प्रभु बैंकको लाभांश घोषणा, यस्तो छ पाँच वर्षको इतिहास
काठमाडौं । प्रभु बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको हो । बैंकले ६. ५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो । हालसम्म ५ आर्थिक वर्षमा मात्रै सेयरधनीलाई लाभांश घोषणा गरेको देखिन्छ । बैंकले आर्थिक वर्ष २०७४/०७५ मा ०.४२ नगद र ८ प्रतिशत बोनस गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ०.८४ प्रतिशत नगद र १६ प्रतिशत बोनस गरी कुल १६.८४ प्रतिशत लाभांश घोषणा गरेको थियो जुन बैंकको इतिहासमा हालसम्मकै उच्च लाभांश हो । बैंकले आर्थिक वर्ष २०७६/०७७ मा ०.५२६३ प्रतिशत नगद र १० प्रतिशत बोनस गरी कुल १०.५२ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ का लागि १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बजारमा अझै चलिरहेका छन् अवैध फोन, कार्यान्वयन हुन सकेन एमडीएमएस प्रणाली
काठमाडौं । सरकारले अवैध फोन नियन्त्रण गर्न लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अझै पूर्ण रुपमा कार्यान्वयन गर्न सकेको छैन । गत असोज १ गतेदेखि उक्त सिस्टम लागू गरिएतापनि अझै पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले असोज १ गतेदेखि उक्त सिस्टम लागू गरेतापनि पूर्ण रुपमा सञ्चालनमा नआएको जनाएको छ । ‘असोज १ गतेदेखि हामीले अवैध मोबाइल फोन नियन्त्रण गर्ने सिस्टम लागू गरेका हौँ, असोज १ गतेदेखि नेपालमा ल्याइएका अवैध फोन नियन्त्रणमा आएको छ, सिस्टम पूर्ण रुपमा लागू नहुँदा पूराना फोन नियन्त्रणमा ल्याउन सकिएको छैन’, प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने । उनका अनुसार असोज १ गतेदेखि विदेशबाट ल्याइएका ९ हजार बढी मोबाइल फोन दर्ताका लागि प्राधिकरणमा आवेदन परेको छ । अनलाइन तथा व्यक्ति स्वयंम प्राधिकरणमा उपस्थित भएर विदेश तथा भारतीय नाकाबाट ल्याइएका ९ हजार ३४२ वटा मोबाइल फोन दर्ताका लागि आवेदन परेको छ । उक्त आवेदनमध्ये ४ हजार २७९ मोबाइल फोनको दर्ता रद्द गरिएको छ । ‘हामीकहाँ आवेदन आएकामध्ये उक्त संख्याका फोन दर्ताका लागि हामीले माग गरेका कागजपत्र सम्बन्धित व्यक्तिले बुझाउन सक्नु भएन, आवश्यक प्रक्रिया पूरा नभएपछि दर्ता रद्द भयो’, उनले भने, विदेशबाट खरिद गरेको ल्याइएको बिल, पासपोर्ट लगायतका कागजपत्र बुझाउन नसक्दा दर्ता रद्द भयो ।’ प्राधिकरणको तथ्यांक अनुसार असोज १ गतेदेखि कात्तिक हालसम्म साढे ३ हजार बढी मोवाइल फोन उक्त सिस्टममा दर्ता भएका छन्् । २०७३ साल बैशाखबाट प्राधिकरणले इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमइआई) नम्बर ‘युनिक कोड’ दर्ता गर्न सुरु गरेको थियो । प्राधिकरणले पहिलो चरणमा आईएमइआई नम्बर दर्ता र दोस्रो चरणमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडान सुरु गरेको हो । प्राधिकरणले अवैध मोबाइल फोन नियन्त्रण गर्ने प्रणाली जडान गर्न २०७४ साल वैशाख २८ गते परामर्शदाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा १३ वटा कम्पनीको आबेदन परेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा आबेदन परेका १३ कम्पनी मध्येबाट २०७६ साल असारमा मात्रै ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर छनोट गरी ६ महिनाभित्र उक्त सिस्टम लागू गर्न अनुमति दिएको थियो । ६ महिनाका लागि समय तोकिएर एमडीएमएस सिस्टम जडानका लागि छनोट गरिएको कम्पनीले समयमा नै काम नसक्दा नेपालमा अवैध मोबाइल फोनको व्यापार मौलाएको व्यवसायीले बताउदै आएका छन् ।
पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई आयोगले सोध्यो स्पष्टीकारण
मकवानपुर । निर्वाचन आयोगले इन्द्रसरोवर गाउँपालिका, वडा नं. ४, मकवानपुरको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक ऋषि पुडासैनीलाई स्पष्टीकारण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुश र प्रचार प्रसारमा सहभागी भएको भन्ने उजुरी परेको हुँदा स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । ऐ. आचारसंहिताको ऐ. दफाको खण्ड (ज) मा ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने’ व्यवस्था छ । उल्लेखित सन्दर्भमा तपाईंले राजनीतिक दलको निर्वाचन प्रचारप्रसार गरेकाे होइन भन्ने आधार प्रमाण के छ? यदि दलको प्रचारप्रसार गर्ने कार्य गरेकाे हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र ऐ. ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही गर्नु नपर्ने कारण के छ? यो पत्र प्राप्त भएको २४ (चौबीस) घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय मकवानपुरमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।
यूएईविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्दै
काठमाडौं । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गर्नेछ । नेपाल र युएईबीचको यस खेल निर्णायक खेलको रूपमा रहेको छ । तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले परजित गरेको थियो भने दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको थियो ।
धवलागिरि अस्पतालमा ५८ लाखको सुविधासम्पन्न एम्बुलेन्स
बागलुङ । एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो । फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको प्रशासन प्रमुख तेजप्रसाद न्यूरेले बताए । सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले प्राप्त गरेसँगै बिरामीका लागि सुविधा थपिएको उनको भनाइ छ । यसअघि अस्पतालमा एउटा मात्रै पुरानो मोडलको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिदै आएको थियो । एम्बुलेन्स खरिदका लागि अस्पतालले ५८ लाख रुपैयाँ खर्चेको हो । अष्टेलियामा रहेका नेपालीले ४८ लाख रुपैयाँ र बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमै ३२ लाख रुपैयाँ सहयोग गरेका थिए । एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न सकिने, भित्रै अक्सिजन जडान भएको, सुविधासम्पन्न बिस्तारा, बिरामी कुरुवाका लागि छुट्टै बस्ने व्यवस्थालगायतका सुविधा रहेको न्यूरेले बताए । ‘अझै केही उपकरण थप्नुपर्ने छ, त्यसका लागि अस्पतालले आफ्नो स्रोत प्रयोग गर्छ’, न्यूरेले भने, ‘हामीले तत्कालै सबै व्यवस्थापन गरेर सञ्चालनमा ल्याउँछौँ ।’ यसअघि अस्पतालमा रहेको एम्बुलेन्समा अक्सिजन सिलिण्डरसमेत बाहिर राख्नुपर्ने अवस्था थियो । नेपाल सरकारले वर्गीकरण गरेका एम्बुलेन्स मध्य ‘ख’ वर्गको एम्बुलेन्स अस्पतालले ल्याएको हो । बिरामीको चाप हुने अस्पतालले पोखरा–काठमाडौंलगायतका सहरमा रहेका अस्पतालमा बिरामी सिफारिस गरेर पठाउँदा एम्बुलेन्सको अभाव खेप्दै आएको थियो । ‘मार्सल जिपलाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिएको थियो, एउटा मात्रै एम्बुलेन्स हुँदा अस्पतालले बिरामीलाई सुविधा दिन सकेको थिएन’, न्यूरेले भने, ‘अब सुविधासम्पन्न एम्बुलेन्स अस्पतालले पाएको छ, यो सबैका लागि खुसीको कुरा हो ।’ एम्बुलेन्स खरिदका लागि गत वैशाख महिनामा नै बोलपत्र गरिएको थियो । असारमा सम्झौता भएको भए पनि फोटोन कम्पनीको वितरकले विभिन्न कारण देखाउँदै गत आवमा एम्बुलेन्स उपलब्ध गराएको थिएन । पछिल्लो समय धवलागिरि अस्पतालमा सघन उपचारकक्ष, सुविधासम्पन्न एम्बुलेन्स, अक्सिजन प्लान्टजस्ता बिरामीसँग प्रत्यक्ष जोडिने पूर्वाधार तयार भएका छन् । रासस
सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ
बाँके । आसन्न प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनलाई मध्यनजर गरी बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनको बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गए राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गरी सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । बाँकेको तीनवटै निर्वाचन क्षेत्रलाई छुने ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । भारतमा चुनाव हुँदा पनि सीमानाका बन्द गर्ने गरिएको छ । खुला सीमानाकाका कारण हुने आपराधिक गतिविधि रोक्न बिहीबार भारतीय सशस्त्र सुरक्षा बल एसएसबी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्तरूपमा गस्ती गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । उनका अनुसार सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले नियमितरूपमा संयुक्त गस्ती गर्दै आए पनि पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरी संयुक्त गस्तीलाई तीव्र पारिएको छ । बिहीबार जमुनाहबाट सुरु भएको संयुक्त गस्ती टोली हिरमिनिया पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्र्वाटर बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिए ।
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल
बागलुङ । उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वीरुकुमको सिमानामा रहेको यो ताल निसीखोला गाउँको चिनारीका रूपमा लिइन थालिएको छ । जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो, तब यसको प्रचार–प्रसार तीव्ररूपमा हुन थाल्यो । गोठालेले पानी पिउन प्रयोग गर्दै आएको रिगताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुने परिकल्पना स्थानीयवासीले गरेका थिएनन् । अहिले यो क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ । सो क्षेत्रमा पुस–माघमा पर्यटक गाडी लिएरै हिउँ खेल्न र वैशाख, जेठ र असारमा गर्मी छल्न र हरियाली प्रकृतिसँग रम्न जाने गर्छन् । स्थानीय विकास घर्तीमगर लोकमार्ग कालोपत्र भएपछि यहाँ पर्यटकको आगमन बढेको बताउनहुन्छ । ‘पहिले–पहिले त यहाँ खासै मान्छे आउँदैनथे, यो ठाउँमा गोठालाले भेडाबाख्रा र गाईभैँसी चराउने गर्थे, मोटरबाटो कालोपत्र भएपछि त दैनिक सयौँ मान्छे गाडी लिएर घुम्न आउने गरेका छन्, अहिले त ताल पनि राम्रो बनेको छ, पहिलेको जस्तो छैन ।’ यहाँ अहिले सडकले गर्दा बस्ती विस्तार हुन थालेको छ । उनी भन्छन्, ‘अझै पनि यहाँबाट गोठालाले पानी भरेर उपयोग गर्ने गर्छन्, यो अहिले व्यवस्थित भएको छ, गाउँपालिकाले संरक्षण गर्न थालेको छ, पर्यटक आउन थालेका छन् ।’ पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ भने रिगताल पातीहाल्नेबाट १५ मिनेट उत्तरतर्फ पर्छ । अहिले उक्त तालसम्म पुग्नका लागि निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ । ताललाई व्यवस्थित गराउनका लागि निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । गाउँपालिकाले यस क्षेत्रको प्रचार–प्रसार र पूर्र्वाधार निर्माणका गर्न थालेको अध्यक्ष घर्तीमगरको भनाइ छ । उनले यसको विकासका लागि डिपिआर तयार पारेको, तालसम्म पुगको सडकलाई व्यवस्थापन गर्ने र ताललाई फराकिलो बनाउने योजना बनाएको बताए । ‘ताललाई थप आकर्षक बनाउन केही फराकिलो बनाउने, त्यस वरपर व्यवस्थित पार्क निर्माण गर्ने गरी योजना बनाएका छौँ, केही काम भएका छन् भने थप कामका लागि अबको बजेटबाट गर्ने छौँ, यहाँका समस्या समाधान गरेर यस क्षेत्रको विकास गर्ने खाका तयार पारिसकेका छौँ, केही समयपछि यहाँ पूर्वाधार निर्माण हुनेछन् ।’ रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट घुम्न आउनुभएका प्रवेश केसीले सामाजिक सञ्जालमा जिकै भाइरल भएकोले हेर्न आएको बताए । उनले यो ठाउँमा आउने सडक पनि राम्रो भएको हुँदा बिदाको दिनमा घुम्न आउन सकिने बताउँछन् । उनले भने, ‘यो ताल निकै रमणीय रैछ, मैले त फेसबुकमा देखेको थिएँ, अहिले यहाँ प्रत्यक्ष उपस्थित भएर घुम्न पाउँदा निकै ‘एक्साइटेड’ भएको छु ।’ रिगतालको नाम खासगरी मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घखाँची, पर्वतलगायतका ठाउँको दृश्य देख्न सकिन्छ । माछापुच्रे, अन्नपूर्ण, धवलागिरिलगायतका दर्जनौँ हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।
कृषिमा नै समृद्धिको खोजी गर्दै म्याग्दीका किसान
म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा टनेल प्लाष्टिकका घरले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन् । टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन् । ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरिका बेमौसमी तरकारी फलेका छन् । अधिकांश टनेलमा गोलभेँडा फलिरहेका छन् भने केही टनेलभित्र सिमी, बोडी, साग, मुला र अन्य धेरै थरिका तरकारी झुलिरहेका देखिन्छन् । म्याग्दीका ज्यामरुककोट, अर्मन, बाबियाचौर, तोरीपानी, सिङ्गा, पात्लेखेत, खबरा, बगरफाँटलगायतका गाउँमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गर्ने कृषक बढ्दै गएका छन् । प्लाष्टिकको टनेलभित्र उत्पादन गरेको बेमौसमी गोलभेँडा कृषकले सदरमुकामसम्म ल्याएर प्रतिकिलो ६० देखि ८० रुपैयाँ सम्म बिक्री गर्ने गरेको बेनी नगरपालिका–२ खबराका कृषक शोभित शर्मा सापकोटाले बताए । सापकोटाले भने, ‘प्लाष्टिकको टनेलभित्र गोलभेँडा, काँक्रा, करेला, लौका, अकबरे खुर्सानी र हरियो सागपात लहलह फलाएका छन् । टनेलभित्र गरेको तरकारी खेतीबाट कृषकले राम्रै आम्दानी लिएका छौँ ।’ अगुवा कृषकका रूपमा चिनिएका सापकोटाका अनुसार जिल्लामा ग्रामीण क्षेत्रका कृषकले पछिल्लो समयमा प्लाष्टिकको टनेलभित्र बेमौसमी तरकारी खेती गरेर मनग्ये आम्दानी लिन थालेका छन् । एउटा टनेल राख्न ३० देखि ४० हजार रुपैयाँसम्म खर्च हुने उनी बताउँछन् । एउटा टनेलले एक सिजनमा ५०–६० हजार रुपैयाँसम्म आम्दानी हुने र दोस्रो वर्षदेखि राम्रो कमाइ हुने कृषक सापकोटको भनाइ छ । मानिसहरूमा आग्र्यानिक उत्पादनको खोजी हुन थालेपछि आयातित तरकारी र फलफूलभन्दा जिल्लाका ग्रामीण भेगका कृषकले गाउँमै फलाएका तरकारी र फलफूलको माग बढ्दै गएको छ । पश्चिम म्याग्दीका कृषकको उत्पादन दरबाङ, बाबियाचौर र त्यहाँ खपत हुन नसकेको अवस्थामा सदरमुकाम बेनीमा बिक्री हुने गरेको बाबियाचौरका किसान रामहरि पौडेलले बताए । उत्तरी म्याग्दीका कृषकले फलाएको तरकारी र फलफूल पोखरेबगर, भुरुङ तातोपानी, गलेश्वरलगायतका बजारमा बिक्री हुन्छ । ग्रामीण क्षेत्रमा गरेको बेमौसमी तरकारी खेतीको उत्पादन बिक्री गर्ने मुख्य बजार सदरमुकाम बेनी बजार हो । ‘व्यापारीको पहिले नै माग आउँछ, गाउँमै गाडी चल्ने हुनाले टिपेर टोकरीमा हालेर पठाइदिन्छु’, पाँचवटा टनेलमा तरकारी खेती गर्दै आएका खबराका कृषक चन्द्रबहादुर कार्की भन्छन्, ‘बिक्री गर्न कुनै समस्या छैन, कमाई राम्रै छ ।’ जिल्लाका छवटै स्थानीयतहले कृषकलाई अनुदान र निःशुल्करूपमा समेत कृषि औजार र बीउबिजन उपलब्ध गराउन थालेपछि कृषि पेसामा धेरैको आकर्षण बढेको बगरफाँटका कृषक भीमबहादुर रिजालले बताए । जिल्लामा क्रियाशील विभिन्न गैरसरकारी सङ्घसंस्थाले कृषकलाई बेमौसमी तरकारी खेतीको तालिम दिई आवश्यक प्रविधि तथा बीउबिजन उपलब्ध गराएपछि गाउँगाउँमा प्लाष्टिकको टनेल भित्रिएको हो । केही वर्ष पहिलेसम्म काम विशेषले सदरमुकाम बेनीबजार जाँदा प्लाष्टिकको झोलामा एक–दुई किलो गोलभेँडा किनेर ल्याई छाक टार्ने सबैजसो कृषकको खेतबारीमा यतिखेर टनेलभित्र प्रशस्त बेमौसमी तरकारी लहलह फलेको सानालेखका हरिप्रसाद शर्माले बताए । सदरमुकाम बेनीबजारमा तराईका जिल्लाबाट यो सिजनमा बेमौसमी गोलभेँडालगायतका तरकारी आयात हुँदै आएकामा जिल्लाकै ग्रामीण क्षेत्रमा मनग्ये उत्पादन हुन थालेपछि बाहिरी आयात घट्दै गएको व्यापारी बताउँछन् । जिल्लाका स्थानीय तहमा रहेका कृषि शाखाका अनुसार विगत दुई वर्षयता स्वदेश तथा विदेशबाट गाउँ फकिएका दुई सयभन्दा बढी युवाले अहिले व्यावसायिक कृषि पेसा अपनाएका छन् । उनीहरूले आधुनिक कृषि प्रविधिको प्रयोग गरेर व्यवसायिकरूपमा कृषिमा लागेका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।