निजी क्षेत्रको विरोधपछि राष्ट्र बैंकले माग्यो चालु पूँजी कर्जामा सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनबारे सुझाव मागेको छ । राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू गरेको चालु पूँजी कर्जामा नीजि क्षेत्रको बिरोध गभएपछि मंसिर १० गतेभित्र सुझाव पेश गर्न भनेको हो । चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन–२०७९ लागू भएको एक महिना पूरा भएपछि सुझाव मागेको छ । राष्ट्र बैंकले कार्यविधि कार्यान्वयनमा कुनै समस्या वा द्विविधा देखिएमा मंसिर १० गतेभित्र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको बुँदागत रुपमा सुझाव पेश गनै भनेको हो । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालु पुँजी कर्जाको औचित्य, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले कात्तिक १ गतेबाट उक्त मार्गदर्शन लागू गरेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालु पूँजी कर्जाको औचित्य, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले कार्तिक १ गतेदेखि चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गरेको थियो । बैंक तथा वित्तीय संस्थाका ग्राहक ऋणीले कर्जा प्राप्त गर्ने मापदण्डमा एकरुपता भई कर्जा प्राप्त गर्न सहज हुने तथा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालु पूँजी कर्जाको सदुपयोगिता सुनिश्चित हुने, सम्पत्तिको गुणस्तर सुदृढ एवं यथार्थपरक हुने, कर्जा जोखिम व्यवस्थापन प्रभावकारी हुने, कर्जा विश्लेषणमा एकरुपता आउने, निरीक्षण र सुपरीवेक्षण प्रभावकारी हुने विश्वास राष्ट्र बैंकले लिएको थियो । राष्ट्र बैंकले २ करोड वा सोभन्दा कम रकमको चालु पूँजी कर्जाको सीमा अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कायम गर्न सकिने तर विस्तृत विश्लेषणको आधारमा ४० प्रतिशतसम्म कर्जा सीमा बैंक तथा वित्तीय संस्थाले कायम गर्न सकिने छ । यस्तै, २ करोडभन्दा बढी रकमको चालु पूँजी कर्जाको सीमाको हकमा ऋणीको आवश्यकतालाई फ्लक्चुयक्टिङ तथा पर्मानेन्ट दुई भागमा विभाजन गरी फ्लक्चुयक्टिङको हकमा २५ प्रतिशत र पर्मानेन्टको हकमा आवश्यकतानुसार बैंक तथा वित्तीय संस्थाको कर्जा नीति बमोजिम सीमा कायम गर्न सकिने व्यवस्था छ । यस्तो पर्मानेन्ट वर्किङ क्यापिटल ऋणीको व्यवसायीक प्रकृति र आवश्यकता अनुसार कम्तीमा ५ वर्षका लागि आवधिक कर्जा प्रवाह गर्न सकिने छ । चालु पूँजी कर्जाको लागि चल सम्पत्ति बाहेक अन्य कुनै पनि प्रकारको स्थीर र वा अचल सम्पत्ति (जस्तैः घर, जग्गा आदि) सुरक्षण आवश्यक नहुने छ । नवीकरण हुने प्रकृतिका सम्पूर्ण चालु पुँजी कर्जा खाता आर्थिक वर्षको कुनै एक समयमा उद्योग÷व्यवसायको प्रकृतिअनुसार कम्तीमा लगातार ७ दिन शून्य बक्यौता कायम गर्नुपर्ने छ । तर यस व्यवस्था कार्यान्वयनका लागि पहिलो वर्ष ३० प्रतिशतभन्दा कम, दोस्रो वर्ष २० प्रतिशतभन्दा कम र तेस्रो वर्ष १० प्रतिशतभन्दा कम वक्यौता कायम गर्न सकिनेछ ।
मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मौन अवधि सुरु हुने भएको छ । मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको हो । आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउने छैनन् । राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउने छैनन् । साथै सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न नमिल्ने आयोगले बताएको छ । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहने आयोगले जनाएको छ । निर्वाचनलाई धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला र गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्नेछ । निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नपाइने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नमिल्ने र अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नपाइने आयोगले बताएको छ ।
यसकारण अर्जुन दाईलाई ‘नो’
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी नुवाकोट क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार हुन् । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् । उनका बारेमा वरिष्ठ पत्रकार तथा समसामयिक राजनीतिक, आर्थिक र विशेषगरी सेयर बजार विश्लेषक दिनेश आचार्यले टिप्पणी गरेका छन् । १. अर्जुनदाई अर्थात अर्जुन नरसिंह केसी २०३६ सालमा काँग्रेस छाडेर जनमत संग्रहमा निर्दलको प्रचारक हुनुभयो । सत्ता स्वार्थका लागि पार्टीलाई धोका दिनुभयो । २. पञ्चायतको चुनाव जितेर वि.स.२०३८ सालमै मन्त्री हुनुभयो । केही गर्नुभएन । वि.स. २०४३ को चुनाव हार्नुभयो । अनि फेरि गाउफर्कतिर लागेर जिल्ला पञ्चायत सभापति हुनुभयो । पदका लागि जे नि गर्नुभयो । ३. वि.स.२०४६ सालको आन्दोलनको प्रतिकारमा लाग्नुभयो । त्यसबेला सारा काँग्रेसीहरुलाई जेल पुर्याउनुभयो । ४. वि.स.२०४७ मा राप्रपा थापा समूहको सस्थापक बन्नुभयो । प्रवक्ता हुँदै चुनाव नजितिने थाहा पाएको भोलिपल्ट काँग्रेस छिर्नुभयो । ५. वि.स. २०४८ मा कांग्रेस छिर्नुभयो । सामदाम खर्चेर टिकट लिनुभयो । कांग्रेसीले पार्टी भनेर जिताइदिए । ६. वि.स.२०५१ मा फेरि टिकट लिनुभयो । पार्टीभित्रको अन्तरद्वन्द्वमा सस्थापन पक्ष भन्दै फेरि जिताइयो । वि.स. २०५६ मा फेरि टिकट लिएर आउनु भयो । धन र शक्तिको घमण्ड यति बढेको थियो कि हिजो काँध थाप्ने कांग्रेसहरु उनलाई चाहिएन । कतिलाई गुन्डा लगाएर कुटाउनुभो, कतिलाई पार्टी कारबाहीको उजुरी गर्नुभो । जनताले अत्ति भो भनेर हराइदिए । ७. राजाको शाशन टिकेको भए उनी मन्त्री खान तयार भएर बसेका थिए । उनका एक भाइ धिरेन्द्र प्रतिष्ठान खोलेर शाही शाशनको नियुक्ति खाइसकेका थिए । उनका थुप्रै नातेदार दरबारिया नै थिए । तर दुर्भाग्य, शाही शासन टिकेन र उनी कांग्रेस नै बनिरहन पाए । ८. वि.स. २०६४ को चुनावमा उनको शक्ति झनै चुलियो । फेरि टिकट लिएर आए । तर अघिल्लो पटक हारेको साविक ३ नम्बर (बिदुर नगर क्षेत्र) बाट उनी भागे । हामी बिदुरवासीलाई सत्तोसराप गरे । अनि १ नम्बरका जनताले धुलो चटाए, नामै नसुनेकी बिमला सुवेदीको भन्दा आधा भोट नि पाएनन । ९. फेरि वि.स. २०७० मा उनी आफै टिकट लिएर आए । त्यसपाली जिते र मन्त्री पनि बने । तर के काम गरे ? उनैलाई थाहा छैन । १०. अघिल्लोपटक वि.स. २०७४ मा फेरि टिकट लिएर आए । यसपटक फर्केर बिदुर नै आउनुपर्यो । अनि बिदुरवासीले हराइदिए । नारायण खतिवडाभन्दा झन्डै ११ हजार भोटले तल पारिए । ११. अब फेरि वि.स. २०७९ मा टिकट लिएर आएका छने । अझै बाँचिरहे अक्सिजन सिलिन्डर बोकेरै उनी आगामी चुनाबहरुमा नि भोट माग्न आई रहनेछन् । किनकि उनका लागि चुनाव एउटा बिजनेस हो । उनीजस्ता नेताका लागि चुनाव जिते नी हारे नी ५ बर्षमा चम्किने ब्यापार हो । चुनाव लड्न भनेर पार्टी, साथिभाई, कार्यकर्ता र व्यापारीसङ्ग उठाइएको १० करोड बढी रकमम मुस्किलले १ करोड खर्चने र अरु नाफा गर्दै जेथा जोड्ने धन्दा हो । १२. अर्जुन दाई वि.स.२०३८ सालदेखि निरन्तर राजनीतिको केन्द्रमा छन् । हारे नी जिते नी शक्तिमा छन् । उनी र उनका केही भाईहरु कुनै व्यापार–व्यवसाय नगरे पनि करोडौं, अर्बका मालिक बनेका छन् । तर त्यति धेरै सम्पती कहाँबाट आयो भनेर प्रश्न गर्ने कोहि छैनन् । बरु उनले दिने दुईचार हजार पकेट खर्छ र चुनावमा खुवाउने मासु रक्सीमा मक्ख परेर चाकरी गर्दैछन । १३. अर्जुन दाईले चालिस बर्षसम्म राजनीति गरेर नुवाकोटलाई कस्तो बनाउनु भयो ? उहाँलाई जिल्लाले के दियो र उहाँले के–के दिनु भयो ? के दुई दर्जन कार्यकर्तालाई हेल्थ पोस्ट र स्कुलमा सहायक स्तरको जागिर खुवाउनु नै उपलब्धी हो ? हनुमानहरुलाई जागिर खुवाउन उनी शिक्षामन्त्री हुँदा जथाभावी खोलिएका स्कुलहरु अधिकांश बन्द भइसके । त्यसको हिसाब गर्नु भएको छ ? आफू मन्त्री हुँदा कहिल्यै जिल्ला नटेकेकी आफ्नी बुहारीलाई राउतबेशीको माबी शिक्षक भन्दै बर्षौसम्म तलब खुवाईरहन मनले मान्यो ? त्यसबेला माओवादीले थाहा पाएर कारबाही नगरेको भए दशकौंदेखि शिक्षकको तलब खाँदै अहिले हजुरको बुहारी पेन्सन खाने हुन्थिन । यस्तो भंगेरो छाती र नैतिकताले कसरी समाजसेवा गर्नुहुन्छ ? १४. अस्ति एउटा भाषण सुनेँ, कोभिडको बेला मैले मास्क र अक्सिजन बाँडे भनिएको रहेछ । डा. केदार नरसिंहलाई आफ्ना साथीहरूले निशुल्क पठाएको सामान बाँडेर नुवाकोटे जनतालाई भ्रम छर्न अलिकति सरम त लाग्नैपर्ने हो है । तर यस्ता प्रश्न गर्ने स्वाभिमान भएकाहरु तपाईंसङ्ग कोहि छैनन । छन त, केवल भाटगिरी गर्ने जमात मात्र । १५ अर्जुन दाइ, तपाईं दशकौंदेखि सत्ता र शक्तिमा हुँदा नुवाकोटमा एउटा देखाउन मिल्ने, भन्न सकिने काम के गर्नुभयो ? १, २, ३ नम्बर दिएर भन्न सक्नुहुन्छ ? रामशरण महतले पुल सिचाइ कुलोमा बजेट हालेको छु भन्थे तपाईं स्कुल खोले भन्नुहोला । स्कुल त नुवाकोटमा राणाकै पालादेखी खुलेकै होनि । अहिले पनि उच्च शिक्षा पढ्न अधिकांश नुवाकोटे बिद्यार्थी काठमाडौं नै जानुपर्छ । एउटा उद्योगसम्म छैन । मेरा पिताजीहरुले खोलि दिनु भएको बट्टार क्याम्पसबाहेक अरु कुन छ ? वि.स. २०४२ मा स्थापना भएको त्यै क्याम्पसले हाम्रो इज्जत धानिरहेको छ । तर तपाईं त त्यो क्याम्पस खोल्ने बेलामा नि असन्तुष्ट हुनुहुन्थ्यो रे । बरु डा. लोहनीले सहयोग गरेका थिए रे । १६. तपाईंसँग चुनाव जित्ने रणनीति छ, होला । तर, तपाईसँग मानवीय सम्वेदना र भावना छैन । ल छातिमा हात राखेर भन्नुस, तपाईंसँग वि.स. २०३८ सालदेखि पछि लागेर हिड्ने थुप्रै मान्छे म चिन्छु । उनीहरुको अवस्था कति टिठलाग्दो छ देख्नुभयो ? केवल तिनिहरुकै लागि भए पनि केही काम गर्दिएको भए कति राम्रो हुन्थ्यो । १७. बहुदलपछी तपाई कांग्रेस बन्नु भयो । एउटा समूह सधै तपाईंको पछि लाग्यो । तर तपाईका पछि लाग्ने थुप्रै क्षमता भएका राजनीतिक कार्यकर्ता अहिले पनि सडकमा छन् । उनीहरूले कहिल्यै मौका पाए ? अहिले पनि सम्झिन्छु प्रमोदहरी गुरागाई, कृष्ण कुइँकेलजस्ता क्षमता भएका मान्छे तपाईंसँङ्ग लागेकै कारण जिन्दगीमा निकै पछि परे, पारिए । बिष्णु आचार्य, ध्रुव अधिकारी, डिल्लीप्रसाद उप्रेती र बिष्णु अधिकारीलाई मात्र हैन । तपाईंले त कांग्रेसको संस्थापक नेताकै रुपमा सम्मानित बद्रीराम भण्डारीलाई समेत घात गर्नुभयो । त्यो घातको परिणती भोलिका दिनमा तपाईंका सन्ततीले भोग्ने नै छन् । न तपाईंले कार्यकर्ताको संरक्षण गर्नुभयो, नत आम जनताकै हित हेर्नु भयो । तपाईं सत्तामा हुँदा नियुक्ती पाएका र फाइदा लिएका नामहरु सम्झनुहुन्छ ? त्यसमा तपाईंका आफन्त र नातेदारबाहेक अरु को छन ? १८. तपाईं कहिल्यै सबैको हुन सक्नुभएन । कांग्रेस बन्दा पनि जहिल्यै एउटा सङ्किर्ण कोटरीको मात्र बन्नुभयो । र त्यो कोटरीका मान्छेलाई पनि आफ्नो दास मात्रै बनाउनुभयो । कहिल्यै माथी उठ्न दिनु भएन । जिल्लामा होस कि केन्द्रमा एउटा सानो गुट खडा गर्ने र त्यसैको आडमा धाक धम्की जमाउँदै आफूमात्र फाइदा लिनुभयो । तपाईंकै पछि लागेका कारण पार्टीमा कुनै उन्नति गरेका एकजना छन् ? कसैलाई बनाउनु भयो ? अवसर आएको बेला पनि आफ्नै भाइ भतिजाबाहेक तपाईंले कसैलाई सक्षम देख्नु नै भएन । तपाईंका कार्यकर्तालाई अनियमित रुपमा जागिए दिएकै कारण एकजना जिल्ला शिक्षा अधिकारीको जागिर गयो । तिनले तपाईंलाई सरापेको सुन्ने कान मेरै हो । १९. नेपालीको औसत आयु अहिले ७१ बर्ष हो । तपाई त्यो नाघेर पनि ७८ बर्ष कटिसक्नुभो । राज्यले नै आफ्ना कर्मचारीलाई ५८ बर्ष भएपछि तेरो दिमागले काम गर्दैन्, बूढो भइस भनेर अवकाश दिन्छ । तपाईंको त्यो अबकाश लिने उमेर कटेको पनि २० बर्ष भैसक्यो । ५० बर्ष त राजनीतिमै बिताइसक्नुभयो । अब आएर दर्जनौं रोगले गाँजेको त्यो बूढो दिमागमा कुनै नवीन सिर्जना फुर्ला र ? युवा अवस्थामा देश बनाउँछु भनेर उम्लेको सोच सत्तामा पटकपटक पुग्दा केही गर्न सक्नुभएन । अब के नै पो गर्नुहोला र । २०. केन्द्रमा पनि कहिले गिरिजाको, कहिले गणेशमानको, कहिले खुमबहादुरको र कहिले देउबाको फेर समातेर आफ्नो फाइदा मात्र हेर्नुभयो । तपाईंसँग न कुनै आदर्श र ईमान छ, न त कुनै लोकतान्त्रिक पद्धतिप्रतिको बचनबद्धता । २१. तपाई र तपाईंको भाईहरु पार्टीको निर्णायक तहमा हुँदा कहिल्यै लोकतन्त्रको अभ्यास गर्नुभयो ? आफूसङ्ग असहमत हुनेहरूलाई सधै सिध्याउन लागिपर्ने तपाईंको शैली पुर्णतः अधिनायकवादी हो । तपाईं कांग्रेस बन्न सुहाउने मान्छे नै हैन । सदस्यता लिनुमात्र कांग्रेस हुनु हैन, कांग्रेस हुन ईमान र विवेक पनि चाहिन्छ । वास्तवमा अर्जुन दाई, तपाई एउटा डेट एक्सपायर औषधि हो । जसले नुवाकोटे जनताको रोग निको पार्न सक्दैन । बरु बिषको काम गर्छ । जुग बदलियो । ब्यबस्था बदलियो । समय कहाँ पुग्यो । प्रबिधि झनै फेरियो । तर तपाईंको शैली, तपाईंको उम्मेदवारी र जनताको अवस्था फेरिएन । अझै नुवाकोटलाई बिगार्न कति तम्सिनुहुन्छ ? २२. यदि तपाईंमा लोकतान्त्रिक आदर्श र ईमान हुनुहुन्थ्यो भने आजभन्दा १० बर्ष अगाडी नै नेतृत्व सुम्पेर युवा पुस्तालाई अघि बढाउनुहुन्थ्यो । तर तपाई अझै पनि जालझेल गरेर आफै आउँदै हुनुहुन्छ । यसले पनि पुष्टि गर्छ कि, तपाईंको राजनीति भनेको तपाईं एक्लैको लागि हो, नुवाकोटका जनताको लागि हैन । २३. हामीले खोजेको गगन थापाजस्तो डाइनामिक नेतृत्व हो । जो १० बर्ष राजनीति गर्छु अनि रिटाएर हुन्छु भनेर ३ बर्ष अघि नै घोषणा गरेर बसेका छन् । तपाईं त आफ्नै ज्वाईंसङ्ग चुनाव लडेर आफू बाहेक कसैलाई स्विकार्दिन भन्ने दम्भ बोक्नुहुन्छ । यसर्थ पनि हाम्रो सोच, हाम्रो विवेक र हाम्रो ईमानले तपाईंलाई नेता मान्न दिदैन । तपाईंलाई भोट हाल्न मन मान्दैन । किनकि आम जनता नै परिवर्तनको पक्षमा छन् । त्यसैले अर्जुन दाई यसपटकलाई ‘नो’ । (दिनेश आचार्य वरिष्ठ पत्रकार हुन्, उनले समसामयिक राजनीतिक, आर्थिक र विशेषगरी सेयर बजार सम्वन्धी विश्लेषण गर्छन् ।)
मलेसियामा नेपाली श्रमिकका लागि घुम्ती सेवा सुरु
काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिक कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले बताए। बुधबार क्वालालम्पुरबाट करिब चार घण्टाको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरे । गैरआवासीय नेपाली सङ्घलगायत नेपाली सङ्घ संस्थासँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो । एक हजारभन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा दुई सय ८० जना श्रमिकले राहदानीसम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानीसम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवा प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ । घुम्ती सेवा शुभारम्भ गर्दै राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत कम्पनीको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकसँग अन्तक्र्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफलसमेत गरेका थिए । सुरक्षागार्ड तथा सरसफाइसम्बन्धी कम्पनीमा कार्यरत नेपाली श्रमिकको गुनासो आएपछि उहाँले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् । विशेषतः सुरक्षागार्ड र सरसफाइसम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम सम्झौता २०१८ र मलेसियाको श्रम कानूनअनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए । राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दूतावासमा बोलाएरसमेत छलफल गर्दै आएका छन् । मागपत्रमा प्रस्तुत गरेअनुसार आवास सुविधा, पारिश्रमिक र कार्यसमयलाई अक्षरशः पालना गरिने उनले बताए । सुरक्षागार्ड र सरसफाइसम्बन्धी मागपत्र प्रमाणीकरणमा केही ढिला भए पनि दीर्घकालमा यसबाट श्रमिकको सम्मान तथा सेवा सुविधामा सहयोग पुग्ने उनले बताए । घुम्ती सेवा उद्घाटन कार्यक्रममा श्रम काउन्सिलर दीपक ढकाल, द्वितीय सचिव प्रेमबहादुर बुढथापालगायत दूतावासका कर्मचारी उपस्थित थिए । रासस
मंसिर ४ गतेको चुनावबाट देश ठूलो पार्टी मुक्त हुन्छ : पशुपतिसमशेर जबरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिसमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर २ ले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले मंसिर ४ गतेको निर्वाचनपछि देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका हुन् । उनले राप्रपा सनातनधर्मी र मुलुकप्रति इमान राख्ने पार्टी भएको भन्दै देशका दुई ठूला पार्टीहरु पापीहरुले भरिएको पार्टी भनि टिप्पणी गरे । उनले संसदमा सबै पार्टी चाहिने उल्लेख गर्दै संसदमा गएर राप्रपाका नेताहरुले खबरदारी गर्ने बताए । यस्तै, उgले आफ्नो जित निश्चित भएको दाबी गरे । उनले क्षेत्रको विकासको लागि जनतासँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
एभरेष्ट बैंकद्वारा बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन
काठमाडौं । एभरेष्ट बैंकले बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ । बैंकले बिहीबार उक्त शाखाको उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ्ग र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका थिए । योसँगै गण्डकी प्रदेशमा एभरेष्ट बैंकको शाखा संख्या १२ पुगको छ । बैंकले आफ्नो १२२ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटिएम सहित १२ लाख ग्राहकहरुला२ वित्तीय सेवा दिँदै आएकाे छ ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : आयोग
काठमाडौं । यही मङ्सिर ४ गते एकैचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको हो । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको दिनभन्दा अगाडि र मतदान सम्पन्न भएपछि अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पु¥याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए । आयोगले कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाइवा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानूनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ । ‘सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिका माध्यमबाट निर्वाचनको निष्ठामाथि प्रश्न उठाउने अवस्था आउन नदिन आयोग संवेदनशील छ र यसतर्फ सबैको ध्यान जानु आवश्यक छ ।’ प्रमुख आयुक्त थपलियाले भने, ‘यो अवधिमा सामाजिक सञ्जालबाट फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई नियमन र नियन्त्रण गर्न आयोगले सामाजिक सञ्जालका कम्पनीसँग सहकार्य गरिरहेको र ती कम्पनीले पनि विशेष निगरानी गरिरहेका छन् । मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति फैलन नदिनु सबैको साझा दायित्व भएकाले निर्वाचनको बाँकी अवधिमा सबै पक्षबाट यो दायित्वको पूर्ण पालना हुनेमा आयोग विश्वस्त छ ।’ आयागले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्य गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ । यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा सेयर गर्न वा गराउनसमेत नपाइने व्यवस्था छ । त्यसैले आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका निर्वाचन प्रचारप्रसारसम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको छ भने यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ । मतदान केन्द्र बन्दै आयोगले मतदान केन्द्रमा पुगेका मतदान अधिकृतबाट सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने, मादक पदार्थ निषेध गर्ने तथा हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न नदिनेलगायत विषयमा आवश्यक तयारी गर्ने जनाएको छ । त्यसैगरी आगामी दुई दिनभित्र मतदानमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट मतदान केन्द्रको निर्माण कार्य सम्पन्न हुनेछ । मतदान केन्द्र निर्माण गर्दा लैङ्गिक समावेशी, अपाङ्गता मैत्री तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुनेगरी बनाउन आयोगले निर्देशन दिएको छ । बाइस हजार दुई सय २७ मतदान केन्द्र निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै हुनुहुन्छ । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नु हुनेछ । निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुुहुन्छ भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ । यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ । सात हजार दुई सय १९ पर्यवेक्षण निर्वाचनसम्बन्धी काम कारवाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न अनुमतिप्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र दुई वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी सात हजार २१९ जनाले पर्यवेक्षण गर्दैछन् । पर्यवेक्षकले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित प्रणालीको एक सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको तीन सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नुहुनेछ । आयोगल हालसम्म करिब सात हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ । आयोगको निमन्त्रणामा भारत, भूटान, बङ्गलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र श्रीलङ्का र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहित निर्वाचन व्यवस्थापन गर्ने निकायको टोली मतदानको दिनको अवलोकन गर्न आएका छन् । नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ । रासस
चुनावमा बैंकहरु खुला हुन्छन् कि बन्द ?
काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक संघ संस्थाहरु र निजी कम्पनीलाई पनि दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । योसँगै अतिआवश्यक सेवाको रुपमा लिइएको बैंक तथा वित्तीय संस्था बन्द हुन्छ वा खुला हुन्छ भन्ने विषयमा सर्वसाधरणको चासो बढेको छ । विकासन्युजलाई प्राप्त सूचना अनुसार मंसिर ४ गते निर्वाचनको दिन बैंक तथा वित्तीय संस्था पुर्ण रुपमा बन्द हुने छन् भने अन्य दिन खुला रहनेछन् । अहिले विभिन्न बैंक तथा वित्तीय संस्थाले सूचनाहरु जारी गर्दै खुला रहने र बन्द रहने शाखा तथा काउन्टरहरु सार्वजनिक गरिरहेका छन् । बिहीबार हिमालयन बैंकले सूचना जारी गर्दै मंसिर ४ र ५ गते पूर्ण रुपमा सबै शाखाहरु बन्द रहने जनाएको छ । सो बैंकले ठमेल, न्युरोड र पाटन शाखाहरुमा संचालिन विदाको काउन्टरहरु पनि बन्द रहने बताएको छ । अन्य बैंकहरुले पनि मंसिर ४ र ५ गते कतिपय काउन्टरहरु बन्द रहने जनाएका छन् तर अधिकांश बैंकहरु भने ४ गते पुर्ण रुपमा बन्द गरेर ५ गते आंशिक रुपमा खुल्ने तयारीमा छन् । यस विषयमा वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स संघले भने कुनै निर्णय गरेको छैन । बैंकहरुले सरकारको निर्णय अनुसार बैंक खोल्ने/बन्द गर्ने निर्णय गर्न सक्नेछन् ।