेरिफाइ वा सम्बन्धित बैंक वित्तीय संस्था मार्फत एक पटक भेरिफाइ गराउनु पर्नेछ ।

नाफामा १७ इन्स्योरेन्स : ‘नम्बर वान’ बनेको ज्योतिलाई पछ्याउँदै सूर्या, नेपाल लाइफले मार्यो छलाङ

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका १७ कम्पनीले कूल १ करोड ६४ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । राष्ट्रिय बीमा संस्थान र सानिमा लाइफ इन्स्योरेन्स बाहेक १७ कम्पनीले तीन महिनामै सो मात्राको नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको तुलनामा ६०.८७ प्रतिशतले बढी हो । यी १७ कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा १ करोड २ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका थिए । १७ कम्पनीमध्ये अधिकांश कम्पनीको नाफा बढेको छ । समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, प्राइम लाइफ र युनियन लाइफबाहेक अन्य कम्पनीको नाफा गत आवको तुलनामा बढेको हो । नाफा बढाउनेमध्ये ज्योति लाइफ इन्स्योरेन्सले सर्वाधिक नाफा कमाएको छ । कम्पनीले गत साउनदेखि असोजसम्ममा २१ करोड ५२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १३३.४१ प्रतिशतले बढी हो । कम्पनीहरुले अघिल्लो आवको सोही अवधिको तुलनामा ९ करोड २२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । त्यस्तै, नाफामा ज्योति लाइफलाई टक्कर दिँदै सूर्या लाइफ इन्स्योरेन्स अगाडि बढेको छ । समीक्षा अवधिमा कम्पनीले २० करोड ७३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८२.६४ प्रतिशतले बढी हो । यता प्रतिशतको आधारमा नेपाल लाइफले नाफामा छलाङ मारेको छ । कम्पनीले एक वर्षको अवधिमा २४१० प्रतिशतले नाफा वृद्धि गरी १७ करोड ५७ लाख पुर्याएको छ । जुन गत आवमा ७० लाख रुपैयाँ थियो । त्यस्तै, १० करोडभन्दा बढी नाफा कमाउनेको सूचीमा यी तीन कम्पनीसहित अन्य ५ कम्पनी रहेका छन् । जसमा सन नेपाल लाइफ, रिलायन्स लाइफ, नेशनल लाइफ, एशियन लाइफ र रिलायबल नेपाल लाइफ रहेका छन् । यी सबैले गत आवको तुलनामा यो वर्ष दोहोरो डिजिटमा नाफा कमाएका छन् । यता अन्य ८ कम्पनी जसले १० करोड रुपैयाँभन्दा कम नाफा आर्जन गरेका छन् । जसमा मेट लाइफ, सिटिजन, आईएमई, गुराँस, प्रभु, महालक्ष्मी र युनियन लाइफ रहेका छन् । यीमध्ये प्राइम लाइफको नाफा ५७.१४ प्रतिशतले र युनियन लाइफको नाफा १९.१९ प्रतिशतले घटेको छ । १७ कम्पनीमध्ये एक कम्पनी अर्थात लाइफ इन्स्योरेन्स कर्पोरेसन भने नोक्सानमा रहेको छ । गत वर्ष असोजसम्ममा ३ करोड १९ लाख रुपैयाँ नाफामा रहेको कम्पनीले चालु आवमा ५९ लाख रुपैयाँ नोक्सानमा छ । जुन गत आवको तुलनामा ११८.५० प्रतिशतले घटी हो । कुनले कति कमाए ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ । आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले निजको उम्मेदवारी प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर गरेको हो । मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानूनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकुल हुने गरीे प्रदेश सभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उम्मेदवारी बदर गरिएको हो । मेहताको उम्मेदवारी बदर भएसँगै निर्वाचनका मतपत्रहरू छपाई भई सम्बन्धित मतदान अधिकृतले बुझी मतदान केन्द्रमा पुर्‍याउने प्रक्रियामा रहेको र प्राविधिक तथा व्यवस्थापकीय दृष्टिले अर्काे मतपत्र डिजाइन तथा छपाइ गरी मतदान अगावै सबै मतदान केन्द्रमा मतपत्र पुर्‍याउन समयाभावको कारणले असम्भव भएको हुँदा निज मेहताको निर्वाचन चिन्ह साइकलमा कुनै मत परेमा उक्त मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन समेत दिएको छ ।

अर्थतन्त्रमा सुधार देखिएको राष्ट्र बैंकको सन्देश, अधिकांश सूचक सकारात्मक

काठमाडौं । अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा अर्थतन्त्रका केही महत्वपूर्ण सूचकहरु सकारात्मक देखिँदा अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको हो । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र ऋणात्मक अवस्था थियो । तर, पछिल्ला केही महिनामा भने त्यो अवस्था संकुचित हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजिक गरेको तथ्यांकका अनुसार अर्थतन्त्र सुधारको गतिमा देखिएको हो । गत वर्षको सुरुवातीमा बाह्य क्षेत्रमा ठूलो दबाब देखिएको थियो । विदेशी मुद्राको सञ्चितिमा ठूलो संकुचन थियो भने रेमिट्यान्समा पनि कमि आएको थियो । शोधान्तर स्थिति पनि ठूलो घाटामा थियो । तर, त्यो अवस्था अहिले कम हुँदै गएको छ । तर, मूल्यवृद्धिमा भने निकै वृद्धि भएको छ । २०७९ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असोज मसान्तमा ४.२४ प्रतिशत रहेको मुद्रास्फीति २०७९ असोजसम्म ८.५० प्रतिशत पुगेको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ । २०७९ असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो । सोधान्तर स्थिति बचतमा समीक्षा अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ । आयातमा केही कमि र रेमिट्यान्स बढ्दा शोधान्तर स्थिति बचतमा देखिएको हो । व्यापार घाटामा पनि संकुचन आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले कमी आई ३५९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.६ प्रतिशत रहेको थियो । ज्ञघ। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.३४ अर्ब ५९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५४ अर्ब १७ करोड बराबरको भएको थियो । विदेशी मुद्राको सञ्चिती बढ्यो चालु आर्थिक वर्षको तीन महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशी मुद्राको सञ्चिती २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ । रेमिट्यान्समा सुधार समीक्षा अवधिमा रेमिट्यान्समा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १ लाख ४७ हजार ९३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार ८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई ३ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो । निर्यात घट्यो अन्य सूचकहरुमा सुधार भएको भएपनि निर्यात भने घटेको छ । आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांक अनुसार निर्यात ३५.७ प्रतिशतले घटेर ४१ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.० प्रतिशत र ३५.० प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले कमी आई ४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९.२ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकको कारणले सुधार आयो : गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकको निर्णयकै कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका हुन् । ‘धेरैले राष्ट्र बैंकको नीतिको विरोध गरे, राष्ट्र बैंकको नीतिलाई अप्रिय नीतिका रुपमा लिए, राष्ट्र बैंकको त्यही अप्रिय निर्णयले नै अहिले अर्थतन्त्रमा सुधार देखिएको छ, चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले सुधार भएको सन्देश दिएको छ,’ उनले भने । उनले नेपाल राष्ट्र बैंकले कडाइ नगरेको भए अर्थतन्त्रमा सुधार नआउने दावी गरे । उनले नेपाल राष्ट्र बैंकले ल्याएको नीति अवलम्बन गर्न कतिपय बैंकहरु चुकेको बताउँदै कतिपयले अझै पनि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को नीति लागू गरेको भन्दै गाली पनि गरिरहेको धारणा राखे ।